ह्वरीस्हुङ गर्दैको दृश्य
पृष्ठभूमि
तामाङ समाजमा प्रत्येक महिनाको आफ्नै महत्त्व रहेको हुन्छ । महिनालाई मुख्यतः थुमथुम र ङ्ह्य गरी दुई भागमा छुट्याएका हुन्छन् । यसैलाई वि.सं.को सौर्यपात्रोमा भने कृष्णपक्ष र शुक्लपक्ष भनेका देखिन्छन् । त्यसरी महिनालाई पक्ष तथा तिथिगत रुपमा विभाजन गर्नु भनेको सांस्कृतिक पर्व निर्माण गर्नु हो । त्यस्ता पर्वका बेला निश्चित पूजाआजा गर्दछन् । त्यसक्रममा गोने ङ्ह्यदेखि म्हेनिङअघिसम्म गरिने पूजामध्ये ह्वरीस्हुङलाई मुख्य मान्दछन् । यसप्रकार मुख्यतः एन्दे महिनामा यो पूजा गर्दछन् ।
खासगरी भदौमा मकै भाँच्नेक्रम शुरू हुन्छ । मकै भाँचिसकेपछि यो पूजा गर्दछन् । तामाङ मान्यताअनुसार मकै बाली त्यतिकै सम्भव हुँदैन । सफलताको कामनासहित ख्रे ल (माघ महिना)को छेपा ङा (पञ्चमी/बसन्तपञ्चमी)को दिन मकैको छेवर (छर्न शुरू) गरेका हुन्छन् । खनजोतका क्रममा गल्ती भएका हुन सक्छन् । परिणामतः अतिवृष्टि, अनावृष्टि वा असिना र आँधीहुरीका प्रकोप बेहोर्नुपर्ने हुन सक्छ । सलह, मुसा, बदेँल, दुम्सी तथा बाँदर लाग्न सक्छन् । मानिस तथा पशुपङ्क्षीमा पनि अनेक रोधव्याधि वा महामारी आर्इपर्न सक्छन् ।
त्यस्ता सम्भावित समस्याहरूबाट सुरक्षाको लागि नम्दुङ (चैत)मा आइपुगेपछि सेरकेम गर्दछन् । सेरकेमले अब गरिने पूजाआजाका क्रम शुरू भएको र बाँकी क्रमशः पूरा गर्दै जानेछौं भनेर सूचित गरेको हुन्छ । त्यसपछि दुगु ङ्ह्य (वैशाख पूर्णिमा)को दिनमा ह्युल्जे गर्दछन् । यो नै मकै बाली लगायत अन्नबाली, पशुपङ्क्षी साथै मनुष्यका सुरक्षाका लागि गरिने सामुहिक पूजाको सबैभन्दा ठूलो तथा बृहत् स्वरूप हो ।
गोने ङ्ह्य (जनै पूर्णिमा)मा भने नयाँ मकै स्थानीय शक्तिहरू लगायत घरको देउता (फो´ल) समेतलाई चढाउँछन् । तिनलाई नचढाइकन मानिसले खाएमा प्राकृतिक तथा वन्यजन्तुका प्रकोप बढ्छन् । मानिसका कान काटिन (कानको पछाडिको भागमा खटिरा आउन) सक्छन् । त्यस्ता समस्या नआउन् भन्नाका लागि गोने ङ्ह्यको अवसरमा नयाँ मकै चढाएका हुन्छन् । त्यसरी चढाएपछि नयाँ अन्नबाली मानिसले प्रयोग (सेवन) गर्न मिल्छ । यद्यपि बारीको देउतालाई चढाउन बाँकी राखेका हुन्छन् । त्यसैले करेसाबारीको निश्चित स्थानका पाँच, दश बोट मकै छुट्याएर राख्छन् ।
शब्दोत्पत्ति
करेसाबारीमा मकैको केही बोट
छुट्याएर राखेको स्थानमा गरिने पूजा नै ह्वरीस्हुङ हो । स्थानीय तामाङभाषाको
ह्वरीले बारी साथै स्हुङले बलि दिने कार्य वा पूजालाई जनाउँछ । यसप्रकार
बसन्तपञ्चमीको दिन छेवर, नम्दुङमा
सेरकेम साथै दुगु ङ्ह्यमा ह्युल्जे गर्दै सफल पारिएको मकै बाली गोने ङ्ह्यमा चढाएर
मात्रै पूर्ण हुँदैन । त्यही हुनाले ह्वरीस्हुङ गर्न अनिवार्य मान्दछन् ।
म्हेनिङमा पनि खेप्पास्हुङको ब्रङ्गी (मण्डप)मा स्हिने -मकैका दाना) प्रयोग
गर्दछन् । त्यसपछि मात्रै नयाँ मकै चढाउने कार्य पूरा हुन्छ ।
ह्वरीस्हुङलाई नै झ्योहोस्हुङ पनि भन्दछन् । हरेक तामाङ गाउँमा कुनै न कुनै झ्योहो स्थापित गरेका हुन्छन् । झ्योहो बिना कुनै पनि गाउँ बस्ती तथा खेतीपातीयोग्य बन्दैन । स्मरणीय तथ्य, स्हुङ शब्दलाई कतिपयले सुङ उच्चारण गर्न पनि सक्छन् । तामाङभाषा तानीय भएकोले उच्चारणमा थोरै फरक हुनसाथ अर्थान्तर हुन पुग्छन् । यहाँ स्हुङले पूजा वा बलिपूजाका लागि पानीपारेर राखेका कुखुरा आदि बलिदिने प्रसङ्गलाई जनाउँछ तर सुङले चाहिँ मुख भन्ने अर्थ दिन्छ ।
सम्बन्धित शक्तिहरू
क) झ्योहो : झ्योहोस्हुङ समेत भन्ने गरेका
ह्वरीस्हुङको बेला चालिसे मावरको अभ्यासमा मुख्यतः डप्सङ सेलेफोङ्गी झ्योहोको पूजा
गर्छन् । यो नाममा प्रयुक्त डप्सङले स्थान विशेष साथै सेलेफोङ्गीले झ्योहोको
नामलाई बुझाउँदछ । हाल आएर डप्सङ नामक स्थान कहाँको भनेर स्पष्ट गर्न सकिएको छैन ।
उल्लेखित गाउँका गोले ह्रुइका तामाङ काभ्रेको दाप्चा क्षेत्रबाट पुगेका हुन् ।
त्यसो त दाप्चा क्षेत्रलाई नै दप्चोङ पनि भन्ने गरेको देखिन्छ एवंरीतले धादिङको
सेमजोङमा पनि डपजोङ नामक स्थान रहेको छ ।
| झ्योहो बुझू(तोर्मो) |
ख) रक्सी ङ्यल्मो : स्थानीय रक्सी र ङ्यल्मो (बनझाँक्री र बनझाँक्रिनी)लाई पनि
बलि चढाउँछन् । रक्सी र ङ्यल्मो साह्रै शक्तिशाली हुन्छन् । रक्सीले चाहेमा चोखो
मन भएका साना वा योग्य व्यक्तिलाई आफ्नो गुफामा लग्छन् । त्यतिखेर ङ्यल्मोले
मानिसको मासु खाने रहर गर्छे तर रक्सीले बोम्बो बनाउने भनेर मन्त्र सिकाउँछ । अन्त्यमा
जहाँबाट लगेको त्यहीँसम्म फर्काएर छोड्छ । त्यसरी सिकेर बनेका बोम्बोले आफूलाई
बनझाँक्री भएको दाबी गर्छन् । रक्सी र ङ्यल्मो रिसाएमा मानिस तथा पशुहरूलाई भीरतिर
घोक्र्याउँदै पुर्याउने र लडाउन पनि सक्छन् भन्ने जनविश्वास पाइन्छ ।
ग) सर्म : कतिपयले पूजाक्रममा सर्म (मानिस तथा
पानी र आगोलाई समेत कक्रक्कुक्रुक पार्न सक्ने एकदमै शक्तिशाली शक्ति)लाई पनि बलि
दिन्छन् । तिनलाई पूजामा सर्ची (अम्रिसो) र सिङ्गरा (एक प्रजातिको वनस्पति)को पनि
प्रयोग गर्दछन् । फल बिरुवाका सुरक्षार्थ अम्रिसोको मुनालाई क्रस गरी बाँधेर यसलाई
जगाएर राख्ने प्रचलन अझै देख्न सकिन्छ । त्यसरी राखिएको रुखलाई छुनसाथ
कक्रक्कुक्रुक पर्छ भन्ने विश्वास हुनाले जो कोहीले छुने आँट गर्दैनन् ।
पूजाको तयारी
पूजा गर्ने दिन बिहानै घर आँगन लिपपोत गर्दछन् । यो कार्य महिला
वा पुरूषले पनि गर्न सक्छन् । बुझूको लागि चामल पकाउने र बुझू बनाउने साथै ठिसिङ
बनाउने कार्य प्रायः पुरूषको हुन्छ ।
महिलाले चाहिँ पात गाँसेर टपरी र दुना तयार पार्ने, नङ्सल (दीप) बनाउने, अक्षता,
अबीर र कुदुङ निर्माण गर्दछन् ।
थान निर्माण
सामग्री तयार भइसकेपछि तोकिएको स्थाननेर सफा गर्छन् । त्यही
झ्योहोको प्रतीक स्वरूप एउटा चुच्चो परेको लाम्चो ढुङ्गा ठड्याउँछन् । त्यसको
फेदमा चेप्टो ढुङ्गा बिछ्याउँछन् । ठडाइएको ढुङ्गोलाई लयुङ्बा र चेप्टो ढुङ्गोलाई
दञ्जा भन्दछन् । त्यस्तैगरी रक्सी, ङ्यल्मोका पनि फरक फरक ढुङ्गे प्रतीक बनाउँछन् ।
सर्मको पूजा गर्ने भएमा त्यसको पनि बनाउँछन् । ती ढुङ्गालाई पानीले पखालेर/धोएर
चोख्याउँछन् ।
थान सज्जा तथा लैङ्गिकता
देउताको रूपमा ठडाइएका
ढुङ्गालाई चोख्याएपछि दञ्जामा अबीरको तीन या पाँच भाग राख्छन् । त्यसपछि डाडो
ढुङ्गोको टुप्पोमा एक भाग लगाउँछन् । ह्युम (स्त्री) शक्तिका लागि कुदुङ (पीठो)ले
अबीरको तीन वा पाँच भागलाई पछ्याउँदै ठाडो धर्को लगाउँछन् । ह्यप (पुरूष) शक्तिका
लागि भने पाँच भाग अबीर राखेर पाँच वटा ठाडो धर्को कोर्छन् । ती पाँच ठाडो
धर्कालाई पुनः तेर्सो चार धर्काले बाँध्छन् । त्यसपछि ठाडो धर्काको टुप्पोमा
राखिएका अबीरका भागमाथि अक्षता (धोएर) साना भाग राख्छन् । ठाडो ढुङ्गोको टुप्पोमा
राखिएको अबीरमाथि पनि एकभाग अक्षता राख्छन् । धर्का कोरेपछि बीच भागमा पर्नेगरी एक
मुठीजति कुदुङ राखेर गोङ्सोर (नगाम्हेन्दो/फुल/अण्डा) अड्याउँछन् ।
त्यसपछि भने ठाडो डुङ्गोको टुप्पो र चेप्टो दञ्जालाई समेत काँचोधागोको जोनै (जनै) दिन्छन् । शुरुमा टुप्पोमा फेरा लगाउँछन् । त्यपछि दायाँबाट घुमाएर बायाँतिरबाट पुनः टुप्पोमा पुर्याएर पाँच डोरो पुर्याउँछन् । त्यसले पुरूप शक्तिलाई इङ्कित गर्दछ । त्यस्तैगरी स्त्री शक्तिलाई भने टुप्पोमा मात्रै तीन वा पाँच डोरो हुनेगरी जनै दिन्छन् । त्यही जनै नै बौद्ध परम्परामा प्रचलित खदाको र्सवप्राचीन स्वरूप हो ।
शक्तिका प्रतीक स्वरूप स्थापित थानलाई सजाउने क्रममा तीन या पाँच वटा ठिसिङ (निगालो वा बाँसको सिन्कामा टोटलाको फूल अड्याएर बनाएको पूजा सामग्री) ठडाउँछन् । तिनले पनि पुरूष र स्त्री शक्तिलाई छुट्याइरहेका हुन्छन् । त्यस्तैगरी नयाँ मकैका घोकाहरू पनि राख्छन् । धुपौरोमा भुप्रो हालेर धुपीका टुक्रा हाली धुवाउँछन् । त्यस्तो कार्यलाई स´ङ भन्दछन्; जसले चोखो वा शुद्ध पार्छ भन्ने मान्यता रहेको छ । स´ङ्सी नगरी सामान्य रूपमा फलाकेर मात्रै गरिने पूजामा भने धुपौरोमा धुपीको सट्टा नौनीको धूप हाल्छन् ।
पूजा सामग्री
ह्वरीस्हुङ पूजाका लागि आवश्यक
सामग्रीहरु यसप्रकार रहेका छन् ।
३) अबीर
४) ठिसिङ (टोटलाको फूललाई सिन्कोमा उनेर बनाएको पूजा सामग्री)
५) धुपौरो र धुपी
६) सगुनपोङ र सगुन (दुज्जे)
७) कुदुङ (चामलको पिठो)
८) गोङ्सोर (फुल)
९) बुझू (तोर्मो) र एकथान डालो
१०) जोनै (काँचो धागो)
११) नङ्सल (दीप)
१२) बुम्बा (पानीको कलश)
१३) शक्तिका प्रतीक निर्माणका लागि आवश्यक ढुङ्गाहरू
१४) मकै
१५) सर्मको पनि पूजा गर्ने भएमा अम्रिसो र सिङ्गरा (एकप्रजातिको वनस्पति)
१६) लिपपोतका लागि गोबर
१७) बोम्बो बस्नको लागि पिर्का तथा चकटी
१८) बलि चढाउनका लागि कुखुरा ।
पूजा र बार
यो पूजा गोने ङ्ह्यपछि
म्हेनिङको पर्वसन्ध्यासम्म गर्न सकिन्छ । पूजा जुनसुकै बारमा गर्न पाइँदैन ।
त्यसैले शुभ तथा सुधो बारका रूपमा मानिएका सोम, बुध वा बिहीबार गर्दछन् । यसको अतिरिक्त खरो मानिएका
बारमा गर्दैनन् । बिमारीलाई जडीबुटी औषधी खुवाउने वा मन्साउने तार्ने कार्य भने
खरो बारमा राम्रो मान्दछन् । त्यसो त औषधी सङ्कलन तथा खुवाउने दुवै कार्य सकेसम्म
खरोबारमा र खरोबारकै मानिसले तयार पारेर खुवाउने प्रचलन रहेको छ ।
स´ङरप भन्ने बित्तिकै विनयपूर्वक गरिने पूजा भन्ने हुन्छ । त्यही भएर पनि खरोको सट्टा शुभ वा सुधो बारमा गर्नु उचित मान्दछन् । त्यस्ता बार अन्नको सह मैत्री हुन्छन् ।
स´ङरप (पूजाको मुख्य खण्ड)
यो पूजामा करीब बिहानभरि
बोम्बोले स´ङ्सी (भाका हालेर) गाउनु/फलाक्नुपर्ने हुन्छ । स´ङरप
शब्दले चोखो तथा शुद्ध गरी विनयपूर्वक पूजा गर्नु भन्ने अर्थ बोकेको हुन्छ । दैवी
तथा सकारात्मक शक्तिलाई विनयपूर्वक स´ङरप गरेर पूजा गर्ने प्रचलन रहेको छ ।
यो पूजाक्रममा झ्योहो स्वरूप एकथान झ्योहो बुझू (तोर्मो) राख्छन् । छेवैको डालोमा
भने एकथान सोमसोर (तीनसुरे) र तीनथान मन (साधा) बुझू राख्नुपर्दछ ।
बुझूका लागि चामललाई भात जस्तैगरी पकाएपछि मुसल र हातले मुछ्छन् । त्यसक्रममा हल्का तेल लगाउँछन् । तेल खान नमिल्ने कोही रहेछन् भने घिउ पनि लगाउन सक्छन् तर घिउ भन्दा तेल लगाएमा बुझू अझै राम्रो बन्छन् । निश्चित अवसर बाहेक अन्य बेला बुझू बनाउन मिल्दैन । त्यस्तो अवस्थामा गोलाकार डल्ला बनाउन मिल्छ । त्यस्तालाई फोल्दोङ भन्छन् । उहिले कतै टाढाको यात्रा गर्नेक्रममा फोल्दोङ बनाएर बोक्ने गरेका वृद्ध-वृद्धाहरू सुनाउँछन् । तेल वा घिउ लगाएर मुछ्नाले सामान्यभन्दा लामोसमयसम्म राख्न र सेवन गर्न सकिन्थ्यो ।
पूजाको मुख्य खण्डमा स्थानीय तथा वरिपरिका विभिन्न शक्तिहरूका नाम लिएर सम्बोधन गर्छन् । तिनीहरूलाई ह्वरीस्हुङ पूजाको यो अवसरमा तिमीलाई पनि सम्झेका छौं । गल्ती कमी कमजोरी भएछन् भनेपनि माफ गर्नु । रोगव्याधि तथा महामारीबाट मुक्ति दिनु; अन्नको सह दिनु भन्दै अनुरोध गर्दछन् ।
स्यबुइबुबुइ पिन्ब
स´ङ्सी
सकेपछि पुरूष शक्तिलाई भाले तथा स्त्री शक्तिलाई पोथी बलि चढाउँछन् । बलि चढाएपछि
तत्कालै तिनका कलेजा निकालेर पोल्छन् । पोलिएका सम्बन्धित कलेजोलाई चिमोटेर सानो
टुक्रा ठाडो ढुङ्गाको शीरमा चढाउँछन् र बाँकी सिङ्गै दञ्जाको बीचमा राख्छन् ।
दञ्जामा राखिएका अक्षताका भागमाथि एक एक नङ्सल (दीप) बाल्छन् । त्यसरी चढाउने
क्रमलाई भने स्यबुइबुबुइ' पिन्ब भनिन्छ
। त्यो क|mम सकिएपछि पूजा समापन हुन्छ । चढाएका फुलको फुटाएर
भित्रीभाग निकाल्छन् । बाँकी बोक्रामा थोरै अक्षता हाली घोप्ट्याएर राख्छन् ।
त्यसरी राखेपछि फुल जस्ताको त्यस्तै अर्थात् सिङ्गै रहेको जस्तो देखिन्छ ।
खाद्य सांस्कृतिक पाटो
हरेक संस्कृतिहरू ऊर्जा तथा
प्रविधिसँग जोडिएका हुन्छन् । तिनको मुख्य कार्य भनेकै सम्बन्धित पर्यावरणमा
मानिसलाई अनुकूलन प्रक्रियामा सहयोगी भूमिका खेल्नु हुन्छ । ह्वरीस्हुङले पनि
तामाङ समुदायलाई सम्बन्धित पर्यावरणमा अनुकूलन गराउँदै आएको छ । यसप्रकार
ह्वरीस्हुङ तामाङ खाद्य संस्कृतिको अभिन्न अङ्ग रहेको स्पष्ट हुन्छ । यसले खासमा
भदौको बेला मकै बाली भित्र्याएपछि बारीका झार-झाडी सफा गरी तोरी लगाउनका लागि तयार
पार्न आवश्यक शारीरिक ऊर्जा व्यवस्थापन गर्दै आएको देखिन्छ ।
स्थानीय तामाङ समाजमा ह्वरीस्हुङ तथा म्हेनिङमा गरिने खेप्पास्हुङको बेला काटिने भालेको मासु र त्यसको खोले (सुप)को विशेष चर्चा गर्दछन् । मकै छर्दादेखि नै दमन्हङ्गर खेप्पास्हुङला सुन्नीखोले पिन्ला (भोलिपर्सि खेप्पास्हुङमा काटिएको भोलको सुप र मासु दिउँला) भन्छन् । बर्खामासमा काम गर्न उक्साउने क्रममा पनि ह्वरीस्हुङ र खेप्पास्हुङको चर्चा गर्दछन् । यी पूजामध्ये ह्वरीस्हुङको मासु र सुपलाई शक्ति दिने साथै खेप्पास्हुङकोलाई बर्खामा लागेको ओस वा चिसो निकाल्ने औषधीको रूपमा व्याख्या गर्दछन् ।
पूजाको क्रममा मारिएका कुखुराका
मासुमा अनेकौं थरीका मसला हालेर पकाउँछन् । त्यसमा कुदुङ (चामलको पिठो) पनि हालेर
खोले (सूप) बनाउँछन् । त्यही सूपमा चोपल्दै बुझू खान्छन्; जुन ऊर्जाको हिसाबले निकै राम्रो
क्यालोरीयुक्त हुन्छन् । यसलाई तामाङ मौलिक साथै परम्परागत खाद्य सांस्कृतिक
पाटोको रुपमा लिन सकिन्छ । यसले तामाङ पहिचानलाई अझै प्राण भर्ने कार्य गर्दै आएको
छ । यो पूजाको बेला कम्तिमा तीन र बढीमा पाँच वटासम्म भाले-पोथी कुखुरा काट्छन् ।
प्रत्येक घरले आफ्नोमा पूजा गरेको दिन छिमेकका अन्यलाई पनि बोलाएर खुवाउने वा घर
घरमै कुखुराका मासु र बुझू पुर्याउँछन् । त्यसले नाता सम्बन्धमा अझै प्रगाढता
थप्ने तथा मनमुटावलाई मेटाउने पनि गर्दछ । पूजा गर्ने क्रममा बोम्बोकी श्रीमतीलाई
समेत मम्ला बो -हजूरआमाको भाग) छुट्याउने/पुर्याउने प्रचलन रहेको छ ।पूजाको लागि तयार पारिएको थान
लेजली ह्वाइटका सिद्धान्तका कसीमा ह्वरीस्हुङ
हरेक समाजको आफ्नै मौलिक
संस्कृति हुन्छन् । त्यसो त अन्यबाट आयातित् वा प्रभावित संस्कृति नहुने भन्ने पनि
होइन । लेजली ह्वाइटले तिनै संस्कृतिका बारेमा व्यापक अध्ययन अनुसन्धान गरेका छन्
। सोही आधारमा उनले केही सिद्धान्त (थ्योरी) बनाएका छन् । जसले ह्वरीस्हुङ जस्ता
संस्कृति, चाडपर्व एवं
सामाजिक सांस्कृतिक संस्थाका भूमिका र महत्त्वलाई उजागर गर्दछन् । उनका केही
सिद्धान्तहरुलाई जोडेर हेरौं; जसले हाम्रा पुराना अझै
पुरातनवादी साथै अन्धाविश्वासी, अवैज्ञानिक भन्ने आरोप
खेपिरहेका संस्कृति तथा चाडपर्व वा पूजामा रहेका वैज्ञानिक पाटोलाई स्पष्ट
पार्दछन् ।
ह्वाइटका अनुसार मानिस(समुदाय)ले प्रयोग गरेका शक्ति तथा प्रविधि अनुरूप संस्कृति निर्माण भएका हुन्छन् । जति धेरै शक्ति अर्थात ऊर्जा तथा उन्नत प्रविधिका प्रयोग गरिन्छन्; त्यति नै धेरै उन्नत संस्कृति निर्माण बन्छन् । यसैलाई उनले E × T = C (Energy × technology = Culture द्वारा पुष्टि गरेका छन् । त्यसो त संस्कृतिलाई उनले कुनै पनि पर्यावरणीय अवस्थिति/परिस्थितिमा बाँच्नका लागि आवश्यक पर्ने संयन्त्र भनेका छन् । यही तथ्यलाई नबुझेका कतिपयले संस्कृतिलाई नै कुरीति, विकृति तथा पुरातनवादी, अवैज्ञानिक र अन्धविश्वास भएको आरोप लगाउँछन् । असभ्य र अविकासको प्रतीक पनि मान्छन् । मानवशास्त्रीय मान्यतानुसार कोही असभ्य वा सभ्य साथै विकसित र अविकसित भन्ने अवधारणा नै गलत छन् ।
वैज्ञानिक वा विज्ञानसम्मत हुनैपर्छ भन्ने मान्यता सन् १९५० देखि देखापरेको आधुनिकतावादले दाबी गरेको कुरा हो । त्यो मान्यता सन् १९८० हाराहारीसम्म मात्रै चलेको थियो । त्यसपछि उत्तरआधुनिकतावादको आगमनसँग विज्ञानमाथिको विश्वास भत्किन थाल्यो । यो समय मेटामोडनिजमको हो; जसले विज्ञानको स्थानमा उत्पत्तिगत पक्षलाई जोड दिन्छ । यसप्रकार विज्ञान मात्रै भन्नु भनेको १९५० तिर फर्केर आउटडेटेड मान्यतालाई टेकेर तर्क गर्नु हो ।
मानिसका जीवन, परिवार तथा समाज सञ्चालनका लागि धनको आवश्यकता पर्छ । यहाँ धनले रूपैयाँ पैसा मात्र नभएर पशु चौपाय, भूमि, कम्पनी, खानी लगायतका यावत् चिजबस्तुलाई जनाउँछ । धन कमाउने रहर सबैमा हुन्छ । लेजली ह्वाइट भन्छन्, बस्तु र त्यसका लागि खर्चिएका श्रम अनुरूप धन वा सम्पत्ति प्राप्त हुन्छ वा निर्माण हुन्छ । श्रमको लागि ऊर्जा चाहिन्छ । ऊर्जाको पूर्तिका लागि नै हाम्रा पुर्खाले संस्कृतिका निर्माण गरेका थिए । यसैलाई बुझाउने क्रममा उनले T × L = P (Thing × Labour = Property) सिद्धान्त बनाएका हुन् ।
यसप्रकार मानिसको आवश्यकता पूर्तिका लागि अनेकन उपभोग्य बस्तु चाहिन्छन् । त्यस्ता बस्तुका उत्पादनको लागि ऊर्जाको पनि उत्पादन हुनुपर्दछ । ऊर्जाको जोहो भएपछि प्रविधिगत प्रयोग विधि देखापर्छन्; जसद्वारा उत्पादित बस्तुले मानवीय आवश्यक परिपूर्ति गर्दछ । यसैक्रममा उनले E × T × P (energy involved × technological means of utilization = product or result which serves a need) सिद्धान्त निर्माण गरेका छन् ।
यहाँ उल्लेखित शक्ति वा ऊर्जाले कार्य गर्नसक्ने क्षमतालाई जनाउँछ । यसैलाई तामाङमा बङ भन्दछन् । बङ अर्थात् बल वा ऊर्जा बिना शरीरले काम गर्न सक्तैन । त्यस्ता ऊर्जा पनि ह्वाइटका अनुसार मानवीय तथा गैरमानवीय गरी दुई प्रकार हुन्छन् । उनी अगाडि लेख्छन्, मानवीय जैविकता वा गैरमानवीय अर्थात् प्रविधिगत स्रोतहरू साथै ऊर्जाको प्रयोग गरिएका मात्राले सम्पत्ति निर्माण/सङ्कलनमा मुख्य भूमिका खेल्छ । यसक्रममा वातावरणीय तत्त्वले पनि भूमिका खेलिरहेको हुन्छ । यसप्रकार सम्पत्ति वा धन वा प्रोपर्टी भन्नाले कूल उत्पादन तथा सांस्कृतिक विकासको सूचाङ्कलाई समेत बुझ्नुपर्ने हुन्छ ।
यसप्रकार सम्बन्धित वातावरणीय प्रतिकूलताबीच अनुकूलनका लागि तामाङ पुर्खाले ह्वरीस्हुङ लगायत अनेकन् रिमठिम (संस्कृति/कल्चर) निर्माण गरेका भन्ने प्रमाणित हुन्छ । ती कुनै पनि रिमठिमलाई छोड्ने बित्तिकै त्यसले पूर्ति गर्दै आएको आवश्यकीय ऊर्जाको आपूर्ति बन्द हुन पुग्छ । परिणामतः उन्नत संस्कृति निर्माण तथा मानवीय अनुकूलन नै अवरूद्ध हुन बेर लाग्दैन । हुन त, अब बजारमा उपभोग्य बस्तुको विनिमय गर्न सक्छौं । ह्वरीस्हुङमा उपयोग गरिने खाद्यद्वारा परिपूर्ति गर्नुपर्ने ऊर्जा बजारबाट खरिद गरिएका बस्तुबाट पनि प्राप्त गर्न सकौंला तर त्यसो गर्नाले पुर्खाद्वारा निर्मित मौलिक साथै परम्परागत संस्कृति समाप्त हुनेछन् । त्यस्ता संस्कृति केवल ऊर्जा पूर्तिको माध्यम मात्रै नभएर मौलिक पहिचानको रुपमा स्थापित भइसकेका छन् । पहिचानको आन्दोलन चलिरहेको यो युगमा आफ्नो सांस्कृतिकलाई बुझ्न र स्वीकार गर्न नसक्नु पक्कै राम्रो सङ्केत होइन ।
यही तथ्यलाई हृदयङ्गम गर्दै; लामो तथा पुस्तौं पुस्ताको अभ्यासबाट खारिएका संस्कृतिहरु निर्माणमा अनेकन् सामाजिक सांस्कृतिक गेन्दुन (संस्था/इन्टिच्यूट)हरूले भूमिका खेलेका हुन्छन् । तामाङको मुख्य चार गेन्दुनहरूमध्ये बोन/बोम्बो पहिलो हो । गेन्दुनको पनि आफ्नै काम, कर्तव्य र अधिकार सुनिश्चित गरिएका हुन्छन् । त्यसो त गेन्दुनले समाजको लागि आवश्यक पोषण, सुरक्षण तथा वंश निरन्तरताको व्यवस्था गर्न सक्नुपर्दछ । यहाँ बोम्बो गेन्दुनले आवश्यक पोषणको व्यवस्था गर्नेक्रममा नै ह्वरीस्हुङ संस्कृतिको पनि विकास गरेको स्पष्ट छ । शायद यस्ता संस्कृतिको विकास गर्न नसकेको भए तामाङ समाज अझैपछि पर्नसक्ने थियो होला ।
ह्वरीस्हुङले आवश्यक पोषणको
लागि नै कुखुराको मासु, सुप र बुझू (तोर्मो)लाई
मौलिक खाद्य संस्कृतिको रूपमा स्थापित गराएको हो । ऊर्जाले शरीरलाई चलायमान
राखेपछि मात्रै देह तथा समाजको सुरक्षा सम्भव हुन्छ । सुरक्षित वातावरणमा मात्रै
सुयोग्य सन्तान उत्पादन; वंश निरन्तरता सम्भव हुन्छ । यो
कार्यमा बोम्बो गेन्दुन पूर्णतः सबल तथा सक्षम देखिएको छ । यही तथ्यलाई बुझाउनको
लागि ह्वाइटले N × P × R = SO (Nutrition × Protection × Repoduction =
Social Organisation) सिद्धान्त पनि विकास गरेका छन् ।पूजाको लागि राखिएका मकै समेत
टुङ्ग्याउनी
यतिखेर विज्ञान र प्रविधिको
जगजगी छ । त्यसो त सूचना प्रविधिको पनि युग भनेका पाइन्छन् । खासमा विज्ञान र
प्रविधि बिना कुनै पनि समाज तथा सभ्यताको कल्पना गर्न सकिन्न । यहीँनेर विज्ञान र
प्रविधिलाई चिन्ने र व्याख्या गर्ने क्रममा पक्कै पनि समस्या छ । यस्तो बेला आफ्ना
मौलिक परम्परागत संस्कार संस्कृतिभन्दा पनि भौतिक विज्ञान भन्नेमा बढी आकर्षण स्वाभाविक
छ । तथापि ह्वरीस्हुङ लगायतका अनेक रिमठिमहरूमा रहेका विज्ञानसम्मत पाटोलाई
केलाउनका लागि लेजली ह्वाइटका जस्ता ज्ञानमय आँखाको आवश्यक पर्दछ ।
त्यही आँखाको अभावमा हामी भडि्करहेका छौं । पुर्खाले हजारौं वर्ष लगाएर निर्माण गरेका रिमठिमहरूलाई मायाको सट्टा घृणा गर्दैछौं । अध्येता लेजली ह्वाइटका जस्ता नजरको विकास गर्न नसक्नाले ङ्हन्बा/छिपा (बाह्य)का आँखा सापट लिएर हेर्न बाध्य छौं । त्यसैले अरुका आँखाले हैन; पुर्खाले निर्माण गरेका चश्मा लगाएर हेर्ने र बुझ्ने प्रयास गरौं । स्थानीय शक्तिहरूलाई नम्दुङमा सेरकेम, दुगुमा ह्युल्जे, गोने ङ्ह्यमा नवङ्गी चढाएपछि अन्त्यमा समापन गर्ने कार्यक्रमको परिच्छेदको रूपमा ह्वरीस्हुङलाई बुझौं ।
ह्वरीस्हुङले मानव देहका लागि आवश्यक ऊर्जाको व्यवस्थापन मात्रै गरेको छैन । यसले सभ्यता विकासको लागि आवश्यक संस्कृतिको निर्माणमा प्रविधिको भूमिका पनि खेल्दै आएको छ । त्यस्तैगरी तामाङ समाजले आत्माभन्दा पनि सेम तथा नम्जेलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । आदिवासी भएकोले तामाङ समाजले आदिवासीवादलाई पूर्णतः स्वीकारेको छ । आदिवासीवादमा मानवकेन्द्रवाद हुँदैन । यहाँ चराचर जगत्मा रहेका जीवित तथा निर्जीव बस्तु वा अस्तित्वहरू सबै समान मानिन्छन् । तथापि मानिसले ऊर्जा पूर्तिका क्रममा अन्न, दूध तथा मासुजन्य पदार्थका प्रयोग नगरी सकिरहेको छैन ।
मनुष्यलाई अन्यका दूध तथा मासु मात्रै नभएर अन्न पनि खाने अधिकार छैन । त्यसो त केही पनि नखाइ बास्न सकिन्न । बाँच्नकै लागि अन्न, दूध र मासु सेवन उसको बाध्यता हो । यही भएर हरेक पटक मासुजन्य पदार्थको आपूर्तिका क्रममा मारिएका प्राणीका स्यबुइबुबुइ गर्न आवश्यक ठान्छ । त्यसरी स्यबुइबुबुइ दिएपछि मारिएका प्राणीका सेम भने पुनः जीवनक्रमा आउने वा जन्म लिन नपर्ने स्थानमा पुग्छन् । तिनका मासु साग समान खानयोग्य बन्छन् ।
त्यस्तैगरी खेतीपातीका लागि पनि खनजोत गर्नैपर्ने हुन्छ । खनजोतका क्रममा अनेक दृश्यादृश्य जीवका हत्या हुन पुग्छन् । पाल्साङबज्र लामा भन्नुहुन्छ, एक दाना अन्न उत्पादनका क्रममा लाखौं जीवका हत्या गरिएका हुन्छन् । त्यसरी मारिएका प्राणीका चित्तले उत्पादित अन्नलाई पिरेर बस्छन् । त्यस्ता अन्न सेवनयोग्य हुँदैनन् । त्यही भएर बोम्बोले सेरकेम, ह्युल्जे गर्दै अन्त्यमा स्थानीय शक्तिलाई नयाँ उत्पादित बाली नै नवङ्गी भनेर चढाउँछन् । त्यसरी चढाएपछि उत्पादनका क्रममा मारिएका प्राणीका सेम (चित्त)ले मुक्ति पाउँछन् । पुनःजन्म लिन नपर्ने लोकमा जान सक्छन् । त्यसपछि अन्न सेवनयोग्य बन्छन् ।
यही तथ्यलाई मनन् गर्दै लम (लामा)ले नम्दुङ र सोङरातीमा सोइनम् खेल्छन् । आँगनमा उभिएर लामाले डमरु र घण्टी बजाउँदै लय हालेर गाउँछन् । त्यसो गर्नाले सम्बन्धित घरमा रहेका अन्न उत्पादनका क्रममा मारिएका प्राणीका भडि्करहेका सेमले मुक्ति पाउँछन् । तामाङ बौद्ध धार्मिक यिनै विश्वासलाई पनि गम्भीरतापूर्वक बुझ्न जरुरी छ । यसका अतिरिक्त ह्वरीस्हुङ जस्ता रिमठिमलाई मौसम अनुसार मानव देहलाई आवश्यक पर्ने ऊर्जाको जोहो तथा व्यवस्थापन प्रविधिको रूपमा पनि स्वीकार गर्न आवश्यक छ । पहिचानलाई मास्ने होइन; सगौरव स्थापित गर्ने गराउने मार्गमा लागौं । सुधारको आवश्यकता छ भने सोही अनुरूपको बहस थालौं । अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो पहिचानलाई दरोसँग उभ्याऔं । धन्यवाद !
१७ अशोज ´७७
चाबहिल

No comments:
Post a Comment