![]() |
| स्रोत : प्राचीन तामाङ राज्य |
अझै प्रष्टै याद छ मलाई
बास माग्दै तिमी-
त्यो साँझ; मेरै आँगनीमा आइपुगेको !
हो; बिर्सेको छुइनँ
झलझली सम्झिरहेको छु ।।
त्यसबखत,
पारि- हिमाल र घामको विछोड हुँदै थियो
यता- साँझकिरीहरू गाउन थालेका थिए
'बास बक्स भए धर्म हुनेछ हजूर' भन्दै
तिमी सुस्तरी झुकेका थियौ ।।
तिम्लेभन्दा पनि पहिले
तिम्रो दशाले प्रष्टै मुख खोलेको थियो-
ज्यान जोगाउन भाग्दै गरेको हरुवा भनेर !
एक शब्द नसोधी/एक झर शङ्का नबर्साएरै
खन्यौको बोटमुनि बास दिएको थिएँ ।।
रहँदा-बस्दाको कुरा थियो
हात दिनु नै गल्ती साबित हुँदै गएको कुरा थियो
किनकी,
तिमी त औँला हुँदै डुँडुलो निल्ने पो निस्क्यौ
बगरेको हातबाट जोगाएर लगाएको गुण नै बिर्स्यौ ।।
हाम्रा म्हेमे/मम् भन्नुहुन्थ्यो
हेर थेबा- सर्प भनेको सर्प नै हुन्छ
दूध पिलाएर जत्ति पाल त्यसलाई
मौका छोपेर डस्नेछ एकदिन !
मार्नेछ तिमीलाई अल्पायूमै
बनाउँदै तिम्री जीवनसाथीलाई विधूवी
अनि
बनाउँदै तिम्रा छोरा/छोरीलाई टुहुरा/टुहुरी !!
भनेजस्तै गरेर,
खुनी चक्रव्यूहको झ्यास थुपार्दै
तिमीले नै थालेका थियौ-
तरह-तरहका कचिङ्गले धुनी जगाउन !
मैले बुझ्न सकिरहेको थिइनँ-
मेरो खेतबारीमा तिम्ले आँखा गाड्दै गएको कुरा
मेरै रगतको प्यास पालेर
मेरै मृत्युको चाहनामा तड्पेको कुरा !!
कचिङ्गलपछि सन्धिको नाममा
निशस्त्र भेट्ने तिम्रो खुनी प्रस्ताव थियो
कुनै शङ्का बिना याबेङस्योङ र सुनकोशीका बगरमा
उपस्थित भएको बेलामा तिम्ले
गिँडेका थियौ मेरा शीरहरू
पछाडिबाट रोपेका थियौ विश्वासघातका तीरहरू ।।
भएको गर्दन त दिएकै थिएँ
तापनि,
तिम्रो प्यास मेट्न मेरो रगतले मात्रै पुगेन भन्यौ
ठिकै छ भनेर चढाएकै त थिएँ-
श्रीमती, चेली, छोरी र बुहारीका जवानीहरू
आफ्नै मुटुमा सुसाइड गोलको सुइरो ठोकेर !
जिउँता छँदै आफैँलाई जिउँदै मारेर !!
फेरि पनि-
तिम्रो चित्त बुझ्दै बुझेन कहिल्यै
धित मर्दै मरेन कहिल्यै
त्यसैले त-
म आफ्नै एकसरो जीवन बाँच्न पनि
तिमीद्वारा नागरिकताको खोस्टो लिन बाध्य पारिएँ
आफ्नै बप्सा(भूमि)मा उभिन पनि
तिमीद्वारा जारी लालपूर्जा नामक झुत्रोमा अडि्कन बाँध्य पारिएँ ।।
यस्तै रहे तिमीसँगको सङ्गत !
त्यसैले त, त्यो साँझ; जुन साँझ-
तिमी मेरोमा बास माग्न आएका थियौ नि
हो; त्यही साँझमा फर्काएर यो समयलाई
नयाँ शिराबाट साहित्य रच्ने/इतिहास लेख्ने कसम खाँदैछु ।
यसअघि भए गरिएका सन्धि सम्झौताहरू भङ्ग गरेको छु !!
२४ साउन '७५
चाबहिल

No comments:
Post a Comment