Wednesday, May 15, 2019

मेरी हजूरआमा !!!


मेरी हजूरआमा
मेरी हजूरआमाको छायाँ हेरेरै
यो कथित देश आरोप लगाउँछ
तिमी औँठाछापे हौ !!
तर
मेरी हजूरआमा बुझ्नु हुन्न-
औँठाछापे भनेको के हो ??

एक समयको घटना हो 
मेरो आँखा र टाउको दुखाई बढेको थियो ।
म अस्पताल जान चाहान्थेँ 
डाक्टरद्वारा जचाउन चाहान्थेँ ।।

मेरी हजूरआमाले-
आफ्नै भाषा र शैलीमा
केस-स्टडी गर्नु भएपछि
धिनीको दोष भन्नु भएको थियो
धिनीस्हुङ रप्तोSला भन्नु भएको थियो !!

कथित देशले बाँडेको
शिक्षाको प्रकाशद्वारा अन्धो भएकोले हुनुपर्छ
त्यतिखेर मलाई
मेरी हजूरआमा साँच्चै औँठाछापे नै लागेको थियो ।।

त्यसपछि धाएको थिएँ
शिविरदेखि अस्पतालसम्म 
लाममा उभिएर कयौ घण्टासम्म
आफ्नो नाम लेखाएको थिएँ 
डाक्टरलाई रोग पहिचान गरिदिन भेटी चढाएको थिएँ ।।

त्यसपछि धाएको थिएँ
शिविरदेखि अस्पतालसम्म 
लाममा उभिएर कयौ घण्टासम्म
आफ्नो नाम लेखाएको थिएँ ।
डाक्टरलाई रोग पहिचान गरिदिन भेटी चढाएको थिएँ ।।

तर 
डाक्टरहरूले रोग निको पार्नुको सट्टा
अन्यौलताको भूमरीमा फसाइदिएका थिए ।।

अन्ततः
जे पर्ला भन्दै-
हजूरआमाको सल्लाहसँगै
चोहोदेखि प्रधानपञ्चसम्म हुनु भएको
प्रधानपञ्च हुँदैखेरि नै
भित्र-भित्रै कम्युनिष्ट बन्नु भएको
मेरो हजूरबुवाको मान्यतालाई जोडेर
नयाँ निष्कर्षमा पुगेको थिएँ
चेञ्जेवल-चश्मा किनेको थिएँ ।।

चट्ट चश्मा लगाएपछि
जो जसले जे-जे अड्कल काटेपनि
मेरो समस्या समाधान भएको थियो ।।

त्यसपछि 
घटनाको समीक्षा गर्दै जाँदा-
तथ्याङ्कहरूलाई प्रशोधन गर्दै जाँच्दा
मेरो हाइपोथेसिसले फेल खाएको थियो ।।

सामान्यीकरण गर्दै;
निष्कर्ष निकाल्ने क्रममा पो पत्तालागेको थियो
मेरी हजूरआमा त
औँठाछापे हुनुहुन्न रहेछ !!
हो; मेरी हजूरआमा
डाक्टरभन्दै अब्बल विशेषज्ञ हुनुहुँदोरहेछ ।

शब्दार्थ :
धिनी : घाम
धिनीस्हुङ : घामको नाममा विधिवत् रूपमा एक किसिमले भाकल गरेर राखेको कुखुरा । भाकल गरेर कुखुरा राख्ने कार्य ।
रप्तोSला : राख्नु वा स्थपित गरेर राख्नुपर्छ ।

३० बैशाख '७६
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...