इतिहास गलत मात्रै पनि लेखेका रहेनछन् । चाहेर वा नचाहेर पनि
इतिहास लेखिँदारहेछन् । इतिहासमा लेखिएका व्यक्ति तथा घटना आदिलाई ऐतिहासिक
मान्छौं । कसैले मानेर वा नमारेरै पनि नहुँदोरहेछ । व्यक्तिको कर्मले पनि इतिहासमा
नाम लेख्न र लेखाउने क्षमता राख्दोरहेछ । त्यस्तै व्यक्तिहरूमध्येका रहेछन्-
वीरसिंह तामाङ । को थिए त वीरसिंह तामाङ भन्ने सम्बन्धमा एउटा जानकारी पाएको थिएँ
। इतिहास लेख्न रुचाउने मध्येका बुद्धिलाल भण्डारीको पुस्तकबाट । लेखक भण्डारीले
२०६८ पुसमा 'जङ्गबहादुर कुँवर' जीवनवृत्त ल्याएका रहेछन् । सोही पुस्तकभित्र शाखासन्तानको अवस्था
खण्ड (पृ २०५-२१५) पनि समाविष्ट रहेछ । सोही पुस्तकमा वीरसिंह तामाङको वीरता बारे
उल्लेख गरेको रहेछ । जुन निम्नानुसार छ ।
''... वि.सं. १९४२ को हत्याकाण्डपछि जङ्गबहादुरको छोरा, नाति र बुहारीहरूको बिजोग भयो । ...नाति जर्नेल युद्धप्रतापजङ्गको निर्दयतापूर्वक हत्या भएपछि यिनको चार जना रानीहरू र तीन जना नाबालक छोराहरूको बिचल्ली भयो । यी अनाथ-असहाय भए । वीरशमशेर र खड्गशमशेरहरूले ''युद्धप्रतापजङ्गका नाबालक छोराहरूलाई पनि मारिदिनु'' भन्ने आदेश दिएका थिए । तर ती नाबालक बच्चाहरूलाई बचाउन युद्धप्रतापजङ्गका ददा वीरसिंह तामाङ भगवान्कै रूपमा निस्किए । त्यसबखत दरबारका केटाकेटीको स्याहारसम्भार र रेखदेख गर्ने व्यक्तिलाई 'ददा’ भनिन्थ्यो । सबैले बलेको आगो नै ताप्दछन् । निभेको आगो कसले ताप्छ र ! मानिस मरेपछि उसको शरीरलाई उपियाँ, उडुस र जुम्राले पनि छोडेर हिँड्दछन् । आफ्नो मालिक मारिएपछि वीरसिंह तामाङ पनि भाग्न सक्दथे । तर इमानदार वीरसिंहले आफ्नो ज्यान खतरामा राखेर भए पनि युद्धप्रतापजङ्गका असहाय रानीहरू र नाबालक छोराहरूको साथ छोडेनन् ।
वीरसिंहले उनीहरूलाई थापाथली दरबारबाट रातारात भगाउने व्यवस्था मिलाए । उनले बच्चाहरू बोक्न हतार-हतार डोका, भरियाहरू खोजे र बाटोको लागि आवश्यक अरू केही सामानहरू पोको पारेर चार जना रानीहरू र तीन जना बालकहरूलाई लिएर भक्तपुरतिर लागे । तिनले बालकहरूलाई बाटोमा कसैले चिन्लान् भनेर उनीहरूलाई छोरीहरूले लगाउने घाँघर (फ्रक), गुनियो, चोलो लगाइदिएर, भेष बदलेर लगे । उनले रानीहरू र बालकहरूलाई लिएर भक्तपुर पुगे । त्यसपछि बनेपा हुँदै ठाउँ-ठाउँमा बास बस्दै शङ्खु बतासे पुगे । शङ्खु बतासे पुगेपछि एकजना गर्भवती रानीलाई व्यथा लाग्यो र उनले त्यहाँ छोरो जन्माइन् । दरबारको सुखसयलमा बसेका रानीहरू पहाडी बाटोको उकालो-ओरालो हिँड्दै, घामपानी, भोकतिर्खा सहँदै, अझ शमशेरहरूका गुप्तचर, सिपाही र अरू मानिसहरूको आँखा छल्दै हिँड्नु, त्यसमाथि बाटैमा बच्चा जन्मनु, उनीहरूका लागि त्यो यात्रा कति कष्टप्रद भयो होला ! कल्पना मात्र गर्दा पनि हृदय पग्लन्छ । इमानदार ददा वीरसिंह तामाङले आफूले अनेक दुःखकष्ट सहेर, अझ आफ्नो ज्यानै खतरामा पारेर भए पनि युद्धप्रतापजङ्गका रानीहरू र छोराहरूलाई सिन्धुली जिल्लाको झाँगाझोली, परेवाडाँमा सुरक्षित रूपमा पुर्याए । वीरसिंहले त्यहाँ उनीहरुलाई अस्थायी रूपमा खानबस्नको व्यवस्था मिलाए र आफू फेरि काठमाडौं आए । उनी युद्धप्रतापजङ्गका मावली राजदरबार गए र नाति जर्नेलका परिवारले पाएको दुःखकष्टको सम्पूर्ण बेलीविस्तार लगाए । उनीहरूले पाएका दुःखको बयान वीरसिंह तामाङबाट सुन्दा राजदरबारमा रुवाबासी चलेको र दरबारै स्तब्ध भएको थियो ।
त्यसपछि तत्कालीन राजा पृथ्वीवीरविक्रम शाह र मुमा बडामहारानीले वीरसिंहलाई केही असर्फीहरू दिए र ''यो बेचेर आएको पैसाले हाललाई खानबस्नको व्यवस्था मिलाउँदै गर्नू । हामी यथाशीघ्र मासिक भत्ता र जग्गाजमिनको लालमोहर गराई पठाइदिउँला'' भन्ने आश्वासन दिए । वीरसिंह तामाङले झाँगाझोली फर्केर असहाय रानीहरू र अनाथ बच्चाहरूको इमानदारीपूर्वक सेवा गरी खानबस्नको व्यवस्था मिलाए र पछि स्थायी रूपमा भत्ता र जग्गाजमिनको लालमोहर गराउन पनि सफल भए । वीरसिंह तामाङको इमानदारी, स्वार्थरहित विशुद्ध मानवीय व्यवहार र सेवाको जतिसुकै प्रशंशा र आदरसम्मान गरे पनि कमै हुन्छ । 'दादा’ वीरसिंह तामाङको वि.सं. २००६ सालमा छयानब्बे वर्षको उमेरमा झाँगाझोलीमा मृत्यु भयो । यसअनुसार उनी वि.सं. १९१० सालमा जन्मेका र उनले जङ्गबहादुरलाई राम्रैसँग देखेका थिए भन्न सकिन्छ ।''
उल्लेखित पुस्तकमा यस्तै लेखेको रहेछ । मारिने बेलामा युद्धप्रतापजङ्गको
उमेर शायद १९ वर्षको मात्रै थियो । मारिएका मान्छेको टाउको किस्तिमा राखेर श्री ३
वीरशमशेरका अगाडि पुर्याएका थिए । त्यसबखत भाग्नेक्रममा धेरै भाइभारदारहरू
मारिएछन् । भारी बोकेका भन्दै भरियालाई समेत मारेका रहेछन् । त्यस्तो अवस्थामा पनि
वीरतापूर्वक इमानदारिता देखाएका वीरसिंह तामाङको बारेमा चासो बढ्नु स्वाभाविक थियो
।
मेरो गाउँ सिन्धुली जिल्लाको साविक मझूवा गाउँ विकास समिति वडा नं. ८ चालिसे (हाल सुनकोशी गाउँपालिका वडा नं. ७)मा रहेको छ । उक्त गाउँ कुनै समय राणाहरूका पेटिया बिर्ता थियो । मेरो म्हेमे (हजूरबुवा) तुलाबहादुर गोले ८९ वर्षको हुनुहुँदा (अहिले ९४ वर्षको हुनुभएको छ) यस सम्बन्धमा जिज्ञासा राखेको थिएँ । वृद्धअवस्थाको म्हेमेले सम्झँदै सुनाउनुभएको थियो । उहाँका अनुसार 'वीरसिंह तामाङको पनि घर परेवाडाँडामै राणाको दरबार नजिकै थियो । तिनी धेरै पटक हाम्रो (चालिसे)मा आएका थिए । तिनलाई द्वारे भन्ने गर्थे । तिनकी श्रीमती पनि थिइन् । तिनले राणाका सन्तानलाई भेष बदलेर परेवाडाँडामा ल्याएका भन्थे । राणाको चाहिँ मनहरामा पनि दरबार थियो । त्यहाँ हामी पनि पुगेका थियौं ।
त्यसपछि वीरसिंह तामाङको
ह्रुइ (थर) बारे जिज्ञासा राखेको थिएँ । उहाँले निकै प्रयास गर्नु भएको थियो । शायद घिसिङ थियो । यद्यपि, ठ्याक्कै एकिन गर्न सक्नुभएको
थिएन । यो लेख मैले प्रकाशित गरेपछि मित्र भरत लोप्चन तामाङज्यूले वीरसिंह तामाङको
ह्रुइ चाहिँ बोम्जन रहेको जानकारी दिनुभएको थियो । लोप्चनज्यूको अनुसार वीरसिंहकी
दुई श्रीमतीहरू घिसिङ र स्याङ्तानस्या हुनुहुन्थ्यो । स्याङ्तानस्याबाट
जन्मिनुभएको छोरोको नाम सक्ते बोम्जन र उहाँ हाल घ्याङलेक गाउँपालिकाको हायुटार
नामक स्थान हुनुहुन्छ । घिसिङस्याबाट जन्मिनुभएको छोरोको नाम चाहिँ सिंहवीर बोम्जन
हो । सिंहवीरकी दुई छोरीहरू मोतीमाया र ज्योतीमाया हुनुहुन्छ ।
मोतीमायाको घिसिङसँग विवाह भएको र हाल सुनकोशी गाउँपालिका वडा नं.
५ भूगोलछापमा बस्दै आउनुभएको छ । उहाँ भरत लोप्चनज्यू कहाँ म्हेनङ लगायतका चाडमा
माइती मान्न आउने गर्नुभएको समेत बताउनुभएको थियो । उहाँको अनुसार बहिनी
ज्योतीमायाको चाहिँ ब्लोन ह्रुइसँग विववाह भएको र सिन्धुलीकै खनियाखर्क नामक
गाउँमा हुनुहुन्छ । यस्तैगरी रामेछाप निवासी मित्र उदय दोङले पनि एक जना कोइराला (?)
थरको व्यक्तिलाई उदृत गर्दै, अहिलेसम्म पनि परेवाडाँडाबाट फैलिएका राणाहरूले
वीरसिंह बोम्जनलाई दशैँको बेलामा आफ्नो पितृको रूपमा श्राध्द चढाउने गरेका छन् ।

No comments:
Post a Comment