Saturday, August 25, 2018

जे देखेँ बुझेँ; त्यस्तै लेखेँ !!!

उद्घाटनको एक दृश्य
तेस्रो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । यसले समाजमा एक किसिमको तरङ्ग दिएको छ । केही पत्रपत्रिकाले समाचार पनि छापेका छन् । साँच्चैमा ऐतिहासिक महोत्सव भएको छ ।
हरेक कार्यको सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन् । त्यसले केही न केही मार्गनिर्देश गरिरहेकै हुन्छन् । भोलिका लागि सुझाव दिएका हुन्छन् । यो महोत्सवले पनि त्यस्तै गरेको छ ।
धेरैका गुनासो गोष्ठीपत्र धेरै तर छलफल न्यून भयो । परिणामतः निष्कर्ष निकाल्ने अवसर आएन । मलाई लागेको चाहिँ यो ज्ञान महोत्सव थियो । तामाङ ज्ञान, तामाङले बुझ्ने ज्ञान, ज्ञानको उदय, विस्तार तथा समाप्ति कसरी हुन्छ; साथै अन्यकासँग यसको सम्बन्ध र फरक के कस्ता रहेकाछन् भन्ने स्थानबाट प्रवेश गर्नुपर्ने थियो । तथापि तामाङ समाज र संस्कृति, राजनीति र विकास साथै प्रदर्शनकारी कलामाथि मात्रै गोष्ठीपत्रहरू प्रस्तुत् गरिए ।
साँच्चैमा तामाङले जीवन र जगत्लाई कसरी हेर्छ ? यसको विश्वदृष्टिकोण के हो ? यसको लागि समाज र संस्कृति के हो ? चराचर जगत्लाई कसरी बुझ्छ र कसरी अन्तरक्रिया गर्छ ? यी प्रश्नहरू पनि हुन सक्छन् भन्नेतिर कसैले सोच्दै नसोचेको देखियो । त्यसकारण कसैले ''यस्ता कार्यक्रम हुन्छन् सकिन्छन्'' भनेछन् भने ''त्यो तर्कमा दम छ'' भन्नेछु ।
सहभागीहरू
आयोजक संस्थाहरूमध्ये म आफैँ संलग्न तीन संस्थाहरू थिए । एस.सि.आर.सि., तामाङ स्रष्टा समाज र तम्बा सङ्घ नेपाल ! त्यसकारण यो दोषको भागिदार आफैँलाई पनि ठान्छु । मेरो मतमा- तामाङ ज्ञान खोज्ने भनेको राजनीति, अर्थनीति र विकासनीति जस्ता विधाबाट होइन किनकी ती सबै द्वितीय स्रोत मात्रै हुन् । प्रथम स्रोत भनेको बोन (लबोन, डेबोम्बो, अम्ची), तम्बा र लम (लामा)का मान्यता, सिद्धान्त र दर्शन हुन् । ती सबैबाट सबैजना बेखबर रहेको स्पष्ट भयो ।
ज्ञानको सदुपयोग गर्नुपर्छ । कसैले गलत प्रयोग गर्दैमा ज्ञान आफैँमा गलत हुँदैन । बोनको बारेमा अत्तोपत्तो नभएकाले बोनमाथि प्रहार गर्दैछन् । तम्बालाई जङ्गली मान्नेहरू पनि छँदैछन् । लमलाई गाली गर्नेहरू कम्ता छैनन् । छोँडा र बोक्सी त भन्नुपनि हुँदैन । कसैलाई भनेमा कानून लाग्छ । तथ्य चाहिँ के हो भने- बोम्बो, तम्बा, लम, छोँडा र बोक्सी भनेको ज्ञान हुन् । अहिले छोँडा र बोक्सी ज्ञान शायदै पाइएलान् । बोन र तम्बा ज्ञान समेत अन्तिम अवस्थामा छ । लम आफैँमा पार्टीहरू जसरी फुटेर फरक-फरक धारबाट बग्न खोज्दैछन् ।
मेरो तर्क हो- बोम्बो, छोँडा र बोक्सी ज्ञानको मानवशास्त्रीय गहन अध्ययनपछि एक नयाँ औजार (दर्शनसहितको) तयार हुन्छ । त्यलाई अहिलेको लागि तामाङ 'चक्रब्यूह' पनि भन्न सकिन्छ । त्यसको अनेक संस्करणहरू विकास गर्न सकिन्छ । तिनका आधारमा तामाङ ज्ञानले संसारमा रहेका अन्य ज्ञानलाई माथ गर्ने शक्ति प्राप्त गर्नेछ तर अब यस्तो कुरा गर्नेलाई खुस्केट नभन्लान् भन्ने छैन ।
तामाङले प्राप्त पर्यावरणमा कसरी अनुकूलित हुँदै आएको छकस्ता रणनीति अवलम्बन गरेका छन् ? यिनीहरूका दिमागी हार्डवेयरको बनौट कस्तो छ । कस्ता सफ्टवेयर मात्रै ग्रहण गर्छ र गर्दैन ? यी प्रश्नका उत्तर नदिने महोत्सवलाई ज्ञान महोत्सव कसरी भन्ने ? यही प्रश्नका उत्तर कसले दिने ? ठिकै छ- अर्को पटकदेखि खोज्ने प्रयास गरम्ला । कम्तिमा ढोका खोल्ने काम भयो तर यस्ता महोत्सवहरू अर्काको संस्कृतिको तिर्खाले व्याकूल काकाकूल मात्रै नहुन् भन्ने कामनासम्म गर्न खोजेँ ।
अर्को कमजोरी पक्ष भनेको व्यवस्थापनको थियो । त्यसको आफ्नै कारणहरू पनि थिए । आयोजकदेखि सहभागी सबैका तर्फबाट कमजोरी स्वाभाविक मान्ने बानी नै परिसकेकाले यस्ता तथ्यहरू नदेख्न पनि सक्छौं । समाचार सङ्कलन साथै प्रकाशन गर्नेहरूले पनि आफ्ना र चिनेका मान्छेकै मात्रै नाम तथा संस्था उल्लेख गर्दारहेछन् । मनपर्ने तथा आफ्ना मान्छेले प्रस्तुत् गरेका कुरा समेत उल्लेख गर्दा धेरैका नाम समेत लेख्न नभ्याएका भन्ने स्पष्ट देखियो कथित मूलधारका पत्रिकाहरूमा समाचार देखेर प्रायःले भूर्इँमा टेक्न बिर्सेँदै थिए तर तामाङका अनलाइनहरूमा समाचार प्रकाशित भएको बारेमा कसैले चर्चा नै गरिरहेका थिएनन् ।
ज्ञान महोत्सवमा तम्बाहरू सङसेरकेम गर्दै
हुँदा-हुँदा समापन पश्चात् प्रकाशित प्रेस विज्ञप्तिमा प्रस्तोताहरूका नाम दिने क्रममा एक संस्थाका मानिसका मात्रै उल्लेख गरेका देखियो । कम्तिमा पनि चार वटै सत्रका प्रतिनिधित्व हुने गरी नाम राख्दा राम्रो हुने थियो । यस्ता कार्यले अर्को पटक सहभागिताका लागि गाह्रो पार्न सक्छ भन्ने मत पनि देखियो ।
पहिलो सत्रका सत्राध्यक्ष लेखक तथा अनुसन्धाता परशुराम तामाङले ज्ञानको सङ्कलन सँगै थ्योराइजिङको कुरा उठाउनु भएको थियो । त्यो सामान्य तर्क मात्रै थिएन । त्यहीँ तथ्यमा तामाङ समाज आजसम्म पनि चिप्लँदै आएको छ । यसपालि पनि नराम्ररी चिप्लिएको स्पष्ट देखियो ।
अतिथिलाई आसन ग्रहण गराउने  साथै कि-नोट स्पीकरका हकमा पनि केही कमजोरीहरू देखिए । यस्ता कमजोरीहरू प्राविधिक रूपमा पनि दोहोरिइरहने हुँदारहेछन् । यद्यपि, त्यसले पनि ठूलै भूमिका खेल्न सक्छ । गोष्ठीपत्रका हकमा पनि कुन र कसको चाहिँ तामाङ ज्ञानसँग कति नजिक या टाढा रह्यो भनेर छुट्याउन सक्ने खुबी कसैमा पनि देखिएन । प्रश्न गर्नेहरूले पनि प्रश्न गरेका वा गोष्ठीपत्र प्रस्तुत् गरेका भन्ने छुटाउन गाह्रो थियो । प्रश्न सोध्न समय दिएकामा कतिपयले त विषयान्तर बकबक गरेका पनि देखिए । सत्राध्यक्षले नै विषान्तर हुँदै तामाङको उछितो काढेको गुनासा पनि सुनाउँदै थिए ।
सकारात्मक कुरा सकारात्मक नै हुन्छ । कहिले कसैका लागि नकारात्मक पनि नहोला भन्न सकिन्न । त्यसैले होला, धेरै जसो नकारात्मक कुरा गर्दछौं । तामाङ ज्ञान महोत्सवको सकारात्मक पक्षहरू पनि नभएका होओइनन् । लोकोत्तर लोकवादी विचार समूहले आजभन्दा पाँच वर्षअघि नै तामाङ ज्ञान दिवसको शुरूवात गरेको थियो । उसको अनुसार गोने ङ्ह्य नै तामाङको ज्ञान दिवस हो । त्यही बेला बोम्बो र लमहरू जागृत भएका हुन्छन् । ज्ञान दिने र लिने उत्सव मनाउँछन् । तामाङ ह्युल्बाले सक्रिय भूमिका खेलेको हुन्छ ।
तामाङ साहित्य सम्मेलन अघिदेखि नै तामाङ ज्ञान महोत्सवको कुरा उठाएका थियौं । त्यतिखेर कति साथीहरूले नाकनिक गरेका थिए । आज तेस्रो तामाङ ज्ञान महोत्सव सम्पन्न भएको छ । शीर्षक 'तेस्रो तामाङ ज्ञान महोत्सव' रहेको थियो । लोगोमा हेर्दा 'तामाङ तेस्रो ज्ञान महोत्सव' जस्तो पनि देखियो । वास्तविकता चाहिँ तामाङ ज्ञान सम्बन्धी तेस्रो महोत्सव थियो । अझै भन्नुपर्दा, यो पहिलो महोत्सव थियो किनकी यसअघिका चाहिँ तामाङ ज्ञान महोत्सव थिएनन् । त्यसबेला ल्होछार शब्द जोडेका थिए । हुन त यसरी विवाद गर्नुपर्ने विषय होइन । फेरि पनि, स्पष्ट भएर जानु राम्रो हुनेछ भनेर मात्रै हो ।
तामाङ ज्ञानको महोत्सव सम्बन्धमा तामाङ साहित्य एकेडेमीको गठन अघिबाट धनप्रसाद तामाङ, पेमा मोक्तान र खोजराज गोलेले विषय उठान गरेका थियौं । त्यसैका लागि साहित्य एकेडेमीका कुरा गरेका थियौं । त्यतिखेर पनि साहित्य एकेडेमी गठन गरेमा रगतको खोला बग्नेछ । आपसमा झगडा हुनेछ भनेर केही साथीहरू उफ्रँदै थिए । अहिले पनि दृश्य झल्झली देखिरहन्छु ।
सारा अप्ठेर पार गरेर एकेडेमी गठन भएको थियो तर अगाडि बढाउने क्रम नै समाप्त भएर गयो । यहाँ भन्न खोजेको यत्ति मात्रै हो कि तामाङ ज्ञान महोत्सवको कुरा उठाउने धनप्रसाद तामाङ हुनुहुन्छ । उहाँकै पहलमा लोकोत्तर लोकवादी विचार समूहले आजभन्दा पाँच वर्षअघि महाराजगञ्जमा तामाङ ज्ञान दिवस मनाएको थियो । त्यही भएर उहाँले तामाङ साहित्य सम्मेलनमा तामाङ ज्ञान महोत्सव गर्ने भन्नु भएको थियो ।
त्यसका लागि जहरसिंपौवामा स्थान हेर्न पुगेका थियौं । त्यसक्रममा धनप्रसाद तामाङ, अमृत योन्जन-तामाङ, कुयाङ घिसिङ लामा साथै म पनि थिएँ । पछि, त्यही अवधारणामा टेकेर ल्होछारको अवसरमा बौद्धमा कार्यक्रमहरू गरिए तर धनप्रसाद तामाङ र लोकोत्तर लोकवादी विचार समूह एक किसिमले बेखबर रह्यो ।
खुशी मान्नैपर्ने कुरा चाहिँ- तामाङको ज्ञान सम्बन्धी तेस्रो महोत्सव सम्पन्न भएको छ । यसको ऐतिहासिकता विस्तारै स्थापित भएर जानेछ । अब कमजोरीलाई छोड्दै सबल पक्षलाई बढावा दिँदै जान सक्नुपर्नेछ । साँच्चैमा 'तामाङ ज्ञान' के हो ? कस्तो अवस्थामा छ ? यसको मौलिक अवस्थालाई पहिल्याउने काम गरौं । समायानुकूल परिष्करणसहित स्थापित गराउँदै लैजानेतिर लागौं ।

महोत्सव सम्पन्न गर्न गराउन व्यक्तिगत तथा संस्थागत रूपमा अहोरात्र खट्नु भएका सम्पूर्ण महानुभावहरू सम्मानयोग्य हुनुहुन्छ । हाँहरूका योगदानको अवश्य कदर हुनेछन् । समाजलाई मार्गनिर्देश गर्ने आँट गर्नु भएका सबैलाई पनि अग्रिम शुभकामना !!!
समापनपछिको तस्वीर
थुजेछे !!!
भदौ ७५ शनिबार







No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...