१. घटनाक्रम
खदा के हो भन्ने बारेमा शायद
भनिरहनु नपर्ला । केही वर्षअघिदेखि खदा पनि विवादमा फस्दै आएको छ । अझै भनौं
विवादमा फसाउँदै आएका छन् । यसको मुख्य मतियार भने एकात्मक ब्राह्मणवादी नेपाली
राज्यसत्ता हो भन्ने गम्भीर आरोप लाग्दै र खेप्दै आएको छ । यही शब्द कतिपयका लागि
अपाच्य होला । यद्यपि, देशको प्रधानमन्त्री जस्तो पदमा रहेको खड्गप्रसाद ओली
आफैँले खदालाई विवादमा तानेका थिए । उनी पहिलो पटक प्रधानमन्त्री भएकै बेला
त्रिभूवन विश्वविद्यालयको एक कार्यक्रममा खदाको धुँवादार विरोध गरेका थिए ।
त्यसपछि नेकपा एमालेभित्रको एकथरी खेमाले यसलाई व्यापक बनाउँदै आएका छन् । सँगै
सतिजाने काममा नेपाली काङ्ग्रेसले महानता देखेको स्पष्ट छ ।
त्यसैले ती दुर्इ पार्टीले
व्यापक रूपमा खदाको विरोध तथा प्रतिबन्ध जस्तो शब्द प्रयोग गर्न समेत हिचकिचाएनन्
। नेपाली काङ्ग्रेसले चितवनबाट खदा बहिष्कारको उद्घोष गरेको थियो । जुन समाचारलाई
हेर्ने हो भने पूर्णतः कपोलकल्पित र झूठा विवरण भन्ने जोकसैले सहजै बुझ्नेछ ।
त्यसपछि वैदेशिक रोजगारीका क्रममा विदेश बसेका (एमाले काङ्ग्रेस समर्थित)हरूका
बर्चस्व रहेको एक संस्थाले पनि खदाको विरुद्ध बोलेको बताउँछन् । घटना झनै चर्कँदै
गइरहेको थियो । त्यस्तैमा आदिवासी जनजाति महासङ्घ (जसलाई एमालेकरण गरिसकेका छन्)ले
पनि आफ्नो औपचारिक कार्यक्रममा खदाको सट्टा गलबन्दी जस्तो देखिने ढाकाको टालोले
स्वागत गरेको थियो ।
भर्खरै सम्पन्न
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा पनि जबरजस्त ढङ्गबाट खदालाई समाप्त पार्दै
गलबन्दी जस्तो टालो वितरण गर्यो । खदा खराब भनेर राज्यपक्षले आफ्नो कदमलाई
विश्वव्यापीकरणको घानमा हालेको छ । यी प्रमुख घटनामा सिधा रूपमा एमाले नामक पार्टी
जोडिएको छ । त्यसभित्रको पनि खड्गप्रसाद ओली नामक व्यक्ति हाबी भएको छ । उनी आफू
देशको प्रधानमन्त्री भएको बेला यी घटनाहरू भएका हुनाले आफ्नो नाकको निमित्त उनी
कति सचेत रहेछन् भन्ने स्पष्ट भएको छ ।
२. खदाको अपव्याख्या
खदा अहिले विवादमा परेको छ ।
यसको मुख्य कारण भनेको नबुझिकन अपव्याख्या गर्नु नै हो । वास्तवमा प्रधानमन्त्री
खड्गप्रसाद ओलीले जुन तरिकाले व्याख्या र आरोप लगाएका छन्; त्यो पूर्णतः
गलत मानिसकताको उपज मात्रै हो । हिन्दूत्त्वप्रतिको आशक्ति साथै बौद्धसँगको
त्रासदी हो । खड्गप्रसाद ओलीहरूलाई बौद्ध भन्ने मन पर्दैन किनकी बौद्धले आफूलाई
धर्मको रूपमा चिनाउँदै आएको छ । धर्म भनेको अफिमको डल्ला हो । यद्यपि त्यसो भन्ने
गरेकाहरूका दर्शन र मान्यताबाट च्यूत भइसक्तासमेत उनमा 'धर्म
अफिमको डल्ला’ भन्ने वाक्यांश भने फलाममा लागेको खिया भएर
बसेको स्पष्ट देखिन्छ । हाँसो उठ्दो कुरो यो पनि रहेको छ कि- खड्गप्रसाद ओलीलाई
धर्ममा पनि बौद्ध धर्म भन्ने बित्तिकै अफिमको गन्ध आउँछ तर हिन्दू धर्म शब्द
सुन्दैमा वैतरिणी तर्ने जहाजजस्तो लाग्छ । त्यसैले पनि होला उनी जहाजको सपना खूबै
देख्छ र सुनाउँछ पनि !
वास्तवमा खदा विदेशमा मात्रै
उत्पादित तथा प्रशोधन हुने कुरा होइन । नेपालमै उत्पादन नभएपनि प्रशोधन हुँदै आएका
भन्ने पनि देखिएको छ । त्यसो त अब खड्गप्रसाद ओलीकै भाषामा भन्ने हो भने- वातावरण
मैत्री खदा कारखाना नेपालमै खोल्ने आँट गर्नु पर्दथ्यो । खदा उत्पादन गर्दै
कम्तिमा पनि बौद्धमार्गीलाई समानता र सुविधाको महशुश गराउनु पर्थ्यो तर सरकारी
कारखानाहरू सखाप पर्नु चाहिँ खड्गप्रसाद ओलीहरूका महानता हो । स्वदेशी उद्योगधन्दा
बेचेर खाने साथै विद्युत लगायतका प्राधिकरणलाई लुटेर खानु यिनीहरूका पहिलो धर्म हो
। त्यस्ता कार्यले देशको समृद्धिमा कुनै असर वा अप्ठेरो परेको उनलाई पटक्कै
लाग्दैन । यी वाक्य तथा हरफहरू अत्यन्त्रै क्रूर तथा खड्गप्रसाद ओली विरोधीको
क्रन्दन मात्रै जस्तो पनि लाग्न सक्छ । फेरि पनि, उनको व्यवहार सम्मानयोग्य भन्दा अक्षम्य
अपराधको पोल्टामा रमाइरहेको कटु तथ्य हो ।
समाजमा लठेब्रो पात्र पनि
हुन्छन् । तिनीहरू सबैका हाँसोको पात्रो बनेका हुन्छन् । त्यस्ताका कुरा
हाँस्यव्यङ्ग्य तथा चलचित्रहरूमा पनि राखेका देख्छौं । तिनले समाजमा कुनै
प्रतिनिधि घटना देख्छ अनि आफू पनि हिरो हुनाका लागि त्यस्तै नक्कल गर्न खोज्छ ।
त्यसक्रममा बिगार गर्न पुग्छन् । समाजले गाली तथा कहिले त कुटपिटसम्म गर्न पुग्छन्
। खड्गप्रसाद ओलीले खदाको बारेमा त्रिभूवन विश्वविद्यालयमा मुख खोलेका थिए ।
त्यसक्रममा उनले महात्मा गान्धी र तिनको चर्खा आन्दोलनको कुरा पनि गरेका भनेर
तत्कालिक पत्रकार प्रेम बानियाँले कार्यक्रम बनाएका थिए । भारतमा महात्मा गान्धीले
चर्खा आन्दोलन चलाएर ठूलोमान्छे भएको भन्ने छाप खड्गप्रसाद ओलीको दिमागमा परेको रहेछ
। त्यस्तै महान् व्यक्ति बन्ने होडमा उनले खदालाई विदेशी साथै केमिकलजस्तो भन्दै
स्वदेशमै विकल्प उत्पादन गर्न सुझाएका थिए । त्यो कार्य प्रधानमन्त्री जस्तो
व्यक्तिको लागि उपयुक्त थिएन । त्यो त माथि भनेजस्तैगरी लठेब्रो पात्रले बोल्ने र
गर्ने हर्कत मात्रै थियो ।
खड्प्रसाद ओलीले भनेका थिए-
धेरै खर्च गर्नु पर्दैन । प्रमुख एकजनालाई एउटा पुष्पगुच्छा दिएर स्वागत गरे
पुग्यो । उनको यही कुरालाई मान्ने हो भने भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध
सम्मेलनमा पुगेका सबैलाई किन त्यो ढाकाको टालो लगाइरहनुपर्थ्यो ? के प्रतिनिधि
पात्रलाई मात्रै एउटा पुष्पगुच्छा दिएर स्वागत गर्दा हुँदैनथ्यो ? के नक्कली खदाले नै स्वागत गर्न आवश्यक थियो ? लौ
त्यो नक्कली खदाले नै स्वागत गर्नुको विकल्प नभएको भए पुगेका सबैलाई लगाइदिनुपर्ने
आवश्यकता थियो ? त्यत्रो नक्कली खदा किनेर बेकारमा खर्च गर्दा
चाहिँ समृद्धिलाई अप्ठेरो पर्दैन ? त्यसकारण ठाउँमा पुगेँ
भन्दैमा आफैँलाई सर्वेसर्वा मान्ने हिन्दू एकात्मक हैकमवादी ब्राह्मणिक सोचले
खड्गप्रसाद ओली भरिपूर्ण रहेको भन्ने देखियो । असारमा आँखा फुटेको गोरुले सँधै
हरियो देख्छ भन्छन् । यहीकारण यिनले गरेको खदाको व्याख्या नभएर अपव्याख्या मात्रै
हो भन्ने प्रमाणित भएको छ ।
खड्गप्रसाद ओली वातावरणविद्
होइनन् । यिनले खदालाई ''केमिकलजस्तो’’ भनेका थिए । ''जस्तो’’को अर्थ के हुन्छ ? लख
काटेर पनि देश चलाउन सक्ने कुरा हुन्छ ? अनुमानको भरमा
अर्काको संस्कृतिमाथि प्रहार गर्न मिल्छ ? मानव हत्याराले त
शङ्काको सुविधा पाउँछ भन्ने देशको कानून छ । खड्गप्रसाद ओलीलाई 'केमिकल जस्तो’ लागेको खदालाई चाहिँ मृत्युदण्ड दिनु
नै समानता र सद्भाव हो ? प्लाष्टिकले जस्तो खदाले पनि
ढलहरूमा जाम पारेको र फोहोर गरेको भन्नु त दिउँसै रात परेको भनेर आँखा छोप्नु
जस्तै हो । प्रधानमन्त्रीको पदमा आसिन् व्यक्तिले त्यसो भन्नु अराष्ट्रिय हुनु हो
। सामुदायिक सदाचार र सद्भाव छोडौं सहिष्णुता (सहेर स्तुति गरिरहनु)को पनि
उल्लङ्घन गर्नु हो । कसैलाई काख र कसैलाई पाखा लगाउनु हो । आदिवासी जनजाति तथा
गैरहिन्दूमाथि उनको गलत बुझाईको प्रमाण हो । त्यसकारण खड्गप्रसाद ओलीको खदा
सम्बन्धी व्याख्या त वास्तवमा व्याख्या नभएर पूर्णतः अपव्याख्याको ठिक बाह्र बजेको
सूर्य मात्रै हो ।
३. बौद्ध संस्कृतिमा खदाको
अर्थ, महत्त्व साथै आवश्यकता
बौद्ध संस्कृति देशमा व्याप्त
छ । यसको अर्थ सबै बौद्ध भन्न खोजेको होइन । नेपालको कथित संविधानले पनि
सांस्कृतिक अधिकारको सुनिश्चितता गरेको देखिन्छ । त्यही संविधानको निर्मातामध्येको
एक भनिएको खड्गप्रसाद ओली सोही संविधान अनुसार प्रधानमन्त्री भएको बेला
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आइपुगेका पाहुनालाई ढाकाको टालोले स्वागत गर्न
आदेश दिन्छ । बौद्धले प्रयोग गर्दै आएको खदामा अराष्ट्रियताको गन्ध सुघ्छ । खदाको
बुट्टा-बुट्टामा छापिएका अक्षर देखेर सात्तो हराउन पुग्छ । यसप्रकार राष्ट्रियता, धर्म साथै
संस्कृतिमाथि यिनको व्याख्या कस्तो होला भन्ने सहज अनुमान लगाउन सकिन्छ । अफिमको
रुखमा सुन्तला फल्दैन । त्यसकारण पनि तिनले खदाको अर्थ, महत्त्व
र आवश्यकता बुझ्नसक्ने कुरै भएन । त्यसैले तिनको व्याख्या विश्लेषण भनेको असारमा
आँखा फुटेको गोरुले देख्ने दृश्य भन्दा फरक हुने कुरै रहेन ।
सामान्य तथा आम बुझाईमा खदा
भनेको स्वागत तथा विदाईको बेला चढाइने (बाँडिने) सगुन हो । शुभता हो । बौद्ध
संस्कृतिको अभिन्न पाटो हो । हिन्दू संस्कृतिमा समेत प्रवेश पाउँदै गरेको संस्कृति
हो । आम हिमाली बौद्ध समुदायको धड्कन पनि हो । यसको शुरूवात बोनहरुबाटै भइसकेको
देखिन्छ । तिनीहरूले ढुङ्गा गाडेर वा देउथानको रुपमा पुज्ने स्थानमा कपासको प्रयोग
गर्थे । त्यसलाई धजा भनिन्छ । त्यहीबाट तिनीहले 'जोनै’(जनै) दिने
संस्कृतिको विकास गरेका थिए । हिन्दू संस्कृतिको विकासपछि हातमा डोरो बाँध्ने तथा
जनै लगाउने क्रम चलेको थियो । बौद्धहरूले त्यसैलाई परिमार्जन गरेर खदाको विकास गरेका
थिए । आज खदा पवित्र वङ (आशिष) र सगुनको रूपमा स्थापित भइसकेको छ ।
खदाको महत्त्व बारे धेरैले
लेखेका छन् । मोक्तान भाइले त 'खदा महिमा’ सम्बन्धी छन्दोबद्ध
गीत नै लेखेका छन् । उनले गीत मार्फत खदाको शुरूवात, नाम,
त्यसको अर्थ, महत्त्व र आवश्यकतालाई स्पष्ट पारेका
छन् । विशेषतः हिमाली बौद्ध संस्कृतिबाट खदालाई निकाल्ने हो भने त्यो संस्कृति
लङ्गटो बन्नेछ । त्यसो गर्दा खड्गप्रसाद ओलीलाई खुशी लाग्नु स्वाभाविक हुने नै भयो
तर देशमा प्रचतिल बौद्ध संस्कृतिमाथि ठाडो प्रहार हुनेछ । राष्ट्रको गलत
व्याख्यामा रमाउँदै आएका खड्गप्रसाद ओलीहरूका कारण वास्तविक राष्ट्र र राष्ट्रियता
ओझेलमा पर्दै जानेछ । सांस्कृतिक अधिकारको प्रधानमन्त्रीद्वारा नै सगौरव उल्लङ्घन
हुनेछ । यस्तो कार्य नै उनको लागि महान् कार्य हो भने बौद्धमार्गीले नेपाली भनेर
नागरिकता गोजीमा हालेर बस्ने वा नयाँले लिनुको कुनै औचित्य रहने छैन ।
४. संविधान साथै सांस्कृतिक
अधिकार
संविधानले सांस्कृतिक अधिकारको
सुनिश्चितता गरेको स्पष्ट छ । भाग १, धारा ३ मा संविधानले 'राष्ट्र’को परिभाषा लगाउने क्रममा बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त... भनेको छ
। यसप्रकार नेपाल भनेको हिन्दू वा अन्य कुनै एक धर्म, जाति,
समुदाय वा संस्कृतिको एकलौटी देश होइन । यसैले यहाँका बौद्धको आस्था,
संस्कृतिलाई नेपाली संस्कृति होइन भन्न मिल्दैन । त्यसमाथि
प्रधानमन्त्री जस्तो पदमा आसिन व्यक्तिले त्यस्तो भन्नु त अति नै लज्जास्प्रद
हुन्छ । यदि कुनै प्रधानमन्त्रीले त्यसरी कुनै एक संस्कृतिलाई मात्रै नेपाली
मान्ने र अन्यलाई मान्दैन भने कि त नेपाल भनेकै एकल जातीय, एकल
धार्मिक र एकल सांस्कृतिक देश भन्नुपर्ने हुन्छ । हैन भने ऊ उक्त पदमा बसिरहन कुनै
पनि अर्थमा नैतिकताले दिने कुरा हुँदैन । स्मरणीय तथ्य चाहिँ यहाँ संविधानले
राष्ट्रको जुन परिभाषा लगाएको छ; त्यो पूर्णतः गलत छ । यो त
लोकतन्त्र अझै भनौं पञ्चायती व्यवस्थाको धङधङी हो । राणाकालिक मान्यताको उपज हो
। वास्तवमा राष्ट्र भनेको त तामाङ,
मगर, गुरुङ, राई,
लिम्बु र थारू आदि चाहिँ हुन् । यसप्रकार नेपालको संविधान र कानूनी
व्यवस्था साथै त्यससँग सम्बन्धित विशेषज्ञहरू नै लाटोका देशको गाँढेहरू मात्रै
हुन् भन्ने स्पष्ट हुन्छ । तिनीहरू गलत कुरा घोकाउनमै बहादुरी सम्झन्छन् ।
नेपालको प्रचलित संविधानले ''विविधतायुक्त
विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक,
सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई
संरक्षण एवं प्रवर्द्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक,
धार्मिक, लैंङ्गिक विभेद र सबै प्रकारका जातीय
छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक
न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा
समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गर्दै;...’’ जस्ता
कुरालाई लेखबद्ध गरेको छ । त्यसैले खदासम्बन्धी प्रधानमन्त्री खड्गप्रसाद ओलीको
प्रहारलाई वास्तवमै गैरजिम्मेवार अभिव्यक्ति मान्नुपर्ने हुन्छ । त्यतिमात्रै नभएर
संवैधानिक अधिकार खोस्ने आपराधिक गतिविधि साथै सामाजिक, सांस्कृतिक,
धार्मिक तथा नश्लीय एकता बिगार्ने वा खलल पार्ने क्रियाकलाप भन्ने
हुन्छ । त्यसकारण खड्गप्रसाद ओलीले राष्ट्र र राष्ट्रियताको परिभाषा लगाउनु भनेको
गोरुले पनि पाइण्ट लगाएर हिँड्छु भने जस्तै हो । नेपालबाट बयलगाडा चढेर अमेरिका
जान्छु भने जस्तै हो ।
जारी गर्नुअधि नै एक हप्ताको
भाका राखेर (संशोधन गर्ने) ल्याएको; नेपाली व्याकरणतः शुद्धाशुद्धि समेत
नमिलेको संविधानको भाग ३, मौलिक हक र कर्तव्य सम्बन्धी
व्यवस्था गरेको देखिन्छ । सोहीक्रममा धारा १६ मा ''सम्मानपूर्वक
बाँच्न पाउने हक : (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’’
भनेको छ । खड्गप्रसाद ओलीको खदा सम्बन्धी अभिव्यक्तिले के
बौद्धमार्गीलाई सम्मानपूर्वक बाँच्ने हक दिन्छ ? खदा
संस्कृति नै नेपाली होइन भनिसकेपछि सोही संस्कृतिका अनुयायी बौद्धमार्गीलाई नेपाली
भन्न मिल्छ त ? धारा १८ मा समानताको हकसम्बन्धी व्यवस्था
गरेको छ । जुन कुरा सोही धाराको उपधारा १, २ र ३ मा स्पष्ट
रुपमा व्यवस्था गरेको छ तर मुलुकको प्रधानमन्त्री भनिएको खड्गप्रसाद ओलीको भनाई
चाहिँ ''आफैँ धामी : आफैँ बोक्सी’’ भन्ने
उक्ति जस्तै छ । यत्ति पनि ज्ञान नभएको वा नराख्ने प्रधानमन्त्रीले विकासलाई पछि
छोड्दै समृद्धिको नारा दिन्छ भने त्यो भन्दा हास्यस्प्रद तथा लज्जास्प्रद अरू के
होला ? उनको अर्को अपराध भनेको जातीय भेदभाव हो । उनले धारा
२४ मा गरिएको छुवाछुत तथा भेदभावसम्बन्धी व्यवस्थाको खिल्ली उडाएको छ ।
बौद्धमार्गीलाई सांस्कृतिक अभ्यासको आधारमा गैरनेपाली बनाएर देशको अखण्डता,
सार्वभौमसत्ता सम्पन्न जनता साथै एकतालाई पूर्णतः नङ्ग्याएको छ ।
खड्गप्रसाद ओलीले धारा २६
द्वारा सुनिश्चित गरेको भनिएको धार्मिक स्वतन्त्रताको हकलाई उल्लङ्घन गरेको छ ।
धारा ३२ ले दिएको भाषा तथा संस्कृतिको हकमाथि ठाडो हस्तक्षेप गर्दै जातीय, नश्लीय,
धार्मिक साथै सांस्कृतिक एकतामा खलल पार्दै द्वेषपूर्ण अवस्थाको
सिर्जना गर्ने गम्भीर कु-चेष्टा गरेको छ । जुन कार्य कानूनतः दण्डनीय छ । उनैले
नेतृत्व गरेको सरकारले केही दिनअघि मात्रै समृद्धिमा बाधा पुगेको जस्तो अनर्गल
हौवा फिजाउँदै जातीय रूपमा यसअघि दिएको पर्व बिदाहरू खोसेर आफूहरू आदिवासी जनजाति
विरोधी भएको प्रमाणित गरेको छ । उनैको भाषामा परिभाषित गरेको राष्ट्र, राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डता जस्ता कुराको
धज्जी उडाएको छ । त्यसैले खड्गप्रसाद ओलीको राष्ट्रवाद त वास्तवमै राष्ट्रघाती,
देशद्रोही साथै नश्लीय रूपमा खलल निम्त्याउने कारक बन्दैछ; जहाँ शङ्का वा द्वीविधाको सुविधा नै छैन । साँच्चैको नेपालीले सहन सक्ने
कुरा होइन । त्यसैले महाभियोगसहित पदच्यूत गर्न गराउन नसकेमा देश रहला भनेर अनुमान
पनि लगाउन सकिने स्थिति छैन ।
५. राजनीति र परम्परागत
संस्कृतिबीचको अन्तरसम्बन्ध
राजनीति र परम्परागत
संस्कृतिका बीच सौता वा जार र साधुका जस्तो सम्बन्ध रहेको देखिन्छ । शुरुमा
संसारमा धर्मले शासन गरेको थियो । पछि धर्मलाई ढालेर राजनीतिले शासन चलायो । यो
क्रम अहिलेसम्मै कायम रहेको छ । यद्यपि, राजनीति र परम्परागत संस्कृतिका बीच धर्म
र राजनीतिको जस्तै सिधा सम्बन्ध देखिएको छैन । तथापि, संस्कृतिको
निकटतम् सम्बन्धी वा नातेदार धर्म नै भएकोले हुनुपर्छ; राजनीतिसँग
राम्रो सम्बन्ध रहन सकेन । घरका कुनै एक सदस्य वा बाउआमासँग सम्बन्ध बिग्रेपछि
तिनका सन्तानहरूसम्म पनि पुस्तैनी रूपमा शत्रुता कायम राख्ने मानव स्वभाव रहेको
देखिन्छ । ठ्याक्कै यही नियम राजनीति र परम्परागत संस्कृतिका बीच स्थापित हुँदै
आएको छ । विशेषगरी क्रान्तिकारी र कम्युनिष्ट भनिएकाहरूलाई त संस्कृतिमाथि प्रहार
नगरी खाएको नपच्ने रोग लागेको देखिन्छ । हुनपनि अरूका संस्कृतिलाई समाप्त पारेरै
मात्रै आफ्नो स्थापित हुन्छ भन्ने राजनीतिक चेतना रहेको छ ।
हरेक व्यक्ति, समाज र
राष्ट्र (आदिवासी)सँग मौलिक पहिचान रहेको हुन्छ । त्यसले केही हदसम्म अहमतालाई
बढाउने पनि गर्छ । त्यसैले सम्बन्धित राष्ट्रलाई प्रगतिको बाटोमा हिँडाइरहेको
हुन्छ तर त्यसमाथि प्रहार गर्नु भनेको सम्बन्धित राष्ट्रसँग शत्रुताको निम्तो दिनु
हो । विशेषगरी राजनैतिक पार्टीहरूले यो पाटोलाई कहिल्यै बुझेको देखिँदैन । बरु
त्यहीमाथि प्रहार गर्नुमा नै आफ्नो महानताको रूपमा लिँदै आएका देखिन्छन् ।
राजनैतिक पार्टीहरू फेल हुने विविध कारणहरू मध्ये यो पनि एक हो । सम्मान चाहनेले
अरूलाई पनि सम्मान दिन जान्नुपर्दछ । राजनैतिक पार्टीहरूले मौलिक पहिचानमूलक
सांस्कृतिक पाटोलाई सम्मान गर्न सकेको देखिएन । यद्यपि, तत्कालिक
ने.क.पा. माओवादीले आदिवासी जनजातिलाई राजनैतिक अधिकारको कुरामा व्यापक रूपमा
जागृत गराएको थियो । त्यतिसम्म हुँदापनि पहिचानयुक्त संस्कृतिलाई बुझ्न सकेन ।
परिणामतः आज आएर पहिचानको मुद्दालाई सही सम्बोधन गर्न सकिरहेको छैन ।
उल्लेख गरिएअनुसार राजनीति र
परम्परागत मौलिक संस्कृतिका बीच राम्रो सम्बन्ध नरहेको स्पष्ट हुन्छ । यसको मुख्य
कारण भनेको राजनीतिको आफ्नै संस्कार रहेको हुन्छ । जहाँ साम, दाम र
दण्डभेदको नीति अवलम्बन गर्नुपर्ने हुन्छ । विपक्षीलाई हराउनको लागि जस्तोसुकै
कार्य पनि उचित ठान्छन् । नैतिकवान र वचनको पक्का भन्ने राजनीतिमा हुँदैन । प्रेम
र युद्धमा जे पनि जायज हुने तर्क गर्छन् । युद्ध नै राजनीतिको मुटु भन्दापनि फरक
पर्दैन । अनेक युद्धमध्ये कुनै न कुनै युद्धमा राजनीतिले टेकेको हुन्छ । यसको
विपरीत परम्परागत मौलिक संस्कृतिमा भने वंश परम्पराको कुरा रहेको हुन्छ । नैतिकता
र आदर्शले भरिएको हुन्छ । धर्मले मार्गनिर्देश गरिरहेको हुन्छ । लोक र परलोकका
कुरा हुन्छन् । जीवन र संस्कारका कुरा हुन्छन्; जसलाई छोडेमा
मानवीयता साथै पहिचान हराउने डर हुन्छ । मानवता, प्राकृतिक
सानिध्यता (आशिरवाद) प्राप्त गर्नैपर्ने हुन्छ ।
राजनीति धोकाधडीमा अडेको हुन्छ
। संस्कृति मानवीय भावनामा फुलेको हुन्छ । त्यसैले पनि राजनीतिले संस्कृतिको
जहिल्यै आरिस गरिरहेको हुन्छ । संस्कृतिले मानिसलाई एकठाउँमा उभ्याउँछ ।
पुर्खाप्रति झुकाव राख्न सिकाउँछ । पाहुनालाई देउता भनेर बुझाउँछ । सेवालाई धर्म
भनेर घोकाउँछ । संस्कृतिका पत्र-पत्रमा गौरवमय पहिचानको सुवास पहिचान गर्न, संरक्षण गर्न
साथै पुस्तान्तरणको लागि अह्राउँछ । राजनीतिले प्रायः बदलाभाव जन्माउँछ । अर्कोको
मृत्युमा आफ्नो जीवन देखाउँछ । पुर्खालाई गाली बर्साउन लगाउँछ । ''पाप न साप मनमा द्वैष र वैरभाव’’ मात्रै जन्माउँछ ।
राजनीतिको पत्र-पत्र विकास अनि समृद्धिको गन्ध सुगाउँदै हत्या गर्ने बीष मिसाएको
हुन्छ । अर्को अर्थमा राजनीति भनेको एलोप्याथी र संस्कृति भनेको होमियोप्याथी
जस्तै हो । त्यसकारण कुन कति ठिक बेठिक भन्ने त प्रयोक्ताको सोचार्इ, बुझार्इ र ग्रहण गर्ने ढङ्ग साथै क्षमतामा पनि भर पर्दछ । यद्यपि, प्राकृतिक जीवन कि आर्टिफिसियल ठिक भनेर भनिरहनुपर्ने कुरा होइन ।
६. विवादको कारण
हरेक विवादको कारण अवश्य
हुन्छन् । खदासम्बन्धी विवादको मुख्य कारण प्रधानमन्त्री भनिएको खड्गप्रसाद
ओलीभित्र सुशुप्त अवस्थामा रहेको हिन्दूत्त्व भाव र त्यसमाथिको आशक्ति हो ।
बौद्धमाथिको रोष, इर्ष्या साथै द्वेष भावना हो । राजनीति अफिमको डल्ला
भन्ने कथित कम्युनिष्ट सोचको सइन पल्टेको घाउ हो । संविधानले सांस्कृतिक अधिकारको
सुनिश्चितता गरेको छ तर त्यसको ठाठो उल्लङ्घन पनि हो । संवैधानिक मर्मलाई
नबुझ्नुको परिणाम हो । बौद्ध भन्ने बित्तिकै तिब्बती देख्ने, बैद्य र धामीले पार्टी चल्दैन भन्ने सोचको पराकाष्ट हो । धार्मिक, सांस्कृतिक समभाव र सद्भाव कायम गर्नुको सट्टा आपसी वैमुष्यता भाव बढाउने
कर्म हो । मधेसी भन्ने बित्तिकै भारतीय, हिमाली समुदाय र
राष्ट्रलाई तिब्बती देख्ने विकृत आँखा हो । एक पटक बोलेको, लेखेको
वा गरेको कार्यको समीक्षा सबैले गर्लान् वा नगर्लान् तर खड्गप्रसाद ओली त्यो कार्य
गर्नमा व्यस्त रहन्छन् । कमजोर पक्ष के हो भने, उनी कहिल्यै आफ्नो कार्यको
समालोचना गर्न सक्तैनन् । भएका कमी कमजोरी अरूले केलाउँदा समेत सम्पादन (सुधार)
गर्न सक्तैनन् । चकलेटका लागि अड्डी कसेर रोएर बस्ने बच्चा जस्तो भएर बस्छन् ।
गल्तीलाई सुधार होइन; सचेतताका साथ अख्तियारीको गलत प्रयोग
गरेर स्थापित गर्न चाहन्छन् । सुगा रटार्इ गरेरै पनि झूटलाई सही भनेर स्थापित
गराउन सकिन्छ भन्ने मनरोगद्वारा ग्रस्त देखिएका छन् । त्यसैले खदा विवाद आएको हो ।
६. सारांश
खदा विवाद नितान्त रुपमा
खड्गप्रसाद ओलीको जुँगेसवाल बनेको छ । यो त संविधानले सुनिश्चित गरेको अधिकारको
उल्लङ्घन हो । आदिवासी जनजाति साथै खदा संस्कृतिको अपहेलना हो । अपमान पनि हो ।
राजनैतिक बेइमानी हो । खड्गप्रसाद ओलीहरू आफैँले बनाएका संविधानतः अपराधी हो ।
दण्डित कार्य हो । यसलाई खड्गप्रसाद ओली आफैँ शक्तिमा हुञ्जेल दबाउलान् तर
शक्तिबाट हटेको भोलिपल्टदेखि नै मुटुमा रोपिने तीर हुनेछ । यसले धार्मिक समभाव र
सद्भावलाई विस्थापित गराउने ज्यादै ठूलो खतरा बढेको छ । यही नै उनको चाहना हो भने
भन्नु के नै रह्यो र ? अन्यथा यसले नकारात्मक विचार, बदलाभावको
जन्माउँदैछ । अहिलेको समाजमा सहिष्णुता काम नलाग्ने अवस्थामा पुगेको छ । सहिष्णुता
भनेको कसैले दबाइरहने अनि अन्यले चुपचाप सहेर स्तुतिगान गाउँदै बस्ने हो । त्यसैले
सहिष्णुता होइन समभाव र सद्भावको लागि पहल आवश्यक छ । यो तथ्यलाई हृदयङ्गम गर्न
नसक्नु नै प्रधानमन्त्री भनिएको खड्गप्रसाद ओलीको अवनतिको मुद्दा नबनोस् भन्ने
कामनासम्म गर्न सकिन्छ ।
७. निष्कर्ष
नेपाल राष्ट्र होइन । नेपाल त
देश हो । यहाँ रहेका बहुल पहिचानसहितका राष्ट्रहरूका साझा घर हो । यसको
राष्ट्रियता, सार्वभौमसत्ता साथै भौगोलिक अखण्डता भनेका केवल मिथ मात्रै भइसकेका छन् ।
भजाएर खाने कुरा मात्रै हुन् । लाटोको देशमा गाँढेतन्नेरी हुने दन्त्यकथा मात्रै
हुन् । यसको सार्वभौमिकता र भौगोलिकताभन्दा अगाडि जनता आवश्यक कुरा हो । जनताको
लागि राष्ट्र र राष्ट्रियता (पहिचानसहितका) आवश्यक हुन्छ । पुरातन सोचको परिवर्तन
बिना बिग्रने मात्रै हो । मिलेर वा नमिलेर वा दुवै नगरेर वा दुवै गरेर वा जे गरेर
बसेका भएपनि अब सबैलाई मूलधारमा समाहित गर्नुको विकल्प छैन । त्यसकारण खदा
बहिष्कार गर्नु भनेको बिनासे काले विपरीत बुद्धि मात्रै हो । यो कुनै धर्म वा
संस्कारको अहमताको कुरा भन्दापनि धेरै चाहिँ पहिचान र समभावको निमित्त एकै स्थानमा
बसाउने वा बाँध्ने डोरो हो ।
२१ बैशाख '७५
चाबहिल

No comments:
Post a Comment