Saturday, January 6, 2018

लेखक तथा रचयिताका पीडा






                'यो संसार नै भ्रान्तिको रूप हो' (बृहत् स्वस्थानी-व्रत-कथा : श्री दुर्गा साहित्य भण्डार, पृ : ५) । त्यसैले संसार भ्रमपूर्ण छ; यस्तै भन्छन् जान्ने सुन्नेहरू ! 'तेरो र मेरो भन्नु भ्रम हो' धर्ममा आस्था राख्नेहरू यस्तै ओकल्छन् । 'झूठो माया ! झूठो छाया !! झूठो संसार' भन्ने दावा गर्छन्; जीवनको उत्तरार्धमा पुग्दै गरेका श्रद्धेय अग्रजहरू !

                यी भनाई र दावीहरूलाई गलत सावित गर्न निकै कठिन छ । बीचमा जस्तोसुकै विरोध गर्न सक्छौं । अन्ततः यो तथ्य सावित भएरै छाड्छ । वास्तवमै हामी भ्रममा छौं । भ्रमलाई नै सत्य र तथ्य हो भन्दै- काल पर्खनुलाई नै जीवनको यथार्थ भन्छौं । यो हाम्रो अनभिज्ञ यथार्थ हो । जम्ममा यो भ्रम हो ।

                'भ्रम' पनि धेरै प्रकारका हुँदारहेछन् । कहिले ज्ञान नभएर भ्रममा पर्छौं कहिले बुझ्न नसकेर अनि कहिले चाहिँ गलत बुझेर ! कहिले वशमा नभएर अनि कहिले गलतफेमी भएर पनि ! एकै वाक्यमा भन्नुपर्दा- ज्ञानको कमीले भ्रमको पैदा हुन्छ । जब भ्रममा पर्छौं; तब त्यही सत्य वा तथ्य भन्दै उफ्रन पुग्छौं । त्यो दृश्य हेर्दै कोही भने मज्जा लिएरहेका हुन्छन् ।

                कसैले भनेका रहेछन्- 'हामी- आफूले थाहा नपाएको कुरा बारे आफूलाई थाहा छैन भन्ने कुरा कहिल्यै पनि थाहा पाउन सक्तैनौं ।' अर्थात् मानौं सूर्यभन्दा धेरै प्रकाश वर्ष पSSSर एउटा अर्को मानव लोक छ । त्यसबारे हामीलाई थाहा छैन भने त्यो लोकको बारेमा मलाई थाहा छैन भन्ने कुरा हामीलाई कहिल्यै थाहा हुँदैन । अझ भनौं- कुनै एउटा त्यस्तो गुह्य ज्ञान छ । त्यो ज्ञानको बारेमा तपाईँलाई थाहा छैन भने तपाईँलाई त्यससम्बन्धमा आफूलाई ज्ञान छैन भन्ने ज्ञान कहिल्यै हुने छैन ।

                ज्ञान हुनु वा नहुनुको पनि कार्य-कारण सम्बन्ध त हुने नै भयो । अनि कार्य-कारणबाटै परिणाम निस्कने गर्दछ । परिणामतः भ्रममा पर्नु स्वाभाविक मानिन्छ किनकी एकै व्यक्तिले सबैथोकको ज्ञान प्राप्त गर्न सम्भव छैन । अर्थात् बुद्धलाई पनि थाहा थिएन कि- बुद्ध स्वयम्लाई मोबाइलको बारेमा ज्ञान छैन भन्ने कुरा किनकी बुद्धको पालामा मोबाइल नै थिएन । आफ्नो बशमा नभएको विषयमा ज्ञान नहुनु स्वाभाविक हो तर बशमा भएकै विषयदेखि अज्ञात रहनु चाहिँ भ्रम हो । केवल भ्रम ! गलत बुझाईको कारण उत्पन्न भ्रमले नै मानिसलाई कमजोर बनाउन सक्छ । औंठाछापे बनाउन सक्छ; जत्ति नै पढेको वा परेको नै किन नहोस् ! यस्तै एउटा भ्रमको सिर्जना भएको छ- लेखक र रचनाकार (रचयिता) को हो भन्ने सम्बन्धमा !

                'लेखक' शब्द 'लेख' लेख्ने व्यक्तिलाई बुझाउने शब्द हो । 'लेख' भनेको लेख्नु वा लेखिएको कुरा हो । 'लेख्नु' भनेको भावना वा तथ्यलाई अक्षरमा उतार्नु हो । अर्थात् लेखकले लेख्छ । त्यो भनेको भावना वा तथ्यलाई अक्षरमा उतार्नु मात्रै हो । कुनै भावना वा तथ्यलाई आफ्नो हस्ताक्षरमा उतार्नु वा कम्प्युटरमा टाइप हान्नु हो । हातले कलम समातेर वा चक वा मार्कर आदि समातेर कापी वा बोर्डमा लेखेमा लेखक र कम्प्युटरमा टाइप गरेमा टाइपिस्ट भइन्छ ।

                तर रचनाकार भन्नाले भावनालाई शब्द, आवाज वा कुनै पनि माध्यमबाट अरूसामू प्रस्तुत् गर्ने व्यक्ति भनेर बुझ्नु पर्दछ । रचनाकारले आवाजमा वा सङ्केत वा अक्षरमा उतार्छ तर यो आवश्यक छैन कि ऊ आफैँले लेख्नुपर्छ भन्ने । रचनाकारले भावनालाई अरू मार्फत् लेखाउन वा टाइप गराउन सक्छन् । लेखक/टाइपिस्ट र रचनाकारमा फरक भनेको यही नै हो । लेखकले आफैँले वा अरूबाट लेखाउन वा टाइप गराउन सक्छ । तर त्यस्ता सामग्री आफ्नो भावना भन्दा पनि अरूबाट टिपिएका हुन्छन् ।

                आफ्नो भावना लेख्ने लेखाउने वा उतार्ने वा उतार्न लगाउने चाहिँ रचनाकार हो । रचना भनेको आफ्नो भावनालाई प्रस्फूटन गर्नु हो । लेखक भनेको तथ्यलाई सङ्ग्रहित गर्नेसम्म मात्र हो । लेखक र टाइपिष्टमा पनि केही भिन्नता हुने गर्दछ । लेखकले अरूद्वारा लेखाउन, अभिलेखिकरण गराउन वा टाइप गराउन सक्छन् । टाइपिस्टले लेखक वा रचनाकारले भनेको शब्दलाई अक्षरमा उतार्ने काम मात्रै गर्दछ ।

                रचनाकारको रचना नितान्त वैयक्ति बुझाई, सोचाइ र भावनामा आधारित हुनुपर्दछ । त्यसमा सत्यता वा विश्वासनीयता हुनु भनेको शरीरमा ज्यान हुनुजस्तै हो । तथापि नितान्त कोरा कल्पना पनि सिर्जनात्मक साहित्यमा स्वीकार्य हुनुपर्दछ । त्यस्ता सामग्रीमाथि कसैले गलत भन्न वा मुद्दा चलाउने हैसियत राख्नु हुँदैन । 

                लेखकले पनि आफ्नो लेखकीयतालाई उजिल्याउनको लागि तथ्यमाथि न्याय गर्न सक्नुपर्दछ । कुनै पनि विषयमाथि आफ्नै मनोगत भावना उतार्नु; अरूबाट साभार गर्दा, स्रोतको उल्लेख नगर्नु अनि विषयवस्तुमाथि समीक्षा र निष्कर्ष निकाल्न नसक्नु लेखकीयपन र धर्म हुन सक्तैन । त्यसैले लेखकीय विश्वासनीयता र स्तरीयताको लागि यथेष्ट अध्ययन र स्रोतको उल्लेख अनिवार्य मानिन्छ ।

                तर अचम्मको कुरा- हाम्रो तामाङ समाजमा कतिपय समीक्षकदेखि पाठकहरूले समेत- 'फलाना चाहिँ लेखक नै हो । फलानालाई म लेखक मान्दिनँ' भनेको सुन्दै आएको छु । किन लेखक नमानेका रहेछन् भनेको त- 'त्यसले अरूको किताबहरूको सारेको त हो नि । आफैँले लेखेको (भन्न खोजेको- रचना गरेको) होइन अरे ।' कस्तो अचम्म- लेखकले पनि आफ्नै भावनालाई शब्दचित्रको निर्माण सँगै रचना गरी अक्षरमा उतारी कृतिको रूपमा पो प्रकाशन गर्नुपर्ने भएको रहेछ ।

                लेखकलाई- अरूको तथ्यहरूमाथि आफ्नो तर्क र समीक्षासहितको समाधान दिने व्यक्तित्व भनेर बुझ्नु राम्रो हुन्छ । रचनाकार लेखक नहुन सक्छ अनि लेखक रचनाकार ! स्रोतसहित लेख्नु नै लेखक वा लेखकीय धर्म हो । रचनाकार लेखक नहुन सक्छ । रचनाकारले त रचना मात्रै गर्ने हो । पाठकको लागि रचना गर्नु ढोङ्गी तथा आदर्शमूखी हुन सक्छ । पाठक मैत्री रचना स्रष्टाको आदर्शको मखुण्डोधारी व्यक्तित्व र क्रन्दन मात्र हुन्छ । त्यसैले रचनाले आफ्नो भित्री आत्माको बुझाईलाई उतार्न सक्नु पर्दछ । त्यो पाठकप्रेमी हुनु वा नहुनु भनेको पाठकको बुझाई र क्षमता मापनको कडी हुन सक्छ अनि रचयिताको व्यापारीकरणमाथिको बुझाई पनि !

                हाम्रोमा- अहेब त छोडौं एउटा सुर्इ लाउन सक्ने भएमा पनि जो कोही डाक्टर कहिन्छन् । डाक्टर भने पछि डाक्टर नै हुन्छन् । कुनको विशेषज्ञ हो भन्ने बुझ्नु वा बुझाइरहनु पर्दैन । विद्यावारिधी गरेकै भएपनि डाक्टर भनेपछि औषधीबारे ज्ञान भएको भनेर बुझ्नु अज्ञानताको चिनारी नै हो । यस्तै अज्ञानताकै कारण लेखकहरू लेखक बन्न सकेका छैनन् । रचनाकार पनि स्रष्टा वा रचनाकार बन्न सकेका छैनन् । लेखकले स्रोतको भरपूर उपयोग वा सदुपयोग वा उल्लेख गर्न सकिरहेको छैन । यदि गरिएमा लेखक भईँदैन वा मानिँदैन । अझै भनौं- लेखकमा दरिँदैन ।

                रचनाकारले पनि आफ्नो बुझाई र विचारलाई जस्ताको त्यस्तै उतार्न सकिरहेको छैन । किनकी त्यस्तै गरेमा गद्दार वा खत्तमको रचनाकारको बिल्ला भिर्नुपर्ने हुन्छ । त्यसैले जबरजस्ती सिर्जनशीलताको नाममा अब समाजमा भइरहेका तथा मानसिक पीडा वा खुशीलाई दबाएर पाठकको सामू क्रान्तिको फुस्रो भाषण छाँट्नु पर्दछ । रचनाले समाज वा पाठकलाई नकारात्मक प्रभाव नपरोस् भनेर सँधै चिन्तित् हुन सकेमा मात्र जनप्रिय रचनाकार भइन्छ । अन्यथा अस्वीकृत हुन बेर छैन ।

                यस्तै छ; आवश्यकता र बाध्यताले थिचिएको लेखक र रचनाकारको दशा ! कसैलाई थाहा छैन । आवश्यकता कस्तो हुन्छ ? कसैलाई खाँचो छैन; वाध्यताको विरुद्ध आवाज उठाउन । बरू अन्धोको देशका एउटा आँखा चिम्लनु र खोरोण्डोको देशमा पुग्दा- गोडा (प्रायःजसो खुट्टा भनिने अङ्ग) खोच्याउनु नै श्रेयस्कर मानिएको देखिन्छ । त्यसैले लेखक र रचनाकारको पीडा र पाठकसँगको दूरीको बारेमा बहस गर्ने दिन छिट्टै आउने छाँटकाँट छैन ।

धन्यवाद !

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...