 |
| भारतको मेघालयमा बनाएका जीवित पूलको एक दृश्य |
१.
पृष्ठभूमि
वनस्पति छ । त्यसैले जीवन छ
। वनस्पति बिना जीवनको कल्पना गर्न सकिन्न । कार्वनडाइअक्साइड र अक्सिजन पनि छन् ।
अक्सिजन मानिसलाई चाहिन्छ; त कार्वनडाइअक्साइड
वनस्पतिलाई ! यस मुद्दामा मानिस र वनस्पति एकार्का लागि सहयोगी हुन् । समुद्रमा
डुब्दैगर्दा, मान्छेलाई डल्फिनले सहयोग
गर्छ रे । पानी बाहिर श्वास फेर्ने क्रममा वनस्पति मानिसको दाहिनेहात भएको छ । अझै
भनौं भगवान नै भएको छ । त्यही वनस्पतिलाई कतिपयले उपभोग्य बस्तुको रूपमा चिनेका
छन् । सोही अनुरूप व्यवहार पनि गरिरहेका छन् । भरपूर उपभोग गरिरहेका छन् । उपभोग
मात्रै गरेका भए त चित्त बुझाउने ठाउँ हुने थियो । अति शोषण तथा दूरूपयोग नै
गरेकाले समस्या देखिएको छ । ओजोन तहमा प्वाल परेको छ । वनस्पति मात्रै नभएर स्वयम्
मानव भनाउँदा नै सङ्कटको भूमरीमा फस्दै गएको छ । आजभोलि भन्दा-भन्दै सिङ्गो धरती
आफैँ कालको मुखमा फस्दै गएको छ । समाधानको खोजी नै पहिलो आवश्यकता भएको छ । यहीनेर
वनस्पतिलाई हेर्ने आदिवासी तथा आधुनिक मान्यता के कस्तो रहेका छन् ? यही प्रश्नमा आधारित भएर हेर्न र बुझ्न आवश्यक देखिएको छ । त्यसैले
विशेषतः तामाङ आदिवासी र आधुनिक मान्यताको कसीमा वनस्पतिलाई राखेर हेर्ने प्रयास
गरेको छु ।
२.
पहिलो वनस्पति उत्पत्तिसम्बन्धी तामाङ शेरब कथा
कसैका लागि मिथक मात्रै होला । कसैका लागि औंठाछापे अन्धाविश्वासको
गनगन पनि हुन सक्छ । यद्यपि हाम्रा पुर्खाहरूले वनस्पतिलाई हेर्ने आफ्नै आँखाको
निर्माण गरेका थिए । सोहीक्रममा आफ्नै मान्यता, दर्शन र विश्वदर्शन पनि
दिएर राखेका छन् । त्यसलाई हामी बोन शेरबको अंशको रूपमा लिन्छौं । पाउँछौं । तामाङ
लोकआँखा नै तामाङ वनस्पतीय लोकवार्ता पनि भन्न सक्छौं । ती पौराणिक तथा
प्रागऐतिहासिक धरोहरको रूपमा स्थापित शेरबलाई सङ्क्षेपमा हेर्ने प्रयास गरौं ।
 |
| ह्रिग्यालोन्पो |
शेरब अनुसार- कुनै समय थियो । जुनबेला 'तोङ्पा ह्रङ्सिङ्' अर्थात् महाशून्य मात्रै
थियो । त्यहीबीचमा त्रि-देवको उदय भयो । तिनै देउताहरूमध्ये लनी छङ्बै रेञ्जेन (पछिल्लो समयका सनातनी
हिन्दूहरूले यसैलाई ब्रह्मा भनेर पुनः नामाकरण गरेका थिए)ले 'ङ्यम्बाडुप्पा' अर्थात् ध्यान गरेर हेरेका
थिए । पृथ्वी निर्माणको क्रम चलाएका थिए । यहाँ जीवनका हेतु 'ह्रिग्यालोन्पो गङ' अर्थात् ओजोन तहको निर्माण
गरेका थिए । तत्पश्चात सबैभन्दा पहिले 'किसिङडहू'को निर्माण गरे । त्यसैलाई आधुनिक विज्ञानले 'अल्गी झार' भनेर नाम दिएका हुन् । सोही
किसिङडहू अर्थात् पहिलो वनस्पतिको जन्मसँगै संसारमा जीवनको सम्भव भयो । अल्गीझारको
एउटा हाँगोको रूपमा वनस्पतिको जन्म भयो । अर्को हाँगोको रूपमा जीवजन्तुको जन्म(उद्विकास) सम्भव भयो ।
तीनमा पनि एकखाले जीव तथा वनस्पतिहरू पानीमा रहे । अर्का थरी भने जमीनमा फैलन थाले
। यसप्रकार बोनदर्शन अनुसार जीवन/सम्पूर्ण प्राणीको माउ (आमा) नै वनस्पति हो । अनि
आदिस्वरूप/रूप पनि वनस्पति नै हो । यही नै हामी आदिवासीको मान्यता हो । दर्शन पनि
हो । साँच्चैमा भन्नुपर्दा, आदिवासीवादको एउटा पाटो पनि
हो ।
३.
महत्त्व
माथि उल्लेख गरिसकेँ; वास्तवमा वनस्पति हाम्रो आदिस्वरूप हो । हाम्रो आदिपिता/माता पनि हो ।
शायद त्यही भएर हुनुपर्छ- यसले मानिसको श्वासप्रश्वास प्रक्रियाको जिम्मेवारी
लिएको छ । एक पलभरिलाई पनि अक्सिजन आपूर्तिमा कटौती गर्दैन । पृथ्वीतलमा प्राणी
रूपी आफ्ना सन्तानको सुरक्षाको लागि नै 'ह्रिग्यालोन्पो'को कवज निर्माण गरिदिएको छ । सिङ्गो पृथ्वीलाई नै 'लुङ' हावा/वायुको सागरमा डुबाएर
राखिदिएको छ । यदि एक मिनेट मात्रै अक्सिजन नपाउने हौं भने यस्सै भन्न सकिन्न ।
त्यसो त अक्सिजनको उत्सर्जन र कार्वनडाइअक्साइडको खपत गर्ने काम वनस्पतिकै हो ।
अहिले आएर अक्सिजनको कमी साथै कार्वनडाइअक्साइडको मात्रामा वृद्धि हुँदैछ । यसको
एक मात्र कारण वनजङ्गल विनास हो ।
 |
| ल्यापटपमै काम गर्दा पनि रूखैमा रमाइलो हुँदोरहेछ । |
वनस्पति नै पानीको मुख्य
स्रोत हो । बिमार पर्दा यसले औषधी पनि दिएको छ । जडिबुटी भनेको त मानव सभ्यताको
लागि प्रकृतिद्वारा प्राप्त वरदान हो । त्यसैले त 'औषधी भनेको झारै हो' भन्ने गरिन्छन् । हो; हामीसँग भएका वनस्पतिहरूलाई
जडिबुटीका रूपमा प्रयोग गर्न सक्छौं । जसले हामीलाई प्राकृतिक जीवन दिँदै आएको छ ।
आधुनिक औषधीले जस्तो साइटइफेक्ट पनि गर्दैन । यहाँ विषाक्तदेखि अमृततुल्य
वनस्पतिहरू छन् । तिनलाई चिन्न सक्नु वा नसक्नु अर्को पाटो हो । कहिले जीव त कहिले
वनस्पतिको रूपमा रहने यर्सागुम्बासमेत पाउँछौं । तिनको संरक्षण अनि सदुपयोगकारी
ज्ञान र व्यवहारको खाँचो टड्कारो भैसकेको छ ।
४.
आवश्यकता
वनस्पति बिनाको संसार
कल्पना गर्न सकिन्न । त्यसैले प्रशस्त वनजङ्गलको आवश्यकता हुने गर्दछ । आज वन
विनासका कारण पर्यावरणीय समस्या देखापरेको छ । ओजोन तहमा प्वाल पर्नेक्रम तिव्र
हुँदैछ । परिणामतः अनेक प्रजातिका जीव वनस्पति सदाका लागि लोप हुँदैछन् । भोलि
कुनै दिन मानिसको पनि समाप्त हुने भविष्यवाणी समेत गरिएका पाइन्छन् । बिनासे काले
विपरीत बुद्धि ! मलेसिया लगायतका स्थानमा रहेका ठूला रेनफरेष्टहरू सखाप पारिँदैछन्
। आधुनिक विकासको नाममा प्राकृतिक स्रोत साधनको चरम् दोहन गरिरहेका छन् । मानिसकै
चर्तिकलाका कारण पृथ्वीको आयू छोटि्टँदै गएको छ । नयाँ-नयाँ रोगहरू देखापरिरहेका
छन् । जडिबुटीजन्य वनस्पतिको कालाव्यापार फस्टाउँदैछन् । अन्तर्राष्ट्रिय
सञ्जालीकरणले द्रुत रूप लिइरहेकै छ । विभिन्न सङ्घ संस्थाहरूले वनस्पतिका पक्षमा
वकालत गर्न थालेका छन् । मानवअधिकारको अलावा आदिवासीवादका पक्षधरहरूले आवाज उठाउन
थालेका छन् । जीव र वनस्पतिको अधिकार सुनिश्चिततालाई मुद्दा बनाएका छन् । सोही
मुद्दामाथि वहस शुरू भएको देख्न सकिन्छ । यी सबैका हेतु भनेको वनस्पतिको महत्त्व
प्रतिको सचेतना हो ।
५.
धार्मिक/सांस्कृतिक सम्बन्ध
कुनै पनि पक्षलाई धर्म र संस्कृतिसँग
जोड्न सकेमा राम्रो मानिन्छ । वनस्पतिलाई पनि धर्म र संस्कृतिसँग जोडेर केही
हदसम्म संरक्षण गर्न सकिन्छ । जब धार्मिक वा सांस्कृतिक रूपमा कुनै वनस्पतिको
साइनो जोडिन्छ; तब त्यसले विशेष महत्त्व, संरक्षण र सम्मान प्राप्त गर्न सक्छ । फोहोर फालिएका स्थानमा सफा
गर्छन् । ढुङ्गा राख्छन् र अविर हाल्छन् । सबैले देख्छन् । फोहोर फाल्ने कार्य कम
हुन्छ । यो हाम्रो आफ्नै उदाहरण र अभ्यास हो । हो;
यही नियम वनस्पति जगतमा पनि लागु हुन्छ । यदि कुनै वनस्पतिको धार्मिक
र सांस्कृतिक महत्त्व छ भन्ने हो भने संरक्षण कुनै न कुनै व्यहोराबाट हुन्छ ।
चेपाङ जातिमा छोरीलाई चिउरीको बिरुवा दाइजो दिने प्रचलन रहेको छ । सो जातिमा
चिउरीको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ । त्यसैले चिउरीको महत्त्व
चेपाङले नै बुझ्न सक्छन् । त्यसको सम्मान गरिरहेका पनि पाउँछौं । यस उदाहरणबाट पाठ
सिक्न सक्नुपर्दछ ।
नेपाली परिवेशमा पिपल, बर, बेल, स्वामी (समी), काँस, तितेपाती, भिमसेनपाती र दूबोले विशेष संरक्षण प्राप्त गरेको देख्न सकिन्छ ।
विशेषतः तामाङ समुदायमा हेर्ने हो भने- कोकोम्हेन्दो (टोटला), तितेपाती, लङ्बर, सिङ्गरा, सो/ग्रङसो/सल्गी(खर/बाबियो), योल्हप्ते (कुकुरडाइनो), पाडाम्हेन्दो (गुराँस), ताताम्हेन्दो (चिमाल), अम्बा (आँप), ख्रिन/सिन/रिन/पटप (बाँस), 'म (निगालो), ठेङा (बुद्धचित्त), छेर्ना, ग्रुसिङ, फुटा साथै ल्हुन्दङ
(रिट्ठा) लगायतका सयौं प्रजातिका वनस्पतिका विशेष धार्मिक र सांस्कृतिक महत्त्व रहेका
हुन्छन् । सयौंकै सङ्ख्यामा जडिबुटीजन्य वनस्पति पनि रहेका छन् । मेडिसिन बुद्धलाई
पनि यिनीहरूले चिनेका छन् । धार्मिक, सांस्कृतिक साथै औषधीजन्य
वनस्पतिको प्राकृतिक रूपमा सुरक्षा गर्न पनि यिनीहरूले जानेका छन् । अग्ला डाँडा र
ढुङ्गाको अतिरिक्त ठूला रूखका फेदमा समेत आफ्ना पूर्वज अर्थात् ज्योहोज्योमोलाई
स्थापित गरेर राखेका हुन्छन् ।
 |
| असनचोकस्थित मन्दिरमा तड्पिरहेको पिपल ! |
तामाङ बोन (झाँक्री)मा बलिप्रथा
कायम रहेको छ । तसर्थ दुनियाँले क्रूर भनेर आरोप लगाएका पनि देख्न सक्छौं । बलिप्रथा
र त्यसको दर्शन शायदैलाई थाहा होला । यसको बारेमा बुझ्न अत्यन्त जरुरी देखिन्छ ।
जबसम्म त्यस दर्शन बारे बुझिन्न; तबसम्म बलिप्रथालाई
सहीअर्थमा बुझ्न सक्ने छैन । तामाङ बोन शेरब अनुसार सर्वप्रथम शिकार गरिएको चराको
स्यबुइबुबुर्इ दिइएको थियो । त्यसको अर्थ मारिएका प्राणीको श्वास, प्राण, रगत, मासु, भुत्ला, आँखा र अङ्गप्रत्यङ्गहरू लिनेले नै लिनु भन्ने हुन्छ । तिनलाई लिन वा
ग्रहण वा आफूमा समाहित गर्न सक्ने भनेको आमाको गर्भ हो । प्रतीकात्मक रूपमा
पुनःजन्मको लागि आमाका गर्भमा लगेर राख्ने भन्ने हुन्छ । यो मान्यताले जैविक
विविधताको सिद्धान्तलाई आत्मसात् गरेको देखिन्छ ।
यस्तैगरी बोन दर्शनमा वनस्पतिको
सम्मान पनि स्पष्ट देखिन्छ । कुनै पूजा गरेको दिन जङ्गल नपस्ने, शिकार नगर्ने साथै रूख नकाट्ने गर्दछन् । 'ह्युल्जे' (भूमिपूजा) बुद्धपूर्णिमाको
दिन पर्ने गर्छ । त्यसपछि निश्चित दिनसम्म 'प्री' (बारन) तोक्छन् । त्यस अवधिमा बिउबिजन छर्दैछन्, खनजोत गर्दैनन् । धर्तीलाई पनि जीवनको मान्यता दिन्छन् । जीवन वा
प्राणी नभएको भए त्यसमाथि अर्कोले प्राण पाउने थिएन । जीवितबाट मात्रै नयाँ जीवनको
निरन्तरता सम्भव हुन्छ । यसप्रकार माटोलाई पनि जीवित मान्छन् र जीवनको मान्यता
दिन्छन् । प्रसङ्ग ह्युल्जे अनि बारनको हो । हो; त्यसबेला, ठूला रूख काट्तैनन् । कतिपय स्थानमा त घाँस सेउला समेत गर्दैनन् । झार
पनि उखेल्न वर्जित गर्दछन् । यो मान्यता अझै पनि तामाङ बस्तीहरूमा पाइन्छन् ।
यस्तैगरी ठूला रूखका फेदमा फोहोर नगर्ने, जडिबुटीजन्य वनस्पतिको
अनावश्यक नास नगर्ने, सङ्कलनको क्रममा सम्बन्धित
पक्षलाई आह्वान गरी माग्ने प्रचलन रहेको छ । जडिबुटी सङ्कलन पश्चात पनि मरेका वा
नमरेका भन्ने हुन्छ । उदाहरणको लागि रुइसको लौरो हतियार प्रयोग नगर्दा राम्रो
मान्छन् । बिना हतियार तोकिएको विधिअनुरूप लौरो निर्माण गर्न सकेमा मृत नभई लौरो
पनि सजीव रहने मान्यता रहेको छ । त्यसको आफ्नै महत्त्व हुन्छ । यसप्रकार लौरोको
पनि जीवनको कुरा गर्छन् ।
 |
| खै के गरे बापतको सजाय दिएका नि यो रूखलार्इ ! |
बोन सामग्रीका लागि वनस्पति
काट्ने बेलामा पनि विशेष पूजा गर्ने प्रचलन देखिन्छ । एउटै रूखको पनि कतातिरको भाग
वा हाँगोको प्रयोग उचित वा अनुचित भन्नेसम्मको गहिरो विश्लेषण गर्दछन् । कुनै
बोक्सा-बोक्सी (खराब मान्छे)ले भेद्न
सक्छन् । भेदेरै वनस्पतिको हत्या गर्न सक्छन् । बोनले त्यस्तो अवस्थामा रूखलाई
पुनःजीवन दिनसक्नुपर्ने हुन्छ । यसै मान्यतानुसार बोनको ढ्याङ्ग्रो र फूर्बासमेत
जीवित वा मृत भन्ने हुन्छ । बोन सामग्री निर्माणमा प्रयोग हुने वनस्पतिको नास
गर्दैनन् । त्यस्ता वनस्पतिको संरक्षणलाई आफ्नो दायित्व मान्दछन् । मन्दिर
क्षेत्रमा रहेका रूखमा अति आवश्यकता बिना चढ्न र पात वा फलको टिप्न दिँदैनन् ।
त्यस्ता स्थानमा रहेका काठपातको सङ्कलन समेत जथाभावी रूपमा गर्नु हुँदैन । यस्ता कुरामा
बेवास्ता गरेमा अनिष्ठा हुने जनविश्वास रहेको छ । यिनै मान्यताका कारण बोन तथा
आदिवासी जनजातिहरूले वनस्पतिअधिकारको सम्मान गरेको दावी गर्न सक्छौं ।
 |
| वनस्पतिको चाहिँ अधिकार हुँदैन हो ? |
नेपाली परिवेशमा देउरालीको
आफ्नै महत्त्व रहेको छ । श्लोक पनि पाइन्छन्, ''देउरालीलाई ढुङ्गा ! मलाई
हीरा मुँगा !!'' यही श्लोक गाउँदै
देउरालीलाई ढुङ्गामात्रै नभएर सेउला पनि चढाउँछन् । त्यसरी चढाउनुको अर्थ सेउलालाई
सेउला मात्रै नभएर पवित्र मान्नु हो । सेउला चढाएरै पनि धर्म कमाउन सकिन्छ भन्ने
पनि हो । धार्मिक तथा सांस्कृतिक रूपमा फूलको प्रयोग अधिक हुने गरेको छ । यहिनेर
बौद्ध छ्योर्तेनको निर्माण कथालाई जोड्न सक्छौं । एक थरी कथा अनुसार फूल टिपेको
अपराधबाट मुक्तिको लागि यस छ्योर्तेनको निर्माण गर्नु परेको थियो । त्यस्तैगरी
अर्को कथा अनुसार लएलमो (पछि लमोगङ्सल्मो भएकी)ले आफ्नी बहिनीकी कपालमा सिउरिएको
राम्रो फूल लिएकी थिइन् । आफ्नो शीरमा रहेको नराम्रो फूल बहिनीकोमा सिउरिदिएकी
थिइन् । सोही अपराधका कारण तिनले आफू देवकन्या हुँदा-हुँदै पनि मनुष्यसँग विवाह
गर्नु परेको थियो । तम्बाहरू घेवामा गीत गाउँछन् । गीतमा मृतकले घरपरिवार र
आफन्तजनलाई अनुरोध गरेको कुरा हुन्छ । सोहीक्रममा भन्छन्, 'म मरेर गएँ । अब तिमीलाई भेट्न फर्केर आउनेछु । तिम्रो छेउमा फूल भएर
फुल्न आउनेछु । त्यसबेला फूल पो भनेर नटिप्नु ।'
'भमरा'को जन्म लिएर आउनेछु । 'भवरा' पो रहेछ भनेर पनि नमार्नु ।
चरा भएर पनि आउन सक्छु । चरा जाबो भनेर नमार्नु । जुनसुकै स्वरूपमा जन्म लिएर
आएतापनि म तिमीहरूसँगै हुनेछु भन्छन् ।
धर्म र संस्कारको नाममा
कतिपय अवस्थामा उत्कर्ष देखापर्दछन् । त्यस्तो अवस्थामा पुज्यदेव/देवीलाई खुशी
पार्ने नाममा वनस्पतिलाई नै चढाउने परम्परा बस्छ । त्यसरी चढाउने नाममा राम्रै
मात्र गरिएका हुन्छन् भन्ने हुँदैन । तल देखाइएका तस्वीरलाई हेर्नुस्- देउतालाई
खुशी पार्ने क्रममा रूख बिरुवामाथि हुन पुगेका दुःखद् घटनालाई ! कति अवस्थामा
मानिसले जानेरै वा नजानिकनै यस्ता गल्ती गर्न पुग्दारहेछन् । रूख बिरुवामाथि
अन्याय हुन पुग्छन् । देउताकै नाममा फूल मात्रै नभएर कोपिला समेत निमोठिन्छन् ।
तथापि कति अवस्थामा रूखकै पनि पूजा गरिन्छन् । फलफूलका रूख बिरुवा संरक्षणको लागि
अनेक प्रक्रिया अपनाएका पनि भेट्टाउन सकिन्छ । त्यस्ता सुरक्षण गरिएका रूख
बिरुवामा हात लगाउनु हुँदैन । छुनासाथै बिमारी पर्न सक्छन् । पूर्ण रूपमा
पाकिसकेको वा खान वा सङ्कलन गर्न लायक नभएको फलफूल टिपेमा पाप लाग्छ भन्छन् । फूल
खेलिरहेका वा फल पाक्न बाँकी रहेको रूखलाई गर्भवती सरह मान्दछन् । त्यस्तो बेला
काट्तैनन् । यस्तै विश्वासपद्धतिका प्रयोग गरेरै पनि वनस्पति सुरक्षाको व्यवस्था
गर्दै आएको देख्न सक्छौं । । यिनै कार्यका समुचित अध्ययन र व्यवस्थापन आजको
आवश्यकता हो । यसमा लुकेको आदिवासी विश्वदृष्टिकोणको खोजी हाम्रो दायित्व हो ।
६.
तामाङ सञ्ज्ञान
आदिवासीको आफ्नै सञ्ज्ञान
रहेको छ । तामाङ पनि आदिवासीमध्येकै भएकोले आफ्नै सञ्ज्ञान हुने नै भयो । यसप्रकार
यस समुदायले वनस्पतिमा पनि अति पवित्र, पवित्र, सामान्य तथा कु-काठका रूपमा चिन्ने गरेका पाइन्छन् । धार्मिक
सांस्कृतिक रूपमा प्रयोग हुने वनस्पतिहरू अति पवित्र हुन्छन् । औषधीय गुणयुक्त
वनस्पतिहरू पवित्र मानिन्छन् । सामान्यत प्रयोजन हुने पनि हुन्छन् । कतिपय भने
घरमा नहुल्ने, नबाल्ने वा धार्मिक वा
सांस्कृतिक कार्यमा प्रयोग गर्दैनन् । पवित्र वनस्पतिको प्रयोगले धर्म हुने वा शुभ
हुन्छ । कु-काठ वा कतिपय वनस्पतिको प्रयोगल अशुभ वा समस्या सिर्जना गर्ने हुन्छ ।
जस्तै श्रीखण्ड र धुपी प्रजातिका वनस्पतिको प्रयोगले मृत्युसंस्कार राम्रो हुन्छ ।
डोमसिङ (अङेरी) तथा क्यसिङ (चिलाउने)को प्रयोग वर्जित मानिन्छन् । मेरो साथी पेमा
मोक्तान (ठूलोपाखर, सिन्धुपाल्चोक)सुनाउँछन्, उनी सानो छँदा नेबराको फल खान रूखमा चढेका थिए । अचानक हाँगोबाट खसेर
भूर्इँमा बजारिएर वेहोश भएपछि उहाँको बुवाले तुरुन्तै नेबराकै चोप (दूध)को निधारमा
टीको लगाइदिनुभएको थियो । त्यसपछि उनी होसमा आएका थिए ।' यो पनि तामाङ राष्ट्रको वनस्पतीय सञ्ज्ञानको एउटा उदाहरण हो ।
उनीहरूका विश्वास अनुसार, जुन रूखबाट खसेर बेहोस भएको
हुन्छ; त्यही रूखको चोप निधारमा लगाएपछि
होस खुल्छ । जुन फलले दोख भएको हुन्छ; त्यही फलको बिगुत सेवनले
निको हुन्छ ।
 |
| ठमेलतिर पुग्दाको अजिव लाग्दो दृश्य |
यसको अर्थ वनस्पतिलाई पनि
मित्र तथा समस्याको रूपमा चिन्ने गर्दछन् । मित्रजन्य वनस्पतिलाई राम्रो मान्दछन्
। समस्याजन्यको प्रयोगलाई सीमित गर्दछन् । उदाहरणका लागि कालीकाठको दाउरा वा काठ
प्रयोग गरेमा अपसकुन हुन्छ । ग्रामा भनिने घाँसको रूखमा जम (यम) रहेको हुन्छ ।
तामाङ सञ्ज्ञान अनुसार जम्बु (फँडिल), कालीकाठको प्रयोगले आँखाको
बिमारी हुन्छ । अमलाको दाउरा प्रयोग गरेमा गाईगोरुको खुट्टा भाँचिन्छन् । घर
बनाउँदा पिपलको काठ प्रयोग गरिएमा सुखसुविधा हुँदैन । यस्ता मान्यताको प्रमाणिकता
पनि पेश गर्दछन् । जसलाई अवैज्ञानिक मान्न सकिन्न । माघमा कन्दमूलको सेवन गर्दछन्
। त्यसदिन खालीपेटमै काँचो वनतरुलको प्रयोग गर्ने प्रचलन रहेको छ । त्यसको अर्थ र
महत्त्वको खोज गर्नु हाम्रो धर्म हो ।
एकदमै कम फल्ने फापर र
बेतुको खेती किन गरिरहेका छन् ? उवा, जौ र गहूँलाई कसरी चिन्छन् ? घैयाको प्रयोजन के हो ? कोदो र मकै खेती किन छोडिरहेका छैनन् । चिउरी र अम्फीको नाम सुन्दैमा
वा देख्दैमा किन नतमस्तक हुन्छन् ? टोटलाको फूल, बुद्धचित्त, बोलम्सी साथै ल्हुन्दङ
(रिट्ठा)लाई कसरी लिन्छन् ? ठूलोओखती, पाँचअम्ले, तीनअम्ले, बिख-बिखुमा र सैलुङ्गे तरुलको संरक्षण कसरी गरिरहेका छन् ? ग्रङ्सो र तितोपातेलाई हेर्ने दृष्टिकोण के कस्तो रहेको छ ? यस्तै यावत् वनस्पति जगत र तिनसँग गर्ने अन्तरक्रियालाई गहिरो रूपमा
चिरफार र विश्लेषण गर्न सकेमा आदिवासी जनजाति र तिनमा रहेका बोन लगायतका दर्शनलाई
स्पष्ट रूपमा चिन्न र बुझ्न सक्नेछौं ।
७.
मिन ताSबा
तामाङ समुदायमा 'मिन ताSबा' प्रचलन रहेको पाइन्छ । 'मिन'को अर्थ नाम र 'ताSबा'ले थोपरेको वा राखेको भन्ने
हुन्छ । यसको पूरा अर्थ भने, कुनै पनि व्यक्तिलाई
बोलीचालीका लागि नक्कली नाम राखिदिनु भन्ने हुन्छ । यसलाई केही हदसम्म टोटेमवाद
भन्न वा त्यसको समनार्थी स्वरूप मान्न सकिन्छ । विशेषतः टोटेमवादमा सम्बन्धित
व्यक्ति वा समुदायको कुनै सम्बन्धित जनावर, बोट वा वस्तुसँग
रक्तसम्बन्ध रहेको भन्ने हुन्छ । मिन ताSबामा भने रक्तसम्बन्ध
भन्दापनि स्वरूप, स्वभाव तथा प्रतीकात्मक
रूपलाई लिइएको हुन्छ । त्यस्तैगरी जुठो पार्ने वा संरक्षकको रूपमा स्थापित गराइएको
देख्न सकिन्छ ।
 |
| यत्तिसम्मन् नीच पनि हुँदारहेछन् मान्छे पनि ! |
यसक्रममा मानिसको नाम
राख्ने गर्दछन् । तामाङ नाम दुर्इ प्रकारका हुन्छन् । असली वा लेखनमा रहेको नामलाई
'ग्रनमिन' भनिन्छ । त्यसको प्रयोग हत्पत्त गर्दैनन् । सबैलाई थाहा नहुन पनि
सक्छन् । त्यसको पनि आफ्नै कारण हुन्छन् । त्यस्तैगरी ग्रनमिनको सट्टा ताSबामिन प्रयोग गर्दछन् । ताSबामिनलाई नै अहिले 'निकनेम' (उपनाम) पनि भन्ने गरिन्छन्
। सामान्यतया यही नामको प्रयोग गर्दछन् । यो नाम व्यक्तिको रूप तथा स्वभावको
आधारमा राखिन्छन् । यो वनस्पति, जीवजन्तु, बस्तुका प्रतीक रूपमा रहेका हुन्छन् । वनस्पतिको कुरा गर्दाखेरि-
यसप्रकारका नामहरू पाउन सक्छौं; जस्तै :- बोल्दोङ, सिङ्गरा, ल्हुन्दङ, सल्गी, सलिमो, मगो, ग्यगरबन्दा र फुटा आदि ।
यस्ता नामले मानिस र वनस्पतिका स्वभावलाई सङ्केत गरिरहेका हुन्न्छन् । एक किसिमले
सम्मान पनि जनाएको हुन्छ ।
८.
अनुकूलन प्रक्रियामा वनस्पतिको भूमिका
मानव समुदायको अनुकूलन
प्रक्रिया महत्त्वपूर्ण हुने गर्दछ । दिइएको वा प्राप्त पर्यावरणमा आफूलाई
अनुकूलित गराउन सकेमा मात्र उसको हैसियत बन्ने गर्दछन् । यहीनेर बाँच्नको लागि
सङ्घर्षको नियम लागु भएको हुन्छ । पर्यावरण भन्ने बित्तिकै वनस्पतिसंसारको कुरा
आउने गर्दछ । वनस्पति बिनाको पर्यावरणमा मानव जीवन कल्पना गर्न सकिन्न । मानिसलाई
सर्वप्रथम हावा र त्यसपछि पानीको अपरिहार्यता रहन्छ । हावामा पनि अक्सिजन चाहिन्छ
। त्यही अक्सिजन लिने क्रममा उसले कार्वनडाइअक्साइड फाल्ने गर्दछन् । अब मानिसले
फालेको कार्वनडाइअक्साइड वनस्पतिले लिने र वनस्पतिले फालेको अक्सिजन भने मानिसले
लिने क्रम चल्दछ । यर्सअर्थमा मानिस र वनस्पतिबीच गाहिरो सम्बन्ध कायम भएको हुन्छ
। मानिसले वनस्पतिबाट अक्सिजन लिन्छन् र कार्वनडाइअक्साइडको रूपमा परिणत गरी
वनस्पतिलाई दिन्छन् । वनस्पतिले पनि मानिसबाट कार्वडाइअक्साइड लिन्छन् र अक्सिजनमा
परिणत गरी मानिसलाई नै फिर्ता दिन्छन् ।
यस्तैगरी मानिस र वनस्पति
दुवैलाई पानीको आवश्यकता हुने गर्दछ । पानी बिना यी दुवैको जीवन सम्भव हुँदैन ।
पानीको शोषण तथा भरण प्रक्रिया हुने गर्दछन् । यसक्रममा मानिसले शोषण मात्रै गर्न
सक्छन् । भरण कार्य सम्भव छैन तर वनस्पतिले भने भरण गर्न सक्छन् । जहाँ वनस्पतिको
उपस्थिति रहेका हुन्छन्; त्यही नै वर्षात् हुन्छ ।
वर्षातकै आधारमा पानीको सञ्चय र उत्सजर्न प्रक्रिया सम्बन्धित रहेको हुन्छ ।
यसप्रकार आवश्यक श्वासप्रश्वास साथै पानी आपूर्तिका लागि वनस्पतिको आवश्यकता हुने
गर्दछ । वनस्पतिको उपस्थितिमा मात्रै मानव जीवन सहज हुन्छ । अन्यथा कृतिम् जीवन
जिउनुपर्ने हुन्छ । आज विश्वमा रहेका वनजङ्गल अतिक्रमण तथा फँडानीकै कारण यहाँ
अनेकानेक समस्याहरू देखापर्दै आएका छन् । ओजोन तहमा प्वाल परेका छन् । अनेक
प्रजातिहरू समाप्त हुनेक्रम द्रुतगतिमा अगाडि बढिरहेको छ । यहाँ यत्तिमात्रै भन्न
खोजिएको हो कि- मानव जीवन अनुकूलनको क्रममा वनस्पति अनिवार्य हुन्छ ।
९.
आधुनिकतावाद र आदिवासीवादको आँखामा वनस्पति
यो आधुनिकताको उत्कर्ष चरण
हो । त्यसैले आधुनिक हुनसक्नुलाई शानको विषय मानिन्छ । उत्तरआधुनिक हुनसक्नु भनेको
उन्नतिको उच्चतम् रूप प्राप्त गर्नु हो । त्यस्तैगरी उत्तरआधुनिकताको सीमालाई
नाघ्न सक्नु चाहिँ विकासको पराकाष्ट हो । यस्तै मनोभाव, चिन्तन र विश्वासमा समाज चलेको छ । यहाँ जड (पदार्थ)को कुरा गरिन्छन्
। चेतना (भावना) को पक्षलाई खासै ध्यान दिइँदैन । सेन्टीमेण्ट र इमोसनले हुँदैन
भाइ भन्ने अगाडि हुन्छन् । यहीनेर मानवतावादलाई बढी जोड दिन्छन् । मान्छेले
आफैँलाई आफैँद्वारा ठूलो भएको घोषणा गरिएको छ । मानवअधिकारको ठूलो नारा लगाइरहेका
छन् । मान्छेको अगाडि अन्य प्राणीहरू गौण भएका छन् । मानव मात्रको अधिकार हुन्छ ।
अन्य सबै प्राणी तथा स्रोत साधन मान्छेका लागि निर्मित मानिएका छन् ।
यस्तै अतिवादी सोचका कारण
ओजोन तहमा प्वाल परेको हो । मानिसकै जगजगीका कारण कैयौं प्रजाति लोप भैसकेका छन् ।
लोपोन्मूखताको लाइनमा उत्तिकै छन् । हुँदा-हुँदा मानवकै दिनगन्ती शुरू भैसकैको
देखिन्छ । यही तथ्यलाई विचार गर्दै, 'यदि यस धरामाता, प्राणी तथा वनस्पति जगतलाई बचाउने हो भने मानिसलाई सिध्याउनु पर्छ ।
अन्यथा यी मान्छे भनाउँदाका चकचकीके कारण यो आफू त सकिने नै छ; साथै अरूलाई समेत सिध्याउने छ । अन्यलाई जोगाउनकै लागि भएपनि मानिसलाई
सिध्याउन सक्नुपर्दछ' भन्दै आएको छु । यसको अर्थ
मानिसको भौतिक रूपमा हत्या गर्ने भन्न खोजेको चाहिँ होइन । मानवको चकचकी र
जनसङ्ख्या नियन्त्रण पहिलो आवश्यकता हो भन्नेतिर औंल्याउन खोजेको मात्रै हुँ ।
अन्यथा मानव भन्नेहरूले मृत्यु-पत्रमा सहीछाप लगाउन तयारी गरे हुन्छ भन्न खोजिएको
हुँ । यी सब आधुनिकताको उपज हुन् । यसलाई आधुनिकतावादीले स्वीकार्ने आँट गरुन् ।
 |
| चट्याङले पनि छोड्दैन त |
आधुनिकीकरणसँगै आदिवासीवाद
समाप्त हुँदै गएको स्पष्ट छ । कतिपय भने राजनीतिक सिद्धान्त र दर्शनका लगाम लगाएका
घोडा भएका छन् । तिनीहरू आदिवासीवादलाई गलत अर्थमा बुझदछन् । जानेरै गलत अर्थ
लगाउँछन् । कोही भने नजानेरै गलत अर्थलाई सही मान्दै व्याख्याता बनेका छन् ।
तिनीहरू आदिवासीवादलाई राष्ट (जाति)को हैकमवादी शासन हो भन्ने बुझदछन् किनकी
तिनीहरूले अहिलेसम्म पनि राजनीति र मानवअधिकारको नाममा आफ्नो एकल जातीय/नश्लीय
हैकमवादलाई लाद्दै आएका छन् । त्यसैले गैरआदिवासीले आदिवासीवादलाई निषेध गर्न
खोज्नु भनेको आफ्नो एकलौटी हैकमवाद समाप्त होला कि भन्ने चिन्ता र रुवाई मात्र हो । आदिवासी जनजाति भएर
पनि आदिवासीवाद असम्भव देख्ने नजर पनि छन् । ती त नेपाली परिवेशमा भन्ने नै हो
भने- एकल जातीय हिन्दू हैकमवाद र मनपरितन्त्रको पक्षपोषक हो । त्यसैले त्यस्ता
तत्त्वहरू भनेका साँच्चैमा कुलङ्घार हुन् ।
वास्तवमा आदिवासीवाद भनेको
आदिवासीको हैकमवाद वा मनपरितन्त्र होइन । अहिले संसारमा उदार पूँजीवाद र साम्यवादी
लगायतका दर्शनले समाजलाई अगाडि बढाउँदैछ । आधुनिकता र उत्तरआधुनिकताको नाममा
मानिसमात्रै ठूला भएका छन् । मानवअधिकार मात्रै सत्य भएको छ । त्यसमा पनि ठूला र
शक्तिशालीले भनेजस्तो मात्रै मानवअधिकार भएको छ । जसका कारण संसारमा तेस्रो
विश्वयुद्धको सङ्केत तड्कारो हुँदैछ । मानिस भावनाबिहीन रोबोटमा परिणत हुँदैछ । अब
प्राकृतिक जीवनमा फर्काउन साथै कयौं समयसम्म मानिस लगायत प्राकृतिक स्रोतसाधनले
सिङ्गारिएकी धरामाताको जीवनको लागि यस्ता मतले काम गर्न सक्ने छैन । सहीअर्थमा
विधिको विधान र सृष्टिको सिर्जनालाई जोगाउन सक्ने दर्शनको खोजी आजको आवश्यकता हो ।
त्यसको सही माध्यम वा दर्शन भनेको आदिवासी मूल्य,
मान्यता, सिद्धान्त र दर्शन, विश्वदृष्टिकोण र सौन्दर्यशास्त्र नै हो । आदिवासीवाद भनेको अबको नयाँ
युग र संसारलाई नेतृत्व गर्न सक्ने दर्शन/विश्वदृष्टिकोण हो । यसैमा मात्र
पूर्णसमानुपातिक समावेशी साथै हरेक प्राणीजगतको अधिकारको सुनिश्चितता गर्न सक्ने
प्राकृतिक जीवन शैली रहेको छ । त्यसैले अन्य सबै वादहरू भ्रम हुन् । यदि कुनै
यथार्थ पनि छ भने, त्यो केवल आदिवासीवाद
मात्रै हो । यो समयले प्रमाणित गराइदिएको तथ्य हो ।
 |
| न्यूरोडस्थित पिपलबोट |
यही आदिवासीवादको आँखामा
वनस्पतिको अवस्था कस्तो रहेको छ भनेर हेर्न जरुरी छ । माथि नै उल्लेख गरिएअनुरूप
फूल टिपेको वा साटेको अपराधबाट मुक्ति पाउन कत्रो दुःख कष्ट भोग्नुपरेको थियो
भन्ने स्पष्ट हुन्छ । तम्बागीत अनुसार मानिसकै मृत्युपछि पुनः उनी फूलको रूपमा
फुल्दछ । त्यस्तैगरी ठूलो पूजाआजा गरिएको दिन रूख काट्न नहुने लोकमान्यता रहेको छ
। बैशाखपूर्णिमाको बेला ह्युल्जे गरेपछि कम्तिमा पनि तीनदिनसम्म झारसमेत उखेल्न
वर्जित गरिएका देख्न सक्छौं । झार नै भएपनि औषधीको रूपमा प्रयोग गर्ने बेला त्यसको
नाम काट्तैनन् । ठूला वा पुज्य वा सम्मानित व्यक्तित्वको नाम नकाट्ने तामाङ
आदिवासी मान्यता हो । यहाँ औषधीको नाम नकाट्नुको अर्थ औषधी वा त्यस वनस्पतिलाई पनि
सम्मानित व्यक्तित्वको हैसियत दिएको भनेर बुझ्नुपर्ने हुन्छ । जडीबुटीहरू जीवित
हुनुपर्दछ । लौरोसमेत जीवित हुनुपर्ने मान्यता पाइन्छन् । जीवित वा मृत भनेर
जाँच्ने तरिकासमेत पाइन्छन् । कुनै पनि झारलाई नै जडिबुटीको रूपमा सङ्कलन गर्नुअघि
प्रकृतिसँग माग्न जरुरी मानिन्छन् । मानिसलाई फूलसँग दाँज्दछन् । बेहुला बेहुलीलाई
क्रमशः मरम्हेन्दो (स्वर्णफूल) र मुइम्हेन्दो (चाँदीफूल) भन्ने गर्दछन् ।
वनस्पतिलाई नै पहिलो प्राणी मान्दछन् । यस्तो मान्यता वा दर्शन आधुनिकतावादीमा कतै
पनि पाइन्नन् ।
१०. अधिकारको आन्दोलन
अधिकारवादी आन्दोलन चलिरहेकै छ । यहीनेर मानवअधिकारको खुब दुहाई
दिनेका कमी कहाँ छ र ! मानवअधिकारवादी हुनुलाई नै सर्वस्व ठान्नेहरू पनि छन् ।
पछिल्लो समयमा बौद्धधर्मको प्रभावसँगै पशुअधिकारको कुरा उठेको देखिन्छ । तिनीहरूले
पशुपङ्क्षीदेखि झिङ्गाको समेत अधिकारको कुरा उठाएका पाइन्छन् । यहीनेर
आदिवासीहरूले वनस्पतिको अधिकारको कुरा गर्दै आएका छन् । त्यसैले अबको युग भनेको
वनस्पतिको अधिकार सुनिश्चितताको कुरा गर्ने समय भएको छ । यहाँ मान्छेको हत्या गर्न
आइतबार नहुनेहरू पनि छन् । आफ्नै लोग्ने स्वास्नी र छोराछोरी, बाउआमाको हत्या गर्नेहरू पनि छन् । हिजो दरबारमा सत्ताकै लागि
आफूभन्दा बाहेक सबैको हत्या गर्न पछि परेका थिएनन् । राजनीतिमा यस्तै थियो ।
धर्मको नाममा बलि दिने होस् वा कसैलाई दास बनाउनुलाई महान्ता ठान्नेहरू छँदै थिए ।
तिनीहरूका सङ्ख्यामा कमी आएको हुन सक्छ तर निमिट्यान्न भएका छैनन् ।
केही त्यस्ता व्यक्ति पनि छन्; जो घाँस काटेर ल्याउँछन् ।
बस्तुलाई खुवाउनुअघि कीरादि छन् कि भनेर हेर्छन् । यदि रहेछन् भने पनि त्यसलाई
सुरक्षित साथ छोड्छन् । अनि शुद्ध घाँस खुवाउँछन् । सेउलामा पनि कीरा हुन सक्छन् ।
मारिन सक्छन् । त्यसेलै सेउला पनि टकटकाएर मात्रै बिछ्याइदिने गर्दछन् । बलि दिन
लागेको वा मार्न लागेको खशी बोकादि किन्छन् । आजाद घोषणा गरी छोड्छन् । त्यसैलाई
आफ्नै भाषामा 'छेतर' पनि भन्छन् । हिजो बलि दिने, विहेमा कुखुरा, माछाको मासु ग्रहण गर्नेहरूले आज जिउँदै ल्याएर विहेको साक्षी बनाउन
थालेका छन् । परेवा उडाइरहेका छन् । माछालाई पानीमा छोडिरहेका छन् । कतिपय
लबोन/लप्तबाले समेत कूल पूजामा बलिदिन छोडेका छन् तर देशमा राजनीति र अनेक बहानामा
मानिस मार्ने क्रम पूर्णतः समाप्त भैसकेको छैन । कोही आत्महत्याको नाममा आफैँलाई
मार्दैछन् । कोही पैसाको लागि हत्या गर्छन् । कोही दाइजोको नाममा मारिन्छन् । अनि
अधिकारको फूईँ लाउँछन् । सर्वोत्कृष्ट मानव भएको धक्कु लडाउँछन् ।
 |
| कतै काट्छन् त कतै पुज्छन् ! |
कोहीमाथि अन्याय हुँदा मुख थुनेर बस्छन् । आँखा बन्द अनि कानमा बुजो
लगाएर बस्छन् । अपराधीलाई कसैले समात्न खोज्यो भने मानव अधिकार उल्लङ्घन भयो भन्दै
रुन थाल्छन् । खूब अधिकारकर्मी भएको कार्ड हल्लाउँदै पीडितको घाउमा चिथोर्न
सक्नुलाई अहोभाग्य ठान्छन् । समाजमा यस्तै छ भनेर सबैले भन्ने गरेकै छन् । यथार्थ
यो भनार्इदेखि टाढा छैनौं । यस्तै त भइरहेको छ; यहाँ !! आज आदिवासीवाद
भन्दा कतिले नाक खुच्याउँछन् । कतिले जिभ्रो निकाल्छन् । कतिभने आSबुर्इ भन्दै आँत्तिन्छन् । अवाक हुन्छन् । मानवअधिकारको साँगुरो
घेरामा रहेको आफ्नो दशा थाहा पाएर लज्जित हुन्छन् । आदिवासीवाद र तिनमा युगौंदेखि
प्रचलनमा रहेका सेमचेनथम्चे (all sentient
beeings)का अधिकार सुनिश्चितताको आदिवासी संयन्त्र अझै भनौं ज्ञान देखेर
त्राही-त्राही भइरहेका छन् । कतिले त यही तथ्यलाई बुझेपछि आदिवासीमा रहेको ज्ञान र
विश्वदृष्टिकोण वा भनौं आदिवासीवादलाई सर्वोत्कृष्ट रहेछ भनेर लेख्न पनि पछि परेका
छैनन् ।
११. सारांश
आदिवासीले त मानवसरह अन्य जीव, वनस्पति साथै प्राकृतिक
स्रोतसाधनको अधिकारलाई सुनिश्चित गराएको छ । सबैका अधिकारलाई आफ्नो जीवनको अमूल्य
पाटो बनाएको छ । संस्कृतिको रूपमा विकास मात्रै गरेन । त्यसलाई स्थापित साथै
अभ्यास गर्दै आएको छ । अर्थात् धरामाताको सुरक्षाको लागि सर्वोत्तम र सर्वोपयोगी
ज्ञानको निर्माण अनादिकालमै निर्माण गरेको देखिन्छ । धेरैले अन्धविश्वास साथै
कुरीति हो भन्दै आरोप लगाउँदै आएको बोन (बोम्बो)ले नै यसको मुख्याधिकारीको पहिचान
दिँदै आएको छ । आदिवासीवादको जनक/जननी भनेकै बोन हो । त्यो भनेको प्रकृतिधर्म हो ।
यसको विरुद्धमा लागेका आधुनिक र वैज्ञानिक भन्नेहरू नै संसारको सम्हारक भन्ने
प्रमाणित हुँदैछन् । बोनवादीहरूले नै मानवसरह हरेक जीव, वनस्पति र प्रकृतिको अधिकार हुन्छ भन्दै तिनको सुनिश्चितताका लागि
संस्कृतिको निर्माण गरेका देखिन्छन् । त्यसैले हरेक आदिवासी संस्कृति भनेको
प्राकृतिक पक्षसँगको सामिप्यबाट जन्मिएको सन्तान सावित भएको छ । जैविक विविधताको
पक्षपाती/हिमायती भन्ने स्पष्ट भएको छ । तसर्थ, आदिवासीवाद नै संसारमा
सम्पूर्ण जीव वनस्पति र प्रकृति संरक्षणको मार्ग भन्नेमा द्वीमत छैन । यो नै
धरामाताको सपुत सावित भैसकेको छ ।
 |
| सामाजिक सञ्जालमा यस्तो पनि भेटियो |
१२. सुझाव
गल्ती मानिसबाटै हुने हो । गल्तीलाई दोहोर्याइरहनु अक्षम्य हुन्छ ।
महशुश गर्दै सच्याउन खोज्नु बुद्धिमानी हुन्छ । त्यसैले समयमै बुद्धि पुर्याउन
आवश्यक छ । अन्यथा टाउको ठोक्काएर रुँदैमा समयले फर्केर मौका दिन आउने छैन ।
अरूलाई सिध्याउने नाममा आफैँलाई सिध्याउनु जत्तिको मुर्खता अरू के नै होला र ? आधुनिकता र वैज्ञानिकताको पनि सकारात्मक पक्षलाई मात्रै अवलम्बन गर्ने
हो । आदिवासीवादमा धेरै सकरात्मक पक्ष छन् । यो भनेको हजारौं वर्षसम्मको अभ्यासबाट
खारिएको ज्ञान हो । त्यसैले आदिवासीवाद अति वैज्ञानिक भनेर बुझ्न सक्नु पर्छ ।
यसलाई नजर अन्दाज लगाउनु भनेको आफ्नै छातीमा बञ्चरोले प्रहार गर्नु जत्तिकै हो ।
जैविक विविधतालाई सन्तुलित राख्नु भनेको आफ्नो आयू बढाउनु हो । यसको विनास गरेर त
विकास हुँदैन । फेरि पनि विनास नै हुन्छ । विनासले आफैँलाई पनि छोड्ने छैन । समयमा
यही तथ्यलाई बुझ्दै आदिवासीहरूबाट सिकेर संसारको सुरक्षाको लागि पाइला चाल्न
आवश्यक छ । यदि आदिवासीवादलाई सिध्याउने हो भने भोलि अन्तिम अवस्थामा पछुताउँदै
मर्नुको विकल्प हुने छैन ।
१३. निष्कर्ष
आधुनिकतावादले प्राकृतिक
स्रोत साधनलाई उपभोग्यवस्तु मात्रै देख्दै आएको छ । मानिसमा पनि ठूला र साना
बनाएको छ । ठूलाले सानालाई सेवक बनाउनुलाई वैधानिक ठान्नु नै आधुनिकतावादीको
चिनारी हो । उदाहरणको लागि खोला (पानी), वन, ढुङ्गा तथा खानीलाई आर्थिक उपार्जनको साधन मात्रै देख्छ । पैसाको लागि
प्राकृतिक स्रोतको समाप्त पार्छ । परिणामतः सिर्जित् विषम् परिस्थितिमा आफू बच्नका
लागि आधुनिक ड्रेस, औषधी वा औजार किन्छ ।
त्यसैको आधारमा आफूलाई सुरक्षित भएको महशुश गर्छ । विश्वमा रहेका ठूला रेनफरेष्ट, हिमाल, सागर साथै खानी क्षेत्र आज
मानिसका लागि नयाँ चिहान क्षेत्र सावित हुँदैछ । विज्ञानवादी सोचहरूले नै आदिवासी
मानिसलाई समाप्त पार्दै ती क्षेत्रका प्राकृतिक स्रोत साधनको दोहन गरी सकाए । तिनै
मान्छेहरू जो हिजो आदिवासीलाई मानिस देख्दैनथे । तिनको नरसंहार गर्दै पैसा
कमाएकाहरूले आज आदिवासीहरूलाई नै मानवअधिकारको बारेमा पढाउन खोज्दैछन् । यस्ता लाज
पचेकाहरूले फेरि पनि वन, वनस्पति, पानी, ढुङ्गा, खानी साथै आदिवासीहरूलाई आफ्नो सम्पत्ति मान्दैछन् । यही मान्यतालाई
स्थापित गराउन खोज्दैछन् । यस्तो अवस्थामा आदिवासीहरू एकजूट हुन आवश्यक भएको छ ।
आफू, जीव,
वनस्पति, प्राकृतिक स्रोतसाधन अनि
जैविक विविधता सन्तुलनका लागि पाइला चाल्नै पर्ने भएको छ । यदि आदिवासीवादमा
आधारित समाजलाई नभत्काएको भए अनि आदिवासी ज्ञानमै बाँचेका भए संसारमा यस्तो भयावह
स्थिति देखिने थिएन । त्यसैले आउनुस्, आदिवासीवादलाई स्थापित
गराऔं । संसारको आयू बढाऔं !!!
धन्यवाद !