एक समय थियो
बौद्ध-टुसालको अलिक भित्र
च्यल्दुमगल्ली लम्पसार थियो
त्यही गल्लीको एक घर
भाडाको कोठामा थिएँ त ।।
गर्मीले उखरमाउलो स्वरूप
धारण गर्दै थियो ।।
धारा भने खडेरीको मारमा
बिना आँशु रोइरहेको थियो ।।
नुहाउन नपाएर
वेचैनी बढेको थियो
रातभरि सुतेर पनि
अनिदो जस्तै भएको थिएँ ।।
त्यस्तैमा,
बिहान चार बजे नै
घडीले चिच्याउँदै
बिउँझाएपछि
नजिकैको कुवा/धारातिर
नुहाऊ भनेर लेखेको थियो ।।
सम्झिरहेको छु आजपनि
कठै
त्यो तिरतिरे धारो
आफ्नै तालमा तुर्किरहेको थियो ।।
छेवैको कुवा पनि
मानौं
मेरै प्रतीक्षामा आतुर थियो ।।
हतारिँदै नुहाउन थालेको मात्रै
एक हूल चेलीहरू आए
सिर्जनशील हातका धनीहरू
अँS गलैँचा मजदूरहरू।
अक्मकिएँछु
असहजता प्रदर्शन गरेँछु ।।
त्यस्तैमा,
छेवैमा उभिएर
एकजना चेलीले मुख खोलेकी थिई
अमूल्य सुझाव दिएकी थिई ।।
छिटो गर्नुस् दाइ
यसरी लजाएर कहाँ हुन्छ ?
यसरी नै सम्झाएकी थिइन् ।।
झनपछि झन्
मान्छे अरू थपिनेछन्
तपाईँलाई झन् गाह्रो हुँदै जानेछ
अझै यस्तै थपेकी थिइन् ।।
झल्याँस्स भएको थिएँ
मानौं
नपुगेको बस्तीबाट
यथार्थको धरातलमा उत्रिएको थिएँ ।।
हो; एउट तथ्यबोध भएको थियो
र त छिटो-छिटो
नुहाएर निस्केको थिएँ ।।
त्यसअघि नदेखिएको
त्यसपछि पनि नचिनिएको
तिनै अञ्जान चेलीलाई
गुरुपूणिर्माको अवसरमा
गुरुदक्षिणा स्वरूप
यिनै शब्दमार्फत् नमन गर्दछु ।।
३१ असार ७६
चाबहिल

No comments:
Post a Comment