१. विषय प्रवेश
संसारमा अनेक किसिमका
विश्वविद्यालयहरू छन् । बहुविषयीदेखि एक विषय केन्द्रित पनि छन् । कतिपय
विश्वविद्यालयमा धेरै विद्यार्थी होलान् । कतिसँग सीमित सङ्ख्यामा होलान् ।
तिनीहरूसँग ज्ञानका भोका पनि होलान् । कति पढ्नै पर्ने बाध्यताद्वारा पीडित होलान्
। कति देखावटी विद्यार्थी होलान् । कोही नियमित पढ्छन् । कोही टुरिष्ट-विद्यार्थी
भन्छन् । कोही राजनैतिक अभिष्ट प्राप्तिका लागि पुगेका होलान् ।
प्रायः विश्वविद्यालयका आफ्नै
परिचय बनेका हुन्छन् । कोही बनाउने तरखरमा पनि हुँदा हुन् । कति नाम चलेका
देखिन्छन् । कोही काम चलेका मात्रै देखिन्छन् । कोही सरकारी त कोही गैर सरकारी
हुनुमा अनौठो मानिरहनु परोइन । सबैले विद्यार्थी लिन्छन् । पढाउँछन् । गुनाउँछन् ।
परीक्षा लिन्छन् । पास र फेल छुटाउँछन् । पास भएकालाई प्रमाण-पत्र दिन्छन् । कतिपय
त अदक्ष वा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने कारखाना मात्रै भएका होलान् ।
अनेकानेक विषयहरू पढ्ने पढाउने
क्रम चलेकै छ । कतिले जितेकाका कहानी पढाउँदा हुन् । कतिले हारेकाका इतिहास
खोतल्ने तरिका सिकाउँदा हुन् । आस्था, मान्यता, सिद्धान्त
र दर्शन पढ्नै पर्ने विषय हुन् । विज्ञान र तिनका चमत्कार छुटाउन मिल्ने कुरै भएन
। के छैन र यहाँ ? चाहेको विषय पढ्न पाइन्छ । इच्छा गर्नु
पर्छ । पढ्नका लागि आँट हुनुपर्छ । त्यसपछि उमेरले छेक्ला वा नछेक्ला तर गाँठले
चाहिँ पक्का छेक्न सक्छ । त्यसैले गाँठको जोहो गर्न अनिवार्य मानिन्छन् । जहाँ
र्इच्छा; त्यहाँ उपाय पनि भन्छन् । सक्नेहरूका लागि
छात्रावृत्ति पनि नपाइने नै चाहिँ होइन ।
फेरि पनि, कतिले पढ्न
पाएका छन् । कतिले चाहनालाई दबाएका छन् । पढ्नै पर्ने विषय पढेँ भन्नेहरू पनि
भेटिन्छन् । उपाय नचलेपछि प्रमाण-पत्र लिनैका लागि पढेकाहरू पनि कम्ता भेटिन्नन् ।
आँखाका ज्योति नभएकाले पनि पढ्ने अवसर पाएका छन् । बोल्न र सुन्न नसक्नेले पनि
पढेकै छन् । हो; सबलाङ्गको के कुरा बिकलाङ्ग भनिएकाहरूले पनि
चमत्कार गरेका छन् । चाहना र अवसर मिलाउन सक्नेले पढेरै ठूलो नाम कमाएका छन् । धन
दौलत पनि जमाएका छन् ।
तैपनि, आफूले चाहेको
जस्तो विषय पढ्न पाइएन भन्ने आवाज पनि सुन्दै आएका छौं । अर्काकै कुरा मात्रै पढ्न
बाध्य भयौं भन्ने पनि भेटाएका छौं । अर्कोको नाम र कहानी पढ्दा-पढ्दै वाक्क भएर
हिँडेकाहरू पनि खोज्न सके नपाउने भन्ने छैन । जेहोस्, विश्वविद्यालयहरूका
काम पढाउने हो । जान्नेसुन्नेहरूले विषय पनि आफू अनुकूल तोक्तारहेछन् ।
संसारमा आदिवासी र जनजातिहरू
पनि छन् । तिनीहरूलाई अनेक नामद्वारा चिन्ने र चिनाउने क्रम चलिरहेकै छ । भूमि
खोसुवामा परेका वा अन्यको उपस्थितिका कारण पछि परेकाहरू धेरै छन् । पछि आएकाहरूका कारण तिनीहरू विभेदमा पर्दै आएका
छन् । तिनीहरूका आवाज शून्य भएका उदाहरण पनि पाइन्छन् । अब आदिवासी जनजातिलाई
जिराफ बनाएर राख्न गाह्रो छ । त्यसो गर्नु पनि हुँदैन । तिनीहरू पनि मानवसभ्यताको
हिस्सा हुन् । त्यसैले तिनीहरूका बारेमा विश्वविद्यालयस्तरमा अध्ययन अध्ययापन
अत्यन्तै जरुरी छ ।
आदिवासी जनजातिका जीवनशैली, संस्कार
संस्कृतिका बारेमा एउटा विषय राखेर हुँदैन । तिनका बारेमा विस्तृत अध्ययन आवश्यक छ
। संसारमा स्थापित विविध वादहरू छन् । तिनीहरूमध्ये आदिवासीवाद पनि एक हो । अबको
विश्वमा आदिवासीवादले शीर उठाउन सक्नुपर्छ । अन्यथा सृष्टि र सिर्जना समाप्तिको
अन्त्यबिन्दुमा ठोक्किन पुग्दैछ । मानव र मानवीयता अनि प्रकृति साथै जैविक
विविधताको सुरक्षा गर्नै छ । त्यसका लागि आदिवासीवादको अध्ययन अपरिहार्य छ ।
वास्तवमा संसारमा स्थापित
दर्शनहरुलाई ठ्याक लगाउनसक्ने क्षमता आदिवासीवादसँग मात्रै छ । यिनै तथ्यलाई
हृदयङ्गम गर्दै यो लेखको लागि ''महान् आदिवासी विश्वविद्यालय : सम्भाव्यता सम्बन्धी
एक बहस !!’’ शीर्षक जुराएको छु । हुन त २०६०/०६२ सालतिरबाटै
यो विषय मेरो मनमस्तिष्कमा प्रवेश गरेको थियो । २०७० सालतिरबाट लोकोत्तर लोकवादी
विचार समूहसँगै यो विषयको बारेमा लेख्न थालेको थिएँ । आज आएर बल्ल यही शीर्षकमा
यसरी लेख्ने प्रयास गरेको छु ।
२. आदिवासी विश्वविद्यालयको आवश्यकता
आदिवासी विश्वविद्यालयको
आवश्यकता हो कि होइन भन्नेमा फरक मतहरू हुन सक्छन् । कत्तिका लागि हाँसोको विषय
पनि बन्ला । कत्तिका लागि खुशीको खबर हुन नसक्ला भन्ने छैन । आदिवासी विश्वविद्यालयको
अपरिहार्यतालाई बुझेरै यो प्रयास गरेको छु । विश्वमा धेरै विषयहरूका अध्ययन
अध्यापन गर्ने विश्वविद्यालयहरू बनेका छन् । तिनीहरू आ-आफ्ना विषयहरू पढाउन व्यस्त
छन् । तथापि, आदिवासीका हकमा चित्त बुझ्दो देखिएका छैनन् । वास्वतबमै संसारमा आदिवासी,
जनजाति र आदिवासीइतरका मानिसहरू छन् ।
प्रायः देशहरूमा अन्य
(आदिवासीभन्दा बाहेक)का प्रवेशसँग आदिवासीहरू विस्थापित हुँदै आएका छन् । भन्छन्
नि; वनसाङ्लोले
घरसाङ्लोलाई लखेट्छ । हो; विश्व मानव सभ्यताहरूलाई हेर्ने हो
भने आदिवासीलाई अन्यले खेदेका वा विभेदमा पारेका उदाहरणहरू प्रशस्तै छन् ।
अहिलेसम्मका अधिकांश विश्वविद्यालयहरूले तिनै अन्य (आदिवासी इतर)का विषयलाई
अत्याधिक प्राथमिकता दिँदै आएका छन् । आदिवासीका विषयलाई कुनै एक विषयको अंश
मात्रै बनाएका छन् । भन्नैपर्दा, आदिवासीवादको बारेमा पढाएका
छैनन् । कतिपय विश्वविद्यालयद्वारा अनेक उपाधि प्राप्तहरूका लागि आदिवासीवाद
हाँसोको विषय पनि हुन सक्छ ।
यति हुँदा-हुँदै पनि, आदिवासीवाद
जबरजस्त रूपमा स्थापित हुने क्रम रहेको छ । अष्ट्रेलिया, ताइवान
र क्यानाडाका सरकारले आदिवासीसित क्षमा मागेका छन् । नेपालले पनि आदिवासी
जनजातिसित माफी माग्नुपर्छ भनेर लेख्दै र बोल्दै आएको छु । वि.सं. २०६७ सालमा
सोमसोर नामक साहित्यिक आन्दोलनको घोषणा गरेका थियौं । त्यतिखेर आदिवासी जनजातिका
मुद्दालाई उठाउने उद्घोष गरेका थियौं । पछिल्लो पटक वि.सं. २०७० भदौ २० गते
सिन्धुलीबाट लोकोत्तर लोकवादी विचार समूह नामसहित साहित्यिक आन्दोलनको घोषणा गरेका
थियौं । त्यसपछि स्पष्ट शब्दमा आदिवासीवादको कुरा गर्न थालेका थियौं । सोही समय
व्यानरमै आदिवासीवाद शब्द लेखेका थियौं । आदिवासीवाद सम्बन्धमा विशेषज्ञ
व्यक्तिहरूका समुपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम गरेका थियौं ।
हरेक पाइलाहरू शुन्यबाट थाल्नु
त छँदै थियो । कतिपय साथीहरूले उपहासको पात्र मानेका पनि अझै याद आइरहेकै छ ।
यस्तै समस्याबीच पनि आज यो लेख तयार पारेको छु । संसारमा आदिवासीवाद हुनसक्छ भन्ने
कुरामा धेरैलाई विश्वास छैन । थोरैले विश्वास गरेका छन् । तथ्यबोध गर्दै लागि
परेका छन् । नेपालमै आदिवासीवादमा आधारित राजनीतिका लागि कम्बर कस्दै गरेकाहरू पनि
देखिएका छन् । नोमचोम्स्की जस्ता विश्लेषकले त अबको संसारलाई बचाउने ज्ञान र
क्षमता आदिवासीहरूसँग मात्रै रहेको भनी लेखिसकेका छन् ।
यस्तो बेलामा पनि
आदिवासीवादमाथि शङ्का गरिरहने हो भने केही गर्न सकिन्न । बिना शङ्का आदिवासीवादलाई
स्थापित गराउनेतिर लाग्नु आजको पहिलो आवश्यकता हो । कति मान्छेहरू छन्; जो आदिवासीवाद
भन्ने बित्तिकै गैरआदिवासीलाई कता राख्छौ भन्दै बालहठपूर्ण प्रश्न तेर्स्याउनै
व्यस्त छन् । आदिवासीवाद भनेको गैरआदिवासीलाई खेद्ने वाद होइन । प्राणी (जीव तथा
वनस्पति), प्रकृति र चराचर जगत्को पक्षमा वकालत गर्ने विषय
हो । तिनका बारेमा अध्ययन, अनुसन्धान र उत्खनन् गर्ने ज्ञान
हो ।
यो त चेतनामाथि चेतनाको
सिर्जनशील हस्तक्षेप हो । हामी सबै सतत्, सार्वभौम र समृद्ध छौं भन्ने तथ्यबोध
गराउने उपाय पनि हो । निषेध विरुद्ध निषेधहीन निषेधवाद हो । द्वन्द्व निरुपणको
रचनात्मक रूपान्तरणको नियम हो । समतामूलक बहुआयामिक बहुलतावादको अभ्यास पनि हो ।
तथापि, यो तथ्यलाई बुझाउन सकेको छैन । आदिवासीहरू आफैँमा
समस्या होइनन् । यिनीहरू द्वन्द्व र समस्याका समाधान हुन् । यिनका ज्ञान र
विश्वदृष्टिकोण अबको विश्वको प्राण तत्व हो । संसारलाई सही दिशा र गति दिनु सबैको
पहिलो कर्तव्य र दायित्व हो । यसै कारण महान् आदिवासी विश्वविद्यालयको अपरिहार्यता
महशुश गरेका छौं ।
३. आदिवासी विश्वविद्यालयको चिनारी
आदिवासी विश्वविद्यालय भनेको
के कस्तो हुनेछ ? यसलाई कसरी बुझ्ने र बुझाउने ? यसले
के कस्ता विषयलाई समेट्ने छ भन्ने प्रश्न उठ्ने नै भयो । वास्तवमा हरेक मानव
समुदाय कुनै न कुनै स्थानको आदिवासी हुन्छन् । आफ्नो स्थान छोडेर अर्काका आवादी
क्षेत्रमा प्रवेश गरेपछि उसको आदिवासीत्व समाप्त हुन्छ । विश्वमा धेरै भूमिपुत्र
आदिवासीहरू छन् । तिनलाई स्थान तथा मान्यताका आधारमा विभिन्न नामद्वारा चिन्ने र
चिनाउने परम्परा रहेको छ । संसारका प्रायः आदिवासीहरू पछि प्रवेश गरेका
गैरआदिवासीहरूद्वारा समस्यामा फसेका छन् ।
त्यसपछि आदिवासीका
ज्ञानप्रणाली वा पद्धति, सिद्धान्त तथा दर्शनहरू माथि प्रहार भएका छन् । तहसनहस
पारेका छन् । आमरूपमा नश्लीय नरसंहारमा पर्दै आएका छन् । तिनका भूमिसँगै, भाषा, धर्म, संस्कार, संस्कृति, साहित्य, कला र
इतिहास लगायतका सबै चिज लुटिएका छन् । परिणामतः कतिपयले आफ्नो वंश भन्न समेत
पाएनन् । तिनै महान् आदिवासीका सीप, ज्ञान, मान्यता, पद्धति, सिद्धान्त र
दर्शनलगायत सम्पूर्ण विषयवस्तुको गहिरो अध्ययन गर्ने गराउने विश्वविद्यालय नै
महान् आदिवासी विश्वविद्यालय हो । यसले विश्वमा रहेका आदिवासीका बारेमा अध्ययन
अनुसन्धान गर्नेछ । तिनीहरूले निर्माण तथा स्थापित गरेका मूल्य र मान्यताको
उत्खनन्, संरक्षण, सम्बर्द्धन र
विकासका लागि विद्यार्थीलाई शिक्षा दिनेछ ।
आदिवासीलाई हेर्ने दृष्टिकोणमा
रहेका खराबीलाई मिलाउनेछ । एक विश्व एक मानव; अनि मानवसँगै जीव, वनस्पति
र प्रकृति लगायतका सबैलाई समान हकाधिकार दिलाउनुपर्छ भन्ने नयाँ शिक्षा दिनेछ ।
आदिवासी र आदिवासीवादलाई विभिन्न विषयहरूमा छुटाएर शुक्ष्मातिशुक्ष्म साथै अति गहन
अध्ययन गराउनेछ । विश्व मानवसभ्यतामा नयाँ दर्शन स्थापित गर्ने गराउनेछ । मानवलाई
साँच्चैको मानव हुन सिकाउने छ । त्यसका लागि आवश्यक ज्ञान दिनेछ ।
अहिलेका विश्वविद्यालयहरूमा
पढाउने शैली लगायत विषय छनौटमा गम्भीर त्रुटीहरू छन् । तिनीहरूलाई केलाउने छ ।
नमिलेकालाई मिलाउने छ । मिलेकामा आदिवासी ज्ञान र दर्शनद्वारा प्राण भर्नेछ ।
अध्ययन अध्यापनको संसारमा नयाँ युग थप्नेछ । साँच्चैको उचित दिशानिर्देश गर्नेछ ।
कुनै एक स्थानमा बसेर अध्ययन गर्ने परम्पराको अतिरिक्त विभिन्न स्थानहरूमा पुर्याएर
अध्ययन पूरा गराउने विधिको वास्तविक शुरूवात गर्नेछ । अहिलेका विश्वविद्यालयहरूले
अवलम्बन गरेका भन्दा चुस्त र उचित तरिकाले शिक्षा दिनेछ । अध्यापक, अध्ययनकर्ता
साथै समुदाय (विश्व समुदाय समेत)का बीचमा रहेका खाडललाई पुर्नेछ ।
यसको शुरूवात नेपालबाटै हुनेछ
। तसर्थ, बाहिर पढ्न
जाने भन्दापनि बाह्यलाई नेपालमा पढ्न निम्तो दिनेछ । सम्भव्यताको आधारमा बिस्तारै
यसको विस्तार गर्दै लगिनेछ । अहिलेको अशान्ति, आक्रान्त साथै
त्रासद् संसारलाई परिवर्तन गर्न सक्ने ज्ञानले युक्त जनशक्ति जन्माउनेछ । यो धर्तीको
आयू बढाउने अनि यसलाई स्वर्ग बनाउन सक्ने ज्ञान, ज्ञानी र
बाटो दिनेछ । साँच्चैको नयाँ संसारमा प्रवेश गर्ने गराउनेछ । विकासको नाममा हुँदै
आएका बिनासलाई रोक्ने छ । प्राकृतिक स्रोत साधनको दोहन भन्दापनि सुरक्षण गर्दै
बाँच्न र बचाउने ज्ञान दिनेछ ।
यतिखेर विश्वविद्यालय तथा
महाविहारहरूका इतिहासलाई पनि केलाउन जरुरी छ । यसरी हेर्दा, भारतवर्षमा
हिन्दूहरूले गुरुकुल परम्पराको विकास गरेका देखिन्छन् । बौद्धहरूले विहारको
अवधारणा ल्याए । विशेषगरी पश्चिमाहरूले पिन तिनै महाविहारहरूबाटै सिके । त्यसपछि
युनिभर्सिटी नामाकरण गरे । त्यसैलाई नेपालमा भने विश्वविद्यालय भन्ने गरेका छौं ।
यो लेखको शीर्षकमै आदिवासी विश्वविद्यालय भनेको छु । यसको नेपाली संस्करण चाहिँ 'महान् आदिवासी विश्वविद्यालय’ हुनेछ । छोटकरीमा 'आदिवासी विश्वविद्यालय’ भन्न सकिनेछ । अङ्ग्रेजी
संस्करणका लागि भने 'The Great Indeginous University’ भन्नेछ
। छोटकरीमा 'Indeginous University (I.U.)’ मात्रै भन्न
सकिनेछ ।
४. यसअघिका केही प्रयासहरू
संसारकै शुरूवाती चरणमा
तक्षशीला, नालन्द,
ओदन्तपुरी लगायतका महाविहारहरू बनेका थिए । यहाँ 'महाविहार’ साथै 'विश्वविद्यालय’ शब्दका
बारेमा पनि केही कुरा बुझ्नैपर्ने हुन्छ । विशेषतः बौद्धदर्शनको विकासपछि
महाविहारहरू बने । तिनीहरूले विद्यार्थी लिएर पढाउन थाले । पछिल्लो समयमा
इशार्इहरूले विश्वविद्यालयको अवधारणा बनाएका भन्ने देखिन्छ । त्यसक्रममा इटालीमा
सन् १०८८ मै University of Bologna स्थापना गरेका थिए ।
मुस्लिमहरूले भने इजिप्टमा सन् ९७० मै Al-Azhar University स्थापना
गरेका थिए । अहिले संसारमा प्रशस्त विश्वविद्यालयहरू सञ्चालनमा रहेका छन् ।
भारतबाट गुरुकुल परम्पराको
शुरूवात भएको थियो । पछिल्लो समयमा बौद्धसँगै महाविहारहरू स्थापित भए । तिनै
महाविहारहरूलाई पनि विश्वविद्यालय वा युनिभर्सिटी भन्ने गरेका छन् । तिनीहरूले
विश्वमा अनेक ज्ञानलाई आफ्नो विषय बनाएका थिए । नेपाली इतिहासमा वि.सं. २०१६ सालमा
मात्रै त्रिभूवन विश्वविद्यालयको स्थापना भएको थियो । यद्यपि, नेपाल संस्कृत
विश्वविद्यालय भने वि.सं. २०४३ मा भएको देखिन्छ । डा. धनप्रसाद सुवेदी 'श्रमिक’ लेख्छन्, ''टंकबहादुर
रार्इको सम्पादकत्वमा प्रकाशित हुने 'पारुहाङ’ मासिकमा २०३७ सालतिरै ’किरात भाषाका विभिन्न
शाखाहरूका अनुसन्धान, संरक्षण र विकासको लागि किरात
विश्वविद्यालय स्थापना गरिनुपर्छ’ भन्ने आह्वान छापिएको थियो
।’’
तथापि, नेपाली
परिवेशमा पनि अहिलेका विश्वविद्यालयले अपनाएका पठनशैलीमाथि प्रश्नहरू उठेका
देखिन्छन् । अध्ययन शैली नै नमिलेको वा अपूरो रहेको भन्ने देखिएका छन् । नेपाली
विश्वविद्यालयहरूले अदक्ष वा अर्धदक्ष जनशक्ति मात्रै उत्पादन गर्दै आएका भन्ने
आरोप लगाएका पनि पाइन्छन् । 'ब्रेन डेन’द्वारा नेपाल ग्रस्त छ । यसको दोष पनि विश्वविद्यालय साथै शिक्षा नीतिलाई
लगाउँछन् । बुर्जुवा शिक्षा भन्ने आरोप त सामान्य नै भइसकेको छ । आवाजविहनीहरूका
आवाज सुनेका छैनन् । इतिहास पनि गलत छन् । सही इतिहास लेख्ने क्रम चलाउन आवश्यक
भएको छ ।
यसका लागि हालका
विश्वविद्यालयहरूले नसक्ने दाबी गर्नेहरू पनि छन् । त्यसैले पनि हुनसक्छ; माथि उल्लेख
गरिएको 'किरात विश्वविद्यालय’ स्थापनाको
लागि केही वर्षअघि गोपाल किराँती लगायतका केही अग्रजहरूले प्रयास गरेका थिए । उक्त
प्रयास सफल हुन सकेन । यिनै परिस्थितिजन्य अवस्थाको खासै वास्ता गरिएन । लोकोत्तर
लोकवादी विचार समूहको गठनपछि भने आदिवासी विश्वविद्यालयको कुरा अन्यका सामुन्ने
बोल्न सक्ने भएको हुँ । केही साथीहरूसँग यस सम्बन्धमा कुराकानी गर्दै थिएँ ।
विशेषगरी धनप्रसाद तामाङ अस्यङसँग कुरा
भएका थिए । एकपटक अचानक फेसबूक वालमा महान् आदिवासी विश्वविद्यालय स्थापना
गर्नुपर्छ भनेर लेखेकै थिएँ ।
त्यसको केही दिनपछि अमृत
योन्जन-तामाङ अस्यङले बौद्धमा भेट हुँदा केही कुरा राख्नु भएको थियो । उहाँका
अनुसार उहाँका केही साथीहरू ''इथ्निक स्टडिज्’’को लागि
प्रयासरत थिए । त्यसका लागि कुनै सम्बन्धन दिने विश्वविद्यालयको खोजीमा थिए ।
उहाँले मेरो कुरा सुन्नु भएपछि, अहिले सम्भव छैन भन्नु भएको
थियो । मेरै जीवनकालमा हुनेछ भनेर भन्न सक्तिँन । अहिले हामीले लेखेर मात्रै
राखेमा पनि पछिल्ला पुस्ताका लागि सहज हुनेछ ।
आदिवासी विश्वविद्यालयहरू
प्रशस्तै छन् भनेर आर.के.जीले भनेका थिए । त्यस अनुसार नेटमा खोज्दा खासै पाइँन ।
खोज्ने क्रममा नाइजेरियामा University of Nigeria, Nsukka नामक विश्वविद्यालय
भेट्टाएँ । सन् १९५५ मा स्थापित उक्त विश्वविद्यालयलाई ''The University of
Nigeria, Nsukka was the second university to be established in the country but
it was the first full-fledged indigenous and independent university in Nigeria.
(https://nigerianfinder.com/first-universities-in-nigeria-oldest)’’ भनेका रहेछन् ।
उल्लेखित विश्वविद्यालयले
अमेरिकन शिक्षण पद्धतिलाई अवलम्बन गरेको भन्ने देखिएको छ (https://en.wikipedia.org/wiki/University_of_Nigeria,_Nsukka)। यिनै तथ्यहरूका आधारमा पनि Indeginous University स्थापना गर्नैपर्ने भन्ने प्रमाणित हुन्छ । आदिवासी विश्वविद्यालय बिना
अन्यबाट सम्बन्धन लिएर आदिवासीका कुरा पढाउने वा अन्यले आदिवासी विद्यार्थीलाई
सहयोग पुर्याउने जस्ता कुराले मात्रै हुँदैन । त्यसकारण विश्वका आदिवासी मात्रै
नभएर मानव समुदायले नै आदिवासी विश्वविद्यालयको लागि आवश्यक कदम चाल्न ढिलो गर्नु
हुन्न ।
५. सम्भावना र चुनौती
आदिवासी विश्वविद्यालयको
सम्भाव्यता बढ्दै गएको छ । यसका लागि चुनौती चाहिँ छैनन् भन्ने हुँदै होइन । अनेक
चुनौतीहरू देखिने छन् । समस्यादेखि डराएर हुँदैन । डटेर सामना गर्नुको विकल्प छैन
। यसले नेपाललाई मात्रै नभएर समग्र संसारलाई नै नयाँ गति, दिशा साथै
समयतिर लैजानेछ । यतिखेर पृथ्वीको दिन गन्ती थालेका छन् । त्रासद् भविष्यले
सताउँदैछ । संसारमा हाहाकार मच्चिँदो छ । ओजोन तहमा प्वाल पर्न थालेको पनि धेरै
भइसक्यो । हिमालको हिउँ पग्लन थालिसकेका छन् । तापक्रम बढिरहेकै छ । नयाँ-नयाँ
रोगव्याधिहरू देखापर्नेक्रम तिब्र हुँदैछ । शान्ति भङ्ग हुँदैछ । प्राकृतिक
प्रकोपको भय दैनदिन बढ्दै गइरहेको छ । भोकमरी र अमानवीय व्यवहारले सीमा नाघ्दैछ ।
संसारमा शान्तिको खडेरी पर्दैछ
। त्यसैले अमनचयनको तिर्खा बढ्दैछ । मानवीयता आकाशको फल हुँदैछ । सत्ता तथा
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घ संस्था तथा मिशनहरू सङ्गठित अपराधीका चङ्गुलमा
फस्दैछन् । यसैले यहाँ शान्ति स्थापना पहिलो आवश्यकता भएको छ । मानवीयताका लागि
कयौं बुद्धहरूका जन्म आवश्यक महशुश गर्दैछौं । नश्लीयताको आधारमा तेरो र मेरो भन्न
छोडेर मानवीयताको पक्षमा वकालत गर्नु छ । हरेक प्राणी (वनस्पतिसहित), पर्यावरण साथै
चराचर जगत्को समेत समान साथै बराबरी अधिकार स्थापना गर्न सक्ने ज्ञानको आवश्यकता
खडि्कएको छ । यी सबैका लागि एक मात्र उपाय भनेको ज्ञान निर्माण नै हो । त्यसैका
लागि विश्वविद्यालय वा महाविहार वा त्यस्तै एक स्वतन्त्र संस्थाको आवश्यक छ ।
यस्तो अवस्थाबीच स्थापित हुने आदिवासी विश्वविद्यालयले नश्लीयताभन्दा माथि उठेर
प्राणी, पर्यावरण र चराचर जगत्का यावत् अवयवहरूलाई समान
अधिकार दिलाउन सक्ने ज्ञान र बाटो दिनेछ ।
यसप्रकार महान् आदिवासी
विश्वविद्यालयको सम्भाव्यता दैनदिन बढ्दै गइरहेको छ । यसक्रममा यसले तरह-तरहका
चुनौतीहरूका सामना गर्नेछ । यात्राको क्रममा आदिवासी भन्ने शब्द सुन्ने बित्तिकै
कतिपयले ताली दिनेछन् । कतिपयले गाली दिनेछन् । साँच्चैमा कदम चालेपछि कतिले भाँजो
हाल्नु नै आफ्नो धर्म सोच्न बेर लगाउने छैनन् । नेपाली राजनैतिक जगत्मा कतिपयले
आफ्नो मुटुमा काँढो रोपिँदैछ भनेर बुझ्ने छन् । त्यस्ताहरूलाई समेत स्पष्ट, आश्वस्त साथै
विश्वासमा लिन सक्नु पर्नेछ । यो त आदिवासी जनजातिका लागि मात्रै हुँदै होइन भनेर
बुझाउन निकै गाह्रो छ । तथापि, सत्य (अझै तथ्य) यही नै
भएकोले एकदिन अवश्य सफलता मिल्नेमा कुनै द्वीविधा छैन । हाम्रो यही जीवनमा होला या
न होला पनि; तर भविष्यमा यसको कुनै विकल्प हुने छैन । अन्ततः
यसैलाई सत्य साथै तथ्यको रूपमा बुझ्ने छन् । साँच्चैमा आदिवासी विश्वविद्यालय
स्थापना हुनेछ ।
चुनौतीकै कुरा गर्दा
सर्वप्रथमतः मान्यता वा स्वीकृतिको कुरा आउनेछ । त्यसक्रममा नेपाल सरकारले देला र
भन्ने शङ्का पनि छँदैछ । त्यसपछि आर्थिक पक्ष असामान्यत स्वरूपमा उभिनेछ ।
पाठ्यक्रम विकासका लागि आवश्यक जनशक्ति निकै कम रहेको छ । स्रोत साधनको प्रशोधन, परिमार्जन
साथै परिष्करण गर्नु भनेको फलामको चिउरा समान हुन बेर छैन । कुनै एक स्थानमा एउटा
कलेज चलाएर मात्रै केही हुने छैन । विश्वविद्यालय चलाउने कुरा सामान्य हुँदै होइन
। विश्वव्यापीकरण अझै ठूलो खड्को सावित हुनेछ । तथापि, काँडाबीचै
कोमल फूल फुल्छन् । ढुङ्गामा पनि रूख उम्रन्छन् । पानीबाटै आगो निस्कन्छन् ।
कायापलट भन्ने पनि हुन्छ नै । त्यसका लागि उपयुक्त पात्रहरूलाई समयले अवस्य
जन्माउनेछ । यसकारण पनि महान् आदिवासी विश्वविद्यालय सम्भव छ ।
यसका लागि, महान्
पुर्खाहरू हाम्रा सामुन्ने प्रकट हुनेछन् । 'फो ल’ (कुल/इष्टदेवता)हरू हाम्रा 'चिवा’ (शीर)मा रहनेछन् । घाम र जून हाम्रा दायाँ-बायाँ सजिने छन् । पितृभूमि
(मातृभूमि)ले आवश्यक ऊर्जा दिनेछ । भाषा, संस्कार, संस्कृति, कला तथा साहित्यलगायतले प्रविधिको स्वरूप
लिनेछन् । हाम्रा विश्वास, मान्यता, सिद्धान्त,
दर्शन तथा विश्वदृष्टिकोणहरू मनचिन्ते यान बन्नेछन् । वनस्पति
सहितका प्राणीहरू हाम्रा योद्धा हुनेछन् । हाम्रा सदिच्छा, चाहना,
प्रार्थना तथा कामनाहरू साकार स्वरूप लिने सपना हुनेछन् ।
प्रकृतिवाद हाम्रो लक्ष्य हुनेछ । आदिवासीवाद हाम्रो आधार हुनेछ । चराचर जगत्
हाम्रो सत्ता हुनेछ । त्यसैले महान् आदिवासी विश्वविद्यालय स्थापना कुनै पनि हालतमा
हुनेछ ।
६. अनुरोध
यति कुरा गरिसकेपछि केही
अनुरोध गर्ने अधिकार पाएँ जस्तो लागेको छ । यतिखेर आदिवासी विश्वविद्यालय
स्थापनाको कुरा मात्रै गर्न खोजेको हुँदै होइन । कुरै त हो भनेर मात्रै यसरी
प्रस्तुत् गरेको भनेर पनि नबुझ्नु होला । गफाडीको गफ भन्ने लागेछ भनेपनि एक पटक
पुर्खाका काखमा बसेर विचार गर्नु होला । सयमा उनान्सय मनले गलत भनेछन् भनेपनि एक
मनकै कुरामा विश्वास गर्नु होला । पङ्क्तिकार आफैँ हिरो हुने त हो नि भन्ने भावना
नराख्नु होला ।
बरु आफैँलाई यस महान् कर्मको
हिरोको रूपमा राखेर हेर्नु होला । शङ्का होइन विश्वास गरेर हेर्नु होला । आफ्नो
तर्फबाट सहयोग गर्न नसके पनि ठिकै छ । गलत कुरा गरेर अन्यलाई भड्काउने कर्म
नगरिदिनु होला । तिङ्दो फो ल; कुलदेउता; इष्टदेवतादेखि लिएर
महान् पुर्खालाई साक्षी राखेर विश्वास दिलाउन चाहेको छु । यत्ति नै भनेँ । बाँकी
आगमी दिनमा लेख्ने नै छु । यसमा यहाँहरूका सहयोगी हात, समय
तथा मान्यताको अपेक्षा लिएको छु । धन्यवाद !!
- खोजराज गोले

No comments:
Post a Comment