Tuesday, February 27, 2018

तामाङ कला र साहित्य


१. विषय प्रवेश
भन्छन्- कला बिनाको मान्छे हुँदैन । यो पनि पूर्ण सत्य होइन रहेछ । जन्मतः उठबस गर्न; बोल्न र हिँड्न नसक्नेहरुसँग न त कला न त गला ! यी त अपवादका कुरा हुन् । आम रूपमा त मान्छेसँग कुनै न कुनै कला हुन्छ । कला बिनाको मान्छे हुँदैन । कला भनेको के भन्ने बारेमा खासै चिनाइरहनु पर्दोइन । यहाँ भने 'तामाङ कला र साहित्यका बारेमा चर्चा गर्ने प्रयास गर्दैछु । कला र साहित्य एकापसमा सम्बन्धित विषय हुन् । साहित्य हुन कलायुक्त हुनै पर्दछ । यद्यपि कला भनेको साहित्य मात्रै नहुन पनि सक्छ ।
कला र साहित्यको परिभाषा बारेमा धेरै भनिरहनु पर्दोइन । यद्यपि, यी दुर्इ सम्बन्धमा बृहत् नेपाली शब्दकोशमा निम्नानुसार उल्लेख गरेको देखिन्छ; जस्तै :
कला- ना० [सं०] १. कुनै पनि काम राम्रोसित गर्ने सीप, कौशल आदि व्यवहारोपयोगी चौसट्ठी कला । २. वास्तु, मूर्ति, चित्र, सङ्गीत, साहित्य आदि ललित कला वा विद्या । ३. कुनै काम प्रशंसित तथा आकर्षक रूपमा गर्ने ढङ्ग; जुक्ति । ४. तेज; प्रभाव । ५. शोभा । ६. इन्द्रजाल वा चटकीको काम । ७. खेललबाड । ८. चन्द्रकलाको सोह्रौँ भाग । ९. सूर्यका प्रकाशको बाह्रौँ भाग । १०. अग्निमण्डलको दसौँ भाग । ११. छल । १२. राशिको तीसौँ भागको साठीयौँ भागको पनि साठीयौँ भाग । १३. अनुभव तथा ज्ञानका आधारमा सम्बद्ध सिद्धान्तलाई ध्यानमा राख्तै कुनै काम नियमित रूपमा गर्ने वा कृति प्रस्तुत गर्ने कौशल । १४. मानिसको जीवन-निर्वाह तथा उच्च कोटिको ज्ञानप्राप्तिका निम्ति योग्य बनाउने अध्ययन तथा अनुशीलनको एक अङ्ग वा महत्त्वपूर्ण क्षेत्र (तुल. अङ्. आर्टस्) । १५. वास्तु वा मूर्तिकलामा दुर्इ मात्राबराबरको नाप; दुर्इ अङ्गुलबराबरको परिणाम (नेपाली बृहत् शब्दकोश)
साहित्य- ना० [सं०] १. सहित हुनाको भाव, गुण वा अवस्था; साथ रहेको स्थिति । २. कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि; वाङ्मय । ३. जीवन-जगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ आदि । ४. इतिहास, पुराण, पुराकथा वा समाज आदिबाट उपजीव्य वस्तु लिएर रस, छन्द, अलङ्कार आदिले यथासम्भव सजार्इ रचिएको गद्य वा पद्य-कृति; काल्पनिक र भावुकतापूर्ण पद्यमय वा गद्यमय रचना (कविता), खण्डकाव्य, महाकाव्य, नाटक, कथा, उपन्यास आदि) । ४. परस्पर-सापेक्ष पदको एउटै क्रियामा हुने अन्वय । ५. गद्य वा पद्य-कृतिहरूबाट हुने रसको आस्वाद ।
यसप्रकार कला र साहित्यलाई बुझ्न सक्छौं । यही कला र साहित्य; जो तामाङ राष्ट्रसँग सम्बन्धित रहेछ भने तामाङ कला र साहित्य हुने भयो । तामाङ साहित्य हुनलाई तामाङ भाषामै हुनुपर्छ तथा तामाङसँग सम्बन्धित मात्रै भएपनि हुन्छ भन्ने कुराको निर्क्योल गर्न आवश्यक देखिएको छ । 'साहित्यको समानार्थी तामाङ शब्द स्वरूप 'सेमलेङ'ग्योइकाइप्रयोग गरेका पाइन्छन् । 'सेमलेङले मनको कुरा वा भावना भन्ने अर्थ दिन्छ । 'ग्योइकाइले चाहिँ भाषिक आवाजभन्ने हुन्छ । त्यसकारण ठ्याक्कै साहित्यको समानार्थी शब्द निर्माण तथा पहिचानको लागि यसको परिभाषा र आवश्यकीय तत्त्वका बारेमा ज्ञान राख्नुपर्ने हुन्छ । सामान्यतः मनको भावना भन्दा धेरै हदसम्म नजिक हुन्छ । 
साहित्यको जसोतसो समानार्थी शब्द तयार पारेका छन् । काम चलाएका छन्; तर कलाको समानार्थी शब्द के भन्ने बारेमा निकै गाह्रो देखिन्छ । यसका लागि तम्बा, बोन साथै तिब्बतीय बौद्ध लामाग्रन्थको साहरा लिनुको अर्को विकल्प देखिँदैन । यस सम्बन्धमा अध्ययन गर्दै शब्द पत्ता लगाउने वा नयाँ निर्माण गर्न आवश्यक देखिएको छ । तामाङ भाषाका लागि धेरै शब्दहरू निर्माण गर्न जरुरी छ । कतिपय शब्दहरू भएर पनि प्रयोग छोडेकाले लोप हुँदैछन् ।

२. तामाङ कलाको कुरा
तामाङ कलालाई पनि बिस्तारै बिर्सनेक्रम बढ्दो छ । अनेक कलाहरू थिए । कति त लोप भैसकेका छन् । कति लोपोन्मूख छन् । तुरुन्तै अध्ययन, अनुसन्धान गर्न जरुरी भैसकेको छ । तामाङ कलालाई पनि विभिन्न चरणमा विभाजन गरेर हेर्न आवश्यक छ । शास्त्रीय साथै आम जीवनमा पाइएका परम्परागत कलाहरू धेरै छन् । प्रागऐतिहासिक, संस्कृति र संस्कार निर्माणको क्रम साथै आधुनिक चरणमा प्रवेशसँग देखापरेका कलाहरू पनि सामान्य छैनन् । 
प्रागऐतिहासिक समयको कलाहरू मध्ये बुढानिलकण्ठमा प्राप्त हतियारहरूलाई लिन सकिन्छ । ती हतियारहरू ढुङ्गे युगकै हुन् । प्राप्त हतियारहरू तामाङसँग सम्बन्धित रहेको भन्ने दाबी गरेका पाइन्छन् । तसर्थ त्यसलाई पनि तामाङ कलाको एक नमूनाको रूपमा लिन सकिन्छ । अहिले पनि गाउँघरतिर 'थोतरी’ (बज्रढुङ्गो) नामद्वारा चिन्दै आएका हातेबञ्जराहरू पाइन्छन् । थोतरी पनि एक किसिमको कला नै हो । त्यसको कला (फिनिसिङ)को आधारमा पनि कालक्रम पत्ता लगाउन सकिन्छ । 
पृथ्वीको शुरूवाती अवस्था

शास्त्रीय रूपमा बोन, तम्बा र लामासँग सम्बन्धित कलाहरूलाई लिन सकिन्छ । तिनले तत्कालिक जनजीवनलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् । शुरूमा 'तोङ्पा ह्रङ्सिङअर्थात् महाशून्यको कुरा गरेका पाइन्छन् । त्यसप्रकार शुन्यताको कुरा गर्दै शून्यलाई चिनेका देखिन्छन् । बोनको दङ्बो शेरपलाई हेर्ने हो भने, 'होमेन तेवालार्इ बुझ्न आवश्यक हुन्छ । त्यसपछि त्रिदेवको उत्पत्ति हुन्छन् । तोङ्पा ह्रङ्सिङ मात्रै देख्छन् । बिर्सन नहुने तथ्य चाहिँ तोङ्पा ह्रङ्सिङ भन्दा पS'होमेन तेवास्थापित भैसकेको हुन्छ ।

पृथ्वीकाे वरिपरिको दृश्य
कुनै एक स्थान जहाँ 'तोङ्पा ह्रङ्सिङव्याप्त छ । त्यहीँनेर सृष्टिकर्म थाल्छन् । हावाको तह तान्छन् । त्यसमाथि पृथ्वी निर्माण गर्छन् । ह्रिग्यालोन्पोद्वारा पृथ्वीलाई सुरक्षा दिन्छन् । त्यसैले 'सुमेरु पर्वत्, कैलाश पर्वत(मण्डप) पनि मान्दछन् । ह्रिग्यालोन्पो गङ त साङ्केतिक कुरा हो । वास्तवमा त्यो कैलाश पर्वत भन्दापनि ओजोन तह चाहिँ हो । बोन शेरपलाई हेर्ने हो भने, पृथ्वी निर्माणको क्रममा 'सनी फरगङ’ (मैदान/तरार्इ), सनी बेदेलेगङ (चुरे तथा पहाडहरू) बनेका हुन्छन् । त्यस्तैगरी सनी झ्योमोगङ (हिमाल) बनेपछि अन्ततः ह्रिग्यालोन्पो गङ (ओजोन तह) बन्दछ ।
ह्रिग्यालोन्पोको जन्मपछि मात्रै पृथ्वीमा जीवन सम्भव भएको हुन्छ । त्यसक्रममा 'किसिङ डहू’(एक कोषीय अल्गी)को जन्म भयो । स्हेङ्बा (निर्माण)कै क्रममा जीव तथा वनस्पति बने । लामो समयसम्म पनि मानिसको अस्तित्व थिएन । निकै पछि आएपछि 'ल छङ्पोले नै पहिलो पटक मानवको निर्माण गरे । पृथ्वी निर्माणको कलाले अझै साकार स्वरूप प्राप्त गर्‍यो ।
मानव निर्माणको क्रममा अनेक पटक असफल प्रयासहरू गरेका थिए । सुन, चाँदी र फलाम लगाएका कलात्मक मानिसका देह निर्माण सम्भव भएको थियो । श्वास (प्राण) भर्न नसकेको झोँकमा कुखुराको सुली र खरानी मुछेर बनाए । त्यहीँ चाहिँ सफल भयो । त्यो मानवमा पहिलाको जस्तो कला सौन्दर्यता थिएन । बाँदर जस्तो-जस्तो मात्रै थियो । त्यसबीचमा देवलोक, चनलोक, मानव साथै नागलोकहरू छुट्टाए । ती सबै मानवइतर (देवता- ल छङ्पो)द्वारा सिर्जित कला थियो । 
    ती देवकलामा पृथ्वीको निर्माण, जीवजन्तु तथा वनस्पतिहरू थिए । प्रकृतिको निर्माण थियो । खोलानालाहरू थिए । तरार्इ, पहाड र हिमालको साथै ह्रिग्यालोन्पो (ओजोन तह)को निर्माणको अद्भूत कला थियो । त्यही कलाद्वारा सुशोभित पृथ्वीमा मानवले आफ्नै तरिकाबाट नयाँ मानवनिर्मित कलाहरूका विकास थाले । त्यसपछि मानवको चर्तिकला बढ्दै गयो । देवताका कलाहरू कम हुँदै गए । अब त देउता पनि छ कि छैन भन्नेमा आइपुगिसकेका छौं । यद्यपि, प्रतिकात्मक रूपमा मात्रै भएपनि सृष्टिकर्तालाई स्वीकार गर्ने हो वा आफैँ निर्माण भएको भनेर भन्नेक्रममा आफैँ निर्मित हुने क्रमलाई हेर्ने हो भने- वास्तवमै त्यो कला अद्भूत रहेको छ । खोजेर वा बुझेर पूर्णता प्राप्त गर्न सक्ला जस्तो छैन । 
पृथ्वी र अोजोन तह (हिग्यालोन्पो)
सछ्या नमछ्याला ह्वाई
दङ्बो तोङ्बा ह्रङ्सिङरी
दोर्जेग्यडम लुङ छ्याजिम्
लुङ्ला थोरी मे छ्याजिम्
मेला थोरी क्युर्इ छ्याजिम्
क्युर्इला थोरी स छ्याजिम्
ह्रिग्यालोन्पो गङ छ्याजिम्
स्हृयर, ल्हो, न्हुप, झ्यङ छ्यो छ्याजिम्
डुवारिडुक म्हि छ्याजिम्
तोर्से तेङरी ल छ्याजिम्
तोर्से बररी चन छ्याजिम्
मर्से होगरी लु छ्याजिम् ।।
-   तम्बा कइतेन ह्वार्इ रिमठिमबाट

    देवकलापछि मानवकलाको शुरू हुन्छ । त्यसमा पनि शुरूमा देवताबाटै मानवले कला सिकेको भन्ने देखिन्छ । शुरूमा मानिसले 'दागादास्याअर्थात् धनुष तथा तीर बनाउन सिके । त्यसैलाई 'म्यदलीपनि भन्ने गर्दछन् । शुरूमा 'ल छङ्पो रेञ्जेनद्वारा निर्मित मान्छेको नाम पनि 'म्हिए रेञ्जेनथियो । ऊ छोरोमान्छे थियो । धनुष वाणको निर्माण गरी शिकारमा गएपछि 'किरल्पा’ (किरात) भए । सोहीक्रममा उनले पहिलो पटक कुकुरको घाँटीमा घण्टी झूण्ड्याएका थिए । बाँसलाई काटेर मिलाएर घण्टीको स्वरूप दिएका थिए ।
    त्यसपछि किरल्पागोम्बोले नै धातुहरू सङ्कलन गरे । आरन बनाए । आगोले तताएर धातुका बुम्बा (कलश) निर्माण गरे । त्यसरी निर्माण गरेपछि तिनलाई 'गरबखैबाभने । अझैपछि, उनैले दुज्जे (जाँड बनाए) । जाँड बनाउनका लागि आवश्यक 'करुउत्पादन गरे । करु छर्नका लागि खोरिया फाँडे । ढुङ्गाहरू लडाए । बञ्चरो बनाएर रूखहरू काटे । आगो लगाए । कुटोले खनजोत गरे । जाँतो बनाए । 'ब्रमा’ (मर्चा) बनाए । अन्ततः जाँड बनाउन सफलता हात लगाए ।
   शिकार गरिएका प्राणीको 'स्यबुर्इबुबुर्इदिन पनि सिकेका थिए । कुलपूजा गर्न पनि सिके । कुलको प्रतीक पनि बनाए । त्यसपछि मानव निर्मित कलाले संसारमा नयाँ नयाँ स्वरूपहरू लिँदै अगाडि बढिरहेको देख्न सकिन्छ । आज आएर अनेक कलाहरू बनेका छन् । तामाङ राष्ट्रले पनि बोनका अनेक सामान, तम्बा तथा लामाका सामग्रीहरू बनाएका छन् । तिनका कला तिनै सामग्रीहरूले स्पष्ट पारिरहेकै छन् । बोनको ढ्याङ्गो आफैँमा कला हो । त्यसको बनौट, घेरो बनाउने कला, छाला तन्काउने, 'ङ्हयू’ (बीँड)मा भरिएका कला, कलश, म्यदली, स्होर्दै, छ्यङ्दे, मेलुङ, ह्रास्याह्रोल्मोहरू, बर्छा, बुझू, गुरुब्रङ्गी, काँचोधागोको जनै वा डोरो, ल युङ्बा, दञ्जा, दञ्जामा कोरिएका लाइनहरू, तेSमा (नाच), तेमरल साथै खेदङ साथै ह्योलोवा जस्ता अनगिन्ती कलाहरू छन् ।
   म्हिए रेञ्जेनकै पालामा उनकी जीवनसङ्गीनी 'गङ्सल्मोथिइन् । तिनले पनि थारा राSबा अर्थात् कपडा बुनेकी भन्ने विश्वास रहेको छ । शुरूमा माकुरीको जालको कलालार्इ चिनिन् । मानिसका लागि कपडा बुन्ने तयारी गरिन् । कपास सङ्कलन गरी धागोको रूपमा प्रशोधन गर्ने कला सामान्य थिएन । अल्लोको रेसा निकालेर पनि धागो बनाइन् । अन्ततः तान लगाएर कपडा तयार पारिन् । त्यो कला असामान्य रह्यो । अनेक बुट्टाहरू बनाउन थाले । ती सामाग्री साथै उत्पादनमा कलाको बेजोड संयोजन थियो । 
   तम्बाले पनि डम्फू, ढम्ङेन (टुङ्ना)लाई थपेका छन् । यी दुर्इ बाजामा तामाङको कला निकै सशक्त र व्यापक रूपमा देखापरेका छन् । गीतद्वारा गला साथै साहित्यलाई अझै उचार्इमा पुर्‍याउने काम गरेको स्पष्ट छ । लामाको कलाको रूपमा उनका बाजाहरूलाई लिन सकिन्छ । त्यस्तैगरी छ्यम (नाच), थङ्कु (चित्र तथा मूर्ति कला), छ्योर्इ, छ्योर्तेन र गोम्बो लगायतका अनगिन्ती कलाहरूले पनि तामाङ समाजलाई अझै धनी बनाएको छ ।
   आम जीवनमा प्रयोग हुँदै आएका पोशाक, भाँडाकुँडा, सरसामान, काइँयो, थकर, हलो, जुवा, घर, झ्याल, ढोका, ढिकी, जाँतो, घट्टो, कोल, कुटो र कोदालो पनि तामाङ जीवनको कलात्मक पक्ष हुन् । त्यस्तैगरी बोलीचाली, गीत, सङ्गीत, सामाजिक, सांस्कृतिक साथै संस्कारगत कलाका गहिरो अध्ययन बिना तामाङ कलाबारे पूर्ण ज्ञान प्राप्त हुने छैन । 

३. तामाङ साहित्यको कुरा
 तामाङ साहित्य पनि व्यापक भैसकेको छ । अनेक विधाहरू प्रवेश गरिसकेका छन् । आम जीवन, पहिचानको मुद्दाहरू, आम विभेदका पक्षहरू, माया प्रेमका विविध पक्षहरू, राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक लगायतका यावत् पक्षहरूलाई तामाङ साहित्यले अवलम्बन गर्दै आएको छ । यसक्रममा कतिपय रचनाहरू पुस्तकका रूपमा आएका छन् । 
   बोनको शेरप, केरप, ठुङरप, स्हेङरप, फरप, लरप तथा सङरप, खेदङ र ङा आदिले तामाङ साहित्य भण्डारमा ठूलो भाग ओगटेको छ । तम्बाका गीतहरू बोन तथा बौद्धबाट आएका दर्शन तथा संस्कृतिका पक्षहरूले तामाङ साहित्यलाई अझै सम्पन्न बनाएको छ । तामाङ साहित्यकारहरूले मौलिक विधाको अतिरिक्त अन्यलाई पनि स्वीकार गरेका छन् । अहिले गीत, गजल, कविता, मुक्तक, हाइकू, ताङ्का, नाटक, कथा साथै निबन्ध लगायतका विधामा कलम चलाएका देखिन्छन् । 
    भन्छन्; ''औषधी भनेको झारै हो ! मन्त्र भनेको कुरै हो !!’’ हो; त्यही कुरा मिलाएर अभ्यास गराउन सकेमा मन्त्र हुन्छ । कसैका लागि त्यही कुरा कान खाने ख्यारख्यार पनि हुन सक्छ । कसैका निम्ति भने मन्त्र हुन्छ । मन्त्रमुग्ध पार्ने; पढिरहुँ जस्तो; सुनिरहुँ जस्तो पनि हुन सक्छन् । त्यो त प्रस्तोतामा पनि भर पर्ने विषय रहेछ । त्यसैले ''बस्न पायो भन्दैमा थ्याच्च नबस्नु ! बोल्न पायो भन्दैमा प्याच्च नबोल्नु !!’’ भन्ने गर्दछन् । किनकी बोल्न नजानेमा त्यही बोली बन्दूकको गोली समान हुन सक्छन् । कसैको मन तोड्न काफी हुन्छन् । यसैकारण ''मारीदेऊ तर वचनले नमार !’’ भन्छन् ।
   आम बोलीको 'तम्नै 'कुराहो । त्यही 'तम्ले रोइरहेको मान्छेलाई फकाउन सक्छ । हाँसिरहेको मान्छेलाई रुवाउन पनि सक्छ । भित्रीमनमा चोट दिएर दुखाउन पनि सक्छ । बिमारी पर्दा मन्त्र बनाई समस्या फुकाउन पनि सक्छ । तामाङ बोलीमा ''छिजस्ता एकाक्षरीय शब्दको प्रयोग व्यापक रहेको छ । 'नै 'वचनहो । 'छिबाट 'छिकअर्थात् 'शब्दबन्छन् । विवाहको बेला ''अपाला क स्योर्जिम् ! अमाला छि स्योर्जिम् !!’’ भन्छन् । तिनै ''छिकै भरमा विवाह सम्पन्न हुन्छ । वैवाहिक जीवन शुरू हुन्छ; र त मृत्युपछि पनि माइतीको खोजी गर्न बाध्य हुन्छौं । 
तामाङ साहित्यको शुरूवाती चरण 'खछ्योई’ (वचन)मा आधारित थियो । तिनलाई सुन्ने र सुनाउने भन्दा अर्को विकल्प थिएन । लिपि विकास भएपछि भने 'खछ्योईहरू 'छ्योईमात्रै भए । 'जोडिरहन आवश्यक भएन । बोन, तम्बा र लामाले तिनै 'खछ्योईहरूलाई छाडेका छैनन् । लामाले भने 'छ्योईका रूपमा विकास गरेका छन् । अब त बोनले पनि 'छ्योईबनाएका छन् । हो; आफ्ना कुरा लेखेर राख्न थालेका छन् । यिनै यावत् छ्योईहरूका अलावा साहित्यिक रचनाका नाममा थुप्रै पुस्तकहरू आएका छन् । हाम्रोमा रचनालाई मात्रै साहित्य भन्ने प्रचलन छ । यद्यपि, इतिहास, धर्म, दर्शन र कला पनि साहित्य नै हुन् ।
    अग्रज कविहरूमध्येकै मोक्तान भाइले 'भुतकालिन बकपत्रहरू भाग- १ (२०५५)मा लेख्नु भएको छ, ''चुल्ली चुल्ली डाँडामा पारीपाखा मैदानमा कत्ति सत्य आभा छन् हेर्नै बिर्सेको ! बुद्ध जनक सीताको खाँडी चोली भोटोको कत्ति सत्य कथा छन् लेख्नै बिर्सेको !!’’ यथार्थ यस्तै छ । फेरि पनि कुनै दिन थियो; जतिखेर तामाङमा गाउन र लेख्न पनि बन्देज थियो । त्यही कुरालाई दार्जीलिङमा पुगेपछि जङ्गवीर बोम्जनहर्कबहादुर पाख्रिनले तामाङ गीद २०२० मा यस्तो लेखेका रहेछन्
कुकुर बाँध्ने साङ्लोले
गाई त बाँध्ने दाम्लोले
म छोरो यस्तै भएपनि
सात दिन सातरात थुनेको
तामाङ गीतको माम्लोले...
 यो गीति अंशलाई अमृत योन्जन-तामाङज्यूले तामाङ पहिचानका सन्दर्भहरूमा राखेका छन् । लेखक योन्जन-तामाङ आफैँले पनि यही पीडा भोगेका देखिन्छन् । रामेछाप जिल्लाकै साविक दोरम्बा गाउँ विकास समिति निवासी कवि इन्द्रराम मोक्तानले पनि विद्यालयमा तामाङ भाषामै कविता वाचन गरे बापत् मन्थलीमा तारेख धाउनुपरेको सुनाउँछन् । यस्तै तीता विगतले घोच्न छोडेको छैन । अब त धेरै सुधार आइसकेको कुरा गर्छौं । कुरैमा सीमित हुन्छौं । ताम्सालिङका लागि उठेका साहित्यिक आवाजहरू सत्ताका लागि महत्ताहीन भइरहेका छन् । आफ्ना पुर्खाले आवाद गरेको भूमिमा अधिकार प्राप्तिका लागि तामाङ साहित्यकारहरू दिनरात खटिरहेकै छन् ।
    अब तामाङ साहित्यले अन्यको सिद्धान्त, मान्यता र दर्शन बोक्नै मात्र समय खर्च गर्नु उचित देखिएको छैन । आफ्नै बाउबाजेको नाम बिर्सेर विदेशी हिरो हिरोइन तथा नेताका जन्ममिति घोकेर तामाङ साहित्य बन्दैन । अरूका होइन आफ्नै दर्शनहरू छन् । सौन्दर्यशास्त्र हाम्रा पुर्खाले पनि बनाएर राखेका छन् । तामाङ विश्वदृष्टिकोणसहित अगाडि बढ्न जरुरी छ । त्यसक्रममा ''केलाएर शब्द शब्द मिलाएर हेर्नु पर्छ ! उध्रिएका शब्द भए सिलाएर हेर्नु पर्छ !!’’ आयतित विधाहरूलाई पनि आफ्नोकरण गर्न सक्नु पर्दछ । 
    साहित्य रचनाको क्रममा प्रशस्तै समस्याहरू छन् । लिपि विवाद कायमै छ । ह्रस्व र दीर्घवादीहरू पनि छन् । एकको प्रयोगमा अर्कोले आँखा तर्छन् । आकारवादी अग्रजहरूका कारण तामाङ जनबोली नै बिग्रिएर जाँदैछ । अकार र आकार किन कस्तो अवस्थामा हुन्छन् ? त्यसको तामाङ नियम के छ भन्ने बुझ्न जरुरी छ । ह्रस्व र दीर्घको कुरा पनि त्यस्तै हो । राइजिङ र फलिङ लगायतका टोनहरू पनि कम्ता रोचक छैनन् । यही भाषा र लिपिमा मात्रै तामाङ साहित्य जन्माउनुपर्छ भन्ने हो भने साहित्यको अन्त्य मात्रै हुनेछ । 
सन्खुला गोले दाप्चाला थिङ
अट्ठार धार्नी नगाला तिङ
पटक पोटोक ख्रङ्मा मी
गङ्सल मिन्बा गङ्सल छिङ !!
  प्रस्तुत् गीति-टुक्का सिन्धुलीमा एकजना स्थानीयले सुनाएका थिए । यस्ता साहित्यले हाम्रो इतिहाससम्बन्धी ज्ञान दिन्छ । हास्यरसलाई साथमा बोक्छ । जीवन जिउने कला साथै संस्कार सम्बन्धमा प्राप्त अर्को एक गीति-टुक्का यस्तो देखिन्छ; जस्तै :
ख्रङ्गरी थङ्बु सङ्बरी
म्हिल्हुर्इ केवा ठङ्बरी
अमृत भोजन म्हे मेवा
छोम्बोरिन् लथन्गो सोघेवा !! (कान्छाराम स्याङ्तान, काभ्रे) ।
      यस्तैगरी तम्बाहरू गीत गाउँछन्- ''फरब्रेल छुरब्रेल अतगै ! निङब्रेल तसी छे ह्रेङ्गै !!’’ भन्ने खोजेको चाहिँ अन्तरजातीय विवाह नहुन् । स्वाँगे तथा भाइबीच विवाह नहुन् । चल्तोफिर्तो कुटुम्बका बीचमा मात्रै विवाह होउन् । लामा आयुसहितका सन्तान जन्मिउन् । बस, यस्तै मान्यतामा आधारित साहित्य रच्नु राम्रो हुनेछ । तामाङ लगायत विविध भाषामा पनि रचना आउन् । आदिवासीवादमा आधारित तामाङ साहित्य रचना आजको आवश्यकता हो । 
     अब साहित्यमा पलाएका ऐँजेरुहरू हटाउनु छ । विवादका समाधान खोज्नुछ । नमिलेका पक्षहरूलाई मिलाउनुछ । कमि कमजोरीहरू केलाउनै छ । समयानुरूप संसारलाई हाँक्नुछ । हरेक अग्रज पुस्ताका लागि नयाँ पुस्ताबीच मान्यतामा फरक पर्नु स्वाभाविक हुन्छ । त्यसैले नयाँ पुस्ता भन्ने पनि प्रमाणित गरिरहेको हुन्छ । नयाँ पुस्ताको निर्माण शैली अग्रजका लागि बिनिर्माण लाग्नु कुनै समस्या होइन । समस्या त एउटै मान्यतालाई स्थापित गरार्इ राख्नुपर्छ भन्ने चाहिँ हो । त्यसैले हरेक नयाँ पुस्ताहरू अग्रजका लागि उदण्ड र उग्र लाग्न सक्छन् । बुझ्नैपर्ने तथ्य चाहिँ- यो त डिस्ट्रक्टिभ इन्टेलिजेन्ट्सिया हो । नयाँले पनि जोशसँग होश राख्नुपर्ने हुन्छ । यही तथ्यलाई आत्मसात गरौं । थुजेछे !! 
११ फागुन ७४
  चाबहिल

Monday, February 26, 2018

सारांश


जतिखेर
त्रासका घेराबन्दीमा फस्दै जानेछु
त्यहाँबाट उम्कन
सक्तो प्रयास गर्दै जानेछु ।।

उम्कन सकिनछु भने-
ठिकै छ; हात उठाउनेछु ।
आश जलाएर
त्यसैको बिगुत लगाउनेछु ।।

त्यसपछि-
न रहे बाँस; न बजे बाँसुरी !
आशै नभएपछि-
त्रास पनि तडि्प-तडि्प मर्नेछन्
भएजति समस्या टर्नेछन् ।।

समस्याविहीन भएपछि-
जित्नेछु- सारा संसार
चल्नेछ- मेरो एकलौटी राज !!

त्यही दिन पनि
शायद धेरै टाढा छैन
लक्षणहरू देखापर्दैछन् ।।

१३ फागुन ’७४
चाबहिल

Thursday, February 22, 2018

राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७४ सम्पन्न



तम्बा सङ्घका सदस्यहरू तम्बागीत तथा नृत्य प्रस्तुत् गर्दै
काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा 'राष्ट्रिय मातृभाषा कविता महोत्सव, २०७४सम्पन्न गरेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ३१ भाषाका ३५ स्रष्टाले कविता वाचन गरेका छन् । 
तामाङ कविता वाचन गर्दै स्रष्टा सजना गोले
    सोही अवसरमा विभिन्न आदिवासी जनजातिका सांस्कृतिक झाँकीसहित प्रभातफेरी समेत गरियो । फेब्रुअरी २१ (फागुन ९ गते) आयोजित कार्यक्रमको सभापतित्व भने डा. विष्णुविभु घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि भने प्रा.डा. नोबलकिशोर रार्इ रहेका थिए । त्यस्तैगरी कुलपति गङ्गाप्रसाद उप्रेती,  सदस्य सचिव प्रा. डा. जीवेन्द्र देव गिरी, विभागीय प्रमुख प्राज्ञ श्रवण मुकारुङ, (साहित्य -मातृभाषा) विभाग साथै प्राज्ञ डा. अमर गिरी, प्रमुख, काव्य विभागको समुपस्थिति रहेको थियो । 
डम्फू सहित स्रष्टा शिलत मोक्तान अन्य साथीहरूका साथ
   प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको आयोजना गरेको थिए । कार्यक्रममा गायक सुवास वीरपुरियाले मैथिली भाषाको गीत गाएका थिए । कार्यक्रममा प्राज्ञ डा. अमर गिरीले स्वागत मन्तव्य राखे भने कुलपति गङ्गाप्रसाद उप्रेतीले मन्तव्य राखेका थिए ।
कार्यक्रम समुद्घाटनको दृश्य
   कार्यक्रममा तम्बा सङ्घ नेपालले डम्फू तथा टुङ्नासहित झाँकीमा भाग लिएको थियो । केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तानको नेतृत्वमा सङ्घले तम्बा गीतसहितको नाच समेत प्रस्तुत् गरेका थिए । सो अवसरमा सङ्को केन्द्रीय वरिष्ठ उपाध्यक्ष पासाङदोर्जे मोक्तान, उपाध्यक्ष वीरबहादुर घिसिङ, सचिव खोजराज गोले, आजीवन सदस्य महावीर लामा साथै केन्द्रीय सदस्य सोमबहादुर लामा लगायतका सदस्यहरूका समेत संलग्नता रहेका थिए । सङ्घले विधिवत् रूपमा गठन गरेदेखि नै अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भाग लिँदै आएको केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तानले जनाएका छन् । 
तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तान प्रमाणपत्र देखाउँदै
    झाँकीमा तम्बा सङ्घ नेपालको अतिरिक्त तामाङ साहित्यिक संस्थाहरू तामाङ स्रष्टा समाज, तामाङ डाजाङ, नाङ्साल क्लाब-नेपाल साथै तामाङ सेमलेङ न्हान भक्तपुरले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा तामाङ स्रष्टा समाजको अध्यक्ष ङ्हेमा थाङ्पाल, तामाङ डाजाङकी अध्यक्ष सञ्चु ब्लोन, तामाङ सेमलेङ न्हान भक्तपुरको तर्फबाट कविराज काल्तेन लगायका तामाङ कवि तथा कवयित्रीहरूले उत्साहपूर्ण रूपमा सहभागिता जनाएका थिए । 
तम्बागीत तथा नृत्य प्रदर्शन गर्दै
   त्यस्तैगरी सोही अवसरमा मगररार्इलिम्बुधिमाल साथै देउडा लगायतका सांस्कृतिक झाँकीबाजा गाजासहितको गीत एवं नृत्यहरू समेत प्रदर्शन गरेका थिए ।
धिमाल नृत्य प्रस्तुत् गर्दै कलाकारहरू
    मातृभाषाका कविता वाचन तर्फ ४४ जना स्रष्टालाई छनौट गरेका थिए । वाचन गर्ने क्रममा भने ३५ जनाले मात्रै भाग लिए । भाग लिएका स्रष्टा सङ्ख्या ३५ भएतापनि भाषा भने ३१ मात्रै रहेका थिए । तामाङ भाषाको भने तीनजना स्रष्टाहरूले भाग लिएका थिए । तिनमा शिलत थोकर (रामेछाप), सजना गोले (काभ्रे) साथै इन्दु नेपाल योञ्जन रहेका थिए । कार्यक्रमको शुरुवात स्रष्टा शितल थोकरको 'कोम्हेन्दोशीर्षक रहेको कविताबाट गरेका थिए । 
तामाङ झाँकीको एक दृश्य
    अन्य भाषाका स्रष्टा तथा कवितामा कृतिका केवरत (कक्षा ९ मा अध्ययनरत छात्रा)ले केवरत, छम गुरुङले गुरुङ, मगरनी रामजिता राकेश बीएमले खाम मगर, अमृता थापामगरले ढुट मगर, जगबहादुर बुढामगरले काइके मगर, प्रयास दुमी रार्इले दुमी, गोमा जिमीले याक्खा, सविनसिंह चौधरीले अवधी,  निशा चौधरीले चौधरी, पवनकुमार कुमाल र अमृता कुमालले कुमाल, रजनी मिलाले नेपालभाषा  साथै धर्मश जयसवालले भोजपुरी लगायत रहेका थिए । 
कार्यक्रमको एक दृश्य

Wednesday, February 21, 2018

उर्लाबारीमा तम्बा, डम्फू साथै टुङ्ना सम्बन्धी प्रशिक्षण !


डम्फू नाच साथै गायन प्रशिक्षणको एक झलक
मोरङ । जिल्लाको उर्लाबारी -२ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलको हलमा तम्बा, डम्फू साथै टुङ्ना वादन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जिल्ल्ला तथा नगर घेदुङद्वारा आयोजित कार्यक्रममा तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तान साथै केन्द्रीय सचिव खोजराज गोलेले प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि
      सोहीक्रममा अध्यक्ष मोक्तानले तम्बाको अर्थ र महत्त्व साथै डम्फू र टुङ्ना वादन सम्बन्धी प्रशिक्षण दिएका थिए । मोक्तानले सगुनको महङ्खव, सगुन छ्योत साथै चरतम् (चारदाम)को विधि सम्बन्धी कुराहरू राखेका थिए । मोक्तानले डम्फू बजाउने, गाउने साथै नाच्ने कला सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूले डम्फू बजाउँदै गीत गाउन र नाच्न सिकेका थिए । कार्यक्रममा स्वाँगेभाइ मिच्ने तथा अन्तरजातीय विवाह गर्ने सम्बन्धमा प्रश्नोत्तर समेत भएको थियो ।
प्रशिक्षणको दृश्य
      त्यस्तैगरी सचिव खोजराज गोलेले भने तामाङ, बोन, तम्बा साथै ह्रुर्इको बारेमा स्पष्ट पारेका थिए । गोलेले, तामाङ हुन ह्रुर्इ चाहिने साथै ह्रुर्इ भएपछि ह्रुर्इगी फो ल मान्नुपर्ने बताए । बोन र लामाका बीचमा तम्बाले विशेष भूमिका खेल्दै आएको साथै तम्बा अन्य कुनै पनि समुदायमा नभएको समेत जनाए । सोहीक्रममा तम्बाले गाउने गीत, तामाङ समाजमा नारीको भूमिका अनि गीतले सम्बोधन गर्नुपर्ने विषयहरूबारे धारणा राखेका थिए ।
प्रशिक्षणको दृश्य
      दिलबहादुर पाख्रिनले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि भने महेन्द्रजङ्ग तामाङ (अध्यक्ष- अन्तर्राष्ट्रिय तामाङ परिषद्) रहेका थिए । भाषासँगै तम्बा संस्कृति हराउँदै जानेक्रम बढेकोले तम्बा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गर्दै जाने जनाएको छ । उक्त प्रयोजनका लागि गजेन्द्र बोम्जनको संयोजकत्वमा सल्लाहकार समितिसहितको एक तदर्थ समिति समेत गठन गरेको छ । समितिले तम्बा सम्बन्धी आवश्यक गतिविधिहरू सञ्चालन गर्दै जाने संयोजक बोम्जनले जनाएका छन् ।  
गीत प्रस्तुत् गर्दै स्थानीय तम्बा

Monday, February 19, 2018

ल्होछार कार्यक्रम सम्पन्न साथै तम्बा, डम्फू र टुङ्ना वादन सम्बन्धी तालिम हुँदै...


कार्यक्रमको समुद्घाटन गर्दै 
मोरङ । जिल्लाको उर्लाबारीस्थित गुम्बामा आज फागुन ७ गते सोनाम खि ल्होछार, २८५४ सम्पन्न भएको छ । आज आयोजित कार्यक्रमको प्रमुख अतिथिमा कुशल लिम्बु (मोरङ -१ 'क'को प्रदेशसभा सदस्य) रहेका थिए ।
दिलबहादुर पाख्रिनले अध्यक्षता गरेको कार्यक्रममा महेन्द्रजङ्ग तामाङ (अध्यक्ष- अन्तर्राष्ट्रिय तामाङ परिषद्), काजीमान थिङ (ने.ता.घे. भाषा तथा साहित्य विभाग प्रमुख), मित्रसेन योञ्जन (अध्यक्ष- ने.ता.घे. प्रदेश नं. १), रामप्यारी मोक्तान (केन्द्रीय सदस्य- ने.ता.घे.), लोप्साङ घिसिङ, धावावाङ्गेल मोक्तान (केन्द्रीय अध्यक्ष- तम्बा सङ्घ नेपाल), खोजराज गोले (केन्द्रीय सचिव- तम्बा सङ्घ नेपाल) साथै काजीमान घिसिङ लगायत विशिष्ट अतिथि तथा अतिथिहरू रहेका थिए ।
कार्यक्रमका अतिथिहरू
      राष्ट्रिय गान तथा तामाङ शहीदप्रति मौनधारणसहित शुरू गरिएको कार्यक्रममा उपस्थित सबैलाई शान्ता लामाले स्वागत गरेकी थिइन् । कार्यक्रममा राजु घिसिङ, धावा वाङ्गेल मोक्तान, काजीमान थिङ साथै प्रमुख अतिथि कुशल लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।
      प्रमुख अतिथि लिम्बुले ल्होछार पर्वलाई तामाङ समुदायको मात्रै भन्दा पनि नेपालकै हो भन्ने मान्यताको विकास गर्नुपर्नेमा जोड दिए । कुलमान घिसिङ तथा बुद्ध लामाको उदाहरण दिँदै लिम्बुले तामाङ समुदायले होनाहार व्यक्तित्वहरू जन्माइरहेको दाबी गरे । उनले कम्तिमा पनि ताम्सालिङ क्षेत्रमा तामाङकै सन्तान मुख्यमन्त्री हुनुपर्ने बताए । 
स्थानीय कलाकारहरू नृत्य प्रस्तुत् गर्दै

कार्यक्रममा विशेष अतिथि काजीमान थिङले पनि सम्बोधन गरे । राज्यले तामाङलाई हरेक तरहबाट अन्याय गरेको स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक तथा सांस्कृतिक रूपमा दमन गर्दै आएको दाबी गरे । तामाङले आफ्नै भाषामा शिक्षा लिने साथै सरकारी कामकाजको क्रममा तामाङ भाषाकै प्रयोग गर्न पाउनुपर्ने माग गरे ।
कार्यक्रममा स्थानीय गायक, गायिकाहरूले गीत प्रस्तुत् गरे । त्यस्तैगरी स्थानीय कलाकारहरूले विभिन्न गीतहरुमा नृत्यहरू प्रस्तुत् गर्दै कार्यक्रमलाई भव्य रूपमा सफल पारे । नेपाल तामाङ घेदुङ जिल्ला समिति मोरङले स्थानीय नेपाल बौद्ध गुम्बा पूर्वाञ्चल उर्लाबारी -२, मोरङको हलमा आयोजना गरेको हो ।

Sunday, February 18, 2018

सर्लाहीको देउरालीमा पनि खी ल्होछार मनाए


सर्लाही । जिल्लाको परमानीपुर देउरालीस्थित सामतेलिङ गुम्बा प्राङ्गणमा सोनाम ल्होछार मनाएका छन् । स्थानीय गुम्बाहरू सामतेलिङ गुम्बा देउराली, पेमा छोईलिङ गुम्बा झरझरा साथै ज्याङछ्युप छोईतेन गुम्बा बोहेरेद्वारा आयोजित कार्यक्रमको अध्यक्षता भने जीतकुमारी थिङले गरेकी थिइन् । 
अातिथिहरू (तस्वीर ः अर्जुन योञ्जन तामाङ)

तम्बा सङ्घ नेपालको केन्द्रीय सचिव खोजराज गोलेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राजनैतिक दल तथा जिल्लामा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिहरूका समेत समुपस्थिति रहेको थियो । 

स्थानीय जिसाङ बोम्जन लगायतका  कलाकारहरूका गायन तथा नृत्य प्रस्तुतिहरू रहेका कार्यक्रमको प्रमुख अतिथि खोजराज गोलेले तामाङ समाज, ल्होछार, संस्कार संस्कृति, सबल तथा दूर्बल पक्षहरूका बारेमा चर्चा गरेका थिए । 

सोही कार्यक्रममा अर्जुन योञ्जन तामाङ (ने.ता.घे. केन्द्रीय सदस्य), प्रशान्त आचार्य (राजनीतिज्ञ), शुभलाल बोम्जन, आदिवासीवादका अभियन्ता सिंह मोक्तान, महिला अधिकारकर्मी छ्योईसल घ्लान तामाङ, लामागुरु कान्छामान लामा साथै बुद्धि विश्वकर्मा (सञ्चारकर्मी) लगायतले शुभकामना मन्तव्य राखेका थिए । 
नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरू (तस्वीर ः अर्जुन योञ्जन तामाङ)

विवेक बोम्जनद्वारा स्वागत गरिएको कार्यक्रमको समापन भने जीतकुमारी थिङले गरेकी थिइन् । कार्यक्रमको अघिल्लो राती भने बस्तीमाथि रहेको नङ्सल गङमा स्ठानीयहरू उपस्थित भर्इ ल्होछार इभ समेत गरेको बम बोम्जनले जनाएका छन् । 

Sunday, February 11, 2018

गजल

भक्तपुरमा ...

कत्ति यहाँ मान्छेभन्दा गोबर धेरै छन् !!
बोली पिच्छे हसाउने जोकर धेरै छन् !!

गरी खाने सिर्जनशील मान्छे कता गए ?
चोकै पिच्छे हेर्दै जाऊ लोफर धेरै छन् !!

फलको आश गर्न अब छोडेपनि हुन्छ !
फूल भन्दा पनि यहाँ सोतर धेरै छन् !!!!

गाँजा अनि धुतुरोको खेती छोड्नु पर्छ !
चिन्नसके स्वस्थ राख्ने ओखर धेरै छन् !!!

कुलको पूजा आराधना मूर्खले पो गर्छ !
यस्तै भन्ने हामी बीचमै गोथर धेरै छन् !!!
२८ माघ ’७४
चाबहिल

तीतो तथ्य


रामेछापस्थित सानोशैलुङ जानेक्रममा,  पछाडि ब्रह्म, विष्णु थुम्कोको दृश्य

     एक पटक एकजना मान्छेले कपडा किनेछ । सिलाउने ठाउँमा पुगेछ । सिलाइदिनु भनेछ । सिलाउनेले त्यो मान्छेको नाप लिएछ । त्यसपछि कपडा काट्न थालेछ । आफ्नो कपडा काटेर टुक्य्राएको देखेछ । त्यत्ति राम्रो कपडा काटेर खत्तम पार्‍यो भन्ने लागेछ । बेस्सरी गाली गर्दै कराउन थालेछ । कपडा बिगारेको भन्दै खेदेछ । रिसले चूर हुँदै घर फर्केछ ।

     अचेल तामाङका अधिकांश मान्छे पनि त्यही कपडा सिलाउन जाने मान्छे जस्तै लागिरहेको छ । कोहीले भेट्नसाथ- समाजलाई अगाडि बढाउनु पर्‍यो भन्दै चिच्याउँछन् । दुःख सुनाएर आँशु खसाउन खोज्छन् । कम्तिमा तिमी त अघि बढ भन्छन् ।

     त्यसपछि घरपरिवार बिर्सेर हिँड्छौं । आफ्नै चाहना लत्यार अघि बढ्ने प्रयास गर्छौं । तामाङ समाजको बारेमा खोज्छौं । मिलाउने मेसोमा पस्छौं ।

     त्यत्तिनैखेर, को को मान्छेहरू आउँछन् । धारेहात लगाउँदै आइलाग्छन् । बिगारिस भन्दै तथानाम गाली गलौज गर्छन् । चियापसलदेखि फेसबूकवालमा लेख्छन् । थरीथरीका च्याट ग्रूपदेखि खै के के बनाउँछन् । फलाना यस्तो, त्यस्तो भन्दै अश्लिल गाली शब्दसहित हुर्मत लिन्छन् ।

     तामाङ समाजको लागि हिँडेकालाई देखेर सहँदैनन् । अरूका पैसा खाएर हिँडेका तामाङभाँडा भन्छन् । कहिल्यै कतै नामै नसुनेको संस्थाबाट पैसा खाएको भन्दै सगर्व लेख्छन् । हुने भन्दा नहुने लेख्छन् । चियापसलमा पुग्छन् । केटा-केटी जम्मा पारेर गफ चुट्छन् । आफू चाहिँ सच्चा तामाङ भएको दाबी गर्छन् ।

     तिनीहरूका न त बुद्धि हुन्छ । न त हुत्ति नै हुन्छ । यद्यपि, हुटिट्याउँ चाहिँ हुन्छन् । माथि भनिएको मान्छे जस्तै, कपडा सिलाउनुअघि काट्नुपर्ने हुन्छ भन्ने नै बुझ्दैनन् । तिनीहरूले फेसबूकलाई नै संसद भवन सम्झन्छन् । तथानाम गाली गरेपछि आफू सहि भएको भानमा मस्त निदाउँछन् ।

     यस्तै गोबरहरूका सङ्ख्या अत्याधिक छ । त्यसकारण इतिहास खोतले उदाङ्गो पार्‍यो भन्छन् । नलेखे केही बोक्य्राएन भन्छन् । नमिलेको रहेछ भन्यो भने तँ को होस् भन्छन् । यसरी मिलाऔं भन्यो भने तँलाई जुत्ताको माला लगाउँछौं भन्छन् ।

     ताम्सालिङको आधार तयार पार्दाखेरि अश्लिल शब्दको प्रहार गर्छन् । राज्यसत्ताले हिजो अन्याय गरेकोले माफी माग्नुपर्छ भन्दा- तैँले चाहिँ माग भन्छन् । हिजो नमिलेको क्रमलाई सुधार, परिमार्जन वा परिष्करण गर्ने प्रयास गर्नै हुन्न । छाला काढन् शुरू गर्छन् । अर्काको फेसबूकवालमा तथानाम पोष्ट गरेर कमेण्ट गर्न मन पराउँछन् ।

     तिनीहरू त अन्धा हुन्छन् । सुङ्गुर छाम्छन् । हात्ती यस्तो रहेछ भन्छन् । शील थाहा छैन । अश्लिल लेख्छन् । रुन्छन् । कराउँछन् । त्यसैलाई आफ्नै पहिचान बनाउँछन् । परिणामतः तामाङका होनाहार व्यक्तित्वहरू चाहिँ गुमनाम भएका छन् । समाजमा जस्तै समस्या पर्दा पनि बाहिर निस्कनै मान्दैनन् ।

     गल्ती नहुने भन्ने हुँदैन । सच्याउने आँट चाहिन्छ । घेदुङजस्ता संस्थाले अघि बढ्न डराउनु हुँदैन । घेदुङ इतर रहेकालाई पनि समेट्ने प्रयास आवश्यक छ । तामाङ समाजमा केही गर्न चाहनेहरूलाई यस्ता गोबरहरूले तगारोको काम गर्ने भनेको केही समयसम्म मात्रै हो । यस्तो दिन पनि आउँदैछ कि- त्यस्ता गोबरहरू आफैँ लज्जित भएर लुक्न बाध्य हुनेछन् । बल्ल तामाङको नयाँ दिन आउनेछ ।
२८ माघ '७४
चाबहिल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...