Sunday, January 14, 2018

ल्होछार सन्दर्भ- ३



आफैँ त हुटिट्याऊँ ! आकाश थाम्ने सपना देखेर हुँदैन । यस्सै भन्न पनि गाह्रै रहेछ । हुटिट्याऊँ भएपछि आकाश नथामेर के गर्ने ? त्यसैले प्रजातिअनुसारको सपना देख्न पाउनुपर्छ । यस्तै मत पनि गलत नहोला । तथापि, वास्तवमै हुटिट्याऊँले आकाश थाम्नै उत्तानो परेका हुन् ? या अरू नै कारण छन् ? यी मान्छेका आरोप मात्रै हुन् कि ? जेहोस्, आकाश खस्ला भनेर उत्तानो परेको भन्ने मान्यता स्थापित छ ।

प्रायः सबै भन्छन्, फेसबूकेले सपार्ने भन्दा बढी बिगार्ने गर्छ । विकासेले धेरै त बिनासै गर्छ । केही नगर्नेले पनि रमिते भएर हेर्न सक्छन् । कोही किन चुपचाप वा भूमिकाविहीन रहुन् ? यतिखेर सम्झिरहेको छु- विक्रम हृयोञ्जनज्यूलाई ! तम्बा सङ्घ नेपालको संस्थापक कोषाध्यक्ष । उहाँले भन्नुभएको थियो- ''जहाँ बस्ती : त्यहाँ शास्ती ! जहाँ छैन बस्ती : त्यहाँ हुन्छ मस्ती !’’ हो; फेसबूक नामक बस्तीले पनि प्रायःलाई शास्तीमा पारेको देख्छु । त्यसो त मस्ती नदिएकै चाहिँ भन्दिनँ । 

यतिखेर, छानीछानी तामाङ जतिलाई ज्वारोले सताएको छ । केको भन्नुहोला, त्यही त होनि ल्होछारे ज्वरो ! एक पक्ष माघ ४ गते सोनाम ल्होछार भन्दैछन् । अर्को पक्ष फागुन ४ गते सोनाम ल्होछार भन्दैछन् । आ-आफ्ना मर्काका नेता समातेर उफ्रँदैछन् । अर्को पक्षमाथि विष बमन गर्दैछन् । फेसबूकमा तथानाम लेखेर लेखक भएका छन् । पत्रकारको प्रमाण पेश्दैछन् । सचेतकको बिल्ला भिर्दैछन् । विशेषज्ञताको प्रमाण-पत्र पेश्दैछन् । सोनाम ल्होछारभन्ने बीचको यो रमिता कम्तिको छैन । अलि परैको भनिएको ग्यल्बो ल्होछारेलाई पनि छोएको छ । त्यसैले परैबाटै तिघ्रा ठटाएर कराउँदैछन् । हान, ठोक, बजा भन्दैछन् उफ्रँदैछन् । ''कताबाट भाग्छस्, पापी गौँथली !’’

यो रमिताबाट टाढा भएकाहरू काम नलाग्ने भएका छन् । पत्रकार, लेखक, साहित्यकार, सचेतक, र विश्लेषक भनिएकाहरूका पदसमेत धरापमा पर्दैछन् । एक लम्बरको काम नलाग्ने पङ्गू सावित हुँदैछन् । त्यसैले शाख जोगाउनकै लागि पनि लेख्नैछ । जीवितै छु भन्नकै लागि पनि बोल्नै छ । म पनि छु भन्ने जनाउन दिनकै निमित्त पनि फेसबूकमा यस्तरी हावा खोक्नै छ । 

यस्तै त छ । अनि त अनि तामाङ भनिएकाहरू अव्यकृत प्रश्न/मुद्दाको पछि छ भन्दै र लेख्दै आएको छु । यस्सै भन्दा कतिले गाली गरेका छन् । कतिले ताली दिएका छन् । अहिले त्यतातिर लाग्ने समय भएन । यत्ति भन्छु, 'हाम्राहरू भ्रममा छन् । त्यसैले अन्धा छन् । अन्धा भएकैले देख्न सकिरहेका छैनन् । देख्न नसकेकैले छाम्छन् । छामेरै भन्छन् । छाम्न नपाए सुन्छन् । सुनेकै भरमा हावामा बोल्छन् । मनको पीडा ओकल्छन् । 

पSर कुनामा बसेर हेरिरहेको छु । यदि म आफू पनि अन्धो रहेनछु भने- हाम्रा मान्छे कहिल्यै नदेखेको हात्तीको जिउ छाम्दैछन् । आकारबारे बहस गर्दैछन् । पक्ष र विपक्षमा उभिँदैछन् । धुवाँदार समर्थन वा विरोध गर्दैछन् । वास्तवमै आफू अन्धो भएको प्रमाणित गर्दैछन् । साथीहरूका हर्कत देखेर हाँसो उठ्छ किनकी सुङ्गुरलाई छाम्दैछन् । भन्ने बेलामा हात्ती भन्दैछन् । 

सन्दर्भ उही त हो नि ल्होछारको ! कोही ग्याल्पो भन्दैछन् । कोही सोनाम ठान्दैछन् । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै । अन्ततः दुवैले नेपालीलाई पनि सिधै तिब्बतमा पुर्‍याउँछन् । ल्होछार मान्नेहरूलाई तिब्बती जनता बनाउने प्रयास गर्छन् । कोही तिब्बती राजाको धक्कु लगाउँछन् । ल्होछार मान्नेहरूलाई तिब्बती राजाको रैती बनाउ खोज्छन् । राजाको हाँक दिएर नाक फुलाउँछन् । छ्योईमा लेखेको भन्दै के के सुनाउँछन् । 

तर कसैलाई केको चासो ? त्यसैले बुझ्दैनन्; महान् तामाङको महान् पुर्खाले यहीँको माटो र हावापानी अनुसार स्थापित गराएको ल्होछारको कुरा ? देख्दैनन्; आफ्नो आङको भैँसी ! लाजै पचाई औंल्याइरहेछन्, अर्काका आङको जुम्राहरू ! फलानाको पात्रो छैन । फलानाको पात्रो एक पानाको हेS हेS ! फलानाको पात्रो गलत छ । त्यसले अर्काको बाट चोरेको (सारेको) हो । त्यसको पात्रो मिलेकै छैन । त्यो खगोलशास्त्री होइन । त्यो खेन्पो होइन । नक्कली हो । फटाहा हो । झूठो हो । हामीलाई झुक्याउँदैछ । सचेत हुनुपर्छ भनेर उफ्रँदैछन् ।

कहाँ के मिलेन ? हुनुपर्ने के हो ? के भएछ ? अब कसरी मिलाउने ? सोनाम र ग्याल्पोमा बाँडिएका तामाङलाई एकतामा कसरी बाँध्ने भन्ने त प्रश्न नगरौं । प्रश्न सुन्दै कतिको कानको जाली जान सक्छन् ! कत्ति ढल्न सक्छन् । कत्तिले ओँठ लेब्य्राउलान् ? कतिले चाहिँ तँ को होस् भन्दै तबला सम्झन पनि बेर लगाउला जस्तो छैन । यी प्रश्नका उत्तर दिनु भनेको त भासमा फस्नु हो । जानीजानी आफ्नै छातीमा तीर रोप्नु हो । 

यद्यपि, जाँदा-जाँदै यत्ति चाहिँ लेख्छु- तामाङ भनेको बिना खोज्दै दौडिरहेको कस्तुरी हो । कुन दिन तथ्य बोध होला ? यस्सै भन्न गाह्रो छ । भन्नैपर्दा- जुन दिन सोनाम र ग्याल्पो ल्होछार होइन भन्ने तथ्य बुझ्नेछन् । ल्होछार यी दुर्इ प्रकारका होइनन् । बाह्र जीवजन्तु र पङ्क्षीसँग सम्बन्धित छन् भनेर बुझ्नेछन्; तब तथ्य खोल्ने समय हुनेछ । अब बाँकी प्रतीक्षा कत्तिले कहिलेसम्म गर्लान् ? या त नगर्लान् । यत्ति कुरा सुनाएपछि- यहाँहरू पनि उल्लु हुनु भयो नै होला भन्ने विश्वासको म भने साथ बिदा हुन्छु । थुजेछे !!

                                                          उही- गोले केआर चालिसेली

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...