Monday, September 24, 2018

Tamang Gajal


हिकी अस्हेङ्नी तमङसे म्हिला हिकीसे ले थाSजी !!!!!!!!!
ह्रङ्गी दहिक, यिक देन छिक खेन्पो बिबसे स्वैँ ब्राSजी !!

कदेसे ह्रस्व चे ब्रिमूला कदेसे दीर्घ चे छिमूला !!!!!!
चुङ्ब देन चू'ङ्ब अफेब हा'थोम्बला ठिम छाSजी !!

अकार अरे आकार रो सङ्ग्येला ''दा 'का' स्होजी !!!!!!!!!!
'' दा थाSसी '' थन्म लमला घ्याङ मी दक्क्याSजी !!

कदेदा तोSब सम्भोटा कदेसे स्होब तामयिक रो !
तमङ ह्रङ-हङ 'छेचिमम् देवनागरीसे सोक्ढाSजी !!!

अघोब ग्योइरी छ्योइ ढोSब गिसेम् गीदा छोप् 'ब्लोब !
'ब्लोब देन भ्लोब असेSम कैसल लेरिन् हक्गाSजी !!!!!
८ अशोज '७५

चाबहिल

Thursday, September 13, 2018

तामाङ न्यायप्रणालीमा चोहोको भूमिका


तामाङ समाज बहुलनायकीय प्रणालीमा आधारित रहेको छ । समाजमा कम्तिमा चार वटा परम्परागत संस्थाहरू रहेका छन् । तिनमा बोम्बो, तम्बा, लम (लामा) र चोहो पर्दछन् । यो लेख भने चोहोसँग सम्बन्धित रहेको छ । 'चोहो' तामाङ शब्द हो । यसैलाई स्थान विशेष 'चोबो' र 'चोक' पनि भन्दछन् । यसको शाब्दिक अर्थ लगाएका पाइएको छैन । यद्यपि, उच्च वा माथिल्लो तहको भन्ने सङ्केत गर्दछ । 

समाज विकासको क्रममा 'चोहो' देखापरेको हो । यो समयान्तारसँगै संस्थागत भएको हो । जतिखेर यसले संस्थागत स्वरूप लियो; त्यतिबेलासम्ममा यो निकै व्यवस्थित भइसकेको थियो । चोहोको नियुक्ति  भने गाउँलेले गर्दथे । गाउँलेका तर्फबाट सर्वसम्मतिमा नियुक्त हुन्थ्यो । त्यतिखेर राजनीतिशास्त्र भन्ने नै थिएन । त्यसैले निर्वाचनको अवधारणा देखिएको छैन । लिगलिगकोटमा एक वर्षका लागि राजा छान्ने परम्पराले यो तथ्यलाई थप बल दिएको छ । गाउँले व्यवस्था कसैले उल्लङ्घन गरे नगरेका भन्ने कुराको अनुगमन गर्ने व्यक्ति नै चोहो हुन्थ्यो । 

चोहो निश्चित समय सीमा तोकेर नियुक्त हुन्थे । विशेषतः 'दुगु ङ्ह्य'को अवसरमा यो प्रक्रिया चलाउँथे । कुनै चोहोले गल्ती गरेमा फिर्ता बोलाउन सक्थे । ठूलै गल्ती गरेमा गाउँलेका तर्फबाट क्षमा पूजा गरेका भन्ने पनि देखिएको छ । चोहो समान पद नेपालका अन्य आदिवासी जनजातिहरूमा पनि पाइएका छन् । विश्वका आदिवासीहरूमा पनि यसको सगोत्रीय भन्न मिल्ने व्यवस्था पाइएका छन् । 

चोहोले न्यायप्रशासनको अतिरिक्त सांस्कृतिक, संस्कारगत, खेतीबाली, तथा खोरिया प्रणालीसमेत हेर्थ्यो । सांस्कृतिक रूपमा अनेक चाडपर्वहरू हुन्थे । ती चाडपर्वका नियम बनाउनेदेखि सम्पूर्ण व्यवस्था चोहोले नै मिलाउनु पर्दथ्यो । गाउँमा आयोजित जन्मदेखि मृत्युसम्मका संस्कारगत पक्षमा पनि चोहोको उपस्थिति हुन्थ्यो । त्यसक्रममा चोहोलाई निम्तो दिएका हुन्थे । खेतीबाली लगाउने, चरीचरन क्षेत्र तोक्ने, बन्द गर्ने र खोल्ने समेत चोहोले गर्दथे । 

कति स्थानमा चाहिँ खेतीबाली हेर्ने, खेतमा पानी लगाउने जस्ता कार्यका लागि निश्चित सङ्ख्यामा व्यक्ति नियुक्त गरेका देखिन्छन् । खोरिया फाँड्ने कार्यका लागि चोहोले गुहार बोलाउँथे । त्यस कार्यमा सहयोग गर्न गराउन 'कठोल्बा/कटौके' नियुक्त गरेका हुन्थे । विशेषतः 'गौराइ' पनि हुन्थ्यो । अचेल 'गौराइ'लाई नै 'सचिव' पनि भन्ने गरेका पाइन्छन् । 

तामाङ समाज पनि चोहोद्वारा सञ्चालित थिए । प्रत्येक गाउँमा कम्तिमा एकजना चोहो हुन्थे । सामाजिक, सांस्कृतिक लगायतका सम्पूर्ण व्यवस्था तथा विधि विधानका रेखदेख चोहोले गर्दै आएका थिए । समाज सही ढङ्गले सञ्चालित थियो । यस्तैमा चोहोलाई तामाङले एक परम्पराकै रूपमा स्थापित गरायो । पछिल्लो समयमा शाहवंशको उदयसँग चोहोमाथि अनेक प्रहारहरू भए । 

राणाकालमा आइपुगेपछि ठालु, बुढा, अमाली र मुखियाको अवधारणा बनाए । तिनीहरूलाई राज्यले आफ्नो कारिन्दा बनाए । तिनैद्वारा तामाङ चोहो विस्थापित हुन थाले । बिस्तारै चोहोलाई राज्यले नै मुखियामा परिणत गरे । त्यसपछि चोहोहरूलाई 'मुखिया, जिम्मावाल तथा मुइया र मुक्स्या'हरूमा परिणत भए । 

आज पर्यन्त तामाङ गाउँमा विवाद समाधान स्थानीयद्वारा नै गर्दछन् । त्यो चोहोको अवशेष हो । सांस्कृतिक तथा संस्कारगत हकमा पनि चोहोको अभ्यास प्रचलित छ । कति स्थानमा खेतीबाली लगाउने क्रममा व्यवस्था मिलाउने काम चोहोले गर्दै आएका बताउँछन् । रसुवाको गाउँमा 'ह्युल छोक्पा' प्रत्येक तीन तीन महिनामा हुँदै आएका छन् । मुस्ताङका थकालीसँग 'घम्बा' अर्थात् तेह्र मुखिया प्रणाली कायम रहेका देखिन्छन् । तामाङ गाउँतिर पुग्दा चोहो भएकाहरू भेट्टाइन्छन् । 

तामाङको आफ्नै न्यायप्रणाली थियो । न्याससम्पादनको क्रममा झगडियाका कुरा सुन्थे । आवश्यक परेमा प्रमाण हेर्थे । त्यसक्रममा गाउँका बोम्बो, तम्बा, लामा, गन्बा, मुइमू तथा ह्युल्बाहरू जम्मा हुन्थे । तिनीहरू तामाङ मूल्य, मान्यता, दृष्टिकोणलाई आधार मान्दथे । सोही अनुसार न्यायसम्पादन गर्दथे । कसैले सामाजिक, सांस्कृतिक मूल्य, मान्यता तथा नियमको उल्लङ्घन गरेमा अनेक विपत्ति आइपर्छ भन्दथे । गल्ती गर्नेलाई सगुन राखेर क्षमा माग्न लगाउँथे । क्षति हेरेर दण्ड, जरिवाना समेत गराउन सक्थे । 

चरीचरन क्षेत्रको नियम तोडेमा, गाउँघरमा झगडा गरेमा, कुनै बिज्यार्इँ गरेमा स्थानीयले आफ्नो नियम अनुसार आवश्यक निर्णय गर्दथे । निर्णय दिने क्रममा बोम्बो, तम्बा, लामा साथै स्थानीयले राखेका मान्यतालाई आधार मानेका हुन्थे । हरेक विवादहरू एकै बसार्इमा समाधान गर्दथे । जस्तै ठूला विवाद पनि छिटै समाधान हुन्थे । सरल, छिटो र छरितो हुन्थ्यो । आफ्नै भाषामा सुनुवार्इ तथा जिरह हुन्थे । सम्बन्धित पक्षका कुरा सुनेपछि गाउँलेले निर्णय गर्दथे । चोहोको काम चाहिँ गाउँले निर्णय सुनाउने हुन्थ्यो । 

हरेक निर्णयपछि सगुन गराउँथे । गल्ती गर्नेले क्षमा माग्थे । सानो नाताको मान्छेले गल्ती गरेको अवस्थामा ढोगेरै माफी माग्दथे । त्यसपछि दैनिक जीवन सदाझैँ सरल र सहज रूपमा चल्थे । तामाङका गाउँहरूमा उल्लेख गरिएअनुसारको न्यायप्रणाली कायम थिए । यसको मुख्य व्यक्ति वा पद्वी चाहिँ 'चोहो' थियो । यसैलाई तामाङले परम्पराको रूपमा विकास साथै अभ्यास पनि गरेका थिए ।

नोट : यसको पुनःस्थापना आजको आवश्यकता हो । यसका लागि व्यापक बहस तथा अध्ययन अनुसन्धान आवश्यक छ । यही तथ्यलाई मनन् गर्दै एस.सि.आर.सि.ले 'तामाङ राष्ट्र तामाङ न्यायप्रणाली' नामक अभियान समेत सञ्चालन गरेको छ । यस सम्बन्धमा आफूसँग भएका सूचना तथा दस्तावेजहरू उपलब्ध गराएर समाज निर्माणको क्रममा अतुलनीय सहयोग गर्ने अवसर आएको छ । 

Tuesday, September 11, 2018

गोने ङ्ह्य : सांस्कृतिक पर्व !


नयाँ मकै (नवङ्गी) चढाउँदै
१.  पृष्ठभूमि
तामाङ समाजमा 'गोने ङ्ह्य'को अवधारणा कायम रहेको छ । 'गोने'ले एउटा महिनाको नाम साथै 'ङ्ह्य'ले 'पूर्णिमा' भन्ने अर्थ दिन्छ । यो पर्वकै दिन हिन्दूका जनै पूर्णिमा पनि पर्दछ । यो मासगत रूपमा साउन वा भदौमा पुग्ने गर्दछ । यसलाई तामाङले परम्परागत ज्ञान दिवसको रूपमा मान्दै आएका देखिन्छन् । परापूर्वदेखि मान्दै आएतापनि यो अवसरमा के-के गरिन्छन् ? कसरी मनाउने भन्ने सम्बन्धमा कतिपयलाई ज्ञात नभएको देखियो ।
कतिपयले त यस सम्बन्धमा स्पष्ट पार्न अनुरोध पनि गरेका छन्; तसर्थ 'गोने ङ्ह्य' बारेमा केही स्थानका तामाङ समाजमा प्रचलित परम्परालाई प्रस्तुत् गर्ने प्रयास गरिएको छ । यो लेख सम्पूर्ण तामाङ समाजको अध्ययनबाट निकालिएको होइन । यहाँ नसमेटिएका सूचनाहरू यहाँहरूले दिन सक्नुहुनेछ । विशेषगरी यो लेख बोन/बोम्बोसँग सम्बन्धित रहेको छ । लम (लामा)को पक्ष खासै उल्लेख गरिएको छैन । यसको अर्थ यो पर्व लमसँग जोडिएको छैन भन्ने होइन । लम सम्बन्धी प्रशस्त सामग्रीहरू पाइने हुनाले यहाँ उल्लेख गरेको छैन ।
'गोने ङ्ह्य' परम्परा कहिलेदेखि भएको थियो भन्ने प्रश्नको यकिन उत्तर दिन निकै गाह्रो छ । तैपनि, समाज विकासको क्रममा बोन मान्यताद्वारा यसको उद्विकास भएको मान्न कर लाग्छ । जब मानिसले पर्यावरणीय चक्रलाई चिन्न सक्ने भयो; तब बिस्तारै यसको उद्विकास क्रम चलेको सहज अनुमान लगाउन सकिन्छ । त्यतिबेलासम्ममा बोनको एक किसिमको विश्वदृष्टिकोण पनि बनिसकेको थियो । त्यही दृष्टिकोण र पर्यावरणीय वा ऋतु चक्रीय ज्ञानको संयोजनद्वारा यो पर्वको जन्म भएको भन्ने देखिएको छ । त्यहीँनेर अझै व्यवस्थित प्रस्तुतिका लागि अध्ययन, अनुसन्धानको पाटो खुल्ला रहेको छ । 'पेठिम' (कार्यविधिगत) रूपमा यहाँ चर्चा गरिएको छैन ।
२.  गोने ङ्ह्य साथै तामाङ विश्वास
'गोने ङ्ह्य' सम्बन्धी धेरै ज्ञानहरू छन् । ती सबै संरक्षणको अभावमा थलिएका छन् । जानेर वा नजानेर अर्काको भन्दै फाल्ने क्रमले तामाङको पहिचान नै समस्यामा फस्दै गएको छ । यस्तो विषम् परिस्थितिबीच पनि २०७० सालदेखि लोकोत्तर लोकवादी विचार समूहले यो दिनलाई 'तामाङ ज्ञान दिवस' तथा तामाङ ज्ञानको दीक्षान्त समारोहको रूपमा मनाउँदै आएको छ । तामाङ ज्ञान महोत्सव तथा सम्मेलन उक्त अभियानको लक्ष्य रहेको थियो । भर्खरै काठमाडौंमा 'तेस्रो तामाङ ज्ञान महोत्सव' सम्पन्न भएको छ । यहाँ भने 'गोने ङ्ह्य' संस्कृतिलाई निम्नानुसार प्रस्तुत् गरिएको छ ।
क) गोने ङ्ह्य
'गोने ल' ठ्याक्कैमा साउन र भदौ महिनाको बीचौंबीचमा पर्दछ । यो मासको नाम कसरी 'गोने' रहन गएको थियो भन्ने प्रश्न उठ्न सक्छ । यसको बारेमा सर्वमान्य मान्यता स्थापित भएको पाइएको छैन । एकथरी विश्वास अनुसार 'गो' भन्नाले 'ढोका' हो । त्यस्तैगरी 'ने'को अर्थ 'तीर्थ/स्थल' हुन्छ । यो मासमा देउताहरू गुफा बस्छन् । यही मासको पूर्णिमा तिथिको दिन भने गुफाबाट बाहिर आउँछन् । त्यसरी देउता गुफा बसेको स्थानको ढोका खोलिने हुँदा दर्शनका लागि पुग्छन् । यसैकारण महिनाको नाम पनि 'गोने' रहन गएको हो ।
ख)  गुफा परम्परा
'गोने ल'मा '' अर्थात् देउताहरू गुफा बस्ने हुनाले बोम्बो र लम (लामा)हरू पनि गुफा बस्ने प्रचलन रहेको छ । विशेषगरी लमहरू यो मासमा गुफा बस्छन् । गोने ङ्ह्यको दिन भने गुफाबाट निस्कन्छन् । त्यसदिन स्थानीय जिन्दा (जजमान)हरू लमलाई सगुनसहित लिन पुग्छन् । बढो धुमधामका साथै लमलाई गुफा बसेको स्थलबाट गाउँमा प्रवेश गराउँछन् । कतिपय स्थानका बोम्बोहरू पनि गुफामा बस्छन् । प्रायः बोम्बोहरू हप्ता दिन गुफा बसेका देखिन्छन् । गोने ङ्ह्यको दिन वा त्यसको दुर्इ दिनअघि नै निस्कन्छन् । बोम्बोलाई पनि स्थानीय जिन्दाहरूले लिन पुग्छन् ।
ग) बोम्बो परम्परा
गुफाबाट निस्केका बोम्बोहरू तीर्थस्थल (नजिकका महादेव मन्दिर वा कुण्डादि)मा पुग्छन् । बोम्बो र लमहरु चिहानमा गुफा बस्छन् । चिहानमा बस्नुको अर्थ भूतप्रेतलाई वशमा पार्ने ज्ञानको अभ्यास पनि हो । यही भएर कतिपय बोन (लबोन)हरू चाहिँ गुफा बस्दैनन् । उनीहरूका अनुसार चिहानमा गएर गुफा बसेपछि उसले 'ल स्होबा' अर्थात् देउकुलको पूजा गर्न पाउँदैनन् । 'फो ल'को पुजारी हुनाका निमित्त भूतप्रेतलाई खेलाएको हुनु हुँदैन । 'फो ल' पूर्णतः 'स्हिवा' (सविनयता)मा आधारित हुन्छ तर भूतप्रेतलाई तह लगाउने काम चाहिँ 'ठोवा' (शक्ति प्रयोग गर्दै तह लगाउने वा दबाउने)को हुन्छ । त्यसकारण 'लबोन' हुँ भन्नेहरू चाहिँ गोने मासमा गुफा बस्दैनन् । तिनीहरूका ज्ञान गोनेभन्दा एक महिना अगाडिको बेल्बोमा नै साटासाट गर्दछन् ।
सिलटिमुरको माला लगाएको

लबोनका लागि देउता वा कुनै शक्ति आफैँ आउनु वा उत्रनु पर्छ भन्ने हुँदैन । यो विशुद्ध देउकुलको विधा हो । यहाँ नैतिकता र सिद्धान्तको कुरा बढी हुन्छन् । जोकोहीले गुरुजनबाट ज्ञान लिएर लबोन हुन सक्छन् । यहीँनेर 'लबोन' 'बोम्बो'को भेद छुट्याउन सक्नुपर्दछ । लबोनलाई पनि 'बोम्बो' भन्न सकिन्छ तर 'डेबोम्बो'हरू 'बोम्बो' मात्रै हुन् । 'डेबोम्बो'लाई कहिल्यै पनि 'लबोन' भन्न मिल्दैन । यही भेद खुट्याउन नसक्नेहरूले नै बोम्बोमाथि तरह-तरहका प्रहार गर्दै आएका देखिन्छन् । यहाँ उल्लेख गर्न खोजेको चाहिँ 'लबोन'हरूले गोने मासमा गुफा बस्दैनन् भन्ने हो । यद्यपि, केही स्थान विशेषमा भने 'गोने' मासमा चिहानमा गुफा बसेका बोम्बोले पनि 'लबोन'को काम पनि गरेका देखिन्छ ।
तामाङ विश्वास अनुसार देउताहरू गोने मासमा गुफा बसेका हुन्छन् । त्यस अवधिमा बोम्बोले आफ्नो कुनै पनि बोन तथा बोम्बो विधिको अवलम्बन वा अभ्यास गर्दैनन् । यो मासभरिका लागि बोनका सम्पूर्ण सामग्रीहरू नचलाउने गरी बन्द राख्छन् । त्यसरी थन्काएका सामग्रीहरू गोने ङह्यको दिन मात्रै निकाल्छन् । बिहानै बोन वा बोम्बोहरू आफ्ना सामग्रीसहित कुण्डादिमा पुग्न्छन् । त्यसो नगर्नेहरु भने ढ्याङ्ग्रो बजाउँदै आफ्नो पँधेरोमा पुग्छन् । नुहाउँछन् । सामग्रीहरू धोइपखाली गर्दछन् । तितेपातीका मुण्टा(सेउला)हरूद्वारा आफू र सामानहरू चोख्याउँछन् । आफ्नै कान तथा ढ्याङ्ग्रोमा तितेपातीका सेउलाहरू सजाएर घरमा प्रवेश गर्दछन् ।
घ) 'फो ल' स्थापना तथा 'चनस्हुङ' राख्ने
'गोने ङ्ह्य'को दिन लबोनद्वारा 'फो ल' (कुलदेउता जस्तै) स्थापना गर्दछन् । यसलाई 'तिङ्दो फो ल' तथा 'ह्रुइरी बप्पा ह्रुइगी फो ल' पनि भन्ने गर्दछन् । यसैलाई कुलदेउता पनि भन्ने गर्दछन् । यद्यपि, 'फो ल' 'कुलदेउता'को अवधारणामा फरक देखिन्छन् । तामाङ समाज 'ह्रुइ' परम्परामा आधारित रहेको छ । यसैका आधारमा दाजुभाइ, ङरु (स्वाँगे) साथै कुटुम्ब छुट्याउँछन् । 'ह्रुइ'लाई नै 'थर' भनेर अर्थ्याउने गर्दछन् तर यी दुर्इ अवधारणाबीच आकाश र पातालको जस्तो फरक हुन्छन् । जेहोस् निश्चित ह्रुइहरू मिलेर तामाङ समाज बनेको हुन्छ ।
कुनै पनि व्यक्ति 'तामाङ' हुनाका लागि उसको 'ह्रुइ' चाहिन्छ । 'ह्रुइ'लाई प्रमाणित गर्ने चाहिँ 'ह्रुइगी फो ल' हो । कतिपयले स्वाँगे भएपछि 'ह्रुइगी फो ल' मिलेको हुनुपर्छ भन्ने तर्क गरेका पाइन्छन् । त्यस्ता तर्क 'ह्रुइ र ह्रुइगी फो ल'को अवधारणा नबुझेका मान्छेले गर्दछन् । स्वाँगेहरूका बीच 'ह्रुइगी फो ल' मिल्नु वा एकै हुनुपर्छ भन्ने छैन । स्थान विशेष फरक-फरक 'ह्रुइगी फो ल' मान्न सक्छन् । यहाँ भन्न खोजेको चाहिँ तामाङमा ह्रुइ हुन्छन् । ह्रुइसँग उसको 'ह्रुइरी बप्पा ह्रुइगी फो ल' हुन्छन् । 'ह्रुइगी फो ल' स्थापित गर्ने दिन पनि 'गोने ङ्ह्य' नै हो ।
पँधेरोमा नागलार्इ मकै चढाएको
'ह्रुइगी फो ल'लाई प्रचलन अनुसार बोका वा भाले राख्दछन् । बोन शेरपहरू अनुसार पहिले हिमालीभेगमा रहँदा भेँडा राख्ने प्रचलन थियो । तल झर्दै आउने क्रममा भेँडाको सट्टा बोका राख्ने प्रचलन स्थापित गरेका थिए । अन्ततः दुर्इ वटा सिङ भएका कि नौ वटा सिङ भएका लिने भनेर देउतालाई सोधेका थिए । त्यतिखेर दुर्इ वटा सिङ हुने बोका त यत्रो छ भने नौ वटा सिङ भएको जन्तु कत्रो पो होला भन्ने ठानेछन् । त्यसपछि देउताले नै नौ वटा सिङ भएको लिने भनेछन् । मान्छेले चाहिँ भालेको सिउरको नौ वटा चुच्चोहरू गनेर देखाउँदै भाले बलि चढाउन थालेछन् । त्यसपछि भाले राख्ने प्रचलन बसेको हो । अहिले पनि 'ह्रुइगी फो ल' स्थापित तामाङ घरमा 'चनस्हुङ' भन्ने एउटा भाले राखेका हुन्छन् । ह्रुइ तथा स्थान विशेष कोहीले रातो त कोहीले सेतो रङका भाले राख्छन् । कतिले 'चनस्हुङ' बलि चढाउँछन् त कतिले बलि चढाउँदैनन् ।
कुनै पनि घरमा 'फो ल' स्थापित गरेको रहेनछ भने 'गोने ङ्ह्य'कै दिन स्थापित गर्दछन् । सोही क्रममा 'चनस्हुङ' पनि राख्छन् । यदि घरमा 'फो ल' स्थापित छ तर कुनै व्यहोरावश 'चनस्हुङ' छैन भने गोने ङ्ह्यको दिनमा स्थापित गर्दछन् । केही गरी भाले बुढो भयो र नयाँमा सार्नुपर्ने भयो भने वा मर्‍यो वा हरायो भने पनि नयाँ राख्नुपर्ने भयो भने ती कार्य पनि सोही दिन गर्दछन् । नयाँ भालेमा सार्ने कार्य भने घरमा लबोन छैन भने घरमुली महिलाले पनि गर्न सक्छन् ।      
ङ) नयाँ मकै चढाउने परम्परा
तामाङ गाउँहरूमा नयाँ मकै देउतालाई चढाउने पनि 'गोने ङ्ह्य'को दिनमा नै हो । उनीहरूका विश्वासअनुसार नयाँ मकै उत्पादन भएपछि पहिले देउतालाई चढाउनुपर्छ । देउतालाई नचढाइ मानिसले खाएमा/जुठो पारेमा देउता रिसाउँछन् । त्यस्ता मानिसका कान काट्छन् । देउताले कान काट्दाखेरि कानको फेदमा काटिएको जस्तो देखिने गरी घाउ लाग्ने गर्दछ । त्यस्तैगरी नयाँ मकै (नवङ्गी) देउतालाई नचढाइकन मान्छेले खाएमा बालीमा रोग लाग्ने, मुसा, बाँदर, बँदेल र दुम्सी जस्ताका प्रकोप बढ्ने हुन्छ ।
केही गरी 'गोने ङ्ह्य'अघि नै मकै पाकेमा वा भाँच्नुपरेमा मूलबारीको एक छेउको मकै भने जस्ताको त्यस्तै राख्छन् । देउताको नाममा त्यसरी राखेर पनि काम चलाउन सकिन्छ । गोने ङ्ह्यको दिनमा बारीमा स्थापित नाग-नागिनी, सिमेभूमे, देवदेवीलाई नयाँ मकै चढाउँछन् । त्यस्तैगरी गाउँमा रहेका देवदेवीका मन्दिरहरूमा पनि मकै चढाउँछन् । मकै चढाउने र त्यसको विधि पुर्‍याउने आख्तियार बोम्बोले पाएका हुन्छन् । त्यसदिन बिहानैदेखि गाउँतिर ढ्याङ्ग्रो बजाउने र पँधेरोमा गएर नुहाउँछन् । गाउँका मन्दिर क्षेत्रमा गाउँले जम्मा हुन्छन् र नयाँ मकै चढाउँछन् ।
च)  नयाँ मकै चढाउने परम्परासम्बन्धी र विश्वास
तामाङ विश्वास अनुसार अन्नबाली हुनुको मुख्य कारण स्थानीय झ्योहो/झ्योमो, सिप्दा, नेदा, लु, ङ्ह्यम्बु आदि हुन् । त्यस्तैगरी स्थानीय झ्योहो र झ्योमोहरूले पनि अन्नबाली लगायत गाउँको सुरक्षा र व्यवस्था कायम गराइरहेका विश्वास गर्छन् । तिनैका प्रतापले अन्नबाली सफल हुन्छन् । त्यसकारण पहिले अन्न (नवङ्गी मकै) सम्बन्धित शक्तिहरूलाई चढाउनुपर्ने हुन्छ । आफ्नो 'फो ल' तथा रिग्जेनहरूलाई पनि मकै चढाउनुपर्ने हुन्छ । यसको अर्को गुह्य पाटो पनि देखिन्छ; जुन प्रायःले वास्ता गरेका हुँदैनन् । बोन मान्यता अनुसार सर्वप्राणी समान र बराबर हुन्छन् । मानिसकै समान अन्यका पनि हकाधिकार हुन्छन् । यद्यपि मानिसले अनेक बहानामा अरूमाथि अन्याय गरिरहेका हुन्छन् ।
नयाँ मकै चढाएको

बोन विश्वास अनुसार एक दाना अन्न उत्पादनको क्रममा कैयौं कीराफट्याङ्ग्रा लगायतका प्राण लिएका हुन्छन् । खनजोत गर्ने, बीउ जोगाउने, गोडमेल गर्ने लगायतका बहानामा अनगिन्ती प्राणीका ज्यान लिएका हुन्छन् । धर्तीको छाती चिर्ने, खनीखोस्रने गरेका हुन्छन् । त्यसकारण ती नयाँ मकै उत्पादनका क्रममा मारिएका प्राणीका चित्त भडि्रहेका हुन्छन् । तिनले अन्नलाई पिरेर बसेका हुन्छन् । त्यसकारण देउतालाई नचढाइकन मानिसले खान मिल्दैन । जब स्थानीय सिप्दा, नेदा, लु, ङ्ह्यम्बु, ल साथै 'फो ल'लाई चढाउँछन्; तब मारिएका प्राणीका चित्तहरूलाई सम्बन्धित शक्तिहरूले निश्चित स्थानमा पुर्‍याउँछन् । त्यसपछि बल्ल नयाँ अन्नपात सेवनयोग्य हुन्छन् । त्यसैले गोने ङ्ह्यमा नवङ्गी भनेर चढाउँछन् । यस्तै मान्यतानुरूप लमद्वारा चैत र कात्तिक-मङ्सीरमा सोइनम गर्ने प्रचलन रहेको देखिन्छ ।
छ)  बोम्बोको ब्रङ्गी
बोम्बो नै तामाङको मुख्य पहिचान हो । 'गोने ङ्ह्य'को दिन बोम्बो विधिअनुसार घरको झिनङगू'(फुसङगू')मा 'ब्रङ्गी' बनाउँछन् । हरिया मकैका घोगासहित भित्तोमा सजाउँछन् । बोम्बोको 'ह्रास्या' (माला)हरूद्वारा सजाउँछन् । सिल गर्छन् । नयाँ मकै 'फो ल'लाई चढाउँछन् । दिनभरि ब्रङ्गी राख्छन् । ब्रङ्गीमा बोम्बोको बुम्बा, मोने, स्युक्पा पोइमा आदि राखेका हुन्छन् । त्यहीनेर गुन्द्री बिछ्याउँछन् । त्यहीमाथि बोम्बोहरू बसेर सिल गर्दछन् । लमको घरमा पनि दाजुभाइहरू जम्मा हुन्छन् । गोम्बो खडा गर्छन् । छुट्टै गोम्बो (गुम्पा/गुम्बा/गोन्पा/गोन्पो/गोन्बो) भवन भएका बस्तीकाहरू भने सोही स्थानमा जम्मा हुन्छन् ।
बोम्बो ब्रङ्गी
ज)  ज्ञान हस्तान्तरण प्रक्रिया
'गोने ङ्ह्य' भनेको तामाङ परम्परागत ज्ञान हस्तान्तरणको उत्सवमय दिवस हो । यसलाई तामाङ ज्ञान दिवस तथा दीक्षान्त समारोह भन्न सकिन्छ । यही दिने बोन/बोम्बोका गुरु तथा चेलाहरू जम्मा हुन्छन् । नयाँ गुरु र चेला पनि यही दिन बनाउँछन् । यही दिन शिक्षा दीक्षा दिन्छन् । विधिपूर्वक यही दिन मन्त्रादि दिए/लिएको राम्रो मान्दछन् । यो दिन सिकेको मन्त्र लाग्छ भन्ने जनविश्वास रहेको छ ।
यसको अतिरिक्त कतिपय बोम्बोहरू भने 'गोने ङ्ह्य'भन्दा अघिदेखि नै गुफामा बसेका हुन्छन् । सोही बेला सारा ज्ञानहरू हस्तान्तरण गर्छन् । लमहरू पनि गोने महिनामा गुफा बस्छन् । आफ्ना गुरुद्वारा चेलाहरूलाई दीक्षित गर्दछन् । यसप्रकार बोम्बो र लम दुवैले यो दिनलाई ज्ञान दिवस तथा एक किसिमले दीक्षान्त समारोहको रूपमा मनाउँदै आएका देखिन्छ । त्यसरी शिक्षा दीक्षा दिने कार्य विशेषतः बोम्बो (उपचारक) साथै लम (पुरोहित)ले गरेका पाइन्छन्; जसमा तामाङपन झल्किएका हुन्छन् । लम गोम्बो वा सेड्राहरूमा फरक परम्परा रहेको हुन्छन् ।
तामाङ ज्ञान कसरी दिन्छन्/लिन्छन् भन्ने जिज्ञासा लाग्न सक्छ । खासमा बोम्बोहरूका अनेक ज्ञान हुन्छन् । ती ज्ञानहरू जतिखेर पायो; त्यति नै खेर भन्न वा बोल्न वा अभ्यास गर्न गराउन हुँदैन भन्ने जनविश्वास रहेको छ । त्यसकारण विधिवत रूपमा गुरु चेला स्वीकार गरेपछि मात्रै ज्ञान हस्तान्तरण प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ । त्यसैले गुरु बोम्बोले आफ्ना चेला तथा चेलाका लागि योग्य व्यक्तिलाई लिएर गुफाको व्यवस्था मिलाउँछन् । त्यसक्रममा गुरु र चेलाको बीच सल्लाह गर्दछन् । सोही अनुसार तिथि मिलाउँछन् । साइत हेरेर विधिलाई पूर्णतः पालना तथा अवलम्बन गर्दै ज्ञान हस्तान्तरणको प्रक्रियामा प्रवेश गर्दछन् ।
त्यसक्रममा अनेक 'दम' (अनुशासन)को बनाएका हुन्छन् । गाउँदेखि पSर वा ओझेल परेका स्थानमा जान्छन् । जहाँ चिहान हुन आवश्यक मानिन्छ । अनेक शक्ति तथा व्यक्तिहरूद्वारा अनगिन्ती आक्रमणका प्रवलता रहन्छन् । त्यसैले ज्यादै सतर्क हुनुपर्ने हुन्छ । नयाँ चेलालाई देउता चढेर सताएको छ भने तिनलाई सक्षम बोम्बो बनाउने काम पनि यसै बखत हुन सक्छ । त्यसक्रममा आवश्यक सम्पूर्ण अभ्यास गर्ने, गराउने प्रचलन देखिन्छन् । थोरै मात्र असावधानीका कारण ज्यान जाने वा मानसिक सन्तुलन गुम्न सक्ने खतरा हुन्छन् । त्यसैले साह्रै सचेततापूर्वक ज्ञान हस्तान्तरण गराउँछन् ।
कतिपय ज्ञानहरू गुरुले चेलाहरूलाई एकसाथ राखेर हस्तान्तरण गर्न सक्छन् । कति त यस्ता ज्ञान हुन्छन्; जुन गुरुले चेलालाई एक एक जना राखेर एकान्त पारेर दिनुपर्ने हुन सक्छन् । कति ज्ञान चेलाले सक्ने वा नसक्ने जाँचेर दिनुपर्ने हुन्छन् । ग्रहण गर्न सक्छ भन्ने कुरामा गुरु विश्वस्त नभएमा दिँदैनन् । त्यसकारण चेलाको क्षमता जाँच गर्ने अवसर पनि मान्न सकिन्छ ।
यस्तैगरी 'गोने ङ्ह्य'को दिन मात्रै चेलाका रूपमा आउन सक्छन् । ब्रङ्गीमा आएर रहर गर्न पनि सक्छन् । त्यस्तालाई भने गुरुले 'ल कप्प' (देउता चढाउने/लगाउने) गर्दछन् । त्यसरी 'ल कप्प' गर्दा कोही काँप्न वा नकाँप्न पनि सक्छन् । काँपेका मान्छे चाहेमा बोम्बो हुन सक्छ । नकाँपेका मान्छेले बोम्बो हुनै नसक्ने भन्ने चाहिँ होइन । त्यस्ता मान्छे 'लबोन' विधातिर लाग्नु राम्रो हुन्छ । 
३.  गोने ङ्ह्य र विश्वास
'गोने ङ्ह्य' सम्बन्धी परम्परागत विश्वास पाइएको छ । तामाङ समाजमा यसको विशेष महत्त्व कायम रहेकै छ । हरेक संस्कार तथा संस्कृतिहरूका पछाडि केही न केही विश्वास रहेकै हुन्छन् । गोने ङ्ह्य सम्बन्धमा पाइएका विश्वासहरूलाई निम्नानुसार हेर्न सकिन्छ ।
क)  देउतासम्बन्धी विश्वास
तामाङ बोन/बोम्बोलाई नै दैवीशक्तिको अवधारणागत निर्माता भन्दा खासै फरक पर्दैन । बोन शेरप अनुसार पृथ्वीको निर्माणअघि मुख्यतः तीन देवताका उदय हुन्छन् । तिनीमध्ये 'ल छङ्बो'ले संसारको सृष्टि गर्छन् । यसप्रकार संसारमा देउताहरूका देखापरेका हुन्छन् । उद्विकासको क्रममा अनेकन् देवी देउताहरूका अवधारणा विकासित भए । तामाङ मान्यता अनुसार ती सबै देवी देउताहरू 'गोने' मासको एक महिनाभरि गुफा बस्छन् । त्यसकारण देव तथा शुभ कार्यहरू यो महिनामा गर्दैनन् । कसैले गरेछन् भने पनि फल मिल्दैन । 'गोने' मासलाई अशुभ मान्छन् । यो मध्यवर्षात्को मास पनि हो ।
यही विश्वासका कारण बोन तथा बोम्बोले आफ्ना सामग्रीहरू यो महिनाभरि खोल्दैनन् । जब 'ङ्ह्य' पूणिर्मामा पुगेर मसान्त हुन्छ; तब बल्ल सोही अवसरमा बाहिर निकाल्छन् । बोन/बोम्बो आफैँ नुहाई धुवाई गर्छन् । आफ्ना सामग्रीहरू सफा गर्दछन् । यसका लागि सके गोसार्इँकुण्ड जान्छन् (यस सम्बन्धमा गोले बोम्बोसँग जोडिएको चर्चित मिथक पनि पाइएको छ) । नसक्नेहरू नजिकका कुण्ड वा महादेवका मन्दिरमा पुग्छन् । त्यो पनि असम्भव भएमा आफ्नो पँधेरोमा पुग्छन् । विधिपूर्वक नुहाई धुवाई गर्दछन् ।
ख)  बोम्बो र मन्त्र सम्बन्धी विश्वास
'गोने ङ्ह्य' बोन तथा बोम्बोसँग सम्बन्धित पर्व हो । यही बेला बोम्बोका मन्त्रहरू सिक्नु र सिकाउनु राम्रो हुन्छ । झारफूक गरेका बेला ठ्याक्कै लाग्छ । यो दिन देउताहरू गुफाबाट बाहिर निस्केका हुन्छन् । एक महिना लामो गुफाबासबाट उत्रेका देउताहरू निकै शक्तिशाली हुन्छन् । आफ्ना गुरुबाट मन्त्र लिँदा पनि देउताहरूबाट लिएसरि हुन्छन् । त्यसैले वर्षभरिमा मन्त्र लिने वा सिक्न चाहानेका लागि यो सबैभन्दा उत्तम दिन मानिन्छ । यसका लागि बोन विधि अनुरूप गुरु थाप्ने तथा मन्त्र दिने प्रचलन रहेको छ ।
ग)  जडीबुटीसम्बन्धी विश्वास
तामाङ बोन/बोम्बो पनि मुख्यतः तीन प्रकारका हुन्छन् । तिनमा (१) लबोन, (२) डेबोम्बो र (३) अम्ची पर्दछन् । आज पर्यन्त पनि तामाङ समाजमा जडीबुटीका प्रचलन पाइएका छन् । प्रायःजसो जडीबुटीद्वारा नै उपचार गराउँछन् । बोम्बोहरूले पनि झारफूकका साथै जडीबुटी चलाइरहेका हुन्छन् । यद्यपि, यिनीहरूका प्रशोधन प्रक्रिया भने परम्परागत स्वरूपमै रहेका पाइन्छन् ।
सिलटिमुर सङ्कलन
जडीबुटीहरू सिधै प्रकृतिबाट लिन मिल्दैन । सामान्य ठानी कसैले लिएमा ऊ दोषी हुन्छ । त्यसैले सङ्कलनअघि सम्बन्धित पक्षलाई आह्वान गर्दछन् । अनुमति लिएपछि बल्ल सङ्कलन गर्दछन् । त्यसक्रममा पनि तिथि तथा वार (बार) हेर्दछन् । सङ्कलकको ल्हो साथै जन्म बारले पनि औषधीको प्रभावकारितामा फरक पार्दछ । त्यसैले सङ्कलन गर्न सक्ने र मिल्ने क्षमता भएकाले विधिपूर्वक सङ्कलन गर्दछन् । कतिपय जडीबुटीहरूका सङ्कलन मौसमी हुन्छन् । कति जडीबुटी सङ्कलन गरेर वर्षभरिका लागि जोहो गर्नुपर्ने हुन्छ ।
गोने ङ्ह्यमा नै 'कुटुम्' (सिलटिमुर) र 'प्रुमा' (टिमुर)का मौसममा पर्दछ । यो दिन सङ्कलन गरिएका जडीबुटीहरु खूब लाग्ने हुन्छन् । त्यसैले गोने ङ्ह्यको दिन ती जडीबुटीका सङ्कलन गर्दछन् । 'कुटुम्'का ताजा दानाहरू धागोमा उनेर माला बनाउँछन् । त्यसैका माला लगाउँछन् । त्यसरी लगाउनाले ह्यमह्रिम (भाइरल/मौसमी रोगव्याधि)बाट जोगिन्छ भन्ने विश्वास गर्दछन् ।
घ)  घरपालुवा पशुपङ्क्षी सम्बन्धी विश्वास
'गोने ङ्ह्य'सँग घरपालुवा पशु तथा पङ्क्षी पनि जोडिएका हुन्छन् । यो दिनलाई कुखुराको विशेष चाड मान्दछन् । त्यसैले थुनेर राख्न पाइँदैन र खुल्ला रूपमा छोड्नुपर्ने हुन्छ । यो दिन कुनै पनि व्यहोरामा कुखुरा मार्न पाइँदैन । यसलाई कुखुराको 'म्हेनङ' पनि भनेका पाइन्छन् । यस्तैगरी घरपालुवा भैँसी, गाई तथा बाख्राहरूलाई हरियो खरको डोरो लगाइदिन्छन् । त्यसरी लगाइदिने डोरोलाई 'कल्डी' पनि भन्दछन् । 'कल्डी' भनेको एक प्रकारको माला आकारमा बाटेको डोरी हो । 'कल्डी' लगाइदिनाले बस्तुभाउ सुरक्षितसाथै दुधालू हुने जनविश्वास पाइन्छ । यसप्रकार पशुपङ्क्षीका लागि वर्षमा एकदिन भएपनि चाडको रूपमा स्थापित गराएका देखिन्छन् ।
ङ)  मौसम परिवर्तन
गोने ङ्ह्य अर्को अर्थमा ऋतु/मौसमी परिवर्तन पनि हो । यसपछि हिउँद लागेको मानिन्छ । यो दिनदेखि गौँथलीहरू समेत गाउँबाट हराउँछन् । यसपछि 'ह्वरीस्हुङ'को बाटो खुल्छ । यही दिनदेखि घाम धेरै चर्को हुन्छ । भनिन्छ; यसपछि एन्दे (भदौ) लाग्छ । एन्दे लागेपछि पाँच वर्ष बूढो राँगाको छाला पनि एकै दिनको घामले पूरै सुकाउँछ । गोने ङ्ह्यकै दिन घरमा भएका लुगाहरु सुकाउँछन् । गोने मासमा तामाङले 'सर्प'लाई पुख्री' अर्थात् 'सर्प' भन्दैनन् । यदि 'पुख्री' उच्चारण गर्नैपर्ने भयो भने पनि 'कडी' (कठी/लौरो) भन्दछन् । एन्दे लागेपछि 'लङै' (काँक्रो)लाई पनि 'खसी' भन्दछन् । काँक्रो भन्नु हुँदैन भन्ने मान्यता रहेको पाइन्छ ।
४.  थप संस्कृति
क) घर छाउने
गोने ङ्ह्यको अवसरमा घर छाउने प्रचलन कायम रहेको देखिन्छ । अघिल्लो साँझमा नै 'ग्रङसो' (एक प्रकारको खरजस्तो वनस्पति) र तितेपातीका साना बिटो बाँधेर घरगोठका छानामा पुर्‍याउँछन् । त्यसको अर्थ प्रतीकात्मक रूपमा घरको छाना छाएको भन्ने हुन्छ । कतिपय स्थान (विशेषतः मकवानपुर)मा भने तितेपाती र ग्रङ्सोका अतिरिक्त 'टपटप म्हेन्दो'को पनि प्रयोग गर्दछन् । तामाङको घर प्रायः खरले छाएका हुन्छन् । खर पनि चार प्रजातिका हुन्छन् । तिनमा बोम्बोले', ग्रङ्सो, सल्गी (सो), र पङ्बे पर्दछन् । 'ग्रङ'को अर्थ असली भन्ने हुन्छ । यसप्रकार 'गङ्सो' भन्दा 'सो'को पनि असली चाहिँ भन्ने हुन्छ । तामाङका नाम पनि 'ग्रङ र ता'sबा मिन' भन्ने हुन्छन् । असली नामलाई 'ग्रङ मिन' साथै उपनामलाई 'ता'sबा मिन' भन्दछन् ।
प्रतिकान्तमक रूपमा ग्रङसोले ङर छाएको
ख) ह्वरीस्हुङ
'ह्वरीस्हुङ' तामाङ बोम्बो संस्कार अन्तर्गतको एक पूजा हो । 'ह्वरी'ले बारी साथै 'स्हुङ'ले भाकेर राखेको बलिपूजा भन्ने अर्थ दिन्छ । यसप्रकार बारीमा नयाँ मकै पाकेपछि 'गोने ङ्ह्य'मा चढाउँछन् । त्यसरी चढाएपछि झ्योहो, स्थानीय रक्सी (वनझाँक्री) लगायतलाई नयाँ फसल भित्र्याएको शुभअवसरमा बलि सहित नयाँ मकै चढाउने क्रम नै 'ह्वरीस्हुङ' हो ।
यसक्रममा शुभदिन पारेर पूजा गर्दछन् । पूजाको लागि बिहानभरि लाग्दछ । यो परम्परा सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ७ चालिसेमा अद्यावधिक रहेको छ । बोम्बोद्वारा गरिने बलिपूजामा पनि 'सङ्सी' 'असङ्ना' गरी दुर्इ किसिमका हुन्छन् । यो चाहिँ सङ्सी गर्ने पूजा हो । भाका हालेर लयबद्ध रूपमा गाउँदै पूजा सम्पन्न गर्नुपर्ने हुन्छ । यसक्रममा झ्योहो लगायतका बुझूहरू पनि बनाउँछन् । यही भएर 'झ्योहोस्हुङ' पनि भन्ने गर्दछन् । विशेषतः नयाँ मकै पाकेको अवसरमा स्थानीय झ्योहोलाई चढाउने पूजा नै 'झ्योहोस्हुङ/ह्वरीस्हुङ' हो ।
ह्वरीस्हुङ गर्दै
तामाङ मान्यताअनुसार अन्नबाली सफल हुनुमा झ्योहो/झ्योमो साथै नेदा सिप्दाहरूका हात रहेका हुन्छन् । त्यसैले सम्बन्धित शक्तिहरुका पूजा आराधना आवश्यक हुन्छ । त्यस्तैगरी 'ह्वरी' अर्थात् बारीमा मकै लगायतका अन्नहरू उत्पादन सम्भव भएका हुन्छन् । तसर्थ बारीका अन्नबालीहरू उत्पादन भएपछि गरिने पूजा भएकोले 'ह्वरीस्हुङ' भनिएको हो । खेतमा उत्पादन भएपछि 'बोइतापा ङ्ह्य' (मङ्सीरे पूर्णिमा)मा अर्को पूजा गर्दछन् । खीर बनाएर देउतालाई चढाउँछन् । 'ह्वरीस्हुङ'अघि नै 'फो ल' लगायतका देउताहरूलाई नयाँ मकै चढाइसकेका हुन्छन् । 'ह्वरीस्हुङ' गर्नुपर्नेले त्यसपछि पनि विशेषतः करेसाबारीको एक छेउमा मकैका केही बोट जोगाएर राखेका हुन्छन् । तिनै मकै भएकै स्थानमा केही भाँचेर छिलेर त केही चाहिँ सद्दे नै राखेर पूजा गर्दछन् ।
५.  बिट मार्ने
तामाङको 'गोने ङ्ह्य' भन्ने पनि कतिपयले बिर्सिसकेका छन् । कतिले त हिन्दूका मात्रै भन्ने किसिमले जिम्मा लगाउन खोज्दैछन् । तथ्यतः 'गोने ङ्ह्य' तामाङको परम्परागत ज्ञान दिवस हो । दीक्षान्त समारोह पनि हो । तामाङ मौलिक ज्ञानको दिन हो । तामाङ भनेर चिनाउने पहिचानको एउटा कोशेढुङ्गो हो । यस्ता कोशेढुङ्गाहरू धेरै छन् । तिनका पहिचान, संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन आजको पहिलो आवश्यकता हो । तसर्थ, आफ्नोलाई चिनौं । पुर्खाका विरासतलाई नभुलौं । आफ्नो मौलिकतालाई बोझको रूपमा नलिऔं । तामाङ भएर तामाङलाई स्थापित गराऔं ।
। लस्सो ।


गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...