Sunday, January 7, 2018

साँच्चै बौलाइसकेँ त सरकार !



सरकार !
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

थाहा मलाई-
किन बौलाइस् भनेर सोध्ने छैनौ तिमीले
के भयो भनेर खोज्ने छैनौ तिमीले !
तैपनि-
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

नबौलाउनु पनि कसरी ?
तिम्रै निमित्त- तिम्रै राष्ट्रनिर्माता
साक्षत् बिष्णुको अवतारद्वारा
मेरा निमित्त- हत्यारा
अपराधी पृथ्वीनारायण शाहद्वारा
मेरै निर्दोष पूर्खाको शीर छिनालेर
मेरो ताम्सालिङ खोसेदेखि
आफ्नै अँगेनी/मझेरीमा पनि
अनागरिक भएको छु
हो; शरनार्थी भएको छु ।।

तिमी आफैँ भन -
यस्तो बेला
नबौलाएर अरू के गर्नु सरकार ?

गोर्खा भूकम्प, २०७२ द्वारा थिलथिलो
अनि बेज्यान भएको मेरो देह !

त्यहीमाथि लच्याङ खनियाँबास काण्ड
भोजपुरको कोदोकाण्डले
बल्झाएर मात्रै बस्छ

तिम्रा प्रेतात्माहरू-
मर्ममा तिमीद्वारा गाडिएका
छुनै नहुने किलाहरू चलाएर
हुरुक्कै पारेर रमाइलो मानेर हाँस्छन् !!

अनि
नबौलाएर अरू के गर्नु सरकार !!
त्यसैले,
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

नौ पैसाको दरले मेक्चन नामक कर तिरेर
मरेका गाई/गोरुको सिनो खाएको स्वाद
बिर्सेका छैनौं भन्नुहुन्छ-
मेरा वृद्ध-वृद्धा बाजे/बज्यैहरू !

तिमी भने अझै पनि गाईलाई आफ्नै आमा भनेर
नयाँ संविधानमा लेखाउँदै
घाउमा नूनचूक छर्किरहन्छौ

एकातिर तिम्रो गाई मैत्री कानून
अर्कोतिर हजूरबा हजूरआमाहरूका कचकच
अनि
नबौलाएर अरू के गर्नु ?
त्यसैले
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

यसपालि -
केही होला कि भन्ने आश गरेको थिएँ
आश्वासनले नै भए पनि-
युगौँदेखिको भोको पेट भरेको थिएँ
तर तिमीले -
मेरै छाला उतारेर
खैँचडी बजाउने योजना बनाएछौ
भजन गाउँदै रातभरिभरि नाच्ने अठोट गरेछौ ।।

तिमी आफैँ भन -
तिमीमाथि मैले चाहिँ,
तिमीले मलाई गरेजस्तै गरेँ भने
के तिमी पनि नबौलाइकन-
तक्मो ल्हुछेनको कथा सुन्दै
भोको बघिनी डमरुहरूलाई
आफ्नै शरीर दान गर्न क्छौ ?
त्यसैले,
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

मेरा छोरीलाई ललाईफकाई बेच्ने तिमी नै हौ
केटीस्या राखेर जवानी लुट्ने तिमी थियौ
तर आज फेरि पनि
छोरीचेली बेच्ने जात भन्ने आरोप बोक्नुपर्दा
यो शीर कम्ता गहुङ्गो भएको छैन ।।

तिम्रै मात्रै धर्म संस्कृति महान् रहेछ
तिम्रै मात्रै पहिचान इज्जत उचित रहेछ
हामी - हिजो पनि मासिन्या जातिको मानिस
आज पनि कुवाको भ्यागुतो मात्रै !

हामीलाई-
भेँडा भन्दै मासु लुछ्न आतुर
दैत्यलाई पनि मन्त्री बनाउने तिमीहरू
ढोके भनेर मानिस नगन्ने पनि तिमीहरू
हामीले बोलेमा तामाङ भाषा
तिम्रै मात्रै नेपाली : तिमी मात्रै नेपाली ??

हामी गैरनेपाली
हामीले अधिकार माग्दा
विखण्डनकारी हुँदारहेछौं ।।
त्यसैले,
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

तै-तै/जे पर्ला-पर्ला-
बौलाएरकै वाँकमा भएपनि
एकपटक तिमीलाई घोडा बनाएर
''हट् घोडा हट'' भन्न रहर लागेको

घिस्याउँदै तिम्रै पुत्लाहरूलाई
उत्तानो पार्दै रेटेर अब-
नरदेवीको लामो प्यास मेटाइदिउँ
जस्तो पो लाग्दैछ

खै मलाई पनि के भयो-भयो ?
जति घिचे पनि नभरिने
ती तिम्रा आन्द्राको जनै लगाएर
एक पटक साँच्चै हिन्दू बन्न मन लागेको
तन्नमहरूद्वारा-
ताण्डप प्रदर्शन गर्न मन लागेको
त्यसैले,
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!

सक्छौ- बेलैमा उपचार गराइदेऊ
अन्याय अत्याचारको क्षतिपूर्ति भराइदेऊ
मेरो ताम्सालिङ मलाई नै फिर्ता देऊ
बढी जान्ने बन्ने हैन ।।

हैन भने !
हो; -
साँच्चै बौलाइसकेँ सरकार !!
१३ अशोज '७२

सानधारा

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...