Sunday, January 7, 2018

ओर्इ सत्ता

ओर्इ सत्ता
माग्ने हैन
दिनेको सन्तान पो हुँ
पहिलो राष्ट्र हुँ ।।
कहिल्यै मागेका थिएनन्
मेरा पुर्खाले
जहिले पनि दिएकै थिए ।।

त्यसैले-
माग्ने हैन
दिनेको सन्तान पो हुँ ।।
हिजो- मेरो पनि आफ्नै संसार थियो
दिनेको संसार !
आफ्नै विश्व थियो
आफ्नै म्हरमेनछन/रिमठिम थियो ।।

पछिल्लो समयमा-
मेरोतिर तँ खोसुवा पो आइपुगेको थिइस्
जबरजस्त खोसेको थिइस्-
मेरो आफ्नै सलिङ/कै/ग्योर्इ ग्युर्इहरू !!
सकेको थिइँन- मैले
किनकी साह्रै सोझो थिएँ
आपराधिक खेल जान्दिनथेँ ।।
त्यही भएर -
खोसिस् लुटिस्; मनलाग्दी गरिस्
हिजोको कुरा हो यो-
आजसम्म पनि केही परिवर्तन भएको छैन ।।
दिँदै थिएँ
दिइरहेकै थिएँ
जति दिएपनि नपुग्दोरहेछ
तँलाई/लिनेहरूलाई !!
अब भने-
दिन पनि सक्छु
नदिन पनि सक्छु ।।
किनकी-
दिनेहरू तन्नम् भैसक्तापनि
हाडछाला मात्रैको हुँदापनि
लिनेहरूले- लिइनैरहने मात्रै रहेछन्
दिन नमान्दा - खोसिरहँदारहेछन् ।।
त्यसैले हुनुपर्छ-
कालो युगको जञ्जीरहरू
तोड्ने रहर जागृत भएको
हिजो खोसिएका जति
एक-एक गन्दै फिर्ता लिने मन भएको ।।
तैपनि-
मागिरहेको छुइँन/ माग्दिनँ पनि !
माग्नेसित माग्नेको सन्तान होइन
अझै दिने नै रहर गर्दैछु ।।
दिनेछु-
आऊ माग्न आऊ
निसङ्कोच भएर आऊ ।।
दिनेछु तँलार्इ पनि एक चपरी जमीन
एक टुक्रा नीलो आकाश
जरुवाको एक घुट्को पानी
अनि, एक कुड्को ठूलोओखती पनि !!
तँ जस्तो छुइँन
हो; दिनेछु
मागी हेर मसँग-
एक मुठी स्वच्छ अक्सिजन !
एक टुक्रा घाम जून पनि !!
चाहिएको भने-
आऊ कहाँ माग्न आऊ
दिनेछु-
एक आङ कपडा !
एक पेट भोजन दिनेछु ।।
तर माग्न आउने छुइँन-
आँशुको थोपा तिरेर
तँसित एक पित्को हाँसो ।।
कसम !
मरेपनि माग्ने छुइँन-
जडउरीमा एक मुठी प्राण माग्ने छुइँन !!
लैजाऊ : दिनेछु
तँलाई लैजान दिनेछु
तेरो आफ्नो जति सबै लैजाऊ/उखेलेर लैजाऊ ।।
याद गरेस्-
छोडेर जाऊ अब,
मबाट तैँले लुटेको
मेरो सलिङ/कै/ग्योई ग्युर्इहरू !!
हैन भने : याद गरे
माग्न बाध्य भएँछु भने पनि
, तँसित माग्न आउने छुइँन ।।
किनकी
अब तँ माग्नेको अन्तिम चरणमा पुगिसकिस्
त्यसैले-
मैले दिए मात्रै पाउने छस्
नभएर भोकै नाङ्गै मर्नेछस् ।।
कुन मुखले माग्छस् मसँग ?
के नै खोस्छस् मबाट ??
तँ माग्नेका सन्तान
दिँदा-दिँदै पनि खोस्नेको सन्तान
त्यसैमा गर्व गर्नेको सन्तान !!
याद गरेस्-
दिने हुँ
तिमी जाबा-
माग्नेको सन्तान
खोस्नेको सन्तान ।।
समय छँदै विचार गरेस्-
तँजस्तालाई दिएर आएको छु
त्यसैले माग्न आउने छुइँन ।।
नसोचे हुन्छ
आफैँलाई दिने मालिक नसोचे हुन्छ
किनकी
दिने पो हुँ ।।
त्यसैले-
घेर्न आएको छुइँन/आउने पनि छुइँन
तेरो सिंहदरबारहरू !
हिँडेको पनि छुइँन-
तेरो बालुवाटार हुँदै अहिलेसम्म पनि !!
के होला ? के नहोला ?
आफैँले आफैँलार्इ दाता सम्झिस् भने
मलाई चाहिँ तेरो जुठोपुरो खाने सम्झिस् भने
त्यस अपराधको सजाय दिन बाध्य भएँ भने !!
याद गरेस्-
तँ मेरो लागी झारपात मात्रै
लगाएको बाली बचाउनैका लागि
गोडमेलको क्रममा : उखेलेर फाल्नु नपरोस् !!

हो; फेरि पनि सम्झाउँदैछु-
माग्ने हैन
दिनेको सन्तान पो हुँ
तेरो मालिक पो हुँ ।।
१५ जेठ '७३
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...