Sunday, January 7, 2018

कुलपूजा गर्न पाउने कि नपाउने ??



सरकार !
धेरै भयो- 'मेस्या चबा स्योप्टो' नमन्साएको

हिजो आज-
जोनीहरू मर्नु दुख्छन्
दिनरात रोइरहेको छु सरकार !!

अस्पतालमा देखाउँदा केही छैन भन्छन्
के-के जाति औषधी दिन्छन् ।।
गरीबसँग बाँकी उपचारको निमित्त
सम्पत्ति छैन सरकार !!

जति औषधी खाएँ-खाएँ
तर, बीसको उन्नाइस भएन

जान्नेहरूलाई देखाउँदा-
मेस्या चबा स्योप्टो लागेको भन्छन्

यस्तो भन्दा गाई खाने भाषा बुझिँन भन्नु होला
हो; सरकार हो !
यो गाई खाने भाषा नै हो
गोरु बलि दिनेको भाषा ।।

सरकार !
एक प्रकारको स्योप्टो हुन्छ-
जो गोरुको मासु रुचाउँछ
त्यसले छोएपछि गोरु बलि चढाउनु पर्छ ।।

के गरुँ सरकार ?
बडो द्वीविधामा छु

गोरु बलि चढाएर जेल रूङुँ ?
या स्योप्टोलाई आफैँ खुवाएर
झूपडीमा रुँदै बसुँ !

सरकार !
छोरा-छोरीका पनि भनेजस्तो कैल्यै भएन
श्रीमती दश वर्षदेखि विमारी छे
उपचारको क्रममा घरबार सकियो
तर उपचार लागेन ।।

सरकार !
डाक्टरहरू भन्छन्, रोग केही छैन
रोग नभएकै भए-
मेरी श्रीमती/मेरी जीवनसङ्गीनी
किन ओछ्यान परेकी होली सरकार ?

लबोन/लप्ताबालाई जोखना हेराउँदा
कुल बिग्रिएको भन्छन्

नबिग्रियोस् पनि कसरी ?
आफ्नो कुलपूजामा गोरु बलि चढाउनु पर्थ्यो रे
पृथ्वीनारायण शाहले-
एकीकरणको नाममा ताम्सालिङ नै खाएछन्
मुलुकी ऐनले, मेस्या पनि लुटेछन् ।।
चारदाममा पनि मे डाङ लगिएको थिएन

त्यसपछि बिग्रिएको कुल
अब कसरी सपारुँ सरकार ??
सपार्न गोरु बलि चढाउनु पर्दोरहेछ ।।

धर्म निरपेक्ष देशको अन्तरिम संविधानमै
गाईलाई राष्ट्रिय जनावर बनाएपछि
राणा कालीन जङ्गे कानुनले के छोड्थ्यो !!

सरकार !
लाङदर्मा ढाल्दा गोरु मार्नु पर्दोरहेछ
किरातहरूका कुलपूजामा पनि गोरु काट्नु पर्दोरहेछ

थकालीका कुलपूजामा-
चार वटा गोरुका टाउका चाहिँदारहेछन्
तामाङको चारदाममा, मे ढङको चलन रहेछ ।।

अब सरकार-
धर्म निरपेक्ष देशमा
जबरजस्त हामी हिन्दू नै बन्नुपर्ने या
हामीले गोरु काट्न पाउने कि नपाउने ?
कुलपूजा गर्न पाउने कि नपाउने ??

सरकार अरू केही सोध्दिनँ
यही मात्रै मेरो प्रश्न-
उत्तरको प्रतीक्षामा छु सरकार !!
अब सरकार-

धर्म निरपेक्ष देशमा
जबरजस्त हामी हिन्दू नै बन्नुपर्ने या
हामीले गोरु काट्न पाउने कि नपाउने ?
कुलपूजा गर्न पाउने कि नपाउने ??

शब्दार्थ :
मे स्या : गोरुको मासु
स्योप्टो : एक प्रकारको शक्ति एउटाले कुखुरा, एउटाले बाख्रा एउटाले चाहिँ गोरु खान्छ भन्ने मान्यता रहेको घ्याङसिङ
जोर्नी दुख्नु : स्योप्टोले भेटेमा यस्तो दुखाई हुने मान्यता रहेको
लाङदर्मा : लाङ (गोरु)को जस्तो स्वरूप वा स्वभाव भएको विश्वास गरिएको तिब्बती कथासँग जोडिएको ऐतिहासिक पात्र
कुलपूजा : आफ्ना कुलहरूको पूजा
मे डाङ : विवाहमा लानुपर्ने डाङ जसमा गोरुको फिला लानुपर्दथ्यो (मे : गोरु), (डाङ : कोशेली)


पुनश्च : तामाङ राष्ट्रको लाङकोर थोगोर थरीको कुलपूजामा गोरु बलि चढाउनु पर्दछ यससम्बन्धी लोककथाहरू पाइन्छन्

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...