जन्मनु अगावै- छोरी भएकै कारण
हाम्रा घाँटी सेरेका
ए हत्यारा (बाउ आमा ?)हरू हो !
आमा भएर पनि भ्रुणहत्यामा रमाउनेहरू हो !
खुनको दाग छोप्न मुखमा मखुण्डो लगाएर;
ताण्डप नृत्य गर्दै रमाउने हत्यारा बाउ हो !
छोराकै आमा बाउ बन्ने रहर गर्नेहरू हो !
नाजायज सम्बन्ध कायम गरी;
नजन्मँदै भ्रुणहत्या गर्दै- इज्जत चम्काउनेहरू हो !
भन; हाम्रो अपराध के थियो ?
के आमाको गर्भबाट जन्म लिएर
हाँस्ने/खेल्ने र लोक/परलोक सुधार्ने हाम्रो अधिकार थिएन ??
याद गरे- हामी अतृप्त आत्माहरू !
यिनै प्रश्नहरूको झण्डा उठाउँदै-
तिमीहरूले तर्नैपर्ने वैतरणीको भव-सागरमा
गोही बनेर घुम्दैछौं । तिमीहरूकै पर्खाइमा छौं ।।
गाईको पुच्छर समातेर तर्दै आऊ ।
या त पैसाको खोलो बगाउँदै-
समवेदनाको पानीजहाज चढेर आऊ ।
हत्याको बदला लिन हामीले पनि जानेका छौं ।।
तिमी सक्छौं- चीलगाडीमा उडान भरेर आऊ ।
चाहे रेलगाडीमा चढेर आऊ ।
हामी- तिमीहरूकै प्रतीक्षामा युगौंदेखि तडि्परहेका छौं ।
थापेर बसेका छौं- बारमुडा ट्य्राङ्गलको धराप
तिमीहरू आउने बाटोभरि !
बिछ्याएका छौं- बारुदी सुरुङहरू !
सक्छौ- बुलेट-प्रुफमा बेरिएरर आऊ ।।
तिमी कसरी बच्नेछौ ?
सक्तो बच्ने प्रयास गरे हुन्छ ।
तर हामी उठ्दैछौं- तिमीहरूका विरुद्ध ड्रागनको आवाज ओकल्दै !
अब आमाका दूधको सट्टा तिमीहरूका रगतले-
वर्षौँदेखिको प्यास मेट्ने रहर पालेका छौं ।
तिमीहरूकै मुटु कलेजो पोलेर भोको पेट भर्ने सोचमा छौं ।
छोराको रहरमा; छोरीका हत्या गर्नेहरू हो !
वैंशले घोर्ले हुँदाखेरि-
यौनको दुरुपयोग गर्नेहरू हो !
आऊ; अब एउटा युद्धको शङ्खघोष गरौं ।
हारजित त होला नै तिमी र हामीबीचमा !
तिमी आफ्नो स्वर्गको ढोका खोल्नका लागि
हामीमाथि सक्तो धावा बोल ।
हिजो हामीमाथि- तिमीहरूले गरेका;
अपराधको विरुद्ध यमराज कहाँ उपस्थित हुँदैछौं ।
न्यायको कठघरामा सबैका सामू एकपटक
जोखिई हेरौं न त । बाँकी सोही बखत जे होला ।
त्यसैले आऊ । खेलौं । मञ्चन गरी हेरौं ।
न्याय/अन्यायको पक्ष/विपक्षमा एउटा नयाँ युद्ध !!
हत्या गरिएका र हत्याराहरू बीचको युद्ध !!
समाजले कल्पौंसम्म पनि बिर्सनै नसक्ने युद्ध !
सृष्टिको सिर्जनामा,
अतृप्त आत्माहरूका सुनामी र स्याण्डीहरू पसेको दृश्य !!
तिमीहरूले जितेमा- हामी पुनः पाताल भास्सिन तयार छौं ।
कालो कोठरीमा कुहिन तयार छौं ।
तर तिमीहरूले हारेमा-
हामी- तिमीहरूको मुटु, फोक्सो र कलेजो लगायतका
भित्रीहाँसहरू पोलेर कल्पौंदेखिको भोक मेट्ने छौं ।
जन्मिएर यो धर्तीमा-
आमाको दशधारा दूधले प्यास मेट्न नपाएपनि;
तिमीहरूकै रगतले प्यास मेट्ने रहर पालेका छौं ।
तिमीहरूकै रगतको रातो टीको लगाएर-
विजयागान गाउँदै-
दशैँ मनाउने आशमा छौं ।
त्यसैले आऊ । लडौं अब ।
एउटा नयाँ/नितान्त नयाँ युद्ध !

No comments:
Post a Comment