Friday, September 20, 2019

हामी, ह्रुइ र हाम्रा भ्रमहरू -१



हामी तामाङ भन्छौं । तामाङ भनेपछि तामाङ हौं । जो जसले जे-जे न/भने पनि तामाङ हौं । यसरी दाबी गर्नु नै तामाङ हुनु हो । जीवनको एकमात्रै दायित्व पनि ! कतिले आदिवासी भन्दै आएका छन् । कोहीले जनजाति भन्न छोडेका छैनन् । कसैले मूलबासी भन भनेर थर्काउँछन् । कोही प्रथमराष्ट्र भन्दै बहसमा उत्रिएका छन् । कहाँको तामाङ ? कसरी तामाङ ? आधार के ? जनसङ्ख्या ? संस्कार, संस्कृति ? भाषा साहित्य र कला ? अँ धर्म नि धर्म ? समाज सञ्चालनको विधि ? अम्मोSSS ठुङ्सा, बप्सा खै ? किपट नि किपट (ग्योर्इग्योत/ग्युर्इ) र गोइलो नि ? कस्सो बिर्सिएन छ यार ! दुःख लाग्छ, धेरैले ह्रुइ खै भनेर सोध्न बिर्सँदैछन् ।
उहिले हाम्रा पुर्खाले तामाङ लेखेका रहेनछन् । भोटे लेख्थे रेन्त । हाम्रै बाजे र ठूलबाले सुनाउनु भएको । र्इSSS तेरो कुरा, एउटा किताब पढ्नु छैन । बीचैमा प्वाक्क बोल्छ यार । उहिल्यै तेह्रौं शताब्दीमै तामाङ लेख्न शुरू गरिसकेका रहेछन् । मुक्तिनाथ गएका छौ ? हो; त्यहाँ गएर खोज त । ठ्याक्कै भेटिन्छ । त्यसैले उहिल्यैदेखि हामी तामाङ हौं । त्यसरी भोटे भनेर तिब्बतीकरण गर्न नपाई है ।
अँS तैँले भनेर हुन्छ नि ? कत्ति खोकेको हो । धेरै खोक्नु भनेको क्षयरोग सङ्केत हो । खासमा भीमशमशेरले तामाङ लेख्न इस्तिहार जारी गरेका थिए । हो; त्यहीदेखि तामाङ भएका हौं । यस्तैमा कोही भन्छन्; हामी त मङ्गोल पो हौं त । महान् मङ्गोल ! मङ्गोलबाट चीन/तिब्बत हुँदै नेपाल छिरेका ! इतिहास पढ्न आउँछ ? खोज्न र पढ्न सिक्नुपर्‍यो नि साथी । मङ्गोलहरू संसारभरि पुगेका छन् । हामीले आफूलाई मङ्गोल भन्नुपर्छ ।
यस्ता तर्कहरू यतिधेरै छन्- सुन्दैमा/सम्झँदैमा रिनिनी टाउको दुखेर आउँछ । यस्सै भनेर चटक्कै छोड्न वा बेवास्ता गर्न गाह्रो भइसकेको छ । अब, लेखको नाममाथि केन्द्रित भएर घस्रन चाहेँ । घस्रनलाई तिमी सर्प हौ र ? तिम्रा गोडा छैनन् ? ''बात कर्ता है'' भन्न पनि सक्नु हुनेछ । पढिसकेपछि, हैन दौडेछ भन्न पनि बेर छैन । कतिले त भीरबाट गुल्टिएछ भन्नेछन् । कतिले त झन्, भीरबाट खसेको श्वास नै रहेनछ । मरिसकेछ भन्नेछन् । केही चाहिँ चुपचाप रहनेछन् । मानौं केही पनि भएकै छैन ।
त्यसैले कर गर्दिनँ । मन लागे पढ्नुस् । पछि पढ्छु भन्ने लागेको छ भने कपी, पेष्ट हुँदै सेभ गर्नुस् । आSSS भन्नुहुन्छ भने, मेरो पनि टाउको दुखाई छैन । ताली वा गाली मेरो चाहना होइन । कसैले दिएछन् भनेपनि, चित्त दुखाउँदिन । अस्लिलतापूर्ण ताली वा गाली चाहिँ मनै पर्दैन । काँढालाई कसैले तिखार्नु पर्दैन । हो; अस्लिलता कसैले दुनियाँका सामू पस्कनु वा सिकाइरहनु पर्दैन । त्यस्तो कार्य भनेको काँढालाई निखार्नु हो । सिधासिधा मुर्खतापूर्ण हर्कत् हो ।
लौ अब, विषयतिर प्रवेश गरौं । हो; सबैले हामीलाई तामाङ भन्छन् । हाम्रो दाबी पनि त तामाङ नै हो । कतिले भोटे भन्न छोडेका छैनन् । मानौं तामाङ कहिल्यै पनि नेपाली थिएन । अहिले पनि नेपाली होइन । भोलि पनि नेपाली हुने छैन । यिनीहरू भोटे भाषा, धर्म, संस्कार, संस्कृति र पोशाकमा रमाउँछन् । नेपाल नाम नै यिनलाई मन पर्दैन । त्यसैले यो देशलाई काँक्रोसरि चिर्न खोज्दैछन् । अब हामी यस्ता झ्यास कुरामा अल्झिनु हुन्न । अघि बढ्नु पर्छ । पाइला चाल्नु पर्छ । त्यसो भए हामी को हौं भनेर चिन्न सक्नु पर्छ । त्यसका लागि को होइनौं भन्नेमा स्पष्ट हुन जरुरी हुन्छ ।
वास्तवमा, हामी तामाङ मात्रै होइनौं । महान् तामाङ हौं । हो; हामी हिन्दू होइनौं । बाहुन होइनौं । क्षत्री वा खस पनि होइनौं । प्रथमराष्ट्र (आदिवासी)हरू मध्येको एक तामाङ हौं । 'नेपाल' नाम तामाङ बोनभाषाबाट जुराएका थिए । ''ने'Sपा'' अर्थात् 'आफैँ उत्पत्ति भएको' र ''ल'' अर्थात् 'देवता' । त्यही ''ने'Sपा ल''नै 'नेपाल' हुन पुग्यो । त्यही 'नेपाल'लाई 'स्वयम्भू' भनेर संस्कृतकरण गरेका हुन् । 'नेपाल' ठूलो हुँदै आएपछि जन्मको ''ने'Sपा ल'' भनिएको आफ्नै नाम बिर्सेर अघि बढ्यो । मानौं त्यो बाल्यकालको सम्झन नमिल्ने विषय थियो । शैशवकालमा प्रयोग गरेको थाङ्ना थियो । ठूलो भएपछि कसले किन पो खोज्छ र ? खोजेछन् भनेपनि के काम ? अनि त अनि, 'नेपाल' तामाङको सन्तान भएर पनि तामाङदेखि टाढा हुन पुग्यो । मानौं, छोरो थियो; बुहारीले खोसी । छोरी थिई; ज्वाइँले कुदायो । विचरा आमाबाउ अनाथ भए । नेपाल नामको सन्दर्भमा तामाङ राष्ट्रले यस्तै दुर्दशा भोग्दै आएको छ । बाँकी आफैँ खोज्न सक्नु हुनेछ ।
तामाङ बन्न/भन्न/हुन के चाहिन्छ ? के र कुन-कुन मापदण्ड पूरा गरेपछि तामाङ हुन सक्छ ? यो आधारभूत प्रश्न हो । केही वर्षअघि 'तामाङ लेखौं अभियान' पनि चलाएका थिए । ह्रुइ मात्रै लेख्न हुन्न रहेछ । ह्रुइ मात्रै लेख्नाले तामाङको जनसङ्ख्या कम देखियो । बर्बादै भयो । यस्तै मान्यताको विकास गरेका थिए । त्यसैले गर्वका साथ तामाङ लेख्न आह्वान गरेका थिए । अझै भनौं ह्वीप जारी गरेका थिए । त्यही मोडबाट मोडिएर अघि बढ्ने क्रममा कतिले आफ्नै ह्रुइ चाहिँ त्यतै कतै झारे । कतिले त उहिल्यैदेखि तामाङ मात्रै लेख्दै आएका रे । त्यसपछि, तामाङ भनेर चम्किए । ह्रुइरी बप्पा ह्रुइगी फो ल गुमनाम ओढारमा थन्किए । कतिस्थानकाले स्वाँगे/ङरु परम्पराबाटै बेखबर समाज शुरू गरेका पनि भेटिएका छन् ।
ह्रुइ लेख्नेलाई सक्तो श्राप्ने पनि छन् । सात्तो खाने अनि हप्काउने दप्काउने पनि छन् । मै हुँ भन्दै हुङ्कार गर्ने पनि छन् । ती सबै गलत सावित हुँदैछन् । न पहिलेको अवस्थामा फर्कन सक्नु; न अगाडि नै बढ्न सक्नुको अवस्थामा अडि्कएका छन् । कतिले हलो अड्काएर गोरु चुट्न पाएका छन् । त्यसैद्वारा कामधन्दा चलेको छ । चलाएका छन् । ठूलै मान्छे भएका छन् । फेरि पनि, स्पष्ट हुनुपर्छ- हामी हिन्दू होइनौं । बाहुन वा क्षेत्री होइनौं । राज्यसत्ता भन्ने चिज हाम्रा वा हाम्रा निमित्त होइन । त्यो त हाम्रा पूर्वजन्मको चिहान हो । हाम्रा पुर्खाका गर्दन रेटिएको र अस्मिता लुटिएको लोदर क्षणको उपज हो ।
त्यसो भए हामी को हौं त ? हो; हामी महान् तामाङ हौं । हामी मङ्गोल होइनौं । हामी तिब्बती वा चीनिया पनि होइनौं । हामी त, हामीबाट खोसेर नेपाल नामक देश बनाएका भूमिको आदिवासी हौं । ताम्सालिङको आदिवासी अर्थात् प्रथमराष्ट्र हौं । यहीँको भूमिपुत्र हौं । भूमि (ठुङ्सा/बप्सा) हाम्रो पिता हुनुहुन्छ । दिनी/धिनी (सूर्य) हाम्रा आमा हुनुहुन्छ । ह्रुइ हाम्रो आधार चिनारी हो । ह्रुइरी बप्पा ह्रुइगी फो ल हाम्रा ह्रुइको दसी प्रमाण हो । लबोन (लप्तबा/लप्थाबा/केकेलबोन) हाम्रा ह्रुइगी फो ल को आधिकारिक पुजारी हो । लबोन तामाङको पहिलो सांस्कृतिक संस्था पनि हो ।
यसप्रकार ह्रुइलाई दोस्रो दर्जामा राखेर तामाङ हुन सक्तैनौं । हामी तामाङ हौं किनकी हामीसँग ह्रुइ छ । ह्रुइ सम्बन्धी आफ्नै मौलिक व्यवस्था छ । यदि कसैको ह्रुइ छ भने त्यो तामाङ मात्रै हो । यहाँ ह्रुइलाई नै थर पनि भन्छौं । स्मरणीय तथ्य- थर भनेको ह्रुइ होइन रहेछ । ह्रुइ भनेको थर होइन रहेछ । यत्ति पनि नबुझ्ने/नबुझेका/बुझ्न नसक्ने कोही छौं ? छौं भने; त्यस्ताले बुझ्ने प्रयास गरौं । चाहना छैन भने बकबक नगर्दा राम्रो हुन्छ । स्वाँगे अर्थात् ङरु (ङारु), दाजुभाइ र कुटुम्बको भेद खुट्याउन नसक्नेले हल्ला गर्ने जमाना गइसक्यो । अबको नयाँ जमानामा त्यस्ता कुराले काम चल्दैन । ह्रुइ र फो ल चाहिँ कसरी नयाँ भन्ने प्रश्न जायज हो । यसको आफ्नै कारण छ । त्यो जुन घाम जत्तिकै छर्लङ्ग छ । बुझेर बुझ पचाउनेलाई उत्तर दिएर काम बन्दैन । बुझेकालाई बुझाइरहन आवश्यक छैन ।
तामाङ हुन आवश्यक तत्त्वहरू माथि छलफल गरि हेरौं । तामाङ हुन त- गोइलो (ड्रेस/पोशाक), भाषा, भूमि, संस्कार, संस्कृति र इतिहास चाहिन्छ । तामाङ स्ह्युक (मुहार/जिउडाल) चाहिन्छ । जिभ्रोमा तामाङपन चाहिन्छ । संस्कार संस्कृतिमा तामाङत्त्व चाहिन्छ । तथापि, पोशाक लगाएर मात्रै तामाङ हुन सक्तैनौं । त्यसमाथि तामाङ ड्रेस भनेर ल्याएकालाई पनि ल्होछर ड्रेसमा परिणत गर्नेहरूले फुइँ नलगाउँदा हुन्छ । तामाङ भाषा बोल्दैमा तामाङ भइँदैन । तामाङइतरका इष्टमित्रहरू धेरै हुनुहुन्छ; जो तामाङ भाषा प्रष्टसँग बोल्नु हुन्छ ।
धर्म (सामान्यतः जुन अर्थमा समाजले बुझेको छ)ले पहिचान दिन्छ पनि दिँदैन पनि । हिन्दूधर्म चाहिँ पहिचानमूलक धर्म हो । हिन्दूत्त्व जन्मतः वा जन्मसिद्ध हुन्छ । बाउ या आमामध्ये कम्तिमा एकजना त केही गरेर हिन्दु हुनै पर्छ । सकेसम्म बाउ हिन्दू हुनुपर्छ । बाउआमा दुवै हुनु सबैभन्दा उत्तम हुन्छ । हिन्दूका सन्तान भएर मात्रै हिन्दू हुँदैन । जीवनसंस्कार हिन्दूविधि अनुरूप हुनुपर्छ । त्यसका लागि बाहुन पुरोहितको प्रयोग आवश्यक हुन्छ । जीवनका आरोह अवरोधहरू पार गर्ने क्रममा संस्कार संस्कृतिगत अन्यौलता हुन सक्छन् । त्यस्ता बेला हिन्दू पुरोहित/पण्डितको शरणमा जानुपर्छ । त्यसपछि बल्ल हिन्दू हुन्छ ।
यसप्रकार हिन्दू भन्ने गरेको धर्म चाहिँ पहिचानको आधार हो । अन्य धर्म भनिएकाहरू; जस्तै : बौद्ध, ख्रिश्चियन र मुस्लिम लगायतका पहिचानमुलक धर्म होइनन् । यी धर्ममा जातीय, नश्लीय वा वंशीय बार हुँदैनन् । जो जसले पनि सहज प्रवेश गर्न सक्छन् । धर्मका अनुयायी बन्न सक्छन् । त्यसकारण यी धर्महरू पहिचानको आधार होइनन् । यिनमा प्रवेश गर्न निश्चित प्रक्रिया र (कर्म) तोकिएका हुन्छन् । त्यही कर्म अर्थात् संस्कार पूरा गरेर प्रवेश गर्न सकिन्छ । बौद्धमा प्रवज्ज्या (टप्चे) र ख्रिश्चियनमा 'बातिप्सा' गरेपछि प्रवेश हुन्छ ।
तर जन्मतः अहिन्दूले कहिल्यै हिन्दू बन्न सक्तैनन् । त्यसैले चीनमा पुगेको हिन्दूधर्म फस्टाउनै सकेन । यस्तैगरी तामाङको बोन (लबोन) पनि हिन्दूधर्मजस्तै आन्तरिक (न्हङ्पा) धर्म हो । जसले बाह्य (ङ्हन्पा)लाई प्रवेश गर्न दिँदैन । फो ल का पूजा गरेको बेला आफ्नै भाषाको प्रयोग गर्छन् । अन्य भाषा र नश्लका व्यक्तिलाई प्रवेश दिँदैनन् । यी दुवैका कतिपय मान्यता र विश्वासमा समानता पाइन्छन् । त्यसैले कतिपय मान्छे झुक्किन्छन् । कतिले बोनलाई नै बोम्बो हुँदै धामी झाँक्रीमा झार्छन् । त्यसपछि हिन्दूको शाखा भन्छन् । धर्मको मानवशास्त्रीय उद्विकाससम्बन्धी अध्ययनको कमीका कारण यस्तो मान्यता बनेको हो । हिन्दूधर्मको जन्म हुनुभन्दा धेरै-धेरै वर्षअघि नै बोन वा शामन भन्नेको उदय भएको थियो । त्यो भनेको बोम्बो थियो । त्यसैको सुधारिएको स्वरूप चाहिँ हिन्दू हो । यसको प्रमाण भने अघिल्ला केही लेखहरूमा पस्किसकेको छु ।
तामाङ राष्ट्र हो । यसको आफ्नै नितान्त बेग्लै र आफ्नै धर्म छ । त्यो फो ल मान्ने धर्म हो । त्यसको पुजारी/पण्डित भनेको लबोन हो । यसको आफ्नै ह्रुइ छन् । अहिले दुर्इसयको हाराहारीमा ह्रुइ स्थापित छन् । ह्रुइसहितको तामाङले ह्रुइगी फो ल मान्छन् । दुःखको पक्ष- ह्रुइगी फो ल लाई फालेर तामाङ बन्ने दीवास्पप्न देख्नेका सङ्ख्यामा वृद्धि हुँदैछ । तिनीहरूले नै पहिचानको मुद्दा बोकेका छन् । तिनीहरूबीच ह्रुइगी फो ल फाल्नेका सङ्ख्या धेरै भएकोले पनि आन्दोलनले लक्ष्य प्राप्त गर्न सकिरहेको छैन ।
यहाँ ह्रुइगी फो ल फाल्दैमा आन्दोलन कसरी कमजोर बन्छ भन्न सक्नु हुनेछ । भन्न खोजेको- ह्रुइगी फो ल छोडेपछि आफ्नै पहिचान भुल्ने क्रम शुरू हुन्छ । म को हुँ भन्ने बुझ्न म को हैन भन्ने बुझ्नुपर्छ । ह्रुइगी फो ल फालेपछि यी सबै तथ्यहरू दोस्रो दर्जामा खस्न पुग्छ । पहिलोको रनाहमा दोस्रोले कहिल्यै पालो पाउँदैन । अनि कामकुरो एकातिर ! कुम्लो बोकी ठिमीतिर भनेजस्तै हुन्छ । यहाँ यस्तै भएको छ । पहिलो पक्षले नै साकार स्वरूप प्राप्त नगरेपछि दोस्रो सकिन्छ । पहिचानको मुद्दा यसै कारण समाप्त हुँदैछ ।
पहिचान भुलेपछि कोही पार्टीका कार्यकर्ता भएका छन् । कोही नेता पनि बनेका छन् । कोही हिन्दू, कोही ख्रिश्चियन भएका छन् । कसैलाई हिन्दूराजा चाहिएको छ । कसैलाई चुनावमा टिकेट चाहिएको छ । कसैको राजदूत बन्ने सपना छ । कसैले चाहिँ मन्त्री भएर हेलिकोप्टर चढ्ने लक्ष्य बनाएका छन् । त्यसरी नै पहिचानको मुद्दा अलपत्र पारेका छन् । कोही आदिवासी भन्दैछन् । कोही जनजाति भन्न छोड्दैनन् । कोही मूलबासी हौं भन्दै रुमलो गर्दैछन् । कोही मङ्गोल भनेर कराउँदैछन् । यसप्रकार तामाङ प्रथमराष्ट्र भन्ने तथ्यदेखि बेखबर बनेका छन् ।
एक समयमा मङ्गोलका जङ्गेज खान देखिएका थिए । संसार हल्लाएका थिए । तिनैलाई अवचेतन दिमागमा राखेर कुदेका छन् । परिणामतः मङ्गोल भन्ने बित्तिकै वीरताको सागर उर्लिएर आउँछ । तामाङ भन्ने बित्तिकै सुख्खा बगरमा परिणत हुन्छ । यी सबै शक्तिका भक्ति गर्ने मेलोमेसो हुन् । अरूका भरपर्ने र आफैँमा दृढविश्वास नभएको प्रमाण हो । शक्तिलाई नै मान्ने हो भने मङ्गोल कमजोर भइसकेको छ । चीनले संसार हल्लाउँदैछ । त्यसोभए चीनियाँ वा चाइनिज भनौं न । म्यान अर्थात् (MAN = Mongolian, Aryan, Negroid)को सट्टा क्यान अर्थात् (CAN = Chinese, Aryan, Negroid) भनौं न । हामी सक्छौं भनौंन त ।

त्यसैले, पहिचान भनेको त आफ्नो परिचय दिन समेत अन्यका साहारा लिनेले उकास्न सक्ने कुरा होइन । साँच्चैको तामाङले त चीन, तिब्बत र मङ्गोलको आधारमा होइन । आफ्नै ठुङ्सा र बप्साको आधारमा अनि ह्रुइ र ह्रुइगी फो ल को आधारमा आफ्नो पहिचान बुझाउन सक्नुपर्छ । वास्तवमा हामी प्रथमराष्ट्र हौं । त्यसैले मङ्गोल मात्रै भन्दा सीमाक्षेत्र खुम्चिन्छ । प्रथमराष्ट्र भनेर उठ्दा संसार हाम्रै हुनेछ । पूर्वीय र पश्चिमा हाम्रो मान्यता होइन । हामी प्रथमराष्ट्र हौं । कोही पूर्वीय र पश्चिमा होइनौं । त्यसैले हामी प्ल्युरिभर्सल शब्द मन पराउँछौं । युनिभर्सल शब्द आउटडेटेड भइसकेको छ । यो तथ्य नबुझ्नेका पछि लागेर असली मुक्ति सम्भव छैन ।
विश्वमा धेरै राष्ट्र (आदिवासी, प्रथमराष्ट्र, भूमिपुत्र) छौं । ती मध्ये तामाङ पनि एक हो । तामाङको ह्रुइ छ । प्रत्येक ह्रुइको ठुङ्सा र बप्सा छन् । कतिले किपट पनि भन्ने गरेका छन् । वास्तवमा ठुङ्सा र बप्सा मुख्य हो । प्रत्येक ह्रुइको ङरतिम (मूलचुह्लो) छन् । ती सबै हालको ताम्सालिङ भनिएको क्षेत्रमा पर्दछन् । त्यसकारण तामाङको इतिहास छ । भाषा, संस्कार, संस्कृति सहितको लोकवार्ता छ । त्यसैले तामाङ भनेको यहाँको पहिलो बासिन्दा हो । यसर्थ ताम्सलिङमा तामाङले अग्राधिकार प्राप्त गर्नुपर्छ । यसको अर्थ ताम्सालिङबाट अन्यलाई खेद्ने भन्न खोजेको चाहिँ होइन ।
यसप्रकार हाम्रो आधार भनेको ह्रुइ हो । प्रत्येक ह्रुइको ह्रुइगी फो ल हुन्छन् । ठाउँ विशेष एउटै ह्रुइका ह्रुइगी फो ल पनि फरक हुन सक्छन् । एउटै ह्रुइ भनेको दाजुभाइ हो । स्वाँगे वा ङरु भनेको दाजुभाइ वा सो सरहको हो । कुटुम्बबीच विहेवारी चल्छ । बिर्सन हुँदैन कि- एउटै ह्रुइको फो ल पनि फरक हुन सक्छन् । बसाइँसराइको क्रममा त्यस्तो हुनु स्वाभाविक हो । त्यस्तैगरी बसाइँसराइकै क्रममा एउटा ह्रुइ अर्को स्थानमा पुगेपछि अर्कै नामबाट चिनिनु सामान्य हुन्छ । कालान्तरमा त्यसरी चिनाउने परिचयबोधक नाम नै पछि ह्रुइको रूपमा स्थापित भएका हुन् । उदाहरणको लागि लिऔं- दोङको सन्तान नै बसाइँसराइको क्रममा मम्ब भयो । मम्ब बनेपछि पनि बसाइँसराइ रोकिने कुरा भएन । त्यही मम्बबाट अर्को हाँगो झाङ्गियो । त्यसक्रममा घरा बन्यो । अब दोङ, मम्ब र घरा भनेको स्वाँगे होइनन् । यी त एउटै हुन् ।
तेमालमा जानुस् त- त्यहाँ ह्रेञ्जेनदोर्जे राजा भन्ने विश्वास रहेको छ । उनका सन्तानहरू अहिले पनि छन् । कोही दोङ लेख्छन् । कोही बल लेख्छन् । कतिले दोङ र बल नभएर गङ्दन हो पनि भन्छन् । अब तिनलाई स्वाँगे, ङरु कि दाजुभाइ के भन्ने ? प्रायःजसोले स्वाँगे मानेका छन् । तिनीहरू सबै ह्रेञ्जेनदोर्जेकै सन्तान हुन् । यो अत्यन्त मननीय उदाहरण हो । त्यस्तैगरी लोप्चन र लोप्चेन एउटै हो । लोप्चेनबाट चोथेन लगायतका अन्य केही ह्रुइ बनेका छन् । ती सबै लोप्चेन नै हुन् । त्यसैले ह्योञ्जन र बोम्जन लगायतकाका स्वाँगे हुन् ।
स्वाँगे भन्छन् । कोहीले ङरु भन्छन् । ङरुलाई नै ङारु पनि भनेका पाइन्छन् । त्यसैलाई थेSमेखोर पनि भन्छन् । यी शब्द र अर्थका बारेमा मतैक्यता पाइँदैन । कसैका लागि आमाहरू दिदीबहिनी मात्रै हुन सक्छन् । कसैका लागि मितेरी साइनो मात्रै हुन् । कसैका लागि वैवाहिक सम्बन्धका लागि उपयुक्त कुटुम्ब भइरहेका पाउँछौं । यी शब्दहरूमध्ये जुनको प्रयोग गरेपनि, आपसमा विवाह गर्न नमिल्ने ह्रुइ हुन् । तर बुझेर पनि बुझ पचाउन थालेपछि समस्या जन्मिनु स्वभाविक हो । समाधानको पाटो भने जटिल बन्दै गइरहेको देखिन्छ ।
नेपालको नाम नेपाल रहेको बारेमा खोज्नेहरू तिब्बतमा पुग्छन् । चीनमा पुग्छन् । हिन्दूका शरणमा छाँद हाल्छन् तर यहाँको प्रथमराष्ट्र तामाङदेखि बेखबर रहन्छन् । अनि त अनि निकालिएका निष्कर्ष पनि झ्यास मात्रै बन्न पुग्छ । त्यसैगरी ह्रुइ तथा स्वाँगे वा ङरु सम्बन्धी समस्या हुनु स्वाभाविक हो । त्यस्तो अवस्थामा कसले के भन्यो वा लेख्यो वा तिब्बतमा के छ वा बौद्धले के भन्छ भनेर खोज्नु मुर्खता हो । तामाङ ह्रुइका ठुङ्सा, बप्सा छन् । ङरतिम छन् । त्यही ङरतिममा गएर खोज्ने हो भने समस्या तुरुन्त समाधान हुनेछन् तर हामी भडि्कएर टाढा पुग्छौं । मानौं विना खोज्दै हराएको कस्तुरी हौं ।
ङरतिम नै भुलिसकेपछि हराउनु कुन अनौठो भयो र ? त्यसपछि स्वाँगे चेलीलाई चेलीको सट्टा तरुनी पो देख्न थाल्छौं । बरु स्वाँगेलाई बङ्ग्याउँदै गलत व्याख्या गरेरै पनि स्वाँगेचेलीलाई श्रीमती बनाउन खोज्छौं । स्वाँगे माइतीलाई सपनाको राजकुमार देख्न थाल्छौं । विवाह गर्न हुन्न भन्नेमाथि प्रमाण पेश गर्न डाडो चुनौती दिन्छौं । कहाँ लेखिएको छ ? तिमीले भन्दैमा मान्नुपर्ने के ? ठूल्ठूला स्वरमा चिच्याउँछौं । हिजो अञ्जानमा गल्ती त भइसकेका छन् । तिनलाई के गर्ने ? बच्चा जन्मिइसके । ती बच्चाको के दोष ? त्यस्ता बच्चाको घाँटी निमोठ्न मिल्छ ? स्वाँगेबीच विवाह गर्दैमा उसले आफ्नो पुर्खौली ह्रुइ किन लेख्न नपाउने ? यस्तै प्रश्नको बाढी ल्याउँछौं ।
यी सबैका सहज समाधान पाइन्छन् । हिजो भएका कमी कमजोरी नजानेर भएछन् । अब कमजोरी नगरौं भन्ने हो । हिजो मान्छे मारेर हिँड्यौं होला । नीच कर्म गर्‍यौं होला । हिजो गरी त सकियो । अब किन नगर्ने भन्नु हुँदैन । अब सच्चिनु पर्छ । गल्ती गरेपछि गल्तीको महशुश गर्नु ठूलो हो । गल्ती भन्ने थाहा पाएपछि सच्चिनु दोषबाट मुक्तिको मार्गमा प्रवेश गर्नु हो । तर हिजोदेखिको वा नानीदेखिको बानी भएकोले छोड्दिनँ भन्नु आपराधिक मानसिकताको चिनारी हो । नियतको कुरा हो । तामाङ समुदायलाई विकृत बनाउने कार्य हो ।
स्वाँगे, आमाथेSमे (बैनौलो), मम्थेSमे, लेङ (मितेरी) आदिको अर्थ र महत्त्व बुझ्नु, बुझाउनु तामाङको पहिलो कर्तव्यमध्येको एक हो । कम्तिमा पनि, आफ्नो दाजुभाइ, स्वाँगे चिन्नु; आमा र मम्थेSमेका बारेमा जानकारी राख्नु तामाङ बन्ने पहिलो कक्षा हो । ह्रुइगी फो ल मान्नु भनेको जीनप्युरिटीलाई कायम राख्नु हो । जीनप्युरिटीमा अडिक रहनु नै फो ल पूजामा पनि सबैभन्दा माथिल्लो दर्जाको पूजा हो ।
यही बुझ्न खोज्नु, बुझ्नु र सोही अनुसार अघि बढ्नु पहिचानको आन्दोलनमा प्राण भर्नु हो । पहिचान स्थापित गर्नु गराउनु भनेको- पुर्खाप्रतिको असिम श्रद्धा अर्पण गर्नु हो । आफ्नै शीर उठाउनु वा भ्लतेन (माङ्गेना) गर्नु हो । भावी सन्ततिका लागि आधार निर्माण गर्नु हो । त्यसैले यत्ताउत्ति भड्किने होइन । दत्तचित्त भएर लागौं । महान् पुर्खाका आशिरवाद प्राप्त गरौं । नयाँ इतिहास लेखनमा आफ्नो तर्फबाट योगदान पुर्‍याऔं ।
मिशन ह्रुइगी फो ल
- गोले केआर चालिसेली
१६ साउन '७६
चाबहिल
पुनश्च : हामी, ह्रुइ र हाम्रा भ्रमहरू -२ को प्रतीक्षा गर्नु होला ।

अञ्जान गुरुलाई नमन !!



एक समय थियो
बौद्ध-टुसालको अलिक भित्र
च्यल्दुमगल्ली लम्पसार थियो
त्यही गल्लीको एक घर
भाडाको कोठामा थिएँ त ।।

गर्मीले उखरमाउलो स्वरूप
धारण गर्दै थियो ।।
धारा भने खडेरीको मारमा
बिना आँशु रोइरहेको थियो ।।

नुहाउन नपाएर
वेचैनी बढेको थियो 
रातभरि सुतेर पनि
अनिदो जस्तै भएको थिएँ ।।

त्यस्तैमा,
बिहान चार बजे नै
घडीले चिच्याउँदै
बिउँझाएपछि
नजिकैको कुवा/धारातिर
नुहाऊ भनेर लेखेको थियो ।।

सम्झिरहेको छु आजपनि
कठै
त्यो तिरतिरे धारो
आफ्नै तालमा तुर्किरहेको थियो ।।

छेवैको कुवा पनि
मानौं
मेरै प्रतीक्षामा आतुर थियो ।।

हतारिँदै नुहाउन थालेको मात्रै
एक हूल चेलीहरू आए
सिर्जनशील हातका धनीहरू
अँS गलैँचा मजदूरहरू।

अक्मकिएँछु
असहजता प्रदर्शन गरेँछु ।।

त्यस्तैमा,
छेवैमा उभिएर 
एकजना चेलीले मुख खोलेकी थिई
अमूल्य सुझाव दिएकी थिई ।।

छिटो गर्नुस् दाइ
यसरी लजाएर कहाँ हुन्छ ?
यसरी नै सम्झाएकी थिइन् ।।

झनपछि झन्
मान्छे अरू थपिनेछन् 
तपाईँलाई झन् गाह्रो हुँदै जानेछ 
अझै यस्तै थपेकी थिइन् ।।

झल्याँस्स भएको थिएँ
मानौं
नपुगेको बस्तीबाट
यथार्थको धरातलमा उत्रिएको थिएँ ।।

हो; एउट तथ्यबोध भएको थियो
र त छिटो-छिटो 
नुहाएर निस्केको थिएँ ।।

त्यसअघि नदेखिएको
त्यसपछि पनि नचिनिएको
तिनै अञ्जान चेलीलाई
गुरुपूणिर्माको अवसरमा 
गुरुदक्षिणा स्वरूप
यिनै शब्दमार्फत् नमन गर्दछु ।।
३१ असार ७६
चाबहिल

एउटा नयाँ युद्ध !!





जन्मनु अगावै- छोरी भएकै कारण
हाम्रा घाँटी सेरेका
ए हत्यारा (बाउ आमा ?)हरू हो !



आमा भएर पनि भ्रुणहत्यामा रमाउनेहरू हो !
खुनको दाग छोप्न मुखमा मखुण्डो लगाएर;
ताण्डप नृत्य गर्दै रमाउने हत्यारा बाउ हो !




छोराकै आमा बाउ बन्ने रहर गर्नेहरू हो !
नाजायज सम्बन्ध कायम गरी;
नजन्मँदै भ्रुणहत्या गर्दै- इज्जत चम्काउनेहरू हो !



भन; हाम्रो अपराध के थियो ?
के आमाको गर्भबाट जन्म लिएर
हाँस्ने/खेल्ने र लोक/परलोक सुधार्ने हाम्रो अधिकार थिएन ??



याद गरे- हामी अतृप्त आत्माहरू !
यिनै प्रश्नहरूको झण्डा उठाउँदै-
तिमीहरूले तर्नैपर्ने वैतरणीको भव-सागरमा
गोही बनेर घुम्दैछौं । तिमीहरूकै पर्खाइमा छौं ।।



गाईको पुच्छर समातेर तर्दै आऊ ।
या त पैसाको खोलो बगाउँदै-
समवेदनाको पानीजहाज चढेर आऊ ।
हत्याको बदला लिन हामीले पनि जानेका छौं ।।



तिमी सक्छौं- चीलगाडीमा उडान भरेर आऊ ।
चाहे रेलगाडीमा चढेर आऊ ।
हामी- तिमीहरूकै प्रतीक्षामा युगौंदेखि तडि्परहेका छौं ।



थापेर बसेका छौं- बारमुडा ट्य्राङ्गलको धराप
तिमीहरू आउने बाटोभरि !
बिछ्याएका छौं- बारुदी सुरुङहरू !
सक्छौ- बुलेट-प्रुफमा बेरिएरर आऊ ।।



तिमी कसरी बच्नेछौ ?
सक्तो बच्ने प्रयास गरे हुन्छ ।
तर हामी उठ्दैछौं- तिमीहरूका विरुद्ध ड्रागनको आवाज ओकल्दै !



अब आमाका दूधको सट्टा तिमीहरूका रगतले-
वर्षौँदेखिको प्यास मेट्ने रहर पालेका छौं ।
तिमीहरूकै मुटु कलेजो पोलेर भोको पेट भर्ने सोचमा छौं ।



छोराको रहरमा; छोरीका हत्या गर्नेहरू हो !
वैंशले घोर्ले हुँदाखेरि-
यौनको दुरुपयोग गर्नेहरू हो !



आऊ; अब एउटा युद्धको शङ्खघोष गरौं ।
हारजित त होला नै तिमी र हामीबीचमा !
तिमी आफ्नो स्वर्गको ढोका खोल्नका लागि
हामीमाथि सक्तो धावा बोल ।



हिजो हामीमाथि- तिमीहरूले गरेका;
अपराधको विरुद्ध यमराज कहाँ उपस्थित हुँदैछौं ।
न्यायको कठघरामा सबैका सामू एकपटक
जोखिई हेरौं न त । बाँकी सोही बखत जे होला ।



त्यसैले आऊ । खेलौं । मञ्चन गरी हेरौं ।
न्याय/अन्यायको पक्ष/विपक्षमा एउटा नयाँ युद्ध !!
हत्या गरिएका र हत्याराहरू बीचको युद्ध !!



समाजले कल्पौंसम्म पनि बिर्सनै नसक्ने युद्ध !
सृष्टिको सिर्जनामा,
अतृप्त आत्माहरूका सुनामी र स्याण्डीहरू पसेको दृश्य !!



तिमीहरूले जितेमा- हामी पुनः पाताल भास्सिन तयार छौं ।
कालो कोठरीमा कुहिन तयार छौं ।



तर तिमीहरूले हारेमा-
हामी- तिमीहरूको मुटु, फोक्सो र कलेजो लगायतका
भित्रीहाँसहरू पोलेर कल्पौंदेखिको भोक मेट्ने छौं ।



जन्मिएर यो धर्तीमा-
आमाको दशधारा दूधले प्यास मेट्न नपाएपनि;
तिमीहरूकै रगतले प्यास मेट्ने रहर पालेका छौं ।



तिमीहरूकै रगतको रातो टीको लगाएर-
विजयागान गाउँदै-
दशैँ मनाउने आशमा छौं ।



त्यसैले आऊ । लडौं अब ।
एउटा नयाँ/नितान्त नयाँ युद्ध !

दायित्व




पिएर दङ्बो म्हेमे/ममका थुदमहरू
कुद्नुछ/पुग्नुछ/भेट्टाउनुछ-
झ्योहो/झ्योमोहरूलाई ।।



गुरुचन म्हेमेसँग सेल्फी खिचेर 
आफ्नै फेसबूक, पेज र ब्लगमा
केही थान तस्वीरहरू
अपलोड गर्नुछ ।।



मम् गङ्सल्मोबाट सिक्नुछ-
थारे राSबा ज्ञान ।।



ब्रुल्दिङलमोलाई झ्यल्तेन गर्दै 
झिकाउनुछ-
नयाँ युगसम्मत् करुका बीऊहरू ।।



मन्गीलमोलाई खुशी पारेर
सिक्नुछ-
जडिबुटीसम्बन्धी ज्ञान ।।



ङ्ह्यम्बुलाई कुदुङ चढाएर
सङ्लाउनुछ-
ढलमती भएका बागमतीहरूलाई ।।



दोलबन् झ्योहोको रोहबरमा
खन्नुछ-
लह्युल जाने सडक ।।



खोज्नुछ-
म्हेमे म्हिए रेञ्जेनको समाधिस्थल 
पत्तालगाउनैछ-
डिएनए र आरएनएहरू ।।



अत्याधुनिक प्रयोगशालमा परीक्षण गर्दै
चिनाउनुछ-
ह्रुर्इरी बप्पा ह्रुर्इगी फो ल ।।



चिनाउनैछ-
थेSमेखोर र ङेङ्खोरहरू
बुझाउनैछ-
फरब्रेल, छुरब्रेल र निङब्रेलका अर्थ ।।



निङब्रेलको बाटो हुँदै
बचाउनैछ- 
ल छङ्पोको सृष्टिलाई ।।
२६ फागुन ’७४
चाबहिल

गजल

हिजोलार्इ आजले भुलाउने रै'छ !
चिन्ताले चितामा पुर्‍याउने रै'छ !!

कामै त छरितो नहुने नै भयो !!
कालैले पनि त कुराउने रै'छ !!

स्वागतै गर्छु रे ढोकै छेऊ कुक्कुर !
साङ्लैमा बाँधेरै भुकाउने रै'छ !!!!

दुःखले मात्रै त कहाँ हुनु यहाँ ?
खुशीले पनि त रुवाउने रै'छ !!

पैसो त साधन हो साध्य हैन बुझौँ !
बेर्थैमा शत्रु नि जुटाउने रै'छ !!!!!!!

मेरो लक्ष्य




धेरै आए
अनगिन्ती आए 
हेरेर गए ।।

कोही नाक खुम्च्याउँदै गए
कोही ''च'च'SSS'' भन्दै गए 
कोही ''खुस्केछ'' भन्दै गए ।।

ती साराका सारा
बिपनामा आए
बिपनामै गए ।।

कोही आयो
केही सिकाएर गयो ।।

''को हौ ?'' भनी प्रश्न गर्दा
''तिमी नै हुँ'' भन्दै 
आफ्नै सामुन्ने आफैँ प्रकट भएर 
आफैँलाई दर्शन दिएर गयो 
झल्याँस्स भएँ/बिउँझिए
किनकी
त्यो त सपनामा थियो ।।

आफैँले आफैँलाई-
कहिले स्वरूप परिवर्तन गर्ने
विधि सिकाएर गयो ।।

कहिले पूर्वजन्महरू चिनाएर गयो 
कहिले विष्णु भेट्टाएर गयो
कहिले शिव बकाएर गयो ।।

मृत्युको स्वाद चखाएर गयो
महाशान्ति चटाएर गयो
असीम पीडा जगाएर गयो ।।

कहिले बोन सिकाएर गयो
कहिले हिन्दू चिनाएर गयो
कहिले बौद्ध बुझाएर गयो
थरी-थरीका धर्म चिनाएर गयो ।।

फेरि पनि
मनमा शान्ति छाएन
खोजेको जस्तो पाउँदै पाएन ।।

नामै त खोजराज
खोज्दै त थिएँ ।
खोजकै बाटो रोज्दै थिएँ ।।

शायद,
मेरो लगाव देखेर होला- 
यही हो भन्दै बुझाएर गयो
''दोर्जेदे'न्पा'' सुनाएर गयो ।।

अब,
खोज्नुछ/भेट्नुछ- दोर्जेदे'न्पालाई
भोग्नुछ/समेट्नुछ- दोर्जेदे'न्पालाई
किनकी
यही नै मेरो लक्ष्य बन्यो 
यही नै मेरो यात्रा बन्यो ।।

शब्दार्थ :
दोर्जे : ऊर्जा; शक्ति; वज्र ।
दे'न्पा : तथ्य; सत्य; साँच्चैको ।

३१ जेठ '७६
चाबहिल 

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...