१. धर्म के हो ?
कोही
भन्छन्, धारण गरिएको
तथ्य नै धर्म हो । आमतामाङ भन्छन्, कुनै बस्तुले दिने
उपयोगिता वा काम चाहिँ धर्म हो । कति भन्छन्, बोन, हिन्दू, जैन, बौद्ध, ख्रिश्चियन तथा मुस्लिम आदि धर्म हुन् । कतिका विचारमा र्इश्वर/देउता/भगवानको
पूजामा लाग्नु धर्म हो । कतिका नजरमा सेवा गर्नु धर्म हो ।
यसप्रकार
अधर्म नगर्नु धर्म रहेछ । मानव समाज/सभ्यताभित्र सदस्यहरू हुँदारहेछन् । तिनीहरूले
एक किसिमको सामाजिक, सांस्कृतिक तथा नैतिक मूल्य मान्यता निर्धारित गर्दा
रहेछन् । तिनै मूल्य मान्यतालाई स्वीकार गर्दै व्यक्तिगत तथा सामुदायिक काम,
कर्तव्य र अधिकारप्रति प्रतिबद्धता जनाउँदारहेछन् । सोही कार्यका
लागि निर्मित विशेष मान्यता/सिद्धान्त/विश्वदृष्टिकोण नै धर्म रहेछ ।
२. धर्मको उद्विकासक्रम कस्तो रह्यो ?
उदयपछि
उद्विकासको क्रम चल्यो; जुन निम्नानुसार रह्यो ।
क) शामनिजम्
धर्मको पनि उद्विकासक्रम चलेको
देखिन्छ । अहिलेसम्मको मानवशास्त्रीय अध्ययनका निष्कर्षअनुसार शुरूमा शामनिजम् (बोम्बो/झाँक्री/धामी)
धर्मको उदय भयो । यसैलाई एनिमिजम् (प्रकृतिवादी) भनेका पाइन्छन् । शामनिजमबाट
तामाङ बोन (लबोन/लप्तबा/केकेलबोन) बनेका देखिन्छन् । शामनिजमको बेला प्रकृतिका
हरेक अस्तित्त्व वा दृश्यअदृश्य पक्षहरूलाई शक्तिको रूपमा मानेका थिए ।
ख) हिन्दूधर्म
यहाँ सनातनी स्वरूपमा स्थापित
शामनिजमबाट नै अचेल भन्ने गरिएको हिन्दूधर्मको उदय भयो । यसले अनगिन्ती (तेत्तीस
लाखभन्दा बढी) देवदेवी वा र्इश्वर वा भगवानको अवधारणा विकास गर्यो । आमजनमास र
पण्डित, राजा र योगी
आदिको अवधारणा ल्यायो । वर्णव्यवस्थालाई लागू गर्यो । छुवाछुतको प्रचलनले जरो
गाड्दै ल्यायो । ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता
र शिवलाई संहारकर्ताको रूपमा स्थापित गर्यो । हिन्दूभित्रैबाट जैनको उदय भयो ।
चार्वक जस्ता उच्छेदवादी पनि हिन्दूबाटै पैदा भयो । समाजमा व्यापक अन्यौलता छायो ।
ग) बौध्दधर्म
तत्कालिक भारतीय समाजमा
व्याप्त अन्यौलतालाई समाधान गर्ने गराउने क्रममा सिध्दार्थ गौतम आइपुगे । उनैले
मध्यममार्गको रूपमा बौद्ध धर्मको प्रवर्तन गर्यो । यसले अनिश्वर, अनित्य र
अनात्माको दर्शन अघि सार्यो । अब र्इश्वरलाई लौकिक मान्यो । आत्माभन्दा पनि चित्त
हुन्छ भनेर व्याख्या थाल्यो । सबै सबै अनित्य अर्थात् क्षणिक हुन् भन्ने स्पष्ट
पार्यो । अनुयायीहरूले बुद्धलाई मुक्त वा महानिर्वाणप्राप्त पुरूषको रूपमा
विश्वास गर्दै आएका छन् । तिनीहरूका अनुसार बुद्ध मात्रै भगवान हो । अब र्इश्वर,
देवता र भगवानलाई छुट्याएर हेर्ने क्रम चल्यो ।
घ) ख्रिश्चियनधर्म
दृश्यादृश्य ऊर्जालाई शक्ति
मानेको शामनिजम्ले प्रकृतिवादलाई सम्झाएको थियो । बहुलदेवतावादलाई हिन्दूजमले
पढाएको थियो । निर्वाण तथा अनिश्वरको मान्यता बौद्धले बुझाएको थियो । यद्यपि
समाजको दिल दिमागबाट र्इश्वरको भूत हटेन । यही तथ्यमा आधारित रहेर प्रभु (एक
मात्रै र्इश्वर) र शैतानका बीचमा आममानिस रहेको पाठ घोकाउनको लागि येशु भन्नेले
क्रिस्तानधर्म जन्मायो । यसले प्रकृतिवादका हरेक ऊर्जा अर्थात् स्रोत साधनहरू
मानवका उपभोग्य भन्यो । बहुलदेवताको सट्टा एकदेवतावादमा समाजलाई ढाल्ने प्रयास गर्यो
।
ङ) मुस्लिमधर्म
ख्रिश्चियन धर्मभित्र छ सय
वर्ष पुग्दानपुग्दै विभाजन देखियो । सोहीक्रममा मुस्लिमधर्मको प्रादुर्भाव भयो ।
ख्रिश्चियन र मुस्लिमहरूका बीच थोरै मात्रै फरक रह्यो । एकापसमा शत्रुतापूर्ण
वातावरणको सिर्जना गरे । अर्कोलाई सिध्याउनुलाई पापबाट मुक्त तथा प्रभु वा
मोहम्मदको प्रिय हुनु भन्न थाले । जिहादको अवधारणासँग एकापसमा हदैसम्म हत्या हिंसा
थाले । त्यसैलाई पौरख सम्झनाले मुख्य उद्देश्य कमजोर हुनु स्वाभाविक रह्यो ।
च) नयाँ धार्मिक आन्दोलनहरू
उल्लेखित धर्महरूका सबल र
कमजोरीका बाबजूद पनि समाजले गति लिइरहेकै थियो । जापानबाट नयाँ धार्मिक आन्दोलनहरू
देखिन थाले । त्यसक्रममा व्यक्तिलाई अलौकिक शक्ति प्राप्त भएको भन्दै तिनकै
अनुयायीद्वारा आन्दोलनकै रूपमा नयाँ अवधारणा अघि सार्न थाले । त्यस्ता समूहहरूलाई
नै नयाँ धार्मिक आन्दोलनहरू भनेका हुन् । तिनकै प्रतिरूप नेपालमा माताहरू देखिएका
हुन् । यिनीहरू कुनै एक शक्तिलाई मान्दछन् । जापानमा एक थरी यस्तो समूह बन्यो; जो बिजुली (विद्युत)लाई
नै देउता भनेर पूजा गरेर बस्छन् ।
छ) मैत्रीधर्म
कुनै पनि मान्यताको उदयपछि
उद्विकास हुनु सामान्य मान्नुपर्दछ । उदारवाद र मार्क्सवाद/साम्यवादहरूका पनि नव
देखिएका छन्; जस्तै नव-उदारवाद; नव-मार्क्सवाद आदि इत्यादि ।
त्यस्तैगरी हालसम्म प्रचलित सबै धर्मका नकारात्मक पक्षलाई समाप्त पार्ने र सबल
पक्षलाई अवलम्बन गर्ने गरी मैत्रीधर्मको रूपमा नेपालकै धर्मसङ्घ (रामबहादुर
बोम्जन)ले अगाडि बढाएका छन् । हुन त कतिपयलाई यो पनि नयाँ धार्मिक आन्दोलनको एक
पालुवाजस्तो लाग्न सक्छ । वास्तवमा यसको प्राप्त दस्तावेज तथा यिनका शैलीलाई
हेर्ने हो भने यो नयाँ धार्मिक आन्दोलन वा कुनै धर्मको नयाँ स्वरूप भन्दा पनि
स्वतन्त्र नयाँ धर्मकै रूपमा स्थापित हुँदै गरेको देखिन्छ ।
उल्लेखित धर्महरू अहिले
संसारमा प्रचलित देखिन्छन् । यिनीहरूका आफ्नै स्थान, मूल्य, मान्यता तथा
अनुयायी छन् । एकापसमा धर्म परिवर्तन पनि गरिरहेका पाइन्छन् । यद्यपि, शामनिजमको समेत नियो तथा अप्लाइढ स्वरूपहरू देखिएका छन् । हिन्दूमा
मिताक्षरा र दयाभाग लगायतका सम्प्रदायहरू छन् । वैष्णवी र कृष्णप्रणामी लगायतका
प्रशस्त हाँगाबिँगाहरू समाजमा व्याप्त छन् । जैन र शिखहरू पनि समाजमा स्थापित छन्
।
बौद्धभित्र पनि थेरावादी, महायानी र
बज्रयानीहरू छन् । यिनीहरूभित्र पनि अनेक प्रशाखाहरू छन् । ख्रिश्चिनिटीभित्र
क्याथोलिक र प्रोटेस्टेण्ट लगायतका शाखाहरू छन् । तिनीहरू एकापसमा हत्याको हदसम्म
पनि उत्रन्छन् । मुस्लिमभित्र पनि सिया र सुन्नी लगायत अनेक हाँगाहरू छन् । तिनीहरू
पनि एकले अर्कोका विरुद्ध जेहाद छेड्न पछि पर्दैनन् । नेपालमा शटरहरूमा व्यावसायिक
रूपमा अनेक झाँक्रीहरू आएका छन् । वनझाँक्री, नरुबोन लगायतका
अनेक झाँक्रीहरू देखिन्छन् । माताहरू पनि गनेर नसक्नु देखिएका छन् ।
किरात, मष्टोपूजक
साथै लबोनका मूल्य, मान्यता तथा विश्वदृष्टिकोण व्यापक रहेका
छन् । जोसमनी सम्प्रदाय र नाथ परम्परा आफ्नै रफ्तारमा अघि बढेकै छन् । अनगिन्ती
बाबाहरू छन् । नेपाल तथा भारत लगायतका पूर्वीय भनिएको क्षेत्रमा साङ्ख्य दर्शन,
योग दर्शन, लोकायत दर्शन, वैशेषिक दर्शन, न्याय दर्शन, मीमांसा
दर्शन, जैन दर्शन, बौद्ध दर्शन,
वेदान्त दर्शन, वैष्णव दर्शन एवंरीतले शैव तथा
शाक्त दर्शनहरू पाइएका छन् ।
३. व्यक्तित्त्व विकासमा धर्मको भूमिका
हरेक
मानिसको व्यक्तित्त्व हुने गर्दछ । यो जन्मपछि निर्माण हुने गर्दछ । यसलाई
पालनपोषण, हुर्काइबढार्इ,
सामाजिकीकरण, तथा समाजिक सांस्कृतिक परिवेश,
धार्मिक मूल्य मान्यता, वंशाणुगत प्रभाव तथा
प्राकृतिक परिवेशले प्रभावित गरेका हुन्छन् । यद्यपि नेचर एण्ड नर्चर डिबेट भनेर
पनि पढाउने गरेका पाइन्छन् । यो बुँदामा पनि धर्मले कस्तो भूमिका खेल्छ भन्ने हो ।
वास्तवमा
धर्मले पनि मानिसको व्यक्तित्त्व तथा प्रकृति विकासमा ठूलै भूमिका खेलेको हुन्छ ।
विज्ञानका विद्यार्थी र गुम्बा, गुरुकुल तथा मदरसामा पढ्का विद्यार्थीका व्यक्तित्त्व
विकासका परिणाममा केही न केही फरक हुन्छन् । भन्छन्, अलेक्जेण्डरलाई
अरस्तुले नपढाएको भए शायद विश्वविजेता बन्ने थिएन । धर्म भनेको एक किसिमको जिउने
कला पनि हो । त्यसर्थ जीवन जिउने कला सिकाउनेक्रममा प्राप्त ज्ञानले व्यक्तिको
व्यक्तित्त्व तथा प्रकृति निर्धारणमा विशेष भूमिका खेलेको हुन्छ ।
एउटा
उदाहरण यहाँ प्रस्तुत् गर्न उचित देखिएको छ । एक समय स्वयम्भूबाट मिनिबस चढेर
आइरहेको थिएँ । बालाजूमा आइपुगेका थियौं । अर्को छेउको सीटमा पचास हाराहारीकी
एकजना आमा हुनुहुन्थ्यो । उहाँको काखमा नाती पनि थियो । नाती चाहिँले हातको सानो
बल खसाल्न पुग्यो । मैले उठाएर दिएँ । आमाले भन्दै हुनुहुन्थ्यो; बाबु यसरी बल
झार्नु हुँदैन । हेर अङ्कललाई दुःख भयो नि । आमाको तर्कले म झस्किएँ । मैले अलिकति
पनि दुःखको अनुभूति त गरेको थिइनँ ।
बस
हुइकिने क्रम जारी नै थियो । महाराजगञ्जमा आइपुगेर रोकियो । एकजना पचास हाराहारीकै
अर्की आमा चढ्न आइपुग्नु भयो । मभन्दा अगाडिकै सीट पनि खाली नै थियो । शायद उहाँले
अगाडिकै सीटमा अप्ठेरो लाग्यो ? मेरै छेउमा आएर भन्नुभयो, खै म बस्छु
यहाँ ? उता जाऊ । सीट छोडीदिएँ । ती दुवै जना आमाहरूका बोलीमा आकाश र पातालको
अन्तर पाएँ । घोत्लिन बाध्य भएँ । कठोरता र नरमपनको कारण खोज्न थालेँ । ती बोलीका
उच्चारणमा नश्लीयता झकिन्थे । अनुहार सम्झेँ अनि स्पष्ट भयो । नश्लीयता र धार्मिक
आस्थाका आधारमा बोली र व्यवहारमा पनि स्पष्ट फरक छुट्टिँदाहेछन् ।
४. समाज निर्माणमा धर्मको भूमिका
समाज
निर्माण र धर्मका सम्बन्ध पनि खुट्याउन गाह्रो पर्ने खालको देखिन्छ । सानो कमजोरी
गरिएमा पनि समाज निर्माणमा धर्मले असर गर्छ वा धर्मलाई समाजले भन्ने द्विविधा
उत्पन्न गराउँछ । संसारमा पहिले समाज बनेको हुन्छ । समाजले धार्मिक मूल्य मान्यता
विकास वा प्राप्त गरेको हुन्छ । त्यसर्थ समाजअनुसारको धार्मिक मान्यता स्थापित
हुने गर्दछ । यद्यपि यो पहिलो परिस्थितिको तर्क हो । जब समाजले धार्मिक अभ्यास
गर्दै जान्छ; तब बिस्तारै धार्मिक मूल्य मान्यताले मानिसका प्रकृति वा व्यक्तित्त्वमा
प्रभाव पार्न थाल्छ । अन्ततः धर्मले
समाजलाई प्रभावित पार्दै अघि बढ्ने गर्दछ ।
शुरूका
मानिसले समाज विकासको क्रममा उपचारकको आवश्यकता महशुश गरेका थिए । त्यसक्रममा
शामनका विकास गरे । तिनै शामनका कारण समाज पनि प्रकृतिमैत्री हुँदै आए । प्रकृतिमैत्री
समाजबाट पछिल्लो समयमा हिन्दू तथा बौद्धको विकास गर्न आइपुग्यो । यसप्रकार पूर्वीय
(एसियन) धर्महरू सामुदायिक हुँदै आए । युरोप तथा अरब क्षेत्रका मानिसका स्वभाव
पूर्वीयभन्दा फरक थियो । सोही अनुरूपका धर्म विकास गरे । तिनै धार्मिक अभ्यासका
क्रममा जिहादका कुरा सिके । एकै क्षण फुर्सद वा खाली हात बसेमा प्रभु रिसाउनुहुन्छ
भन्ने मान्यताका कारण तिनीहरूलाई बढी नै क्रियाशील बनाए ।
हिन्दू, जैन तथा बौद्ध
धर्मावलम्बीका स्वभाव पनि तुलनात्मक रूपमा नरम र शान्त हुँदै आए । ख्रिश्चियन तथा
मुस्लिम धर्मावलम्बीहरू बढी उग्र बने । हिन्दूमा सगोत्रीका हत्या अपराध हुन्थ्यो ।
ख्रिश्चियनमा पोपले त्यस्ता अपराधबाट मोक्ष दिन सक्थ्यो । मुस्लिममा अल्लाह
बाहेकका अन्यलाई सिध्याउनु नै धर्म भन्ने मान्यता विकास हुन पुग्यो । आज आइपुग्दा
हिन्दू र बौद्ध लगायतले सर्वधर्म र सर्वप्राणीको पक्षमा बोलेका पाउँछौं ।
ख्रिश्चियन तथा मुस्लिममा भने प्रभु वा अल्लाह मात्रै असली अनि अन्य सबै शैतान
हुन् । यसलाई सतप्रतिशत मान्नु हुँदैन । तुलनात्मक रूपमा भन्न खोजिएको हो ।
५. राजनैतिक दर्शनमा धर्मको भूमिका
राजनीति
र धर्म एकापसमा कति अवस्था घाँटी जोड्छन् । कहिले झगडा पनि गर्छन् । वास्वतमा
संसारमा धर्म नै दाजु थियो । त्यसैले शुरूमा यिनीहरू दुर्इमध्ये एकले अर्कोको
सहारामा आफ्नो साम्राज्य स्थापित गराएका थिए । यद्यपि धर्म र राजनीतिका बीचमा
शक्ति सङ्घर्ष व्यापक थियो । इतिहासकार ये. अगिबालोभा र ग. दोन्स्योयद्वारा लिखित ''मध्य युगको
इतिहास'',(२०६९)लाई ललिजन रावलले अनुवाद गर्नु भएको छ । उक्त
पुस्तकमा उल्लेख गरिएअनुसार तत्कालिक समयमा क्लोविस राजा भए । उनले आफ्नो सत्ता
बलियो पार्नका लागि सन् ५०० का छेउछाउमा ''राजाको विरुद्ध
गरिने जुनसुकै कार्य द्रोह ठानिन्थ्यो र त्यसको दण्ड मृत्यु थियो (पृ.२०) ।''
आफ्नो
प्रभुत्त्वकै लागि ''क्लोविस र अभिजात फ्रैङ्कहरूले बुझिहाले कि इसाई धर्म
उनीहरूका लागि निकै उपयोगी छ । इसार्इ धर्मले मानिसहरूमा आज्ञाकारिता, विनयशीलता र धैर्य जगाउँथ्यो, आफ्ना मालिकहरूका लागि
इमानदारी र मिहिनेतले काम गर्ने शिक्षा दिन्थ्यो । गालमा बस्नेहरू पहिलेदेखि नै
इसार्इ थिए र फ्रैङ्कहरूद्वारा इसार्इ धर्मको अङ्गीकरण विजेताहरूका सत्तालाई बलियो
बनाउनमा सहायक हुन सक्थ्यो । यसैले राजा र उसका अनुचरहरूले इसार्इ धर्म ग्रहण गरे
र त्यसपछि सबै फ्रैङ्कहरूलाई इसार्इ बन्नको लागि विवश गराए (उही, पृ. २२) ।''
त्यसरी
राजनीति र धर्मको घाँटी जोडिएपछि, ''राजाको अलिकता मात्र पनि अवज्ञा या इसाई धर्म
त्याग्नुका सजाय मृत्यु थियो । एक पटक उसले ४,५०० बन्दीहरूलाई
मार्ने आदेश दियो (उही, पृ. २९) ।'' यसप्रकार दुवैले मानव हत्या जस्ता जघन्य
अपराधलाई वैध घोषणा गरेका देखिन्छन् । सोहीक्रममा ''किसानहरूबाट
चर्चका प्रति पनि ठूला दायित्वहरू थिए । उनीहरूले आफ्नो फसल र गाईबस्तुका बच्चाहरूको
दसौं हिस्सा चर्चलाई दिनु पर्थ्यो । यसलाई चर्चको दशमांश या धर्मशुल्क भनिन्थ्यो (उही,
३४) ।'' परिणामतः ''कैयौं सरुवा रोगहरूले भोकले दुर्बल मानिसहरूको हजारौं सङ्ख्यालाई सखाप
बनाउँथे (उही, ३७) ।''
सामन्तहरू
गढमा बस्न थाले । ''आरम्भमा गढ काठका हुने गर्थे, पछि
ती ढुङ्गाहरूले बनाउने थालिए । गढका मोटा पर्खाहरूले विश्वासनीय सुरक्षा प्रदान
गर्थे (उही, ३९) ।'' सोही बेला नै ''तहखानाले बन्दीघरको पनि काम दिन्थ्यो, जहाँ कैदीहरू
र बागी किसानहरूलाई फलामका जञ्जीरहरूले बाँधेर अँध्यारा, ओसिला
कोठरीहरूमा बन्द गरेर राख्ने गरिन्थ्यो (उही, ४०) ।''
अन्ततः ''पोप युरोपीय राजाहरूलाई आफ्नो
सत्ताको अधीन राख्न चाहन्थे । एघारौं शताब्दीमा धर्माध्यक्षहरू मनोनीत गर्ने
प्रश्नलाई लिएर पोप ग्रिगोरी सप्रम र जर्मन राजा हेनरी चतुर्थका बीच प्रचण्ड विवाद
छेडियो । हेनरीले पोपलाई उसको सत्ताबाट वञ्चित गरिदियो । पोपको नाममा लेखिएको
आफ्नो पत्रलाई उसले यी शब्दहरूसँगै समाप्त गरेको थियो : ''म हेनरी,
र्इश्वरीय अनुकम्पाले राजा, आफ्ना सम्पूर्ण
धर्माध्यक्ष्यहरूसहित तँसँग भन्छु यहाँबाट भागिहाल् ।''
यसयसको
जवाफमा पोप ग्रिगोरीले हेनरीका प्रजाजनहरूलाई आफ्ना राजाका प्रति निष्ठाको शपथबाट
मुक्त गरिदियो । जर्मनीका ठुला सामन्तहरूले राजाका विरुद्ध विद्रोह गरिदिए ।
हेनरीले पोपसँग माफी माग्नको लागि विवश हुनु पर्यो । अनुचरहरूको एक सानो दलका साथ
ऊ इटाली गयो, जहाँ पोप त्यस बेला देशको उत्तरमा पर्ने कनोसाको गढमा बसिरहेको थियो । तीन
दिन हेनरी सँधै पश्चातापको प्रतीक साधुको जस्तो खुकुलो, लामो
कुर्ता पहिरेर नाङ्गो खुट्टाले गढको ढोकामा गइरह्यो, तर
पोपले उसलाई भित्र आउने अनुमति दिएन । आखिर चौथो दिन उसलाई पोपका सामु आउन दिइयो ।
उसले घुँडा टेकेर पोपसँग क्षमायाचना गर्यो र पोपले उसलाई क्षमा गरिदियो । युरोपीय
भाषाहरूमा ''कनोसा जानु'' त्यसै
बेलादेखि विवशतापूर्वक दीनता प्रकट गर्ने आवश्यकताको प्रतीक बन्न पुगेको छ (उही,
पृ. ९६-९७) ।''
''पोपको सत्ता
आफ्नो चरम अवस्थामा पोप इन्नोसेन्ट तृतीय (११९८-१२१६) को समयमा पुग्यो । उसको दावा
थियो कि पोप पृथ्वीमा र्इश्वरको प्रतिनिधि हो; समस्त इसार्इ
जगत् उसको अधीन छ र सारा इसार्इ राजाहरू उसका अधीनस्थ सामन्तहरू हुन् । पोपको
औपचारिक स्वागत समारोहहरूमा जो सुकैले पोपका सामु झुक्नु र उसका जुत्ताहरूलाई
चुम्नु पर्थ्यो । यस्तो अधीनस्थता र विनयशीलताको प्रदर्शन त युरोपका कुनै पनि
राजाका प्रति गरिँदैनथ्यो (उही, पृ. ९७) ।''
''इन्नोसेन्ट
तृतीय युरोपीय देशहरुका भित्री मामिलाहरू र उनीहरूबीच सम्बन्धहरूमा हस्तक्षेप गर्थ्यो
। उसको दबावमा आएर इङ्गल्याण्ड, पोल्याण्ड, स्वीडन र डेनमार्कका राजाहरूले स्वयम्लाई पोपको अधीनस्थ सामन्त स्वीकार
गरेका थिए (उही) ।'' यसप्रकार आफ्नो प्रभुत्त्व
स्थापनाको लागि इसार्इ धर्मको बुर्इ चढेको राजनीतिले अन्त्यमा धर्मको मातहतमा
आफूलाई स्थापित गर्न पुगेको भन्ने देखिन्छ ।
युरोपमा
जस्तै अरबमा पनि राजनीति र धर्मको अवस्था कस्तो थियो भन्ने जिज्ञासा उठ्नु
स्वाभाविक हो । अरबमा सन् ६१२ तिरबाटै इस्लाम धर्मको उदय भइसकेको थियो । हुन त यी
दुर्इ धर्महरू सहोदर दाजुभाइ मान्दछन् । इस्लामका प्रवर्तक मोहम्मद थिए । उनको
दाबी चाहिँ ''अल्लाह बाहेक अरू कुनै र्इश्वर छैन र उनी आफूलाई अल्लाहको
सन्देशबाहक-पैगम्बर भन्थे । ... नयाँ धर्मलाई स्वीकार गर्नेहरू आफूलाई मुसलमान या
मुस्लिम भन्थे (उही, पृ. ६७) ।'' मोहम्मद कुनै राजा थिएनन् । उनी विशुद्ध
धर्मको नामबाट उदय भएका थिए । अन्त्यमा अरबमा पनि युरोपमा जस्तै धर्मले राजनीतिलाई
प्रभावित पार्न सफल भयो ।
यता
पूर्वीय दर्शनमा हेर्ने हो भने हिन्दू धर्ममा पनि धर्म र राजनीतिको बीचमा एक
प्रकारको द्वन्द्व थियो । राजाहरू कुनै न कुनै प्रकारले धर्मको शरणमा पुगेकै
हुन्थे । तत्कालिक भारतवर्षको प्रशस्त राजाहरूले बौद्धधर्मलाई अङ्गीकार गरेका वा
बुद्ध वा बौद्ध धर्मका शरण परेका देखिन्छन् । हिन्दू धर्ममा महान् मानिएको चाणक्य
आफैँले भइरहेको हिन्दू राजासँग टकराब परेपछि तिनलाई हटाएर पहिचान नै नखुलेको
युवकलाई राजाको रुपमा स्थापित गराएका थिए । बिस्तारै हरेक राजाहरूले हिन्दू धर्मको
आडमा आफ्नो प्रभुत्त्व लाद्दै अघि बढेका थिए । नेपालकै पनि शाहवंशले त्यसैको सिको
गर्दै राजालाई विष्णुको अवतार घोषणा गरेका थिए । एक समयका तिब्बती राजा स्रङचङ
गम्पोले पनि आफूलाई बौद्धधर्मसँग जोडेर शक्ति आर्जन गरेका थिए । त्यसक्रममा आफूलाई
आर्यअवलोकितेश्वरको टुल्कु (अवतारी) घोषणा गरेका थिए ।
यसप्रकार
राजनीति भन्ने विषय कसैगरेर पनि धर्मको अधिनमा रहेको स्पष्ट हुन्छ । त्यसो त
धर्मको स्वभाव (नेचर) अनुसार शासकको स्वभाव निर्धारण हुनु स्वाभाविक थियो । दुःखद्
पक्ष चाहिँ जत्ति नै धर्मको पाठ घोकाए तापनि सत्ता/कुर्सीको मात लाग्दै गएपछि
राजनीतिले धर्मलाई बिर्सन पुगेका देखिन्छन् । त्यसक्रममा राजा वा राजनीतिमा लागेका
नेतृत्वकर्ताहरू बिस्तारै अधिनायकवाद वा निरङ्कुश बन्दै आएका देखिन्छन् । राजाहरूले
धर्मका आडमा निरङ्कुशता लादेका र त्यसक्रममा अनगिन्ती निर्दोषका ज्यान लिएका
इतिहास छँदैछन् ।
यहीँनेर
नेपाल लगायत विश्वभरि रहेका आदिवासी जनजाति वा प्रथम राष्ट्र वा इनडिजिनिष्ट
भनिएकाहरू कहाँ भने यसको प्रभाव फरक देखिएको छ । उदाहरणको लागि तामाङ राष्ट्रलाई
नै हेरौं । यिनीहरूमा धार्मिक पाटो अनौठो छ । यिनीहरू ''फो ल''
मान्छन् । ''फो ल''लाई
आवश्यक परेको बेला घरमा स्थापित गराउँछन् । समय हेरेर ''फो ल''लाई पहिले ल्याएको तिनकै लोकमा फिर्ता पुर्याएर यता जीवन यापन गर्दछन् ।
यसप्रकार ''फो ल'' पुज्ने ''लबोन'' तिनका एकप्रकारको जजमानमाथि हाबी हुने अवसर
प्राप्त गर्दैनन् । ''फो ल'' गर्ने ''लबोन'' हुनुको अर्थ सित्तैमा काम गरिदिने एक
प्रकारको सेवक जस्तो हुन्छ । त्यसैले पनि जजमानका जीवनमा हाबी हुनै सकेनन् ।
बोम्बो
वा शामन मान्ने विश्व आदिवासीमा यस्तै संस्कृतिले नियमन गर्दै आएको देखिन्छ ।
परिणामतः यिनीहरूका समाजमा शामन वा बोम्बो वा लबोन (एक किसिमको धर्माधिकारी)को
मात्रै समाजमा प्रभुत्त्व बनेन । तामाङ समाजमा नै हेर्ने हो भने बोम्बो, लबोन, तम्बा, चोहो, गन्बा, मुइमू, लामा र ह्युल्बाको समष्टिगत उपस्थिति बिना
समाज चल्दैनथ्यो । शामन वा बोम्बोलाई कुनै एक परिवार वा खानदानमा सीमित पारेर
राख्न मिल्ने कुरै भएन । बोम्बोको छोरो बोम्बो नै हुन्छ भन्ने भएन । त्यो त स्वतः
देखापर्छ भन्ने भयो । त्यसैले शामन वा बोम्बोले धर्म र धर्माधिकारी बन्नेसम्मको यात्रा
तय गर्ने अवसर नै पाएन । परिणामतः हिन्दू, बौद्ध, ख्रिश्चियन र इस्लाममा जस्तो धार्मिक मूल्य मान्यता र धर्मकेन्द्रवाद (पुरोहितकेन्द्रवाद/पोप
वा मौलानाकेन्द्रवाद जस्ता) यिनीहरूका सभ्यतामा निर्माण नै भएन । धर्म मात्रै
प्रभुत्त्व नरहेकोले राजनीतिक मूल्य मान्यताको खासै विकास भएन । राजनीतिको विकास
नै नभएकोले युरोप, अरब र हिन्दूमा जस्तो राजा तथा राजनीति
देखा नै परेन ।
हिन्दू, ख्रिश्चियन र
मुस्लिममा जजमान वा अनुयायीले निश्चित स्थानमा बसेको धर्माधिकारी कहाँ भेट्न
जानुपर्ने भन्ने विश्वका आदिवासीहरूसँग थिएन । तामाङकै उदाहरण लिएर भन्नुपर्दा,
कोही 'लबोन' भएर अन्यलाई
आफू कहाँ बोलाउन सक्ने अवस्था बनेन । बरु 'लबोन'को हैसियत प्रदर्शनीको लागि अरूले बोलाएर लैजानुपर्ने भयो । नवौं-दसौं
शताब्दीसम्म पश्चिमी युरोपमा लगभग सबै जमीन ठूला भूस्वामीहरू, भूपतिहरूका कब्जामा आइसकेका थिए । ... ''भूपतिबिना
भूमि हुन्न'' भन्ने नियम नै चलन थियो (उही, पृ. ३२) । तामाङ समाजमा भूमिपतिको रूपमा व्यक्ति हुन सक्छ भन्ने अवधारणा
नै थिएन । बरु जस्तै जमिन्दारले पनि भूमिपतिको रूपमा झ्योहो/झ्योमो र सिप्दा,
ने'दा अनि लु र ङ्ह्यम्बुलाई मान्नु पर्दथ्यो
। यसले पनि समाजलाई व्यक्तिबाट सञ्चालिन नभएर विविध संस्थाका संयोजित स्वरूप भन्ने
मान्यता स्थापित गराइदियो ।
यसप्रकार
विश्वका आदिवासी समाज धर्मको नाममा कसैका अधिनमा परेनन् । कोही कसैले अधिकार
प्राप्त गर्ने कुरा पनि भएन । समाज प्राकृति जीवन शैलीका आधारमा सञ्चालित हुँदै आए
। विकसित भनिएका हिन्दू, ख्रिश्चियन र मुस्लिममा भने धर्मको नाममा व्यक्ति
हाबी भए । व्यक्तिमा पनि राजा र धर्माधिकारी देखिए । आपस्तमा शक्ति सङ्घर्षको
क्रममा धर्मको राजनीतिमा प्रभाव पर्न थाल्यो । अब भन्न सक्छौं कि, राजनीति धर्मद्वारा प्रभावित भएका हुन्छन् वा छन् ।
६. प्रकृतिको संरक्षण तथा दोहनमा धर्मको भूमिका
प्रकृति
र धर्मका बीचमा पनि महत्त्वपूर्ण सम्बन्ध हुन्छ । धार्मिक आस्था साथै मूल्य
मान्यताले प्रकृतिमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्याउने गर्दछ । हिन्दू
धर्मले प्रकृतिलाई पनि शक्तिका रूपमा पुज्दै आएको छ । यसक्रममा सूर्यलाई देवताको
दर्जा दिएको छ । चन्द्रमालाई महादेवको जटामा सजाएको छ । हावालाई वायूदेव भनेको छ ।
वरुण तथा जलदेव लगायतका अनेक देव देवी छन् । पानीका कुण्डमा पनि देव देवीका
उपस्थिति देख्छन् । विविध प्राणी तथा पङ्क्षीलाई देव देवीसँग जोडेर हेर्ने तथा
पुज्नेसमेत गर्दछन् । गाईलाई माता मान्छन् । हात्तीलाई गणेश भन्छन् । उल्लुलाई
लक्ष्मीकी बहान अनि मयुरलाई सरस्वतीकी बहान । मुसालाई गणेशसँग र गोरुलाई महादेवसँग
जोड्छन् । पिपल र तुलसीमा बिष्णुको प्रतीक मान्दै पुज्छन् ।
ख्रिश्चियनलाई
हेर्ने हो भने यसको ठिक उल्टो देखिन्छ । यसले प्राकृतिक स्रोत साधनलाई मानवको लागि
र्इश्वरले निर्माण गरेको भन्छन् । पशु पङ्क्षीहरू मानिसका लागि आवश्यक आहार
पूर्तिका लागि बनाएका हुन् । त्यसैले ती पशुपङ्क्षीका शिकार गरी मासु सेवन गर्नु
धर्म सङ्गत मान्छन् । यस्तै मान्यता राख्ने धर्मको कारण ती देशका राजनैतिक नजरले
पर्यावरणमा हेर्ने र देख्ने दृश्यमा फरक देखियो । राजनीतिले नै सारा निर्णय गर्न
थालेपछि अनेक नीति नियम बनाए । अमेजन र रेन फरेष्टहरू मानव उपभोगका लागि निर्मित
भन्ने मान्यता बने । समुद्रमा शिकार गर्नु तथा फोहोर फाल्दा पनि अपशकुन वा अधर्म
हुन्छ भन्ने भएन । परिणामतः जङ्गलहरू सकिए । पशुपङ्क्षीहरू समाप्त पार्दै अघि बढे
। त्यही क्रममा मानवकेन्द्रवादी अवधारणाको विकास गरे । विकासको नाममा बिनास गर्नु
पनि धर्म भयो ।
आदिवासी
भनिएका विश्वको रैथाने मौलिक सभ्यता भने ख्रिश्चियनीटिको ठिक उल्टो रहँदै आएको छ ।
तामाङ राष्ट्रलाई नै उदाहरणको रूपमा लिँदा खोलाको पानी पनि जुठो गर्नु हुँदैन
भन्ने देखिन्छ । शिकारमा गएको दिन एउटा मारे पनि अर्कोको शिकार गर्नु हुँदैन
भन्छन् । शिकारमा जानेले पनि पालना गर्नुपर्ने प्रशस्त नियमहरू बनाएका छन् । टोटेमवाद
र सो समान अभ्यासले प्रकृतिलाई जीवनको आधार भन्दै आएको छ । जीवित मात्रै नभएर
निर्जीव बस्तुका समेत मानवसमान अधिकार रहने विश्वास गर्छन् । गोनेङ्ह्यको बेला
ढिकी र जाँतोलाई आराम दिन्छन् । कुखुरालाई चाड मान भन्छन् । मौरी काढ्न पनि शाइत
जुराउँछन् । कपाल काट्न पनि दिन र साइत हेर्छन् । फुल फुल्दै गरेका वा फल लागेका
वृक्ष वा वनस्पतिलाई गर्भिणी आमा सरह मान्छन् । त्यस्तो बेला काट्ने वा उखेल्ने
गर्दैनन् । चैत र बैशाखमा गरिने सेरकेम र ह्युल्जेपछि निश्चित दिनसम्म खनजोत
गर्दैनन् । झार समेत उखेल्दैनन् ।
यिनीहरूका
मान्यतालाई मान्ने हो भने, कोरोना जस्तो भाइरस (विश्वव्याधि/महामारी/रोग) पनि
कुनै शक्ति वा शक्तिको खेला हो । त्यसैले यो माई हो । यस्तालाई समाप्त पार्छु भनेर
सम्भव हुँदैन । समाप्त पार्न नसक्ने हुनाले नै शक्ति मानेका हुन् । शक्ति मानेपछि
यथोचित स्थान दिनुपर्ने हुन्छ । त्यस्तै भएर माईका पनि थान बनाउँछन् । शक्तिका रूपमा
पुज्छन् । ठूलो रूख वा ढुङ्गा पनि फोड्दैनन् । ढुङ्गा गाढेर देउता भन्दै पुज्छन् ।
बलि दिँदै गरिएका पशु पङ्क्षीको चित्तलाई निश्चित स्थानमा जिम्मा लगाउने संस्कार
पूरा गरेर मात्रै मासु सेवन गर्छन् । घर परिवारको सुरक्षाको लागि सशस्त्र
हतियारधारी दस्ताको सट्टा कुनै शक्तिलाई स्थापित गर्छन्/खटाउँछन् । हत्या र
हिंसालाई समाधान मान्दैनन् । विजयका लागि आफू समान मानवको हत्या गर्ने वा
प्राकृतिक स्रोत साधनको दोहन गर्ने कार्यलाई अक्षम्य अपराध ठान्छन् ।
अब हामी
यो निष्कर्षमा पुगेका छौं कि, पर्यावरणको संरक्षण वा दोहन कार्यमा धर्मको सम्बन्ध
जोडिएका हुँदारहेछन् । पर्यावरणीय पक्षलाई हेर्ने धार्मिक नजरका आधारमा नीति नियम
तथा वैधानिक भनिएका व्यवस्था बन्दारहेछन् । त्यस्ता व्यवस्था पर्यावरण मैत्री छन्
कि विपरीत छन् भन्ने विशेष हुँदारहेछन् । पर्यावरणको संरक्षण गर्नुपर्ने धर्मले नै
मानवकेन्द्रवादमा फसेर प्राकृतिक स्रोत साधनलाई मानवको खुशीमा छोडेपछि बर्बाद
हुँदारहेछन् । कोरोनाको समस्या पनि प्राकृतिक जीवनदेखिको सम्बन्ध विच्छेदको
भएपछिको उपच भन्नेमा प्रायःको सहमति भएको छ ।
७. राजनीति विरुद्ध सामाजिक सांस्कृति मूल्य
मान्यता
शुरूमा
सामाजिक सांस्कृतिक मूल्य र मान्यताका निर्माण गरेका थिए । त्यसक्रममा समाजको सही
व्यवस्थापन तथा सञ्चालन कसरी गर्ने भन्ने मुख्य प्रश्न थियो । समाज लामो, अविराम तथा
निरन्तर यात्रामा जुट्तै थियो । यात्राको शुरूवातसँगै निरन्तरता तथा सहजताको
अभिभारा थपिँदै थिए । त्यतिबेला कसैलाई जित्नु थिएन । कसैलाई लडाउनु वा हराउनु पनि
थिएन । केवल यात्रा गर्नु थियो । त्यसैले अप्राकृतिक चाहना थिएनन् । प्रकृतिलाई
फकाउँदै फुल्याउँदै उसैको साथ लागेर यात्रा गर्ने मनसुव मात्रै थियो । त्यसैले
हरेक पाइलाले प्रकृतिको मुटुमा कुल्चेर चोट पुर्याएको थिएन । हरेक पाइला
प्रकृतिको लागि नवजातले आमाको स्तनपान गरेको जस्तो मात्रै थियो ।
समाजले
एक तहको यात्रा तय गरेपछि भने दोबाटोमा पुगियो । एकथरी मान्छे प्राकृतिक जीवन
शैलीकै यात्रामा अघि बढ्दै आए । कति चाहिँ जान्ने भए । तिनीहरूले बाटो मोड्न थाले
। प्राकृतिक स्रोत साधनको दोहनमा रमाउन थाले । त्यसपछि समाजमा सामाजिक, सांस्कृतिक
तथा नैतिक मूल्य मान्यत निर्माण गरे । कतिले त्यसमा बन्धित भएरै अघि बढ्दै आए ।
कतिले सामाजिक सांस्कृति तथा नैतिक मूल्य मान्यतालाई मानेनन् । धर्मको आडमा
राजनीतिसम्म पुगे । जहाँ पुगेपछि शक्ति र शक्तिको अविछिन्न उपभोगको भोक जाग्न
थाल्यो । राग, द्वेष र इर्ष्याका उदय भए । साम, दाम र दण्डभेदको नीतिमा समाहित भए । मेरो र तेरोको भावनामा ह्वात्तै
वृद्धि भयो । आफ्ना पक्ष र विपक्ष स्पष्ट देखिए । पक्षका लागि विपक्षीको संहार
गर्नुलाई धर्मको रूपमा अर्थ्याउन थाले । कहाँको लागि निस्केको समाज अब कता फस्न
थाल्यो ।
फेरि पनि
तामाङ समाजलाई उदाहरणका लागि लिऔं । सामाजिक, सांस्कृतिक तथा नैतिक मूल्य मान्यतामा
अडिक हुञ्जेल तामाङ तामाङ नै थियो । दुःख सुखका संयोग नै जिन्दगी भन्ने बुझाई
बनेको थियो । जसोतसो तामाङ भएरै हिँड्दै थियौं । त्यस्तैमा एक हूल हतियारधारीका
प्रवेश भयो । तिनीहरुले तामाङलाई लुटे । जमीन लुटे । सम्पत्ति लुटे । थातथलोदेखि
तहसनहस पारे । इज्जतलाई माटोमा मिलाए । आफूहरु शासक भएको भन्दै तामाङलाई शासित
बनाए । शताब्दीऔंसम्मै यो क्रम रोकिएको छैन ।
यस्तैमा
तिनी (राजनीति गर्ने)हरूले नै राजनीतिको पाठ सिकाउन थाले । त्यही पाठशालामा प्रवेश
गरेपछि 'फो ल'लाई गलत भन्न थाले । हो क्यारे भन्दै त्यो फाल्यौं । तामाङ भाषाले पछि
परेको भने । त्यो पनि छोड्नेक्रम चलाएकै छौं । सामाजिक सांस्कृतिक मूल्य
मान्यतालाई पछौटे तथा जङ्गलीपनको कारण भने । होला त नि भनेर तिनलाई पनि बिस्तारै
बिस्तारै गरेर छोड्न थाल्यौं । आज आएर बल्ल थाहा पाउन थालेका छौं । हाम्रा महान्
पुर्खाले बसाएका सामाजिक, सांस्कृतिक मूल्य मान्यता त
प्रकृतिमैत्री रहेछन् । प्रकृतिमैत्री जीवन शैली त्यागेकैले पो यस्ता महामारी
आइपरेका रहेछन् । ओजोनतहमा प्वाल परेका रहेछन् । मान्छेले मान्छे मार्नु पनि
सामान्य र बहादुरीको विषय भएका रहेछन् ।
यसप्रकार
राजनीति भन्ने चिज हाम्रो मौलिक सामाजिक सांस्कृतिक मूल्य मान्यताका विपक्षी पो
रहेछ । यसको जन्म नै हाम्रा सामाजिक सांस्कृतिक सम्पदा समाप्त पार्नको लागि भएको
रहेछ । यत्ता न उत्ताको पारेर निश्चित नेता भनाउँदाका पञ्जामा पार्नलाई पो बनाएका
रहेछन् । हामीसँग भएजति वैभव तथा सम्पदादेखि विमूख पार्न पो आएका रहेछन् भन्ने
स्पष्ट भएको छ ।
८. विश्वव्यवस्था र विकल्प कुन ?
विश्वको
परिभाषा लगाइरहन आवश्यक छैन । यो विश्वमा अनेक व्यवस्थाहरू छन् । तिनैलाई
समग्रतामा विश्वव्यवस्था भनेका हुन् । यसअघि मानव समाजले धर्मको आडमा चल्ने प्रयास
गर्यो र सोही अनुरूपको व्यवस्था पनि निर्माण गर्यो । राजनीतिको उदयसँग
विश्वव्यवस्थाले स्पष्ट स्वरूपहरू निर्माण गर्दै अघि बढ्यो । आदिम साम्यवादी
व्यवस्थालाई समाप्त पार्दै अघि बढ्नेक्रममा सामान्ती र साम्राज्यवादी व्यवस्थाहरू
देखिँदै आए । दोस्रो विश्वयुद्धपछि भने स्वतन्त्रता, समानता र भातृत्त्व (स्वत्त्व वा पहिचान)
गरी तीन विषयलाई स्वीकार गरेका थिए ।
तिनीहरूमध्ये
स्वतन्त्रतालाई लिएर गएकाहरूले उदरवादको स्वरूपमा आफूलाई प्रस्तुत् गर्दै अघि बढे
। यसले वैयक्तिक स्वतन्त्रतालाई मात्रै जोड दिएको हुनाले समानता र स्वत्त्वको
गुमनाम स्वाभाविक थियो । समानतालाई मूल मन्त्र बनाएर निस्कनेहरू मार्क्सवादी वा
साम्यवादीका नामद्वारा चिनिए । तिनीहरूले वर्गीयतालाई प्रधान माने । उदारवादमा
भन्दा केही हदसम्म सामुदायिकता भन्ने तत्त्व स्थापित गरे । त्यही भएर कम्युनिटी
अर्थात् समुदायबाटै तिनीहरूले आफूलाई कम्युनिष्ट भनेर चिनाए । अन्ततः आज यी दुवै
नै पुँजीवादको चङ्गुलमा फसेका छन् । आज कोरोना भाइरस त्यही पुँजीवादको काँध चढेर
संसार संहारमा व्यस्त छ ।
उदारवाद
र साम्यवाद दुवैको अन्तिम बिन्दू भने स्टेटलेस अर्थात् देश विहीनतामा पुग्नु नै
थियो । उदारवादले निश्चित कर्पोरेट हाउसलाई आवश्यक बस्तु उत्पादनको तालासाँचो
जिम्मा लगाउँछ । अन्ततः एक बिन्दुमा पुगेपछि मानवसमुदायलाई देशको आवश्यकता पर्दैन
। दैनिक उपभोग्य तथा आवश्यक बस्तुको उत्पादन तथा वितरण तिनै कर्पोरेट हाउसले गर्ने
र तिनकै बस्तुका उपभोगमा मान्छेका जीवन चल्नेछ । राज्य वा देश अनि सरकारको
आवश्यकता पर्दैन भन्ने थियो । साम्यवादीका मत अलिक फरक यसकारण छ कि, समाज एक समयमा
वर्गविहीन अवस्थामा पुग्नेछ । जहाँ पुगेपछि बिस्तारै देश देशावरका सिमानाहरू
मेटिँदै जानेछन् र अन्त्यमा साम्यवाद आउनेछ ।
यी दुर्इ
व्यवस्था अहिले विश्वमा प्रचलित छन् । यही कोरोना नामक विश्वव्याधिको प्रकोपले के
स्पष्ट पारेको छ भने यी दुवै गलत रहेछन् । यी दुर्इकै कारण कोरोना विश्वव्याधिको रूपमा
देखापरेको हो । यसक्रममा चीनले कोरोनालाई जितेर कम्युनिष्टको साख जोगाएको जस्तो त
देखिएको छ तर अमेरिकाले व्यहोर्दै गरेको सास्तीले उदारवादलाई सर्वाङ्ग नाङ्गो
पारेको छ । यिनीहरूले माथि उल्लेखित तीन वटै बुँदा वा विषयहरूमध्ये एकलाई मात्रै
लिएर बढेका थिए । ती दुर्इले लगेका बुँदाहरूभन्दा तेस्रो वा बाँकी रहेको बुँदा
मुख्य थियो । त्यही तथ्य पहिचान गर्न ती दुवै चुकेका थिए । अझै भनौं थाहा पाएरै
पनि वैयक्ति स्वार्थमा फसेकाले छोडेका थिए । परिणामतः कोरोना नै विश्वव्यवस्था
परिवर्तनको कारक तत्त्व हुने सम्भावना बढेको छ । यससम्बन्धमा स्थापित विश्लेषकहरूले
लेख्न थालेका छन् ।
यी सारा
कुरा गरिसकेपछि अबको विकल्प के भन्ने पहिलो प्रश्न नै हो । यससम्बन्धमा माथि
उल्लेखित तीन बुँदामध्ये आजसम्म दुइटा बुँदालाई मात्रै लिएर विश्वव्यवस्था स्थापित
भएका छन् । यी दुर्इपछि बाँकी रहेको भातृत्त्वभाव वा स्वत्त्व वा पहिचानको कुरा
सबैभन्दा महत्त्वपूर्ण रहेको छ । अबको विकल्प पनि यही नै हो । मान्छेलाई अरूजस्तो
बनाउन जत्ति गाह्रो थियो; अब आफू को हो भनेर चिनाउन पनि उत्तिकै गाह्रो भएको छ
। आजसम्म मान्छेलाई उसको वास्तविक परिचयबाट दूर लगेर दुनियाँ चिनाउने प्रयास गर्दै
आए । अन्ततः दुनियाँका हरेकलाई आफू को हुँ भनेर भन्दा पनि ठूलो मान्छे बन भनेर
सिकाए । विकास र अविकासको रेखा कोरेर अनेक गलत पाठ घोकाए । मान्छेलाई मान्छेभन्दा
पनि बुख्याँचा वा रोबोट जस्तो जीवन बाँच्न अभ्यस्त पार्दै आए ।
मान्छे त
मान्छे नै थियो । केही गरेपनि रोबोट थिएन । सबैभन्दा पहिले म को हुँ भन्ने
प्रश्नको सही उत्तर पत्तालगाउनसक्ने क्षमता वा ज्ञान दिनुपर्थ्यो । पहिचान बिना
मान्छेको जीवन पिँजडामा थुनिएको सुगा वा मैना जस्तै मात्रै हुँदै आयो । यसैले त अब
पहिचान चाहिएको हो । पहिचानकै विषयलाई पनि समाविष्ट गराउने क्रममा त्यतिखेर
फ्रेटानिटी (पहिचान, भातृत्त्व, स्वत्त्व) लेखेका
थिए । त्यही पहिचानलाई अवलम्बन गरेका भए समानता स्वतः प्राप्त हुने नै थियो ।
उदारवादले व्याख्या र व्यवहारमा लागू गरेको स्वतन्त्रता वास्तवमा स्वतन्त्रता नै
थिएन । स्वतन्त्रता भनेको त व्यक्ति र समाजबीच गाँसिएर आउने विषय हो । त्यसैले
समाजदेखि अलग्याएर व्यक्तिलाई एक्लेबीर बनाउने परिभाषा परिवर्तन बिना समाजले
सहीमार्ग पहिल्याउन सक्ने छैन ।
पहिचान
चाहिँ प्रकृतिमैत्री विषय हो । यसले माथि नै उल्लेख गरिएजसरी जीव तथा निर्जीव
सबैलाई समान हैसियतका मान्दछ । यहाँ हरेकका पहिचान र स्वत्त्वको सुनिश्चितता
गरिन्छन् । कसैलाई शासक र शासितको रूपमा स्थापित गर्नु गराउनुलाई अपराध ठानिन्छ ।
यहाँ साम, दाम र
दण्डभेदको गुञ्जायस रहँदैन । हरेक प्राणीहरू आफ्नै दाजुभाइ मानिन्छन् । निर्जीवको
अधिकार सुनिश्चितताको व्यवस्था मिलाएका हुन्छन् । यसैले मानव मानवका बीच वैनस्यता
कल्पना बाहिरको हुनेछ । स्वतन्त्रता, समानता र
भातृत्त्व/स्वत्त्व सहितको पहिचान नै अबको विकल्प हो ।
पहिचानवादको
बारेमा धेरै त अध्ययन, अनुसन्धान हुन बाँकी जस्तो देखिएको छ । यद्यपि,
प्राकृतिक जीवन शैलीको चश्मा लगाउनसाथ स्पष्ट नहुने कुरै छैन ।
यतिखेर लेख्नुपर्दा मेरो बुझाईमा, पहिचानवादले देशीय सिमानाहरूलाई
स्वीकार्दै प्रवेश गर्नु पर्नेछ । अन्ततः यसले पनि देशका सिमाना मेट्नेछ तर
उदारवाद वा मार्क्सवाद/साम्यवादले अवलम्बन गरेका भन्दा फरक तरीका अवलम्बन गर्नेछ ।
यसले भएजति सबैलाई पहिचान दिनेछ । सबै स्वतन्त्र रूपमा आफ्नै रङमा फुल्ने र फल्ने
छन् । अन्त्यमा मानव मन, मष्तिष्क र व्यवहार फूल समान
हुनेछन् । कसैले कसैका विरुद्ध कुनै अपराध गरिरहनुपर्ने कुनै कारण रहने छैन ।
परिणामतः देश वा राज्यका नक्कली सिमानाहरू स्वतः भत्किएर जानेछन् । अहिले जस्तो
देश वा नश्लहरूका बीच शत्रुता हैन मित्रताको वातावरण तयार हुनेछ । प्राकृतिक वा
प्रकृतिमैत्री जीवन शैलीका कारण पुँजीवाद स्वतः घाटमा पुगेर विसर्जित हुने हुनेछ ।
परिणामतः वर्गीयता पनि समाप्त भएर जानेछ ।
९. निष्कर्ष
जीवन
शैली मुख्यतः दुर्इ प्रकारका हुँदारहेछन् । पहिलो प्राकृतिक र अर्को आर्टिफिसियल
अर्थात् अप्राकृतिक ! अहिले संसारमा अर्गानिक उत्पादनको पक्षमा बहस झनै बढेको छ ।
जीन प्युरिटी अर्थात् आणुवांशिक शुद्धताबिनाको एन्टीबडी वा इम्युनिटी पावरलाई
कोरोनाले ध्वस्त बनाएको छ । युरोपियन तथा अमेरिकन समाजलाई हेरेपछि घाम जत्तिकै
छर्लङ्ग भएको छ । नेपालीकै हेर्ने हो भने, आणुवांशिकता तथा प्राकृतिक जीवनशैलीले नै
कोरोनासँग यत्तिखेरसम्म दरो प्रतिकार गर्न सफल भइरहेको छ ।
उदारवादले
समाजलाई पुँजीवादमा लगेर डुबायो अनि सँगै आणुवांशिक शुद्धताको धरोहरलाई तहसनहस
पारिदियो । पुँजीवादले संसारभरि जालो बनाएको थियो । त्यही जालो हुँदै चीनसँग
संसारको सम्बन्ध बनेको हो । त्यही जालो हुँदै चीनबाट प्लेन उडेर अमेरिकामा पनि
पुग्यो । यात्रुसँगै कोरोना पनि पुग्यो । खासमा पुँजीवादले संसारलाई एउटा सानो गाउँ
बनाएको थियो । आपसमा परनिर्भरता व्यापक रूपमा बढाएको थियो । त्यसको परिणाम आज
सम्पूर्ण मानव जगत्ले भोग्नु परिरहेको छ । अमेरिकामा पहिले रैथाने राष्ट्रहरू थिए
। तिनका निर्मम् तथा नृसंस हत्या गर्दै गोराछालाधारी उत्रिएका थिए । तिनीहरू आज
आफ्नोजस्तै छाला बाहेकका मानिसदेखि डराएको स्वाँग पार्दैछन् । आजै बिहान मात्रै
अप्रिय समाचार आयो, अमेरिकामा चीनियामूलको प्राध्यापकलाई गोली हानी हत्या
गरेछन् ।
यसप्रकार
अमेरिकाको रैथाने राष्ट्रका संहारक गोराछालाधारी (डोनाल्ड ट्रम्प)हरू थिए । अब
चीनियाँबाट शुरू गरेर संसारका अन्य नश्लहरूलाई समाप्त पार्ने खेलतिर प्रवेश गर्दैछ
। यतिखेर अमेरिकाले देखाइरहेका चर्तिकला तथा स्याल हुइयाँले स्पष्ट पारेको छ ।
यस्ता हर्कतहरूले उदारवाद र तिनका मानवताकेन्द्रवादको मखुण्डो उतारेको छ । चराचर
जगत्का प्राकृतिक पक्षको समाप्तिका लागि तिनले मानवकेन्द्रवादलाई स्थापित गरेका
थिए । अब तिनीहरु गोराछालालाई मात्रै मानव देख्न थाल्दैछन् । अन्यलाई समाप्त पारेर
गोराछालाधारी ख्रिश्चियनले पृथ्वी लगायत चराचर जगत्को एकलौटी रूपमा उपभोग
गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्दै गरेको देखिन्छ । यस्तो अवस्थामा स्वयम् तिनै गोराछालादेखि
सम्पूर्ण मानव महावंशलाई प्रकृतिप्रदत्त जीवन शैलीमा ढाल्दै मानवलाई मानव बनाउनको
लागि पनि नयाँ र वैकल्पिक व्यवस्थाको आवश्यकता खटि्कएको छ । अब साम्यवादी बाटोबाट
पनि संसारले मुक्तिमार्ग समाउन नसक्ने छर्लङ्ग भइसकेको छ । त्यसैले समाप्तिको
सङ्घारबाट चराचर जगत्सहितको मानव सभ्यतालाई फिर्ता ल्याउनको लागि पहिचानवाद
विकल्पविहनी भएको छ ।
२५ बैशाख '७७
चाबहिल
No comments:
Post a Comment