धेरै आए
अनगिन्ती आए
हेरेर गए ।।
कोही नाक खुम्च्याउँदै गए
कोही ''च'च'SSS'' भन्दै गए
कोही ''खुस्केछ'' भन्दै गए ।।
ती साराका सारा
बिपनामा आए
बिपनामै गए ।।
कोही आयो
केही सिकाएर गयो ।।
''को हौ ?'' भनी प्रश्न गर्दा
''तिमी नै हुँ'' भन्दै
आफ्नै सामुन्ने आफैँ प्रकट भएर
आफैँलाई दर्शन दिएर गयो
झल्याँस्स भएँ/बिउँझिए
किनकी
त्यो त सपनामा थियो ।।
आफैँले आफैँलाई-
कहिले स्वरूप परिवर्तन गर्ने
विधि सिकाएर गयो ।।
कहिले पूर्वजन्महरू चिनाएर गयो
कहिले विष्णु भेट्टाएर गयो
कहिले शिव बकाएर गयो ।।
मृत्युको स्वाद चखाएर गयो
महाशान्ति चटाएर गयो
असीम पीडा जगाएर गयो ।।
कहिले बोन सिकाएर गयो
कहिले हिन्दू चिनाएर गयो
कहिले बौद्ध बुझाएर गयो
थरी-थरीका धर्म चिनाएर गयो ।।
फेरि पनि
मनमा शान्ति छाएन
खोजेको जस्तो पाउँदै पाएन ।।
नामै त खोजराज
खोज्दै त थिएँ ।
खोजकै बाटो रोज्दै थिएँ ।।
शायद,
मेरो लगाव देखेर होला-
यही हो भन्दै बुझाएर गयो
''दोर्जेदे'न्पा'' सुनाएर गयो ।।
अब,
खोज्नुछ/भेट्नुछ- दोर्जेदे'न्पालाई
भोग्नुछ/समेट्नुछ- दोर्जेदे'न्पालाई
किनकी
यही नै मेरो लक्ष्य बन्यो
यही नै मेरो यात्रा बन्यो ।।
शब्दार्थ :
दोर्जे : ऊर्जा; शक्ति; वज्र ।
दे'न्पा : तथ्य; सत्य; साँच्चैको ।
३१ जेठ '७६
चाबहिल
No comments:
Post a Comment