हरेक व्यक्ति जीवित हुञ्जेल कुनै न कुनै क्रियाकलापमा संलग्नता भइरहेको हुन्छ । त्यसो त देहावसानपछि पनि पितृ (पितृदेउ)का रूपमा सक्रियता रहनुपर्ने हुन्छ भन्ने विश्वास पाइन्छ । कम्तिमा पनि जीवित हुञ्जेल म पनि छु भन्नाका लागि पनि क्रियाकलापमा संलग्नता जनाइरहनुपर्ने हुन्छ । सोहीक्रममा कुशल वा अकुशल कर्म हुन पुग्छन् । परिवेश अनुसार कुशल नै अकुशल अनि अकुशल पनि कुशल हुनु कुनै अनौठो होइन । तथापि आफ्ना क्रियाकलाप समाजको लागि घातक नहुन् भन्नेमा सचेत हुनै पर्छ । अन्यथा राम्रै सोचेर गर्दा-गर्दै पनि नराम्रो हुनसक्छ ।
परिणामतः समाज (वा समाजका लागि लागिपरेका व्यक्ति, व्यक्तित्त्व र समूह अर्थात् संस्था)लाई आघात पर्ने खतरा रहन्छ । त्यस्ता खतराको कारण समाज पछि पर्न पुग्छ । यदि त्यस्तै भएछ भने, कुनै न कुनै दिन नयाँ/भावी पुस्ताले समीक्षा गर्नेछन् । त्यसबखत आफ्नो नाम पनि खराब व्यक्तिका रूपमा देखिन सक्नेछ । त्यस्तो समस्या नआउन् भन्नाका खातिर आफ्नै क्रियाकलापका समीक्षा अत्यावश्यक हुन्छ । त्यसो हो भने तलका बुँदाहरूमाथि एक पटक स्वच्छ मनले चिन्तन गर्नु हुन्छ कि !
१) कसैले आफ्नो ह्रुइ प्रष्टसँग उल्लेख गर्दा समेत तामाङ भनेर चिन्न नसक्नु भनेको ह्रुइ मात्रै लेखेर तामाङ नलेख्नेको भन्दा पनि तामाङ भएर पनि आफ्नै ह्रुइ नचिन्नेको गल्ती हो ।
२) ह्रुइ वा तामाङ मध्ये दुइमा एक वा दुइटै नलेखेर लामा मात्रै लेखेको कारण तामाङ भनेर चिन्न सकेनछ भने चिन्न नसक्ने व्यक्तिको नभएर लामा मात्रै लेख्नेको गल्ती हुन्छ । त्यस्ता हर्कत् भनेको म्हेमे जङ्गवीर मोक्तानद्वारा सम्पन्न कार्यको उल्लङ्घन हो ।
३) ह्रुइ र तामाङ वा ह्रुइ मात्रै वा तामाङ मात्रै वा ह्रुइ र लामा दुवै वा ह्रुइ र तामाङ दुवै चाहिँ लेख्ने अनि लबोन र बोम्बोलाई बेस्सरी गाली गर्दै, लामाको पक्षमा मात्रै वकालत गर्छ भने वकालत वा गाली गर्ने व्यक्तिको गम्भीर त्रुटी मान्नुपर्ने हुन्छ ।
४) लामाको छाला काढ्न पछि नपर्ने तर आफ्नै चाहिँ ह्रुइ वा तामाङ मध्ये कुनै एक वा दुवै नलेखी नागरिकता यस्तै छ भन्दै लामा मात्रै लेख्ने कार्य पनि गम्भीर त्रुटीको नमूना हो ।
५) ह्रुइलाई मान्ने तर ह्रुइगी फो'ल लाई नमान्ने, बोन ठिमलाई अस्वीकार गर्ने अनि तामाङलाई जन्मजात बुद्धिष्ट भनी दाबी गर्ने भनेको तामाङ पहिचानलाई सखाप पार्ने साथै बौद्धदर्शनको खिल्ली उडाउने कार्य हो ।
६) ह्रुइ परम्परालाई हिन्दूको थर परम्परासँग दाँजेर व्याख्या गर्ने तथा स्वाँगेभाइको कुरा गर्दा प्रमाण खोज्ने भनेको कुलङ्घारिताको प्रमाण पस्कनु हो ।
७) अस्यङ अङीका छोरा-छोरीलाई कुटुम्ब नभएर माइती चेली भन्नु भनेको दयाभाग सम्प्रदायको हिन्दूभन्दा बाहेककामा पनि मुख्यतः मिताक्षरा सम्प्रदायको हिन्दूप्रति आसक्त हुनु हो ।
८) परापूर्वकालदेखि प्रचलित तामाङ लामा रिमठिमलाई प्रहार गर्दै खाँटी बुद्धिष्ट बन्न खोज्नु भनेको थेरावादी वा गेलुक्पाकरणको मार्गमा प्रविष्ट गराउनु हो । तामाङ बुद्धिजम्को हत्या गर्नु हो । बुद्धिजम्को नाममा तामाङलाई अल्मल्याउनु हो । थेरावादी वा गेलुक्पाकरण गर्नु हो ।
९) बलिप्रथा यसकारण गलत हो भनेर बुद्धको जस्तो बोली वचन गरी बुझाउन नसक्ने वा बुझाएर बलिप्रथा उन्मूलन गर्न नसक्ने वा त्यस्तो गर्न सक्छु भन्ने आँट वा ह्याउ नहुने तर कसैले लबोन, बोम्बो वा खेप्पास्हुङ भनेको सुन्दैमा हत्यारा भन्दै तथानाम् गाली गर्ने भनेको बौद्धधर्मबाट समुदायलाई अलग्याउने अकुशल कर्म हो अनि बौद्धधर्मको मुटुमा तीर रोप्नु हो । त्यस्ताले बुद्धिष्ट हुँ भन्नु घातक हुन्छ ।
१०) आफूलाई धुरन्धूर (बौद्ध) मान्ने तर अरूलाई सत्तो सराप्ने; अरूका खुशीमा बेस्सरी दुःखी हुने; आत्मा वा मृतात्मा शब्दको प्रयोग गर्ने; र्इश्वर शब्दलाई छोड्न नसकेर महादेवलाई नै गुरूपद्मसंभव हो भन्ने; बुद्धलाई बिष्णुको अवतार भन्दै हिँड्ने; संस्कृत भाषालाई रातोदिन सराप्ने तर आफ्नो चाहिँ लिपि निर्माण गर्न वा भएकालाई उपयोग गर्न नसक्ने; बौद्ध बाहेकका अन्य धर्मका अनुयायीका गतिविधि देखेपछि रिसले बेहोश हुने; पैसा आउने भएपछि पासपोर्टमा भिजा लगाउँछु भनेर फुकेर बस्ने कार्य सचेत बुद्धिष्टका लागि पटक्कै सुहाउँदैन ।
११) तामाङ समुदायलाई राष्ट्र भनेर दाबी गर्दा- सातो बोलाउनुपर्ने गरी बिमारी पर्ने; आदिवासी भन्दा पूरा होइन आधी र ताजा होइन बासी भनेर अपव्याख्या गर्ने; तामाङ राष्ट्रलाई पनि तामाङ जातिहरू वा तामाङ जात वा तामाङ जातहरू एवं तामाङ जनजाति जस्ता शब्दावलीका प्रयोग गर्ने; दुर्इ जात भनेको महिला र पुरूष हुन् भन्ने कार्य चाहिँ अल्पज्ञानको ज्वलन्त उदाहरण हो । त्यस्ता कार्यले आफू त सकिन्छ सकिन्छ; समाजलाई पनि डडेलोको प्रकोपमा पार्दै जान्छ ।
१२) तामाङ रिमठिम (संस्कार, संस्कृति र चाडपर्व)का बारेमा बेवास्ता गर्ने; अझै भ्याएसम्म समाप्त पार्न सक्तो प्रपञ्च रच्दै आफूलाई बुद्धिष्टको लाइनमा उभ्याएर राजनीति नै विकल्पविहीन भन्दै भाषण छाद्ने साथै तामाङ राष्ट्रको समुचित अध्ययनको लागि पूँजीवादी वा मार्क्सवादी धारलाई सिफारिस गर्ने कार्य तामाङ मौलिकता हत्याराको प्रमाणित अनुहार प्रदर्शनी गर्नु हो ।
१३) तम्बा, बोम्बो, चोहो र लम (लामा)को कुरा नसुन्ने; बेवास्ता मात्रै नभएर नजरअन्दाज गर्ने; अझै सकेसम्म थुक्ने; गाली गर्ने अनि विदेशबाट आयातित राजनीतिक व्यवस्थाको मसिहको रूपमा आफूलाई चिनाउन खोज्ने; तामाङ भाषा तथा साहित्य अनि विश्वदृष्टिकोणका कार्यक्रममा भाग नलिने वा लिएकै भएपनि त्यस्ता विषय उठेपछि मिटिङ छ भन्दै कुलेलाम् ठोक्ने नेताहरूका अब चाहिँ मृत्यु भयो भनेर नूनतेल बारेछन् भनेपनि पाप लाग्दैन कि ?
१४) चुनाबमा हामी तामाङ भनेर भोट मागेका; जितेपछि पार्टीको लँगौटी भएर रमिरहेका; ताम्सालिङको सट्टा बागमति नाम पारित गर्दा पार्टीको डरले सुरुवाल भिजाएका; समुदाय वा पहिचानलाई दलदलमा भँसाउँदै वर्गीयतालाई प्रधान मानेका; तामाङ मौलिकताको विषय उठान गर्दाखेरि चाहिँ विज्ञानको युगलाई ढुङ्गेयुगतिर फर्काउन खोज्ने तत्त्व भन्दै हिँडेकाहरू त यहाँ जीवित छँदै; तिनका सब्ल फोवा, ब्रिमला ङोवा अनि थामाला घेवा गरेछन् भने पनि दुःख मानिरहन आवश्यक हुँदैन कि ?
१५) तामाङ समुदायका सामू ठूलो स्वरमा भुक्ने; पार्टीका ठूला नेताका सामू पर्न नसकेर डरले लुक्ने; मन्त्री परिषद्मा एकजना तामाङलाई नलाँदा पनि प्रभुको प्रताप ठान्ने; भुक्किएर एकजनालाई सबैभन्दा तल्लो पदमा नियुक्ति गरेछन् भनेपनि परम्पिता परमेश्वर ठान्दै लम्पसार पर्दै कृतज्ञता ज्ञापन गर्ने; त्यस्ता पद पाउँदा पनि खुशीले बेहोश भई भूर्इँमा टेक्न बिर्सिरहेकालाई बधाइ दिन खदा लिएर पुग्ने कार्य तामाङ राष्ट्र विरोधी कार्य हो ।
१६) घरबार डुबाएर वा उतारेर- जिन्दगीभरि तामाङ भन्दै कुदेका तर रिमठिमको विरोध गर्दै तामाङ जड्याह, राजनीति गर्न नसक्ने, चुनाबको बेला एक गिलास रक्सीमा बिक्ने, डनगिरीमा हराएका साथै पढ्न नसक्ने गुँगा लगायतका नीच आरोप लगाउँदै आफैँ मात्रै महान् भन्ने तर आफ्नो जरोकिलो चिन्न नसक्ने अन्धाहरूका कमि छैन । त्यस्तालाई चिन्न नसक्नु पनि चिन्तनशीलताको अभावमा हराउनु हो ।
१७) आफूलाई लागेका वा मन परेकोका जति तामाङको मौलिक र राम्रो भन्ने तर आफूलाई मन नपरेकैले वा आफ्नो क्षेत्रमा नभएकैले वा आफूले बुझ्न नसकेकैले, अन्यत्र विद्यमान ह्रुइ, रिमठिम, चाडपर्व, मूल्य, मान्यता वा तामाङ शब्द लगायतलाई हिन्दूको भन्ने वा हिन्दूले पछिबाट आफ्नो(तामाङको)माथि हिन्दूको खप्ट्याएकाहरूसँग मिलेको जस्तो देखियो भन्दै सामाजिक सञ्जालदेखि हरस्थानमा रोइलो गर्नु भनेको मानिस भएर पनि साउनमा आँखा फुटेको गोरु हुनु हो ।
१८) आफूले केही लछारपाटो लाउन नसक्ने; अरूले गरेकालाई कसरी काटुँ भनेर कुद्ने; आफ्नो र अर्काको भन्ने छुट्याउन नसक्ने; कल्चरल जिनोलोजी नबुझेका वा बुझेर पनि बुझ पचाएर आफू सोझो बन्न खोज्ने; कतिपय कठोर कदम चाल्नुपर्ने बेलामा पनि परिस्थितिलाई डोर्याउनुको सट्टा डराएर पछि हट्नु भनेको भरिया हुने तथा अवसरवादीको लक्षण प्रदर्शन गर्नु हो ।
१९) तामाङ बाहेकका अन्य मात्रै ठूला र असल; तामाङ भनेपछि नाक मुख खुम्च्याउने; तर्किने, छुन घीन मान्ने; दुर्इ पैसा कमाएपछि; बाइक वा कारमा चढ्न सक्ने भएपछि; राम्रा कोटमा ठाँटिएएपछि; ठूला भनाउँदा नेताले भाइ भनेपछि भूर्इँमा टेक्न बिर्सने; २० रूपैयाँको चिया पिएर वा २० रूपैयाँको चियालाई ५०, १०० अझ सकिन्छ २०० वा सो भन्दा पनि बढी तिर्दै पाँच जना बसेर कुरा काट्ने र त्यसैलाई आफूले गरेको रिर्सच भन्दै हवाला दिने कार्य भनेको अरूका चेतको भारी बोक्ने भाडाका टट्टु हुनु हो ।
२०) गुदी खोज्न भनेर कुदेका तर खोस्टा पाउँदैमा रमाउँदै बेहोश भएर ढलेका; कम्तिमा खोस्टासम्मन् भएपनि ल्याएछन् भनेर प्रशंशा गर्न त परै जाओस्, तिनलाई तथानाम् गाली गर्दै समाप्त पार्न तम्सेका; कसैले गहन अध्ययन गर्छु भनेर जानेक्रममा भेटिएका तथ्यलाई अस्वीकार गर्दै, शङ्का गर्दै, वाइयात भन्दै सत्तो सरापेर खाना पचाउने बानी बसाएका; त्यस्तैगरी कसैले आफूले भन्दा अझै गहन तथ्य ल्याएका कारण आफूले ल्याएको कुरा खोस्टो होला कि भन्ने डरको मारे अनेक आरोप तथा गालीका लागि सामाजिक सञ्चालमा नयाँ नयाँ शब्दकोश प्रकाशन गरेका साथै पुराना कमजोरीलाई सम्पादन गर्ने आँट गर्नुको सट्टा सकिन्छु कि भनेर त्राहिमाम् हुने कार्य भनेको नरकलोक प्रवेशको लागि भिजा लिनु हो ।
१५ कात्तिक '७७
चाबहिल

No comments:
Post a Comment