Tuesday, January 30, 2018

को थिए वीरसिंह तामाङ ?


  


      इतिहास गलत मात्रै पनि लेखेका रहेनछन् । चाहेर वा नचाहेर पनि इतिहास लेखिँदारहेछन् । इतिहासमा लेखिएका व्यक्ति तथा घटना आदिलाई ऐतिहासिक मान्छौं । कसैले मानेर वा नमारेरै पनि नहुँदोरहेछ । व्यक्तिको कर्मले पनि इतिहासमा नाम लेख्न र लेखाउने क्षमता राख्दोरहेछ । त्यस्तै व्यक्तिहरूमध्येका रहेछन्- वीरसिंह तामाङ । को थिए त वीरसिंह तामाङ भन्ने सम्बन्धमा एउटा जानकारी पाएको थिएँ । इतिहास लेख्न रुचाउने मध्येका बुद्धिलाल भण्डारीको पुस्तकबाट । लेखक भण्डारीले २०६८ पुसमा 'जङ्गबहादुर कुँवर' जीवनवृत्त ल्याएका रहेछन् । सोही पुस्तकभित्र शाखासन्तानको अवस्था खण्ड (पृ २०५-२१५) पनि समाविष्ट रहेछ । सोही पुस्तकमा वीरसिंह तामाङको वीरता बारे उल्लेख गरेको रहेछ । जुन निम्नानुसार छ ।

 


      ''... वि.सं. १९४२ को हत्याकाण्डपछि जङ्गबहादुरको छोरा, नाति र बुहारीहरूको बिजोग भयो । ...नाति जर्नेल युद्धप्रतापजङ्गको निर्दयतापूर्वक हत्या भएपछि यिनको चार जना रानीहरू र तीन जना नाबालक छोराहरूको बिचल्ली भयो । यी अनाथ-असहाय भए । वीरशमशेर र खड्गशमशेरहरूले ''युद्धप्रतापजङ्गका नाबालक छोराहरूलाई पनि मारिदिनु'' भन्ने आदेश दिएका थिए । तर ती नाबालक बच्चाहरूलाई बचाउन युद्धप्रतापजङ्गका ददा वीरसिंह तामाङ भगवान्कै रूपमा निस्किए । त्यसबखत दरबारका केटाकेटीको स्याहारसम्भार र रेखदेख गर्ने व्यक्तिलाई 'ददाभनिन्थ्यो । सबैले बलेको आगो नै ताप्दछन् । निभेको आगो कसले ताप्छ र ! मानिस मरेपछि उसको शरीरलाई उपियाँ, उडुस र जुम्राले पनि छोडेर हिँड्दछन् । आफ्नो मालिक मारिएपछि वीरसिंह तामाङ पनि भाग्न सक्दथे । तर इमानदार वीरसिंहले आफ्नो ज्यान खतरामा राखेर भए पनि युद्धप्रतापजङ्गका असहाय रानीहरू र नाबालक छोराहरूको साथ छोडेनन् ।    

      वीरसिंहले उनीहरूलाई थापाथली दरबारबाट रातारात भगाउने व्यवस्था मिलाए । उनले बच्चाहरू बोक्न हतार-हतार डोका, भरियाहरू खोजे र बाटोको लागि आवश्यक अरू केही सामानहरू पोको पारेर चार जना रानीहरू र तीन जना बालकहरूलाई लिएर भक्तपुरतिर लागे । तिनले बालकहरूलाई बाटोमा कसैले चिन्लान् भनेर उनीहरूलाई छोरीहरूले लगाउने घाँघर (फ्रक), गुनियो, चोलो लगाइदिएर, भेष बदलेर लगे । उनले रानीहरू र बालकहरूलाई लिएर भक्तपुर पुगे । त्यसपछि बनेपा हुँदै ठाउँ-ठाउँमा बास बस्दै शङ्खु बतासे पुगे । शङ्खु बतासे पुगेपछि एकजना गर्भवती रानीलाई व्यथा लाग्यो र उनले त्यहाँ छोरो जन्माइन् । दरबारको सुखसयलमा बसेका रानीहरू पहाडी बाटोको उकालो-ओरालो हिँड्दै, घामपानी, भोकतिर्खा सहँदै, अझ शमशेरहरूका गुप्तचर, सिपाही र अरू मानिसहरूको आँखा छल्दै हिँड्नु, त्यसमाथि बाटैमा बच्चा जन्मनु, उनीहरूका लागि त्यो यात्रा कति कष्टप्रद भयो होला ! कल्पना मात्र गर्दा पनि हृदय पग्लन्छ । इमानदार ददा वीरसिंह तामाङले आफूले अनेक दुःखकष्ट सहेर, अझ आफ्नो ज्यानै खतरामा पारेर भए पनि युद्धप्रतापजङ्गका रानीहरू र छोराहरूलाई सिन्धुली जिल्लाको झाँगाझोली, परेवाडाँमा सुरक्षित रूपमा पुर्‍याए । वीरसिंहले त्यहाँ उनीहरुलाई अस्थायी रूपमा खानबस्नको व्यवस्था मिलाए र आफू फेरि काठमाडौं आए । उनी युद्धप्रतापजङ्गका मावली राजदरबार गए र नाति जर्नेलका परिवारले पाएको दुःखकष्टको सम्पूर्ण बेलीविस्तार लगाए । उनीहरूले पाएका दुःखको बयान वीरसिंह तामाङबाट सुन्दा राजदरबारमा रुवाबासी चलेको र दरबारै स्तब्ध भएको थियो ।


       त्यसपछि तत्कालीन राजा पृथ्वीवीरविक्रम शाह र मुमा बडामहारानीले वीरसिंहलाई केही असर्फीहरू दिए र ''यो बेचेर आएको पैसाले हाललाई खानबस्नको व्यवस्था मिलाउँदै गर्नू । हामी यथाशीघ्र मासिक भत्ता र जग्गाजमिनको लालमोहर गरा पठाइदिउँला'' भन्ने आश्वासन दिए । वीरसिंह तामाङले झाँगाझोली फर्केर असहाय रानीहरू र अनाथ बच्चाहरूको इमानदारीपूर्वक सेवा गरी खानबस्नको व्यवस्था मिलाए र पछि स्थायी रूपमा भत्ता र जग्गाजमिनको लालमोहर गराउन पनि सफल भए । वीरसिंह तामाङको इमानदारी, स्वार्थरहित विशुद्ध मानवीय व्यवहार र सेवाको जतिसुकै प्रशंशा र आदरसम्मान गरे पनि कमै हुन्छ । 'दादावीरसिंह तामाङको वि.सं. २००६ सालमा छयानब्बे वर्षको उमेरमा झाँगाझोलीमा मृत्यु भयो । यसअनुसार उनी वि.सं. १९१० सालमा जन्मेका र उनले जङ्गबहादुरलाई राम्रैसँग देखेका थिए भन्न सकिन्छ ।''


      उल्लेखित पुस्तकमा यस्तै लेखेको रहेछ । मारिने बेलामा युद्धप्रतापजङ्गको उमेर शायद १९ वर्षको मात्रै थियो । मारिएका मान्छेको टाउको किस्तिमा राखेर श्री ३ वीरशमशेरका अगाडि पुर्‍याएका थिए । त्यसबखत भाग्नेक्रममा धेरै भाइभारदारहरू मारिएछन् । भारी बोकेका भन्दै भरियालाई समेत मारेका रहेछन् । त्यस्तो अवस्थामा पनि वीरतापूर्वक इमानदारिता देखाएका वीरसिंह तामाङको बारेमा चासो बढ्नु स्वाभाविक थियो ।

      मेरो गाउँ सिन्धुली जिल्लाको साविक मझूवा गाउँ विकास समिति वडा नं. ८ चालिसे (हाल सुनकोशी गाउँपालिका वडा नं. ७)मा रहेको छ । उक्त गाउँ कुनै समय राणाहरूका पेटिया बिर्ता थियो । मेरो म्हेमे (हजूरबुवा) तुलाबहादुर गोले ८९ वर्षको हुनुहुँदा (अहिले ९४ वर्षको हुनुभएको छ) यस सम्बन्धमा जिज्ञासा राखेको थिएँ । वृद्धअवस्थाको म्हेमेले सम्झँदै सुनाउनुभएको थियो । उहाँका अनुसार 'वीरसिंह तामाङको पनि घर परेवाडाँडामै राणाको दरबार नजिकै थियो । तिनी धेरै पटक हाम्रो (चालिसे)मा आएका थिए । तिनलाई द्वारे भन्ने गर्थे । तिनकी श्रीमती पनि थिइन् । तिनले राणाका सन्तानलाई भेष बदलेर परेवाडाँडामा ल्याएका भन्थे । राणाको चाहिँ मनहरामा पनि दरबार थियो । त्यहाँ हामी पनि पुगेका थियौं ।

       त्यसपछि वीरसिंह तामाङको ह्रुइ (थर) बारे जिज्ञासा राखेको थिएँ । उहाँले निकै प्रयास गर्नु भएको थियो । शायद घिसिङ थियो । यद्यपि, ठ्याक्कै एकिन गर्न सक्नुभएको थिएन । यो लेख मैले प्रकाशित गरेपछि मित्र भरत लोप्चन तामाङज्यूले वीरसिंह तामाङको ह्रुइ चाहिँ बोम्जन रहेको जानकारी दिनुभएको थियो । लोप्चनज्यूको अनुसार वीरसिंहकी दु श्रीमतीहरू घिसिङ र स्याङ्तानस्या हुनुहुन्थ्यो । स्याङ्तानस्याबाट जन्मिनुभएको छोरोको नाम सक्ते बोम्जन र उहाँ हाल घ्याङलेक गाउँपालिकाको हायुटार नामक स्थान हुनुहुन्छ । घिसिङस्याबाट जन्मिनुभएको छोरोको नाम चाहिँ सिंहवीर बोम्जन हो । सिंहवीरकी दु छोरीहरू मोतीमाया र ज्योतीमाया हुनुहुन्छ ।

      मोतीमायाको घिसिङसँग विवाह भएको र हाल सुनकोशी गाउँपालिका वडा नं. ५ भूगोलछापमा बस्दै आउनुभएको छ । उहाँ भरत लोप्चनज्यू कहाँ म्हेनङ लगायतका चाडमा माइती मान्न आउने गर्नुभएको समेत बताउनुभएको थियो । उहाँको अनुसार बहिनी ज्योतीमायाको चाहिँ ब्लोन ह्रुइसँग विववाह भएको र सिन्धुलीकै खनियाखर्क नामक गाउँमा हुनुहुन्छ । यस्तैगरी रामेछाप निवासी मित्र उदय दोङले पनि एक जना कोइराला (?) थरको व्यक्तिला उदृत गर्दै, अहिलेसम्म पनि परेवाडाँडाबाट फैलिएका राणाहरूले वीरसिंह बोम्जनला दशैँको बेलामा आफ्नो पितृको रूपमा श्राध्द चढाउने गरेका छन् ।

 

पुनः सम्पादन गरिएको २०७८ फागुन २९ 


Friday, January 19, 2018

गजल

झोर्दै-झोर्दै एक्लाएक्लै पार्न खोज्छन् साथीहरू !
माया गरे जस्तो गर्दै दार्न खोज्छन् साथीहरू !!!!!

आजै मात्र मृत्युको त्यो मुखैबाट बचाई हेर !!!!!
भोलि पल्ट उनैलाई मार्न खोज्छन् साथीहरू !!

आफैँलाई पर्दा मात्रै आउन भन्दै बोलाउँछन् ?
अरूलाई पर्दा चाहिँ टार्न खोज्छन् साथीहरू !!

बिना हितको मीत पनि चोरलाई भर्‍याङ भन्थे !!
हो नै रै’छ छालै शुद्ध तार्न खोज्छन् साथीहरू !!

खोज भन्छ कसैलाई बास दिने त कामै नगर !!!
दिनेकै पो डेरा अन्तै सार्न खोज्छन् साथीहरू !!
५ माघ ’७४
चाबहिल

Tuesday, January 16, 2018

गजल


                                              खेत र बारी मात्रै हैन करेसा’नि बाँझो थियो !
                                              बूढा-बूढी रुँदै भन्थे, पुर्खाको यो नासो थियो !!

                                              कतै साह्रै बूढो बाजे; कतै त्यस्तै बूढी बज्यै !
                                              चुह्लो छेउ सातपत्र धुलो अनि माटो थियो !!!

                                              छोरा-छोरी शहरतिर कत्ति विदेश गए भन्छन् !
                                              गाउँतिर 'होर्इ’ भन्ने मान्छेको’नि खाँचो थियो !!

                                              लौरो टेक्तै बूढा-बूढी कसोगरी बाँच्छन् कुन्नी ??
                                              सोध्दाखेरि आँशु झार्ने बोली उस्तै गाँठो थियो !!

                                             'यहीँनेर घर त थियो भूर्इँचालोले ढाली दियो !'
                                              बूढी बज्यै देखाउँदैथी हेर्दा बूढो खाँबो थियो !!
                                                                                                    २ माघ ’७४ 
                                                                                                     चाबहिल

Sunday, January 14, 2018

ल्होछार सन्दर्भ- ३



आफैँ त हुटिट्याऊँ ! आकाश थाम्ने सपना देखेर हुँदैन । यस्सै भन्न पनि गाह्रै रहेछ । हुटिट्याऊँ भएपछि आकाश नथामेर के गर्ने ? त्यसैले प्रजातिअनुसारको सपना देख्न पाउनुपर्छ । यस्तै मत पनि गलत नहोला । तथापि, वास्तवमै हुटिट्याऊँले आकाश थाम्नै उत्तानो परेका हुन् ? या अरू नै कारण छन् ? यी मान्छेका आरोप मात्रै हुन् कि ? जेहोस्, आकाश खस्ला भनेर उत्तानो परेको भन्ने मान्यता स्थापित छ ।

प्रायः सबै भन्छन्, फेसबूकेले सपार्ने भन्दा बढी बिगार्ने गर्छ । विकासेले धेरै त बिनासै गर्छ । केही नगर्नेले पनि रमिते भएर हेर्न सक्छन् । कोही किन चुपचाप वा भूमिकाविहीन रहुन् ? यतिखेर सम्झिरहेको छु- विक्रम हृयोञ्जनज्यूलाई ! तम्बा सङ्घ नेपालको संस्थापक कोषाध्यक्ष । उहाँले भन्नुभएको थियो- ''जहाँ बस्ती : त्यहाँ शास्ती ! जहाँ छैन बस्ती : त्यहाँ हुन्छ मस्ती !’’ हो; फेसबूक नामक बस्तीले पनि प्रायःलाई शास्तीमा पारेको देख्छु । त्यसो त मस्ती नदिएकै चाहिँ भन्दिनँ । 

यतिखेर, छानीछानी तामाङ जतिलाई ज्वारोले सताएको छ । केको भन्नुहोला, त्यही त होनि ल्होछारे ज्वरो ! एक पक्ष माघ ४ गते सोनाम ल्होछार भन्दैछन् । अर्को पक्ष फागुन ४ गते सोनाम ल्होछार भन्दैछन् । आ-आफ्ना मर्काका नेता समातेर उफ्रँदैछन् । अर्को पक्षमाथि विष बमन गर्दैछन् । फेसबूकमा तथानाम लेखेर लेखक भएका छन् । पत्रकारको प्रमाण पेश्दैछन् । सचेतकको बिल्ला भिर्दैछन् । विशेषज्ञताको प्रमाण-पत्र पेश्दैछन् । सोनाम ल्होछारभन्ने बीचको यो रमिता कम्तिको छैन । अलि परैको भनिएको ग्यल्बो ल्होछारेलाई पनि छोएको छ । त्यसैले परैबाटै तिघ्रा ठटाएर कराउँदैछन् । हान, ठोक, बजा भन्दैछन् उफ्रँदैछन् । ''कताबाट भाग्छस्, पापी गौँथली !’’

यो रमिताबाट टाढा भएकाहरू काम नलाग्ने भएका छन् । पत्रकार, लेखक, साहित्यकार, सचेतक, र विश्लेषक भनिएकाहरूका पदसमेत धरापमा पर्दैछन् । एक लम्बरको काम नलाग्ने पङ्गू सावित हुँदैछन् । त्यसैले शाख जोगाउनकै लागि पनि लेख्नैछ । जीवितै छु भन्नकै लागि पनि बोल्नै छ । म पनि छु भन्ने जनाउन दिनकै निमित्त पनि फेसबूकमा यस्तरी हावा खोक्नै छ । 

यस्तै त छ । अनि त अनि तामाङ भनिएकाहरू अव्यकृत प्रश्न/मुद्दाको पछि छ भन्दै र लेख्दै आएको छु । यस्सै भन्दा कतिले गाली गरेका छन् । कतिले ताली दिएका छन् । अहिले त्यतातिर लाग्ने समय भएन । यत्ति भन्छु, 'हाम्राहरू भ्रममा छन् । त्यसैले अन्धा छन् । अन्धा भएकैले देख्न सकिरहेका छैनन् । देख्न नसकेकैले छाम्छन् । छामेरै भन्छन् । छाम्न नपाए सुन्छन् । सुनेकै भरमा हावामा बोल्छन् । मनको पीडा ओकल्छन् । 

पSर कुनामा बसेर हेरिरहेको छु । यदि म आफू पनि अन्धो रहेनछु भने- हाम्रा मान्छे कहिल्यै नदेखेको हात्तीको जिउ छाम्दैछन् । आकारबारे बहस गर्दैछन् । पक्ष र विपक्षमा उभिँदैछन् । धुवाँदार समर्थन वा विरोध गर्दैछन् । वास्तवमै आफू अन्धो भएको प्रमाणित गर्दैछन् । साथीहरूका हर्कत देखेर हाँसो उठ्छ किनकी सुङ्गुरलाई छाम्दैछन् । भन्ने बेलामा हात्ती भन्दैछन् । 

सन्दर्भ उही त हो नि ल्होछारको ! कोही ग्याल्पो भन्दैछन् । कोही सोनाम ठान्दैछन् । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तै । अन्ततः दुवैले नेपालीलाई पनि सिधै तिब्बतमा पुर्‍याउँछन् । ल्होछार मान्नेहरूलाई तिब्बती जनता बनाउने प्रयास गर्छन् । कोही तिब्बती राजाको धक्कु लगाउँछन् । ल्होछार मान्नेहरूलाई तिब्बती राजाको रैती बनाउ खोज्छन् । राजाको हाँक दिएर नाक फुलाउँछन् । छ्योईमा लेखेको भन्दै के के सुनाउँछन् । 

तर कसैलाई केको चासो ? त्यसैले बुझ्दैनन्; महान् तामाङको महान् पुर्खाले यहीँको माटो र हावापानी अनुसार स्थापित गराएको ल्होछारको कुरा ? देख्दैनन्; आफ्नो आङको भैँसी ! लाजै पचाई औंल्याइरहेछन्, अर्काका आङको जुम्राहरू ! फलानाको पात्रो छैन । फलानाको पात्रो एक पानाको हेS हेS ! फलानाको पात्रो गलत छ । त्यसले अर्काको बाट चोरेको (सारेको) हो । त्यसको पात्रो मिलेकै छैन । त्यो खगोलशास्त्री होइन । त्यो खेन्पो होइन । नक्कली हो । फटाहा हो । झूठो हो । हामीलाई झुक्याउँदैछ । सचेत हुनुपर्छ भनेर उफ्रँदैछन् ।

कहाँ के मिलेन ? हुनुपर्ने के हो ? के भएछ ? अब कसरी मिलाउने ? सोनाम र ग्याल्पोमा बाँडिएका तामाङलाई एकतामा कसरी बाँध्ने भन्ने त प्रश्न नगरौं । प्रश्न सुन्दै कतिको कानको जाली जान सक्छन् ! कत्ति ढल्न सक्छन् । कत्तिले ओँठ लेब्य्राउलान् ? कतिले चाहिँ तँ को होस् भन्दै तबला सम्झन पनि बेर लगाउला जस्तो छैन । यी प्रश्नका उत्तर दिनु भनेको त भासमा फस्नु हो । जानीजानी आफ्नै छातीमा तीर रोप्नु हो । 

यद्यपि, जाँदा-जाँदै यत्ति चाहिँ लेख्छु- तामाङ भनेको बिना खोज्दै दौडिरहेको कस्तुरी हो । कुन दिन तथ्य बोध होला ? यस्सै भन्न गाह्रो छ । भन्नैपर्दा- जुन दिन सोनाम र ग्याल्पो ल्होछार होइन भन्ने तथ्य बुझ्नेछन् । ल्होछार यी दुर्इ प्रकारका होइनन् । बाह्र जीवजन्तु र पङ्क्षीसँग सम्बन्धित छन् भनेर बुझ्नेछन्; तब तथ्य खोल्ने समय हुनेछ । अब बाँकी प्रतीक्षा कत्तिले कहिलेसम्म गर्लान् ? या त नगर्लान् । यत्ति कुरा सुनाएपछि- यहाँहरू पनि उल्लु हुनु भयो नै होला भन्ने विश्वासको म भने साथ बिदा हुन्छु । थुजेछे !!

                                                          उही- गोले केआर चालिसेली

Tuesday, January 9, 2018

ल्होछार सन्दर्भ- २


के-के होला भनेको त जोगी भयो यार !
विवादैले ल्होछार यो रोगी भयो यार !!!!

लामा बोम्बो जान्ने भन्छन् लागू लागेछ !
मान्छेसँगै पर्व समेत ढोँगी भयो यार !!!!
जन्मजातै बौद्ध भन्दै तिघ्रा ठटा’का !!!!!!
तामाङ पनि सुन्दरीकै भोगी भयो यार !!
बिजुलीबान गतिमा त्यो चन्द्र पुग्नुथ्यो !
समयले पिरेपछि घोँगी भयो यार !!!!!
तीनटैलाई एकै पारौं गर्दै विमर्श !!!!!!!!
यस्सै भन्ने गोलेखेप्पा ह्रो गी भयो यार !!

नोट :
सुन्दरी : प्रसङ्ग सुन्दरी प्रतियोगिताको
घोँगी : एक प्रजातिको चिप्लेकिरा जस्तै प्राणी
तीनटैलाई : तमू, सोनाम र ग्यल्बो ल्होछारलाई भन्ने खोजेको
गोलेखेप्पा : गोलेबूढो, रचयिता
ह्रो : ऊ, त्यो (गोलेखेप्पा)
गी : एक्लै, एक्लो
२५ पुस ’७४
चाबहिल

ल्होछार सन्दर्भ- १


अब त होला कि भन्यो
हुँदै हुँदैन ।।

यसो गरे’नि हुँदैन
उसो गरे’नि हुँदैन
त्यसो गरे’नि हुँदैन
कसै गरे’नि हुँदैन
हुँदै हुँदैन ।।
नबोल्दा’नि
लाटो भन्छन् ।
हुँदै हुँदैन ।।
बोल्यो कि पोल्यो हुन्छ
लेख्यो कि खेदो खन्छन्
चुपचाप बस्यो घोप्टे भन्छन् ।
त्यसैले यहाँ केही गरेर
हुँदै हुँदैन ।।
पक्षमा बोले- पक्षपाती भन्छन्
विपक्षमा बोले- विरोधी ठान्छन्
भएन मध्यस्तमा बोले-
दहीचिउरे भन्छन् ।
फेरि पनि, हुँदै हुँदैन ।।
त्यसैले
हरेक पाठकदेखि सहपाठीहरू
समकक्षीदेखि अग्रजहरू
आगन्तुकदेखि पछिल्लाहरू
यी सबै-सबै
रोगीको शरीरजस्तै लाग्दैछन् ।।
तातोमा राख्यो/बस्यो
नराम्ररी पोल्न थाल्छ ।
चिसोमा राख्यो/बस्यो
नराम्ररी कठाङ्ग्रिन थाल्छ ।
अनि, त्यै त- हुँदै हुँदैन ।।
यता हुँदो-
संसारमा कि त तातो छ
कि त चिसो छ ।
यी दुर्इको आँखा छल्न सकिन्न ।
अनि त अनि,
फेरि त्यस्तै/उस्तै/दुरुस्तै
मरे हुँदै हुँदैन ।।
गाउँघरमा भन्छन्-
मान्छेको चित्त र भालुको पित्त
उस्तै-उस्तै हुन् ।
यही लेखनीका लागि पनि
कतिले ताली त
कतिले गाली दिने हुन् ?
अन्त्यमा-
यति चाहिँ भनेरै छुट्छु-
यहाँ कसै गरे'नि हुँदै हुँदैन ।।
२४ पुस ’७४
चाबहिल

Sunday, January 7, 2018

गीत

पाथीभरा सरी तिमी झूसी हुने कैले ?
जैले पनि रिसाउँछ्यौ खुशी हुने कैले ??

कैले रम्छ्यौ अनायासै डरै लाग्ने गरी !
क्षणमै रुन्छ्यौ एकाएक केशै भैँमा छरी !
सँधै - सँधै पुग्ने गरी झूसी हुने कैले ?
जैले पनि रिसाउँछ्यौ खुशी हुने कैले ??

तिम्रै नाममा यहाँ मरिरा'छु सँधै !
खानै छोडी तिमीलाई नै पर्खिरा'छु अझै !
खा'को कसम् ला'को माया झूसी हुने कैले ?
 जैले पनि रिसाउँछ्यौ  खुशी हुने कैले ??
१४ साउन '७२


सानधारा

कुलपूजा गर्न पाउने कि नपाउने ??



सरकार !
धेरै भयो- 'मेस्या चबा स्योप्टो' नमन्साएको

हिजो आज-
जोनीहरू मर्नु दुख्छन्
दिनरात रोइरहेको छु सरकार !!

अस्पतालमा देखाउँदा केही छैन भन्छन्
के-के जाति औषधी दिन्छन् ।।
गरीबसँग बाँकी उपचारको निमित्त
सम्पत्ति छैन सरकार !!

जति औषधी खाएँ-खाएँ
तर, बीसको उन्नाइस भएन

जान्नेहरूलाई देखाउँदा-
मेस्या चबा स्योप्टो लागेको भन्छन्

यस्तो भन्दा गाई खाने भाषा बुझिँन भन्नु होला
हो; सरकार हो !
यो गाई खाने भाषा नै हो
गोरु बलि दिनेको भाषा ।।

सरकार !
एक प्रकारको स्योप्टो हुन्छ-
जो गोरुको मासु रुचाउँछ
त्यसले छोएपछि गोरु बलि चढाउनु पर्छ ।।

के गरुँ सरकार ?
बडो द्वीविधामा छु

गोरु बलि चढाएर जेल रूङुँ ?
या स्योप्टोलाई आफैँ खुवाएर
झूपडीमा रुँदै बसुँ !

सरकार !
छोरा-छोरीका पनि भनेजस्तो कैल्यै भएन
श्रीमती दश वर्षदेखि विमारी छे
उपचारको क्रममा घरबार सकियो
तर उपचार लागेन ।।

सरकार !
डाक्टरहरू भन्छन्, रोग केही छैन
रोग नभएकै भए-
मेरी श्रीमती/मेरी जीवनसङ्गीनी
किन ओछ्यान परेकी होली सरकार ?

लबोन/लप्ताबालाई जोखना हेराउँदा
कुल बिग्रिएको भन्छन्

नबिग्रियोस् पनि कसरी ?
आफ्नो कुलपूजामा गोरु बलि चढाउनु पर्थ्यो रे
पृथ्वीनारायण शाहले-
एकीकरणको नाममा ताम्सालिङ नै खाएछन्
मुलुकी ऐनले, मेस्या पनि लुटेछन् ।।
चारदाममा पनि मे डाङ लगिएको थिएन

त्यसपछि बिग्रिएको कुल
अब कसरी सपारुँ सरकार ??
सपार्न गोरु बलि चढाउनु पर्दोरहेछ ।।

धर्म निरपेक्ष देशको अन्तरिम संविधानमै
गाईलाई राष्ट्रिय जनावर बनाएपछि
राणा कालीन जङ्गे कानुनले के छोड्थ्यो !!

सरकार !
लाङदर्मा ढाल्दा गोरु मार्नु पर्दोरहेछ
किरातहरूका कुलपूजामा पनि गोरु काट्नु पर्दोरहेछ

थकालीका कुलपूजामा-
चार वटा गोरुका टाउका चाहिँदारहेछन्
तामाङको चारदाममा, मे ढङको चलन रहेछ ।।

अब सरकार-
धर्म निरपेक्ष देशमा
जबरजस्त हामी हिन्दू नै बन्नुपर्ने या
हामीले गोरु काट्न पाउने कि नपाउने ?
कुलपूजा गर्न पाउने कि नपाउने ??

सरकार अरू केही सोध्दिनँ
यही मात्रै मेरो प्रश्न-
उत्तरको प्रतीक्षामा छु सरकार !!
अब सरकार-

धर्म निरपेक्ष देशमा
जबरजस्त हामी हिन्दू नै बन्नुपर्ने या
हामीले गोरु काट्न पाउने कि नपाउने ?
कुलपूजा गर्न पाउने कि नपाउने ??

शब्दार्थ :
मे स्या : गोरुको मासु
स्योप्टो : एक प्रकारको शक्ति एउटाले कुखुरा, एउटाले बाख्रा एउटाले चाहिँ गोरु खान्छ भन्ने मान्यता रहेको घ्याङसिङ
जोर्नी दुख्नु : स्योप्टोले भेटेमा यस्तो दुखाई हुने मान्यता रहेको
लाङदर्मा : लाङ (गोरु)को जस्तो स्वरूप वा स्वभाव भएको विश्वास गरिएको तिब्बती कथासँग जोडिएको ऐतिहासिक पात्र
कुलपूजा : आफ्ना कुलहरूको पूजा
मे डाङ : विवाहमा लानुपर्ने डाङ जसमा गोरुको फिला लानुपर्दथ्यो (मे : गोरु), (डाङ : कोशेली)


पुनश्च : तामाङ राष्ट्रको लाङकोर थोगोर थरीको कुलपूजामा गोरु बलि चढाउनु पर्दछ यससम्बन्धी लोककथाहरू पाइन्छन्

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...