ता'फोले (सयपत्री/Merigold) !
ता'फोले तामाङ भाषाको नाम हो । यसैलार्इ सयपत्री र मेरीगोल्ड जस्ता नाममा पनि चिन्ने गर्दछन् । तामाङ बस्तीमा भने यसलार्इ ता'फोले नै भन्दछन् । यो फूल म्हेनङ/म्हेनिङको बेला फुल्छ । गाउँतिर बारीका छेउ (कान्ला)मा यो फूल खूब लगाउँथे । अचेल यसको खेती (लगाउने क्रम) निकै कम भएको छ ।
यो फूलसँग जोडिएको एउटा मिथ पनि रहेको छ । मिथ अनुसार उहिले पहिलो मानव म्हिए रेञ्जेन कोल्मीको विवाह लएलमोसँग भएछ। मनुष्यसँग विवाह भएकोले लएलमोको नाम नै गङ्सल्मो (गङ्सल लमो अर्थात् अर्धलमो) रहन गएछ । शिकार खेल्ने क्रममा म्हिए रेञ्जेनले जिब्रोङ नामक चरा मारेर ल्याएछन् । त्यसको फिला फालेर दिँदा गङसल्मोको तिघ्राको हड्डी भाँचिन पुगेछ । पीडा सहन नसकी गङ्सल्मो रून थालिछन् । अन्ततः देउता (गङ्सल्मोको बाउ) ल छङ्पोले छोरी फिर्ता लगेछन् ।
त्यसपछि गङ्सल्मोले देवलोकमै छोरोलार्इ जन्म दिइछन् । बाउ मनुष्य अनि आमा देवकन्या भएकाले छोरो चाहिँ चन भएछन् । स्रष्टा ङ्हेमा थाङ्पाल (तेमाल)का अनुसार मामा सोनम वङ्दीले भाञ्जालार्इ चनहरूका पनि गुरू बनाएछन् । त्यसपछि तिनको नाम नै गुरूचन रहन गएछ ।
एकदिन गुरूचन आफैँ मामा कहाँ अंश माग्न पुगेछन् । मामाले पनि मनुष्यको सन्तान भएकोले पृथ्वीमा अंश माग्न पठाएछन् । त्यसपछि गुरूचन मनुष्यसँग अंश माग्न आइपुगेछन् । मनुष्य र गुरूचनका बीच छलफल भएछ । अन्ततः खेतबारीमा फलेका अन्नहरू सबै मनुष्यले पाउने तर बारीका कान्लामा फुलेको ता'फोले चाहिँ गुरूचनको अंशभागमा परेछ । त्यस्तैगरी पालिएका पशुपङ्क्षीहरूमध्ये कुखुराको भाले चाहिँ गुरूचनलार्इ दिनुपर्ने भएछ ।
त्यसैले तामाङ समाजमा म्हेनिङको बेला खेप्पास्हुङ गर्दछन् । त्यसक्रममा गुरूब्रङ्गी बनाउँछन् । गुरूचनको प्रतीक स्वरूप कुप्रेबुझु बनाउँछन् । अनि विधिवत् रूपमा कुखुराको भाले र नयाँ ता'फोले गुरूचनलार्इ चढाउँछन् । उक्त पूजाअघि नयाँ ता'फोले चलाउँदैनन् । देउतालार्इ चढाउने वा मानिसले प्रयोग गर्दैनन् । घरमा पनि हुल्दैनन् ।
तामाङ विश्वास अनुसार गुरूचनलार्इ चढाएको भालेको मासु र सुप सेवन गर्नाले त्यो वर्षामा लागेको सर्दी निको हुन्छ । त्यसैले औषधी सरह मान्दछन् र यसको चर्चा रोपार्इँको बेलादेखि नै चल्दछ । खेप्पास्हुङको क्रममा आफ्ना पितृहरूका नाममा पनि चढाउँछन् । त्यसक्रममा म्हेमेहरूका दङ खोज्ने हुँदा त्यही म्हेमेदङ (म्हेमे दङ्ब) गर्ने महिनाको नाम नै म्हेनङ वा म्हेनिङ रहन गयो ।
अहिले पर्व र महिना कुन अगाडिको भन्ने छुट्याउन नसकेकाहरू अन्यौलतामा फसेका देखिन्छन् । तिनीहरू म्हेनिङ त महिना मात्रै हो पर्व होइन भन्छन् तर तिनीहरूलार्इ थाहा छैन कि- म्हेनङ पर्व मनाउने महिना परेकोले पछि क्यालेण्डर बनाउने क्रममा त्यो महिनाको नाम पनि म्हेनङ नै राखेका थिए ।
अर्को एक पक्ष भने म्हेनिङलार्इ नै दशैँको समनार्थी ठान्छन् तर तिनीहरूलार्इ थाहा छैन कि- हिन्दूका दशैँ भन्दा हजारौं वर्षअघि नै यहाँका भूमिपुत्र तामाङले म्हेनिङ पर्व मनाउँदै आएका थिए । पछि हिन्दूले म्हेनिङमाथि दशैँ खप्ट्याएपछि मात्रै यस्तो अन्यौलता भएको हो ।
No comments:
Post a Comment