Monday, September 3, 2018

पहिचानसहितको आकार चाहिन्छ !

तामाङ ज्ञान महोत्सवको अवसरमा
सेतो कागजको टालोमा, कलमको थुतुनो जोत्दा
बनेका डोबहरूका
कराङकिरिङ अक्षरहरू !!


तिनै अक्षरबीच
मेरो तस्वीरलाई बन्दी बनाएपछि;
'इ ss तिम्रो घरको लालपूर्जा' भन्छौ तिमी !!


लालपूर्जालाई तिमी
अधिकार भन्छौ ।
'यत्ति चाहिँ तिम्रै हो' भन्दै
मेरो कुन क्षमताको उचाई नाप्छौ ??


खै त कहाँ छ ? लालपूर्जामा ??
तिमी सम्पत्तिको अधिकार भन्छौ !
तर मैले त यसमा
अधिकारको नामोनिशाना पनि देख्न सकिनँ।


देख्छु त केवल
मेरा चाहनालाई ठिउँरोमा हालेर थुन्ने झ्यालखाना मात्र ।।


साझा पृथ्वी भनेको छु ।
देश-देशावरका सीमानाहरू भत्काउन
काँधमाथि मानवताको घैँची बोकेर
निस्केको छु; विश्वभ्रमणमा !!


साँझ पर्‍यो । 'तिम्रो घर फर्क' भन्छौ ।
त्यही मेरो घरलाई तिमी,
'तिम्रो अधिकार' भन्दै परिभाषा लगाउँछौ ।।


अधिकारको घाँस हालेर तिमीले
मलाई सम्पत्तिको किलामा बोका बनाएर बाँध्ने
सपना देख्छौ किन ?
यसमा कुटिल चालबाजीको दूर्गन्ध मात्र पाइरहेको छु ।


त्यसैले मलाई कैदी बनाउने अधिकार हैन
बरु
सक्छौ- स्वतन्त्रता देउ !

हैन भने चाहिएन मलाई यो
तिमीले थमाएको कागजका टालाहरू !


चाहिएन अब मलाई
कसैलाई धनी र कसैलाई नोकर बनाउने
झुठा सम्पत्तिको खोक्रो अधिकार !

तिम्रो सम्पत्तिले कसैलाई दास र कसैलाई राज दिन्छ
कसैलाई अधिकार दिँदा कसैको छिन्छ ।


त्यसैले यी सारा व्याख्यानमा
म त केवल भ्रम मात्र देखिरहेको छु ।
बौद्धिक विलासिताको दूर्गन्ध मात्र सुँघिरहेको छु ।


अब म यो भ्रमको जालोलाई
उखेलेर फाल्ने क्रममा जुटेको छु ।
यो वा त्यो वर्गको मिथ्याङ्कलाई मेट्ने सोँचमा छु ।।


एक विश्व एक मानवको वृक्षमा
सम्पत्ति, वर्ग र राज्यविहीन समाजको आकाशमा
स्वतन्त्र पन्छी बनेर
प्वाँख फिँजाएर; मानवताको उडान भर्ने कसरतमा छु ।


धरोधर्म अन्तिम पटक दोहोर्‍याएर भन्दैछु
पृथ्वी मेरी आमा हो । यही धरामा
जन्मेँ । यहीँ मर्ने सोँचमा छु ।।


मलाई मेरी सिङ्गुल आमा चाहिन्छ ।
नङका टुक्रा वा झरेका कपाल दिएर
मलाई झुक्याउने दुष्प्रयास नगर !!


सम्पत्ति र अधिकार नामको जेलमा थुनेर
मेरी आमाको न्यानो काख
संसार चिनाउने आँखा,
पियूष पिलाउने वक्षस्थल
अनि लोरी गाउने ओँठहरूका
अपहरण गर्ने दुष्स्वप्न नदेख ।


म तिमीले थमाएको
लालपूर्जामा मेरी आमाको गन्ध पनि पाउन सक्तिनँ ।


त्यसैले, मलाई लालपूर्जा हैन ।
मेरी आमा नै चाहिन्छ ।
मेरो पहिचान सहितको आकार चाहिन्छ !!
२८ फागुन '६८
बाँकोट

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...