Tuesday, May 12, 2020

त्यसो भयो भने कसो होला ?



''धेरै बोलुँ भने सुन्नेका कान बहिरो होला !
थोरै बोलुँ भने कुरा स्पष्ट नबुझने होला !!''

यो तामाङ समाजमा पाइएको भनाई हो । हुन पनि अभिव्यक्तिहरू लम्बेतान वा साह्रै सटिक हुँदा समस्या आउने रहेछ । धेरै साथीहरूले खोजराज गोले (गोले केआर चालिसेली)ले साह्रै लामो लेख्छ । पूरा पढ्नै सकिँदैन । बल्लतल्ल पढेपनि बुझिँदैन । निष्कर्ष दिँदै दिँदैन । आफैँ ठूलो हुँ भन्छ । नहुने ङ्यारङ्यार गर्छ(लेख्छ) । दाताको पैसा पचाउन लेख्छ । कोही भन्छन्, यस्तो राम्रो लेख्छ नि ! मेरै कथालाई कविता र गजल भनेर लेख्छ । कहाँबाट थाहा पाउँछ त्यसले ? समस्या मात्रै देखाउँछ हौ । साह्रै नकारात्मक छ । तर खोजराज गोले (गोले केआर चालिसेली) सकीनसकि लेखिरहेछ । बेमतलब लेखिरहनेछ । छोटो भन्दै लामो लेख्छ । त्यसैले एकाधले मात्रै पढ्छन् ।

हुन त सम्यक (उचित/सही) लेख्ने प्रयास गर्छु तर सक्तिनँ । भन्छन्, नसक्नेले धेरै देख्छ । शायद त्यस्तै पनि होला कि ? छोटो मात्रै लेख्न थालेपछिको कुइनेटोबाट अघि बढेपछि खोजराज गोले (गोले केआर चालिसेली) बाँकी रहने छैन । त्यसैले लामो लेख्छ तर  आज भने यसअघिको तुलानामा निकै थोरै लेख्नेक्रममा छु । फेरिपनि, पढ्न मन लागेको छ भने मात्रै पढ्नु होला । मन नलागी नलागी नपढ्नु होला । कहाँ कुन शब्दलाई लिएर गाली गरूँ भन्नेले पनि नपढ्नु भए मेरो एउटा मन चाहिँ खुशी हुनेछ । पढ्नु भएछ भने पढ्नेले गालीको अवसर पुनः प्राप्त गर्नु हुनेछ । आधा पढेर वा अड्कलको भरमा वा पढ्दै नपढी लाइक वा कमेण्ट नगर्नु हुँदा सबैलाई फाइदा नै होला कि ? छेउ टुप्पो बुझ्न नसक्ने वा बुझ्नपर्ने आवश्यकता नदेख्नेले अन्यसँग जोडेर हिलो छेप्नु भयो भने मन नलगाई नलगाई पखाल्नुपर्ने हुनसक्छ ।

यी त थालनी अर्थात् कुराको मेलोमा प्रवेश भयो । के बारेमा लेख्दैछ भन्ने बारेमा शीर्षकबाट केही भेउ पाउनु भयो कि ? गाह्रै छ, खोजराज गोले (गोले केआर चालिसेली)ले जुराएको शीर्षक र लेखको सम्बन्ध कुन आयामबाट जोडिएका वा फरक रहेछन् भन्ने छुट्याउनै गाह्रो पो छ हो । जेहोस्, केही दिनदेखि आएका मुख्य दुर्इ विषयमा बसेर कन्दैछु । एउटा समाचार आएको थियो- फ्रान्स भन्ने गरेका देशको पेरिसमा एउटा समस्या देखियो । समाचार अनुसार त्यहाँको 'सेन'बाट सिँचाईका लागि ल्याएका पानीमा पनि कोरोना भाइरस भेटियो रे । यहाँ 'सेन' नाम देख्ने बित्तिकै तामाङलाई भन्ने गरेका 'सेँ'बाट बनेको 'सेन' वा भारततिर कता हुँदो पाइने समुदाय रहेछ भनेर नबुझ्नु होला । यहाँ उदृत 'सेन' चाहिँ फ्रान्स देशमा रहेको नदीको नाम हो ।

बतासे भञ्ज्याङमा हिउँदे हावाको झापड खप्न नसकेर हल्लिरहेका रूखका पात देख्नु भएको छ नि । हो; यो समाचार पढेपछि- त्यस्तै पो भएछ; मेरै मन पनि ! हाम्रो नेपालमा त्यसभित्र पनि तीन शहरमा अनि म आफैँ बस्दै आएको चाबहिल क्षेत्रमा वितरण गर्दै आएका खानेपानी पो झ्याप्पै आँखा अगाडि ध्वार्र धारा झर्न आएछ । झल्याँस्स भएपछि ''कोलाकोला'' भनेँ र यसरी लेख्न खोज्दैछु । यस क्षेत्रका कतिका धारामा खानेपानी आउँछ भन्ने प्रायःले अड्कल लगाउन सक्ने कुरा हो । यहाँ खानेपानी कि पिउने पानी भन्ने विवाद भनुँ या बहस, चल्न छोडेको छैन । यहाँ पिउनेभन्दा पनि खानेपानी नै आउँछ । हिलो लेदोसहितका आउने हुनाले पिउन गाह्रो हुन्छ । त्यसैले खानेपानी भन्दा आपत्ति जनाइरहनु पर्दैन ।

लेदोपानी आयो भन्दैमा नपिएर कसरी खाने ? आजकलका बच्चाबच्चीका लहैलहैमा लागेर बुढाबुढीहरूले त भात पिउने र चिया चपाउने भन्न थालिसकेका छन् । अनि पिउने होइन खानेपानी भनेर लेख्दैमा कहाँ उत्तर गलत हुन्छ त नि ? हो; यहाँ खानेपानी आउँछ । यसका कारण पढ्नु हुन्छ ? पहिलो बूँदा त- खानेपानी संस्थानले पठाएका हुनाले पिउनेभन्दा खानेपानी भन्नु उचित हुन्छ । यो क्षेत्रमा आएका प्रायः पानी पिउनयोग्य हुँदैन । तैपनि उपाय नचलेपछि खाने र पिउने दुवै गर्नु हाम्रो बाध्यता हो । यो पानी खाई वा पिइसकेपछि पचाउन हम्मे पर्छ । पानीकै कारण कतिपटक बिमार परिन्छ । कहिले त अस्पतालसम्मै जाइन्छ । कतिले पानीकै कारण दम तोडिसके ? लेखाजोखा नहुँदैमा कहाँ त्यस्तो हुन्छ ? त्यसैले मान्छेले पानी पिउने होइन हो; बरू पानीले चाहिँ मान्छेलाई नै खाने रहेछ । त्यसैले पनि यो खानेपानी नै हो ।

यसपछि पुनः फ्रान्स नामक देशको उल्लेखित समाचारलाई एकपटक पढेर हेर्नुस् त । यता हाम्रो शहरमा भने कहिले के बहानामा त कहिले के बहानामा रोड खनेका खन्यै छन् । खानेपानीको पाइप लाइन छिनाएका छिनायै छन् । पानीट्याङ्कीबाट पठाएका पानी मास्तिरै कसैले टुटाइसकेका हुन्छन् । त्यसभन्दा तल कसैले ढल फुटाइरहेका हुन्छन् । फुटाएका ढलले खानेपानीका लागि बिछ्याएका पाइप लाइनमा ओभरल्याप गर्छ । अनि धारामा ध्वार्र गर्दै घरै थर्काउने गरी झर्छ । ''पानी आयो'' भन्दै गाग्री बोकेर कुद्यो । खानेपानी त लेदोपानी देखिन्छ । त्यसमाथि गन्हाएर जात्रा पार्छ । अनि, अशुभ लेखेको नभन्नु होला- केही गरी पेरिसमा जस्तै हाम्रा खानेपानीमा नै कोरोनाको सङ्क्रमण भइदियो भने ? सचेतता अपनाउलान् भनेर ढुक्क हुने सक्ने अवस्था त छैन ।

यस्तो बेला बिमार परियो भने अस्पतालले भर्ना लिँदैन । स्वास्थ्य मन्त्रीज्यूलाई सोधौं भने उहाँको घरमा टन्न पाउन आइपुगेका पनि हुन सक्छन् नि । बेला मौका यही हो । चुनाबमा गरेको खर्च त उपर गर्नै पर्‍यो । त्यतिले मात्रै भएन, मन्त्रीको हैसियत बचाउनु पर्‍यो । कति पुस्तालाई पुग्नेगरी जमाउनु पनि पर्‍यो । कार्यकर्ता पाल्नै पर्‍यो । अर्को चुनाबको लागि पनि खर्च जोहो गर्ने मौका यतिखेरै जुरेको छ । सरकारलाई सोधुँ भने पर्दानमन्त्रीज्यू बिमार देखेनौ भन्नु होला भन्ने डर छ । कोरोनाको यस्तो बेला सरकारको आत्मबल घटाउने किसिमको प्रश्न गरेको भन्नु होला ? उता भारतले तनाब दिइरहेको बेला यस्तो वाइयात प्रश्न गर्ने अराष्ट्रिय तत्त्वको आरोप लगाउनु होला । त्यही भएर यस्तरी बेताप भएर लेखेको छु ।

यत्ति मात्रै नसम्झनु होला । अर्को त झनै चर्को समाचार छ । यसलाई अश्लिल रूपमा नलिनु/नबुझ्नु होला । चीनमा कोरोना सङ्क्रमित ३८ जना पुरुषका वीर्य परीक्षण गरेका रे । तिनीहरूमध्ये ६ जना अर्थात् १६ प्रतिशतकामा पनि कोरोना भेटिएका रे । यो समाचार देशी विदेशी नाम नसुनिएकादेखि प्रख्याति कमाएका पत्रिकाहरूले समेत छापेका छन् । हैन, लेख्न खोजेको के भन्नु हुन्छ भने- ''साँच्चै त्यसो भयो भने कसो होला ?'' भन्ने प्रश्नको उत्तर के भन्न खोजेको हुँ । शारीरिक(यौन)सम्पर्कबाट कोरोना सर्नु नसर्नु एउटा विषय हो तर कोरोना भाइरसद्वारा सङ्क्रमित वीर्यबाट जायजन्म हुन गएछन् भने नयाँ जन्मिने बच्चामा के असर वा बेसर होला ? हुन त, जिका र इबोलाका भाइरस पनि मानववीर्यमा भेटिएका थिए रे । चीनियाँ अनुसन्धाताहरूका अनुसार विभिन्न २५ भाइरसहरू मानववीर्यमा पाइएका छन् ।

एक पटक एउटा सामग्री हेरेको थिएँ । कुनै एक देश रहेछ । त्यहाँ खतरनाक विषालु झिङ्गा आउँदारहेछन् । तिनका विषले गोरु समेत मारिँदारहेछन् । त्यस्ता झिङ्गा उन्मूलनका लागि वैज्ञानिकहरू खटिएछन् । झिङ्गाका विउ प्रशोधनमा लागेछन् । प्रशोधित बिउबाट जन्माएका भालेझिङ्गमा नपुङ्सकता थपिदिएछन् । त्यसरी उत्पादित भालेझिङ्गाहरू प्राकृतिक भालेझिङ्गाभन्दा तगडा देखिएछन् । ती तगडा भालेले प्राकृतिक रूपमा प्राप्त माउ वा पोथीझिङ्गाहरूमाथि पूरै कब्जा जमाएछन् । परिणामतः प्राकृतिक भालेझिङ्गाहरू कमजोर सावित भएपछि माउझिङ्गाहरू नपुङ्सक अप्राकृतिक भालेझिङ्गासँगै रमाएछन् । केही वर्षभित्र पूरै झिङ्गा हराएछन् । त्यसरी पनि प्राकृतिक पक्षलाई कृत्रिम पक्षले विजय हासिल गरेको भन्ने सुनेको थिएँ ।

पुनः विषयमा जोडिनु पर्दा, हाम्रो देशलाई कृषि प्रधान भन्छौं । कृषिमा पनि बिउको छनौट मुख्य हुने गर्दछ । राम्रा वा नराम्रा बिउले फसलमा असर भएको देख्दै आएका छौं । त्यसैले बिउको उपचार गरी लगाउने प्रविधि पनि प्रयोगमा देखिन्छन् । मानिसका पनि बिउ नै कोरोनाद्वारा सङ्क्रमित भएपछि नयाँ सन्तान कस्ता जन्मेलान् । तिनका शरीर वा रोगप्रतिरोधात्मक क्षमतामा कस्तो असर पर्ला ? अहिलेसम्म पुरुषकामा कोरोना भाइरस भेटिएको मात्रै भनेका छन् । त्यसो हो भने महिलामा पनि यस्तो समस्या हुन सक्ला या के होला ? त्यतातिर पनि अनुसन्धान गर्नुपर्ने होला नि ?

यदि महिलामा पनि यस्तै समस्या देखियो भने ? मानौ बाउ या आमामध्ये बाउ मात्रै कोरोना सङ्क्रमित रहेछ र आमा सकुशल रहिछन् भने ? हैन आमा मात्रै सङ्क्रमित रहिछ भने ? ओहो, दुवै जना सङ्क्रमित रहेछन् भने ? सङ्क्रमित बीउबाट पनि फसलमा असर परेन भने त केही भएन । कि जेहोला होला ? केही गरी असर देखिन थालिए भने ? गम्भीर समस्याहरू देखिए भने ? जाँदा-जाँदै त्यसो नहोस् भन्ने कामनाका साथ यत्ति लेख्छु- ''त्यसो भयो भने कसो होला ?''

गोले केआर चालिसेली
३० बैशाख '७७
(विश्व नर्स दिवस)
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...