कथा
| नक्कली फूलमा हराएको अरिङ्गाल |
गोले केआर चालिसेली
उहिलेको कुरा रे । अरिङ्गालले रूखको हाँगोमा गोला लगाएछ । गोला देखेर मान्छे
छक्क परेछ । के रहेछ भन्ने जिज्ञासा बढेछ ।
''तिमी को हौ ?'' भनेर सोधेछ ।
च्याँटि्ठदै, अरिङ्गालले चाहिँ ''तिमीलाई के
मतलब !'' भनेछ । मान्छेलाई रिस उठेछ । ढुङ्गा टिपेर हानेछ ।
अरिङ्गाललाई पनि रिस नउठ्ने कुरै भएन । पाले बसेका
अरिङ्गालले गोलाका सबैलाई सतर्क गराएछन् । गोलाभित्र हल्लिखल्ली मच्चिएछ । केही
माउ तथा बच्चाहरू हातहात भएछन् । त्यसपछि मूलीअरिङ्गालले आक्रमणको आदेश दिएछ । सिपाहीअरिङ्गालहरू
मान्छेमाथि खनिएछन् । मान्छेलाई धेरै पीडा भएछ । रुँदै घर पुगेछ ।
घरमा पुग्दा आमाले पनि चिनिनछे । ''को हौ ?'' भनेर सोधिछे । ''आफ्नै छोरोलाई पनि कस्तो नचिन्नु भएको नि ? तपाईँहरूकै छोरा ठूले के !'' भनेछ । अनि ''कसरी यस्तो भयो ?'' भनेर सोधिछे । ''ऊSSS पर रूखमा अचम्मको झिङ्गा रहेछन् ।
त्यसको त ठूलो गोलाजस्तो घर रहेछ ।'' मैले चिनिनँ । ''को हौ ? भनेर सोध्दाखेरि च्याँटि्ठएर निहू
खोज्न थाले । मलाई पनि रिस उठ्यो । ढुङ्गाले हानेको त सिधै चिलेर झण्डै मारेनन् ।
अहिले त सुन्निएर यस्तो भएँ ।''
छोरोको दशा देखेर आमा चाहिँ आत्तिइछे । बाउचाहिँलाई बोलाइछे
। बाउले पनि केही मेसो पाएनछ । त्यसपछि बोम्बो (झाँक्री)लाई बोलाएछन् । बोम्बोले
कस्तो झिङ्गाले चिलेको भनेर सोधेछ । ''त्यसको हल्का
पहेँलो जस्तो टाउको छ अनि पुच्छरमा चाहिँ 'दुम' रहेछ'' भनेर सुनाएछ । त्यसपछि बोम्बोले, ''उहूर थोपो 'सेके : दुम 'सेके' भन्दै झारफूक गरेछ ।
बोम्बोले फुकेपछि ठूले निको भएछ । ठूलेको बाउलाई रिस उठेछ ।
भरुवा बन्दुक निकालेछ । त्यसपछि छोरोलाई लिएर अरिङ्गालको गोला भएको ठाउँमा पुगेछ ।
छोरोले पनि ''ऊSSS त्यहाँ'' भनेर देखाएछ । दुवैजनाले लुकेर हेरेछन् । अरिङ्गालको
गोलाभित्र हल्लिखल्ली हुँदैरहेछ । आमाअरिङ्गालले चाहिँ ''अब मनुवाले के पो गर्ने हुन् ?'' भन्दै त्रास व्यक्त गर्दै रहिछे । सिपाहीअरिङ्गालले चाहिँ ''हामी छौं नि । त्यस्ता मनुवालाई तह लगाउन हामीले जानेका छौं
!'' भन्दारहेछन् ।
ठूलेको बाउलाई रिसको पारो चढेछ । त्यसपछि बन्दुकले हानेछ ।
तत्कालै अरिङ्गालले धावा बोलेछन् । ती बाउ छोरो भागेछन् । त्यसपछि मनुवा र
अरिङ्गालका बीच ठूलो शत्रुता बढेको रहेछ । केही दिनपछि एक साँझ बाउ छोरो नै पुनः
अरिङ्गालको गोला भएको ठाउँमा गएछन् । साँझको समयमा अरिङ्गालका छोरा-छोरीले बाउ
आमालाई सोध्दैरहेछन् । ''फेरि पनि मनुवाले बन्दुकले हान्न आए
के गर्ने ?'' भन्दै रूँदैरहेछन् । बाउअरिङ्गालले चाहिँले, बन्दूर ढुङ्गाले हान्न आएपनि हामीलाई खासै डर छैन । त्यसैले
नडराऊ भन्दै सम्झाउँदारहेछन् । आमा चाहिँले, ''हैन भोलि आगो
नै लगाउन आए भने के गर्ने नि ?'' भनेर डर व्यक्त गर्दै रहिछे ।
त्यसपछि ठूले र उसको बाउ खुशीले गद्गद् हुँदै घर फर्केछन् ।
राती हुँदो आगो लगाउनको लागि पूरा बन्दोबस्त मिलाएर पुगेछन् । आगो लगाएछन् ।
अकालमै अरिङ्गालको ठूलो क्षति भएछ । मान्छेलाई पनि गज्जबसँग चिलेछन् । त्यही
बेलादेखि अरिङ्गाल र मानिसका बीचको शत्रुता समाप्त भइसकेको थिएन । यसपालि त झनै
अरिङ्गाल र मनुवा बीचको यो युद्धले चरम् स्वरूप लियो । यसको कारण चाहिँ नेपाल नामक
देशको प्रधानमन्त्रीले दिएको भाषण रहेछ । तिनै प्रधानमन्त्री भन्नेले विपक्षीमाथि
अरिङ्गाल भएर आक्रमण गर्न आफ्ना कार्यकर्ताहरूलाई उर्दी नै जारी गरेको रहेछ ।
यसैपालि चालिसे गाउँको च्यङ्बा तामाङ साँगुवान (सालको
जङ्गल)मा पत्कर सोर्न पुगेछ । पत्कर सोर्दै ढाकरमा पुर्याएछ । त्यसपछि सोहोरिएका
पत्कर ढाकरमा हाल्न मात्रै के लागेको रहेछ- सिपाहीअरिङ्गालका केही सदस्यले
च्यङ्बालाई धम्क्याउन पुगेछन् । विचरा च्यङ्बा एक्लो रहेकोले अलिक डराएछ । हात
हल्लाउँदै अरिङ्गालका प्रहारबाट जोगिन खोजेछ । अरिङ्गाललाई चाहिँ च्यङ्बाले पाखुरा
सुर्काएर लडार्इँको लागि आह्वान गरेको भन्ने भ्रम पर्न गएछ । त्यसपछि यो एक्लो मनुवाको
यत्रो फुर्ति भन्दै चिल्नसम्म चिलेछन् । च्यङ्बाले चाहिँ अरिङ्गालको गोला कहाँनेर
रहेछ भन्ने समेत पत्तै पाएनछ ।
त्यहाँबाट जसोतसो ज्यान जोगाएर च्यङ्बा भागेछन् । अलिक पर
बिसाएर 'उहूर थोपो ''सेके : दुम 'सेके'' भन्दै आफैँले झारफूक गरेछ । त्यसपछि
पत्कर लिएर घर पुगेछ । घरमा पुगेपछि मूलथाममा झुण्डाइराखेको रेडियो खोलेछ । ''आज देशको प्रधानमन्त्री ओलीले विपक्षीमाथि अरिङ्गाल भएर
आक्रमण गर्न आदेश दिएको छ'' भन्ने समाचार पो आउँदैरहेछ । समाचार
सुनेपछि च्यङ्बा झल्याँस्स भएछ । देशमा के हुँदैछ ? बर्खामास पनि
बर्खा जस्तो छैन । सेउला काट्न जानुपर्ने म पनि पत्कर सोर्न जानु परेको ! देशको
प्रधानमन्त्रीले पनि यही बेला अरिङ्गाल बनेर आक्रमण गर्न आदेश जारी गर्नु परेको !
अरिङ्गालले पनि मलाई नै चिल्नु परेको ! लु, जे होला भन्दै
छिमेकका दुर्इ चार जना दौँतरीहरू लिएर अरिङ्गालको गोला खोज्न निस्केछ ।
साँझ पाँच जना भएर गोला खोजेछन् । छेवैको रूखमा यत्रो
घ्याम्पो जत्रो गोला देखेछन् । सबैजनाले स्वास थुनेर सुनेछन् । अरिङ्गालको
गोलाभित्र छलफल हुँदैरहेछ । सिपाहीअरिङ्गालले एकै स्वरमा भन्दैरहेछन्- ''प्रधानमन्त्रीले नै हामीलाई आदेश दिएकाले कौनै डर छैन ।'' अर्को अरिङ्गाल बोल्दोरहेछ, ''बाल मतलब !'' अर्को बोल्दोरहेछ ''सचेत चाहिँ
रहनुपर्छ है साथी हो !'' मूलीअरिङ्गाल निकै बूढा भइसकेको रहेछ
। तिनको बोली नै थोतो भइसकेको रहेछ । अन्त्यमा बूढो बोल्छ, ''हैन, यी मनुवाहरू कम्ताका छन् । लौ आगो नै
लगाउन आएछन् भने आगजनीमा मुद्दा चलाउँला तर मट्याङ्ग्रालाई मेटासिडमा डुबाएको
टालोले बेरेर गोलामा हान्यो भने के गर्ने ? त्यसरी एक
दुर्इ मट्याङ्ग्रा मात्रै प्रहार गरेछन् भने पनि के होला ? त्यसो गरे भने त आधा एक घण्टाभित्र हामी सबै सक्किनेछौं ।''
च्यङ्बा र उसका साथीहरू खुशी भएर घर फर्केछन् । त्यसको
भोलिपल्ट बिहानको खाना खाएपछि तिनीहरू गोला नजिक पुगेछन् । मध्ये दिन भइसकेको रहेछ
। घाम चर्को स्वरूपमा प्रस्तुत् भइरहेको रहेछ । बर्खामास भएरपनि बर्खा जस्तो थिएन
। अरिङ्गालहरू खुब फूर्तिला देखिइरहेका थिए । सबै एकसे एक ! जतिखेर जसलाई पनि
समाप्त पार्लान् जस्ता ! च्यङ्बाले गुलेली झिक्यो । अर्कोले दुइटा साना ढुङ्गा
(मट्याङ्ग्रा) टिप्यो । अर्कोले मेटासिड निकाल्यो । अर्कोले कपडाको थोत्रो टालो
झिक्यो । त्यही टालोमा थोरै मेडासिड हाल्यो । त्यही टालोले बेरेको मट्याङ्ग्रा
गुलेलीमा हालेर च्यङ्बाले गोलातिर ताक्यो ।
हिजो आफूमाथि भएको अन्यायका दृश्यहरू एक-एक गरी सम्झँदै
पहिलो मट्याङ्ग्रा प्रहार गरेछ । अरिङ्गालहरू सचेत भएछन् । तत्कालै नमीठो गन्धले
गर्दा अरिङ्गालका नाक ठुनुक्कै भाँचिएछन् । परिणामतः तिनका टाउको दुख्न थालेछन् ।
त्यसपछि हिजो जस्तो धावा बोल्न र घेरा हाल्न सकेनछन् । त्यसमाथि च्यङ्बाले अर्को
मट्याङ्ग्राले प्रहार गरेछ । त्यसपछि च्यङ्बाको समूह छेवैको चेप्टेढुङ्गामाथि चढेर, ''उहूर थोबो 'सेके : दुम 'सेके...'' भन्दै नाच्न थालेछ ।
आधा घण्टापछि च्यङ्बा रूखमा चढेछ । अरिङ्गालको गोला बजाउन
थालेछ । गोला साँच्चै मादलजस्तै बजेछ । हाS हाSSS गर्दै एक लात हानेछ । त्यसपछि गोला भने भूर्इँमा बजारिन
पुगेछ । छ्यालब्याल भएर छरिए । अरिङ्गालका बच्चाका के कुरा, मै हुँ भन्ने सिपाहीअरिङ्गाल समेतका लास मात्रै उत्तानो
परेछन् । सुन्नेलाई सुनको माला ! भन्नेलाई फूलको माला !! यो कथा जसले पढ्ला !
देशको राजनैतिक परिवेश छर्लङ्ग देखी जाला !!
१५ पुस '७४
चाबहिल
No comments:
Post a Comment