Monday, December 31, 2018

गजल

पुस मासमै गुराँस फुल्यो खै के हुने होला !
प्रकृतिले मौसम भुल्यो खै के हुने होला !!!

मेहल फुल्यो, काफल पाक्यो पुस महिनामा !
चैत बैशाख यतै खुल्यो खै के हुने होला !!!!!!

जरुवामा पानी छैन हिलो वर्षात् चल्यो !!!!!!
बस्ती-बस्ती शास्ती चुल्यो खै के हुने होला !!

बाँझै रहे बारी हाम्रा खेतमा हेर्‍यौं उस्तै !!
धान छोडी झार झुल्यो खै के हुने होला !!

विकासले त विनास गर्‍यो त्यसैमाथि  हेरौं  !
समृद्धिको नारा हुल्यो खै के हुने होला !!!!!
१६ पुस '७५
चाबहिल

अरिङ्गाल !!!

कथा
नक्कली फूलमा हराएको अरिङ्गाल

गोले केआर चालिसेली

उहिलेको कुरा रे । अरिङ्गालले  रूखको हाँगोमा गोला लगाएछ । गोला देखेर मान्छे छक्क परेछ । के रहेछ भन्ने जिज्ञासा बढेछ ।  ''तिमी को हौ ?'' भनेर सोधेछ । च्याँटि्ठदै, अरिङ्गालले चाहिँ ''तिमीलाई के मतलब !'' भनेछ । मान्छेलाई रिस उठेछ । ढुङ्गा टिपेर हानेछ ।

अरिङ्गाललाई पनि रिस नउठ्ने कुरै भएन । पाले बसेका अरिङ्गालले गोलाका सबैलाई सतर्क गराएछन् । गोलाभित्र हल्लिखल्ली मच्चिएछ । केही माउ तथा बच्चाहरू हातहात भएछन् । त्यसपछि मूलीअरिङ्गालले आक्रमणको आदेश दिएछ । सिपाहीअरिङ्गालहरू मान्छेमाथि खनिएछन् । मान्छेलाई धेरै पीडा भएछ । रुँदै घर पुगेछ ।

घरमा पुग्दा आमाले पनि चिनिनछे । ''को हौ ?'' भनेर सोधिछे । ''आफ्नै छोरोलाई पनि कस्तो नचिन्नु भएको नि ? तपाईँहरूकै छोरा ठूले के !'' भनेछ । अनि ''कसरी यस्तो भयो ?'' भनेर सोधिछे । ''SSS पर रूखमा अचम्मको झिङ्गा रहेछन् । त्यसको त ठूलो गोलाजस्तो घर रहेछ ।'' मैले चिनिनँ । ''को हौ ? भनेर सोध्दाखेरि च्याँटि्ठएर निहू खोज्न थाले । मलाई पनि रिस उठ्यो । ढुङ्गाले हानेको त सिधै चिलेर झण्डै मारेनन् । अहिले त सुन्निएर यस्तो भएँ ।''

छोरोको दशा देखेर आमा चाहिँ आत्तिइछे । बाउचाहिँलाई बोलाइछे । बाउले पनि केही मेसो पाएनछ । त्यसपछि बोम्बो (झाँक्री)लाई बोलाएछन् । बोम्बोले कस्तो झिङ्गाले चिलेको भनेर सोधेछ । ''त्यसको हल्का पहेँलो जस्तो टाउको छ अनि पुच्छरमा चाहिँ 'दुम' रहेछ'' भनेर सुनाएछ । त्यसपछि बोम्बोले, ''उहूर थोपो 'सेके : दुम 'सेके' भन्दै झारफूक गरेछ ।
बोम्बोले फुकेपछि ठूले निको भएछ । ठूलेको बाउलाई रिस उठेछ । भरुवा बन्दुक निकालेछ । त्यसपछि छोरोलाई लिएर अरिङ्गालको गोला भएको ठाउँमा पुगेछ । छोरोले पनि ''SSS त्यहाँ'' भनेर देखाएछ । दुवैजनाले लुकेर हेरेछन् । अरिङ्गालको गोलाभित्र हल्लिखल्ली हुँदैरहेछ । आमाअरिङ्गालले चाहिँ ''अब मनुवाले के पो गर्ने हुन् ?'' भन्दै त्रास व्यक्त गर्दै रहिछे । सिपाहीअरिङ्गालले चाहिँ ''हामी छौं नि । त्यस्ता मनुवालाई तह लगाउन हामीले जानेका छौं !'' भन्दारहेछन् ।

ठूलेको बाउलाई रिसको पारो चढेछ । त्यसपछि बन्दुकले हानेछ । तत्कालै अरिङ्गालले धावा बोलेछन् । ती बाउ छोरो भागेछन् । त्यसपछि मनुवा र अरिङ्गालका बीच ठूलो शत्रुता बढेको रहेछ । केही दिनपछि एक साँझ बाउ छोरो नै पुनः अरिङ्गालको गोला भएको ठाउँमा गएछन् । साँझको समयमा अरिङ्गालका छोरा-छोरीले बाउ आमालाई सोध्दैरहेछन् । ''फेरि पनि मनुवाले बन्दुकले हान्न आए के गर्ने ?'' भन्दै रूँदैरहेछन् । बाउअरिङ्गालले चाहिँले, बन्दूर ढुङ्गाले हान्न आएपनि हामीलाई खासै डर छैन । त्यसैले नडराऊ भन्दै सम्झाउँदारहेछन् । आमा चाहिँले, ''हैन भोलि आगो नै लगाउन आए भने के गर्ने नि ?'' भनेर डर व्यक्त गर्दै रहिछे ।

त्यसपछि ठूले र उसको बाउ खुशीले गद्गद् हुँदै घर फर्केछन् । राती हुँदो आगो लगाउनको लागि पूरा बन्दोबस्त मिलाएर पुगेछन् । आगो लगाएछन् । अकालमै अरिङ्गालको ठूलो क्षति भएछ । मान्छेलाई पनि गज्जबसँग चिलेछन् । त्यही बेलादेखि अरिङ्गाल र मानिसका बीचको शत्रुता समाप्त भइसकेको थिएन । यसपालि त झनै अरिङ्गाल र मनुवा बीचको यो युद्धले चरम् स्वरूप लियो । यसको कारण चाहिँ नेपाल नामक देशको प्रधानमन्त्रीले दिएको भाषण रहेछ । तिनै प्रधानमन्त्री भन्नेले विपक्षीमाथि अरिङ्गाल भएर आक्रमण गर्न आफ्ना कार्यकर्ताहरूलाई उर्दी नै जारी गरेको रहेछ ।

यसैपालि चालिसे गाउँको च्यङ्बा तामाङ साँगुवान (सालको जङ्गल)मा पत्कर सोर्न पुगेछ । पत्कर सोर्दै ढाकरमा पुर्‍याएछ । त्यसपछि सोहोरिएका पत्कर ढाकरमा हाल्न मात्रै के लागेको रहेछ- सिपाहीअरिङ्गालका केही सदस्यले च्यङ्बालाई धम्क्याउन पुगेछन् । विचरा च्यङ्बा एक्लो रहेकोले अलिक डराएछ । हात हल्लाउँदै अरिङ्गालका प्रहारबाट जोगिन खोजेछ । अरिङ्गाललाई चाहिँ च्यङ्बाले पाखुरा सुर्काएर लडार्इँको लागि आह्वान गरेको भन्ने भ्रम पर्न गएछ । त्यसपछि यो एक्लो मनुवाको यत्रो फुर्ति भन्दै चिल्नसम्म चिलेछन् । च्यङ्बाले चाहिँ अरिङ्गालको गोला कहाँनेर रहेछ भन्ने समेत पत्तै पाएनछ ।

त्यहाँबाट जसोतसो ज्यान जोगाएर च्यङ्बा भागेछन् । अलिक पर बिसाएर 'उहूर थोपो ''सेके : दुम 'सेके'' भन्दै आफैँले झारफूक गरेछ । त्यसपछि पत्कर लिएर घर पुगेछ । घरमा पुगेपछि मूलथाममा झुण्डाइराखेको रेडियो खोलेछ । ''आज देशको प्रधानमन्त्री ओलीले विपक्षीमाथि अरिङ्गाल भएर आक्रमण गर्न आदेश दिएको छ'' भन्ने समाचार पो आउँदैरहेछ । समाचार सुनेपछि च्यङ्बा झल्याँस्स भएछ । देशमा के हुँदैछ ? बर्खामास पनि बर्खा जस्तो छैन । सेउला काट्न जानुपर्ने म पनि पत्कर सोर्न जानु परेको ! देशको प्रधानमन्त्रीले पनि यही बेला अरिङ्गाल बनेर आक्रमण गर्न आदेश जारी गर्नु परेको ! अरिङ्गालले पनि मलाई नै चिल्नु परेको ! लु, जे होला भन्दै छिमेकका दुर्इ चार जना दौँतरीहरू लिएर अरिङ्गालको गोला खोज्न निस्केछ ।

साँझ पाँच जना भएर गोला खोजेछन् । छेवैको रूखमा यत्रो घ्याम्पो जत्रो गोला देखेछन् । सबैजनाले स्वास थुनेर सुनेछन् । अरिङ्गालको गोलाभित्र छलफल हुँदैरहेछ । सिपाहीअरिङ्गालले एकै स्वरमा भन्दैरहेछन्- ''प्रधानमन्त्रीले नै हामीलाई आदेश दिएकाले कौनै डर छैन ।'' अर्को अरिङ्गाल बोल्दोरहेछ, ''बाल मतलब !'' अर्को बोल्दोरहेछ ''सचेत चाहिँ रहनुपर्छ है साथी हो !'' मूलीअरिङ्गाल निकै बूढा भइसकेको रहेछ । तिनको बोली नै थोतो भइसकेको रहेछ । अन्त्यमा बूढो बोल्छ, ''हैन, यी मनुवाहरू कम्ताका छन् । लौ आगो नै लगाउन आएछन् भने आगजनीमा मुद्दा चलाउँला तर मट्याङ्ग्रालाई मेटासिडमा डुबाएको टालोले बेरेर गोलामा हान्यो भने के गर्ने ? त्यसरी एक दुर्इ मट्याङ्ग्रा मात्रै प्रहार गरेछन् भने पनि के होला ? त्यसो गरे भने त आधा एक घण्टाभित्र हामी सबै सक्किनेछौं ।''

च्यङ्बा र उसका साथीहरू खुशी भएर घर फर्केछन् । त्यसको भोलिपल्ट बिहानको खाना खाएपछि तिनीहरू गोला नजिक पुगेछन् । मध्ये दिन भइसकेको रहेछ । घाम चर्को स्वरूपमा प्रस्तुत् भइरहेको रहेछ । बर्खामास भएरपनि बर्खा जस्तो थिएन । अरिङ्गालहरू खुब फूर्तिला देखिइरहेका थिए । सबै एकसे एक ! जतिखेर जसलाई पनि समाप्त पार्लान् जस्ता ! च्यङ्बाले गुलेली झिक्यो । अर्कोले दुइटा साना ढुङ्गा (मट्याङ्ग्रा) टिप्यो । अर्कोले मेटासिड निकाल्यो । अर्कोले कपडाको थोत्रो टालो झिक्यो । त्यही टालोमा थोरै मेडासिड हाल्यो । त्यही टालोले बेरेको मट्याङ्ग्रा गुलेलीमा हालेर च्यङ्बाले गोलातिर ताक्यो ।

हिजो आफूमाथि भएको अन्यायका दृश्यहरू एक-एक गरी सम्झँदै पहिलो मट्याङ्ग्रा प्रहार गरेछ । अरिङ्गालहरू सचेत भएछन् । तत्कालै नमीठो गन्धले गर्दा अरिङ्गालका नाक ठुनुक्कै भाँचिएछन् । परिणामतः तिनका टाउको दुख्न थालेछन् । त्यसपछि हिजो जस्तो धावा बोल्न र घेरा हाल्न सकेनछन् । त्यसमाथि च्यङ्बाले अर्को मट्याङ्ग्राले प्रहार गरेछ । त्यसपछि च्यङ्बाको समूह छेवैको चेप्टेढुङ्गामाथि चढेर, ''उहूर थोबो 'सेके : दुम 'सेके...'' भन्दै नाच्न थालेछ ।

आधा घण्टापछि च्यङ्बा रूखमा चढेछ । अरिङ्गालको गोला बजाउन थालेछ । गोला साँच्चै मादलजस्तै बजेछ । हाS हाSSS गर्दै एक लात हानेछ । त्यसपछि गोला भने भूर्इँमा बजारिन पुगेछ । छ्यालब्याल भएर छरिए । अरिङ्गालका बच्चाका के कुरा, मै हुँ भन्ने सिपाहीअरिङ्गाल समेतका लास मात्रै उत्तानो परेछन् । सुन्नेलाई सुनको माला ! भन्नेलाई फूलको माला !! यो कथा जसले पढ्ला ! देशको राजनैतिक परिवेश छर्लङ्ग देखी जाला !!
१५ पुस '७४

चाबहिल

Friday, December 28, 2018

अन्तर्राष्ट्रिय तामाङ परिषद्को विधानदेखि संस्कार संस्कृति निर्देशिकासम्म

पत्रकार सम्मेलनको एक दृश्य
     भर्खरै अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो सम्मेलन मिरिकमा सम्पन्न भएको छ । सम्मेलनमा १९ देशका प्रतिनिधिहरूका सहभागिता रहेको जानकारी गराएका थिए । कसरी १९ देश भन्ने प्रश्नले ठुङ्नेक्रम शायद टुङ्गिने छैन । हनीमुन मनाउन पुगेका देखि डेटिङस्पटमा रूपान्तरण गरेका भन्ने आरोपवृष्टि पनि सुनाए । 
पत्रकारहरू आफ्नो भूमिकामा सफल नै रहे; यद्यपि पत्रकारिता विधाको साथै तामाङ समाजको एक अङ्गकै रूपमा स्थापित पत्रकारहरू पत्रकार मात्रै थिएनन् । उनीहरू पनि तामाङ समाजको अङ्ग नै हुन् भन्नेमा कुनै शङ्का छैन । त्यतिसम्म हुँदा-हुँदै पनि बन्दसत्रमा सहभागिता जनाउन पाएनन् । यो भविष्यमा पूरा गर्नुपर्ने वा सम्बोधन गर्नुपर्ने पाठ भएको छ । 
      सबैभन्दा ठूलो त ज्ञानको कुरा नै थियो । त्यतातिर सबैजना अल्लारे तथा लहडे मात्रै भएको गम्भीर आरोप लगाउन बाध्य भएको छु । ''खोला तरेपछि लौरो बिर्सने वा जसको जौ खायो; उसैको जुँगा उखेल्यो'' भन्ने कथन छर्लङ्ग भएकै थियो । प्राविधिक रूपमा केही समस्या स्वाभाविक मान्नुको विकल्प हुने कुरै भएन । 
विश्व नै पहिचानमय भएको छ । यतिखेर ''हामी को हौं र को होइनौं -'' भन्ने प्रश्नले धेरैलाई रिङ्ग्याएका देखिन्छन् । यत्तिले मात्रै पहिचान स्थापित हुनेमा शङ्का हुँदोरहेछ । त्यसैले ''तिनीहरू को हुन् र होइनन्'' भन्ने बारेमा पनि अध्ययन, अनुसन्धान नै गर्नुपर्ने जस्तो देखियो अथवा जानेका, बुझेका साथै सुनेकाले अन्यलाई बुझाउनुपर्ने भएछ । 
       सम्मेलनमा सहभागीका दशाले पनि यस्तै सङ्केत गरिरहेकै थियो । दुःख गर्ने, अध्ययन, अनुसन्धान गर्ने साथै जिज्ञासु स्वभावले युक्त मानिस नहुँदारहेछन् । होहोरेमा वा लहैलहैमा दौडने नै संसारे रहेछन्; जसले गम्भीर समस्याहरू जन्माउँछन् मात्रै ! समाधान खोज्दैन वा खोज्न सक्तैन वा समाधान के भन्ने ज्ञान राख्दैन । त्यस्तैगरी आफ्नो धर्म पनि चिन्दैनन् । धर्म भनेको दायित्व तथा कर्तव्य पनि हो तर यस्तो कुरा बुझ्न सक्नेको महाखडेरी नै थियो । सम्मेलनमा पुगेका कतिपय प्रतिनिधिहरू भने आफ्नो धर्म बिर्सेर दार्जिलिङ घुम्न वा होटलमा मीठा खान अनि नरम बिछ्यौनाका लागि रोइलो गरिरहेका जस्ता देखिन्थे ।
      यसप्रकार संसारे भन्नेहरू जहिले पनि समस्यामा फसिरहेका हुन्छन् । कतिले तथ्य थाहा पाउँछन् । प्रायःजसोले त अलमलमै जीवन सक्काउँछन् । त्यही तथ्यलाई बुझेपछि- बुद्धले पनि ''अज्ञानता'' भनेको थियो होला । भन्छन्; तत्कालिक साधुसन्त तथा धर्मगुरुहरूले बुद्धलाई धेरै प्रश्न गरेका थिए । तिनमा १६ प्रश्नका उत्तर भने बुद्धले पनि दिएका थिएनन् । उत्तर नदिनु नै उत्तर थियो पनि भन्छन् । जसको उत्तर थिएन वा उत्तर दिएर अन्तिम निष्कर्षमा पुग्ने सकिने अवस्था थिएन । त्यस्ता प्रश्नलाई ''अव्यकृत'' प्रश्न भनेका थिए ।
         मिरिक सम्मेलनमा पनि अव्यकृत प्रश्नका प्रशस्त उदाहरणहरू उदाङ्गै थिए । यद्यपि, कसैले तिनका छेउ र भेउ नै पाएनन् । पाएकाहरूका निमित्त भने सम्मेलनका आयोजकदेखि सहभागीहरू समेत अव्यकृत प्रश्नका रोगी थिए । मानौं एक प्रकारको सिजोफ्रेनियाले ग्रस्त थिए । विश्व परिवेश, देशीय (नेपाली, भारत, भुटान र बर्मा लगायत) साथै समुदायइतर परिवेशहरू एकातिर थिए । सम्मेलनको आयोजक तथा सहमागी (अ/भौतिक रूपमा सामेल)हरू भने अर्कै संसारमा रमिरहेका वा हराइरहेका देखिन्थे । 
        यसको मुख्य कारण चाहिँ, ''पहिचान''कै थियो । पहिचानको लागि एकजूट हुँदै थिए । फेरिपनि, पहिचानकै समस्या थियो । तथ्यतः तामाङ पहिचानको कुरो थियो तर ''हामी को हौं अनि को होइनौं ? तिनीहरू को हुन् र को होइनन् ?'' भन्ने प्रश्नको उत्तर खोज्नुपर्ने थियो तर कसैले पनि त्यतातिर ध्यान दिइरहेका थिएनन् । जसका कारण पहिचानको मुद्दा आफैँ पहिचानविहीन हुँदै थियो । पहिचानको मुद्दाकै पहिचान भइरहेको थिएन । पहिचानकै पहिचान भइरहेको थिएन । 
       समस्याविहीन बन्दसत्रको परिकल्पना अस्वाभाविक थियो । समस्याहरूले नयाँ ज्ञान सिकाएको हुनुपर्छ । सिकाउँदा पनि सिक्न नसक्नु चाहिँ साह्रै डरलाग्दो हुन्छ । मिरिक सम्मेलनको बन्दसत्रमा थरीथरीका प्रतिनिधिहरू थिए । कोही कसैलाई जिताउन पुगेका जस्ता ! कोही कसैको जरोकिलो उखेल्न कुदेका जस्ता ! कोही मस्तराम जस्ता ! कोही बलिका निमित्त तयारी अवस्थामा पर्साउँदै गरेका अमूक प्राणी जस्ता ! कोही नयाँ ज्ञानको भोकले व्यग्र जस्ता ! कोही अलमलमा, कोही ढलमलमा अनि कोही गनगनमा व्यस्त थिए । विदेशका प्रतिनिधिहरू आफ्नै अभि/मान पस्कनैमा व्यस्त देखिन्थे । त्यसैले समूहगत छलफलपछि, पूरै बन्दसत्रभरि बेग्लै बसे । स्वदेशमा हराइरहेका चाउरेहरूसँग पनि बस्न हुन्छ र भन्ने मनोदशा चुहाइरहे ।
         हो; ज्ञान नै सर्वस्व हो । ज्ञान बिनाको जीवन पशुको जस्तो हुन्छ । सम्मेलनका आयोजकदेखि सहभागीहरू ज्ञानको कुरामा रामजाने वा रामभरोसा मात्रै देखिए । आफैँ आफैँमा अन्यौलग्रस्त जस्ता ! ज्ञान के हो भन्ने नै अत्तोपत्तो नपाएका जस्ता ! यसै भन्दा- पशुसरहको भनेर अभिहित गर्‍यो भन्ने लाग्नु स्वाभाविक हुन्छ । यो बिन्दूनेर यत्ति भन्छु- अभिहित गर्न खोजेको होइन । मात्रै सचेत हुनुपर्छ भन्ने सन्देश बाँड्न खोजेको हुँ । यद्यपि, कसैको चित्त दुख्छ भने, ''तिमीलाई रुवाउने मेरो धोको होइन'' भन्ने गीत सुनाउँछु ।
सम्मेलनमा प्रतिवेदन/मस्यौदा/कार्यपत्रलाई पुस्तिकाको रूपमा बाँडेका थिए । जसलाई हेर्ने हो भने राम्रो काम गर्छु भन्नेका लागि प्रशस्त सम्भावनाका गरा/पाटाहरू थिए । खनजोत र मलजल गर्दै खेती लगाउन चाहनेका लागि उर्वरभूमि उदाङ्गै थियो । दुःखको कुरा चाहिँ ती सबै सम्भावनाहरू बिग्रिएका वा बिगारिएका कारण बनेका थिए । कोही ज्ञान बाँडिरहेका थिए । ती ज्ञानलाई लिने, मनन् गर्ने र व्यवहारमा उतार्ने क्रममा कोही पनि थिएनन् । यही नै पहिचानको पहिचान नहुनुको मुख्य कारण थियो । 
           अग्रज लेखक, अभियन्ता साथै नेता परशुराम तामाङ, राष्ट्र र राज्य (देश) चिनाउँदै थिए । तामाङलाई 'राष्ट्र' (पृ. १२) भन्दै थिए । नेपाललाई देश भन्दै थिए तर अन्य कसैसँग पनि उनका कुरा सुन्ने र मनमा गुन्ने समय नै थिएन । शायद त्यही भएर हुनुपर्छ; अन्ततः उनी (परशुराम तामाङ) आफैँ पनि अल्मलिएका थिए । तामाङलाई राष्ट्र अनि नेपाललाई देश भनेर भनिरहेका परशुराम तामाङ आफैँ संस्थापक रहेको संस्थाको नाम चाहिँ 'अन्तर्राष्ट्रिय तामाङ परिषद्' थियो । लौ; त्यतिखेरको परिवेश अर्कै थियो । त्यसर्थमा, अन्यथा मान्नु हुँदैन । अहिले त परिस्थिति अर्कै बनिसकेको छ । यस्तो अवस्था उनले सहभागी प्रतिनिधिलाई नसकेतापनि आयोजकलाई त बुझाउन सक्नुपर्दथ्यो । त्यसर्थमा, उनी पनि चुकेको भन्न अनकनाउनु पर्दैन । 
        ''ढुङ्गामा पानी हालेँ, भिज्यो तर रुझेन । तामाङसामू कुरा राखेँ, सुने तर बुझेनन् ।'' केही वर्षघि यस्तै भावसहितको अभिव्यक्ति निकै चर्चामा थियो; जुन अभिव्यक्ति परशुराम तामाङले दिएका थिए । मिरिक सम्मेलनले यो अभिव्यक्ति सही भएको प्रमाणित गर्‍यो । परशुराम तामाङले ढुङ्गामा पानी हालेका रहेछन् । त्यसैले ढुङ्गामा लेउ मात्रै लाग्यो । त्यही लेउमा चिप्लन पुगे उनी ! पानी त खेतबारीका गरा/पाटामा लगाउनुपर्ने थियो । शायद उनले गरा/पाटा देखेका ती जमीन यथार्थमा ढुङ्गामात्रै थिए । त्यही समस्या खील पल्ट्यो । खोला तरेपछि लौरो बिर्सने अनि जसको जौ खायो उसैको जुँगा उखेल्नेको संसारमा यो स्वभाविक बन्यो । 
         अजितमान तामाङको अध्ययन, ज्ञान र पीडा पसिना बनेर यस्तरी बगे कि, उनी आफैँ हारगुहार माग्नसक्ने अवस्था थिएनन् । हरेक अभिव्यक्तिहरू रुवाई जस्ता सुनिइरहेका थिए । यस्तै दूर्भाग्यहरू देखिए । शायद, भाइ फुटे गवाँर लुटे भनेको पनि यही नै थियो । कोही भन्लान्, एक्लो प्रतिष्पर्धीको रूपमा दौडन खोज्दाको परिणाम थियो । कोही भन्लान्, जियोग्राफिक मिस्टेक थियो । यत्ति भन्छु, यो तथ्यलाई तामाङ राष्ट्रले बुझ्नुपर्छ । गल्तीको सजाय दिनुपर्छ । झार उखेल्ने नाममा बाली उखेल्नु हुन्न । पुर्‍याएका सही योगदानको कदर हुनैपर्छ । खोला तरेपछि लौरो बिर्सनु उचित होइन । स्मरणीय तथ्य यो पनि हो कि- खोला तारी दिएँ भन्दैमा तारिएका सबै मेरा प्रजा वा नोकर हुन् भन्नु पनि हुँदैन ।
        माथि उल्लेख गर्दै थिएँ, राष्ट्र र राज्य (देश)को प्रशङ्ग ! तामाङ राष्ट्र हो । ऊ आफ्नो पहिचान प्राप्तिको आन्दोलनमा रहेको छ । अचम्म के हो भने आफैँ राष्ट्र हो तर अन्य (राज्यसत्ता)ले पहिचान देओस् भन्ने चाहना राख्छ । ढुकुरलाई मान्छेले ढुकुर भन्नु वा नभन्नुको कुनै तुक हुँदैन । यसरी भन्ने हो भने तामाङ आफैँ राष्ट्र भएकोले कथित राज्यसत्ताले राष्ट्र भनेर लालमोहर लगाइरहनुको कुनै तुक हुँदैन । त्यसैले स्वतः राष्ट्र ! स्वतः स्वायत्त, सतत्, सार्वभौम साथै समृद्ध रहेको तथ्य बुझ्न नसक्ता यस्तो भएको हो । 
        परशुराम तामाङले तामाङलाई राष्ट्र भनेर सही कुरा लेखेका हुन् । तर बुझ्नसक्ने तामाङ सहभागी देखिएनन् । सहभागीका के कुरा आयोजकहरूले नै बुझ्न सकेनन् । अन्ततः नम्बरी सुन पनि कान्छी सुनमा दर्ज भयो । यो दूर्भाग्यपूर्ण कुरा हो । हाम्रो (एस.सि.आ.सि.)को दाबी पनि तामाङ जाति मात्रै नभएर राष्ट्र हो । यो सभ्यता पनि हो । आदिवासी पनि हो । हामी भन्छौं, तामाङ प्रथमराष्ट्र हो । नेपाल राष्ट्र होइन । यो त देश (राज्य) हो । नेपाली राष्ट्रियता होइन । तामाङ राष्ट्र भएकोले तामाङ (तामाङत्त्व) नै राष्ट्रियता हो । नेपाल देशमा तामाङ, गुरुङ, मगर, रार्इ, लिम्बु र थारु लगायतका राष्ट्रहरू छन् । ती राष्ट्रहरूले राष्ट्रियताको आधारमा ताम्सालिङ, तुमवान, मगरात तथा थारुहटलाई यहाँ स्थापित गरेका छन् । राज्यसत्ताले लगाइरहेका अङ्कुश हटाइदिनुपर्छ । अन्यथा राज्यसत्ता सजायको भागीदार रहन्छ । 
       यसप्रकार तामाङ राष्ट्र भन्छौं । तामाङ राष्ट्र भएकोले तामाङको परिषद् हुन सक्छ तर अन्तर्राष्ट्रिय चाहिँ हुँदैन । नेपालको हकमा अन्तर्राष्ट्रिय भन्नाले तामाङ, मगर, गुरुङ र थारु बीचको भन्ने अर्थ दिन्छ तर मिरिक सम्मेलनमा भने परशुराम तामाङ आफैँ, तामाङ राष्ट्र र नेपाल चाहिँ देश भन्दै थिए तर संस्थाको नामले चाहिँ तामाङ एउटा जाति मात्रै र नेपाल नै राष्ट्र भएको तर्कको पक्षमा उभिएको थियो । तामाङ राष्ट्र भनेर दाबी गर्नेहरुलाई कुरीकुरी गर्दै थियो । 
      राष्ट्र, राष्ट्रियता, देश, जन/जाति र आदिवासी लगायतका शब्दको तथ्यबोध गरेका केही व्यक्तिहरूले जरोकिलो अभियान चलाउँदै आएका छन् । उनीहरू तामाङ लगायतका राष्ट्रहरूलाई जन/जाति मात्रैमा सीमित गर्न खोज्दैछन् । नेपाल नामक देशलाई नै राष्ट्रको रूपमा स्थापित गर्दै राष्ट्रियताको मन्त्र फलाकेर पहिचानको मुद्दाको जरोकिलो उखेल्ने दाउ खोज्दैछन् । यस्तो परिस्थितिमा तामाङ राष्ट्र आफैँ नै विपक्षी अभियानलाई प्रत्यक्ष फाइदा पुर्‍याउने काम गर्दै गरेको सम्मेलनमा पनि देखियो । 
        फिरिङ्गेहरू आए । हाम्रा पुर्खाहरू मारे । हाम्रा भूमि खोसे । हाम्रा चेलीबेटीलाई बलात्कार गरे । हामीलाई सधैँका लागि दास बनाए । तिनीहरूले हाम्रा मुटुकै बीचमा किलो ठोकेर राखेका छन् । त्यो किलो उखेल्नुपर्ने ठाउँमा तिनीहरूलाई नै उक्साउनका निमित्त ''हैँसे होस्टे'' भनिरहेकाछन् । जसको प्रमाण 'तामाङ अन्तर्राष्ट्रिय परिपद्' नाम राखेर पस्किरहेको भन्ने देखियो । त्यसैले अविलम्ब नाम परिवर्तन गर्न जरुरी देखियो । संयोगवश समूह नं. चारमा परेका एस.सि.आर.सि.बाट सहभागी प्रतिनिधिहरूले विषय उठान गर्‍यो । समूहका सबैजना एकमत भएपछि नाम परिर्वतन गरेर 'विश्व तामाङ परिषद्' राख्न सुझाव पनि दियो । 
        परिषद्को विधानले पनि तामाङलाई जाति र नेपाल देशलाई चाहिँ राष्ट्रको रूपमा प्रस्तुत् गरेको छ । यो सरासर गलत भएकोले तामाङ चाहिँ राष्ट्र र नेपाल चाहिँ देश (राज्य) भन्ने स्पष्ट भएर अगाडि बढ्न सुझाव दिएको छ । चोहोको नेतृत्वमा नाङ्खोर/छोक्पा (संयन्त्र) (पृ.७१) गठन गर्ने भनेको छ । यहाँ नाङ्खोर भन्दाखेरि शब्दको सही उच्चारण नभएको देखियो । तामाङमा न'ङकोर हुन्छ; जसले अर्मपर्मको प्रथालाई जनाउँछ । यहाँ भन्न खोजेको चाहिँ न्हङ्खोर हो । त्यसैले न्हङ्खोर लेखिनुपर्ने र त्यहाँ मुइमूको कुरा छुटेकोले थप्नुपर्ने देखिएको छ । चोहो परम्परालाई स्थापित गराउन सक्ने हो भने गाइकाण्ड लगायतका कयौं समस्याहरू स्वतः समाधान हुनेछन् । तामाङको पहिचान हुनेछ । 
          मिरिकमा सम्पन्न सम्मेलन अन्तरदेशीय थियो । त्यसैले पनि त्यो अन्तर्राष्ट्रिय थिएन । अन्तरदेशीय भन्दा राम्रो सुनिँदैन । देश (राज्य)ले त हामी तामाङको भूमि (केसा, ठुङ्सा र बप्सा)लाई फुटाएको छ । हामीबाट खोसेको छ । त्यसैले अन्तरदेशीयको सट्टा 'विश्व तामाङ परिषद्' भन्नु सबैभन्दा उचित देखिन्छ । तामाङ राष्ट्र साथै आदिवासीवाद (इण्डिजिनिजम्)को पक्षमा एस.सि.आर.सि.ले स्थापना कालदेखि औपचारिक रूपमै बहस गर्दै आएको छ । संस्था स्थापनाअघि २०७० देखि नै तामाङलाई राष्ट्रको रूपमा उभ्याउँदै आएका छौं । त्यसैले पनि 'अन्तर्राष्ट्रिय तामाङ परिषद्'को सट्टा 'विश्व तामाङ परिषद्' हुनुपर्ने माग गर्दछौं । यदि यो विषयलाई सम्बोधन गर्न नसक्ने हो भने परिषद्ले आफ्नो स्टे्रन्थ लिन सक्ने छैन । नैतिक रूपमा ताम्सालिङ माग्न सक्ने छैन । यो तथ्य बुझ्न नसकेसम्म तामाङले चाहेको दिन आउने पनि छैन । साझा मुद्दा बन्दैन र एकताको बाटो पनि खुल्दैन । 
          परिषद् गठनको क्रममा बाह्य प्रचलनको अन्धो अनुसरण गर्न खोजेको देखिएको छ । काठमाडौंमा भएका कार्यक्रमहरूमा समेत एस.सि.आर.सि.ले ''तामाङ संस्था गठन प्रक्रिया''को पक्षमा वकालत गर्दै आएको हो । यसैले विधानमा शाब्दिक रूपमा समेत व्यापक सुधार गर्न आवश्यक देखिएको छ । संस्कार संस्कृति निर्देशिकालाई हेर्ने हो भने, संस्कार र संस्कृतिको अर्थ र परिभाषा नै थाहा नभएको जस्तो देखिएको छ । संस्कारको पक्षहरू समाविष्ट गरिएका छन् । पूर्णताः दिन आवश्यक छ तर संस्कृति र चाडपर्वका कुरा समाविष्ट छैनन् । संस्कृति र चाडपर्व बिनाको निर्देशिकाले तामाङलाई जनजातिको रूपमा पनि राख्न नसकेको जस्तो लाग्न सक्छ । 
          तामाङ चौथो विश्व प्रथम राष्ट्र भएकोले संस्कृति र वर्षभरिमा के कस्ता कति पर्वहरू मनाउँछन् ? त्यसको कारण के हो ? पर्यावरणीय अनुकूलन प्रक्रियामा तिनका भूमिका लगायतका कुरा निर्देशिकामा समाविष्ट हुनुपर्दछ । कथित आधुनिक राज्यसत्ता स्थापना अघि तामाङको आफ्नै सम्पूर्ण व्यवस्था कायम थियो । त्यस्ता विषयका लागि सम्बन्धित, बोम्बो, तम्बा, लामा, चोहो र ह्युल्बासँग व्यापक अन्तरक्रिया गर्न सक्नु पर्दछ । त्यसमा समाज/मानवशास्त्रीहरूका सहयोग लिनुपर्ने हुन्छ । 
       माथि उल्लेखित समस्याहरूलाई परिषद्ले सम्बोधन गर्न जरुरी छ । निर्देशिका तथा विधानमा रहेका शुद्धाशुद्धिमा व्यापक सुधार आवश्यक देखिएको छ । निर्देशिका पुस्तिकाको आवरणमै लेखनी समस्या देखिएका छन् । परिषद्को लोगोमा अन्तर्राष्ट्रिय लेखिएको छ भने त्यसमुनि चाहिँ अन्तर्राष्ट्रीय लेखिएको छ । यसप्रकार ह्रस्व दीर्घ मिलेको छैन । परिषद् शब्द कतै परिषद् त कतै परिषद रहेको छ अर्थात्, 'द' को खुट्टा काटेको र नकाटेको कुन भन्ने अस्पष्ट बनाएको छ ।  प्रस्तावनाहरूमा तामाङलार्इ राष्ट्रको रूपमा दाबी गरिरएका छैनन्; जसले मुद्दालार्इ कमजोर बनाएको छ ।
        प्रकाशकको पक्षमा : शीर्षक सहित एस. टी. लामाले ''...अबौध र असामायिक रीतिको साथ छोडन सक्तैनन् भने त्यो पनि केवल रुढीवादी पाल्नु मात्रै हुनेछ'' भनेको छ । उनी आफैँले ''हाम्रो पुर्खाहरू जीवन्त भइरहनेछ भने भावी पिँडीलाई जातीय शैलीमा आफूलाई उभ्याउनु ठूलो मद्दत मिल्ने छ'' भनेको छ । यसप्रकार परिषद्को टिम आफैँ अस्पष्ट रहेका भन्ने प्रमाणित गरेको छ । सोही निर्देशिकामा हेर्ने जाँदा- संस्थापक अध्यक्ष परशुराम तामाङले चाहिँ ''बौध्दधर्म, बोम्बोबाद र ताम्बाबादको अपूर्व समिश्रण हाम्रो तामाङ संस्कृतिका मूल आधार हो'' भनेका छन् । यही दाबीलाई एम. एस. बमजनले पनि उल्लेख गरेका छन् । 
       निर्देशिकामा ''तामाङ जाति लामावाद, ताम्बा र गान्बावाद'' जस्ता शब्दहरू परेका छन् । जसले बौद्धिक खडेरीको उदाङ्गो उदाहरण प्रस्तुत् गरेको छ । विधानले तामाङको परिभाषा लगाएको छ तर ''परम्परादेखि हिन्दू वर्णव्यवस्थाको संरचनाभित्र नपर्ने विश्वका कुनै पनि ठाउँमा बसी तामाङ जातिको परम्परा, रीतिथिति, संस्कार-संकृति पालना गरी तामाङ वंशज भई/आफूलाई तामाङ हुँ भनी स्वीकार गने जातिलाई जनाउँछ'' भनेको छ । यहीनेर एस.सि.आर.सि.ले हिन्दू वर्णव्यवस्थाको साथै मुस्लिम तथा क्रिश्चियन पनि होइनन् भनेर थप्नु पर्दछ । तामाङ भनेको वास्तवमै ''प्राकृतिक मानव समूह'' हो भन्नेमा स्पष्ट हुन अत्यावश्यक रहेको छ ।
        यसप्रकार हामी को हौं (तामाङको धर्म, संस्कार, संस्कृति साथै चाडबाड के कस्ता रहने) भन्ने कुरामा अग्रजहरू नै अन्यौल देखिएका छन् । उदाहरण दिन्छु, तपाईँ छोरो कि छोरीमान्छे भन्ने थाहा भएन भने कुन पोशाक लगाउने ? तामाङको धर्म कुन भन्ने नै अन्यौल रह्यो भने संस्कार, संस्कृति र चाडबाडका हालत के होला ? यस्ता प्रशस्त समस्याहरू छन्; जसको समयमै समाधान गर्न नसक्ने हो भने भोलिका पुस्ताले हामीलाई अग्रज अभियन्ताको सट्टा अपराधीको रूपमा व्यवहार गर्नेछन् । यही तथ्यलाई ध्यानमा राखेर पाइला चाल्नका लागि हामी अनुरोध गर्दछौं । यसक्रममा आवश्यक सम्पूर्ण सहयोग वा साथ दिनका लागि तयार छौं । 
         अन्त्यमा, यसपटक पुनः एकपटक केही होनाहार व्यक्तिहरू पनि समाविष्ट भएकाले आश गर्ने ठाउँ बनेको छ । निर्विरोध रूपमा चुनिएका परिषद्लाई हार्दिक वधाई ज्ञापन गर्दछौं । सम्पूर्ण तामाङ राष्ट्रले विश्वस्तरमा आफूलाई स्थापित गर्न गराउन कुनै पनि कसर बाँकी राख्नु हुन्न । त्यसैले परिषद्ले सबैका लागि मान्य हुने गरी एक 'थिङ्क ट्याङ्क'को निर्माण गर्नु पर्दछ । उक्त थिङ्क ट्याङ्कले तामाङ राष्ट्र र उसको विश्वदृष्टिकोणलाई विश्व बौद्धिक जगत्मा स्थापित गराउनेछ भन्ने निवेदनका साथ बिदा हुन्छु । थुजेछे !!!
३ पुस '७५
चाबहिल







Friday, November 30, 2018

गीत



नरुने त कसको हुन्छ ? मनै त हो रुन्छ ।।।।
फरक कोही खुल्ला रुन्छ कोही एक्लै रुन्छ ।।

कसैलाई थोरै बढी कसैलाई घटी 

सुख-दुःख भन्ने चिज रै'छ छाँयाँसरि
कोही आँशु खुल्ला झार्छ कोही भित्रै थुन्छ 
फरक कोही खुल्ला रुन्छ कोही एक्लै रुन्छ ।।

अमरताको चाह यहाँ सबैले हो गुन्छ 

जन्मेपछि मर्नै पर्छ ढिलो चाँडो हुन्छ 
व्यक्तिहत्या गर्ने आफैँ मर्छस् भन्दा रुन्छ 
फरक कोही खुल्ला रुन्छ कोही एक्लै रुन्छ ।।

नरोउ भन्दै सम्झाउने मान्छेलाई हेर

ऊ पनि त भक्कानिन्छ दुख्छ जतिखेर
छोरा होस् या छोरीमान्छे मन त मनै हुन्छ 
फरक कोही खुल्ला रुन्छ कोही एक्लै रुन्छ ।।
१४ मङ्सीर '७५
चाबहिल

Wednesday, November 21, 2018

Gajal

कैले औंशी कैले पूर्णे रातको के कुरा ??????
मान्छे आखिर मान्छे नै हो जातको के कुरा ??

रगत त रातै हुन्छ कालो कसको हुन्छ ?
ऊँच र नीच मान्ने झूठा बातको के कुरा ??

को हो ठूलो ? को हो सानो ? सबै बराबरी !
सँगै सुत्दा लागेका ती लातको के कुरा ??

दूध त दूधै हुन्छ हेर पानी पानी हुन्छ !!!!
जसले दुहे छोए पनि हातको के कुरा ??

थिचोमिचो गर्नु हुन्न मौलिकता जोगाउँ !
पहिचानै मेट्यौँ भने थातको के कुरा ??

Thursday, November 8, 2018

प्रश्न

सयपत्री


चुँडेर/च्यातेर
बैशोन्मत्त फूलको जीवन !
सिउरेर थुङ्गा/चढाएर पत्र/सजिएर मालाले
खै ?
कुन मानवता पस्किरहेछन्
यी मनुवा ???

२२ कात्तिक '७५
चाबहिल

कठै यी फूलका दोष ?

Sunday, November 4, 2018

तम्बाला कइरन प्रकाशित !!!


तम्बाला कइरनको विमोचन
१८ कात्तिक २०७५, शनिबार
काठमाडौं । एस.सि.आर.सि.द्वारा 'तम्बाला कइरन' प्रकाशित गरिएको छ । कात्तिक १७ गते विशेष कार्यक्रमसहित प्रकाशित पुस्तकको लेखक भने तम्बा धावा वाङ्गेल मोक्तन रहेका छन् । 'तम्बला कइरन तम्बाग्यम्सेन्' नाराको साथ लोकार्पण गरिएको पुस्तक तम्बा विधासँग सम्बन्धित रहेको छ । 'तम्बा' तामाङ समाजको सांस्कृतिक संस्थाको रूपमा स्थापित समेत रहेको छ ।
सरसेरकेम गर्दै तम्बा सङ्घ नेपालका सदस्यहरू
      तम्बा भनेको विशेषतः विवाह संस्कारको मुख्याधिकारी हो । विगतमा राज्यपक्षद्वारा बोम्बो र लामा जस्ता संस्थाहरूमाथि पनि अनेक प्रहार भएका थिए । चोहो संस्थालाई त समाप्त नै पारिसकेका भन्दा पनि फरक पर्दैन । यद्यपि, तम्बा संस्थालाई भने तामाङ समाजले छोडेको छैन । परिणामतः केही वर्षअघिदेखि तम्बा सशक्त रूपमा उभिँदै आएको छ । राज्यपक्षका अनेक दमनलाई चिर्दै तम्बालाई निरन्तर अभ्यासबाट नछोड्नुलाई कतिपय विश्लेषकले, 'तामाङ राष्ट्रद्वारा अवलम्बन गरिएको राज्यविरुद्धको प्रतिरोध'को रूपमा पनि उल्लेख गरेका देखिन्छन् ।
म्हरमेन बाल्दै डा. गणेश योञ्जनज्यू
      छ वटा अध्यायहरू रहेका पुस्तकमा तम्बाको परिचय, तम्बाको परम्परागत मान्यता, तम्बाले प्रयोग गर्ने सामग्रीहरू, ब्रेल्वा (विवाह), ह्रइप्रथा साथै जीवनसंस्कारका तम्बा मूल्य, मान्यता, विश्वासपद्धतिका साथै रिमठिम तथ पेठिमहरू समाविष्ट रहेका छन् । प्रस्तुत् पुस्तकले यसअघि आएका तम्बा सम्बन्धी विभिन्न पुस्तकहरूले पूरा गर्न नसकेका पक्षलाई पूरा गरेको छ । यो पुस्तकको अध्ययन गरेर तम्बा हुन वा काम चलाउन सक्नेछ । पुस्तकमा छ वटा अनुसूचिहरू रहेका छन् । 'म्हेमेकी ल्होग्यूर्इ स्ह्युग्सो' साथै 'तम्बा कुग्पा खछ्योर्इ स्ह्युग्सो' जस्ता ऐतिहासिक छ्योइसमेत संलग्न छन् । पुस्तकको अन्तिम खण्डमा भने तम्बासँग सम्बन्धित हस्तलिखित १७ वटा तस्वीरहरू रहेका छन् ।
स्वागत गर्दै खोजराज गोले
      प्रस्तुत् पुस्तक गन्बा डा. गणेश योञ्जनद्वारा विमोचन गरिएको हो । सोहीक्रममा टिप्पणीकारहरू मोहन गोले, जितवीर जिम्बा तामाङ, बुद्धछिरिङ मोक्तान, प्रेम मोक्तान साथै लेखकका बुवा पेमादोर्जे मोक्तानले समेत संयुक्त रूपमा विमोचन गरे । प्रकाशक संस्था एस.सि.आर.सि.का अध्यक्ष तथा पुस्तकका सम्पादक खोजराज गोलेद्वारा स्वागत गरिएको कार्यक्रमको शुरूवातमा भने तम्बा सङ्घ नेपालको तर्फबाट गीतसहित सङसेरकेम गरिएको थियो । सङसेरकेम गर्ने क्रममा गन्बा डा. गणेश योञ्जनले म्हरमेन प्रज्ज्वलन गरेका थिए ।
कार्यक्रमको एक झलक
      प्रस्तुत् पुस्तकमाथि टिप्पणीकारहरूले आ-आफ्ना मत राखेका थिए । सोहीक्रममा राजनैतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले पुस्तक तम्बाला कइरनले तामाङ राष्ट्रलाई चिनाउने काम गरेको दाबी गरे । मोक्तानका अनुसार पुस्तकमा तामाङ राष्ट्रको विश्वदृष्टिकोणहरू समाविष्ट छन् । बिगब्याङ्क थ्योरीसँग मिल्दोजुल्दो तम्बागीत बौध्दधर्मसँग सम्बन्धित 'अभिधम्मकोश'बाट आएको हुनुपर्दछ । पछिल्लो क्वान्टम् फिजिक्सले पनि बल्ल यतिखेर आएर प्रमाणित गरेका कतिपय कुराहरूलाई तम्बागीतको रूपमा तामाङ पुर्खा तथा तम्बाहरूले अनादिकालदेखि नै गाउँदै आएका थिए । त्यसकारण पुस्तक अत्यन्त महत्त्वपूर्ण रहेको समेत टिप्पणीकार मोक्तानले जनाए ।
पुस्तकमाथि टिप्पणी गर्दै बुध्दछिरिङ मोक्तान
      अर्का टिप्पणीकार तथा पूर्वसांसद तथा राजनीतिज्ञ जितवीर जिम्बाले, आफू पनि दुर्इ चार वर्षअघिदेखि तम्बाप्रति आकर्षित हुँदै आएको जनाए । टिप्पणीकार जिम्बाका अनुसार उनी आफैँ पनि यसअघि राजनैतिक दर्शनलाई नै सर्वोपरी भन्ने मान्यताका साथ अध्ययन गर्दै; त्यसैले देखाएको मार्गमा लामबद्ध भएका थिए । तथापि, तम्बाको मूल्य, मान्यतासहितका रिमठिमहरूका अध्ययन थालेपछि त्यसअघिका सारा अध्ययनहरू भूर्इँफुट्टा भन्ने पत्तालागेको दाबी गरे । उनले तम्बा विधाको बारेमा प्रशस्त सूचनाहरू सङ्कलित 'तम्बाला कइरन' साह्रै उपयोगी रहेकोले पुस्तक अध्ययनयोग्य रहेको बताए । उनले पुस्तकमा आफ्नो मन्तव्य समेत लेखेका छन् ।
कार्यक्रममा सहभागी डोम्बोहरू
      अर्का टिप्पणीकार, नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष मोहन गोलेले 'तम्बाला कइरन' सङ्कलन तथा अध्ययन गर्नैपर्ने पुस्तकको रूपमा पाएको दाबी गरेका छन् । गोलेका अनुसार कसैले प्रस्तुत् पुस्तक अध्ययन गरेन भने जीवनमा ठूलो कमजोरी हुनेछ । तामाङ यो देशको प्रथम राष्ट्र हो । यसको आफ्नै सामूदायिक सत्ता कायम रहेको छ । यसको एउटा प्रमाणको रूपमा प्रस्तुत् पुस्तकलाई लिन सकिन्छ । अध्यक्ष गोलेले थपे, यदि कसैले सपनामा मात्रै यो पुस्तकको नाम उच्चारण गर्न पुगेछ भने पनि सपनामै ऊ नाच्नेछ । आफ्ना पुर्खा तथा संस्कार संस्कृतिलाई चिन्ने साथै साँच्चैको अधिकार प्राप्तिको आन्दोलनमा लाग्ने प्रेरणा प्राप्त गर्नेछ । उनका अनुसार, तामाङ हुन साथै चिन्नका लागि पनि 'तम्बाला कइरन'को अध्ययन अनिवार्य छ ।
पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिज्ञ जितवीर जिम्बा तामाङ
      कार्यक्रमका गन्बा डा. गणेश योञ्जनले पनि पुस्तकको चर्चा गर्दै लेखक धावा वाङ्गेल मोक्तानलाई शुभकामना दिएका छन् । डा. योञ्जनका अनुसार लेखक मोक्तान सदैँव तामाङ संस्कार र संस्कृतिका पक्षमा लड्दै आएका व्यक्ति हुन् । यसअघि तम्बा सङ्घ नेपालले १५ वर्ष ख्रिश्चियन भइसकेका रामेछाप पोङ्दीका धनबहादुर मोक्तानलाई पुनः तामाङ समाज र धर्ममा फिर्ता गरेको थियो । हाल उनी जिल्ला तम्बाखोर रामेछापको अध्यक्ष समेत रहेका छन् । यस्तो संस्था 'तम्बा सङ्घ नेपाल'को केन्द्रीय अध्यक्ष समेत रहेका लेखक धावा वाङ्गेल मोक्तानको यो पुस्तकले साँच्चै तामाङ समाजको पहिचान स्थापित गराउन महत्त्वपूर्ण टेवा पुर्‍याउने छ ।
टिप्पणी गर्दै मोहन गोले
      लोकार्पण गरिएको २४८ पृष्ठ सहितको पुस्तक 'तम्बाला कइरन'को प्रकाशन सहयोगीहरुमा 'ओखलढुङ्गा-काठमाडौं तामाङ सेवा समाज, काठमाडौं तथा संस्थाका पूर्वअध्यक्ष प्रदीपकुमार तामाङ (बुढानिलकण्ठ); नेपाल प्रवासी तामाङ समाज कतार साथै घोइलो सप्यायर्स, बौद्ध रहेका छन् । पुस्तकमा संलग्न चित्रहरू भने थाङ्का खैपा पल्सङ्मो लामा (पेमा योञ्जन)ले कोरेका छन् । पुस्तकको आवरण भने दिपेश सिग्देलको रहेको छ ।
कार्यक्रमको दृश्य
      (विमोचन कार्यक्रमका लागि प्रकाशक तथा लेखकका तर्फबाट गरिएको निम्तोलाई स्वीकार गर्दै उपस्थित हुनुभएका गन्बा, डोम्बो साथै सम्पूर्ण महिला तथा सज्जनवृन्दप्रति प्रकाशकको तर्फबाट हार्दिक थुजेछे व्यक्त गरिएको छ । मूल्य रु. ३५०।- तोकिएको प्रस्तुत् पुस्तक खरिद गर्न वा बिक्री वितरण गर्न चाहने पाठक तथा व्यक्तिलाई एस.सि.आर.सि.मा सम्पर्क गर्न सक्नुहुनेछ ।)
कार्यक्रमको अन्त्यमा लेखक फोटो सेसन गराउँदै

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...