| जग खन्दै |
वि.सं. २०७२ सालको बैशाख १२ गते १२ बजे ! भूकम्प गएको थियो । कत्तिले
महाभूकम्प भनेका थिए । कोही चाहिँ गोर्खा भूकम्प, ७२ मात्रै भन्दै थिए । त्यतिखेर
चाबहिलस्थित कोठामा थिएँ । खाना खानेक्रममा थियौं । बूढोघरमा; कसो-कसो ज्यान बचाउन सफल भयौं । घर भत्किएपछि किताब र चुह्लो मात्रै बचेका
थिए । ल्यापटप काम नलाग्ने गरी फुटेको थियो । यद्यपि, हार्डडिस्क
सेभ रहेकोले जोगी चाहिँ भइएन । त्यतिखेरसम्म ज्यानले सङ्कलन गरेको सबै सूचना त्यही
थियो । मोबाइल त तीन दिनपछि निकालेका थियौं ।
उता सिन्धुली जिल्लाको साविक मझूवा गाउँ विकास
समिति वडा नं. ८ स्थित चालिसे गाउँ पनि भूकम्पद्वारा थिलथिलो भएको थियो । भनेकै
थिएँ- अब अरू बीस वर्षलाई भारी पुग्यो । नचर्केको घर कसैका पनि थिएनन् । बस्नै
डरलाग्दो गरी चर्केका घरहरू ! धन्न, मानवीय क्षतिबाट बचेको
थियो; चालिसे गाउँ ! करीब ९० घरधूरी छन् । दुर्इ घर
विश्वकर्म छन् । एकघर मगर अनि बाँकी सबै तामाङ ! गाउँमा पुग्दा- सबैजना बारीमा थिए
। त्रास कस्तो हुँदोरहेछ भन्ने स्पष्ट देखिन्थ्यो ।
कत्तिका घर लडेका पनि थिए । कत्तिका छाना खस्न
मात्रै बाँकी त कसैका पर्खाल चाहिँ भत्किन नसक्ताको पीडा प्रदर्शन गरिरहेका जस्ता
देखिन्थे । मेरो आफ्नै घर र गोठ पनि कम्ता डरलाग्दो स्वरूपमा थिएनन् । मूलघर त
भत्काउनै पर्ने अवस्थामा थियो । फेरि पनि भत्काउन मिल्ने कुरै भएन । कारण 'फो ल’ (कुल) स्थापित घर थियो त्यो ! त्यसैले 'ल स्होबा’ (देवाली) नगरेसम्म भत्काउन नमिल्ने भयो ।
त्यसो त 'ल स्होबा’का लागि फागुन र चैत
नै पर्खनुपर्ने बाध्यता थियो । त्यो सालको फागुन र चैत गइसकेको थियो । अर्को साल
कुर्नुको कुनै विकल्प थिएन ।
अर्को साल फागुन र चैत आयो । हेर्दा-हेर्दै
त्यत्तिकै गयो । बुवा भारततिर हुनुहुन्छ । हामी काठमाडौंमा छौं । घरमा त आमा एक्लै
हुनुहुन्छ । आफ्नै घरमा पुगेको बेला 'चकटी हनङ मुला आमा ?’
(चकटी कता छ आमा ?) भनेर सोध्ने बानी परिसकेको
छ । यसप्रकार आफ्नै घरको पाहुना भएका छौं । त्यसैले पनि 'ल
स्होबा’ कार्य सम्भव भएन । 'ल स्होबा’
गर्न 'लबोन’ (कुल
पुजारी) चाहिन्छ । त्यसको पनि अभाव नै रह्यो । म्हेमे (हजूरबुवा) ८९ वर्षको
भइसक्नु भएको छ । त्यसैले उहाँले सक्नु हुन्न । काकालाई लबोनप्रति खासै चासो
देख्दिनँ । आफैँले गर्न सक्ने कुरै भएन । त्यसमाथि आफू चाहिँ फूल समेत नटिप्ने
दर्जाको मान्छे । 'ल स्होबा’ बेला भाले
र बाख्रीमाउका बलि दिनुपर्ने हुन्छ । त्यस्तैगरी माछा पनि जोहो गर्नैपर्ने प्रचलन
रहेको छ । ती सबै कार्य आफूबाट सम्भव छैन । माछा, मासु र
जाँड रक्सी छुँदा वा हेर्दा वा देख्न पनि कहिले कहीँ गाह्रै पर्छ । त्यस्तै परेमा
हप्तादेखि कहिले त तीन महिनासम्मलाई भारी पुग्छ ।
| विधिवत् रूपमा जग राख्ने तयारी गर्दै |
यस्तै पीडाले ग्रस्त छु । 'ल
स्होबा’ कार्य नसके पनि नयाँघर बनाउनु थियो । त्यसका लागि
पनि कर्मीहरू चाहिने नै भयो । कर्मीको अभाव रहेछ । माथि लेकका कर्मीहरू आफ्नै
टोलमा भ्याइनभ्याइ रहेछन् । यता तल जम्मा दुर्इ जना मात्रै कर्मी रहेछन् । ती
दुर्इकै मुख हेरिबस्ने हो भने १० वर्षमा पनि सकिनेवाला थिएन । त्यसैले घर बनाउने
आँट नै गर्न सकिनँ । भूकम्प पीडितले घर बनाउने हुँदा वन उपभोक्ता समितिले काठ दिने
भएछन् । नलिनु भनेको थिएँ; गाउँमा आमाले लिनु भएछ । घर
बनाउनका लागि पहिलो किस्ता पनि लिनु भएछ । अब भने मलाई कस्तो फसाद पर्दै गएको थियो
? त्यो कुरा गरिरहने समय नै भएन ।
अस्ति एक डेढ महिनाअघि वडा कार्यालयबाट चिट्ठी आएछ
। दौडेर गाउँ पुगेको थिएँ । डकर्मी थिएनन् । सिकर्मी पनि थिएनन् । जग खन्नलाई
कामदार पनि थिएनन् । ढुङ्गा फोड्ने मान्छे पाइएनन् । जे पर्ला इटा लाने विचार
गरेको त बाटो राम्रो रहेनछ । यसैपालि मुस्किलले ट्याक खोलेका मात्रै रहेछन् । माथि
लेकको टुप्पोमा बस त आयो गाउँ छिर्न सकेन । बाटो सानो रहेछ । ट्रिपरहरू जानसक्ने
अवस्था छैन । साना ट्रकहरू जाँदारहेछन् । सिमन्टीबोरामा पचास बोरा बालुवा बोक्न
पनि मुस्किल पर्ने गाडी ! त्यो पनि एका दुर्इ मात्रै पाइँदारहेछन् । १४/१५
किलोमिटरको बाटोमा तिनले पनि आठ हजार भाडा लिने ! खोला वा सुनकोशीको बालुवा उठाएर
लोड गर्छन् । त्यसको पनि साढे चार हजार अनि भाडा गर्दा साढे बाह्र हजार तिर्यो ।
एक जना अम्गेन(ठूलीआमा)ले गाउँमै बालुवा किन्नु भएछ
। सिमन्टीको बोराभरि बालुवालाई तीनसय रुपैँया तिर्नु भएछ । आफ्नै ढुङ्गा कुटाउँदा
पनि एक बोरा गिट्टी कुट्नेलाई २०० रुपैँया दिनुपर्ने रहेछ । काठ चिर्नेले
दुर्इदेखि तीन दिनभित्र एक घरलाई काठ चिर्दारहेछन् । एक दिनको सरदर २० हजार
रुपैँया पर्दोरहेछ । पहाडको ठाउँ; काठ पनि सल्लाको पाए खुबै
हैन भने उतिस मात्रै ! फेरि घरमा हेर्यो कसैको बूढाबूढी छन् । कसैका बालबच्चा
मात्रै छन् । काम गर्न सक्ने जति सबै विदेशतिर गएका छन् । मर्दा पर्दा समेत गाह्रो
हुन थालेको छ । कुनै दिन धान झुल्ने धनहर खेत अचेल दुम्सी लुक्ने जङ्गल भएको छ ।
खेतको कुला हराइसकेका छन् । गाउँ त मूल सुकेर मरुभूमि बन्दैछ ।
बारीमा मकै छर्यो; बाँदर आएर
टिप्न थाल्छन् । बीउ भूर्इँमा खसाएदेखि नभित्र्याएसम्म रुङ्नुपर्छ । बाँदर,
दुम्सी, बँदेलको प्रकोप छ । रात बिरात भन्न
पाउँदैनन् । जङ्गल जाँदा बँदेलले ढुङ्गा लडाउँछन् । जोगिनै हम्मेहम्मे पर्ने ।
निदाल छोडौं दलिनसम्म बोक्न सक्ने युवाको अभाव छ । घरमा भित्र्याएका अन्नबाली
जोगाउन पनि घर रूङ्ने मान्छे बस्नुपर्दोरहेछ । नत्र बाँदर त सिधै घरमा पस्छन् ।
| विधिवत् रूपमा जग राखेको |
भूकम्प गएपछि चालिसे गाउँमा कुनै एउटा पनि सङ्घ
संस्था पुगेन । कसैले एक टुक्रा कपडा वा एक माना चामल वा चिउरा समेत दिएनन् ।
गाउँले पनि त्यस्तै छन् । उनीहरू अरूले दिएका कुरा लिन मान्दैनन् । बरु भोकै
बस्छन्; अरूबाट रसद लिन हिचकिचाउँछन् । सरकारले एक थान पाल
दिएका रहेछन् । त्यसपछि शुरूमा १५ हजार र पछि ५० हजार पैसा दिएछन् । त्यसपछि
भूकम्प प्रतिरोधी घर बनाउने तालिम दिएका रहेछन्; त्यो पनि
नाम मात्रैको ! बल्ल यसपालि बाटोको ट्याक खोलिएको छ । गाउँको टुप्पोमा टेलिकमको
रिपिटर टावर छ । त्यहाँबाट आजसम्म मोबाइल नेटवर्क पाएका छैनन् । २०४०/०४२ सालतिर
बनेको रिपिटर टावर । कुनै जमाना त्यहाँको टावर बिग्रेपछि पूर्वाञ्चलको फोन सेवा
अवरुद्ध हुन्थे ।
रिपिटर टावर बनेपछि खुशी मानेका थिए । त्यही पनि
दुःखको कारण बन्यो । सशस्त्र द्वन्द्वकालमा डाँडैभरि आर्मी आएर बसे । गाउँलेले
जोगाएर राखेका जङ्गल हेर्दा हेर्दै सखाप पारे ।
गाउँमा दिनसम्म दुःख दिए । बिजुली लाइन बिस्तार गर्न समेत दिएनन् ।
माओवादीले धराप थाप्छ भन्दै गाउँलाई धेरै समयसम्म अन्धकारमा राखे । केही वर्षअघि
मात्रै बिजुली आएको छ । गाउँमा स्वीच अफ गर्ने ठाउँ छैन । काठको खम्बा छन् । सँगै
फलामको खम्बा गाडेको एक वर्ष भइसक्यो; तर तार भने काठकै
खम्बामा छन् । सार्ने कुरा मात्रै गर्छन्; सार्दैनन् । अस्ति
गाउँपुग्दा काठको खम्बा ढलेर गोगनको रूखमाथि पुगेको देखेँ । तुरुन्तै फोन गरेको
थिएँ । भोलि नै पठाउँछु भने तर हप्तादिनसम्म पनि आएनन् । हप्तादिनपछि आएका मान्छे
पनि त्यत्तिकै फर्केछन् । कत्ति स्थानमा काठकै खम्बा मात्रै छन् । फलामको खम्बा
कहिले आउला ? कसैलाई थाहा छैन ।
भूकम्पको कुरा पो गर्दै थिए । कता-कता पो पुगेँछु ।
भूकम्प पीडित भएकैले सहुलियत लिएर घर बनाउनुपर्नेहरूका चयन खोसिएका छन् ।
नपरेकाहरूलाई बरु सञ्चै छ । परेकाहरू भन्दैथिए- कर्मी छैन । कामदार छैन । कसरी
बनाउने ? ठेक्कामा
दिएकाहरू पनि रिसाउँदै थिए । ठेक्का लिएकाहरू विरुद्ध मुद्दा हाल्छु भन्दै थिए’रे । कर्मीहरूले पनि ठेक्का लिएका मान्छेका वा अन्य कसको मात्रै बनाउने ?
सबैले तानातान गर्छन् । एकदिन फुर्सद लिन पाएका छैनन् । सबैका काम
सक्काउनुछ; तर रातदिन खटेपनि कयौं वर्ष लाग्ने काम छन् । फेरि,
छिटो सिध्याउनैछ ।
घर बनाइसकेकाको आफ्नै पीडा छ । अन्तिम किस्ता पाएका
छैनन् । घर त बनाएका छन्; त्यही पनि भैँसी बाँध्ने गोठभन्दा
पनि सानो ! दर्इवटा कोठा त निकालेका छन् । कोठा चाहिँ आफ्नै ढिकीले ओगट्ने
क्षेत्रफल भन्दै कमको ! दुर्इ जना मात्रै हुनेका लागि त ठिकै हुनेरहेछ । त्यसभन्दा
बढि सदस्य हुनेका भने को घरको भित्र र को बाहिर बस्ने हुन् ? सानो घर तल्ला छाप्न पनि नदिएका’रे । साह्रै विरोध
गरेपछि बल्ल तल्ला छाप्न चाहिँ दिएछन् । तल्लामाथि सिधा उभिन पनि हुँदैन । बामे
सर्दै हिँड्नुपर्ने खालका रहेछन् । जस्तोसुकै भएपनि घर त बनाइयो भन्ने पनि छैन ।
सरकारले घर बनाउन लगाएका कि पासो थाप्न लगाएका भन्ने अन्यौलमा छन् । काठले बाँधेको
घर छ । राम्रो प्रजातिको काठ उपलब्ध गराउन सरकारको दरकारको विषय नै बनेन । सल्लाको
काठले बाँधेका छन् । लेकको ठाउँ- एकदेखि दुर्इ सालको बर्खाको पानीले सल्ला त जान्छ
। त्यसपछि घर, घर होइन पासो पो बन्छ ।
कोहीले अनेक दुःख गरेर डि.पि.सि. गरेका छन् ।
गाउँलेहरू सोध्छन्- यो डि.पि.सि.को आयु कत्ति ? बरु यो भन्दा
त ढुङ्गामाटैको पो दरो हुन्थ्यो । तर सरकार र खटिएका इञ्जिनियरहरू सुन्न चाहँदैनन्
। इञ्जिनियरहरू चारगाउँ पर बस्छन् । चालिसेलीले बोलाउँदा बोलाउँदा मुस्किलले
आउँछन् । कतिलाई त फर्कने बेलामा कोक निकालेर रक्सी भरेर पठाउनुपर्दोरहेछ ।
इञ्जिनियर पनि कस्ता छन् ? शुरूमा एक कोठाकै भएपनि हुन्छ
भनेछन् । त्यही अनुसार कोहीले एक कोठाको (ढिकीको छाप्रो जत्रो) घर बनाएछन् ।
बनाइसकेपछि चाहिँ एक कोठे घर पास नहुने भनेछन् । रुनु न हाँस्नु अनि केही
बोल्दैनन् गाउँले ।
| डि.पि.सि. गरेपछिको दृश्य |
कोहीले दुर्इटा कोठा त बनाएका छन् । एउटा अलि सानो
(भान्साकोठा) र अर्को ठूलो कोठा छन् । त्यसमा पनि बराबरी भएन भनेर कचकच गरेका
रहेछन् । पास नभएपछि ठूलो कोठालाई पुनः दुर्इटा बनाएका छन् । त्यसपछि त्यो कोठामा
एउटा सिङ्गल बेडको खाट (पलङ) मात्रै पस्ने भएका छन् । बनेको घर हेर्दै अक्क न बक्क
भएका छन् । खै के खै के ? कोहीको घर लडेर खण्डहर भएका छन् ।
घर बनाउने पैसा पनि परेकै छैन । कस्तो अचम्म ? गाउँले भन्छन्;
अवलोकनका लागि खटिएका कर्मचारीहरु पनि बौलाह थिए कि ?
अस्ति गाउँमा पुग्दा एकजना काकाको घर बनाउँदै
रहेछन् । सा-साना दुर्इ कोठा रहेछन् । एउटा कोठाको बीचमा थाम राख्नैपर्ने बाध्यता
रहेछ । कर्मीहरूले नराखौं भन्दै थिए । राख्दाखेरि साह्रै कचाककुचुक हुने रहेछ ।
थाम राख्नुपर्ने अवस्था पनि थिएन । राख्न मिल्ने ठाउँ पनि थिएन । काकाको बाध्यता
भने बेग्लै रहेछ । उनको घरमा 'ल पोरे’ (कुल) स्थापित गराउनुपर्ने रहेछ । कुल राख्नको लागि थाम अनिवार्य हुँदारेहछ
। जसोतसो थाम त राखे तर माथि उक्लने भर्याङ पनि चाहिने रहेछ । भर्याङ कता राख्ने
भन्ने कस्तो आपत् । दाहिनेपट्टि 'फो ल’लार्इ
पूजा गर्ने लबोन बस्नुपर्ने रहेछ । त्यसैले बायापट्टिको भागमा भर्याङ राख्नुको
विकल्प भएन । भर्याङ राख्ने त भयो तर मूलढोकाले गर्दा भर्याङ पनि ठूलो राख्न
नमिल्ने पो भयो ।
![]() |
| गोले केआर चालिसेली |
वार्तालाप अनि कार्य निकै समस्याग्रस्त थियो । सुन्नेका लागि भने कम्ता हाँसो उठ्दो थिएन ।
उनी थिङ थरी हुन् । उनको घरमा पहिले 'बोङदा’ थियो । त्यो भनेको चुह्लो छेवैको थाम हो । चुह्लो र थामको बीचमा एक जना
मान्छे बस्न मिल्ने खाली ठाउँ हुन्थ्यो । त्यसरी राखिएको थामलाई नै 'बोङदा’ भन्दछन् । त्यसको सांस्कृतिक महत्त्व,
सम्बन्धित मिथक र विश्वास कायमै रहेको पाइन्छ । यद्यपि, त्यस्ता थामहरू सकिँदैछन् ।
सरकार प्रमुखको भूमिकामा अहिले ओली जी हुनुहुन्छ ।
उहाँलाई प्रायःले आदिवासी जनजाति विरोधीका
रूपमा चिन्दै आएका छन् । त्यसो त राजनैतिक पार्टीहरूमध्ये एमाले र काङ्ग्रेस जस्ता
पार्टीहरू वास्तवमै पहिचान विरोधी छन् । ओलीजीले बौद्धमार्गीका खदा पनि खाइदिए ।
खदालाई सक्काउन उनैले ढाकाको गलबन्दी ल्याएका छन् । अहिले पनि भूकम्प पीडितलाई घर
बनाउन लगाउँदैछन् । त्यसक्रममा तामाङ घरको पहिचान पनि समाप्त पार्दैछन् । यो
वास्तवमै पहिचान विरोधीहरूका लागि सबैभन्दा गज्जबको अवसर बनेको छ । पहिचानको
पक्षधरहरूलाई भने फलामको चिउरा सावित हुँदैछ । त्यस्तैगरी घर बनाउने वा
बनाउनुपर्नेहरूका लागि घाँटीमा अडि्कएको हाड्डी भएको छ । बाँकी हेर्दै जुम् । के
के हुँदारहेछन् यहाँ ???
धन्यवाद !

No comments:
Post a Comment