फ्याटिया
भन्यो अध्यादेश ल्यायो अन्तिममा बेसार
कुटी
र याङ्दी नक्शामा थप्दा सरीता असार ।।१।।
बिष्ट्याएपछि
देखेछन् दैलो खटि्कयो आवश्यकता !!
फेसबूके
नेता सबैका मुखमा अङ्गीकृत नागरिकता ।।२।।
असार मास ! मुठी रोपेर मुरी फलाउने
अवसर !! यतिखेर विदेशबाट फर्किएका तथा शहरबाट तर्किएकाहरूले गाउँ हल्लाउँदै छन् ।
हल्लीखल्ली छ गाउँमा ! उही कोरोना माईको नाउँमा !! अघि एक समय, नेपाललाई
कृषि प्रधान देश भन्दै थिए । सक्नेले कृषि पेशा गर्दै थिए । गर्नेसँग कुरा जोत्ने
समय हुँदैनथ्यो । त्यसैले जोत्नै पर्दा तिनले गोरु जोत्थे । नसक्नेले भने कुरा
जोत्थे । देशको ओँठमा कृषि नामक लिपिस्टिक पोत्थे ।
बिस्तारै शहर ताक्नेको सङ्ख्या बढ्यो
। गाउँ जङ्गलमा परिणत हुन थाल्यो । कृषिप्रधान देशबाट कृषि लोपोन्मुख व्यवसायमा
परिणत भयो । सारा युवा विदेशतिर उडे । विदेशबाटै कतिले घरबार चलाए । कतिले ऋण तिरे
। कतिले शहरमा घर किने । कति बाकसमा प्याक भए । कतिका घरबार डुबे । लेखाजोखा गरेर
के काम ! बितेको घाउ नकोट्याऊ । दुख्छ मात्रै ! त्यसैले भूत हैन भविष्य हेर्ने हो; भन्छन्
।
यस्तैमा कोरोना देखियो । आफैँ
जन्मियो ? कि
बोक्सा/बोक्सीले उठायो ? यो प्रश्न बनेको छ । कोही चीनलाई दोष लगाउँछन् । कोही
अमेरिकामाथि शङ्का गर्छन् । कोही इजरायलतिर आँखा तन्काउँछन् । उत्तर कहिले आउला वा
नआउला ? शायद, चीन
देश स्प्रिङ फेस्टिवलमा रमाउँदै गर्दा अमेरिकी तथा इजरायलीको बोक्सा/बोक्सी आँखा
पर्यो । दुनियाँलाई सतायो । अरूलाई खनेका खाल्डोमा आफैँ पनि फसे ।
भारत र नेपालमा पनि कोरोना देखियो ।
यी देशहरू कोरोनाको बाउ या आमापट्टकिा नातेदार पनि होइनन् । मितेरी साइनो वा
ससुराली खान्दानीमा पनि जोडिँदैनन् । यिनले रोक्न पनि सकेनन् । त्यसपछि भारतले
चीनिया भाइरस भन्दै खिसीटिउरी गर्यो । कोरोनाले हैसियतमा बस भनेर थर्कायो ।
आँत्तिएर/अक्मक्किँदै ''ची ची ची हैन नेपाली भाइरस'' भन्यो । एकजना नेपाली मुसलमानले
उत्पादन गरेको भन्यो । कोरोना हाँसेर कस्सो बेहोस् भएन ।
संसारमा त्राही-त्राही मच्चियो । मै
हुँ भन्ने अमेरिका पनि ढाँड भाँच्चिने गरी थच्चियो । चीनको झण्डामा कोरोनाको
तस्वीर छाप्नेको सातो गयो । चीनलाई नदिनाकै निमित्त मास्कमा आफ्नो देशको झण्डा
छाप्नेको बक बस्यो । विश्व अर्थतन्त्र नराम्ररी ख्वान्द्रोमा खस्यो । कोरोनाको कुरा
गर्दा चीन र अमेरिकाको द्वन्द्व मान्नेहरू पनि छँदैछन् ।
अमेरिका आफूलाई बछ्यु ठान्थ्यो ।
अन्यलाई झूसेबारुला भन्थ्यो । केपि ओलीलाई चित्त बुझेको थिएन । के गरूँ भनेर
हेर्दै थियो । गुरुङ, मगर, रार्इ, लिम्बु र तामाङले बनाएका गोर्खाली शानमाथि आँखा पुग्यो ।
त्यसपछि फ्याट्टै युक्ति सुझ्यो । कम्तिमा आफ्ना कार्यकर्तालाई अरिङ्गाल घोषणा गर्यो
। झूसेबारुलाबाट नेपालीलाई अरिङ्गालमा उकास्यो । वास्तवमा मनको लड्डु घिऊसँग खायो
। अरू छिमेकीले देख्लान् कि भन्ने थियो । त्यसैले लुकेर रमायो ।
कोरोनाभित्रै अम्रिका नामक देशमा जर्ज
फ्लोयडको हत्या सावित भयो । आगो सल्कियो । अनगिन्ती टियरग्याँस छोड्नुको विकल्प
रहेन । चीनसँग कम्ता रीस उठेको थिएन । त्यसैले माक्स बहिष्कार गरेको बछ्युका रानो
ट्रम्पलाई गाह्रो पर्नु स्वाभाविक थियो । ज्यान जोगाउन बङ्करभित्र पस्यो ।
वास्तवमा बछ्यु बस्ने पनि बङ्करमा नै हो नि । त्यतिखेर कसैले आगो सल्कायो वा
मेटासिड छर्क्यो भने ! विचरा बङ्करभित्र ... हुन के बेर । कुनै जमानामा हिटलर पनि
बङ्करभित्रै निभेका थिए ।
यही बीच नेपालमा पनि हुनु नहुनु भयो ? कोरोनाले
थोरै दया गरे पनि माया चाहिँ गरेन । खोज्दै बस्तीतिर छिरेको जस्तो छैन तर सामुन्ने
परेकालाई छोडेको पनि छैन । कोरोना माईले केपि ओलीलाई चर्चामा आउन भने सघाऊ पुर्याइरहेको
छ । फ्याटिया र बोसिया शब्द ओलीको ओँठबाट बक्यो । सामाजिक सञ्जालतिर भ्रमणमा
निस्कियो । धेरैले सँगै बसेर तस्वीर खिचे । आ-आफ्ना वालमा टाँसे । रमाइलो गरे ।
हाँसे र हँसाए ।
उता भारतले मानसरोवर जान्छु भन्दै
रोड खन्दैरहेछ । नेपालीहरू फ्याटिया र बोसिया भन्दै हाँसखेलमा रमाइरहेको बेला
फ्याट्ट लाएर रोडको उद्घाटन गर्यो । खबर बज्न थालेपछि एकाएक सबैका हाँसो र
ख्यालठट्टा रोकिनु स्वाभाविक थियो । त्यसपछि नेपाल र भारतको राजनैतिक रङ्गमञ्चमा
नाटकले नयाँ मोड प्राप्त गर्यो । नेपालीले कुटी, याङ्दी र लिम्पियाधुरा हाम्रै हो
भन्न थाले । भारतीयाले पनि हाम्रो हो भन्न थाले । तल्लोभन्दा तल्लोस्तरमा झरेर
गाली पस्के ।
बुहारी लिन जाँदा (भनेको छोरी
जुवाइँलाई दिँदै गर्दा)को बेलामा त आपस्तमा झगडा गर्न नलजाउने दुर्इ देशले खुब
गज्जबको खैनी पाएछन् । हत्केलामा राखेर माडेको माड्यै छन् । समय समयमा फ्यट्ट
फ्यट्ट पनि हानेकै छन् । ओ बाSS त्यसपछि हाँछ्यु आउनु स्वाभविक हो नि । बाँकी प्रसङ्ग भने, याद
गर्नुस् है- केही क्षणपछि बेसारसहित देखापर्ने नै छ ।
ओली जी पनि इम्युनिटी पावरले भरिलो
झरिलो व्यक्ति पर्नु भयो । जस्तै लकडाउनले पनि के छुन्थ्यो । यही बीच, दुर्इ
वटा अध्यादेशहरू ल्याएको थियो । दुर्इ चार वटा अरिङ्गाल खटाएको थियो । जनकपुरदेखि
अर्को पार्टीको नेतालाई उठाएको थियो । फिल्मी तथा अपहरण शैलीमा काठमाडौं ल्याउन
लगाएको थियो । आफू ताक्छ मुढो : बञ्चरो ताक्छ घुँडो भने जस्तो भइदियो । कुर्सी
समेत हल्लिन थाल्यो । रोर्इ करार्इ गर्दै मुस्किलले जोगिनु भयो । धन्न कोरोना माई
। जय होस् हजूरको भन्दै लामो श्वास तान्यो ।
विपक्षीका आँखा पनि कम्तिका थिएनन् ।
समुद्रमुनि लुक्ता पनि नछोड्ने खालका ! भष्मसुरको भन्दा पनि तगडा ! के गरूँ कसो
गरूँ भइरहेको थियो । त्यसैले कुटी याङ्दी र लिम्पियाधुरा नेपालकै हो भनेर दाबी गर्यो
। महाकालीमा अनावश्यक रूपमा भारतीयले अक्कुपाइ गरेको भन्दै भुन्भुनायो । पहिल्यै
अरिङ्गालको रानो हुँ भनी गरेको दाबी यतिखेर पो काममा आयो ।
ओली भुन्भुनाएको सुने/देखेपछि सरिता
गिरीको सातो गयो । साँच्चैमा असार लाग्यो । ''नक्शा जारी नगरेस्'' भन्दै
असारे झरीसरि बर्सिन थालिन् । सारा नेपालीले सरिता गिरीमाथि आरोपका उल्कापात थाले
। खासमा सामाजिक सञ्जालभरि सरिता गिरीकै भनाई र मुहार सजाए । त्यस्तैमा नो
एम.सि.सि. भन्दै सडक तात्तियो । पानीको फोहोराले शितल पार्ने प्रयास भयो । कतिले
लौरो खाए । कतिले आपसमा बाजाबाज गरे । बिस्तारै नजानिँदो तरीकाले पछाडि सरे ।
नक्शा त बनायो तर संविधानमा पुरानै छ
। संशोधन गर्न बाध्य भयो । मौका पर्खेर बसेको जनता र समाजवादी नामक पार्टीका
विपक्षीले के छोड्थे । महाकाली सन्धिको बेला तिमीले पनि देश बेचेको भनेर घुमाउरो
औँलाले देखाए । इम्युनिटी पावरले त्यतिसम्म त धानेकै थियो । अब देश बेचुवालाई
टुँडिखेलमा ल्याएर झुण्ड्याउने भन्दाखेरि तालु समेत सुकेर जात्रा भयो । भनन्न
रिङ्गटा चलेको थियो । उठेर भाग्न सक्ने हालतमा थिएन । श्रीमद्भगवद्गीतामा पो, 'जे
भयो राम्रै भयो । जे हुनेछ राम्रै हुनेछ' भनेर लेखेको छ भन्थे । हो रहेछ ।
ओलीजीलाई त्यस्तै भयो ।
नेपाली उखान छ नि; भत्केको
घरको झ्यालै झ्याल ! एकातिर मिलायो अर्कोतिर भ्वाङ परिसकेको हुन्छ । राजनीतिमा
अलिक केही होला कि भन्ने हुँदाखेरि उता कोरोनाले हैसियतमा बस भन्न आइहाल्छ ।
दिनदिनै रोगी बढ्दैछन् । औषधीमूलो सकिँदैछन् । क्या फसाद ! धन्न मिचिएको सीमा
फिर्ता गराउनुपर्ने भएकोले कोरोना सोरोनाको टन्टा नदेऊ भन्न पाएको छ ।
मानिसले बोक्नुपर्ने कुकुर शिकारी
बन्दैन, भन्छन्
। अरिङ्गाल पनि मेटासिडको गन्धले लडेपछि उठ्ने होइन । त्यही भएर ढाँडस् दिनैका
लागि भएपनि आफैँ उपस्थित हुनुपर्यो । सोही प्रसङ्गमा 'कोरोना
भनेको सामान्य रुघाखोकी जस्तो हो । लागि हालेछ भने पनि हाँछ्यु साछ्युँ गरेर
फाल्नुपर्छ'' भन्नु
भयो । सुनेर झूसेबारुला अनि म पनि अरिङ्गाल भन्नेहरू हाँसिहाले । रुकुमकाण्ड भन्दै
एकथरीले बसी खान दिएको होइन । मदेशी आफैँ ''बछ्युँ भएका छौं'' भन्छन्
।
लौ भएन । के पो भन्ने भनेजस्तो
भइरहेको थियो । फ्याट्ट कहाँबाट बेसार पानीको याद आयो । बेसारको प्रसङ्ग के
उप्काएको ! सबैले आफ्नै तस्वीरमा बेसार पोतोर खै के गरेको हुन् ? भेउ
नपाउने गरी अन्यौलतामा फस्ने गरेको छ । चौजहारीकाण्ड भन्दै एकथरीले किलकिले छोडेको
होइन । धन्न, यतिखेर
अङ्गीकृत नागरिकता आयो र अलिक हल्का महशुश छ ।
गल्तीले पाठ सिकाउँछ भन्थे हो रहेछ ।
यत्तिका समयसम्म बेवास्ता गरेको । अङ्गीकृत नागरिकताको मुद्दा पाउँदा सरिता
गिरीलाई नै माई भन्दै पाउँ परुँ जस्तो नभएको होइन । यस्तो कुरा बाहिर भन्नु पनि
भएन । त्यसैले अन्य देशको उदाहरण खोज्नुपर्ने भयो । तिनले पनि राम्रो साथ दिएको छ
। वास्तवमा ''हिमाल, पहाड
तरार्इ ! कोही छैनौं परार्इ !!'' भन्ने नारा लगाएर राखेको हुनाले पनि अलि होलो भएको छ ।
नत्र हिमाल कुहिरोभित्र चौँरी र भेँडाको बथान चराउँदै छ । पहाड र तरार्इ भने फ्याक
होला जस्तो भइरहेको छ ।
अङ्गीकृत नागरिकता भारतबाट भित्रिने
बुहारीका लागि मात्रै नभएर सबै विदेशी तरुनीका लागि हो भन्यो तर विपक्षीले
किलकिलेमा समात्न छोड्दैन । झूसेबारुलालाई अरिङ्गालले सामाजिक सञ्जालतिर अङ्गीकृत
नागरिकता, राष्ट्र
र राष्ट्रियता भन्दै अल्झाउन सफल देखिएको छ । नो एम.सि.सि. साथै दलितमाथिको भेदभाव
अन्त्य गर भन्दै दिन कटाएका छन् ।
अङ्गीकृत नागरिकता पनि गज्जबको जिनिस
बनेको छ । बारुलादेखि अरिङ्गालसमेतलाई यसले बशमा पारेको छ । एकथरीलाई श्रीमती
ल्याएपछि तुरुन्तै अङ्गीकृत नागरिकता चाहिएको छ । नदिऊँ भने यसअघि दिइआएको कुरो ।
दिऊँ भने सरिता गिरीको मुहार झल्याँस्स हुन्छ । सपनामा पनि तर्साउँछ । जेहोस् मै
हुँ भन्नेहरू सामाजिक सञ्जालमा व्यस्त भएका छन् । कम्तिमा आफ्नै वालमा लेखेका छन्
। बढीमा अरूका वालमा कमेण्ट भन्दै गाली वा ताली दिन पाएकाले खुशी देखिन्छन् ।
कोरोनाको भूतले तर्साएको महशुश गर्न सकिरहेका छैनन् ।
मान्छे भन्ने जन्तु पनि अजीवका
हुँदारहेछन् । कङ्गाली देशमा जन्मेपनि सम्पन्नताको सपना देख्न छाड्दैनन् । सबैलाई
नागरिकता चाहिएको छ । नेपालमा कति नै नगर भएजस्तो । बस्ने बेलामा ओडारमा बस्छन् ।
तिनैलाई देशको नागरिक भनिदिएपछि भूर्इँमा टेक्न बिर्सेला जस्तो गर्छन् । चुनाबमा
भोट दिन पाए सार्वभौमसत्ता सम्पन्न रहेँछु भनी ठान्छन् । जितेर नेता भएकाले छातीमा
लात्तीले हान्दा पनि कति मायालु लात भनेर मक्ख पर्छन् ।
कुनै जमानामा गणेशमान सिंहलाई
र्सवमान्य नेता भन्थे । तिनले हामी नेपाली भेँडो हौं भनेका रे भन्थे । हो रहेछ नि
। सर्वमान्य नेताले भनेको कुरा के बिस्तुर खान्थ्यो ? नेपाली
जनता भेँडा रहेछन् । त्यसैले यिनलाई खोरमा राखेरै पनि नेपाली नागरिकता नामक कागजको
खोस्टो दिएपछि गजक्क परेर बस्दोरहेछ । तिनैका ऊन काट्ने अनि जाडोमा पातलो राडी
दिएपछि प्रभु भन्ने रहेछन् । बाँकी ऊन अरूले लगेको पनि थाहा पाउँदैनन् । काटेर
मासुको व्यापार गर्दा पनि भेउ पाउँदैनन् ।
नागरिकता प्राप्त भएपनि मान्छे
नागरिक हुन्छन् । नागरिक नै जनता हुन् । यी दुर्इ शब्दको खेल पनि बडो रोमाञ्चक
देखिन्छ । कोही नागरिक बनेर गजक्क पर्छन् । कोही जनता बनेर आन्दोलनको सपना देख्छन्
। सारमा, आफैँ
पनि शासक हुन सक्ने सपना बुन्छन् । शासक बनेर अरूलाई शासनको दण्ड चलाएको दृश्य
कल्पन्छन् । वास्तवमा शासक र शासित भ्रम हुन् भनी बुझ्ने फुर्सदै प्राप्त गर्दैनन्
। आफ्नो भूमिमा बाह्यले आएर नोकर बनाएको पनि चाल पाउँदैनन् । पाउन् पनि कसरी !
नागरिकता र जनताको बुख्याँचाले आँखा धमिलो पार्दो रहेछ । आफ्नै वास्तविक मुहार
देख्न नसक्ने गरी छेक्तोरहेछ ।
त्यसपछि शासकहरू स्वछन्द र निर्बन्ध
हुँदारहेछन् । जनता र नागरिक भन्दै घाँसको आश देखाउँदारहेछन् । मान्छेलाई पनि
चरनमा लगेर चराउँदारहेछन् । वास्तविकता भने निकै फरक हुँदारहेछन् । मानिस
स्वतन्त्र हुन्छन् । त्यो आंशिक तथ्य मात्रै हो । स्वतन्त्र भन्दा धेरै बन्धित्
हुन्छन् । त्यो गुह्य तथ्य हो । यदि मान्छे पूर्णतः स्वतन्त्र भएको भए; किन
देश, राष्ट्र, राष्ट्रियता, हिमाल, पहाड
र तरार्इ भनिरहनु पर्थ्यो र ? धर्म, भाषा, परिवार, समाज, जन्म र मृत्युबारे चिन्तित् हुनुपर्थ्यो र ?
मानिस स्वतन्त्र हुनु भनेको छाडा
हुनु हो । अमानुष हुनु हो । उच्छेदवादी हुनु हो । वास्तवमा मानिस बन्धित छौं ।
एकापसमा बाँधिएका हुन्छौं । स्वतन्त्रताको नारा लगाउनेले कम्तिमा एक्ले ढेँडु भएर
बाँच्न सक्नुपर्छ । बगालदेखि छुट्टिनुपर्छ । एक्लै अन्यदेखि पर बाँच्नुपर्छ । त्यो
सम्भव छैन । भन्नाले मान्छे अन्तर समबन्धित छौं । त्यसैले सामाजिक प्राणी भयौं ।
सामाजिक भएपछि आफूभन्दा पहिले समाजलाई देख्न सक्नुपर्छ । समाज र देश फरक हुन्छन्, जस्तै
: तामाङ, गुरुङ, थकाली, मगर, रार्इ, लिम्बु, थारु
आदि समुदाय वा समाज हुन् । स्वतन्त्र राष्ट्र हुन् । त्यस्तैगरी हिन्दू अर्थात्
आर्य एवंरीतले खस समुदाय हुन् ।
नेपाल देश कहिल्यै राष्ट्र हुनसक्ने
कुरै होइन । महिला र पुरुष जात होइन; त्यस्तैगरी नेपाल देश हो । राष्ट्र
होइन । त्यसैले नेपाली राष्ट्रियता झूठको खेती हो । गलत बुझाई तथा पढार्इको उदाहरण
हो । नेपाल देश हो । देश र देशभक्त फरक विषय हुन् । नेपाली हकमा तामाङ, गुरुङ
र थारु लगायतका आदिवासी भनिएकाहरू मात्रै राष्ट्र हुन् । त्यसैले नेपाली
राष्ट्रियता होइन । विश्वले चिनेका गोर्खाली भन्नाले गुरुङ, मगर, रार्इ, लिम्बु
र तामाङ राष्ट्रका युद्ध कौशलता हो । कुनै बाहुन क्षेत्री अर्थात् आर्य वा खसका
लडाका गुण होइन ।
त्यसैले तामाङ यहाँको राष्ट्र हो ।
यसको आफ्नै भूमि थियो/छ । सारा व्यवस्था थियो/छ । जहाँ पोलिटिक्स/राजनीति भन्ने
थिएन । योसँग त केवल बडीपोलिटक मात्रै थियो/छ । जहाँ शासक र शासित थिएनन् । समाजमा
शासन प्रशासनको व्यवस्था थिएन । त्यहाँ समाज सञ्चालनको विधि मात्रै थियो ।
दुर्भाग्यपूर्ण तथ्य चाहिँ; यहाँ बाह्यको प्रवेश भयो । तामाङमाथि जातीय संहार गरे ।
तहसनहस पारे । आफूलाई शासक घोषणा गरे । तामाङलाई शासित बनाए । मासिन्या मतवाली
बनाए । शदिऔंदेखि विभेद गर्दै आए । आज तिनैले तामाङलाई नागरिकता दिने ? तामाङले
भारत वा भुटान वा बर्मामा भएकी आफ्नी अङी (फुपू)की छोरीसँग विवाह गर्दाखेरि
अङ्गीकृत हुने र सात वर्ष पर्खनुपर्ने ? सक्छौ र हिम्मत छ भने, देश
बेचुवाहरूका कम्तिमा पनि सात वर्षसम्म नागरिकता निलम्बन गर्न सक्ने कानूनी
व्यवस्था बनाउन । क्षमता छ ?
यहाँका राष्ट्रलार्इ नेपाली
राज्यसत्ता भन्नेले नागरिकता दिने ? यो भनेको जुजुबाजेलाई खनातीको पनि
खनातीको पनि खनातीको पनि खतानी .... को उमेरको फिरिङ्गे आएर तिमी मेरो देशको
नागरिक भयौ भनेको हो । यो कदापि उचित होइन । सिक्किममा मेरो दाजुभाइको घर छ ।
तिनको घरमा लसोल गर्न म किन जान नपाउने ? भुटानमा मेरो गोले वंशीय भाइ छन् ।
तिनले आफ्नो पुर्खौली भूमि लच्याङ र थाङ्पालमा फर्केर आइ किन बस्न नपाउने ? बर्मामा
मेरो मामाकी छोरी छे । मैले तिनलाई श्रीमती बनाएर किन भित्र्याउन नपाउने ? ससुराल
जान किन नपाउने ? बङ्गालदेशमा मेरो वंशीय भाइको घरमा मरन हुँदा किन जान
नपाउने ? के
लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, डोमोक्रेसी, उदारवाद
र साम्यवाद भनेको यही हो ?
हाम्रो भूमिमा पछि आएर तिम्रो देश
बनाउने ? हाम्रो
भूमिमा आएर मलाई तिमीले नागरिकता दिने ? हामीलाई जनता वा नागरिक बनाउने ? तिमीले
थमाएको नागरिकता फिर्ता लैजाऊ । हाम्रो विवाह दर्ता तिमीले कुन हैसियतले गर्छौ ? हाम्रो
विवाह सम्बन्धी नियम तिमीलाई थाहा छ ? तिम्रो पो एउटै थरभित्र पनि विवाह
हुन्छ ? गोत्र
हुन्छन् । गोत्र परिवर्तन गर्छौ । हाम्रो त त्यस्तो छैन । त्यसैले फरक छौं ।
होइन/हुँदैन भन्छौ भने लैजाऊ तिम्रो
राज्य र सत्ता ! हाम्रोमा छायाँ समेत नपर्ने ठाउँमा लैजाऊ । यो बुझ कि- तिमीले
थमाएको नागरिकता हामी राष्ट्रले फिर्ता घोषणा गर्यौं भने तिमी के गर्छौ ? राष्ट्र
भएको हैसियतले प्राप्त गरेका अधिकार छोड्दैनौं । आऊ मिलेर बस्ने भएदेखिन्, समान
हैसियतका देशहरूका हैसियतमा वार्ता गरौं । फरक देशहरूका संयुक्त राज्य/देश नेपाल
बनाऔं । हैन भने यसबाट उत्पन्न हुनसक्ने हरेक समस्याको जिम्मेवार तिमी हुनेछौं
- गोले केआर चालिसेली
१० असार '७७
चाबहिल
- गोले केआर चालिसेली
१० असार '७७
चाबहिल
No comments:
Post a Comment