अराष्ट्रिय तत्त्व
उहिल्यै मेरा पुर्खाका शीर गिँडेर
मेरै ''नेSपा ल''लाई अपभ्रंसित गरेर
'नेपाल' बनाएपछि
शुरू गरेका रहेछन्-
''प्रथमराष्ट्र''माथि अमानवीय दमन/शोषण !!
त्यसैलाई नेपाली महान् गाथा भनेर
लय हाली-हाली घोकाइरहेछन्-
एक हूल ब्वाँसा
राजनीतिको खोल ओढेर !!
त्यही नेपाल भन्ने ठाउँबाट आएका
के जाति पो भन्ने नेताले
प्रशिक्षण दिएपछि अङ्कुरित भएको हो
म लगायत गाउँलेका क्रस्स्यामा पनि
राजनैतिक चेत !!
त्यसपछि परिवर्तनको नाममा
पहिरो गएको थियो ।
त्यही पहिरोमा परेर
पुरिएका हुन् मेरा
लठिम, ह्युलठिम, थुमठिङ र ग्यलठिम
रिमठिम, ठिमपे र ठिमठिगर !!
त्यहीक्रममा ओझेल परेका हुन्
मेरा लबोन र डेबोम्बो
अम्ची, तम्बा र चोहो
अनि
गन्बा, मुइमू साथमा ह्युल्बा !!
त्यसपछि बेवारिसे भएका हुन्
मेरा- ग्योई, गोइलो, छ्योइ र स्ह्युगसँगै
तामाङ म्हरमेनछन आफैँ !!
त्यही पहिरोले बगाएको थियो
मेरो झ्योहो, झ्योमो अनि
नेदा, सिप्दाका थानहरू !!
राजनैतिक चेतको उत्कर्षसँगै
तिनीहरूका लहैलहैमा लागेर
फालेको थिएँ-
आफ्नै ''ह्रुइगी फो ल''
साथमा ''रिग्जेनदङ'' पनि !!
नगुमाउनु गुमाइसकेपछि
नलुटिनु लुटिइसकेपछि
नफाल्नु फालिसकेपछि
बल्ल चेत खुलेको हो/तथ्य पत्तालागेको हो-
आफ्नै केसा/ठुङ्सा/बप्सामा
पत्तै नपाइकन आफैँ लुटिएको तथ्य !!
त्यसरी तथ्य उजागर भएकै दिनदेखि
राजनीति विरोधी भएको हुँ !
कसै-कसैका नजरमा ''अराष्ट्रियतत्त्व'' भएको हुँ !!
जो-जसले जे-जसरी
बुझे/नबुझे पनि
निरन्तर आन्दोलनमा जुटेको छु !
''प्रथमराष्ट्र''को पक्षमा
राजनीतिको विरुद्धमा उठेको छु !!
शब्दार्थ :
नेSपा ल : आफैँ उत्पत्ति भएको देउता, स्वयम्भू ।
प्रथमराष्ट्र : पहिलो राष्ट्र, आदिवासी, इन्डिजिनिष्ट ।
क्रस्स्या : दिमाग, गिदी
लठिम : देउताको पूजा विधि
ह्युलठिम : गाउँले नियम/विधान
थुमठिम : क्षेत्र विशेष नियम/विधान
ग्यलठिम : शहरको नियम/विधान
रिमठिम : संस्कृति, संस्कार
पेठिम : कार्यविधि
ठिमठिगर : विधिशास्त्र
लबोन : फो ल (कुल)लाई बुझाउने पुजारी
डेबोम्बो : उपचारक, झाँक्री
अम्ची : जडिबुटी विशेषज्ञ
तम्बा : तामाङ संस्कृति, इतिहास तथा काव्यसम्बन्धी ज्ञाता, एक सामाजिक सांस्कृतिक संस्था ।
चोहो : न्यायसम्पादन गर्ने व्यक्ति, न्यायिक संस्था
गन्बा : गन्यमान्य, अग्रज पुरुष
मुइमू : गन्यमान्य, अग्रज नारी
ह्युल्बा : गाउँले
ग्योइ : भाषा
गोइलो : पोशाक
छ्योइ : धर्म, ग्रन्थ, धर्मग्रन्थ, पुस्तक
स्ह्युग : मुहारको बनौट
म्हरमेनछन : सभ्यता
झ्योहो : पवित्र पुरुषशक्ति
झ्योमो : पवित्र नारीशक्ति
नेदा सिप्दा : सिमे भूमे भनेजस्तै । जमीनसँग जोडिएका शक्तिहरु ।
ह्रुइगी फो ल : ह्रुइ (थर)सँग सम्बन्धित देउता, कुल ।
रिग्जेन दङ : वंशवृक्ष, वंशावली, पितृका नामावली ।
केसा : जन्मस्थल
ठुङ्सा : उत्पत्तिस्थल
बप्सा : आवाद रहेको स्थल
२८ बैशाख '७६
चाबहिल