Monday, October 29, 2018

Songrati Mhendo (सोङराती )



सोङराती  

यो एक प्रजातिको वनस्पति हो। यसको तामाङ नाम सोङराती हो। यसको झुप्पोदार रूपमा सुन्दर फूल फुल्छन् । तामाङ पुर्खाहरूले क्यालेण्डर निर्माण गर्ने क्रममा यो फूल फुल्ने महिनाको नाम नै सोङराती राखेका थिए । यो झाडी वर्गको वनस्पति हो । यसको जरा औषधीको रूपमा प्रयोग गर्दथे । विशेषतः ज्वरो आएका बखत अन्य औषधीले काम नगरेको खण्डमा यसको जरो पिसेर जान्नेले झोल खुवाउँथे । सकेसम्म बार मिलाएर साथै बनिसकेको औषधीलार्इ जगाएर खुवाउने प्रचलन थियो। यसको प्रयोग गरिसकेपछि अन्य जडीबुटीले तत् समयमा छुँदैन । त्यसकारण अन्तिम विकल्पको रूपमा प्रयोग गर्दथे । अचेल यसको प्रयोग पनि विरलै गर्दछन् । यो गडतिरदेखि मावर क्षेत्रका पहाडी भेगमा प्रशस्त पाइन्छन् । 

Friday, October 26, 2018

Interview with khojraj gole/ jesum/miksang waiba tamang/

Whabamhendo



ह्वबम्हेन्दो सङ्क्षिप्त चर्चा :

तामाङ भाषामा यो फूललार्इ ह्वबम्हेन्दो भन्दछन् । यो ता'फोले (सयपत्री)कै ए प्रजाति हो । सयपत्रीकै वीउबाट यो अवस्थामा फक्रन्छन् । सामान्यतः बिरूवा वा यसको पात हेरेर चाहिँ  ता'फोले कि ह्वबम्हेन्दो भनेर छुट्याउन गाह्रो हुन्छ । चालिसे गाउँका तामाङ विश्वास अनुसार यो फूल देउता तथा मानिसलार्इ समेत चल्दैन/चलाउँदैनन् । वास्तवमा यसलार्इ फूलको दर्जामा राख्दैनन् । त्यसैले यो प्रजातिका फूल भेटिन्छन् तर प्रायः उखेलेर फाल्छन् । 

Kamhendo




काम्हेन्दो (Kamhendo) !

काम्हेन्दोको शाब्दिक अर्थ लगाउँदा रगतफूल (रक्तफूल) भन्ने हुन्छ । यसको रङ रगतजस्तो हुने हुनाले नै यसको नाम पनि काम्हेन्दो रहन गएको हो। यो पनि ता'फोले (सयपत्री) कै एक प्रजाति हो । 

चालिसेली तामाङ विश्वास अनुसार कुनै समयमा कुनै व्यहोरावश ता'फोले म्हेन्दोमा रगत पर्न गएछ; त्यसपछि यो फूलको रङ पनि रगतको जस्तै रातो हुन पुगेछ । 

पहिले-पहिले यो फूल देउता तथा मान्छेलार्इ चलाउँदैनथे । रगत परेको कारण जुठो मानिन्थ्यो । त्यसैले प्रयोग गर्नु हुन्न भन्थे । अचेल यदाकदा यसको पनि माला पाइन्छन् । गाउँतिर पनि प्रयोग गरेका देखिन्छन् । 

यो फूल प्रशस्त पाइन्छन् । खेती गरिरहेका खेतबारी बाँझो छोडेका रहेछन् भने यस्ता फूल धेरै फस्टाउँछन् ।

Thursday, October 25, 2018

Taphole Mhendo Merigold



ता'फोले (सयपत्री/Merigold) !


ता'फोले तामाङ भाषाको नाम हो । यसैलार्इ सयपत्री र मेरीगोल्ड जस्ता नाममा पनि चिन्ने गर्दछन् । तामाङ बस्तीमा भने यसलार्इ ता'फोले नै भन्दछन् । यो फूल म्हेनङ/म्हेनिङको बेला फुल्छ । गाउँतिर बारीका छेउ (कान्ला)मा यो फूल खूब लगाउँथे । अचेल यसको खेती (लगाउने क्रम) निकै कम भएको छ । 

यो फूलसँग जोडिएको एउटा मिथ पनि रहेको छ । मिथ अनुसार उहिले पहिलो मानव म्हिए रेञ्जेन कोल्मीको विवाह लएलमोसँग भएछ। मनुष्यसँग विवाह भएकोले लएलमोको नाम नै गङ्सल्मो (गङ्सल लमो अर्थात् अर्धलमो) रहन गएछ । शिकार खेल्ने क्रममा म्हिए रेञ्जेनले जिब्रोङ नामक चरा मारेर ल्याएछन् । त्यसको फिला फालेर दिँदा गङसल्मोको तिघ्राको हड्डी भाँचिन पुगेछ । पीडा सहन नसकी गङ्सल्मो रून थालिछन् । अन्ततः देउता (गङ्सल्मोको बाउ) ल छङ्पोले छोरी फिर्ता लगेछन् ।

त्यसपछि गङ्सल्मोले देवलोकमै छोरोलार्इ जन्म दिइछन् । बाउ मनुष्य अनि आमा देवकन्या भएकाले छोरो चाहिँ चन भएछन् । स्रष्टा ङ्हेमा थाङ्पाल (तेमाल)का अनुसार मामा सोनम वङ्दीले भाञ्जालार्इ चनहरूका पनि गुरू बनाएछन् । त्यसपछि तिनको नाम नै गुरूचन रहन गएछ । 

एकदिन गुरूचन आफैँ मामा कहाँ अंश माग्न पुगेछन् । मामाले पनि मनुष्यको सन्तान भएकोले पृथ्वीमा अंश माग्न पठाएछन् । त्यसपछि गुरूचन मनुष्यसँग अंश माग्न आइपुगेछन् । मनुष्य र गुरूचनका बीच छलफल भएछ । अन्ततः खेतबारीमा फलेका अन्नहरू सबै मनुष्यले पाउने तर बारीका कान्लामा फुलेको ता'फोले चाहिँ गुरूचनको अंशभागमा परेछ । त्यस्तैगरी पालिएका पशुपङ्क्षीहरूमध्ये कुखुराको भाले चाहिँ गुरूचनलार्इ दिनुपर्ने भएछ । 

त्यसैले तामाङ समाजमा म्हेनिङको बेला खेप्पास्हुङ गर्दछन् । त्यसक्रममा गुरूब्रङ्गी बनाउँछन् । गुरूचनको प्रतीक स्वरूप कुप्रेबुझु बनाउँछन् । अनि विधिवत् रूपमा कुखुराको भाले र नयाँ ता'फोले गुरूचनलार्इ चढाउँछन् । उक्त पूजाअघि नयाँ ता'फोले चलाउँदैनन् । देउतालार्इ चढाउने वा मानिसले प्रयोग गर्दैनन् । घरमा पनि हुल्दैनन् । 

तामाङ विश्वास अनुसार गुरूचनलार्इ चढाएको भालेको मासु र सुप सेवन गर्नाले त्यो वर्षामा लागेको सर्दी निको हुन्छ । त्यसैले औषधी सरह मान्दछन् र यसको चर्चा रोपार्इँको बेलादेखि नै चल्दछ । खेप्पास्हुङको क्रममा आफ्ना पितृहरूका नाममा पनि चढाउँछन् । त्यसक्रममा म्हेमेहरूका दङ खोज्ने हुँदा त्यही म्हेमेदङ (म्हेमे दङ्ब) गर्ने महिनाको नाम नै म्हेनङ वा म्हेनिङ रहन गयो । 

अहिले पर्व र महिना कुन अगाडिको भन्ने छुट्याउन नसकेकाहरू अन्यौलतामा फसेका देखिन्छन् । तिनीहरू म्हेनिङ त महिना मात्रै हो पर्व होइन भन्छन् तर तिनीहरूलार्इ थाहा छैन कि- म्हेनङ पर्व मनाउने महिना परेकोले पछि क्यालेण्डर बनाउने क्रममा त्यो महिनाको नाम पनि म्हेनङ नै राखेका थिए । 

अर्को एक पक्ष भने म्हेनिङलार्इ नै दशैँको समनार्थी ठान्छन् तर तिनीहरूलार्इ थाहा छैन कि- हिन्दूका दशैँ भन्दा हजारौं वर्षअघि नै यहाँका भूमिपुत्र तामाङले म्हेनिङ पर्व मनाउँदै आएका थिए । पछि हिन्दूले म्हेनिङमाथि दशैँ खप्ट्याएपछि मात्रै यस्तो अन्यौलता भएको हो । 

Friday, October 19, 2018

म्हेनङ र दशैँमा रहेका फरक पक्षहरू



म्हेनङ भनेको महिनाको नाम हो । म्हेमेदङ/म्हेमेतङ (फरप)बाट महिनाको नाम नै म्हेनङ रहेको हो । दशैँ भनेको दश दिनसम्म मनाइने हिन्दू पर्व हो । संस्कृत भाषाको दशमीबाटै दशैँ भएको देखिन्छ । तथापि मीन श्रीसमगरले 'मगर जातिका संस्कार र चाडबाड' शीर्षक राखेर लेख्नुभएको छ, ''मुख्य अन्नाली भित्र्याउने काम तथा लेक-बेँसीको घुम्तेबसाइँ सर्ने काम थालनीको अर्थमा वा सन्दर्भमा 'डस्याक्के' (थालनी/प्रारम्भ) शब्द प्रयोग हुनेक्रममा डस्याक्केबाटै दसैँ शब्दको व्युत्पत्ति भएको मानिन्छ (सम्पादकद्वय- यामबहादुर पुन र झकेन्द्र घर्तीमगर : मगर जाति ऐतिहासिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (२०७१) पृ. १३८ र १४३/१४४) ।'' 

यसै मतलाई थप समर्थन हुनेगरी सोही पुस्तकको पृष्ठ ६२ मा टुकबहादुर थापामगर ज्यूले 'मगरातको राजनीतिक इतिहास : विगत र वर्तमान' शीर्षक राखेर लेख्ने क्रममा वालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा (२०३३)लाई उदृत गर्दै 'खड्कामगर' उपशीर्षक अन्तर्गत लेख्नुभएको छ; ''गोरखाको लिगलिगमा घले थरका मगरका राजाले राज्य गर्थे । यिनीहरूमा बर्सेनि आफ्नो राजा छान्ने एक अनौठो प्रथा प्रचलित थियो । प्रत्येक विजयादशमीको दिन राज्यका मानिस जम्मा भएर त्यस ठाउँबाट दगुरी जो सर्वप्रथम भई लिगलिगकोट पुग्थ्यो त्यही व्यक्ति त्यस वर्ष राजा हुन्थ्यो । यस्तै एक अवसरमा तामासा हेर्न भनी हतियार नलिई जम्मा भएका लिगलिगेउपर द्रव्य शाहको फौजले अनायास आक्रमण गरी लिगलिग राज्य कब्जा गरे ।'' 

अब तपाईँ आफैँ सोच्नोस् दशैँ मगरभाषाको 'डस्याक्के'बाट आएको मगर चाड हो वा हिन्दू चाडको मात्रै ? स्मरणीय तथ्य यो पनि रहेको छ कि, लिगलिगकोटलाई शाहहरूले कब्जा गर्नु पूर्व नै 'डस्याक्के'को दशमीमा राजा छान्ने चलन थियो । यसबाट स्पष्ट हुन्छ कि हिन्दूको प्रवेश अघिदेखि नै मगरले 'डस्याक्के' मान्दै आएका थिए । पछि हिन्दू शाहवंशीय राज्यसत्ताले मगरको 'डस्याक्के'माथि हाम्रो पनि दशैँ भनेर खप्ट्याउन आएको भन्ने स्पष्ट हुन्छ । (स्मरणको लागि- सोही क्रममा दुवै जना लेखकहरूले तिहार र बलिहाङ राजा र तिहारको बारेमा प्रष्टसँग उल्लेख गरेका छन् ।)

दशैँमा हिन्दूहरूले राँगा र बोका लगायतका पशुपङ्क्षीहरूका बलि दिएर मनाउँदै आएका पाइन्छन् । उनीहरूका बलिप्रथाका पक्ष र विपक्षमा थरीथरी मतका साथ प्रशस्त लेखहरू लेखिएका पाइन्छन् । हिन्दूहरू भन्छन्, आफूमा भएका पशुत्त्वादिलाई बलि दिने हो । या त पशुहरूका बलि दिएर दैवीशक्तिलाई खुशी पार्ने हो । राक्षसको प्रतीकका रूपमा पशुपङ्क्षीका बलि दिने हो । देवीले राक्षसको रगत पिएकी थिइन् । देवीका शक्ति बढाउन साथै अन्त्यमा रीस शान्त पार्न रगत चढाउने हो । तथापि तामाङ समाजमा बलिप्रथाको मत हिन्दूको भन्दा धेरै फरक रहेको देखिन्छ । तामाङमा बलिप्रथाको बारेमा अहिले एकोहोरो रटान चलिरहेको देखिन्छ । यसो गर, उसो गर, बलिको विरोध गर मात्रै देखिन्छ । यसको अर्थ बलिको पक्षमा उभिएको होइन । यहाँ मैले पाएको बलिप्रतिको तामाङ विश्वदृष्टिकोण र धारणा मात्रै राख्ने प्रयास गर्छु । 

तामाङमा बोन र बौद्ध मतावलम्बीहरू रहेका छन् । त्यसो त हिन्दू र ख्रिश्चियन पनि छन् । हिन्दू मान्यता अनुसार जन्मतः (जन्मजात) मात्रै हिन्दू हुनसक्छ । अन्यथा कुनै पनि हालतमा हिन्दू हुनै सक्तैन । त्यर्सथ कोही तामाङले हिन्दू हुँ भन्नुको कुनै तुक रहँदैन । फेरि पनि २०६८ को जनगणना अनुसार दुर्इ लाखभन्दा बढी तामाङले हिन्दूधर्म लेखाएको तथ्याङ्कमा उल्लेख गरिएको देखिन्छ । ख्रिश्चियनिटीमा बलिप्रथा देखिएको छैन । बलि दिने भन्दा सैतानआत्माको कुरा आउने गर्दछ । त्यसैले त्यहाँ कसैलार्इ बलि दिने भन्ने खासै देखिँदैन । उनीका अनुसार पशुपङ्क्षीहरू त परमेश्वरले मनुष्यका खाद्यबस्तुका रूपमा सिर्जना गरेका हुन् । त्यसैले मारेर खाँदा कुनै पनि पाप हुँदैन । तामाङ समुदायमा अहिले जन्मजात लामा (बौद्ध धर्मावलम्बी) भन्ने गरिएको छ । 

स्मरणीय तथ्य यो हो कि- बौद्ध भनेको कदापि जन्मजात हुँदैन । बौद्धमा जातिपातीको कुरै आउँदैन । यदि कोही बौद्ध हुने हो भने उसले टप्चे गराउनु पर्छ । सोही अवसरमा बुद्ध, धर्म र सङ्घमा प्रवेश गर्ने र सपथ खाने संस्कार पूरा गर्नै पर्छ; अन्थया कसैले बौद्ध हुँ भन्नुको कुनै तुक रहँदैन । त्यस्तैगरी तामाङ समाजमा बोनको कुरा पनि रहेको छ । कोही भन्छन्, बोन नै हाम्रो असली पहिचान हो । कोही तर्क गर्छन्, बोनको अवशेष मात्रै पाइन्छन् । कोही भन्छन्, बोनमा कालो र सेतो हुन्छन् । तिनीहरू खराब हुन्छन् । दलाई लामाले सेतो भनिएको बोनलाई भने बौद्धकै पछिल्लो सम्प्रदायको रूपमा मान्यता दिइसकेको देखिन्छ । 

तामाङ बोनहरू भन्छन्, बोन नै तामाङको असली स्वरूप हो । फो ल वा ह्रुर्इगी फो लको कुरा पनि बोनले नै गर्ने हो । तम्बा र बोनमा विशेष सम्बन्ध पाइन्छ । समाज तथा मानवशास्त्रीहरू भन्छन्, तामाङमा 'ह्रुर्इ र ठा(ग)' को कुरा आउँछ । त्यही नै तामाङको असली पहिचान हो । त्यसैको आधारमा तामाङ थर, सहथर र कुटुम्ब थरको व्यवस्था कायम गरिएको छ । यो व्यवस्था अन्य समुदायमा देखिएको छैन । तिब्बतमा थर रहेको बताइन्छन्; तर तिनीहरूमा ठूला वा उच्च वर्गका मात्रै थर हुने र थरको आधारमा सहथर र कुटुम्ब भन्ने स्पष्ट व्यवस्था नदेखिएको डा. मुक्तसिंह थोकरज्यूले एक भेटघाटको क्रममा बताउनुभएको थियो । 

यसप्रकार तामाङ समाजले चर्चामा राखेको बोनले भने बलिप्रथा कायम राखेको पाइन्छ । उनीहरूका मत अनुसार सर्वप्रथम मानिसले शिकारी युगको पार गरेका थिए । शिकार खेल्दाखेरि नै तिनलाई 'किरल्पा' (किराल्पागोम्बो) नाम दिइएको थियो । त्यसैको प्रतीकात्मक रूपमा 'क्रिपा' संस्कृति अहिले पनि प्रचलन रहेको छ । यसप्रकार 'किरात' शब्दको माउ शब्द नै किरल्पा हो भनेर दावी गर्न सकिन्छ । तामाङ बोन शेरप अनुसार किरल्पा/किर्पाले पहिलो पटक जङ्गलमा 'जिब्रोङ' नामक पङ्क्षी मारेका थिए । त्यसको हत्या गरेपछि के गर्ने भन्ने भन्दाखेरि 'ल छङ्बै रेञ्जेन'ले 'स्यबुर्इबुबुर्इ' चढाउने कुरा गरेका थिए । त्यो भनेको बौद्धले गर्ने फोवा हो । बौद्धले फोवा त सिक्यो तर मुक्तिमार्ग हुँदै सुखावती भुवनमा पठाउने मान्यता बनायो । तर बोनको 'स्यबुर्इबुबुर्इ' पिन्बाको अर्थ भने प्रकृतिमा चढाउने भन्ने थियो । त्यसको स्पष्ट अर्थ भनेको आमाको गर्भमा लगेर राख्ने भन्ने हुन्छ; अर्थात् बोन मान्यताले जैविक विविधताको पक्षमा आफूलार्इ उभ्याएको पाइन्छ । 

त्यसो त बोनले वनस्पतिलाई रोपेर अनि संरक्षणको नीति अनुसार जोगाउन भन्छ । पशुपङ्क्षीको हत्या रहर नभई बाध्य भएको बताउँछन् । एउटा मिर्ग वा खरायो नै मारेपछि त्यस दिन अर्को शिकार गर्न नपाइने नियम बनाएको छ । ढुकुर नै मारे पनि स्यबुर्इबुबुर्इ दिन्छन् । शिकारी कुकुर वा गोरु मरेपछि बोन अनुसार नै सद्गत गर्छ । गोरु जोत्दाखेरि पनि मारिने कीराफट्याङ्ग्रादिका चित्त शान्ति तथा मुक्तिका लागि 'लङतप्प' गीत गाउँछ । मासु खान मिल्नेलाई पुनःजन्मको लागि प्रार्थना गर्छ । कीराफट्याङ्ग्रालाई राम्रो जुनी प्राप्त होस् भनेर प्रार्थना गर्छ । मानिस मर्दाखेरि भने मुक्ति प्राप्तको कुरा गर्छ । मृतकका चित्तलाई संरक्षक झ्योहोझ्योमोको रूपमा रहन अनुरोध गर्छ । त्यसैले मृतक पुर्खालार्इ वर्षैभरि अनेक चाडका नाममा सम्झिरहन्छ । बौद्ध मतले थर्पेलिङमा जाने वा अडि्कने कुरा गर्छ । थर्पेलिङमा थर्सि गरे पनि पुनः कुनै दिन फर्कर आउने कुरा गर्छ तर बोनका अनुसार मृतकको चित्त भड्किएमा सिण्डी बन्छ । मानिसलाई पिर्छ । तिनलाई बोनले तार्न सकेमा त्यसको चित्त पनि समाप्त हुन्छ । त्यसपछि मृतकले जीवन रहँदा प्राप्त गरेको ज्ञान मात्रै संरक्षकको रूपमा रहन्छ । कोही कोहीका ज्ञान भने आफ्नै वंशको प्रिय तथा उचित पात्रमा अवतरित हुन्छ । बौद्धले जस्तो पुनः जन्म लिएर आउने कुरामा खासै विश्वास गर्दैन । बरु कसैका शरीरमा उत्रनेसम्म हुन्छ । 

यतिखेर प्रसङ्ग रहेको छ- बलिप्रथाको ! बोन मत अनुसार कुनै पनि प्राणीको हत्या मासुका लागि गरिन्छन् । मासुकै लागि मारिएका प्राणीको चित्त भड्किन्छ । त्यसैले मासुका लागि हत्या गर्दा बर्ज्या लाग्छ । त्यसैले शिकारको क्रममा वा बलि चढाएपछि मारिएका पशुपङ्क्षीका चित्तलाई भने आमाको गर्भमा लगेर प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसरी आमाको गर्भमा प्रत्यारोपित गरिदिएपछि पुनःजन्मको प्रक्रियामा प्रवेश गर्छ । त्यसैले मासु अब साग समान हुन्छ र खान मिल्छ । त्यसैले मासु खानकै लागि आवश्यकतानुसार मात्रै बलि चढाउँछन् । छ भन्दैमा एकको सट्टा दुर्इटा वा तीनटा चढाउँदैनन् । घरमा कोही पाउन आएको बेला पनि कुखुरै काटेर खुवाउने भएमा पनि त्यत्तिकै काट्न पाइँदैन । त्यसैले घरभन्दा अलि परको ढुङ्गोमा लगेर पानी हाल्छन्/धुन्छन्/पखाल्छन् । अलिकति अवीर हाल्छन् । धजा (कपासको टुक्रा वा कपडाको टुक्रा) चढाउँछन् । कुखुरा काट्नछन् तर पूरै घाँटी नछिनाएर पनि काट्छन् । त्यसैले बोन मत अनुसार पसलमा बेच्न राखिएको मासु खानयोग्य हुँदैन । त्यसैले यदि पसलबाट किनेर ल्याएको मासु हो भने घरमा हुल्ने बेलामा पानी छर्कनु पर्छ । पानी मात्रै छर्कँदा पनि लागेर वा टाँसिएर आएका चित्तहरू वा नकारात्मक शक्तिहरू भाग्छन् । मारिएका प्राणीको चित्त पनि तृप्त भई आमाको गर्भतिर लाग्छन् । बोन मत अनुसार पसले आफैँले खानको लागि भनेर मासु काटेका हुँदैनन् । ग्राहकका लागि काटेका हुन्छन् । आफू पनि ग्राहक बनेर गएपछि त्यसको हत्याको बात आफैँलाई पनि लाग्ने हुन्छ । त्यसैले कम्तिमा पनि घरमा छिराउँदाखेरि पानी छर्कनु पर्छ । स्यबुर्इबुबुर्इको प्रतीक स्वरूप पाकेपछि चुह्लोमा चढाएर मात्रै खानुपर्ने हुन्छ । 

तामाङमा बलिको यो प्रसङ्ग यस्तै रहेको पाइन्छ । हिन्दूमा भने मैसासुरको प्रतीकका रूपमा राँगा काट्छन् । यसको अर्थ नरबलिको प्रयोग रहेको स्पष्ट हुन्छ । साधनाको क्रममा बलिलाई जायज मानेको हुन्छ; तर बोन मान्यतानुसार मानव बलि वर्जित हुन्छ । मानिसको रगत पर्‍यो भने त्यस माटोमा अन्नबाली हुँदैन । उत्पादनशीलतामा ह्रास आउँछ । त्यसैले सकेसम्म मानिसको रगत भूमिमा पर्न दिँदैनन् । बोनले साधना भन्दापनि पूजा/स्मरणको क्रममा बलि दिन्छन् । मानिसको सट्टा वा पाल्तु पशुपङ्क्षीको सट्टामा एउटालाई मिलाएर दिन्छन् । सबैको सट्टा एउटा मात्रै पशुपङ्क्षी दिएर टार्छन् । स्मरणीय वा भुल्नै नहुने तथ्य यो हो कि- पूजाको नाममा हामीले तिम्रो हत्या गर्‍यौं तर तिम्रो आत्मा नभडि्कनु । सिधै आमाको गर्भमा गएर बस्नु भन्ने संस्कार पूरा गर्दछन् । त्यो भनेकै स्यबुर्इबुबुर्इ दिनु हो । बलि दिनुको अर्थ काटेर मार्ने अनि रगत चढाएपछि भयो भन्ने हुँदैन । बौद्धमा भने तन्त्रसाधनाको क्रममा पञ्चमकारको कुरा गरेका पाइन्छन् । तिनमा मासु र माछाको कुरा आउने गर्दछ । गुरु पद्मसंभवले पनि साधनाको क्रममा लासको छाला र मासु प्रयोग गरेको भन्ने गरिन्छन् । 

यसप्रकार बलिको बारेमा पुनःभाष्य (पुनःपरिभाषित) गर्न आवश्यक छ । म्हेनङको क्रममा खेप्पास्हुङको कुरा उठाउने बित्तिकै केही साथीहरूले बलि दिएको भन्दै घोर विरोध गरेका पाइन्छन् । वास्तवमा हामीले बलिको पक्ष वा विपक्षमा केही पनि भनेका छैनौं । सामाजिक अध्ययनको क्रममा भेटिएका तथ्य मात्रै राखेका हौं । म्हेनङको कुरा उठाउँदा बौद्धको कुरालाई कतै पनि छुटाएका छैनौं । यो वा त्यो पक्षमा लाग भनेका छैनौं । कुखुरा बलि नदिए तामाङ नै हुँदैन भनेका छैनौं । खेप्पास्हुङको अर्थ कुखुरा काट्नुको विकल्प छैन भने कहिल्यै कतै पनि लेखेका छैनौं । यहाँ भने दशैँ र म्हेनङको फरक खुट्याउँदैछु । दशैँ र म्हेनङमा बलिप्रथा देखिएको हुनाले तिनमा के समानता र फरक रहेछन् भनेर खोजेको मात्रै हुँ । 

दशैँमा हिन्दूहरूले पितृका नाममा श्राद्ध गर्दछन् । त्यसलाई नराम्रो मान्न र भन्न सकिने कुनै आधार छैन । म्हेनङमा खेप्पास्हुङ हुन्छ । त्यो भनेको गुरुचनको पूजा हो । त्यसक्रममा आफ्ना पुर्खौली वंशावली पाठ गर्छन् । झट्ट हेर्दा समान जस्तै लाग्न सक्छन् । तथापि हिन्दू मत भनेको पितृहरू स्वर्गमा तरुन् भन्ने हो । तरिसकेका रहेछन् भने लामो समयसम्म स्वर्गमै बस्न सक्ने होउन् भन्ने हो तर तामाङ बोनको मतले भने गुरुचनलाई उसको अंश वापतको कुखुरा भाले र सयपत्री फूल चढाउने/बुझाउने हो । त्यसक्रममा आफ्ना पुर्खाहरूसँग संरक्षकको रूपमा रहिरहनका लागि अनुनयविनय गर्ने हो । बोन मान्यता अनुसार पितृहरू स्वर्गमा बस्ने र लामो सयमसम्म त्यही राख्ने भन्दापनि आफ्नै गाउँघरको अग्लो डाँडोमा वा ठूला ढुङ्गा वा ठूला रूखका फेदमा स्थापित गराउने हो । त्यो पनि तिनीहरूले जीवन रहँदा प्राप्त गरेका ज्ञानको सकारात्मक पक्षलाई मात्र । घरको धूरीमा देउताको साथमा राख्ने हो । यसप्रकार दशैँ र म्हेनङमा हुने पितृपूजामा आकाश जमीनको फरक देखिन्छ । 

म्हेनङको बेला कुखुरा र बोका काट्छन् । राँगा पनि काट्छन् । राँग काट्दाखेरि घरैपिच्छे भन्दापनि टोल वा गाउँले मिलेर आवश्यक मासु पूर्ति हुने सङ्ख्यामा मात्रै काट्छन् । यो पक्ष दशैँमा पाइँदैन । उदाहरणको लागि तलेजुलाई ५४ वटा बोका र ५४ वटा राँग काट्छन् । तामाङमा त्यसरी यति ओटा काट्ने भन्ने हुँदैन । राँगा बलि दिइँदैन । त्यसैले गाउँलेको लागि आवश्यक मासुको हिसाब गरेर मात्रै काट्छन् । तामाङले राँगा पर्साएर मात्रै काट्छन् । त्यसको अर्थ आमाको गर्भमा चित्तलाई पुर्‍याउने हो । गाउँमा कत्तिको सुख सुविधा आउनेछ भनेर हेर्ने हो । खेप्पास्हुङको बेला कुखुरा पर्सेको आधारमा देउता र कुल खुशी भएको तथा घरमा अब कस्तो शुभाशुभ रहनेछ भनेर हेर्ने पनि हो । यस्तो परम्परा दशैँमा कतै पाइँदैन । अचम्मको कुरा त हिन्दूहरू राँगा बलि दिन्छन् अनि उनीहरू नै राँगाको मासु खान हिचकिचाउँछन् । लाज मान्छन् । तामाङमा यस्तो देखिँदैन । 

हिन्दूहरूको पूजा विधि आफ्नै रहेको छ । तामाङहरू म्हेनङमा चिउरा चपाउँछन् । चिउरालाई 'फल्गी/फलिङ/फलाङ्गी' जस्ता नामद्वारा चिन्छन् । तामाङ मान्यतानुसार ताइचिन धानको चिउरा राम्रो हुन्छ । त्यो पनि नयाँ धानको अझै उत्तम मानिन्छन् । त्यो पनि ओखल वा ढिकीमा कुटेको हुनुपर्छ । मिलमा कुटेको फल्गी प्रयो गर्दैनन् । गीत गाउँछन्, 'फल्गीमी छेक्सी होर्इ प्लेक्सी ।' यसको अर्थ चिउरा भनेको कुटेर बन्छ । होर्इ वा प्रिय हुनाका लागि चेप्टी अर्थात् नेप्टी हुनुपर्दछ । भन्न खोजेको के हो भने, मनपर्दो हुनाका लागि केटीको नाक चुच्ची होइन नेप्टी हुनुपर्छ । यसले पूरै तामाङको सौन्दर्यशास्त्रको प्रतिनिधित्व गरिरहेको पाइन्छ । हिन्दू वा आर्यभन्दा धेरै फरक भन्ने स्पष्ट पार्दछ । त्यस्तैगरी अर्को तुक्काले भन्छ, 'छमेमी लौलौ फल्गीरी ! सुका गी अरे खल्तीरी !!' यसको अर्थ भनेको, तरुनीहरू चिउरा भनेपछि भुतुक्कै हुन्छन् । तर किनेर दिने र आफू हिरो हुने चाहना भएर के गर्ने ? खोजीमा पैसो छैन । यसले तामाङहरूको भौगोलिकता, आर्थिक अवस्था साथै चिउराप्रतिको मान्यता स्पष्ट गरेको पाइन्छ । 

खाद्यसंस्कृतिकै कुरा गर्दा, 'म्हेनङ हजी छिपिङपिछ ! देलेम बढारी जी लिङलिङ !!' भन्छन् । यहाँ ड्रागोन फ्लाइ (घामकिरी)को कुरा आएको छ । दशैँमा मासुसँगै जाँडरक्सी अनि काँसको डबकाको कुरा उठाएको छ । यो पर्यावरण, जाँडरक्सी र काँसको डबकाको कुराले तामाङ सभ्यतालाई साह्रै स्पष्ट पारेको छ । हिन्दूहरू जाँडरक्सी प्रयोग गर्दैनन् तर तामाङमा जाँडरक्सीलाई पवित्र मान्छन् । बौद्धको पञ्चमकारमा एक मद पनि हो । तामाङमा 'स्यला ख्वङ' बनाउँछन् । राँगाको मासुलाई सिन्कामा उनेर माला जस्तो बनाउँछन् । त्यसको आफ्नै महत्त्व रहेको छ । शाकाहारीका लागि त्यसको महत्त्व हुने भएन तर कतिजना शाकाहारी छौं ? म आफ्नै कुरा गर्ने हो भने मासु त के चाउचाउ र बिस्कुट समेत खादिनँ । कुनै समयमा दूध नखाने र फल समेत टिप्न नसक्ने अवस्थामा पुगेको मान्छे । ५७ सालदेखि घाँस सेउलाको रूपमा भन्दा बाहेक फूल चाहियो भनेर कहिल्यै टिपेको छुइँन । यो आफ्नै मपाइँत्व भन्दा पनि शाकाहारीत्वको प्रसङ्गमा जोडेको हुँ । म्हेनङमा गाउँ नगएको धेरै भैसक्यो । नजानुको कारण जाँडरक्सी र मासु हुन्छन्; जुन चिज मेरो शरीरले पटक्कै सहँदैन । यही कुरा थाहा नभएकाले यथार्थ बुझ्ने चेष्टा नै नराखी केही साथीहरूले गाली गर्नु भएकोले मात्र यसरी लेखेको हुँ । 

म्हेनङमा टीका लगाउने र नलगाउने तामाङ छन् । लगाउनेमा पनि कोहीले रातो र कोहीले सेतो लगाउँछन् । हिन्दूहरू दैत्यको बध गरेर रगतको टीका लगाएको भन्दै रातो लगाउँछन् । म्हेनङमा कसैको हत्या गरेर लगाएको रगत होइन । त्यसैले रातो टीका लगाउनुको औचित्य देखिँदैन । कुलको पूजा गरेको, झ्योहोझ्योमोलाई पुजेको हुनाले सेतो टीका लगाउँदा नराम्रै भयो भन्नु उचित नहोला । यसप्रकार दशैँ र म्हेनङको टीका नै फरक देखिन्छ । बोनहरू कुललाई पूजा गर्दछन् । लामाहरू खेपासुम भन्छन् र छ्योइकू, ल्हुङ्कू र टुल्कूको बौद्ध विधि अनुसार अनुष्ठान गर्दछन् । हिन्दूको वेद तथा पूजापाठका क्रममा संस्कृत भाषाको प्रयोग गर्छन् । लामाले सम्भोटा लिपिमा लेखिएको तिब्बती भाषाको प्रयोग गर्छन् । बोम्बोले आम तामाङ भाषामा शास्त्रीय तामाङ भाषाको प्रयोग गर्दछन् । शास्त्रीय तामाङ भाषा र तिब्बती भाषामा धेरै समानता पाइन्छन् । हिन्दूले राक्षस मारेर विजयी भएको उपलक्ष्य भनेर टीका राख्छन्; त्यो पनि पूर्णेसम्म तर तामाङले त झ्योहोझ्योमो र कुलको प्रतापले अन्नबाली राम्रो भएको हुँदा धन्यवाद स्वरूप खुशीसँग टीका लगाउँछन् । बौद्ध मान्यताको सार भनेको कलिङ्गको युद्धपछि सम्राट अशोकले युद्ध जितेको अवसरमा नभई युद्ध गलत हो भन्ने तथ्य बुझेर बौद्धमा प्रवेश गरेको खुशीयालीमा चाहिँ सेतो टीका लगाउने हो । यतिसारो स्पष्ट हुँदा-हुँदै पनि हिन्दूकरण गरेको वा म्हेनङ भनेकै दशैँ हो । घुमाएर नाक समातेको जस्तो आरोप लगाउनमै आफ्नौ पौरख देख्नेलाई के नै भन्न सकिएला र ?

हिन्दूका छोरीचेली दशैँमा टीका र जमरा थाप्न आउँछन् । तामाङका पनि आउँछन् । हिन्दूका छोरीले केरा लगायतका कोशेली ल्याउँछन् । तामाङका चेलीले भने रक्सी, चिउरा, राँगाको मासुको 'स्यख्वङ' ल्याउँछन् । 'म्हेनङला बो' भन्दै आमा, दिदी, बहिनी, भाउजू र बुहारी साथै साथीलाई फल्गी र स्यख्वङ ल्याउँछन् । आपसमा कोशेली साटासाट गर्छन् । लेङ भन्दै म्हेनङमा मितिनी कहाँ पनि पुग्छन् । कतिपय चेलीले म्हेनङमा नसकेको वा सबैलाई पुर्‍याउन सकिनन भने माघेसङ्क्रान्तिसम्ममा पुर्‍याउँछन् । माघेसङ्क्रान्तिमा पनि नसकेकमा बैशाखसम्ममा पुर्‍याउँछन् । जेठ लागेपछि भने अर्को म्हेनङको तयारी गर्छन् । यस्तो संस्कृति हिन्दूमा छैन । त्यसैले किन फरक छैन र म्हेनङ र दशैँमा ? तामाङमा मामा र फुपूका छोराछोरीबीचमा विवाह गर्ने प्रचलन रहेको छ । म्हेनङमा मामाघर जान्छन् । फुपूकी छोरी पनि मामाको घरमा पुग्छन् । उमेर पुगेपछि तिनीहरूबीच माया प्रेमको कुरा उठ्छ । म्हेनङमै छलफल गर्छन् । मङ्सीरमा बुहारी भित्र्याउँछन् । मङ्सीरमा विवाह गरे पानी लाग्दैन भन्छन् । यो मौलिक ज्ञान र संस्कृति के हिन्दूबाट सिकेका हुन् र तामाङले ?

म्हेनङमा खेप्पास्हुङ गर्दा सयपत्री फूल घरमा भित्र्याउँछन् । त्यसअघि नयाँ सयपत्री चलाउँदैनन् । शीरमा सिउरिन्नन् । फापरसिङ/फापरसिङ्मा भनिने प्रजातिको वनस्पतिको प्रयोग गर्छन् । त्यसैलाई हिन्दूले भिमसेनपाती भन्छन् । तामाङले त्यस वनस्पतिको प्रयोग म्हेनङमा मात्रै सीमित पारेको छैन । बरु जाँडका लागि चाहिने मर्चा समेतमा त्यसको प्रयोग गर्छन् । त्यसैले फापरसिङ्मालाई औषधीको रूपमा चिन्छन् । मानिसले जाँडको लागि ढिँडो बनाइएपछि 'मन्गीलमो' (औषधीकी देवी)ले मर्चा बनाउन सिकाएकी थिइन् । मर्चालाई उनीहरू भ्रमा भन्छन् । यो नितान्त तामाङ ज्ञानको कुरा हो । दशैँमा केराको पातको प्रयोग गर्दछन् । त्यसको सङ्कलन र प्रयोग विधि तामाङले जानेको छ । केराको प्रयोग गर्छन् । पूरै पाक्नुभन्दा अघिको केरा चिन्छन् । काट्छन् र खरानी र नूनसमेतको प्रयोग गर्दै विशेष जातको सेउला वा मकैका खोस्टोमा पोका पारेर पकाउँछन् । यस्ता ज्ञानलाई नै आदिवासी ज्ञान भन्ने हो । 

म्हेनङमा 'धर्बुङ' (माटोको घैला)मा रक्सी र कुखुरा वा राँगाको मासु उपयुक्त मान्छन् । धर्बुङ नफुटोस् भनेर बाहिरबाट पाटले सुन्दर जालो जस्तो बुन्छन् । बिर्कोको रूपमा पातको प्रयोग गर्छन् । फर्कने बेलामा रक्सीको घैलामा एक माना जति रक्सी चाहिँ बाँकी नै राख्छन् । त्यसरी नराखेमा तामाङ अशुभ हुन्छ भन्छन् । हिन्दूमा यस्तो केही पनि हुँदैन । कोशेली सोलीमा हालेर लानुपर्ने हुन्छ । सोलीको माथि 'घ/घलेक' (बर्को)ले छोप्छन् । त्यसरी छोपेको घको चार टुप्पोहरू सोलीबाहिर लत्रनु पर्छ । ती टुप्पोहरूलाई नाम्लोको डोरी (ह्रेल)ले भेट्टाउनु पर्छ । त्यसो नगरी नाम्लोको ह्रेलभन्दा बाहिर लतारेमा वा माथि सोलीको मुखबाटै भित्र छिराएमा/दबाएमा गाली गर्छन् । मिलेन भन्छन् । तामाङ भएन भन्छन् । अनि यस्तो ज्ञान र संस्कारले तामाङलाई अरू भन्दा फरक भनेर चिनाउने हैन र ?

दशैँमा हिन्दूले नवदूर्गाको पूजा गर्दछन् । राक्षसहरू मारेका कथा हाल्छन् । तामाङले म्हेनङ बोम्बो र लामा विधि अनुसार मनाउँछन् । म्हेनङमा कुलको पूजा, छ्योरे अर्थात् दशैँ दिशाका देउता, लक्मीको पूजा गर्दछन् । झ्योहोझ्योमोको पूजा गर्दछन् । खुशीयालीमा सेतो टीका लगाउँछन् । जमराको अनिवार्यता देखिएको छैन । प्रयोग गर्दा नराम्रै भन्न सकिन्न । हिन्दूले बलि दिएर देवीको शक्ति बढाउँछन् र अन्त्यमा राक्षसको हत्या गर्छन् । तामाङले अन्नबाली सफल पारेकोमा धन्यवाद सहित पुज्य शक्तिहरूलाई सगुन चढाउँछन् । पिङ खेल्छन् । रमाउँछन् । तामाङ कहानी र मिथ सुन्ने सुनाउने गर्छन् । आफ्नो जीवन कहानी सुनाउँछन् । आफ्नै विश्वदृष्टिकोणलाई युवापुस्तालाई हस्तान्तरण गर्छन् । आफ्ना वंशावली पनि सन्ततिलाई बाँड्छन् । हो; हिजो शाहवंशको उदयपछि हाम्रो म्हेनङमाथि पनि मगरको डस्याक्के र लिगलिगकोटमा राजा छान्ने संस्कृतिमाथि जस्तै गरेर ओभरल्याप गरेका भन्ने स्पष्ट घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । तथापि अनेक बहानामा हल्ला र झगडा गरेर बसेमा हाम्रा सन्ततिले हामीलाई माफ गर्लान् त ???
धन्यवाद !!

Wednesday, October 17, 2018

चाडपर्व युद्धमय होइन कृषिमय हुनुपर्छ !

सभ्यतालाई एउटा माला मान्ने हो भने समुदायको संस्कार, संस्कृति, चाडपर्व, मूल्य, मान्यता, विश्वासपद्धति लगायत चाहिँ एक-एक थुङ्गा हुन् । यिनीहरूमध्ये कुनै एकको उपस्थितिले मात्रै पूर्ण सभ्यता बन्दैन । सभ्यता निर्माणमा चाडपर्वले पनि विशेष भूमिका खेल्न सक्नु पर्दछ । यिनीहरूका सिधा सम्बन्ध पर्यावरणसँग हुन्छ । ऋतुलाई चिन्न नसक्ने हो भने चाडपर्व अल्मलिन सक्छन् । ऋतुगत पक्षसँग अमिल्दो संस्कार, संस्कृति, मूल्य, मान्यता र विश्वासपद्धति मात्रै नभएर चाडपर्व पनि छिटै पतन वा लोप हुने प्रवलता रहन्छ । पर्यावरीय महत्त्व बुझ्न नसक्नेका लागि चाडपर्वहरू अनावश्यक बोझ (भार) मात्र लाग्न सक्छन् । त्यसरी अनावश्यक बोझको रूपमा मान्नु वा हेर्नु भनेको असामाजिकता वा पर्यावरणीय पक्ष र मानव समुदायबीच स्थापित अन्योन्याश्रति सम्बन्धलाई चिन्न नसक्नु हो । 

हरेक चाडपर्वले स्थानीय पर्यावरणमा समुदायलाई अनुकूलित गराउन सक्नु पर्दछ । यसको अभावमा समाजको मृत्यु हुन्छ । त्यसो त असल चाडपर्वले समाजलाई दीगोशान्तितिर डोर्‍याउनु पर्दछ । कुनै एक पक्षको पृष्ठपोषण गर्ने र अर्को पक्षको छातीमा घोचिरहने सुइरोको काम हुनु हुँदैन । त्यसो गरे वा भएमा दूर्भाग्यपूर्ण सावित हुन बेर लाग्दैन । यद्यपि केही चाडपर्व तथा संस्कृतिहरूमा यही समस्या देखिएका छन्; जसका कारण केही चाडपर्वले सबैलाई एकै स्थानमा जुटाउनुको सट्टा फुटाउने काम गरिरहेका देखिन्छन् । चाडपर्वले त दुश्मनहरूका बीचमा पनि समभाव तथा सद्भावपूर्ण वातावरण सिर्जना गर्न सक्नुपर्दछ । अन्यथा त्यस्ता चाडपर्वले दीगोशान्तिको सट्टा वैमनुष्यता साथै द्वन्द्वको भय सिर्जना गर्ने मात्रै नभएर कुनैपनि बेला अकल्पनीय दुर्घटनाको घानमा फसाउनेछ । 

यतिखेर देशमा हिन्दू मात्रको बडादशैँ छाएको छ । कथित मूलधारका सञ्चार माध्यमहरूदेखि स्वयम् सरकारसमेत यसैको पक्षमा उभिएको छ । यही बडादशैँ पनि विजयादशमीको उन्मादमा हौसिएको छ । कुनै एक समयको कुनै एक जना व्यक्तिलाई शत्रु मानेका थिए होलान् । तिनलाई कुनै एक जनाले जितेको पनि थियो होला । आजसम्म पनि त्यसैलाई विजयोत्सवको रूपमा मनाइरहेका छन् । यस्तो कार्य भनेको युद्धको उन्मादि हो । युद्धको धङधङी हो । मानव रगतको प्यास हो । जुन अस्वाभाविक मात्रै नभएर अर्को भयानक द्वन्द्वको तयारी हो । पुनः युद्धको आह्वान हो । भारतको झारखण्डका असुर भनिएकाहरू आज पनि महिषासुरको पूजा आराधना गरिरहेका छन् । अर्को पक्षले महिषासुरमाथि विजय हासिल गरेको दिनको सम्झनामा महिषासुरका समुदायको मुटुमा सुइरो घोप्न छाडेका छैनन् । रामले रावणलाई जितेको थियो होला । त्यही घटनालाई कथित धर्मसँग जोडेर स्वैरकाल्पनिक मिथको आधारमा रावणको पुत्ला जलाइरहनु भनेको सिधै युद्धको लागि आह्वान गरिरहेका हुन् भन्ने रूपमा लिने हो भने के दशैँ वा 'दशहरा'ले त्यसपछिको क्षतिलाई थेग्न सक्ला ? त्यसको जिम्मेवारी लिन सक्छ ?

हो; दशैँ भनेको हिन्दूकै हो । कुनै बेलाको युद्धसँग जोडिएको राजनैतिक युद्ध (घटना) हो । कुनै पनि राजनैतिक युद्धहरू समाप्तिपछि त्यसको समाधान आवश्यक हुन्छ । जबरजस्त दबाएर मात्रै राख्न सकिन्न । कुनै न कुनै बेला मौका पर्न साथ विद्रोह हुन्छ । रावण र राम साथै महिषासुर र देवीका बीच भएका लडार्इँलाई दशहरा वा दशैँका रूपमा चाडपर्व बनाउनु भनेको पानीको मुहानमा बिर्को लगाएर राख्नु जस्तै हो । जुन कार्य मुर्खले मात्रै गर्न सक्छन्; किनकी त्यसरी लगाएका बिर्कोका कारण अन्ततः विष्फोट हुनेछ । जसको परिणाम कल्पनाभन्दा कयौं गुणाको हुनेछ । त्यसैले हिजो जे भयो; सकियो । अब नयाँ तरीकाबाट सोच्न र पाइला चाल्न आवश्यक छ । यस्ता पाइला साँच्चै समयको माग हो । भविष्यमा दीगोशान्तिमयी सुनिश्चितताको उपाय हो । 

त्यस्तैगरी २०६२/०६३ सम्ममा भएका युद्धहरूबाट कुनै एक पक्षले जित्यो र अर्कोले हार्‍यो । तथापि यहाँका सबै पक्षहरूले जित्ने (वीन वीन सिचुएसन)को महशुश हुनेगरी समाधान गर्ने कुरा पनि गरे । व्यवहारमा चाहिँ दशैँको नाममा रावण र महिषासुरलाई राक्षस बनाउने अनि राम र देवीलाई दैवीकरण गर्ने काम मात्रै भयो; अर्थात् २०६२/०६३ को आन्दोलनपछि तत्कालिक संसदीय सात दल साथै नेकपा माओवादीलाई दैवीकरण गर्ने अनि राजावादीलाई राक्षसीकरण गर्ने काम मात्रै भयो । फेरि पनि वीन वीन सिचुएसनको नाराले राजावादीलाई पनि दूधले नुहाइदिने काम गर्‍यो । त्यसपछि खलनायक (राक्षस)को आवश्यकता खटि्कयो । सोहीक्रममा आदिवासी जनजातिलाई खलनायकको रूपमा चित्रण गर्न अनेक हत्कण्डा अपनाए । अन्ततः खड्गप्रसाद ओलीको उदयसँगै आदिवासी जनजातिलाई खलनायकको रूपमा स्थापित गराउन सफल देखिए । 

आज पनि राज्यसत्ता चाहिँ- धार्मिक रूपमा दशैँको नाममा आदिवासी जनजातिलाई राक्षसीकरण अनि फिरिङ्गेलाई दैवीकरण गर्ने क्रममा अभ्यस्त रहेको छ । राजनैतिक रूपमा पनि समृद्धिको नारा सफल पार्न भूमिपुत्रका गला रेटेर बलि चढाउँदैछन् । आफ्नो भविष्य सुनिश्चितताका लागि आदिवासी जनजातिलाई कथित देश (राष्ट्रियता)को नाममा शहीद हुन आदेश दिइरहेको छ । पुर्खाका रगतमा होली खेलेको राज्यसत्ता आज सन्ततिका मुटु कलेजा भुटेर नैवेद्य तयार पार्दैछन् । दशैँलाई विजयादशमीको रूपमा स्थापित गराउनका लागि आदिवासी जनजातिका मुटुमा सुइरो रोप्न तल्लीन रहेका छन् । भेँडाच्याङ्ग्राका मासुले धीत नमरेकाले भूमिपुत्रको साँप्रो र ह्याकुला मागिरहेका छन् ।

यसैकारण हिन्दूको मात्रै भनिएको दशैँमा लगाएका रातो टीकामा यहाँका भूमिपुत्रहरूले आफ्ना पुर्खाका रगत देखिरहेका छन् । केही सीप नचलेकै कारण दशैँ बहिष्कार गर्दै आएका छन् । त्यसक्रममा आफ्ना मौलिक पर्वलाई समेत फाल्न पछि परेका छैनन् । त्यस्ता कार्य भनेको राउटेहरूले नफापेको भन्दै स्थापित गृहस्थ जीवन त्यागेर वन पसेको भनेर सुनाउने कथा जस्तै मान्न सकिन्छ । यसप्रकार दशैँ भनेको आदिवासी जनजातिहरूका मुटुमा बिझाएको काँढो सावित भएको छ । उता खड्गप्रसाद ओली आफैँलाई भालेश्वरमा उभिएपछि राजनैतिक रूपमा काठमाडौंका नेवारलाई समाप्त पार्ने दोस्रो पृथ्वीनारायण शाह भएको कल्पनामा जुङ्गामा ताउ लगाउँछन् । त्रिभूवन विश्वविद्यालयमा पुगेपछि 'खदा'लाई नेपाली संस्कृति होइन भनेर दाबी गर्छन् र खदा प्रयोग गर्ने बौद्धमार्गीहरू अनेपाली भएको घुमाउरो अभिव्यक्ति पस्कन्छन् । अन्ततः पहिचानको आधारमा सङ्घीयता भनेर लेखिइसकेका दस्तावेजलाई उल्ट्याउँछन् । देशको पहिलो नारीराष्ट्रपति पनि पशुपति (हिन्दू) मन्दिरमा पुगेर आफ्नो पहिलो महिनाको तलब बुझाउँदै आदिवासी जनजातिका पहिचान मेटाउने शक्ति माग्दै शिवलिङसामू शीर निहुराउँछन् ।

फेरिपनि, दशैँको प्रसङ्ग कायम रहेको छ । भन्छन्- यो राजधानी उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)मा मात्रै कथित नेपाल सरकारले वर्षेनी दुर्इ हजारभन्दा बढी निर्दोष अनि अमूक पशुपङ्क्षीका प्राण हरेर दशैँ मनाउँदै आएको छ । त्यसका लागि एक करोडभन्दा बढी बजेट स्वहा पार्दै आएको छ । त्यसबाट भूमिपुत्रहरूमा चाहिँ ''हाम्रा पुर्खाका रगतको टीका लगाउँदै हाम्रा राज्यसत्ता'' भन्ने परिरहेको छ । हो; अब यही प्रसङ्ग अन्तिम विष्फोटको नजिक पुगेको महशुश गर्न सकिन्छ । जुन दिन विष्फोट होला, बाँकी उनै (राज्यसत्ता)ले नै जानोस् ।

यो लेखको सम्बन्ध चाडपर्वसँग हो । त्यसमा पनि दशैँसँग नै हो । दशैँ जम्मामा एक चाड वा पर्व हो । चाडपर्वको सबल पक्ष भनेको स्थानीय पर्यावरणमा अनुकूलन हो । त्यसलाई छोडेर चाड भनेको युद्ध उन्मादीमय हुनु हुँदैन । त्यसले दीगोशान्ति ल्याउँदैन । जहिले पनि युद्धको लागि आहृवान मात्रै गरिरहन्छ । वास्तविक दीगोशान्तिका लागि चाडपर्वले भूमिका खेलोस् भन्ने चाहना राख्नु चाहिँ एकताको लागि आह्वान हो । विगतमा भए गरिएका गल्तीका प्रायश्चित हो । त्यसो त चाडपर्व मनाउने ढङ्ग (विधि) सही हुनुपर्दछ । चाडपर्व युद्धसँग सम्बद्ध नभएर पर्यावरणीय महत्त्वसँग सम्बद्ध हुनुपर्छ । पर्यावरणसँगै कृषिकर्म जोडिएर आउँछ; जसले कर्मशील/सिर्जनशील हातहरू दिन्छ । त्यसैले मात्रै दीगोशान्ति दिन्छ । त्यहीबाट स्वतः समृद्धि प्राप्त हुन्छ; न कि राजनीतिक वा दशैँ जस्ता पर्व मनाएर !

बेला छँदै बुद्धि पुर्‍याउने हो भने दशैँको परिभाषा बदल्न सक्नु पर्दछ । विजयादशमीको नाममा कसैलाई दैवीकरण र कसैलाई राक्षसीकरण गर्ने कर्म अविलम्ब छोड्नुपर्छ । त्यसका लागि सर्वप्रथमतः दशैँलाई पनि कृषिकर्मसँग जोड्न सक्नुपर्छ । फसल भित्र्याउन सफल भएको कृषिपर्वको रूपमा रुपान्तरण गर्नु पर्छ । कृषिकर्म सफलताको श्रेय भने स्थानीय झ्योहो, झ्योमो, सिब्दा, ने'दा (सिमेभूमे, नागनागिनी) लगायत शक्तिहरू साथै आफ्ना महान् पुर्खालाई दिनुपर्छ । कथित दशैँ र तिहारका अन्तरसम्बन्ध केलाउन सक्नुपर्छ । हरेक पर्वहरूलाई यहीँका भूमिसँग जोड्न आवश्यक छ । दशैँ र तिहारलाई कृषि तथा पशुपालन पेशासँग जोडेर सोही अनुरूपको सांस्कृतिक रूपान्तरण गर्न सक्नुपर्छ । यसरी सोच्न र व्यवहार बदल्न नसक्नाले दशैँ चाड भन्दा पनि युद्धको शङ्खनाद मात्रै सावित हुँदैछ । 

त्यसैले नेपालमा दशैँ (विजयादशमी)को सट्टा तामाङको म्हेनङ/म्हेनिङ, नेवारीको मोःनी, थारुको सखिया, मगरको डास्याक्केको शैलीबाट सम्पूर्ण देशले मनाउन सक्नुपर्छ । लिगलिगकोटमा मगरहरूले दौडेर राजा चुन्ने विगतलाई प्रतीकात्मक रूपमा निरन्तरता दिनुपर्छ । तेमाल क्षेत्र र आसपासका तामाङले पनि दशैँको नाममा आफ्नै म्हेनिङ बहिष्कार गर्नुको सट्टा श्रद्धेय म्हेमे रेञ्जेनदोर्जेको जन्मजयन्ती मनाउन सक्नुपर्छ । उनको बारेमा शोधकार्य थालनी गर्नु पर्दछ । खेप्पास्हुङ र किर्पा क्लङ्बालाई निरन्तरता दिनुपर्दछ । एक ठाउँमा नभएका संस्कार संस्कृति तथा पर्वलाई अर्कोतिर पनि प्रसार गर्ने अवसरको रूपमा स्थापित गर्न सक्नु मात्रै पुर्खाप्रतिको सच्चा सम्मान् हुनेछ । अन्यथा, दशैँ नै हो भनेर म्हेनङ छोड्छ भने त्यस्ता कार्यले आफ्नै पहिचान मात्रै मास्ने छ ।

डास्याक्केको अवसरमा मगरले अन्नबाली भित्र्याउन सफल भएको साथै गोठमा लगिएका बस्तुभाउ सहित गोठाला गएकाहरू सफलतापूर्वक गाउँमा प्रवेश गरेकोमा खुशी मान्दै आफूले मान्दै आएका शक्तिहरूलाई पुज्न छोड्नु हुँदैन । थारु बडघरले सखियालाई निरन्तरता दिँदै आउनुलाई खुशीको विषय मान्नु पर्दछ । अबदेखि दशैँलाई हिन्दूको मात्रै चाडको रूपमा देख्ने दृश्य छोडेर परिवर्तनको लागि आँट गर्नु पर्छ । यसलाई राक्षसीमाथि दैवी विजयको रूपमा गर्दै आएका व्याख्यालाई बदल्न सक्नुपर्छ । तिहारलाई हिमाली भेगको पशुपालन तथा गोठाला जाने र गोठ सार्ने परम्परागत जीवनशैलीसँग जोडेर हेर्न सक्नुपर्छ । अन्यथा धार्मिक मिथलाई नै आधार मानेर हिन्दूसँग जोड्ने र हिन्दू मात्रै ठूला भनिरहने वा घोकाइरहने हो भने देशमा दीगोशान्तिको कल्पना गर्न सकिन्न । त्यस्ता कार्यले प्राकृतिक पक्ष तथा हरेक जीवजन्तु र वनस्पति लगायतकाका अधिकार त परैको कुरा; मानवअधिकारको पनि सुनिश्चितता हुने छैन । अझैपनि म्हेनिङ, डास्याक्के, मोःनी र सखिया मनाउनु भनेकै दशैँ मनाउनु हो भन्दै आदिवासी जनजातिले रोइलो गर्ने अनि हिन्दू तथा राज्यसत्ताले चाहिँ दशैँ लाद्छु भन्ने र त्यसभन्दा बाहेककालाई अराष्ट्रिय तत्त्व मात्रै देखिरहने हो भने यो देशलाई इतिहासमा सीमित हुन पुग्नेछ । त्यसैले, यसपालिको म्हेनिङ, डास्याक्के, मोःनी, साखिया साथै दशैँले दीगोशान्तिका लागि उल्लेख गरिएअनुसारका शक्ति र बुद्धि हामी सबैका मस्तिष्कमा प्रत्यारोपण गरोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना सहित थुजेछे (धन्यवाद) !!!
खोजराज गोले
३१ अशोज  '७५
चाबहिल

Friday, October 12, 2018

Tamang Gajal


एकातिर बाट छुट्दै अर्कोतिर जेलिँदैछु !!!!!!
साथीभाइसामूबाट हल्का-हल्का छेलिँदैछु !!

यत्ति लामो लाम छ कि आँखाले'नि भ्या'को छैन !
एकपछि अर्कोद्वारा फेरि पनि खेलिँदैछु !!!!!!!!!!!

यता गयो उता भन्छन् उता गयो उतै भन्छन् !
जहाँ बसे, टेके पनि पSर-पर ठेलिँदैछु !!!!!!!!

खै त तेल भन्छन् कोही पिना माग्ने उत्तिकै छन् !
सबका चाह पूरा गर्न तोरीसरि पेलिँदैछु !!!!!!!!!!

अरू नयाँ के नै हुनु यस्तै रह्यो यो जिन्दगी !!!
फेरि फेरि फेरि पनि अश्रु छालमै हेलिँदैछु !!
२६ अशोज '७५
चाबहिल

Wednesday, October 10, 2018

Tamang Gajal

हिकी अस्हेङ्नी तमङसे म्हिला हिकीसे ले थाSजी !!!!!!!!!
ह्रङ्गी दहिक, यिक देन छिक खेन्पो बिबसे स्वैँ ब्राSजी !!

कदेसे ह्रस्व चे ब्रिमूला कदेसे दीर्घ चे छिमूला !!!!!!
चुङ्ब देन चू'ङ्ब अफेब हा'थोम्बला ठिम छाSजी !!

अकार अरे आकार रो सङ्ग्येला ''दा 'का' स्होजी !!!!!!!!!!
'' दा थाSसी '' थन्म लमला घ्याङ मी दक्क्याSजी !!

कदेदा तोSब सम्भोटा कदेसे स्होब तामयिक रो !
तमङ ह्रङ-हङ 'छेचिमम् देवनागरीसे सोक्ढाSजी !!!

अघोब ग्योइरी छ्योइ ढोSब गिसेम् गीदा छोप् 'ब्लोब !
'ब्लोब देन भ्लोब असेSम कैसल लेरिन् हक्गाSजी !!!!!
८ अशोज '७५

चाबहिल

Sunday, October 7, 2018

तामाङ न्यायव्यवस्था सम्बन्धी विमर्श गर्दै सम्पन्न !

प्रस्तोता फुर्पा तामाङ अाफ्नो प्रस्तुति दिनु हुँदै
SCRC Discourse Series XII को क्रममा तामाङ राष्ट्रको न्यायव्यवस्था सम्बन्धी विमर्श गरिएको छ । प्रस्तोता फुर्पा तामाङ (अधिवक्ता, लेखक तथा अनुसन्धाता)ले रसुवाको ठूलोभार्कू गाउँमा प्रचिलत ह्युलछोक (गाउँले सभा)लाई मुख्य आधार बनाउँदै विषयगत प्रस्तुति गरेका छन् । प्रस्तोता तामाङका अनुसार इन्डिजिनिष्ट(आदिवासी)हरूका समुदाय सञ्चालनविधि आधुनिक राज्यको भन्दा छुट्टै रहेको छ । यो विधि पश्चिमाहरूले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको स्थापना गर्नुभन्दा हजारौं वर्ष पहिलेदेखि सञ्चालनमा आइसकेको थियो । जहाँ सरकारको रूपमा ह्युलछोक (गाउँले सभा) रहेको हुन्छ । त्यो सभाको अभ्यास इन्डिजिनिष्टहरूले आ-आफ्ना गाउँमा गरिरहेका छन् । ह्युलछोकको तोकिएअनुसार भेलाहरू बस्छन् । भेलाले मुख्यतः तीन प्रकारका कानूनहरू तोक्छन् । पहिलो ग्यालठिम (राज्यको कानून), दोस्रो ह्युलठिम (गाउँले कानून) र तेस्रो पेठिम (परम्परागत/प्रथाजनित कानून) हुन्छन् । 
प्रस्तुतिको क्रममा फुर्पा तामाङ
इन्डिजिनिष्टहरू आफ्ना गाउँका लागि आफैँ कानून बनाउँछन् । त्यसक्रममा प्रत्येक घरमुली (वा प्रतिनिधि)को सक्रिय उपस्थिति रहेका हुन्छन् । कानून निर्माणको क्रममा धर्म (बोन र बौद्ध) साथै सामाजिक मूल्य, मान्यता, नैतिक शिक्षा र विश्वास परम्परालाई मुख्य आधार मानेका हुन्छन् । निर्मित कानूनको कार्यान्वयन तथा अनुगमनका लागि एक समिति गठन गर्दछन् । समितिको प्रमुखलाई मूलम्हि, (चोहो/मुखिया/वडाध्यक्ष) भन्दछन् । मूलम्हि नै न्यायाधीसको रूपमा रहेको हुन्छ । उनीसहितको ह्युलछोक अर्थात् गाउँलेसभालाई अदालत पनि भन्न सकिन्छ । न्यायसम्पदानको क्रममा मूलम्हिलाई चोक, डिट्टा र बुरौलीले सहयोग गर्दछन् । प्रत्येक घरधुरी ह्युलछोकको सदस्य रहन्छन् । गाउँमा सूचना जारी गर्न गराउनका लागि कुल्तेन (कटुवाल) पनि रहेका हुन्छन् । 
कार्यक्रमको झलक
तामाङ गाउँको आश्यकताअनुसार ठिमहरू निमार्ण गर्दछन् । ती ठिमहरूमा अंश या सम्पत्तिसम्बन्धी व्यवस्था, स्त्री अंशधन (म्हशी वा म्हुनुर) सम्बन्धी प्रावधान, विवाह र सम्बन्धविच्छेद, धर्मपुत्र (ज जङ्बा) र घरज्वाइँ (म्हागोमा), अपुताली, भवितव्यमा ज्यान जान गएको, चोरी डकैती या अनैतिक सम्बन्ध, कुलो, पानी, साँध, सिमाना, बाली अर्मल, खर्क चरिचरन लगायतका विविध विषयहरू समाविष्ट हुन्छन् । आवश्यकता अनुसार प्रमाण बुझ्ने, जाँच गर्न तथा साक्षी बकाउन पनि सक्छन् । कसैले पनि दसी प्रमाण पेश गर्न नसकेमा किरिया हाल्न लगाउँछन् । प्रचलित व्यवस्थाको उल्लङ्घ गरेको खण्डमा दण्ड, सजाय तथा जरिवाना समेत तोकेका हुन्छन् । 
प्रस्तुतिको झलक
समाजमा हुँदैआएका वा हुनसक्ने आपराधिक घटना साथै सम्भावित द्वन्द्वको प्रभावकारी समाधान नै आजको आवश्यकता हो । इन्डिजिनिष्टहरूका सजाय व्यवस्था पनि पश्चिम तथा हिन्दूको भन्दा अलग्गै रहेको छ । जहाँ सजायको डर वा भय सिर्जना गरी अपराध कम गराउने भन्ने हुँदैन । हरेक अभियुक्त तथा अपराधीलाई सुधारको मौका दिन्छन् । उनलाई सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा रूपान्तरण गराउँदै सामान्य अवस्थामा ल्याउँछन् । इन्डिजिनिष्टहरूका व्यवस्थामा मृत्युदण्डको कल्पना पनि गर्न सकिन्न । मानव जीवनलाई अमूल्य मान्ने हुनाले त्यसलाई समाप्त पार्न कसैले पनि सक्तैन । 
कार्यक्रमको झलक
हरेकका जीवनमा गल्ती हुन सक्छन् । कुन वा कस्तो गल्तीमा कस्तो वा कति दण्ड, जरिवाना वा सजाय गर्ने भन्ने सम्बन्धमा स्पष्ट व्यवस्था गरेका हुन्छन् । अपराधको गाम्भिर्यतालाई हेर्दै गाउँनिकालासम्म गर्न सक्छन् । भवितव्यमा परेर कसैका ज्यान गएको रहेछ भने ज्यान गुमाउनेका परिवारको सदस्यले सजाय दिलाउने वा माफी दिने मध्ये कुनै एकलाई छनौट गर्न सक्छन् । गाउँमा कैदी थुनेर राख्ने जेल पनि हुँदैनन् । यद्यपि सांस्कृतिक मूल्य, मान्यता; धार्मिक विश्वास तथा सामाजिक व्यवस्थाबाट सहज रूपमा सञ्चलित रहने हुनाले अपराधको मात्रा न्यून रहेका देखिन्छन् । 
गन्बा डा. सुरेश तामाङ विमर्शलार्इ सम्बोधन तथा कार्यक्रम समापनको क्रममा
प्रस्तोता तामाङले स्थानीय सरकारसँग समन्वय गर्दै परम्परागत कानूनलाई लागू गर्न सुझाव दिएका छन् । तामाङको अनुसार यस्ता कार्यले सम्बन्धित जाति वा समुदायले अपनत्व एवं गौरवता बोध गर्न सक्छन् । कुनै पनि जाति वा समुदायको परम्परागत कानूनी व्यवस्थाहरू मेलमिलापको दृष्टिकोणले असाध्यै उपयोगी हुन्छन् । आदिवासी जनजातिका पहिचानलाई कानूनी रूपमा नै संरक्षण गर्दै स्थापित गराउन पनि यिनीहरूका परम्परागत न्यायव्यवस्थालाई लागू गर्न गराउन सक्नु पर्दछ । त्यसैले इन्डिजिनिष्टहरूलाई नेपाल जस्तो राज्यद्वारा निर्मित कानूनभन्दा पनि उनीहरूकै कानूनी व्यवस्थाद्वारा सञ्चालन गर्नु उचित हुन्छ ।  

एस.सि. आर. सि. १२ औं  डिस्कोर्स सिरिजको गन्बाको भूमिका डा. सुरेश तामाङले गरेका थिए । १२ औं सिरिजसँगै डिस्कोर्सले एक वर्ष पूरा गरेको छ ।

Thursday, October 4, 2018

Wednesday, October 3, 2018

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...