आज पनि
गुमाउनेकै क्रममा उभिएको छु ।।
धेरै गुमाएको छु ।
खै के भनुँ-
अब गुमाउन
बाँकी पनि छैन कि जस्तो !
तापनि,
गुनासो छैन
बरु आशा जाग्न थालेको छ ।
गुमाउँदा-गुमाउँदै त
दङ्बो 'तोङ्पा ह्रङ्सिङ’ हुने रहेछु ।
'तोङ्पा ह्रङ्सिङ’ हुन
सजिलो चाहिँ रहेनछ ।
शुभचिन्तकदेखि
दिम्बाहरू सोध्छन्/प्रश्न तेर्स्याउँछन्-
हैन, अब के चाहिँ गुमाउँछस्
भएको त सक्काई सकिस् ।
म भन्छु-
मान्छे आखिर मालिक बन्नेन हो
प्रायः धनको बन्न खोज्छन्
म तन्नमताको !
सबै जिभ्रो टोक्छन्
बिग्रिस् तँ भन्छन्
मुखैभरि थुकुँला झैँ गर्छन् ।
म खुशीले गद्गद् हुन्छु ।
नहुनु पनि केही हुनु हो भन्छु
किनकी,
'तोङ्पा ह्रङ्सिङ’ अर्थात् महाशून्य
हुनु नै मेरो लक्ष्य हो ।
साथीहरू ट्वाँ पर्छन्
म खुशीको मारे
पागल हुन्छु ।।
हो; 'तोङ्पा ह्रङ्सिङ’को
मध्यबिन्दुनेर
अब एक थान
लुङ्नी ग्यडम अड्याउनु छ ।
नयाँ पृथ्वीको सिर्जना गर्नुछ
त्यो पृथ्वीलाई
आदिवासीवादको
'ह्रिग्यालोन्पो’ अर्थात् ओजोन तहले सजाउनु छ ।
जसको शीरमाथि फो लहरू विराजमान हुनेछन्
दायाँ बायाँ लनी र धिनी सजिनेछन्
अघिल्तिर झ्योहो र झ्योमो रहनेछन् ।
नेदा शिप्दाले ऊर्जा भर्नेछन्
पछाडि बसेर सपनाहरूले होस्टेमा हैँसे गर्ने छन्
रिग्जेनहरूले आशिष दिनेछन् ।
वनस्पतिहरू साथी हुनेछन्
जीवजन्तुहरू सहकर्मी हुनेछन्
पर्यावरणीय स्रोत साधनहरू
मेरै अवयव बन्नेछन्
त्यही चाहिँ मेरो आफ्नै
पृथ्वी हुनेछ/संसार हुनेछ
जहाँ षडयन्त्रको सट्टा समयन्त्र हुनेछ ।
वनस्पतिसहतिका प्राणी
पर्यावरण
अनि चराचर जगत्
अधिकारको सवालमा समान रहनेछन् ।
हो; त्यही नै मेरो
नयाँ पृथ्वी/संसार हुनेछ
मेरो आफ्नै संसार हुनेछ ।।
२४ फागुन ’७४
चाबहिल

No comments:
Post a Comment