तामाङ ले, ग्योई र
ग्योईतम्
(तामाङ जिभ्रो,
भाषा र भाषिक कुरा)
- खोजराज गोले
१. विषय प्रवेश
भाषा मानवताको परिचायक हो ।
कतिपयले जीवजन्तुका पनि भाषा हुने बताउँछन् । भाषाको परिभाषालाई हेर्ने हो भने
मानवद्वारा उच्चारित अर्थपूर्ण आवाज मात्रै भाषा हो । यसमाथि धेरै बहस गरिरहन
आवश्यक मानिनँ । तामाङ 'ले’(जिभ्रो), 'ग्योर्इ’ (भाषा) र 'ग्योर्इतम्’
(भाषाको कुरा)लाई शीर्षक बनाएको छु । अहिले तामाङ भाषा बोल्नेहरू
प्रशस्तै छन् । यो भाषाको व्याकरण जान्नेहरू धेरै छन् । कतिले त लिपि प्रशिक्षणको
नाममा भाषा सम्बन्धी कक्षाहरू सञ्चालन गर्दै आएका पनि देखिन्छन् । यदाकदा तामाङ
भाषा प्रशिक्षण भएको भन्ने पनि सुनेको छु ।
तामाङ भाषा त बोल्छन् ।
ठ्याक्कै तामाङ 'ले’ सहितको उच्चारण पाउन निकै
गाह्रो रहेछ । धनप्रसाद तामाङ अस्यङले 'तिम्रो तामाङ ले भएन’
भनेर धेरै पटक मलाई सम्झाउनु भएको थियो । एक स्थानको तामाङ 'ले’ अर्को स्थानको सँग कति मेल खान्छ कि खाँदैन
भन्ने हुने रहेछ । केही वर्षअघि मात्रै सुनेको थिएँ- संस्कृतको सही उच्चारण गर्ने
मान्छे मुस्किलले एकजना मात्रै भेटिएको थियो रे। यही कुरासम्बन्धी अमृत
योन्जन-तामाङज्यूले पनि आफ्नो फेसबूकवालमा लेख्नुभएको थियो ।
धनप्रसाद तामाङ अस्यङसँग तामाङ
'ले’ (जिभ्रो/Tongue)को बारेमा धेरै कुराकानी भएका थिए ।
साहित्यकार/कवि साथै सहकर्मी मित्र निरुभक्त वाइबासँग मिलेर यस सम्बन्धमा सक्तो
प्रयास गरेका थियौं । २०६८ सालमा प्रकाशित मेरो 'वलीम्हेन्दो’
(तामाङ भाषाको गजलसङ्ग्रह) प्रकाशनको समयसम्म पनि बजारमा चलेको
देवनागरी लिपिलाई प्रयोग गरेकै थिएँ । तथापि, एफ.एम.मा
कार्यक्रम चलाएका बेला केही असहजता महशुश गरेको थिएँ । त्यसैले अलिक फरक लेखन
अभ्यास गर्दै थिएँ । विशेषतः तामाङ भाषा आकार प्रदान हो भन्ने कुरामा मेरो विमति
रहेको थियो ।
ह्रस्व वा दीर्घ मध्ये कुनै
एकलाई मात्रै प्रयोग गर्ने भन्नेमा पनि सहमत हुन सकेको थिइनँ । ''ग, ज, ड, ब वा घ, झ, ढ, भ’’ मध्ये कुन चाहिँ भन्ने सम्बन्धमा पनि अग्रजहरूका लेखनसँग मेरो सहमति थिएन
। मानकीकरणको नाममा कुनै एक स्थानको भाषालाई लाद्ने र अन्यत्रकालाई समाप्त पार्ने
कार्य गर्नु हुँदैन भन्ने मेरो अर्को मत थियो । प्रायः जसोले एउटा तामाङ भाषा र
लेखन शैली चाहियो भन्दै आएका छन् । त्यो त सङ्घीयतामा जानुअघिको नेपाली
राज्यसत्ताले अवलम्बन गरेको नीति जस्तै हो । अहिले त्यस्ता बुझाइ राख्नु भनेको
अग्रगमण विरोधी तर्क हो ।
पहिचानको लागि पनि भाषा आवश्यक
हुन्छ । तामाङभित्र पनि स्थानीय वा क्षेत्रीय भेद पहिचानलाई जोगाउन आवश्यक छ ।
मानकीकरण त्यसको विरोधी तर्क हो । सक्नेले कमजोरमाथि हेजेमोनी स्थापित गराउनु पनि
सहि नै हो भन्ने खालेको सोँच देखिएको छ । त्यसैले तामाङ शब्दावली सङ्कलन पहिलो
आवश्यकता हो । तामाङ जिभ्रोलाई जीवन्त राख्नु सपुतको दायित्व हो । आधुनिकता र
विकासका नाममा तामाङ जिभ्रो काट्ने काम आपराधिक भन्दा केही हुने छैन ।
लिपिगत विवादले पनि तामाङ
भाषालाई कमजोर बनाउँदैछ । तामाङको शास्त्रीय तथा आम जनबोलीका बारेमा गहिरो अध्ययन
भएको छैन । त्यसैले भाषा कमजोर सावित हुँदैछ । हुन त केही दिनअघि मात्रै 'तामाङ किबोर्ड
एप’ आउँदैछ भन्ने व्यहोराको सूचना देखेको थिएँ । उक्त एपले
देवनागरी लिपिलाई स्वीकार गरेको छ । देवनागरी, तामयिग र
सम्भोटामध्ये कुन चाहिँ तामाङ लिपि हुने भन्ने विवाद त कायम नै छ । यो विवादले
सजिलै समाधान पाउला भन्न सकिन्न । सम्बन्धित व्यक्ति तथा संस्थाहरू जुँगाको
लडार्इँ गरिरहेका भन्ने आरोप पनि पाएको छु ।
यो लेखमा तामाङको जिभ्रो, भाषा र भाषिक
कुरामाथि छलफल गर्ने प्रयास गरेको छु । कतिपयले राम्रो भन्ने छन् । कतिले नराम्रो
भन्ने छन् । कतिले न राम्रो न नराम्रो नै भन्ने छन् । कतिले गाली गर्ने छन् ।
यसअघिका प्रयासलाई शून्यमा झारेको आरोप लगाएमा अनौठो मान्ने छुइनँ । कत्तिले माया
गर्नेछन् । कत्तिले छाला काढ्ने छन् । राज्यसत्ताको कारण यस्तो अवस्थामा उभिएको छु
। यो विषम् परिवेशमा आफ्नै परिवारभित्रबाट हुने प्रहारबाट पनि विचलित हुने छुइनँ ।
यही प्रणका साथ निम्नानुसार राखेको छु ।
२. तामाङ भाषा
तामाङ भाषा त तामाङ राष्ट्रको
आफ्नै पहिचानको धरोहर हो । 'तामाङ’ शब्दले भाषा र राष्ट्र दुवैलाई
जनाउँदछ । यसलाई 'ग्योइ, ग्योर्इ(ग्योअी)
वा ग्युर्इ’ जस्ता शब्दहरूद्वारा चिनाउँदै आएका पाइन्छन् ।
स्थान विशेष उच्चारणमा थोरै फरक स्वाभाविक मान्नु पर्दछ । तामाङ साहित्यमा प्रवेश
गरेपछि 'ग्योई’ भन्ने बुझेको हुँ ।
मेरो आफ्नै गाउँतिर भने 'ग्युर्इ’ भनेको
सुनेको थिएँ । कतिले चाहिँ 'घ्योर्इ/घ्योअी’ भन्ने गरेका छन् । यी त लेखनका तरिका मात्रै हुन् । अन्नतः तामाङमा भाषा
नै हो ।
भनिन्छ; अपा थोर्सम् ह्रुइ
थोर्ला ! अमा थोर्सम् ग्युर्इ थोर्ला !!’ बाउ पत्ता नलागेमा ह्रुइको
कुरा कसरी गर्ने ? आमा नै तामाङ इतर परेमा ग्युर्इ अर्थात्
भाषा तथा संस्कार संस्कृति सबै नै हराउनेछ । त्यही भएर हुनुपर्छ क. सन्तवीर लामा
(पाख्रीन)ले तम्बा कइतेन व्हार्इ रिमठिम (तामाङ्गका पुर्ख्यौली रीतिथिति र गीत)मा
भाषाको महत्त्वबारे लेखेका छन् । जुन निम्नानुसार रहेको छ ।
राङलान लेङमो राङलान ताम
ग्योतमी मेमेला जिन्लब इन
ग्योतमी युलबाला ज्ञान्छ्याइन
राङला ग्योत्दा दा ख्लागो
तम्बा माला पाप खालार्
धर्मन नीला रुइ नीला
मसे ङान्दाम तिकबोला
राङला लेङमो दा ख्लागो
सेमरि मानव दोनडुपला । (तम्बा कइतेन व्हाई रिमठिम), पृ. २६) ।
प्रस्तुत् गीतले भाषाको बारेमा
स्पष्ट पारेको छ । लिपिमा लेख्ने क्रममा केही समस्या छन् । जसका कारण भाषा बुझेकै
मान्छे पनि कतै-कतै अल्मलिन सक्छन् । यद्यपि यसको नेपाली अर्थ पनि दिएको देखिन्छ ।
प्रस्तुत् शब्दहरूलाई जस्ताको त्यस्तै स्वरूपमा उल्था गर्ने हो भने निम्नानुसार
हुन आउँछ-
आफ्नै भनाई आफ्नै कुरा
भाषा त हजूरबुवाका उपहार हो
भाषा त समाजको गहना हो
आफ्नो भाषालाई नछोड
तम्बा हराउँछ पाप लाग्छ
धर्मै जान्छ थर जान्छ
अर्काले मलाई के भन्लान्
आफ्नो भाषालाई नछोड
मनमा चिताएको पुग्नेछ ।
हो; भाषा पुर्खाले
छोडेका उपहार अझै भनौं नासो पनि हो । पुस्तान्तर प्रत्येक पुस्ताको कर्तव्य हो ।
भाषा हराएमा तम्बा पनि हराउनेछ । तम्बा हराएपछि ह्रुइ (थर) हराउनेछ । ह्रुइ
हराएपछि तामाङ भन्ने नै हुने वा रहने छैन । त्यस्तो अवस्थामा अन्यले हामीलाई के
भन्लान् ? कसरी चिन्लान् ? गीतको भाव
यस्तै रहेको छ । अब हामी भन्न सक्छौं- तामाङ हुन ह्रुइ चाहिने रहेछ । ह्रुइ बिना
तामाङ हुँदैन । ह्रुइको कुरा गर्ने तम्बा हो । तम्बाले बोल्ने तामाङ भाषा हो ।
दुःखको कुरा तम्बा त हो नि; छ्योइ (बौद्ध ग्रन्थ)मा छैन
भन्दै छोड्ने काम पनि भएका छन् । जसका परिणामतः ह्रुइ प्रथा सङ्कटमा पर्दै गएको
सहज देख्न सक्छौं । यसकारण भाषालाई सामान्य मान्नु हुँदैन ।
तामाङ भाषा बोल्नेका बीचमा पनि
समस्या देखिएका छन् । तिनमा क्षेत्रीय भेद, लिपि विवाद साथै तामाङ जिभ्रोको अभाव
लगायत छन् । संस्कृत भाषाको सही उच्चारणकर्ता नपाएका बताउँछन् । त्यसो त उछेन र
उमे लगायतका लिपिमा लेखिएका अक्षरको सही उच्चारण गर्ने क्रममा पनि संस्कृतिकै दसा
पसिसकेको छ । तामाङ भाषाको सही उच्चारण गर्ने कुरामा पनि यी दुर्इ भाषाको भन्दा
फरक परिस्थिति छैन । तामाङ जिभ्रोमा नेपाली भनिएको भाषाले ठूलै हमला गरिसकेको छ ।
अब प्रायः साइनो अङ्ग्रेजीमा लगाउन थालेका छन् । तम्बाका गीतमा नेपाली भाषाबाट
प्रशस्त शब्दहरू घुस्न थालेका छन् । लबोनका केरप, ठुङरप,
फरप, लरप, शेरप र
स्हेङरपहरू फालिँदैछन् ।
तामाङ भाषाको माउ भनेको लबोन
(लप्तबा/लप्थाबा/)को भाषा हो । यस्सै भनेको सुन्ने बित्तिकै कतिपयलाई हनहनी ज्वरो
आएका देख्न सक्छौं । परिणामतः तामाङ भाषाको सही उच्चारण गर्न सक्ने 'ले’ अर्थात् 'जिभ्रो’ पाउन नसक्ने
भइसकेको छ । तथापि, पुनः फिर्ता ल्याउनुको विकल्प छैन । पहल
गरेमा असम्भव पनि छैन । केही न केही राम्रो हुनेछ । आवश्यकता त केवल आँट, सहास र धैर्यताताको हो । भाषा भनेको सूचना आदानप्रदान गर्ने माध्यम मात्रै
हो । त्यसो भए किन सही उच्चारण गरिरहनुपर्यो ? बुझ्न र
बुझाउन सके भइहाल्यो नि । भाषाविज्ञान पढेर आएकाहरूले नै यस्तै भाषा प्रयोग गरेका
छन् ।
तथापि, सही उच्चारण
बिनाको भाषा त प्लाष्टिकको फूल जस्तै हो । जसले सुवास र प्राकृतिकता दिन सक्तैन ।
जसले वीज दिन सक्तैन । नयाँपुस्ता जन्माउन सक्तैन । त्यसैले भाषामाथि खेलबाड गर्नु
हुँदैन । भाषा बारे बुझाउने क्रममा तिब्बती एउटा गीतलाई लिन सकिन्छ । गीतमा गायिका
छेवाङ ल्हमो (Tsewang Lhamo)ले स्वर दिएकी छ । अङ्ग्रेजीमा
उल्था भने ल्हसी (Lhasay) ले गरेका छन् । The Wonders
of Tibet भनिएको गीतको भाषासँग सम्बन्धित शब्दहरू निम्नानुसार रहेका
छन्; जस्तै :
Alphabets are the life essence of Tibet.
…
Grammar and spelling is our path.
Poems and synonyms are our youth.
…
Speaking pure Tibetan is the root of unity.
They are the wonders of this Great Tibet.
प्रस्तुत् गीत र क. सन्तवीर
लामा (पाख्रीन)का गीतमा तादम्यता रहेको छ । यद्यपि, तामाङ जीवनको आफ्नै लिपि छैन । शब्द
(यिग/अक्षर सहित) छन् । तिनीहरू पनि विवादमुक्त छैनन् । अकार र आकारको सवाल छ ।
ह्रस्व र दीर्घको मारामार छ । उल्लेखित गीतमा भनेजस्तै व्याकरण र हिज्जे हाम्रा
मार्ग (बाटा) हुन् । रचना अर्थात् सिर्जना (गीति सिर्जना)हरू
हाम्रा युवा हुन् । तथापि, तिनीहरू नै विवाद नामक रोगद्वारा
ग्रस्त छन् । अस्पष्ट अवस्थामा घिटघिटाइरहेका छन् ।
भनौं, हाम्रा
युवाहरू फोहोरका डङ्गुरमा फालिएका छन् । हाम्रा बाटाहरू भत्किएका छन् । पूलहरू
बनाएकै छैनौं । अर्काको साँचोमा तामाङ जिभ्रो हालेका छन् । यहाँ र त्यहाँ मिलेन
भन्दै काट्न सक्ने महामानवहरूका कमी छैन । यहीनेर तामाङ युवा (गीत, सङ्गीत) गलपासोमा परिरहेका छन् । हाम्रा मार्ग (ग्रामर र हिज्जे) तामाङ
जिभ्रोदेखि टाढिँदै छन् । हाम्रा जिभ्रोहरू काटिएका छन् । कति त काटिने डरका मारे
बाहिर निस्कन सकिरहेका छैनन् । मानकीकरणको नाममा कुनै एक भेगको साम्राज्य विस्तार
हुने खतरा बढेको बढ्यै छ ।
नेपाली भाषाको गीत शुद्ध
स्वरूपमा गाउने (गाएको) व्यक्ति त भक्तराज आचार्य मात्रै ! अन्यका उच्चारणमा उनले
खोट देखाएका थिए रे । आचार्यको यो दाबीलाई सही मान्छु । छेवाङ ल्हमोले गाएकी गीतले
दावी गरे जस्तै सही उच्चारण नै समुदायलाई एकत्रित गर्ने कुरा हो । त्यसर्थ सही
नेपाली उच्चारण गर्दैनन् भने त्यस्ता गीत सङ्गीतले नेपाली भाषामाथि न्याय गर्न
सक्छ भन्ने नै हुँदैन । त्यस्तैगरी तामाङ भाषाको गीतमा पनि समस्या कायम रहेको छ ।
सही उच्चारण नहुँदा धेरै गीतले तामाङ जिभ्रो काट्ने काम गरेका छन् ।
आजसम्म कसैले पनि शुद्ध तामाङ
जिभ्रोमा गीत गाएका छैनन् । यतातिर गीत सङ्गीतमा लागेका स्रष्टा, सर्जकहरूले
कहिल्यै ध्यान पुर्याएका जस्तो लाग्दैन । अकार, आकार,
ह्रस्व, दीर्घ, दीर्घदीर्घ,
राइजिङ र फलिङ टोन अनि पीडाबोधक शब्दोच्चारण कसरी गर्ने भनेर सोध्ने
हो भने शायद तामाङ गीतसङ्गीतमा लागेका हस्तीहरू पनि उत्तरविहीन हुनेछन् । भाषा
वैज्ञानिक रूपमा पनि तान (टोन) पहिचान गर्न बाँकी रहेको पनि यस्तो भएको हो । यस्ता
समस्याको समाधान खोज्न ढिलो गर्नु हुँदैन । फेरि पनि धैर्यताका साथ सहास गर्नुको
अर्को विकल्प छैन ।
तामाङ भाषा अविकसित वा
अल्पविकसित भाषा होइन । माउ बिनाको भाषा पनि होइन । पूर्णतः लोप भइसकेको भाषा पनि
होइन । जानीनजानी उच्चारण गर्दैछौं । शुद्ध उच्चारण गर्न नसकेका हौंला तापनि
छोडेका छैनौं । पुर्खाका उपहार अनि नासो रूपी यो भाषामाथि न्याय गर्न हरेक सपुतको
कर्तव्य हो । यसअघि जे भयो भयो; अब पुर्खालाई मुटुमा राखेर कम्बर कस्ने हो भने तामाङ
भाषाले आफ्नो स्थान प्राप्त गर्ने कुरामा कुनै शङ्का छैन । भत्किएको बाटोलाई
खुलाउन सकिन्छ । बिग्रिएको विगतबाट पाठ सिक्न सकिन्छ । त्यसैले सुन्दर भविष्यको
कल्पना गर्ने प्रशस्त ठाउँ रहेका छन् । त्यसका लागि अहम्ता होइन; इमान्दारिता देखान सक्नुपर्छ।
३. भाषाको किसिम
तामाङ भाषा त तामाङ भाषा नै हो
। त्यसर्थमा एउटै भाषा रहेको छ । यद्यपि, क्षेत्रीय जिभ्रोका आधारमा भेद नभएका
होइनन् । क्षेत्रीय भेदलाई नजरअन्दाज गर्नु विद्वता होइन । यसप्रकार कम्तिमा पनि
यसलाई तीन प्रमुख क्षेत्रीय भेदमा विभाजन गरेर हेर्न सक्छौं । तिनमा (१)
लप्सङकर्पो, (२) यम्बुलिङ साथै (३) शैलुङ पर्दछन् । यिनका
अतिरिक्त अन्य भेदहरू छैनन् भन्ने होइन । गाउँ अझै धारा फरक हुने बित्तिकै भाषागत
रूपमा पनि केही न केही फरक पर्नु स्वाभाविक मानिन्छ ।
तामाङ भाषिक भेदलाई अग्रज लेखक
तथा अध्येताहरूले आ-आफ्नै हिसाबले विभाजन गरेका छन् । लेखक तथा अध्येता प्रताप
बल-तामाङले त तामाङ भाषालाई 'स्यारफाँट, पालचोके, खैरी र खान्दोके’’ भनेर विभाजन गर्नु भएको छ ।
उहाँले दार्जिलिङमा अध्ययनको क्रममा त्यसरी विभाजन गर्नु भएको हो । तामाङ भाषालाई
सामाजिक/सांस्कृतिक, आम/जनबोली साथै क्षेत्रीय गरी मुख्यतः
तीन आधारमा विभाजन गरी अध्ययन गर्न सकिन्छ ।
क) सामाजिक/सांस्कृतिक किसिम
तामाङ भाषालाई विभाजन गर्ने
तीन आधारहरूमध्ये एउटा चाहिँ सामाजिक सांस्कृतिक हो । यसको आधारमा विभाजन नगर्ने
हो भने ऐतिहासिक पक्ष लुप्त हुनेछ । सामाजिक तथा सांस्कृतिक मूल्य, मान्यता साथै
अवस्था पनि स्पष्ट हुने छैन । यस आधारमा तामाङ भाषालाई (१) बोन, (२) लामा (बौद्ध ग्रन्थका भाषा) साथै (३) तम्बा गरी तीन भागामा विभाजन गर्न
सकिन्छ । यी तिनवटै शास्त्रीय भाषाभित्र पर्दछन् । यिनका अतिरिक्त आम/जनबोली पनि
हुन्छन् । जनबोली नै सबैभन्दा बढी प्रचलनमा रहेका हुन्छन् । शास्त्रीय भाषामा आम
जनताको पहुँच नहुन पनि सक्छ; तर आम बोली पनि क्षेत्र/भेग
अनुसार फरक हुन्छन् । अब भने शास्त्रीय बोली अन्तर्गतका तीन भाषाहरूका बारेमा
छोटकरीमा निम्नानुसार हेरौं ।
(अ) बोन भाषा : तामाङ राष्ट्र ह्रुइ प्रथामा
आधारित रहेको छ । ह्रुइलाई छुटाउने बित्तिकै तामाङ हुनै सक्तैन । डा. मुक्तसिंह
थोकर ज्यूका अनुसार तिब्बतमा ह्रुइ प्रथा पाइएन । त्यसो त ह्योल्मोमा ह्रुइ रहेको
बताउँछन् । त्यही आधारमा तिनीहरूलाई तामाङ नै मान्नेहरू पनि पाइन्छन् । यद्यपि, ह्योल्मो र
तामाङमा फरक रहेको दाबी पाइएका छन् ।
यहाँ
उल्लेख गर्न खोजेको चाहिँ 'ह्रुइ’को
कुरा हो । ह्रुइ हुनालाई 'हुइरी बप्पा ह्रुइगी फो ल’ चाहिन्छ । ह्रुइगी फो ल बिनाको ह्रुइ असम्भव हुन्छ । ह्रुइगी फो ललाई
बुझाउन सक्ने चाहिँ लबोन हो । त्यसैले तामाङमा लबोन पनि छन् । लबोनको भाषालाई नै
यहाँ बोन भाषा भनिएको हो ।
बोन
भाषा नै आमा तामाङ भाषाको माउ हो । आम जनबोली स्थान वा भेग अनुसार फरक हुन्छन् ।
बोन भाषामा भने त्यस्तो धेरै फरक हुँदैन । पूर्व-पश्चिमका बोनहरू आपसमा सहज रूपमा
बोन भाषामा गफ गर्न सक्छन् । उदाहरणको लागि सिन्धुलीको बोन भाषा बुझेपछि खोटाङ र
नुवाकोटको बोन भाषा पनि बुझ्न सकिँदोरहेछ । स्मरणीय कुरा, उल्लेखित
स्थानहरूका आम तामाङ जनबोलीका भाषामा फरक देखिएका छन् ।
बोनको
जिभ्रो नै तामाङको शुद्ध र सही जिभ्रो हो । त्यसमा पनि कम्तिमा पनि स्हिवा र ठोवा
र सामान्य अवस्थाको लवजलाई चिन्न र बुझ्न अनिवार्य हुन्छ । बोन जिभ्रोमा यी तीन
अवस्थाको विद्यमानता रहेका हुन्छन् । सोही अनुसारका लवज हुन्छन् । तिनै लवजले अकार,
आकार, ह्रस्व, दीर्घ,
दीर्घदीर्घ, असहजता साथै राइजिङ र फलिङ टोनको
निर्धारण गरेका हुन्छन् ।
तामाङ
जिभ्रो बिना बोम्बो गायन तथा सङरप वा खेदङमा भाग लिन असम्भव हुन्छ । बोन भाषाले नै
सबैभन्दा धेरै तामाङ पहिचान बोकेको हुन्छ । आजसम्म पनि यस्तो महत्त्वपूर्ण भाषा
ओझेलमा पर्दै आएको छ । बोन शब्दकोश तामाङ भाषिक विधाको आवश्यकता हो ।
(आ) लामा भाषा : तामाङमा बोनको साथै लामा पनि
प्रचलित रहेको छ । अब लामालाई समाप्त पारेर तामाङ समाज चल्न सक्ने छैन । तथापि, यो भाषा धेरै
पछि मात्रै तामाङमा प्रवेश गरेको जस्तो देखिन्छ । यसको बोन भाषासँगको सम्बन्ध
नरहेको भने होइन । बोनहरूपछि मात्रै बौद्धको प्रवेश भएकोले यसलाई बोनबाट विकसित
सशक्त हाँगो मान्न पनि सकिन्छ ।
लामा
भाषाको प्रयोक्ता तामाङ नगण्य छन् । यति हुँदा-हुँदै पनि बौद्ध धर्मका कारण
तामाङले यसलाई पनि अङ्गीकार गरेको छ । आमा जनबोलीमा लामा भाषाले धेरै सामिप्यता
राखेको दावी गरेका पाइन्छन् । यद्यपि, बोन र आमा जनबोलीका
बीचमा रहेको जत्तिको सामिप्यता भने रहेको छैन ।
यो
भाषा बौद्ध धर्मसँग प्रवेश गरेको मानिन्छ । त्यसैले कतिले यसलाई तिब्बती भाषा
भन्ने गर्दछन् । कतिपयले त यो भाषाको प्रयोग गर्दा तिब्बतीकरण गरेको जस्तो गम्भीर
आरोप पनि लगाउने गरेका छन् । जेहोस् यो भाषा कम्तिमा पनि घेवा संस्कारमा
अनिवार्यतः प्रयोग गर्दछन् । त्यसको अतिरिक्त अन्य संस्कारहरूमा पनि यसको प्रयोग
गर्दछन् । विशेषतः छ्योइ पाठ गर्ने क्रमसँग मात्रै यसको सम्बन्ध रहेको स्पष्ट छ ।
यसलाई
छ्योइको भाषा पनि भन्ने गर्दछन् । यसलाई उछेन र उमे जस्ता लिपिमा लिपिबद्ध गरिएको
हुन्छ । बोन जस्तो आम जनबोलीसँग नजिक नभएकोले पनि संस्कारगत रूपमा छ्योइ पढ्ने
क्रममा मात्रै सीमित रहेको छ । यसले आम जनबोलीमा तत्कालै प्रभाव पार्न सक्ने
अवस्था पनि निकै न्यून रहेको छ । तैपनि, बौद्धदर्शन अध्ययनको
लागि तामाङले यसलाई अवलम्बन गर्न पनि सक्छन् ।
(इ) तम्बा भाषा : बोन र लामाको अतिरिक्त तम्बा
पनि तामाङ समाजको महत्त्वपूर्ण संस्था हो । यसले पनि आफ्नै भाषाको प्रयोग गर्दै
आएको छ । त्यसो त तम्बा भाषामा बोन र लामाको प्रभाव रहेको स्पष्ट छ । त्यति
हुँदा-हुँदै पनि तम्बाको भाषा आम जनबोलीमा बोन र लामाको भन्दा धेरै नजिक रहेको छ ।
अझै झण्डै आम जनबोलीकै हाराहारीमा तम्बा भाषालाई लिन सकिन्छ ।
'तम्बा’बाटै 'तामाङ’ भएको भन्ने एकथरी मत पनि पाइएको छ । राजनैतिक रूपमा 'ताम्सालिङ’ र 'तामाङसालिङ’
जस्ता शब्दहरू पनि निर्माण गरेका थिए । सोहीक्रममा एकथरी
विद्वान्हरूले भने 'तम्बा’बाटै 'ताम्बासालिङ’ हुनुपर्ने माग राखेका थिए । स्मरणीय यो
पनि हो कि 'तम्बा’ र 'ताम्बा’ कुन चाहिँ शुद्ध भन्ने प्रश्न उठेको देखिन्छ
। शुरूमा बुद्धिमान मोक्तानले आफ्नो पुस्तक 'जिकतेन तामछ्योर्इ
अथवा तामंग वंशावली ह्रामा’मा 'ताम्बा’
भनेर लेखेका रहेछन् । त्यसपछि क. सन्तवीर लामा (पाख्रीन)ले भने 'तम्बा कइतेन व्हाई रिमठिम’मा 'तम्बा’
लेखेका देखिन्छन् ।
यो
संस्थासँग सम्बन्धित सामाजिक संस्था पनि दर्ता भएर सञ्चालनमा रहेको छ । उक्त
संस्थाले भने 'ताम्बा’ नभएर 'तम्बा’ शुद्ध उच्चारण मानेको छ । त्यसो त गुरुङ
शब्दकोशमा 'लामा’लाई 'लम’ लेखेको छ । वास्तवमा तामाङ जिभ्रोमा पनि 'लामा’ नभएर 'लम’ हो । 'लामा’ त कथित नेपालीकरण
हुँदाको स्वरूप हो । तिब्बती तथा भुटानी उच्चारणमा पनि 'लामा’
नभई 'लम’ उच्चारण सुन्न
सकिन्छ ।
तम्बाले
डम्फूसहित गीत गाउने साथै ह्रामा (रमा) पनि गाउने गर्दछन् । त्यस्तैगरी, गायनको अतिरिक्त आमा बोलीमा बोल्ने पनि गर्दछन् । त्यसरी बोल्दा वा गाउँदा
तम्बाले बोन, लामा र आमा जनबोलीभन्दा केही फरक शैलीका साथ
भाषाको प्रयोग गर्दछन् । यिनले बोन र लामाबाट प्रशस्त शब्दहरू लिएका हुन्छन् ।
यद्यपि, माथि भनिए जसरी आम तामाङ जनबोलीसम्म बोन र लामाको
मान्यता, सिद्धान्त र दर्शनका कुरा पुर्याउने काम चाहिँ
तम्बा भाषाले गरिरहेको देखिन्छ ।
ख) क्षेत्रीय
किसिम (भेद)
तामाङ भाषामा क्षेत्रीयता कायम
रहेको छ । मुख्यतः प्रस्तावित ताम्सालिङ क्षेत्रको पनि पश्चिमी, मध्ये र
पूर्वी-उत्तर क्षेत्रमा बोलिने भाषामा भेद पाइएका छन् । यसक्रममा (अ) लप्सङकर्पो,
(आ) यम्बुलिङ साथै (इ) शैलुङ क्षेत्रका रूपमा छुटाएर हेर्नुपर्ने
हुन्छ । यिनका बारेमा निम्नानुसार चर्चा गर्न सकिन्छ ।
अ) लप्सङकर्पो : लप्सङकर्पोलाई पवित्र
क्षेत्रको रूपमा लिन सकिन्छ । गणेश हिमशृङ्खला यो क्षेत्र अन्तर्गत पर्दछ । तामाङ
समाजमा हिमाललाई 'झ्योमोगङ’ भन्ने गर्दछन् । 'झ्योमो’ले पवित्र नारी शक्तिलाई इङ्कित गर्दछ ।
अविवाहिता जीवन जिएकी, पुज्यनीय नारी नै 'झ्योमो’ वा 'झ्योमोस्या’
हो । यिनैलाई 'आनी’ पनि भन्ने
गर्दछन् । आमा बोलीमा 'आनी’ भन्दा पनि 'झ्योमोस्या’ प्रयोग गर्ने प्रचलन थियो । बोन
संस्कृतिमा 'झ्योहो’को अवधारणा रहेको हुन्छ
। शक्तिशाली पुरुष शक्ति नै 'झ्योहो’ हो
। त्यस्तैगरी शक्तिशाली महिला भने 'झ्योमो’ हुन्छन् । पुरष विवाहित पनि हुन सक्छन् । नारी चाहिँ अविवाहिता नै हुनु
पर्दछ । त्यस्ती नारीले 'लबोन’को काम
पनि गर्न सक्छन् ।
'झ्योमो’ संस्कृतिबाटै 'झुमा’को अवधारणा बनेको देखिन्छ । 'झ्योमो’हरू 'झ्योमो’ रहँदासम्म
सम्माननीय, पुज्यनीय देवीसरहकी हुन्थे । तिनै 'झ्योमो’हरूलाई 'झुमा’ बनाएका छन् । 'झुमा’ भएपछि नै 'झुम्कावाली’ भएका हुन् । सबैका यौनप्यास मेट्ने
साधनको रूपमा परिणत गरेका हुन् । यसप्रकार लप्सङकर्पो क्षेत्रमा 'झ्योमो’को अवधारणा कायम रहेको छ । जसले गर्दा
लप्सङकर्पो शब्द नै पवित्रताको कसीबाट आजसम्म पनि हटेको छैन ।
तामाङ
सभ्यता विकासको क्रममा लप्सङकर्पो क्षेत्रको ठूलो देन रहेको छ । यो क्षेत्रबाट
विकासित तामाङ भाषा अन्य दुर्इ यम्बुलिङ र शैलुङ क्षेत्रको भन्दा केही फरक रहेको छ
। यसले रसुवा, धादिङ र नुवाकोटको केही भागसम्म आफ्नो
अस्तित्व कायम राखेको छ । त्यसपछिका पश्चिमी क्षेत्रमा यहीको भाषाले वर्चस्व कायम
गरेको देखिन्छ । यो क्षेत्रको भाषालाई अझै अब्बल र शुद्ध मान्ने पनि गर्दछन् ।
लप्सङकर्पो क्षेत्रबाट तामाङ भाषिक समाजले प्रशस्त फाइदा लिन सक्छ । यस क्षेत्रको
भाषिक क्षमता तथा संयोजन उत्कृष्ट रहेको छ ।
आ) यम्बुलिङ : तामाङ राष्ट्र नै यम्बु (काठमाडौं उपत्यका)को पहिलो
बासिन्दा हो । यो राष्ट्रको सभ्यता निर्माणमा यम्बुको ठूलो योगदान रहेको छ । यसले
वरिपरिका गाउँबस्तीहरू (नुवाकोट, धादिङका केही भाग, मकवानपुर,
सिन्धुपाल्चोकका केही भाग, ललितपुर र भक्तपुर)लाई
समेटेको छ । त्यस्तैगरी काभ्रेको केही भाग, सिन्धुली हुँदै
तरार्इका सर्लाही, रौतहट लगायतका क्षेत्रहरूलाई पनि भाषिक
रूपमा पक्षपोषण गरेको छ ।
यहाँको
भाषामा विद्यमान फरकपन भनेको अन्यत्रका 'ख’ नै 'ह’ हुनु हो । जस्तै खौ
(खउ)को सट्टा हौ (हउ) । यो भेगको भाषामा अत्यन्तै सम्मानपूर्वक बोलिने शब्दहरू छन्
। जुन शब्दहरू अन्य दुर्इमा यहाँ जस्तो प्रयोगमा रहेको देखिँदैन । तामाङ भाषामा
सम्मानपूर्वक बोलिन शब्द छैनन् वा तिनका आधार छैनन् पनि भन्ने गरेका पाइन्छन् ।
यद्यपि, यो क्षेत्रमा उमेर तथा साइनो अनुसारको सम्मानपूर्ण
शब्द प्रयोग अनिवार्य मानिन्छ । कोही कोहीले यस भेगको भाषालाई 'हन्दोके’ पनि भन्ने गरेका छन् ।
इ) शैलुङ : भाषा प्रयोगको हिसाबले शैलुङ क्षेत्र निकै समुन्नत रहेको
छ । यस अन्तर्गत सिन्धुपाल्चोकका केही भाग, रामेछाप, दोलखादेखि
पूर्वका क्षेत्रहरू पर्दछन् । नेपालबाहिर दार्जिलिङ र सिक्किम लगायतका क्षेत्रमा
पनि यहीँको भाषिक वर्चस्व कायम रहेको छ । यसको अर्थ अन्य दुर्इ क्षेत्रका भाषा
पाइँदैनन् भन्ने होइन । प्रताप बल-तामाङको भाषिक लेखनको सानो अंश माथि नै उल्लेख
गरिसकेको छ । मुख्यतः सिन्धुपाल्चोक, दोलखा र रामेछापको
बीचमा शैलुङ क्षेत्र रहेको छ । शैलुङको आफ्नै महत्त्व रहेको छ । प्रायः तामाङ
संस्कार संस्कृतिमा शैलुङको कुरा आउने गर्दछ ।
यहीँ
क्षेत्रमा पेङदोर्जेले डम्बा (डम्फू) निर्माण गरेको भन्ने तम्बा गीत पाइएको छ ।
डम्फू निर्माणको क्रममा शैलुङ नभएर तेमालमा भएको भन्ने मत पनि रहेको छ ।
त्यस्तैगरी गढीग्यल्मो क्षेत्रमै निर्माण गरेको भन्ने अर्को थरी मत पनि पाइएको छ ।
यद्यपि, शैलुङ क्षेत्रमा निर्माण गरेको भन्ने मत बढी प्रचलित
रहेको छ । यसप्रकार शैलुङबाटै तम्बा भाषाको विकास भएको भन्ने दावी पनि गरेका
पाइन्छन् । यस क्षेत्रमा 'खे ङा’ (पाँच
पुर्खा)का कुरा प्रचलित रहेको छ । यो क्षेत्रको भाषिक पहिचान भनेको अन्य दुर्इका
भन्दा केही फरक रहेको छ । लप्सङकर्पो र यम्बुलिङको तुलनामा यस भेगको भाषामा 'आकार’ बढी देखिन्छ ।
४. लिपि समस्या
तामाङको आफ्नै लिपि छैन ।
आधिकारिक तथा सर्वमान्य नयाँ लिपि बन्ने वा बनाउन सकिने अवस्था पनि खासै देखिएको
छैन । संसारमा प्रशस्तै भाषाका लिपि छैनन् । त्यसैले लिपि विवादले भाषामा समेत
अप्ठेरो पारेको सहज अनुमान लगाउन सकिन्छ । तामाङको सामाजिक सांस्कृतिक संस्थाका
रूपमा बोन, तम्बा र लामा रहेका छन् । तिनीहरूमध्ये बोन र तम्बाको लिपि छैन । मौखिक
रूपमा कण्ठस्थ राख्नुपर्ने बोन मान्यता रहेको देखिन्छ । तम्बाले पनि लेख्य
परम्परालाई खासै महत्त्व दिएको छैन । यद्यपि, केही बोन तथा
तम्बाले पनि थोरै मात्रामा लेखेर राखेका वा राख्न थालेका देखिन्छन् ।
लामाले भने लेख्य संस्कृतिलाई
अवलम्बन गरेको छ । लामाले प्रयोग गर्ने लिपिहरूमा उछेन र उमे हुने गर्दछन् ।
सामान्य जनबोलीमा सम्भोटा लिपि भनिएको लिपि नै तामाङ लामाले प्रचलनमा ल्याएको छ ।
जुन लिपि तिब्बतमा विकास गरिएको थियो । यस्तै समस्या बीचमा अहिले तामयिग, सम्भोटा र
देवनागरी गरी जम्मा तीन लिपिहरू तामाङले चलाएका छन् । तिनमा पनि तामयिग र
सम्भोटाको प्रयोग सामान्य जनजीवनमा छैन भन्दा पनि गलत हुँदैन । आम जीवनमा त
देवनागरी लिपिकै वर्चस्व कायम रहेको छ । तिनै लिपिहरूका बारेमा सङ्क्षिप्त रूपमा
निम्नानुसार चर्चा गर्न सकिन्छ ।
क) तामयिग
तामाङको लिपि चाहिन्छ भन्ने
मतको विकाससँग तामयिग लिपि बनाएका हुन् । यो कार्य ०४६ सालको परिवर्तनपछिको एउटा
उपलब्धिको रूपमा रहेको छ । तामयिग नाम 'ताम’ र 'यिग’बाट बनेको हो । यसले तामाङ लिपि भन्ने अर्थ
दिन्छ । यो आफैँमा स्वतन्त्र लिपि होइन । सम्भोटा लिपिका केही अक्षरलाई हटाएर
ल्याएको मात्रै हो । अर्काको सम्भोटा लिपिलाई बिगारेको भन्ने आलोचकहरूले आरोप
रहेको देखिन्छ । यसलाई नेपाल तामाङ घेदुङको पहलकदमीमा ल्याएको हो । यो लिपि भारत
(दार्जिलिङ र सिक्किम)सम्म पनि प्रचलनमा रहेको छ । त्यहाँका विद्यालयहरूले यही
लिपिमा विद्यालयस्तरीय पाठ्यक्रमहरू तयार पारेका बताउँछन् ।
समर्थकहरूका अनुसार यो लिपि
तामाङ जिभ्रो मैत्री रहेको छ । यसले सम्भोटामा रहेका अनावश्यक अक्षर (वर्ण)हरूलाई
हटाएर सहज बनाएको छ । यो तामाङ पहिचान निर्माणको सरल प्रयोग पनि हो । त्यसकारण यही
नै तामाङको लिपिको रूपमा स्थापित भइसकेको छ । यद्यपि, यो लिपिमा
साहित्य लेखन खासै भएको छैन । एकाध सङ्ग्रहमा मात्रै यो लिपिको प्रयोग पाइएको छ ।
आलोचकहरूका अनुसार तामयिग त लिपि नै होइन । यो त सम्भोटा नै हो । अर्काको अक्षर
बिगार्ने वा फाल्ने अनि तामयिग भन्ने अधिकार कसैलाई छैन । तामाङ जिभ्रो मैत्री
वर्णहरू फालेका छन् । शब्द लेखनमा पनि सहजताको नाममा जिभ्रो काट्ने काम गरेका छन्
। यो लिपि पढ्न सक्ने भएपनि सम्भोटा पढ्न र लेख्न सकिन्न ।
ती आलोकहरू भन्छन्, तामाङले
तिब्बतमा विकास गरिएको बौद्ध धर्म मान्दै आएको छ । त्यसको सम्पूर्ण छ्योइहरू
सम्भोटा लिपिमा छन् । अब सम्भोटालाई फालेर तामयिगको प्रयोग गर्ने हो भने सम्भोटामा
भएका सबै छ्योइहरूलाई तामयिगमा उतार्नुपर्ने हुन्छ । जुन कार्य असम्भव प्रायः रहेको
छ । यसले तामाङलाई बौद्ध धर्मबाट अलग्याउने काम मात्रै गर्नेछ । गुम्बा शिक्षालाई
कमजोर बनाउनेछ । लामागुरुहरूलाई अप्ठेरोमा पार्नेछ । तामाङ भाषालाई शुद्धिकरण
गर्दै लानुपर्ने ठाउँमा पूरै अशुद्ध लेखनीतिर धकेल्दै लैजाने छ । शायद यिनै विवाद
तथा द्वीविधाकै कारण पनि तामयिग लिपि जन-जनमा पुग्न सकेको छैन ।
ख) सम्भोट
सम्भोट त तामाङ लामागुरुहरूले पनि व्यापक रूपमा प्रयोग गर्दै आएको लिपि हो । यसैलार्इ सम्भोटा पनि भन्ने गरेका पाइन्छन् । यो लिपिको विकासको आफ्नै कथा रहेको छ ।
महायानी बौद्ध धर्मसँग तामाङमा यो लिपिले प्रवेश पाएको हो । नेपालमा रहेका
गुम्बाहरूमा यही लिपिको प्रयोग कायम रहेको छ । तामाङ लामागुरुहरूले पनि यही लिपिको
प्रयोग गर्दै आएका छन् । राज्यसत्ताले गुम्बाशिक्षा तथा पारिवारिक वा गुम्बागत
रूपमा अध्ययन गरेको शिक्षालाई मान्यता दिएको थिएन । जसका कारण यो लिपिका जानकार
लामागुरुहरूसमेत राज्यको नजरमा निराक्षर सावित भएका हुन् ।
यो लिपिलाई देव लिपिको रूपमा
विश्वास गर्ने तामाङ पनि छन् । त्यसैले जथाभावी लेख्ने र फाल्ने गर्दैनन् । यो
लिपिमा लेखिएका छ्योइहरूलाई पवित्र मान्दछन् । गाउँ गाउँका लामागुरुहरूले आफ्नै
परिवारमा बसेर सिक्ने र सिकाउँदै आएका पनि छन् । यसमा धेरै वर्णहरू हुन्छन्; जुन मूल
शब्दको अगाडि वा पछाडि जोडिन आउँछन् । जसले गर्दा सम्भोटामा लेखिएका छ्योइहरू
उच्चारण गर्न विशेष कक्षा नै लिनुपर्ने भएको हो । त्यसरी अगाडि वा पछाडि वर्ण
जोड्नुको तात्पर्य भनेको चाहिँ उच्चारणको कुरा हो । अहिले ती शब्दहरूका सही
उच्चारण गर्न सक्ने लामागुरू वा यो लिपिका विज्ञहरू पाउन निकै गाह्रो रहेको छ ।
यही लिपिका केही वर्ण साथै
अगाडि तथा पछाडि जोडिन आउने वर्णहरूलाई हटाएर तामयिग भनेका हुन् । त्यसर्थमा तानीय
भाषा (टोनल ल्याङ्वेज) भनिएको तामाङ भाषाको स्वरूप अप्ठेरोमा परेको सहज अनुमान
लगाउन सकिन्छ । यो कुरालाई बेवास्ता गर्दै सम्भोटा लिपि भनेको तिब्बती हो भन्ने र
प्रयोग नगर्ने हो भने तामाङमा प्रचलित लामावादकै समाप्ति हुनेछ । यद्यपि, तामयिगका
पक्षधरका अनुसार भने तामयिग सिकेपछि सम्भोटा सिक्न सजिलो हुनेछ । सम्भोटामा रहेको
लेखन समस्या र अनावश्यक वर्ण हटाएकोले तामयिग लिपि राम्रो छ । यही विवादले गर्दा
तामाङ भाषामा लेख्दै आएका र आउनेवालाहरूलाई अलमल्लमा पर्दै आएका छन् ।
ग) देवनागरी
नेपालमा चलेको सरकारी लिपिको
रूपमा पनि चिनिएको लिपि चाहिँ देवनागरी हो । यो लिपि भारतवर्षबाट आयात गरिएको थियो
। नेपाली राज्यसत्ताले यही लिपिलाई जबरजस्त रूपमा स्थापित गराइसकेको छ । हरेक
विद्यार्थीले सरकारी तथा बोर्डिङ स्कूलबाट पाउने शिक्षामा यही लिपि आउने गरेको छ ।
तसर्थ हरेक विद्यार्थीले देवनागरी लिपि जानेका छन् । आम जीवनमा पनि यही लिपिले
स्थान पाएको छ । स्व-अध्येताहरूले पनि प्रायः यही लिपिको प्रयोग गरेका छन् । कथित
नेपाली भाषाको लिपिको रूपमा स्थापित भएकोले पनि यस्तो भएको हो ।
यो लेख पनि यही देवनागरी
लिपिमा रहेको छ । 'देव’ वा देउतासँग जोडिएको लिपिको
रूपमा चिनाउन 'देवनागरी’ भनेको भन्ने
देखिन्छ । संस्कृत भाषा र त्यही भाषामा रचित रचनाहरूमा यही लिपिको प्रयोग गरेका
पाइन्छन् । यद्यपि, तामाङ लगायतका नेपाली आदिवासीले यो
लिपिलाई हिन्दू धर्मावलम्बीहरूका मात्रै भन्न थालेका छन् । त्यसैले तिनीहरूले
आ-आफ्नै लिपिको उत्खनन् तथा निर्माणतिर बढी चासो दिएका छन् । तामाङ राष्ट्रभित्र
पनि देवनागरी लिपिलाई आफ्नो नभएको मानसिकता बढ्दो रहेको छ । कतिपय आलोचकहरूले त
तामाङको कुरा तामाङ भाषामै लेख्नुपर्छ । तामाङ भाषामै लेख्ने हो भने देवनागरी लिपि
काम छैन ।
देवनागरी लिपिमा तामाङ
जिभ्रोलाई उतार्न केही समस्या अवस्य रहेका छन् । देवनागरी लिपि तामाङ जिभ्रोको लागि
निर्मित लिपि होइन । त्यसो त यसलाई किन बोकिरहने भन्ने बहस कायम रहेको छ । तथापि, तत्कालै
चटक्कै छोड्न र छुटाउन सकिने अवस्था छैन । यो लिपि तामाङ जीवनको गहिरार्इसम्मै
प्रवेश गरिसकेको छ । लिपिमै विवाद गरेर बस्ने हो भने तामाङ ज्ञानहरू समाप्त
हुनेछन् । यही तर्क गर्दै; साँच्चैको तामाङ लिपि निर्माण
नभएसम्मका लागि भन्दै यही लिपिको प्रयोग गरिरहेका छन् । अब भएको छोडेर नयाँ बनाउने
वा छँदैछ भनेर अर्काको लिपिगत साँचोमा मिलेन भन्दै आफ्नो जिभ्रो काटिरहने भन्ने
अहिलेको मुख्य चुनौती हो ।
५. तामाङ 'ले' (जिभ्रो)
तामाङको आफ्नै जिभ्रो रहेको छ
। जिभ्रोलाई नै तामाङ भाषामा 'ले’ भनेको हो । तामाङ 'ले’ अन्यदेखि फरक रहेको छ । यसले तामाङको पहिचानमा
थप इँटा थप्ने काम गरेकै छ । यति हुँदा-हुँदै पनि, तामाङ 'ले’ बिग्रँदै गएको छ । कतिपय स्थानका तामाङ 'ले’मा तामाङको गन्ध नै समाप्त भइसकेको छ । कतिमा भने
अझै ब्युँताउन सकिने अवस्था कायम छ । अबको चासो भनको तामाङ जिभ्रोको पहिचान,
उत्खनन् र स्थापना पनि हो । यसलाई मात्रासहित र मात्राविहीन गरी
हेर्न सकिन्छ । मात्रासहितका 'ले’मा
पनि आकार, ह्रस्व, दीर्घ, दीर्घदीर्घ, अगाडि वा पछाडि जोडिने आधा अक्षर,
साथै टोन रहेका हुन्छन् । यिनका बारेमा निम्नानुसार सङ्क्षिप्त
रूपमा चर्चा गरिएको छ ।
क) मात्रा
तामाङ बोली आकार प्रधान रहेको
भन्ने तर्क पाइएको छ । यसप्रकार अकारको उपस्थिति छैन साथै आकार मात्रै छन् ।
यद्यपि, तामाङ 'ले’लाई गहन रूपमा ध्यान दिने हो भने यो बुझाइ गलत
सावित हुन्छ । तामाङ भाषा आकार प्रधान मात्रै होइन । यसले अकारलाई कतै छोडेको छैन
। अकार र आकार दुवै पाइएका छन् । मात्रा भन्नाले शुद्ध स्वर वा वर्ण व्यञ्जनमा
लाग्ने वा लागेका अतिरिक्त चिह्न भन्न सकिन्छ । यसैले वर्णमाला अध्ययनसँगै मात्रा
पनि जोडेर आउने गर्दछन् । व्यञ्जन वर्ण मात्रा विहीन हुन्छ भने त्यसैमा स्वर वर्ण
चाहिँ मात्राको रूपमा थपिने वा जोडिन्छन् । जस्तै : क, ख,
ग, ... ज्ञ मात्रा विहीन् हुन् । त्यस्तैगरी आ,
इ, उ... अः चाहिँ मात्रा हुन् । क् मा अ
जोडिएर क बनेको हुन्छ । क् मा आ जोडिएपछि का हुन्छ । त्यसरी जोडिने अतिरिक्त स्वर
वर्णलाई नै मात्रा भनिएको हो ।
अ) अकार र आकार : मात्रामा पनि ह्रस्व र दीर्घ
हुने गर्दछन् । उच्चारणको लागि छोटो वा थोरै समय लागेमा ह्रस्व मानिन्छ । ह्रस्वका
लागि भन्दा बढी समय लगाएर उच्चारण गर्नुपर्ने भएमा दीर्घ हुन्छ । खासगरी शुद्ध र
पूर्ण अक्षर चाहिँ अकार (मात्रा विहीन) हुन्छ । त्यसैमा उच्चारणका लागि थप समय
दिनु वा लगाउनुपर्ने भएमा त्यसका लागि थपिएको थप मात्रा नै आकार हो । मात्रालाई
बाह्रखरी अन्तर्गत अध्ययन अध्यापन गर्दै गराउँदै आएको देखिन्छ ।
आ) ह्रस्व र दीर्घ : ह्रस्वलाई (Short Sound) र
दीर्घलाई (Long Sound) पनि भन्ने गर्दछन् । ह्रस्वको लागि
भन्दा दीर्घको लागि उच्चारण समय धेरै लाग्ने गर्दछन् । ह्रस्व र दीर्घलाई नै छन्द
साहित्यमा लघु र गुरु पनि भन्दछन् । त्यसक्रममा लघुका लागि '।’
र दीर्घका लागि 'S’ चिह्नको प्रयोग गर्दछन् ।
नेपाली भाषामा ह्रस्व र दीर्घले शब्दको अर्थमा फरक पार्दछ । जस्तै 'फुल’ले कुखुरी वा चरादिको अण्ड (फुल)लाई जनाउँदछ ।
त्यस्तैगरी 'फूल’ले चाहिँ फुलेको
फूललाई इङ्कित गर्दछ । तामाङ भाषामा पनि अकार र आकार भएका हुनाले ह्रस्व र दीर्घ
पनि हुने नै भए; जस्तै : 'चुङ्बा’
(समातेको) साथै 'चूङ्बा’ (बेचेको) भन्ने हुन्छ ।
इ) दीर्घदीर्घ : तामाङ 'ले’मा दीर्घमा पनि अतिरिक्त दीर्घ उच्चारण रहेका हुन्छन् । तिनलाई धेरैजसोले
विर्सग (:) चिह्नको प्रयोग गरेका देख्न सकिन्छ । जस्तै 'लाःबा’
(हावा) । यहाँ 'ला’ पछिको
विसर्ग चिह्नको अर्थ दीर्घदीर्घ हो । स्मरणीय तथ्य चाहिँ देवनागरी लिपिमा विसर्गको
उच्चारण दीर्घ नभएर 'ह’ हुन्छ; जस्तै : अतः (अतह) हुन्छ । यसकारण दीर्घका लागि विसर्ग चिह्नको प्रयोग
सिधै गलत हुन्छ । त्यसकारण दीर्घलाई र्इकार बनाउने साथै र्इकारमा पनि थप र्इकार
लागेको रहेछ भने त्यसका लागि दीर्घ (गुरु)को लागि प्रयोग हुने चिह्न 'S’ को प्रयोग गर्दा राम्रो हुन्छ । जस्तै तबा (भएको), ताबा
(थापेको) ताSबा (नक्कली नाम राखेको) ।
ई) अगाडि जोडिने
आधा अक्षर : नेपालीमा जस्तै तामाङ भाषामा पनि मूल अक्षरको अगाडि थप आधा अक्षर
जोड्ने क्रम रहेको छ । तिब्बती भाषा तथा लिपिमा पनि यो क्रम कायम रहेको छ ।
सामान्यतः नेपाली शब्दमा मूल अक्षरको अगाडि थप एक आधा अक्षर जोडिएका हुन्छन् ।
यद्यपि, तामाङमा दुर्इ
वटा आधा अक्षरहरू जोडिएर आउने गर्दछन् । नेपालीमा दीर्घ मात्रै पाइएका छन् ।
तामाङमा दीर्घदीर्घ पनि पाइन्छन् । त्यस्तैगरी नेपालीमा अपवाद बाहेक एउटा आधा
अक्षर मात्रै जोडिएका हुन्छन् भने तामाङमा दुर्इवटा आधा अक्षर जोडिएका हुन्छन्;
जस्तै : नेपाली भाषामा ज्यान, अन्त्य र
सन्ध्या । तामाङ भाषामा छ्यो (पुग्यो); स्ह्यो (बिहान) ।
कहिले काहिँ लेख्ने क्रममा (सन्स्ह्यूगो’ जस्ता शब्दहरू पनि
आउँछन् । यहाँ आधा अक्षर तीनवटा पछि मात्रै पूर्ण वा मूल अक्षर आएको देखिन्छ ।
ख) तान/टोन
तामाङ भाषालाई तानिया वा टोनल
पनि भन्ने गर्दछन् । उच्चारणका लागि अतिरिक्त समय लगाउनुपर्ने हुनाले नै यस्तो
भनिएको हो । अङ्ग्रेजीको TONE लाई नै नेपालीमा तान भनेका हुन् । यसलाई 'ले’(जिभ्रो/Tongue) पनि भन्न
सकिन्छ । यसैका कारण उस्तै जस्तो लाग्ने एकै शब्दको धेरै अर्थ लाग्ने गरेको हो ।
त्यसैले तामाङ भाषाको अध्ययनको क्रममा वा उच्चारण वा सुन्नेक्रममा निकै सचेत हुनु
पर्दछ; जस्तै : स्ह्युजी र स्ह्यूजी । स्ह्युजीले
देवताआदिलाई आह्वान गर्यो वा बोलायो भन्ने अर्थ दिन्छ । स्ह्यूजी भन्ने बित्तिकै
बस्नुभयो भन्ने हुन्छ । यो लेखन वा वाचन वा सुनाइमा सानो मात्रै कमजोरी भएरमा
अनर्थ हुन पुग्दछ ।
अङ्ग्रेजी भाषामा पनि टोनको
कुरा आउने गर्दछन् । तिनमा सामान्यतः राइजिङ र फलिङ गरी दुर्इ प्रकारका हुन्छन् ।
राइजिङको उच्चारण गर्दा जिभ्रो माथिल्लो तालुतिर ठोक्काउनुपर्ने हुन्छ । फलिङको
बेला भने जिभ्रो तल दाँतमा ठोक्काउनुपर्ने हुन्छ । तामाङमा यी दुर्इका अतिरिक्त थप
एक टोनको पहिचान गरिएको छ । त्यसो चाहिँ दुखाइजन्य वा असहज टोनको रूपमा लिन सकिन्छ; जस्तै : न’म (वर्षात्), न'म (बाला),
'नबा (ओछ्यान परेको) । यहाँ वर्षात्को न’म
राइजिङ टोन हो । त्यस्तैगरी बालाको न'म फलिङ अनि ओछ्यान
परेकोको ’नबा चाहिँ असहज वा दुखाइजन्य अनुभूति बुझाउने टोन
हो । सामान्यतः असहज वा दुखाइजन्य अनुभूति जनाउने टोन राइजिङ नै हुन्छन् । तर
तिनको उच्चारणको क्रममा दिलभित्रैदेखि महशुश वा अनुभूतिसहित भित्रपटि्ट खिचेर
उच्चारण गर्नुपर्ने हुन्छ ।
अ) सामान्य टोन : तामाङ जिभ्रोको अध्ययनक्रममा
सामान्य जिभ्रो (टोन) पनि पाइएका छन् । यो जिभ्रो राइजिङ, फलिङ तथा
दुखाइबोधक वा अहसज टोनभन्दा फरक हुन्छ । यसलाई तल, माथि वा
भित्र उठेको, झरेको वा तानिको हुँदैन । सामान्य अवस्थामा
बोलिने वा उच्चारण गरिने वर्ण नै यस अन्तर्गत पर्दछन् ।
अ) राइजिङ टोन : राइजिङ भन्नाले माथितिर उठेको
भन्ने हुन्छ । उच्चारणको क्रममा जिभ्रो तालुतिर ठोक्किन पुग्दछ । अङ्ग्रेजी
व्याकरणमा यसको बारेमा अध्ययन अध्यापन गर्दै गराउँदै आएको देखिन्छ । तामाङमा यस्ता
प्रशस्त शब्दहरू पाइन्छन् । विशेषतः आश्चर्यजनक वा बोधक शब्दहरूमा यसको प्रयोग
गर्दछन् । आश्चर्य वा सामान्यभन्दा भिन्न अवस्था हुने हुनाले उच्चारणमा पनि
त्यस्तो अवस्था वा अनुभूति दिनुपर्ने हुन्छ । सोहीक्रममा राइजिङ टोनको प्रयोग
गर्दछन्; जस्तै : न’म (वर्षात् !)
इ) फलिङ टोन : तामाङ भाषामा पनि फलिङ टोन रहेको भन्ने कुरा माथि नै
उल्लेख गरिसकिएको छ । आश्चर्यबोधक भन्दा बाहेकको सामान्य अर्थबोधक शब्द वा अक्षरको
उच्चारणमा फलिङ टोनको प्रयोग गर्दछन्; जस्तै : न'म (बाला);
न'मन'म (तोरी) ।
ई) दुखाइ वा असहज टोन : दुखाइबोधक वा अहसजता बोधक
शब्दहरूका उच्चारणका लागि बेग्लै टोनको प्रयोग गर्दछन् । यस्तो टोनको बारेमा खासै
उल्लेख भएको पाइँदैन । तथापि, चाइनिज भाषामा भने धेरै गहिरो तहसम्म पुगेर अध्ययन
गर्ने गराउने क्रम रहेको छ । तिनीहरूले चिनियाँ जिभ्रोलाई चारवटा तहमा राखेका
देखिन्छन् । तिनमा राइजिङ र फलिङ टोन पनि पर्दछन् । त्यो वर्गीकरण तामाङसँग धेरै
नजिक रहेको छ ।
तामाङ
भाषामा दुखाइ वा असहज अवस्थाबोधक उच्चारण गर्ने 'ले’ पनि रहेको पाइन्छ । त्यस्तो अवस्थामा भित्रैदेखि अनुभूतिका साथ श्वास
भित्र तान्दै उच्चारण गर्दछन् । त्यसक्रममा अनुहारले पनि दुखाइ रहेको भन्ने स्पष्ट
पारिरहेको हुन्छ । त्यस्ता शब्द उच्चारणको क्रममा दाँतले पनि शी गर्दै आवाज दिन
सक्छन् । त्यसरी उच्चारण गर्ने बित्तिकै भाषा नबुझ्नेले समेत उच्चारणको क्रम हेरेर
वा सुनेर कर्ताको भाव बुझ्न सक्छन्; जस्तै 'छबा (दुखेको), ’चबा (नाडीको नसामा हुने एक किसिमको
दुखाइ) 'तबा (झारेको) साथै ’सप्पा
(आलोघाउमा पानी वा औषधीले पोलेको) आदि ।
६. सारांश
कुनै पनि भाषाको सहि उच्चारण गर्नु
सबैभन्दा राम्रो हुन्छ । गलत उच्चारणले भाषालाई मार्दछ । तामाङ शब्द उच्चारणमा
तामाङपनको अत्यावश्यकता पर्दछ । सरलता र सहजतको नाममा मौलिकता मास्ने वा सिध्याउने
काम गर्नु हुँदैन । त्यस्तो कार्य क्षम्य हुनै सक्तैन । त्यसैले मानकीकरणको नाममा
स्थानीय वा भेगीय पहिचानलाई मास्नु हुँदैन । मानकीकरण त अकार, आकार ह्रस्व,
दीर्घ, दीर्घदीर्घ लगायतका उच्चारणको लागि नियम
बनाउने क्रममा काम लाग्ने कुरा हो । कतै म्हेमेको अर्थ हजूरबुवा र अखेको अर्थ
जिजूबुवा भन्ने हुन्छ । कतै यसको ठीक विपरीत हुन्छन् । कतै म्हरले घिउ र म’रले सुन त कतै त्यसको ठिक उल्टो अर्थ बुझाउने गरेको छ । कतैका सामान्य
शब्द नै कतैका लागि अश्लिल पनि भएका छन्; जस्तै : 'थोबो’को अर्थ 'टाउको’ हुन्छ तर नुवाकोटको केही भाग तथा त्यसभन्दा माथिका केही भेगमा यसले पुरुष
जनेन्द्रीय अङ्गलाई जनाउँदछ । टाउकोलार्इ 'थोबो’ भन्नेहरूका शब्द संरचनालाई हेर्ने हो भने 'थो’को अर्थ 'माथि’ र 'बो’को अर्थ 'भाग’ भन्ने हुन्छ । यस्ता शब्दहरूका पहिचान गर्न ढिलो गर्नु हुँदैन । अकार र
आकारको नियम साथै ह्रस्व, दीर्घ र दीर्घदीर्घ किन
हुँदारहेछन् भन्ने बारे तामाङ नियमको खोजी गर्नु सचेत अभियन्ताको दायित्व हो ।
त्यसैले सामान्य बोलीचालीका क्रममा जिभ्रोको तह (Normal Speeking Voice
Range) को गहिरो अध्ययन अनुसन्धान आजको पहिलो आवश्यकता भएको छ ।
नजानीकन वा नजान्नेले बोलेको जस्तो होइन; सही उच्चारण गर्ने
र सोही अनुसार लेख्ने प्रचलन चलाउन सक्नुपर्दछ । त्यसैले मात्र भाषामाथि न्याय
गर्न सक्नेछ । तामाङ भाषा र मौलिकतालाई जोगाउनेछ । जीवन, संस्कार,
संस्कृति र भाषाको अन्योन्याश्रित सम्बन्ध बुझ्न साथै केलाउन सक्ने
शक्ति मिल्नेछ ।
धन्यवाद !