Sunday, February 11, 2018

तीतो तथ्य


रामेछापस्थित सानोशैलुङ जानेक्रममा,  पछाडि ब्रह्म, विष्णु थुम्कोको दृश्य

     एक पटक एकजना मान्छेले कपडा किनेछ । सिलाउने ठाउँमा पुगेछ । सिलाइदिनु भनेछ । सिलाउनेले त्यो मान्छेको नाप लिएछ । त्यसपछि कपडा काट्न थालेछ । आफ्नो कपडा काटेर टुक्य्राएको देखेछ । त्यत्ति राम्रो कपडा काटेर खत्तम पार्‍यो भन्ने लागेछ । बेस्सरी गाली गर्दै कराउन थालेछ । कपडा बिगारेको भन्दै खेदेछ । रिसले चूर हुँदै घर फर्केछ ।

     अचेल तामाङका अधिकांश मान्छे पनि त्यही कपडा सिलाउन जाने मान्छे जस्तै लागिरहेको छ । कोहीले भेट्नसाथ- समाजलाई अगाडि बढाउनु पर्‍यो भन्दै चिच्याउँछन् । दुःख सुनाएर आँशु खसाउन खोज्छन् । कम्तिमा तिमी त अघि बढ भन्छन् ।

     त्यसपछि घरपरिवार बिर्सेर हिँड्छौं । आफ्नै चाहना लत्यार अघि बढ्ने प्रयास गर्छौं । तामाङ समाजको बारेमा खोज्छौं । मिलाउने मेसोमा पस्छौं ।

     त्यत्तिनैखेर, को को मान्छेहरू आउँछन् । धारेहात लगाउँदै आइलाग्छन् । बिगारिस भन्दै तथानाम गाली गलौज गर्छन् । चियापसलदेखि फेसबूकवालमा लेख्छन् । थरीथरीका च्याट ग्रूपदेखि खै के के बनाउँछन् । फलाना यस्तो, त्यस्तो भन्दै अश्लिल गाली शब्दसहित हुर्मत लिन्छन् ।

     तामाङ समाजको लागि हिँडेकालाई देखेर सहँदैनन् । अरूका पैसा खाएर हिँडेका तामाङभाँडा भन्छन् । कहिल्यै कतै नामै नसुनेको संस्थाबाट पैसा खाएको भन्दै सगर्व लेख्छन् । हुने भन्दा नहुने लेख्छन् । चियापसलमा पुग्छन् । केटा-केटी जम्मा पारेर गफ चुट्छन् । आफू चाहिँ सच्चा तामाङ भएको दाबी गर्छन् ।

     तिनीहरूका न त बुद्धि हुन्छ । न त हुत्ति नै हुन्छ । यद्यपि, हुटिट्याउँ चाहिँ हुन्छन् । माथि भनिएको मान्छे जस्तै, कपडा सिलाउनुअघि काट्नुपर्ने हुन्छ भन्ने नै बुझ्दैनन् । तिनीहरूले फेसबूकलाई नै संसद भवन सम्झन्छन् । तथानाम गाली गरेपछि आफू सहि भएको भानमा मस्त निदाउँछन् ।

     यस्तै गोबरहरूका सङ्ख्या अत्याधिक छ । त्यसकारण इतिहास खोतले उदाङ्गो पार्‍यो भन्छन् । नलेखे केही बोक्य्राएन भन्छन् । नमिलेको रहेछ भन्यो भने तँ को होस् भन्छन् । यसरी मिलाऔं भन्यो भने तँलाई जुत्ताको माला लगाउँछौं भन्छन् ।

     ताम्सालिङको आधार तयार पार्दाखेरि अश्लिल शब्दको प्रहार गर्छन् । राज्यसत्ताले हिजो अन्याय गरेकोले माफी माग्नुपर्छ भन्दा- तैँले चाहिँ माग भन्छन् । हिजो नमिलेको क्रमलाई सुधार, परिमार्जन वा परिष्करण गर्ने प्रयास गर्नै हुन्न । छाला काढन् शुरू गर्छन् । अर्काको फेसबूकवालमा तथानाम पोष्ट गरेर कमेण्ट गर्न मन पराउँछन् ।

     तिनीहरू त अन्धा हुन्छन् । सुङ्गुर छाम्छन् । हात्ती यस्तो रहेछ भन्छन् । शील थाहा छैन । अश्लिल लेख्छन् । रुन्छन् । कराउँछन् । त्यसैलाई आफ्नै पहिचान बनाउँछन् । परिणामतः तामाङका होनाहार व्यक्तित्वहरू चाहिँ गुमनाम भएका छन् । समाजमा जस्तै समस्या पर्दा पनि बाहिर निस्कनै मान्दैनन् ।

     गल्ती नहुने भन्ने हुँदैन । सच्याउने आँट चाहिन्छ । घेदुङजस्ता संस्थाले अघि बढ्न डराउनु हुँदैन । घेदुङ इतर रहेकालाई पनि समेट्ने प्रयास आवश्यक छ । तामाङ समाजमा केही गर्न चाहनेहरूलाई यस्ता गोबरहरूले तगारोको काम गर्ने भनेको केही समयसम्म मात्रै हो । यस्तो दिन पनि आउँदैछ कि- त्यस्ता गोबरहरू आफैँ लज्जित भएर लुक्न बाध्य हुनेछन् । बल्ल तामाङको नयाँ दिन आउनेछ ।
२८ माघ '७४
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...