Tuesday, May 15, 2018

सोमसोर '६७ (साहित्यिक आन्दोलन) ले अाठ वर्ष पुगेको उपलक्ष्यमा !!!

स्रष्टा गोले केआर चालिसेलीको परिकल्पना
संयुक्त गजल

अँधेरीमा ज्योति छर्न बल्दैछ सोमसोर
युग फेर्न भनी आफैँ जल्दैछ सोमसोर
                     
   रिना बम्जन
रूखरूपी गजलको हाँगा-हाँगा माझ 
सुवास छर्दै फुलेपछि फल्दैछ सोमसोर 
                       
र्इश्वर थोकर

कसम खाँदै ताम्सालिङको छोए'छि दीयो
तेल थप्तै आँधी हुरी छल्दैछ सोमसोर 
               
  गोले केआर चालिसेली 
यही गजलको वाचन गर्दै सोमसोर (साहित्यिक आन्दोलन)को घोषणा गरेका थियौं । हामी तीनजना र्इश्वर थोकर, गोले केआर चालिसेली र रिना बम्जनले तामाङ गजल विधाको सोमसोर भनेका थियौं । वि.सं. २०६७ जेठ १ गते शङ्खमूलमा आयोजित कार्यक्रम हिजो जस्तै लागिरहेको छ तर आठ भएछ । 
घोषणा कार्यक्रमको एक दृश्य
सोमसोम ६७ साहित्यिक आन्दोलन भनेका थियौं । सोमसोर हाम्रो आन्दोलनको नाम हो । ६७ ले वि.सं. २०६७ सालबाट शुरु गरेको भनेका हौं । कोष्ठकभित्र साहित्यिक आन्दोलनले साहित्यबाट आन्दोलन भनेका हौं । अग्रज स्रष्टाहरूका सहभागिताले हौसिएका थियौं । देशमा आदिवासी जनजातिमाथि अनेक विभेद भइरहेको छ । हामीलाई हेर्ने सत्ताको आँखामा समस्या छ । कुनै पनि स्थानमा आदिवासी जनजातिमाथि अन्याय हुन्छ भने त्यसलाई गजलमार्फत् विरोध गर्ने उद्घोष गरेका थियौं । आदिवासी जनजातिका पक्षमा आफ्नो गजल लेखनीलाई समर्पित गर्ने अठोट गरेका थियौं । 
सोमसोर घोषणा क्रममा अग्रज स्रष्टाहरू (अमृत योञ्जन-तामाङ, रवीन्द्र ग्याबा तामाङ साथै इन्द्रराम मोक्तान)
औपचारिक तथा अनौपचारिक केही कार्यक्रमहरू गरेका थियौं । हामी तीनै जनाका बीच एउटा सहमति भएको थियो । भविष्यमा हामी जोकोही जहाँ जुनसुकै अवस्थामा पुगे वा रहेपनि आदिवासी जनजातिका पक्षमा गजल लेख्ने भनेका थियौं । एक मुठी श्वास हुञ्जेलसम्म आदिवासी जनजातिका निमित्त समर्पित रहने कसम खाएका थियौं । त्यसपछि आजसम्म पनि हामीले सोमसोरको नाम लिए वा नलिए पनि त्यतिखेर गरेका वाचा बन्धनलाई भुलेका छैनौं । आदिवासी जनजातिका पक्षमा पनि गजलहरू लेख्दै र वाचन गर्दै आएका छौं । 
संयुक्त गजल वाचन गर्दै हामी तीनजना सहकर्मीहरू
निष्ठूर समयले हामीलाई अलगथलग गर्न नखोजेको पनि होइन । यद्यपि, दिइसकेको वचनलाई भुलेका छैनौं । कहीँ न कहीँ लेखेका छौं । वाचन गरेका पनि छौं । यो जुनी रहेसम्म आदिवासी जनजातिका पक्षमा लेखिरहने कसम पुनः खान्छौं ! आज महान् आदिवासी विश्वविद्यालयसम्म आइपुगेका छौं । यसमाथि केही अग्रज तथा साथीहरूले साथको वचन दिँदै आउनु भएको छ । हामी खुशी छौं । समयले साथ दिएछ भने- तामाङ गजल महोत्सव गर्ने रहर पालेका छौं । दरबारको खोपीबाट हामीसम्म आइसकेको गजललाई आदिवासी जनजातिको अधिकार प्राप्ति आन्दोलनको एक अङ्गको रूपमा स्थापित गराउन प्रयत्नशील रहेका छौं । 
घोषणा कार्यक्रमको एक दृश्य
यहाँसम्म आइपुग्दाखेरि नगण्य मात्रा कार्य गर्‍यौं । धेरै त गर्नै बाँकी छ । यसबीच स्रष्टा र्इश्वर थोकर धेरै बिमार पर्‍यो । आज सम्पूर्ण आदिवासी जनजातिका महान् पुर्खाहरूसँग प्रार्थना गर्दछौं । हाम्रा र्इश्वर पहिला जस्तै स्वस्थ्य हुनुपर्छ । त्यसैका लागि प्रार्थना गर्दछौं । र्इश्वरको पहिला जस्तै सशक्त रूपमा पुनरामगनको आशमा छौं । त्यही आशलाई नै आसा (आदिवासी साहित्य) अभियानसँग जोड्न चाहेका छौं । त्यसक्रममा लोकोत्तर लोकवादी विचार अभियान हामीसँग रहेको छ । यहाँहरूका साथ सहयोगका लागि धन्यवाद ! सल्लाह र सुझावको आसामा गजल रूपी आँखाहरू बिछ्याइरहने छौं । 

स्रष्टा र्इश्वर थोकर र रिना बम्जन असार विशेष वाचन कार्यक्रममा
जय सोमसोर ! जय आदिवासी !!!

प्रकाशित कृतिहरू :
र्इश्वर थोकरको पिङ्गार्इ
गोले केआर चालिसेलीको वलीम्हेन्दो 
रिना बम्जनको खसुन्हङ्ला लनि (बादलभित्रको जून)

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...