Tuesday, May 12, 2020

त्यसो भयो भने कसो होला ?



''धेरै बोलुँ भने सुन्नेका कान बहिरो होला !
थोरै बोलुँ भने कुरा स्पष्ट नबुझने होला !!''

यो तामाङ समाजमा पाइएको भनाई हो । हुन पनि अभिव्यक्तिहरू लम्बेतान वा साह्रै सटिक हुँदा समस्या आउने रहेछ । धेरै साथीहरूले खोजराज गोले (गोले केआर चालिसेली)ले साह्रै लामो लेख्छ । पूरा पढ्नै सकिँदैन । बल्लतल्ल पढेपनि बुझिँदैन । निष्कर्ष दिँदै दिँदैन । आफैँ ठूलो हुँ भन्छ । नहुने ङ्यारङ्यार गर्छ(लेख्छ) । दाताको पैसा पचाउन लेख्छ । कोही भन्छन्, यस्तो राम्रो लेख्छ नि ! मेरै कथालाई कविता र गजल भनेर लेख्छ । कहाँबाट थाहा पाउँछ त्यसले ? समस्या मात्रै देखाउँछ हौ । साह्रै नकारात्मक छ । तर खोजराज गोले (गोले केआर चालिसेली) सकीनसकि लेखिरहेछ । बेमतलब लेखिरहनेछ । छोटो भन्दै लामो लेख्छ । त्यसैले एकाधले मात्रै पढ्छन् ।

हुन त सम्यक (उचित/सही) लेख्ने प्रयास गर्छु तर सक्तिनँ । भन्छन्, नसक्नेले धेरै देख्छ । शायद त्यस्तै पनि होला कि ? छोटो मात्रै लेख्न थालेपछिको कुइनेटोबाट अघि बढेपछि खोजराज गोले (गोले केआर चालिसेली) बाँकी रहने छैन । त्यसैले लामो लेख्छ तर  आज भने यसअघिको तुलानामा निकै थोरै लेख्नेक्रममा छु । फेरिपनि, पढ्न मन लागेको छ भने मात्रै पढ्नु होला । मन नलागी नलागी नपढ्नु होला । कहाँ कुन शब्दलाई लिएर गाली गरूँ भन्नेले पनि नपढ्नु भए मेरो एउटा मन चाहिँ खुशी हुनेछ । पढ्नु भएछ भने पढ्नेले गालीको अवसर पुनः प्राप्त गर्नु हुनेछ । आधा पढेर वा अड्कलको भरमा वा पढ्दै नपढी लाइक वा कमेण्ट नगर्नु हुँदा सबैलाई फाइदा नै होला कि ? छेउ टुप्पो बुझ्न नसक्ने वा बुझ्नपर्ने आवश्यकता नदेख्नेले अन्यसँग जोडेर हिलो छेप्नु भयो भने मन नलगाई नलगाई पखाल्नुपर्ने हुनसक्छ ।

यी त थालनी अर्थात् कुराको मेलोमा प्रवेश भयो । के बारेमा लेख्दैछ भन्ने बारेमा शीर्षकबाट केही भेउ पाउनु भयो कि ? गाह्रै छ, खोजराज गोले (गोले केआर चालिसेली)ले जुराएको शीर्षक र लेखको सम्बन्ध कुन आयामबाट जोडिएका वा फरक रहेछन् भन्ने छुट्याउनै गाह्रो पो छ हो । जेहोस्, केही दिनदेखि आएका मुख्य दुर्इ विषयमा बसेर कन्दैछु । एउटा समाचार आएको थियो- फ्रान्स भन्ने गरेका देशको पेरिसमा एउटा समस्या देखियो । समाचार अनुसार त्यहाँको 'सेन'बाट सिँचाईका लागि ल्याएका पानीमा पनि कोरोना भाइरस भेटियो रे । यहाँ 'सेन' नाम देख्ने बित्तिकै तामाङलाई भन्ने गरेका 'सेँ'बाट बनेको 'सेन' वा भारततिर कता हुँदो पाइने समुदाय रहेछ भनेर नबुझ्नु होला । यहाँ उदृत 'सेन' चाहिँ फ्रान्स देशमा रहेको नदीको नाम हो ।

बतासे भञ्ज्याङमा हिउँदे हावाको झापड खप्न नसकेर हल्लिरहेका रूखका पात देख्नु भएको छ नि । हो; यो समाचार पढेपछि- त्यस्तै पो भएछ; मेरै मन पनि ! हाम्रो नेपालमा त्यसभित्र पनि तीन शहरमा अनि म आफैँ बस्दै आएको चाबहिल क्षेत्रमा वितरण गर्दै आएका खानेपानी पो झ्याप्पै आँखा अगाडि ध्वार्र धारा झर्न आएछ । झल्याँस्स भएपछि ''कोलाकोला'' भनेँ र यसरी लेख्न खोज्दैछु । यस क्षेत्रका कतिका धारामा खानेपानी आउँछ भन्ने प्रायःले अड्कल लगाउन सक्ने कुरा हो । यहाँ खानेपानी कि पिउने पानी भन्ने विवाद भनुँ या बहस, चल्न छोडेको छैन । यहाँ पिउनेभन्दा पनि खानेपानी नै आउँछ । हिलो लेदोसहितका आउने हुनाले पिउन गाह्रो हुन्छ । त्यसैले खानेपानी भन्दा आपत्ति जनाइरहनु पर्दैन ।

लेदोपानी आयो भन्दैमा नपिएर कसरी खाने ? आजकलका बच्चाबच्चीका लहैलहैमा लागेर बुढाबुढीहरूले त भात पिउने र चिया चपाउने भन्न थालिसकेका छन् । अनि पिउने होइन खानेपानी भनेर लेख्दैमा कहाँ उत्तर गलत हुन्छ त नि ? हो; यहाँ खानेपानी आउँछ । यसका कारण पढ्नु हुन्छ ? पहिलो बूँदा त- खानेपानी संस्थानले पठाएका हुनाले पिउनेभन्दा खानेपानी भन्नु उचित हुन्छ । यो क्षेत्रमा आएका प्रायः पानी पिउनयोग्य हुँदैन । तैपनि उपाय नचलेपछि खाने र पिउने दुवै गर्नु हाम्रो बाध्यता हो । यो पानी खाई वा पिइसकेपछि पचाउन हम्मे पर्छ । पानीकै कारण कतिपटक बिमार परिन्छ । कहिले त अस्पतालसम्मै जाइन्छ । कतिले पानीकै कारण दम तोडिसके ? लेखाजोखा नहुँदैमा कहाँ त्यस्तो हुन्छ ? त्यसैले मान्छेले पानी पिउने होइन हो; बरू पानीले चाहिँ मान्छेलाई नै खाने रहेछ । त्यसैले पनि यो खानेपानी नै हो ।

यसपछि पुनः फ्रान्स नामक देशको उल्लेखित समाचारलाई एकपटक पढेर हेर्नुस् त । यता हाम्रो शहरमा भने कहिले के बहानामा त कहिले के बहानामा रोड खनेका खन्यै छन् । खानेपानीको पाइप लाइन छिनाएका छिनायै छन् । पानीट्याङ्कीबाट पठाएका पानी मास्तिरै कसैले टुटाइसकेका हुन्छन् । त्यसभन्दा तल कसैले ढल फुटाइरहेका हुन्छन् । फुटाएका ढलले खानेपानीका लागि बिछ्याएका पाइप लाइनमा ओभरल्याप गर्छ । अनि धारामा ध्वार्र गर्दै घरै थर्काउने गरी झर्छ । ''पानी आयो'' भन्दै गाग्री बोकेर कुद्यो । खानेपानी त लेदोपानी देखिन्छ । त्यसमाथि गन्हाएर जात्रा पार्छ । अनि, अशुभ लेखेको नभन्नु होला- केही गरी पेरिसमा जस्तै हाम्रा खानेपानीमा नै कोरोनाको सङ्क्रमण भइदियो भने ? सचेतता अपनाउलान् भनेर ढुक्क हुने सक्ने अवस्था त छैन ।

यस्तो बेला बिमार परियो भने अस्पतालले भर्ना लिँदैन । स्वास्थ्य मन्त्रीज्यूलाई सोधौं भने उहाँको घरमा टन्न पाउन आइपुगेका पनि हुन सक्छन् नि । बेला मौका यही हो । चुनाबमा गरेको खर्च त उपर गर्नै पर्‍यो । त्यतिले मात्रै भएन, मन्त्रीको हैसियत बचाउनु पर्‍यो । कति पुस्तालाई पुग्नेगरी जमाउनु पनि पर्‍यो । कार्यकर्ता पाल्नै पर्‍यो । अर्को चुनाबको लागि पनि खर्च जोहो गर्ने मौका यतिखेरै जुरेको छ । सरकारलाई सोधुँ भने पर्दानमन्त्रीज्यू बिमार देखेनौ भन्नु होला भन्ने डर छ । कोरोनाको यस्तो बेला सरकारको आत्मबल घटाउने किसिमको प्रश्न गरेको भन्नु होला ? उता भारतले तनाब दिइरहेको बेला यस्तो वाइयात प्रश्न गर्ने अराष्ट्रिय तत्त्वको आरोप लगाउनु होला । त्यही भएर यस्तरी बेताप भएर लेखेको छु ।

यत्ति मात्रै नसम्झनु होला । अर्को त झनै चर्को समाचार छ । यसलाई अश्लिल रूपमा नलिनु/नबुझ्नु होला । चीनमा कोरोना सङ्क्रमित ३८ जना पुरुषका वीर्य परीक्षण गरेका रे । तिनीहरूमध्ये ६ जना अर्थात् १६ प्रतिशतकामा पनि कोरोना भेटिएका रे । यो समाचार देशी विदेशी नाम नसुनिएकादेखि प्रख्याति कमाएका पत्रिकाहरूले समेत छापेका छन् । हैन, लेख्न खोजेको के भन्नु हुन्छ भने- ''साँच्चै त्यसो भयो भने कसो होला ?'' भन्ने प्रश्नको उत्तर के भन्न खोजेको हुँ । शारीरिक(यौन)सम्पर्कबाट कोरोना सर्नु नसर्नु एउटा विषय हो तर कोरोना भाइरसद्वारा सङ्क्रमित वीर्यबाट जायजन्म हुन गएछन् भने नयाँ जन्मिने बच्चामा के असर वा बेसर होला ? हुन त, जिका र इबोलाका भाइरस पनि मानववीर्यमा भेटिएका थिए रे । चीनियाँ अनुसन्धाताहरूका अनुसार विभिन्न २५ भाइरसहरू मानववीर्यमा पाइएका छन् ।

एक पटक एउटा सामग्री हेरेको थिएँ । कुनै एक देश रहेछ । त्यहाँ खतरनाक विषालु झिङ्गा आउँदारहेछन् । तिनका विषले गोरु समेत मारिँदारहेछन् । त्यस्ता झिङ्गा उन्मूलनका लागि वैज्ञानिकहरू खटिएछन् । झिङ्गाका विउ प्रशोधनमा लागेछन् । प्रशोधित बिउबाट जन्माएका भालेझिङ्गमा नपुङ्सकता थपिदिएछन् । त्यसरी उत्पादित भालेझिङ्गाहरू प्राकृतिक भालेझिङ्गाभन्दा तगडा देखिएछन् । ती तगडा भालेले प्राकृतिक रूपमा प्राप्त माउ वा पोथीझिङ्गाहरूमाथि पूरै कब्जा जमाएछन् । परिणामतः प्राकृतिक भालेझिङ्गाहरू कमजोर सावित भएपछि माउझिङ्गाहरू नपुङ्सक अप्राकृतिक भालेझिङ्गासँगै रमाएछन् । केही वर्षभित्र पूरै झिङ्गा हराएछन् । त्यसरी पनि प्राकृतिक पक्षलाई कृत्रिम पक्षले विजय हासिल गरेको भन्ने सुनेको थिएँ ।

पुनः विषयमा जोडिनु पर्दा, हाम्रो देशलाई कृषि प्रधान भन्छौं । कृषिमा पनि बिउको छनौट मुख्य हुने गर्दछ । राम्रा वा नराम्रा बिउले फसलमा असर भएको देख्दै आएका छौं । त्यसैले बिउको उपचार गरी लगाउने प्रविधि पनि प्रयोगमा देखिन्छन् । मानिसका पनि बिउ नै कोरोनाद्वारा सङ्क्रमित भएपछि नयाँ सन्तान कस्ता जन्मेलान् । तिनका शरीर वा रोगप्रतिरोधात्मक क्षमतामा कस्तो असर पर्ला ? अहिलेसम्म पुरुषकामा कोरोना भाइरस भेटिएको मात्रै भनेका छन् । त्यसो हो भने महिलामा पनि यस्तो समस्या हुन सक्ला या के होला ? त्यतातिर पनि अनुसन्धान गर्नुपर्ने होला नि ?

यदि महिलामा पनि यस्तै समस्या देखियो भने ? मानौ बाउ या आमामध्ये बाउ मात्रै कोरोना सङ्क्रमित रहेछ र आमा सकुशल रहिछन् भने ? हैन आमा मात्रै सङ्क्रमित रहिछ भने ? ओहो, दुवै जना सङ्क्रमित रहेछन् भने ? सङ्क्रमित बीउबाट पनि फसलमा असर परेन भने त केही भएन । कि जेहोला होला ? केही गरी असर देखिन थालिए भने ? गम्भीर समस्याहरू देखिए भने ? जाँदा-जाँदै त्यसो नहोस् भन्ने कामनाका साथ यत्ति लेख्छु- ''त्यसो भयो भने कसो होला ?''

गोले केआर चालिसेली
३० बैशाख '७७
(विश्व नर्स दिवस)
चाबहिल

Thursday, May 7, 2020

धर्म, संस्कृति : व्यक्तित्त्व निर्माणदेखि राजनैतिक परिवर्तनसम्म



१.  धर्म के हो ?
कोही भन्छन्, धारण गरिएको तथ्य नै धर्म हो । आमतामाङ भन्छन्, कुनै बस्तुले दिने उपयोगिता वा काम चाहिँ धर्म हो । कति भन्छन्, बोन, हिन्दू, जैन, बौद्ध, ख्रिश्चियन तथा मुस्लिम आदि धर्म हुन् । कतिका विचारमा र्इश्वर/देउता/भगवानको पूजामा लाग्नु धर्म हो । कतिका नजरमा सेवा गर्नु धर्म हो ।
यसप्रकार अधर्म नगर्नु धर्म रहेछ । मानव समाज/सभ्यताभित्र सदस्यहरू हुँदारहेछन् । तिनीहरूले एक किसिमको सामाजिक, सांस्कृतिक तथा नैतिक मूल्य मान्यता निर्धारित गर्दा रहेछन् । तिनै मूल्य मान्यतालाई स्वीकार गर्दै व्यक्तिगत तथा सामुदायिक काम, कर्तव्य र अधिकारप्रति प्रतिबद्धता जनाउँदारहेछन् । सोही कार्यका लागि निर्मित विशेष मान्यता/सिद्धान्त/विश्वदृष्टिकोण नै धर्म रहेछ । 
२.  धर्मको उद्विकासक्रम कस्तो रह्यो ?
उदयपछि उद्विकासको क्रम चल्यो; जुन निम्नानुसार रह्यो ।
क) शामनिजम्
धर्मको पनि उद्विकासक्रम चलेको देखिन्छ । अहिलेसम्मको मानवशास्त्रीय अध्ययनका निष्कर्षअनुसार शुरूमा शामनिजम् (बोम्बो/झाँक्री/धामी) धर्मको उदय भयो । यसैलाई एनिमिजम् (प्रकृतिवादी) भनेका पाइन्छन् । शामनिजमबाट तामाङ बोन (लबोन/लप्तबा/केकेलबोन) बनेका देखिन्छन् । शामनिजमको बेला प्रकृतिका हरेक अस्तित्त्व वा दृश्यअदृश्य पक्षहरूलाई शक्तिको रूपमा मानेका थिए ।
ख)  हिन्दूधर्म
यहाँ सनातनी स्वरूपमा स्थापित शामनिजमबाट नै अचेल भन्ने गरिएको हिन्दूधर्मको उदय भयो । यसले अनगिन्ती (तेत्तीस लाखभन्दा बढी) देवदेवी वा र्इश्वर वा भगवानको अवधारणा विकास गर्‍यो । आमजनमास र पण्डित, राजा र योगी आदिको अवधारणा ल्यायो । वर्णव्यवस्थालाई लागू गर्‍यो । छुवाछुतको प्रचलनले जरो गाड्दै ल्यायो । ब्रह्मालाई सृष्टिकर्ता, विष्णुलाई पालनकर्ता र शिवलाई संहारकर्ताको रूपमा स्थापित गर्‍यो । हिन्दूभित्रैबाट जैनको उदय भयो । चार्वक जस्ता उच्छेदवादी पनि हिन्दूबाटै पैदा भयो । समाजमा व्यापक अन्यौलता छायो ।
ग)  बौध्दधर्म
तत्कालिक भारतीय समाजमा व्याप्त अन्यौलतालाई समाधान गर्ने गराउने क्रममा सिध्दार्थ गौतम आइपुगे । उनैले मध्यममार्गको रूपमा बौद्ध धर्मको प्रवर्तन गर्‍यो । यसले अनिश्वर, अनित्य र अनात्माको दर्शन अघि सार्‍यो । अब र्इश्वरलाई लौकिक मान्यो । आत्माभन्दा पनि चित्त हुन्छ भनेर व्याख्या थाल्यो । सबै सबै अनित्य अर्थात् क्षणिक हुन् भन्ने स्पष्ट पार्‍यो । अनुयायीहरूले बुद्धलाई मुक्त वा महानिर्वाणप्राप्त पुरूषको रूपमा विश्वास गर्दै आएका छन् । तिनीहरूका अनुसार बुद्ध मात्रै भगवान हो । अब र्इश्वर, देवता र भगवानलाई छुट्याएर हेर्ने क्रम चल्यो ।
घ)  ख्रिश्चियनधर्म
दृश्यादृश्य ऊर्जालाई शक्ति मानेको शामनिजम्ले प्रकृतिवादलाई सम्झाएको थियो । बहुलदेवतावादलाई हिन्दूजमले पढाएको थियो । निर्वाण तथा अनिश्वरको मान्यता बौद्धले बुझाएको थियो । यद्यपि समाजको दिल दिमागबाट र्इश्वरको भूत हटेन । यही तथ्यमा आधारित रहेर प्रभु (एक मात्रै र्इश्वर) र शैतानका बीचमा आममानिस रहेको पाठ घोकाउनको लागि येशु भन्नेले क्रिस्तानधर्म जन्मायो । यसले प्रकृतिवादका हरेक ऊर्जा अर्थात् स्रोत साधनहरू मानवका उपभोग्य भन्यो । बहुलदेवताको सट्टा एकदेवतावादमा समाजलाई ढाल्ने प्रयास गर्‍यो ।
ङ)  मुस्लिमधर्म
ख्रिश्चियन धर्मभित्र छ सय वर्ष पुग्दानपुग्दै विभाजन देखियो । सोहीक्रममा मुस्लिमधर्मको प्रादुर्भाव भयो । ख्रिश्चियन र मुस्लिमहरूका बीच थोरै मात्रै फरक रह्यो । एकापसमा शत्रुतापूर्ण वातावरणको सिर्जना गरे । अर्कोलाई सिध्याउनुलाई पापबाट मुक्त तथा प्रभु वा मोहम्मदको प्रिय हुनु भन्न थाले । जिहादको अवधारणासँग एकापसमा हदैसम्म हत्या हिंसा थाले । त्यसैलाई पौरख सम्झनाले मुख्य उद्देश्य कमजोर हुनु स्वाभाविक रह्यो ।
च)  नयाँ धार्मिक आन्दोलनहरू
उल्लेखित धर्महरूका सबल र कमजोरीका बाबजूद पनि समाजले गति लिइरहेकै थियो । जापानबाट नयाँ धार्मिक आन्दोलनहरू देखिन थाले । त्यसक्रममा व्यक्तिलाई अलौकिक शक्ति प्राप्त भएको भन्दै तिनकै अनुयायीद्वारा आन्दोलनकै रूपमा नयाँ अवधारणा अघि सार्न थाले । त्यस्ता समूहहरूलाई नै नयाँ धार्मिक आन्दोलनहरू भनेका हुन् । तिनकै प्रतिरूप नेपालमा माताहरू देखिएका हुन् । यिनीहरू कुनै एक शक्तिलाई मान्दछन् । जापानमा एक थरी यस्तो समूह बन्यो; जो बिजुली (विद्युत)लाई नै देउता भनेर पूजा गरेर बस्छन् ।
छ)  मैत्रीधर्म
कुनै पनि मान्यताको उदयपछि उद्विकास हुनु सामान्य मान्नुपर्दछ । उदारवाद र मार्क्सवाद/साम्यवादहरूका पनि नव देखिएका छन्; जस्तै नव-उदारवाद; नव-मार्क्सवाद आदि इत्यादि । त्यस्तैगरी हालसम्म प्रचलित सबै धर्मका नकारात्मक पक्षलाई समाप्त पार्ने र सबल पक्षलाई अवलम्बन गर्ने गरी मैत्रीधर्मको रूपमा नेपालकै धर्मसङ्घ (रामबहादुर बोम्जन)ले अगाडि बढाएका छन् । हुन त कतिपयलाई यो पनि नयाँ धार्मिक आन्दोलनको एक पालुवाजस्तो लाग्न सक्छ । वास्तवमा यसको प्राप्त दस्तावेज तथा यिनका शैलीलाई हेर्ने हो भने यो नयाँ धार्मिक आन्दोलन वा कुनै धर्मको नयाँ स्वरूप भन्दा पनि स्वतन्त्र नयाँ धर्मकै रूपमा स्थापित हुँदै गरेको देखिन्छ ।
उल्लेखित धर्महरू अहिले संसारमा प्रचलित देखिन्छन् । यिनीहरूका आफ्नै स्थान, मूल्य, मान्यता तथा अनुयायी छन् । एकापसमा धर्म परिवर्तन पनि गरिरहेका पाइन्छन् । यद्यपि, शामनिजमको समेत नियो तथा अप्लाइढ स्वरूपहरू देखिएका छन् । हिन्दूमा मिताक्षरा र दयाभाग लगायतका सम्प्रदायहरू छन् । वैष्णवी र कृष्णप्रणामी लगायतका प्रशस्त हाँगाबिँगाहरू समाजमा व्याप्त छन् । जैन र शिखहरू पनि समाजमा स्थापित छन् ।
बौद्धभित्र पनि थेरावादी, महायानी र बज्रयानीहरू छन् । यिनीहरूभित्र पनि अनेक प्रशाखाहरू छन् । ख्रिश्चिनिटीभित्र क्याथोलिक र प्रोटेस्टेण्ट लगायतका शाखाहरू छन् । तिनीहरू एकापसमा हत्याको हदसम्म पनि उत्रन्छन् । मुस्लिमभित्र पनि सिया र सुन्नी लगायत अनेक हाँगाहरू छन् । तिनीहरू पनि एकले अर्कोका विरुद्ध जेहाद छेड्न पछि पर्दैनन् । नेपालमा शटरहरूमा व्यावसायिक रूपमा अनेक झाँक्रीहरू आएका छन् । वनझाँक्री, नरुबोन लगायतका अनेक झाँक्रीहरू देखिन्छन् । माताहरू पनि गनेर नसक्नु देखिएका छन् ।
किरात, मष्टोपूजक साथै लबोनका मूल्य, मान्यता तथा विश्वदृष्टिकोण व्यापक रहेका छन् । जोसमनी सम्प्रदाय र नाथ परम्परा आफ्नै रफ्तारमा अघि बढेकै छन् । अनगिन्ती बाबाहरू छन् । नेपाल तथा भारत लगायतका पूर्वीय भनिएको क्षेत्रमा साङ्ख्य दर्शन, योग दर्शन, लोकायत दर्शन, वैशेषिक दर्शन, न्याय दर्शन, मीमांसा दर्शन, जैन दर्शन, बौद्ध दर्शन, वेदान्त दर्शन, वैष्णव दर्शन एवंरीतले शैव तथा शाक्त दर्शनहरू पाइएका छन् । 
३.   व्यक्तित्त्व विकासमा धर्मको भूमिका
हरेक मानिसको व्यक्तित्त्व हुने गर्दछ । यो जन्मपछि निर्माण हुने गर्दछ । यसलाई पालनपोषण, हुर्काइबढार्इ, सामाजिकीकरण, तथा समाजिक सांस्कृतिक परिवेश, धार्मिक मूल्य मान्यता, वंशाणुगत प्रभाव तथा प्राकृतिक परिवेशले प्रभावित गरेका हुन्छन् । यद्यपि नेचर एण्ड नर्चर डिबेट भनेर पनि पढाउने गरेका पाइन्छन् । यो बुँदामा पनि धर्मले कस्तो भूमिका खेल्छ भन्ने हो ।
वास्तवमा धर्मले पनि मानिसको व्यक्तित्त्व तथा प्रकृति विकासमा ठूलै भूमिका खेलेको हुन्छ । विज्ञानका विद्यार्थी र गुम्बा, गुरुकुल तथा मदरसामा पढ्का विद्यार्थीका व्यक्तित्त्व विकासका परिणाममा केही न केही फरक हुन्छन् । भन्छन्, अलेक्जेण्डरलाई अरस्तुले नपढाएको भए शायद विश्वविजेता बन्ने थिएन । धर्म भनेको एक किसिमको जिउने कला पनि हो । त्यसर्थ जीवन जिउने कला सिकाउनेक्रममा प्राप्त ज्ञानले व्यक्तिको व्यक्तित्त्व तथा प्रकृति निर्धारणमा विशेष भूमिका खेलेको हुन्छ ।
एउटा उदाहरण यहाँ प्रस्तुत् गर्न उचित देखिएको छ । एक समय स्वयम्भूबाट मिनिबस चढेर आइरहेको थिएँ । बालाजूमा आइपुगेका थियौं । अर्को छेउको सीटमा पचास हाराहारीकी एकजना आमा हुनुहुन्थ्यो । उहाँको काखमा नाती पनि थियो । नाती चाहिँले हातको सानो बल खसाल्न पुग्यो । मैले उठाएर दिएँ । आमाले भन्दै हुनुहुन्थ्यो; बाबु यसरी बल झार्नु हुँदैन । हेर अङ्कललाई दुःख भयो नि । आमाको तर्कले म झस्किएँ । मैले अलिकति पनि दुःखको अनुभूति त गरेको थिइनँ ।
बस हुइकिने क्रम जारी नै थियो । महाराजगञ्जमा आइपुगेर रोकियो । एकजना पचास हाराहारीकै अर्की आमा चढ्न आइपुग्नु भयो । मभन्दा अगाडिकै सीट पनि खाली नै थियो । शायद उहाँले अगाडिकै सीटमा अप्ठेरो लाग्यो ? मेरै छेउमा आएर भन्नुभयो, खै म बस्छु यहाँ ? उता जाऊ । सीट छोडीदिएँ । ती दुवै जना आमाहरूका बोलीमा आकाश र पातालको अन्तर पाएँ । घोत्लिन बाध्य भएँ । कठोरता र नरमपनको कारण खोज्न थालेँ । ती बोलीका उच्चारणमा नश्लीयता झकिन्थे । अनुहार सम्झेँ अनि स्पष्ट भयो । नश्लीयता र धार्मिक आस्थाका आधारमा बोली र व्यवहारमा पनि स्पष्ट फरक छुट्टिँदाहेछन् ।
४.  समाज निर्माणमा धर्मको भूमिका
समाज निर्माण र धर्मका सम्बन्ध पनि खुट्याउन गाह्रो पर्ने खालको देखिन्छ । सानो कमजोरी गरिएमा पनि समाज निर्माणमा धर्मले असर गर्छ वा धर्मलाई समाजले भन्ने द्विविधा उत्पन्न गराउँछ । संसारमा पहिले समाज बनेको हुन्छ । समाजले धार्मिक मूल्य मान्यता विकास वा प्राप्त गरेको हुन्छ । त्यसर्थ समाजअनुसारको धार्मिक मान्यता स्थापित हुने गर्दछ । यद्यपि यो पहिलो परिस्थितिको तर्क हो । जब समाजले धार्मिक अभ्यास गर्दै जान्छ; तब बिस्तारै धार्मिक मूल्य मान्यताले मानिसका प्रकृति वा व्यक्तित्त्वमा प्रभाव पार्न थाल्छ ।  अन्ततः धर्मले समाजलाई प्रभावित पार्दै अघि बढ्ने गर्दछ ।
शुरूका मानिसले समाज विकासको क्रममा उपचारकको आवश्यकता महशुश गरेका थिए । त्यसक्रममा शामनका विकास गरे । तिनै शामनका कारण समाज पनि प्रकृतिमैत्री हुँदै आए । प्रकृतिमैत्री समाजबाट पछिल्लो समयमा हिन्दू तथा बौद्धको विकास गर्न आइपुग्यो । यसप्रकार पूर्वीय (एसियन) धर्महरू सामुदायिक हुँदै आए । युरोप तथा अरब क्षेत्रका मानिसका स्वभाव पूर्वीयभन्दा फरक थियो । सोही अनुरूपका धर्म विकास गरे । तिनै धार्मिक अभ्यासका क्रममा जिहादका कुरा सिके । एकै क्षण फुर्सद वा खाली हात बसेमा प्रभु रिसाउनुहुन्छ भन्ने मान्यताका कारण तिनीहरूलाई बढी नै क्रियाशील बनाए ।
हिन्दू, जैन तथा बौद्ध धर्मावलम्बीका स्वभाव पनि तुलनात्मक रूपमा नरम र शान्त हुँदै आए । ख्रिश्चियन तथा मुस्लिम धर्मावलम्बीहरू बढी उग्र बने । हिन्दूमा सगोत्रीका हत्या अपराध हुन्थ्यो । ख्रिश्चियनमा पोपले त्यस्ता अपराधबाट मोक्ष दिन सक्थ्यो । मुस्लिममा अल्लाह बाहेकका अन्यलाई सिध्याउनु नै धर्म भन्ने मान्यता विकास हुन पुग्यो । आज आइपुग्दा हिन्दू र बौद्ध लगायतले सर्वधर्म र सर्वप्राणीको पक्षमा बोलेका पाउँछौं । ख्रिश्चियन तथा मुस्लिममा भने प्रभु वा अल्लाह मात्रै असली अनि अन्य सबै शैतान हुन् । यसलाई सतप्रतिशत मान्नु हुँदैन । तुलनात्मक रूपमा भन्न खोजिएको हो ।
५.  राजनैतिक दर्शनमा धर्मको भूमिका
राजनीति र धर्म एकापसमा कति अवस्था घाँटी जोड्छन् । कहिले झगडा पनि गर्छन् । वास्वतमा संसारमा धर्म नै दाजु थियो । त्यसैले शुरूमा यिनीहरू दुर्इमध्ये एकले अर्कोको सहारामा आफ्नो साम्राज्य स्थापित गराएका थिए । यद्यपि धर्म र राजनीतिका बीचमा शक्ति सङ्घर्ष व्यापक थियो । इतिहासकार ये. अगिबालोभा र ग. दोन्स्योयद्वारा लिखित ''मध्य युगको इतिहास'',(२०६९)लाई ललिजन रावलले अनुवाद गर्नु भएको छ । उक्त पुस्तकमा उल्लेख गरिएअनुसार तत्कालिक समयमा क्लोविस राजा भए । उनले आफ्नो सत्ता बलियो पार्नका लागि सन् ५०० का छेउछाउमा ''राजाको विरुद्ध गरिने जुनसुकै कार्य द्रोह ठानिन्थ्यो र त्यसको दण्ड मृत्यु थियो (पृ.२०)''
आफ्नो प्रभुत्त्वकै लागि ''क्लोविस र अभिजात फ्रैङ्कहरूले बुझिहाले कि इसाई धर्म उनीहरूका लागि निकै उपयोगी छ । इसार्इ धर्मले मानिसहरूमा आज्ञाकारिता, विनयशीलता र धैर्य जगाउँथ्यो, आफ्ना मालिकहरूका लागि इमानदारी र मिहिनेतले काम गर्ने शिक्षा दिन्थ्यो । गालमा बस्नेहरू पहिलेदेखि नै इसार्इ थिए र फ्रैङ्कहरूद्वारा इसार्इ धर्मको अङ्गीकरण विजेताहरूका सत्तालाई बलियो बनाउनमा सहायक हुन सक्थ्यो । यसैले राजा र उसका अनुचरहरूले इसार्इ धर्म ग्रहण गरे र त्यसपछि सबै फ्रैङ्कहरूलाई इसार्इ बन्नको लागि विवश गराए (उही, पृ. २२)''
त्यसरी राजनीति र धर्मको घाँटी जोडिएपछि, ''राजाको अलिकता मात्र पनि अवज्ञा या इसाई धर्म त्याग्नुका सजाय मृत्यु थियो । एक पटक उसले ४,५०० बन्दीहरूलाई मार्ने आदेश दियो (उही, पृ. २९)'' यसप्रकार दुवैले मानव हत्या जस्ता जघन्य अपराधलाई वैध घोषणा गरेका देखिन्छन् । सोहीक्रममा ''किसानहरूबाट चर्चका प्रति पनि ठूला दायित्वहरू थिए । उनीहरूले आफ्नो फसल र गाईबस्तुका बच्चाहरूको दसौं हिस्सा चर्चलाई दिनु पर्थ्यो । यसलाई चर्चको दशमांश या धर्मशुल्क भनिन्थ्यो (उही, ३४)'' परिणामतः ''कैयौं सरुवा रोगहरूले भोकले दुर्बल मानिसहरूको हजारौं सङ्ख्यालाई सखाप बनाउँथे (उही, ३७)''
सामन्तहरू गढमा बस्न थाले । ''आरम्भमा गढ काठका हुने गर्थे, पछि ती ढुङ्गाहरूले बनाउने थालिए । गढका मोटा पर्खाहरूले विश्वासनीय सुरक्षा प्रदान गर्थे (उही, ३९) ।'' सोही बेला नै ''तहखानाले बन्दीघरको पनि काम दिन्थ्यो, जहाँ कैदीहरू र बागी किसानहरूलाई फलामका जञ्जीरहरूले बाँधेर अँध्यारा, ओसिला कोठरीहरूमा बन्द गरेर राख्ने गरिन्थ्यो (उही, ४०) ।'' अन्ततः ''पोप युरोपीय राजाहरूलाई आफ्नो सत्ताको अधीन राख्न चाहन्थे । एघारौं शताब्दीमा धर्माध्यक्षहरू मनोनीत गर्ने प्रश्नलाई लिएर पोप ग्रिगोरी सप्रम र जर्मन राजा हेनरी चतुर्थका बीच प्रचण्ड विवाद छेडियो । हेनरीले पोपलाई उसको सत्ताबाट वञ्चित गरिदियो । पोपको नाममा लेखिएको आफ्नो पत्रलाई उसले यी शब्दहरूसँगै समाप्त गरेको थियो : ''म हेनरी, र्इश्वरीय अनुकम्पाले राजा, आफ्ना सम्पूर्ण धर्माध्यक्ष्यहरूसहित तँसँग भन्छु यहाँबाट भागिहाल् ।''
यसयसको जवाफमा पोप ग्रिगोरीले हेनरीका प्रजाजनहरूलाई आफ्ना राजाका प्रति निष्ठाको शपथबाट मुक्त गरिदियो । जर्मनीका ठुला सामन्तहरूले राजाका विरुद्ध विद्रोह गरिदिए । हेनरीले पोपसँग माफी माग्नको लागि विवश हुनु पर्‍यो । अनुचरहरूको एक सानो दलका साथ ऊ इटाली गयो, जहाँ पोप त्यस बेला देशको उत्तरमा पर्ने कनोसाको गढमा बसिरहेको थियो । तीन दिन हेनरी सँधै पश्चातापको प्रतीक साधुको जस्तो खुकुलो, लामो कुर्ता पहिरेर नाङ्गो खुट्टाले गढको ढोकामा गइरह्यो, तर पोपले उसलाई भित्र आउने अनुमति दिएन । आखिर चौथो दिन उसलाई पोपका सामु आउन दिइयो । उसले घुँडा टेकेर पोपसँग क्षमायाचना गर्‍यो र पोपले उसलाई क्षमा गरिदियो । युरोपीय भाषाहरूमा ''कनोसा जानु'' त्यसै बेलादेखि विवशतापूर्वक दीनता प्रकट गर्ने आवश्यकताको प्रतीक बन्न पुगेको छ (उही, पृ. ९६-९७)''
''पोपको सत्ता आफ्नो चरम अवस्थामा पोप इन्नोसेन्ट तृतीय (११९८-१२१६) को समयमा पुग्यो । उसको दावा थियो कि पोप पृथ्वीमा र्इश्वरको प्रतिनिधि हो; समस्त इसार्इ जगत् उसको अधीन छ र सारा इसार्इ राजाहरू उसका अधीनस्थ सामन्तहरू हुन् । पोपको औपचारिक स्वागत समारोहहरूमा जो सुकैले पोपका सामु झुक्नु र उसका जुत्ताहरूलाई चुम्नु पर्थ्यो । यस्तो अधीनस्थता र विनयशीलताको प्रदर्शन त युरोपका कुनै पनि राजाका प्रति गरिँदैनथ्यो (उही, पृ. ९७)''
''इन्नोसेन्ट तृतीय युरोपीय देशहरुका भित्री मामिलाहरू र उनीहरूबीच सम्बन्धहरूमा हस्तक्षेप गर्थ्यो । उसको दबावमा आएर इङ्गल्याण्ड, पोल्याण्ड, स्वीडन र डेनमार्कका राजाहरूले स्वयम्लाई पोपको अधीनस्थ सामन्त स्वीकार गरेका थिए (उही)'' यसप्रकार आफ्नो प्रभुत्त्व स्थापनाको लागि इसार्इ धर्मको बुर्इ चढेको राजनीतिले अन्त्यमा धर्मको मातहतमा आफूलाई स्थापित गर्न पुगेको भन्ने देखिन्छ ।
युरोपमा जस्तै अरबमा पनि राजनीति र धर्मको अवस्था कस्तो थियो भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो । अरबमा सन् ६१२ तिरबाटै इस्लाम धर्मको उदय भइसकेको थियो । हुन त यी दुर्इ धर्महरू सहोदर दाजुभाइ मान्दछन् । इस्लामका प्रवर्तक मोहम्मद थिए । उनको दाबी चाहिँ ''अल्लाह बाहेक अरू कुनै र्इश्वर छैन र उनी आफूलाई अल्लाहको सन्देशबाहक-पैगम्बर भन्थे । ... नयाँ धर्मलाई स्वीकार गर्नेहरू आफूलाई मुसलमान या मुस्लिम भन्थे (उही, पृ. ६७) ।'' मोहम्मद कुनै राजा थिएनन् । उनी विशुद्ध धर्मको नामबाट उदय भएका थिए । अन्त्यमा अरबमा पनि युरोपमा जस्तै धर्मले राजनीतिलाई प्रभावित पार्न सफल भयो ।
यता पूर्वीय दर्शनमा हेर्ने हो भने हिन्दू धर्ममा पनि धर्म र राजनीतिको बीचमा एक प्रकारको द्वन्द्व थियो । राजाहरू कुनै न कुनै प्रकारले धर्मको शरणमा पुगेकै हुन्थे । तत्कालिक भारतवर्षको प्रशस्त राजाहरूले बौद्धधर्मलाई अङ्गीकार गरेका वा बुद्ध वा बौद्ध धर्मका शरण परेका देखिन्छन् । हिन्दू धर्ममा महान् मानिएको चाणक्य आफैँले भइरहेको हिन्दू राजासँग टकराब परेपछि तिनलाई हटाएर पहिचान नै नखुलेको युवकलाई राजाको रुपमा स्थापित गराएका थिए । बिस्तारै हरेक राजाहरूले हिन्दू धर्मको आडमा आफ्नो प्रभुत्त्व लाद्दै अघि बढेका थिए । नेपालकै पनि शाहवंशले त्यसैको सिको गर्दै राजालाई विष्णुको अवतार घोषणा गरेका थिए । एक समयका तिब्बती राजा स्रङचङ गम्पोले पनि आफूलाई बौद्धधर्मसँग जोडेर शक्ति आर्जन गरेका थिए । त्यसक्रममा आफूलाई आर्यअवलोकितेश्वरको टुल्कु (अवतारी) घोषणा गरेका थिए ।
यसप्रकार राजनीति भन्ने विषय कसैगरेर पनि धर्मको अधिनमा रहेको स्पष्ट हुन्छ । त्यसो त धर्मको स्वभाव (नेचर) अनुसार शासकको स्वभाव निर्धारण हुनु स्वाभाविक थियो । दुःखद् पक्ष चाहिँ जत्ति नै धर्मको पाठ घोकाए तापनि सत्ता/कुर्सीको मात लाग्दै गएपछि राजनीतिले धर्मलाई बिर्सन पुगेका देखिन्छन् । त्यसक्रममा राजा वा राजनीतिमा लागेका नेतृत्वकर्ताहरू बिस्तारै अधिनायकवाद वा निरङ्कुश बन्दै आएका देखिन्छन् । राजाहरूले धर्मका आडमा निरङ्कुशता लादेका र त्यसक्रममा अनगिन्ती निर्दोषका ज्यान लिएका इतिहास छँदैछन् ।
यहीँनेर नेपाल लगायत विश्वभरि रहेका आदिवासी जनजाति वा प्रथम राष्ट्र वा इनडिजिनिष्ट भनिएकाहरू कहाँ भने यसको प्रभाव फरक देखिएको छ । उदाहरणको लागि तामाङ राष्ट्रलाई नै हेरौं । यिनीहरूमा धार्मिक पाटो अनौठो छ । यिनीहरू ''फो ल'' मान्छन् । ''फो ल''लाई आवश्यक परेको बेला घरमा स्थापित गराउँछन् । समय हेरेर ''फो ल''लाई पहिले ल्याएको तिनकै लोकमा फिर्ता पुर्‍याएर यता जीवन यापन गर्दछन् । यसप्रकार ''फो ल'' पुज्ने ''लबोन'' तिनका एकप्रकारको जजमानमाथि हाबी हुने अवसर प्राप्त गर्दैनन् । ''फो ल'' गर्ने ''लबोन'' हुनुको अर्थ सित्तैमा काम गरिदिने एक प्रकारको सेवक जस्तो हुन्छ । त्यसैले पनि जजमानका जीवनमा हाबी हुनै सकेनन् ।
बोम्बो वा शामन मान्ने विश्व आदिवासीमा यस्तै संस्कृतिले नियमन गर्दै आएको देखिन्छ । परिणामतः यिनीहरूका समाजमा शामन वा बोम्बो वा लबोन (एक किसिमको धर्माधिकारी)को मात्रै समाजमा प्रभुत्त्व बनेन । तामाङ समाजमा नै हेर्ने हो भने बोम्बो, लबोन, तम्बा, चोहो, गन्बा, मुइमू, लामा र ह्युल्बाको समष्टिगत उपस्थिति बिना समाज चल्दैनथ्यो । शामन वा बोम्बोलाई कुनै एक परिवार वा खानदानमा सीमित पारेर राख्न मिल्ने कुरै भएन । बोम्बोको छोरो बोम्बो नै हुन्छ भन्ने भएन । त्यो त स्वतः देखापर्छ भन्ने भयो । त्यसैले शामन वा बोम्बोले धर्म र धर्माधिकारी बन्नेसम्मको यात्रा तय गर्ने अवसर नै पाएन । परिणामतः हिन्दू, बौद्ध, ख्रिश्चियन र इस्लाममा जस्तो धार्मिक मूल्य मान्यता र धर्मकेन्द्रवाद (पुरोहितकेन्द्रवाद/पोप वा मौलानाकेन्द्रवाद जस्ता) यिनीहरूका सभ्यतामा निर्माण नै भएन । धर्म मात्रै प्रभुत्त्व नरहेकोले राजनीतिक मूल्य मान्यताको खासै विकास भएन । राजनीतिको विकास नै नभएकोले युरोप, अरब र हिन्दूमा जस्तो राजा तथा राजनीति देखा नै परेन ।
हिन्दू, ख्रिश्चियन र मुस्लिममा जजमान वा अनुयायीले निश्चित स्थानमा बसेको धर्माधिकारी कहाँ भेट्न जानुपर्ने भन्ने विश्वका आदिवासीहरूसँग थिएन । तामाङकै उदाहरण लिएर भन्नुपर्दा, कोही 'लबोन' भएर अन्यलाई आफू कहाँ बोलाउन सक्ने अवस्था बनेन । बरु 'लबोन'को हैसियत प्रदर्शनीको लागि अरूले बोलाएर लैजानुपर्ने भयो । नवौं-दसौं शताब्दीसम्म पश्चिमी युरोपमा लगभग सबै जमीन ठूला भूस्वामीहरू, भूपतिहरूका कब्जामा आइसकेका थिए । ... ''भूपतिबिना भूमि हुन्न'' भन्ने नियम नै चलन थियो (उही, पृ. ३२) । तामाङ समाजमा भूमिपतिको रूपमा व्यक्ति हुन सक्छ भन्ने अवधारणा नै थिएन । बरु जस्तै जमिन्दारले पनि भूमिपतिको रूपमा झ्योहो/झ्योमो र सिप्दा, ने'दा अनि लु र ङ्ह्यम्बुलाई मान्नु पर्दथ्यो । यसले पनि समाजलाई व्यक्तिबाट सञ्चालिन नभएर विविध संस्थाका संयोजित स्वरूप भन्ने मान्यता स्थापित गराइदियो ।
यसप्रकार विश्वका आदिवासी समाज धर्मको नाममा कसैका अधिनमा परेनन् । कोही कसैले अधिकार प्राप्त गर्ने कुरा पनि भएन । समाज प्राकृति जीवन शैलीका आधारमा सञ्चालित हुँदै आए । विकसित भनिएका हिन्दू, ख्रिश्चियन र मुस्लिममा भने धर्मको नाममा व्यक्ति हाबी भए । व्यक्तिमा पनि राजा र धर्माधिकारी देखिए । आपस्तमा शक्ति सङ्घर्षको क्रममा धर्मको राजनीतिमा प्रभाव पर्न थाल्यो । अब भन्न सक्छौं कि, राजनीति धर्मद्वारा प्रभावित भएका हुन्छन् वा छन् ।
६.  प्रकृतिको संरक्षण तथा दोहनमा धर्मको भूमिका
प्रकृति र धर्मका बीचमा पनि महत्त्वपूर्ण सम्बन्ध हुन्छ । धार्मिक आस्था साथै मूल्य मान्यताले प्रकृतिमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष असर पुर्‍याउने गर्दछ । हिन्दू धर्मले प्रकृतिलाई पनि शक्तिका रूपमा पुज्दै आएको छ । यसक्रममा सूर्यलाई देवताको दर्जा दिएको छ । चन्द्रमालाई महादेवको जटामा सजाएको छ । हावालाई वायूदेव भनेको छ । वरुण तथा जलदेव लगायतका अनेक देव देवी छन् । पानीका कुण्डमा पनि देव देवीका उपस्थिति देख्छन् । विविध प्राणी तथा पङ्क्षीलाई देव देवीसँग जोडेर हेर्ने तथा पुज्नेसमेत गर्दछन् । गाईलाई माता मान्छन् । हात्तीलाई गणेश भन्छन् । उल्लुलाई लक्ष्मीकी बहान अनि मयुरलाई सरस्वतीकी बहान । मुसालाई गणेशसँग र गोरुलाई महादेवसँग जोड्छन् । पिपल र तुलसीमा बिष्णुको प्रतीक मान्दै पुज्छन् ।
ख्रिश्चियनलाई हेर्ने हो भने यसको ठिक उल्टो देखिन्छ । यसले प्राकृतिक स्रोत साधनलाई मानवको लागि र्इश्वरले निर्माण गरेको भन्छन् । पशु पङ्क्षीहरू मानिसका लागि आवश्यक आहार पूर्तिका लागि बनाएका हुन् । त्यसैले ती पशुपङ्क्षीका शिकार गरी मासु सेवन गर्नु धर्म सङ्गत मान्छन् । यस्तै मान्यता राख्ने धर्मको कारण ती देशका राजनैतिक नजरले पर्यावरणमा हेर्ने र देख्ने दृश्यमा फरक देखियो । राजनीतिले नै सारा निर्णय गर्न थालेपछि अनेक नीति नियम बनाए । अमेजन र रेन फरेष्टहरू मानव उपभोगका लागि निर्मित भन्ने मान्यता बने । समुद्रमा शिकार गर्नु तथा फोहोर फाल्दा पनि अपशकुन वा अधर्म हुन्छ भन्ने भएन । परिणामतः जङ्गलहरू सकिए । पशुपङ्क्षीहरू समाप्त पार्दै अघि बढे । त्यही क्रममा मानवकेन्द्रवादी अवधारणाको विकास गरे । विकासको नाममा बिनास गर्नु पनि धर्म भयो ।
आदिवासी भनिएका विश्वको रैथाने मौलिक सभ्यता भने ख्रिश्चियनीटिको ठिक उल्टो रहँदै आएको छ । तामाङ राष्ट्रलाई नै उदाहरणको रूपमा लिँदा खोलाको पानी पनि जुठो गर्नु हुँदैन भन्ने देखिन्छ । शिकारमा गएको दिन एउटा मारे पनि अर्कोको शिकार गर्नु हुँदैन भन्छन् । शिकारमा जानेले पनि पालना गर्नुपर्ने प्रशस्त नियमहरू बनाएका छन् । टोटेमवाद र सो समान अभ्यासले प्रकृतिलाई जीवनको आधार भन्दै आएको छ । जीवित मात्रै नभएर निर्जीव बस्तुका समेत मानवसमान अधिकार रहने विश्वास गर्छन् । गोनेङ्ह्यको बेला ढिकी र जाँतोलाई आराम दिन्छन् । कुखुरालाई चाड मान भन्छन् । मौरी काढ्न पनि शाइत जुराउँछन् । कपाल काट्न पनि दिन र साइत हेर्छन् । फुल फुल्दै गरेका वा फल लागेका वृक्ष वा वनस्पतिलाई गर्भिणी आमा सरह मान्छन् । त्यस्तो बेला काट्ने वा उखेल्ने गर्दैनन् । चैत र बैशाखमा गरिने सेरकेम र ह्युल्जेपछि निश्चित दिनसम्म खनजोत गर्दैनन् । झार समेत उखेल्दैनन् ।
यिनीहरूका मान्यतालाई मान्ने हो भने, कोरोना जस्तो भाइरस (विश्वव्याधि/महामारी/रोग) पनि कुनै शक्ति वा शक्तिको खेला हो । त्यसैले यो माई हो । यस्तालाई समाप्त पार्छु भनेर सम्भव हुँदैन । समाप्त पार्न नसक्ने हुनाले नै शक्ति मानेका हुन् । शक्ति मानेपछि यथोचित स्थान दिनुपर्ने हुन्छ । त्यस्तै भएर माईका पनि थान बनाउँछन् । शक्तिका रूपमा पुज्छन् । ठूलो रूख वा ढुङ्गा पनि फोड्दैनन् । ढुङ्गा गाढेर देउता भन्दै पुज्छन् । बलि दिँदै गरिएका पशु पङ्क्षीको चित्तलाई निश्चित स्थानमा जिम्मा लगाउने संस्कार पूरा गरेर मात्रै मासु सेवन गर्छन् । घर परिवारको सुरक्षाको लागि सशस्त्र हतियारधारी दस्ताको सट्टा कुनै शक्तिलाई स्थापित गर्छन्/खटाउँछन् । हत्या र हिंसालाई समाधान मान्दैनन् । विजयका लागि आफू समान मानवको हत्या गर्ने वा प्राकृतिक स्रोत साधनको दोहन गर्ने कार्यलाई अक्षम्य अपराध ठान्छन् ।
अब हामी यो निष्कर्षमा पुगेका छौं कि, पर्यावरणको संरक्षण वा दोहन कार्यमा धर्मको सम्बन्ध जोडिएका हुँदारहेछन् । पर्यावरणीय पक्षलाई हेर्ने धार्मिक नजरका आधारमा नीति नियम तथा वैधानिक भनिएका व्यवस्था बन्दारहेछन् । त्यस्ता व्यवस्था पर्यावरण मैत्री छन् कि विपरीत छन् भन्ने विशेष हुँदारहेछन् । पर्यावरणको संरक्षण गर्नुपर्ने धर्मले नै मानवकेन्द्रवादमा फसेर प्राकृतिक स्रोत साधनलाई मानवको खुशीमा छोडेपछि बर्बाद हुँदारहेछन् । कोरोनाको समस्या पनि प्राकृतिक जीवनदेखिको सम्बन्ध विच्छेदको भएपछिको उपच भन्नेमा प्रायःको सहमति भएको छ ।
७.  राजनीति विरुद्ध सामाजिक सांस्कृति मूल्य मान्यता
शुरूमा सामाजिक सांस्कृतिक मूल्य र मान्यताका निर्माण गरेका थिए । त्यसक्रममा समाजको सही व्यवस्थापन तथा सञ्चालन कसरी गर्ने भन्ने मुख्य प्रश्न थियो । समाज लामो, अविराम तथा निरन्तर यात्रामा जुट्तै थियो । यात्राको शुरूवातसँगै निरन्तरता तथा सहजताको अभिभारा थपिँदै थिए । त्यतिबेला कसैलाई जित्नु थिएन । कसैलाई लडाउनु वा हराउनु पनि थिएन । केवल यात्रा गर्नु थियो । त्यसैले अप्राकृतिक चाहना थिएनन् । प्रकृतिलाई फकाउँदै फुल्याउँदै उसैको साथ लागेर यात्रा गर्ने मनसुव मात्रै थियो । त्यसैले हरेक पाइलाले प्रकृतिको मुटुमा कुल्चेर चोट पुर्‍याएको थिएन । हरेक पाइला प्रकृतिको लागि नवजातले आमाको स्तनपान गरेको जस्तो मात्रै थियो ।
समाजले एक तहको यात्रा तय गरेपछि भने दोबाटोमा पुगियो । एकथरी मान्छे प्राकृतिक जीवन शैलीकै यात्रामा अघि बढ्दै आए । कति चाहिँ जान्ने भए । तिनीहरूले बाटो मोड्न थाले । प्राकृतिक स्रोत साधनको दोहनमा रमाउन थाले । त्यसपछि समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक मूल्य मान्यत निर्माण गरे । कतिले त्यसमा बन्धित भएरै अघि बढ्दै आए । कतिले सामाजिक सांस्कृति तथा नैतिक मूल्य मान्यतालाई मानेनन् । धर्मको आडमा राजनीतिसम्म पुगे । जहाँ पुगेपछि शक्ति र शक्तिको अविछिन्न उपभोगको भोक जाग्न थाल्यो । राग, द्वेष र इर्ष्याका उदय भए । साम, दाम र दण्डभेदको नीतिमा समाहित भए । मेरो र तेरोको भावनामा ह्वात्तै वृद्धि भयो । आफ्ना पक्ष र विपक्ष स्पष्ट देखिए । पक्षका लागि विपक्षीको संहार गर्नुलाई धर्मको रूपमा अर्थ्याउन थाले । कहाँको लागि निस्केको समाज अब कता फस्न थाल्यो ।
फेरि पनि तामाङ समाजलाई उदाहरणका लागि लिऔं । सामाजिक, सांस्कृतिक तथा नैतिक मूल्य मान्यतामा अडिक हुञ्जेल तामाङ तामाङ नै थियो । दुःख सुखका संयोग नै जिन्दगी भन्ने बुझाई बनेको थियो । जसोतसो तामाङ भएरै हिँड्दै थियौं । त्यस्तैमा एक हूल हतियारधारीका प्रवेश भयो । तिनीहरुले तामाङलाई लुटे । जमीन लुटे । सम्पत्ति लुटे । थातथलोदेखि तहसनहस पारे । इज्जतलाई माटोमा मिलाए । आफूहरु शासक भएको भन्दै तामाङलाई शासित बनाए । शताब्दीऔंसम्मै यो क्रम रोकिएको छैन ।
यस्तैमा तिनी (राजनीति गर्ने)हरूले नै राजनीतिको पाठ सिकाउन थाले । त्यही पाठशालामा प्रवेश गरेपछि 'फो ल'लाई गलत भन्न थाले । हो क्यारे भन्दै त्यो फाल्यौं । तामाङ भाषाले पछि परेको भने । त्यो पनि छोड्नेक्रम चलाएकै छौं । सामाजिक सांस्कृतिक मूल्य मान्यतालाई पछौटे तथा जङ्गलीपनको कारण भने । होला त नि भनेर तिनलाई पनि बिस्तारै बिस्तारै गरेर छोड्न थाल्यौं । आज आएर बल्ल थाहा पाउन थालेका छौं । हाम्रा महान् पुर्खाले बसाएका सामाजिक, सांस्कृतिक मूल्य मान्यता त प्रकृतिमैत्री रहेछन् । प्रकृतिमैत्री जीवन शैली त्यागेकैले पो यस्ता महामारी आइपरेका रहेछन् । ओजोनतहमा प्वाल परेका रहेछन् । मान्छेले मान्छे मार्नु पनि सामान्य र बहादुरीको विषय भएका रहेछन् ।
यसप्रकार राजनीति भन्ने चिज हाम्रो मौलिक सामाजिक सांस्कृतिक मूल्य मान्यताका विपक्षी पो रहेछ । यसको जन्म नै हाम्रा सामाजिक सांस्कृतिक सम्पदा समाप्त पार्नको लागि भएको रहेछ । यत्ता न उत्ताको पारेर निश्चित नेता भनाउँदाका पञ्जामा पार्नलाई पो बनाएका रहेछन् । हामीसँग भएजति वैभव तथा सम्पदादेखि विमूख पार्न पो आएका रहेछन् भन्ने स्पष्ट भएको छ ।
८.  विश्वव्यवस्था र विकल्प कुन ?
विश्वको परिभाषा लगाइरहन आवश्यक छैन । यो विश्वमा अनेक व्यवस्थाहरू छन् । तिनैलाई समग्रतामा विश्वव्यवस्था भनेका हुन् । यसअघि मानव समाजले धर्मको आडमा चल्ने प्रयास गर्‍यो र सोही अनुरूपको व्यवस्था पनि निर्माण गर्‍यो । राजनीतिको उदयसँग विश्वव्यवस्थाले स्पष्ट स्वरूपहरू निर्माण गर्दै अघि बढ्यो । आदिम साम्यवादी व्यवस्थालाई समाप्त पार्दै अघि बढ्नेक्रममा सामान्ती र साम्राज्यवादी व्यवस्थाहरू देखिँदै आए । दोस्रो विश्वयुद्धपछि भने स्वतन्त्रता, समानता र भातृत्त्व (स्वत्त्व वा पहिचान) गरी तीन विषयलाई स्वीकार गरेका थिए ।
तिनीहरूमध्ये स्वतन्त्रतालाई लिएर गएकाहरूले उदरवादको स्वरूपमा आफूलाई प्रस्तुत् गर्दै अघि बढे । यसले वैयक्तिक स्वतन्त्रतालाई मात्रै जोड दिएको हुनाले समानता र स्वत्त्वको गुमनाम स्वाभाविक थियो । समानतालाई मूल मन्त्र बनाएर निस्कनेहरू मार्क्सवादी वा साम्यवादीका नामद्वारा चिनिए । तिनीहरूले वर्गीयतालाई प्रधान माने । उदारवादमा भन्दा केही हदसम्म सामुदायिकता भन्ने तत्त्व स्थापित गरे । त्यही भएर कम्युनिटी अर्थात् समुदायबाटै तिनीहरूले आफूलाई कम्युनिष्ट भनेर चिनाए । अन्ततः आज यी दुवै नै पुँजीवादको चङ्गुलमा फसेका छन् । आज कोरोना भाइरस त्यही पुँजीवादको काँध चढेर संसार संहारमा व्यस्त छ ।
उदारवाद र साम्यवाद दुवैको अन्तिम बिन्दू भने स्टेटलेस अर्थात् देश विहीनतामा पुग्नु नै थियो । उदारवादले निश्चित कर्पोरेट हाउसलाई आवश्यक बस्तु उत्पादनको तालासाँचो जिम्मा लगाउँछ । अन्ततः एक बिन्दुमा पुगेपछि मानवसमुदायलाई देशको आवश्यकता पर्दैन । दैनिक उपभोग्य तथा आवश्यक बस्तुको उत्पादन तथा वितरण तिनै कर्पोरेट हाउसले गर्ने र तिनकै बस्तुका उपभोगमा मान्छेका जीवन चल्नेछ । राज्य वा देश अनि सरकारको आवश्यकता पर्दैन भन्ने थियो । साम्यवादीका मत अलिक फरक यसकारण छ कि, समाज एक समयमा वर्गविहीन अवस्थामा पुग्नेछ । जहाँ पुगेपछि बिस्तारै देश देशावरका सिमानाहरू मेटिँदै जानेछन् र अन्त्यमा साम्यवाद आउनेछ ।
यी दुर्इ व्यवस्था अहिले विश्वमा प्रचलित छन् । यही कोरोना नामक विश्वव्याधिको प्रकोपले के स्पष्ट पारेको छ भने यी दुवै गलत रहेछन् । यी दुर्इकै कारण कोरोना विश्वव्याधिको रूपमा देखापरेको हो । यसक्रममा चीनले कोरोनालाई जितेर कम्युनिष्टको साख जोगाएको जस्तो त देखिएको छ तर अमेरिकाले व्यहोर्दै गरेको सास्तीले उदारवादलाई सर्वाङ्ग नाङ्गो पारेको छ । यिनीहरूले माथि उल्लेखित तीन वटै बुँदा वा विषयहरूमध्ये एकलाई मात्रै लिएर बढेका थिए । ती दुर्इले लगेका बुँदाहरूभन्दा तेस्रो वा बाँकी रहेको बुँदा मुख्य थियो । त्यही तथ्य पहिचान गर्न ती दुवै चुकेका थिए । अझै भनौं थाहा पाएरै पनि वैयक्ति स्वार्थमा फसेकाले छोडेका थिए । परिणामतः कोरोना नै विश्वव्यवस्था परिवर्तनको कारक तत्त्व हुने सम्भावना बढेको छ । यससम्बन्धमा स्थापित विश्लेषकहरूले लेख्न थालेका छन् ।
यी सारा कुरा गरिसकेपछि अबको विकल्प के भन्ने पहिलो प्रश्न नै हो । यससम्बन्धमा माथि उल्लेखित तीन बुँदामध्ये आजसम्म दुइटा बुँदालाई मात्रै लिएर विश्वव्यवस्था स्थापित भएका छन् । यी दुर्इपछि बाँकी रहेको भातृत्त्वभाव वा स्वत्त्व वा पहिचानको कुरा सबैभन्दा महत्त्वपूर्ण रहेको छ । अबको विकल्प पनि यही नै हो । मान्छेलाई अरूजस्तो बनाउन जत्ति गाह्रो थियो; अब आफू को हो भनेर चिनाउन पनि उत्तिकै गाह्रो भएको छ । आजसम्म मान्छेलाई उसको वास्तविक परिचयबाट दूर लगेर दुनियाँ चिनाउने प्रयास गर्दै आए । अन्ततः दुनियाँका हरेकलाई आफू को हुँ भनेर भन्दा पनि ठूलो मान्छे बन भनेर सिकाए । विकास र अविकासको रेखा कोरेर अनेक गलत पाठ घोकाए । मान्छेलाई मान्छेभन्दा पनि बुख्याँचा वा रोबोट जस्तो जीवन बाँच्न अभ्यस्त पार्दै आए ।
मान्छे त मान्छे नै थियो । केही गरेपनि रोबोट थिएन । सबैभन्दा पहिले म को हुँ भन्ने प्रश्नको सही उत्तर पत्तालगाउनसक्ने क्षमता वा ज्ञान दिनुपर्थ्यो । पहिचान बिना मान्छेको जीवन पिँजडामा थुनिएको सुगा वा मैना जस्तै मात्रै हुँदै आयो । यसैले त अब पहिचान चाहिएको हो । पहिचानकै विषयलाई पनि समाविष्ट गराउने क्रममा त्यतिखेर फ्रेटानिटी (पहिचान, भातृत्त्व, स्वत्त्व) लेखेका थिए । त्यही पहिचानलाई अवलम्बन गरेका भए समानता स्वतः प्राप्त हुने नै थियो । उदारवादले व्याख्या र व्यवहारमा लागू गरेको स्वतन्त्रता वास्तवमा स्वतन्त्रता नै थिएन । स्वतन्त्रता भनेको त व्यक्ति र समाजबीच गाँसिएर आउने विषय हो । त्यसैले समाजदेखि अलग्याएर व्यक्तिलाई एक्लेबीर बनाउने परिभाषा परिवर्तन बिना समाजले सहीमार्ग पहिल्याउन सक्ने छैन ।
पहिचान चाहिँ प्रकृतिमैत्री विषय हो । यसले माथि नै उल्लेख गरिएजसरी जीव तथा निर्जीव सबैलाई समान हैसियतका मान्दछ । यहाँ हरेकका पहिचान र स्वत्त्वको सुनिश्चितता गरिन्छन् । कसैलाई शासक र शासितको रूपमा स्थापित गर्नु गराउनुलाई अपराध ठानिन्छ । यहाँ साम, दाम र दण्डभेदको गुञ्जायस रहँदैन । हरेक प्राणीहरू आफ्नै दाजुभाइ मानिन्छन् । निर्जीवको अधिकार सुनिश्चितताको व्यवस्था मिलाएका हुन्छन् । यसैले मानव मानवका बीच वैनस्यता कल्पना बाहिरको हुनेछ । स्वतन्त्रता, समानता र भातृत्त्व/स्वत्त्व सहितको पहिचान नै अबको विकल्प हो ।
पहिचानवादको बारेमा धेरै त अध्ययन, अनुसन्धान हुन बाँकी जस्तो देखिएको छ । यद्यपि, प्राकृतिक जीवन शैलीको चश्मा लगाउनसाथ स्पष्ट नहुने कुरै छैन । यतिखेर लेख्नुपर्दा मेरो बुझाईमा, पहिचानवादले देशीय सिमानाहरूलाई स्वीकार्दै प्रवेश गर्नु पर्नेछ । अन्ततः यसले पनि देशका सिमाना मेट्नेछ तर उदारवाद वा मार्क्सवाद/साम्यवादले अवलम्बन गरेका भन्दा फरक तरीका अवलम्बन गर्नेछ । यसले भएजति सबैलाई पहिचान दिनेछ । सबै स्वतन्त्र रूपमा आफ्नै रङमा फुल्ने र फल्ने छन् । अन्त्यमा मानव मन, मष्तिष्क र व्यवहार फूल समान हुनेछन् । कसैले कसैका विरुद्ध कुनै अपराध गरिरहनुपर्ने कुनै कारण रहने छैन । परिणामतः देश वा राज्यका नक्कली सिमानाहरू स्वतः भत्किएर जानेछन् । अहिले जस्तो देश वा नश्लहरूका बीच शत्रुता हैन मित्रताको वातावरण तयार हुनेछ । प्राकृतिक वा प्रकृतिमैत्री जीवन शैलीका कारण पुँजीवाद स्वतः घाटमा पुगेर विसर्जित हुने हुनेछ । परिणामतः वर्गीयता पनि समाप्त भएर जानेछ । 
९.  निष्कर्ष
जीवन शैली मुख्यतः दुर्इ प्रकारका हुँदारहेछन् । पहिलो प्राकृतिक र अर्को आर्टिफिसियल अर्थात् अप्राकृतिक ! अहिले संसारमा अर्गानिक उत्पादनको पक्षमा बहस झनै बढेको छ । जीन प्युरिटी अर्थात् आणुवांशिक शुद्धताबिनाको एन्टीबडी वा इम्युनिटी पावरलाई कोरोनाले ध्वस्त बनाएको छ । युरोपियन तथा अमेरिकन समाजलाई हेरेपछि घाम जत्तिकै छर्लङ्ग भएको छ । नेपालीकै हेर्ने हो भने, आणुवांशिकता तथा प्राकृतिक जीवनशैलीले नै कोरोनासँग यत्तिखेरसम्म दरो प्रतिकार गर्न सफल भइरहेको छ ।
उदारवादले समाजलाई पुँजीवादमा लगेर डुबायो अनि सँगै आणुवांशिक शुद्धताको धरोहरलाई तहसनहस पारिदियो । पुँजीवादले संसारभरि जालो बनाएको थियो । त्यही जालो हुँदै चीनसँग संसारको सम्बन्ध बनेको हो । त्यही जालो हुँदै चीनबाट प्लेन उडेर अमेरिकामा पनि पुग्यो । यात्रुसँगै कोरोना पनि पुग्यो । खासमा पुँजीवादले संसारलाई एउटा सानो गाउँ बनाएको थियो । आपसमा परनिर्भरता व्यापक रूपमा बढाएको थियो । त्यसको परिणाम आज सम्पूर्ण मानव जगत्ले भोग्नु परिरहेको छ । अमेरिकामा पहिले रैथाने राष्ट्रहरू थिए । तिनका निर्मम् तथा नृसंस हत्या गर्दै गोराछालाधारी उत्रिएका थिए । तिनीहरू आज आफ्नोजस्तै छाला बाहेकका मानिसदेखि डराएको स्वाँग पार्दैछन् । आजै बिहान मात्रै अप्रिय समाचार आयो, अमेरिकामा चीनियामूलको प्राध्यापकलाई गोली हानी हत्या गरेछन् ।
यसप्रकार अमेरिकाको रैथाने राष्ट्रका संहारक गोराछालाधारी (डोनाल्ड ट्रम्प)हरू थिए । अब चीनियाँबाट शुरू गरेर संसारका अन्य नश्लहरूलाई समाप्त पार्ने खेलतिर प्रवेश गर्दैछ । यतिखेर अमेरिकाले देखाइरहेका चर्तिकला तथा स्याल हुइयाँले स्पष्ट पारेको छ । यस्ता हर्कतहरूले उदारवाद र तिनका मानवताकेन्द्रवादको मखुण्डो उतारेको छ । चराचर जगत्का प्राकृतिक पक्षको समाप्तिका लागि तिनले मानवकेन्द्रवादलाई स्थापित गरेका थिए । अब तिनीहरु गोराछालालाई मात्रै मानव देख्न थाल्दैछन् । अन्यलाई समाप्त पारेर गोराछालाधारी ख्रिश्चियनले पृथ्वी लगायत चराचर जगत्को एकलौटी रूपमा उपभोग गर्नुपर्छ भन्ने सोचका साथ अघि बढ्दै गरेको देखिन्छ । यस्तो अवस्थामा स्वयम् तिनै गोराछालादेखि सम्पूर्ण मानव महावंशलाई प्रकृतिप्रदत्त जीवन शैलीमा ढाल्दै मानवलाई मानव बनाउनको लागि पनि नयाँ र वैकल्पिक व्यवस्थाको आवश्यकता खटि्कएको छ । अब साम्यवादी बाटोबाट पनि संसारले मुक्तिमार्ग समाउन नसक्ने छर्लङ्ग भइसकेको छ । त्यसैले समाप्तिको सङ्घारबाट चराचर जगत्सहितको मानव सभ्यतालाई फिर्ता ल्याउनको लागि पहिचानवाद विकल्पविहनी भएको छ ।
२५ बैशाख '७७
चाबहिल

Sunday, May 3, 2020

किन छोड्दैनन् गोमांस संस्कृति ?



१.  विषय प्रवेश
शुरूमा मानिसले शिकार गर्न सिकेका थिए । पशुपङ्क्षी मारेर खाएका थिए । आजभन्दा छ, सात हजारअघिदेखि मात्रै खेतीपाती गर्न थालेका हुन् । अहिलेसम्म पनि खाद्यसंस्कृतिमा मासुले परिकारको सूचिबाट हट्नु परेको छैन । मान्छेले मात्रै मासु खाएका पनि होइनन् । अन्य थुप्रै प्राणीहरू छन्; जो मासु खान्छन् । कतिपयले आफ्नै सन्तान वा आफ्नै वर्गको पनि मासु खान्छन् । शाकाहारीका रूपमा चिनिएका वनस्पतिमध्ये कतिपयले मासु खाने प्रकृति विकास गरेका देखिन्छन् ।
गोमांस अर्थात् गाई वा गोरुका मासु खाने संस्कृति संसारभरि पाइन्छन् भन्दा फरक पर्दैन । अहिलेको हकमा हिन्दू बाहेककाले खान्छन् । यतिखेर गोमांस भोजन गर्ने प्रशस्त हिन्दू भइसकेका छन् । यद्यपि, नेपाल नामक देशमा गोमांस वर्जित र खुल्ला दुवै छ । गाईगोरु काट्न वा मार्न वा त्यस्ता कार्य गर्न गराउन पाइन्न भन्ने कानूनी व्यवस्था छ । त्यसैले कानूनतः वर्जित छ । अर्कोतिर मरेका गाईगोरुका मासु खानका लागि निश्चित समुदायलाई खुल्ला छोडिएको छ । त्यसो त खुल्ला पनि छ ।
वर्जित र खुल्ला दुवै भएकाले समस्या देखिनु स्वाभाविक हो । जिउँदोको मासु खान मिल्दैन । मरेपछि वा मरेकाको खाने हो । मर्ने चाहिँ दुर्इ प्रकारको हुँदोरहेछ । पहिले त मारेपछि मर्ने हो अनि अर्को भनेको विशेष कारण मरेपछि मर्ने हो । अब मरेर कि मारेर भन्ने प्रश्न उठ्छ । विपक्षीका लागि मरेर खाएका भएपनि मारेर भन्ने आरोप लगाउनु धर्म लाग्न सक्छ । कमजोर भएपछि मरेर खाएको भएपनि मारेर भन्ने आरोपमा जेलमा थुनिनु कुनै अनौठो हुने भएन । यो लेख भने विशेषतः ''किन छोड्दैनन् गोमांस संस्कृति ?'' सँग सम्बन्धित रहेको छ ।
२.  गोमांस संस्कृति
गोमांस शब्द संस्कृत भाषाबाट आएको स्पष्ट छ । 'गो' अर्थात् गाईगोरु र 'मांस'' अर्थात् मासु भनेर बुझेपछि गलत हुँदैन । यसैलाई तामाङले 'लङस्य' वा 'मे/म्हे स्य' भन्छन् । अङ्ग्रेजी बोल्नेले 'बीफ' वा 'भील' भन्छन् । अन्ततः गाई वा गोरुको मासु नै हो । तथापि, शब्दको चयन वा प्रयोगले विशेष अर्थ राख्छ । गोमांस भन्नेले अखाद्य मान्छन् । 'लङस्य' वा 'बिफ' लगायतका अन्य नामबाट बुझ्नेले खाद्य संस्कृतिको एक परिकार ठान्छन् । खानयोग्य मान्नेहरू गाईगोरु काट्छन् । हिन्दूहरूले काट्दैनन् । तिनीहरूका लागि त्यही काट्ने काम स्वतः हत्या हुन्छ । हत्या भनेपछि सजाय हुन्छ । काटेर खानु सामान्य कुरा भएकोले सजायको कुरै आउँदैन ।
यहीनेर हत्या कि काटेर खाएको भन्ने विषयले मानिसको दृष्टिकोण निर्माण गर्छ । हत्या वा बध शब्दका प्रयोग गर्ने हिन्दू हुन्छन् । काटेर खाएका भन्ने अहिन्दू कहिन्छन् । त्यसोभए हिन्दू र अहिन्दू मूल्य मान्यता के कस्ता छन् ? यी दुर्इ फरक संस्कृतिले कसरी हेर्छन् भन्ने बारेमा बुझ्न निम्नानुसार उपशीर्षकसहित हेर्नुपर्ने हुन्छ ।
(क) हिन्दू संस्कृति
हिन्दू संस्कृतिमा गोमांस भोज्य वा अभोज्य भन्ने बारेमा दुर्इ थरी मत रहेका देखिन्छन् । शुरूमा यो संस्कृतिले पनि गोमांसलाई भोज्य मानेको देखिन्छ । भन्छन्, मधुपर्कले कोरली गाईको मासुबाट बनेको परिकारलाई बुझाउँथ्यो । हिन्दू भनेर दाबी गर्नेलाई वैदिक पनि भन्छन् । वेद मान्ने भएकाले वैदिक भनेका हुन् । त्यसो त वेदको पनि पहिलो र प्रमुख चाहिँ ऋग्वेद हो । ऋग्वेदका दशौँ मण्डलमा गोमांसको प्रशस्त उदाहरणहरू देखिन्छन् । विवाह र दाहसंस्कारको बेला गोरुको मासु अनिवार्य मानिन्थ्यो । घरको जग राख्दा होस् वा पाहुना आउँदाखेरि गोमांस संस्कृति कायम थियो । कुन वर्गको पाहुनालाई कस्तो गाई, गोरु वा कोरली र कस्ता रङका भन्ने समेत उल्लेख गरिएका हुन्थे । गोमेद यज्ञको वर्णन पनि गर्दथे । यस सम्बन्धमा डा. सुरेंद्र कुमार शर्मा 'अज्ञात'ले आफ्नो पुस्तक ''क्या बालू की भीत पर खडा है हिंदू धर्म ?''मा स्पष्ट शब्दमा वेदको श्लोकसहित उल्लेख गरेका छन् ।
शुरूमा हिन्दूले गोमांसलाई खाद्यसंस्कृतिको एउटा परिकारको रूपमा मानेका थिए । पछि आएर एकाएक अभोज्यमा परिवर्तन गरेको पनि देखियो । खासमा भारतवर्षमा बौद्धको व्यापक चहलपहल भएपछि हत्या हिंसा र बलिप्रथाको व्यापक विरोध भयो । त्यतिखेर भारतवर्षमा सबैभन्दा धेरै गोमांस संस्कृति प्रचलित थियो । त्यसैले मासुको आपूर्तिका लागि सबैभन्दा बढी सङ्ख्यामा गाईगोरु मारिन्थे । बौद्धको विरोधका कारण हिन्दूले कम्तिमा पनि सबैभन्दा धेरै सङ्ख्यामा गाईगोरु काट्ने संस्कृतिलाई रोक्न बाध्य भयो । गोमांस रोक्नकै लागि सातौं शताब्दीतिर आएपछि एउटा नयाँ मिथको सिर्जना गरे । त्यसक्रममा कामधेनु गाईको कहानी बुने । उक्त गाईलाई मानिसको जननीको रूपमा व्याख्या थाले । अबदेखि गाई नै हिन्दूको माता भएकीले मारेर खानु त परैको कुरा, झुक्किएर गोडाले लागेछ भनेपनि आमालाई लात हाने बराबरको पाप लाग्छ भन्न थाले । आफूले खान छोडे छोडे; अरूलाई पनि खान पाइन्न भनेर वर्जित गर्न पछि परेनन् ।
(ख) अहिन्दू संस्कृति
गौमांससम्बन्धी अहिन्दूका पनि दुर्इ पाटा रहेका छन् । तिनमा आदिवासी जनजातीय समुदायगत पाटो एउटा र अर्को चाहिँ हिन्दूलाई समेत गोमांस संस्कृतिबाट छुटाउने भूमिका खेलेको बौद्ध धर्मावलम्बी पाटो पर्दछन् । बौद्ध धार्मिक मान्यताले कुनै पनि प्राणीको हत्या गर्न वर्जित गरेको छ । त्यसैले मासु संस्कृति सम्भव नै भएन । तथापि, आदिवासी जनजाति लगायतका अन्य अहिन्दूमध्ये गोमांसलाई खाद्य संस्कृतिको पाटो नमान्ने शायदै पाइएलान् ।
तामाङ जस्तो राष्ट्र (समुदाय)लाई सोध्ने हो भने गौमांस यसकारण पनि भोज्य रहेको छ कि, ज्वरोको बेला गोमांसलाई औषधीको रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्तैगरी एक प्रकारको 'स्योप्टो' (घ्यङसिङ) मन्साउने क्रममा पनि गोरुको बलि दिनुपर्ने हुन्छ । तामाङ भाषाविद् अमृत योन्जन-तामाङले उदृत् गर्नु भएअनुसार तामाङ गीत नै म्हेला स्यादेन म्ल्हाला कन ! खैमा तला बिमा ह्रङ !! अर्थात् भातसँग गोमांसको तरकारी ! कहिले पो होला भनेजस्तो !! स्मरण रहोस् कि, अमृत योन्जन-तामाङले ''कइरन'' मासिक वर्ष १ अङ्क ३ (१९९१)मा गोमांस सम्बन्धित विभिन्न लेखकका लेखहरू प्रकाशित गरेपछि कान्तिपुरले त मृत्युदण्ड दिनुपर्छ भनेर सम्पादकीय नै लेखेका बताउँछन् ।
३.  विश्वास पद्धति
हरेक मूल्य मान्यताका पछाडि विश्वास पद्धतिले काम गरेका हुन्छन् । विश्वास पद्धति बिना कुनै पनि संस्कृतिको जन्म सम्भव हुँदैन । निरन्तरता र निषेधको प्रश्नै बन्दैन । गोमांस भोज्य वा अभोज्य भन्ने सम्बन्धमा आ-आफ्ना विश्वास पद्धतिको फरक पाटा छन् । कसैका लागि भोज्य र औषधी समेत हो । कतिका लागि सोच्न पनि नसक्ने विषय हो । त्यसैले भोज्य वा अभोज्य मध्ये कुनै एकको मात्रै चर्चा गर्ने वा एउटाको पक्ष लिएर बहस गर्ने हो भने अति पक्षपाती हुनेछ । ठीक कि बेठीक भनेर खोज्ने र व्याख्या गर्ने हो भने निष्कर्ष निस्कने छैन । निष्कर्षका लागि त बीचमा बसेर समाजशास्त्रीय तथा मानवशास्त्रीय अध्ययन तथा व्याख्या विश्लेषण गर्नुपर्ने हुन्छ । यसको लागि पनि हिन्दू र अहिन्दू विश्वास पद्धतिलाई केलाएर हेर्नुपर्ने हुन्छ ।
(क)  हिन्दू विश्वास पद्धति
माथि नै उल्लेख गरिएअनुसार हिन्दूमा दुर्इ पाटा छन् । शुरुवाती पाटोमा गोमांस भोज्य थियो । गोमेद यज्ञबाट लाभ हुन्थ्यो । कुन बेला वा अवस्थामा कस्ता, कत्रा तथा कस्तो रङको गोमांस प्रयोग गर्ने भन्ने तोकिएको थियो । विवाहमा बधूले बरलाई स्वागतभोजमा कस्तो गोमांस खुवाउने भन्ने थियो । दाहसंस्कारका बेला काटिएको गोरुको बोसोको खोला पछ्याउँदै मृतकले पितृलोकमा पुग्नुपर्थ्यो । सातौं शताब्दीतिरबाट उल्लेखित विश्वास पद्धतिमा परिवर्तन गरियो । अब गाई आमा सरहकी भइन् । यसरी परिवर्तन गर्न नपाइने भन्ने हुँदैन । हिँजो खाइयो भन्दैमा आज र भोलि पनि खानैपर्छ भन्ने हुँदैन । परिमार्जन र परिष्करण जाहेज ठहरिन्छन् ।
त्यसैले अहिलेका हिन्दू (सनातनी/वैदिक) भन्नेका विश्वास पद्धतिमा गोमांस अभोज्य भइसकेको छ । यसको दूधको महिमा व्यापक छ । यसले दिने गोबर र गहुँतको औषधीय गुण अपरम्पार छ । यसले निकाल्ने 'आमाSSS' (बाँSSS) ध्वनिलाई बुझ्न सकेमा मात्रै पनि जीवन धन्यताको सुमार्गतिर लाग्नेछ । कसैले गोमांसको भोजन गर्छ भने, ऊ सिधै नरकको भागिदार हुने सुनिश्चित छ ।
यस्तैगरी हिन्दूभित्र कम्तिमा पनि दयाभाग र मिताक्षर जस्ता सम्प्रदायका मूल्य मान्यतालाई हेर्न सक्नुपर्दछ । साक्त, शैव, वैष्णव र कृष्णप्रणामी लगायतका फरक मतलाई केलाउनु पर्दछ । हिन्दूभित्रको सार्की भनिएकामा प्रचलित मूल्य मान्यता र गोमांसलाई अलग्गै राखेर हेर्नुपर्ने हुन्छ । यो देशले सार्की र तामाङलाई गाईगोरुका सिनोका लागि 'मेक्चन' (मेगजिन) नामक कर असुलेको थियो ।
(ख)  अहिन्दू विश्वास पद्धति
अहिन्दू विश्वासभित्र पनि माथि नै भनिएजस्तै बौद्ध र अबौद्ध मान्यताका मूल्य मान्यता फरक हुन्छन् । यहाँ भने गोमांसको प्रसङ्ग भएकोले बौद्ध बाहेका विश्वास पद्धतिलाई हेर्ने प्रयास गर्नुपर्ने देखिन्छ । खासमा नेपाली समाजमा तामाङ, थकाली र किरात लगायतका सभ्यतायुक्त राष्ट्रहरूका विश्वास पद्धतिलाई छुटाउन मिल्दैन । त्यस्तैगरी तरार्इ क्षेत्रमा रहेका केही समुदायको पीडा पनि भुल्नु हुँदैन ।
तामाङ, थकाली र किरात सभ्यतामा गोमांसहार पहिलेदेखि नै थियो । अहिलेसम्म पनि प्रचलित छ । यसले कहिल्यै छोडेन र छोड्ला जस्तो पनि छैन । यिनीहरूका देउकुल (तामाङको लसोल) अर्थात् कुलपूजा पनि भन्ने गरेका पूजाको लागि गोरु बलि अनिवार्य रहेको देखिन्छ । शाहकाल शासनसँगै किरात सभ्यताका राष्ट्रले गोरुको भुत्ला राँगामा सारेका भन्ने पनि देखिएका छन् । कतिपयले गोरुको सिङ मात्रै राखेर प्रतीकात्मक बलि दिएका भन्ने पनि पाइन्छन् । थकालीका कुलपूजामा चारवटासम्म गोरुका टाउको चाहिन्थ्यो भन्छन् । तामाङको कतिपय ह्रुइ (सिन्धुली मावरको थोकर लामा लगायत)ले आफ्नो लसोलको क्रममा गोरुको बलि दिन्थे । अहिले पनि प्रतीकात्मक रूपमा भएपनि दिन्छन् । सिनोको टुक्रा भएपनि लगेर बलि दिन्छन् ।
तामाङ समाजमा प्राप्त एकथरी मान्यतानुसार शुरूमा समुद्र, जमीन र देउता आठ आठ रहेछन् । मान्छे भने नौ जना भएछन् । भागबण्डाको क्रममा एकजनालाई त नपुग्ने नै भयो । नपुगेको मान्छेका लागि नयाँ देउता खडा गरेछन् । देउतालाई गोरुबलि दिनुपर्ने भएछ । गोरुलाई तामाङ शास्त्रीय भाषामा 'लङ' भन्दछन् । त्यसरी 'लङ' बलि दिने मान्छेको ह्रुइ पनि 'लङकोर' राखेछन् । तेमालका तम्बा गन्बाका अनुसार लङकोर (लामाखोर)का लसोल (कुलपूजा) गर्दा गाई/गोरुका टाउको भएपनि राख्नैपर्ने हुन्छ । यो देशको सत्ताले गोरु काट्न नदिएपछि यो ह्रुइको लसोलमा व्यापक समस्या देखापर्दै आएको हो । समाधानको लागि नयाँ मान्यता बनाए; जसअनुसार यो ह्रुइको लसोल गरेपछि त्यसको प्रतापले गाउँको कुनै पनि गाई वा गोरु कुनै पनि व्यहोरावश मर्नु वा मारिनु पर्दछ । यदि मर्‍यो भने लसोल सफल र मरेन भने असफल भयो भन्ने विश्वास गर्दछन् ।
४.  उपचारविधिमा गोमांसको महत्त्व
उपचारविधिमा औषधीमूलो गर्ने, झारफूक गर्ने साथै मन्साउने तार्ने जस्ता उपायहरू आदिवासी सभ्यताको प्रमाण हो । तामाङ लगायतका हिमाली सभ्यतामा 'अम्ची' (आम्ची) विधा निकै पुरानो मानिन्छ । तामाङमा नै बाँचुञ्जेल उपचार गर्ने जिम्मा बोम्बो (अम्ची- जडीबुटी) साथै मरेपछि तारिदिने चाहिँ लम (लामा)को मान्दछन् ।
विश्व मानव सभ्यतालाई हेर्ने हो भने उपचारको क्रममा जडीबुटी, तन्त्र, मन्त्र र यन्त्रका प्रयोग पाइन्छन् । आधुनिक उपचार पद्धतिको अतिरिक्त हिलिङ/सम्मोहन साथै आखेटोपहारका प्रयोग पनि प्रशस्त हुन्छन् । अनेक रोगका लागि सोही अनुसारका आखेटोपहार प्रयोग हुने हुनाले नै अवैध धन्दाको रूपमा फस्टाएका पनि पाइन्छन् । यस्तैगरी तामाङ उपचार पद्धतिमा 'मेस्या' (गोमांस)लाई औषधीको रूपमा साथै तार्ने मन्साउने क्रममा प्रयोग गर्दछन् ।
(क)  औषधीय प्रयोग
     मानिसको शरीरमा ज्वरो आउनु सामान्यदेखि असामान्य दुवै मान्नुपर्ने हुन्छ । कुनै ज्वरो सामान्य र साधारण हुन्छन् । कतिपय ज्वरो भने असामान्य/अस्वाभाविक तथा खतरनाक पनि हुन्छन् । तामाङ परम्परागत मौलिक उपचार विधिमा मेस्यलाई पनि औषधीको रूपमा प्रयोग गर्दछन् । विशेषतः ज्वरो आएको अवस्थामा गाईगोरुका मासुलाई औषधीको रूपमा प्रयोग गर्छन् । विश्वमा गौमांसलाई अझै पौष्टिक मानेका पाइन्छन् ।
(ख)  तार्ने मन्साउने पद्धति
तामाङ बोम्बो उपचार विधिमा तार्ने र मन्साउने पद्धति पनि हुन्छन् । बोम्बो विश्वास अनुसार बिमार पर्नुमा कुनै शक्तिको हात हुन्छ । त्यस्ता अनेक शक्ति हुन्छन्; जसले पिरेपछि बिमार हुन पुग्छन् । खासमा तिनले सम्बन्धित मानिस वा पशुपङ्क्षीलाई आफ्नो आहार बनाउन खोजेको हुन्छ । कतिले फ्याट्टै प्राण लिन्छन् त कतिले पिर्छ मात्रै । कतिले पिरेर बिस्तारै-बिस्तारै गरी अन्ततः मार्छन् । त्यस्तो अवस्थामा पनि उपाय लगाउन सकिन्छ । सकेसम्म बोम्बोले झारफूकको क्रम चलाउँछ । झारफूक गरेर नसकेमा तार्न वा मन्साउन थाल्छन् ।
तार्ने वा मन्साउने क्रममा बिमारीको सट्टा खाद्यबस्तु तथा पशुपङ्क्षीका बलि दिन्छन् । बलि दिनुको मुख्य अभिप्रायः बोम्बो आफ्नै निमित्त खानाको जोहो गरेको भन्ने गम्भीर आरोप लगाउने गरेका छन् । यो आरोपमा तथ्यता पनि देखिन्छ । यद्यपि, बलिको अर्थ खानाको जोहो भन्दा पनि बिमारीलाई निको पार्नु हो । अनेक कारण अहिले यो पद्धति अविश्वसनीय भएको हो ।
तामाङ समाजमा 'स्योप्टो' (घ्यङसिङ) हुन्छ भन्ने विश्वास पाइन्छ । यो विश्वास अनुसार 'स्योप्टो'मा पनि कुखुरा, बाख्री र गोरुको मासु खाने गरी कम्तिमा पनि तीन प्रकारका हुन्छन् । यसले छोएमा वा पिरेमा हातगोडाका जोर्नी तथा हड्डी दुख्न थाल्छन् । कटकटी खाएर सहन नसक्नेसम्म हुन्छ । कतिपय ह्रुइका तामाङको मूलढोकामा सिधा उभिनु हुँदैन भन्छन् । उभिएको अवस्था 'स्योप्टो'ले हान्छ र बिमारी पार्छ । यसलाई पनि झारफूक गरेर निको पार्न सकिन्छ । मासु खाने प्रकारको रहेछ भने मासु नदिई हुँदैन । त्यस्तैमा गोरुको मासु खाने स्योप्टो लागेको रहेछ भने अन्य उपाय रहँदैन । अहिले पनि गोरुको प्रतीक स्वरूप सिनोले टार्ने गरेका पाइन्छन् ।
यस्ता क्रियालाई अन्धविश्वास भन्न पनि सक्छन् । यसलाई अन्धविश्वास होइन पनि भन्न सकिन्न । त्यसो त गाईलाई आमा मान्ने साथै गोबधको कानून बनाएर सजायको व्यवस्था गर्नुलाई चाहिँ वैज्ञानिक भन्न सकिन्न । त्यसैले गोहत्या वा गोबध अपराध हो भन्ने हिन्दू मूल्य मान्यता पनि अन्धविश्वासको एक स्वरूप नै हो । त्यसैले यस्ता विषयलाई वैज्ञानिक वा अन्धविश्वास भन्नुको सट्टा मौलिक सांस्कृतिक पाटोको रूपमा लिन र बुझ्न सक्नुपर्दछ । 
यस्ता मान्यतामा परिवर्तन अन्यले भन्दा पनि समुदायका अभ्यासकर्ता स्वयम्ले गर्दै जाने कुरा हो । आफूले नखाँदैमा अरूले पनि नखानु भन्नु न्यायसङ्गत हुँदैन । हिन्दूले पुज्दैमा अन्यले पनि पुज्नुपर्छ भन्न मिल्दैन । एकले मनेपछि अर्कोले पनि मान्नैपर्छ भन्ने हो भने रार्इले खसी खाँदैनन् । त्यसैले हिन्दूले पनि नखानु भन्न कहाँ युक्तिसङ्गत हुन्छ र ? आफ्नो मान्यता ठीक अनि अन्यका कुरीति भन्नु धार्मिक सहिष्णुता तथा सद्भावमा खलल पुर्‍याउने कार्य हुन्छ ।
५.  के कतिसम्म गरे गोमांसको लागि ?
नेपाली समाजमा हेर्ने हो भने गोमांसका लागि हुने नहुने गरेका भन्न सकिन्छ । यसमा पनि हिन्दू र अहिन्दूका रुपमा निम्नानुसार स्पष्ट पार्न सकिन्छ ।
(क)  हिन्दू राज्यसत्ता
नेपाललाई हिन्दू राज्यसत्ताको रुपमा विकास गरिएको थियो । त्यसैले राज्यसत्ताले गोमांसमाथि एक किसिमको प्रतिबन्ध लगाउँदै आयो । परिणामतः माथि उल्लेख गरिएजसरी तामाङ, थकाली र किरातहरूले आफ्नो लसोल (कुलपूजा) गर्न पाएनन् । राज्यसत्ताले हिन्दूको मात्रै धर्म, मूल्य, मान्यता र कुलपूजालाई मान्यता दिँदै आयो । अन्यका माथि प्रतिबन्ध लगाइरह्यो । संविधानमा पनि गाईगोरुका कुरा उल्लेख गरे । गाईलाई राष्ट्रिय जनावर बनाए तर यहीँका आदिवासी जनजातिलाई गाईगोरुभन्दा पनि तल राखे । तिनका पक्षमा केही व्यवस्था गरेनन् । उल्टै अङ्कुस् मात्रै लगाउन छोडेनन् । जानी-जानी गौबध भन्दै फसाउनुमा आत्मगौरव गरेर अपराधको प्रकरणलाई तन्काउँदै आयो । केही वर्षअघि गोर्खाका निर्दोष लाक्पा तामाङलाई गोली प्रहार गरी हत्या गरे । विरोधमा आवाज उठ्ने नै भयो । त्यसपछि गौबधको झूठो आरोप लगाउनसमेत यो राज्यसत्ता पछि परेन । अहिले धेरै स्थानमा प्रहरीले नै गौबधको आरोप लगाउने र बार्गेनिङ गरी ठग्ने एउटा माध्यम बनाएका भन्ने जनगुनासा बढेका देखिन्छन् । 
यो नेपाल नामक देशमा अहिन्दूहरुमाथि हिन्दूसत्ताको जन्मदेखि नै तरह-तरहका शोषण, दमन साथै विभेद जारी रह्यो । मरेको र खाएको भन्ने बेलामा तामाङको छोरोले मारेको र खाएको भन्यो रे भन्दै जेलमा कोचेर खुबै पुरुषार्थ प्रदर्शन गर्दै आयो । कयौं तामाङको घरबार बर्बाद पार्दै आयो । यो तामाङको छोरोले मरेको भन्न नजानेर मारेको भनेको हो भन्ने तथ्य थाहा पाएरै पनि कालो नियत राखेर फसाइरह्यो । यो मानवता विरोधी अक्षम्य अपराध थियो । अझै पनि यो देशमा सरकार चलाइरहेको ओलीको 'पार्टी धामी र झाँक्रीहरूले चल्दैन' भन्ने विश्वासमा कमी आएको देखिएन ।
उदारहणको लागि खदाप्रतिको प्रहारलाई लिन सकिन्छ । बौद्धधर्म, सम्भोट लिपि र खदा संस्कृतिलाई प्रधानमन्त्रीको कुर्सीमा बसेर गरेको अपहेलापूर्ण सम्बोधन लोकतान्त्रिक कुनै पनि हालतमा थिएन । वास्तवमा त्यो मान्यता र भनाई सिधै जातीय द्वैष फैलाउने, नश्लीय एकता तथा धार्मिक सहिष्णुतालाई भड्काउने र खलल पार्ने खालकै थियो । त्यतातिर कसैको ध्यान गएन । अन्ततः खदालाई समाप्त पार्न ढाकाको बेकामे गलबन्दीलाई स्थापित गर्न गराउन हदैसम्मको अन्यायपूर्ण रबैया अपनायो । सत्ता र शक्तिको व्यापक दुरुपयोग गर्दै खदालाई सीमित पार्दैछ । 
भन्छन्, यो सतीले सरापेको देश हो । कसैका पनि समयमा सही बुद्धि आउँदैन । ओली संलग्न यो देशको कथित सत्तालाई हिन्दू, हिन्दूत्त्व, गाई साथै हिन्दू एकात्मक तथा एकाङ्की अन्धो राष्ट्रवादको ठूलो घमण्ड देखिन्छ । हिन्दूमात्रै महान् भन्ने गहिरो छाप प्रदर्शन गर्दैछ । यहीनेर तामाङ लगायतका अन्य राष्ट्र समुदायले यो नेपाल नामक देश, यसले अहिलेसम्म अवलम्बन गर्दै आएको, भाषा, धर्म, संस्कृति र मान्यतालाई हत्यारका हतियार ठाने भने के होला ?
मानौं तामाङको छोराले यी सबैलाई आफ्नो शत्रु ठान्यो भने के होला ? मेरो तामाङ मात्रै महान् हो । ओलीको लागि नेपाली भनिएको राज्यसत्ता, यसको भूमि, यसको सार्वभौमसत्ता जीवनभन्दा ठूलो भनेजस्तैगरी तामाङले तामाङ राष्ट्र, तामाङ राष्ट्रियता, भाषा, धर्म र संस्कृति मात्रै महान् हो । हिन्दूसत्ता भनेको दुश्मन मात्रै हो भन्दै सोही अनुसार अघि बढ्ने हो भने के होला ? ओलीले जातीय, धार्मिक तथा सांस्कृतिक अहमता राख्नु उचित हुन्छ भने तामाङको छोराले त्यस्तैगरी तामाङ राष्ट्र, राष्ट्रियता, धार्मिक साथै सांस्कृतिक अहमता राख्न किन नपाइने ?
यो देश निर्माणका नाममा तामामाङको भूमि लुटेका थिए । पुर्खाका शीर गिँढेका थिए । चेलीबेटीलाई केटीस्या बनाएका थिए । दादा, मामा र पीपा बनाएर दबाएका थिए । तिनका एक-एक क्षतिपूर्ति माग्ने र नपाएमा शत्रुका विरुद्ध लड्नु नै जीवनको एउटै मात्र धर्म हो भन्ने भावना जागृत भयो भने ओलीले धान्न सक्ला ? मै हुँ भन्ने कथित स्वनामधन्य नेताले सम्बोधन गर्न सक्छन् ?
कुनै जमानामा आफैँले पनि खाएको गोमांस आफूले खान छोडेपछि अन्यले पनि खान नपाउने भन्नु मानवता विरोधी सोच तथा स्वजातीय अहमताको पराकाष्टा हो । दुःखको कुरो, गणतन्त्र नेपालको घोषणासँगै गाईलाई राष्ट्रिय जनावरमा राख्नुलाई जीवनमरणको मुद्दा बनाए । अन्यका कुलपूजा तथा उपचारको क्रममाथि संविधानमा व्यवस्था गरेर विभेद तथा दमनको चक्र चलाउन छोडेन । अन्यले आफ्नो मौलिक पहिचानमूलक संस्कार संस्कृतिका लागि आवाज उठाउँदा जातीय/नश्लीय तथा अराष्ट्रिय तत्त्वको रूपमा चित्रण गर्ने पुरानो परम्परालाई रत्तिभर छोडेन ।
हिन्दूत्त्वलाई राष्ट्रियताको प्रतीक मानिरह्यो । राष्ट्र र राष्ट्रियको गलत व्याख्या विश्लेषणको शृङ्खला मच्चाइरह्यो । हिन्दू हुनु वा हिन्दू जस्तै हुनुलाई उन्नत तथा नेपाली राष्ट्रियता हो भन्ने महेन्द्रीय राष्ट्रवादलाई शीरोपर गर्न छोडेन । गोमांस संस्कृतिलाई राक्षसी वा शैतानीकरण गर्ने क्रममा स्वयम् प्रधानमन्त्री नै मरिमेटेर लागिरह्यो । नारी राष्ट्रपतिले नै पहिलो महिनाको तलब पशुपतिलाई दिएर हिन्दूत्त्वको पक्षमा अडिक रहेको स्पष्ट पारिन् । वि.सं. २०७६ सालमा सोनम ह्लोछर मान्ने तामाङ राष्ट्र दिएको निम्तोलाई अन्तिम अवस्थामा 'ताम्सालिङ'को नारा जोडेको भन्दै अस्वीकार गरिन् । यसप्रकार एकताको नाममा बहुलतालाई पूर्णतः अस्वीकार गर्दै एकछत्र हिन्दू तोरीबारी बनाउने कर्ममा अडिक रहिन् । वास्तविकतामा यो अत्यन्त लज्जास्प्रद साथै नाङ्गो ताण्डप नृत्य सावित हुँदैछ । यसको परिणाम कुनै दिन अवश्य प्रकट हुनेछ ।
(ख)  अहिन्दू राष्ट्रियता
गोबधको आरोपमा धादिङको सेमजोङ नरसंहार मच्चाएका थिए । सेमजोङे राजाको समेत ज्यान लिएका थिए । त्यसरी भूमि र प्राण गुमाउनु पर्दा समेत तामाङले गोमांस छोडेन । त्यसपछि निरन्तर यो देशका हिन्दू राज्यसत्ताले गोहत्या र गोबधका कथित मुद्दामा तामाङको हुर्मत् लिन छोडेन । तामाङले निरन्तर गोमांसलाई भोजनको परिकार बनाई रह्यो । सर्वस्व मात्रै होइन, भूमि र प्राण पनि दाउमा राख्न पछि परेन । कथित राज्यविरुद्धको विद्रोहलाई जारी राख्यो । पहिचानको पक्षमा जानेर वा नजानेरै भएपछि लड्न छोडेन ।
तामाङ समजमा ''खाई सार कि लाई सार ! मरेपछि लम्पसार ! खानैका लागि जन्मेका हौं । खाएरै मर्ने हौं'' भन्ने मान्यता रहेको देखिन्छ । यस्तो समाजमाथि निर्लज्जताका साथ भावनात्मक रूपमा खुल्लमखुल्ला सामूहिक बलात्कार गर्दै आएको राज्यसत्ताले अब पनि समयमै सोच्न नसक्ने हो भने भोलि तामाङ लगायतका आदिवासी जनजातिले हामी नेपाली सत्तालाई मान्दैनौं । हामी नेपाली होइनौं । नेपालीत्त्व भनेको शत्रु हो । यो नेपाली अन्धो राष्ट्रवाद भनेको हाम्रा पुर्खाका हत्यारा हो । लुटेरा र बलात्कारी हो । यिनका विरुद्ध सङ्घर्ष गर्नु नै जीवनको पहिलो दायित्व र धर्म हो भन्न बाध्य भएछन् भने के होला ? सतलज क्षेत्रमा नेपाली सेनाले कुनै जमानामा ज्यादती गरेका थिए । ती अमानवीय हर्कतलाई गीति स्वरूपमा इतिहासकरण गरेका पनि देखिएका छन् । त्यस्तैगरी हिन्दू इतर भूमिपुत्रले गाउन थालेमा के होला ?
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, भाषा र जीवनदर्शन भनेको मासेर वा दबाएर समाप्त हुने कुरा होइन । यो त जत्ति दबायो; उत्ति उफ्रिन्छ । यहाँका भूमिपुत्रले बारम्बार यो कथित नेपाली सत्ताको विरुद्ध विद्रोह गरेका इतिहास जगजायर छन् । भोलि यो क्रम पुनः आउँदैन र आउनु हुँदैन भन्ने तर्क कुनै पनि आधारमा वैज्ञानिक र न्यायोचित हुने छैन । त्यसर्थ गोमांसलाई भोज्य परिकारको रूपमा निरन्तरता दिनुलाई राज्यसत्ताको एकल जातीय रवैया विरुद्धको प्रतिकार वा विद्रोह भन्नुपर्ने हुन्छ । विभेदकारी राज्यसत्ताको अपहेलना तथा त्यसको सत्तालाई नमानेको प्रमाण भन्ने बुझ्नुपर्छ । यो उनीहरूका नैसर्गिक तथा मौलिक अधिकारको अकाट्य स्वरूप पनि हो ।
६.  राजनीतिक मान्यता र प्रतिकारात्मक पक्ष
राजनीतिलाई स्थीरता चाहिन्छ । स्थीरताका लागि शक्ति आवश्यक हुन्छ । शक्तिको लागि मूल्य मान्यता, दृष्टिकोण, सिद्धान्त वा दर्शन हुनुपर्दछ । कुनै पनि सामाजिक, सांस्कृतिक तथा धार्मिक अस्तित्त्व/अवधाराणा/मान्यताले स्थान (स्पेस) ग्रहण गर्ने क्षमता राख्छ । त्यही क्षमताले सत्ता सिर्जना गर्छ अर्थात् सत्ता बनाउँछ । त्यही सत्ताले अर्को विपरीत सत्तालाई उल्टाउँछ/पल्टाउँछ/लडाउँछ । त्यसपछि प्याराडाइममा परिवर्तन सम्भव हुन्छ । विपक्षी सत्तालाई लडाउनका लागि दुर्इ पाटा हुन सक्छन्; जस्तै : त्यहीँ प्रवेश गरेर कू गर्ने वा सट्टामा आफ्नो बेग्लै सत्ता बनाउने ।
जङ्गबहादुरलाई बदलाको लागि विवाह गरेकी कन्न्याले अन्ततः जङ्गबहादुरलाई मार्न सकिनन् । त्यस्ता मार्गबाट हिँड्दा आफ्नै किसिमको विवशता थापिँदोरहेछ । उदाहरणको लागि भर्खरै ३ नं. प्रदेशको नामाकरण तथा राजधानी तोक्नेक्रममा पुनः एकपटक देखियो । मुख्य बिन्दूमा प्रवेश गर्नुअघि नै पार्टीले ह्वीप जारी गरिदियो । त्यहाँभित्र पुगेकाले निश्चित समयमा कू गर्ने वा विद्रोह गरी असफल पार्न सक्नुपर्ने थियो तर त्यस्तो भएन । अर्कोले भोज खुवाइरहेको छ भने आफूले वीष खुवाउन सकिन्न । त्यस्तो अवस्थामा अरूले नै भोजनमा सुटुक्क वीष मिर्साई दिँदारहेछन् । परिणामतः आफैँ समाप्त हुनुको विकल्प नहुँदोरहेछ ।
त्यस्तो अवस्थामा अरुले आयोजना गरेका भोजमा सामेल हुने होइन । बरू आफैँले भोजको आयोजना गर्न सक्नुपर्छ । हैन भने बहिष्कार गर्न वा भाँड्न वा कू गर्न सक्नुपर्छ । यहाँ दुर्भाग्यपूर्ण नियती के बन्यो भन्दाखेरि, यी सबै कर्म गर्न नसक्ने गरी पहिले नै ह्वीप मार्फत् विवशताको जञ्जीरमा पारिसकेका थिए । त्यसैले अरूका भरमा छोरो पाल्न सकिँदैन । सत्ता चाहनेले पहिले आफ्नो बेग्लै सत्ता बनाउन सक्नुपर्छ । बेग्लै पनि नाम मात्रैको नभएर पूर्णतः सारमा समेत बेग्लै बनाउन सक्नुपर्छ । त्यसपछि बल्ल लडाउने खेल शुरू हुन्छ । निश्चित नियममा बसेर खेल्ने अवसर मिल्छ । त्यतिसम्म भएन भनेपनि वार्ताका लागि पूर्ण हैसियत निर्माण हुन्छ । यहीँनेर पहिचानवादी चुक्तै आएका छन् । आफ्नो परम्परागत मौलिक पहिचानको सत्तालाई थुक्ने तथा समाप्त पार्ने अनि अर्कोको सत्तामा भाग खोज्ने गोबरे बुद्धि हो । 
यहाँ स्पष्ट पार्न खोजिएको चाहिँ, राजनैतिक मान्यता र प्रतिकात्मक पक्ष बढो गम्भीर विषय हुन्छन् । यसलाई राज्यसत्ताले पनि खेलाँचीको रूपमा लिन हुँदैन । म त सक्ने भएँ भन्ने अहमता राखेर समभाव र सहचारिताको मार्ग छोड्ने हो भने व्रि्रोहको फ्युज फाट्छ । महासङ्ग्रामको मैदानमा धकेलिन पुग्छ । अन्ततः वार कि पार हुनेगरी युद्ध गर्नुको विकल्प हुँदैन । कतै गोमांस संस्कृति नै त्यसको मूल कारण नबनोस् भन्ने सबैको मनसुव हुन आवश्यक छ । अबको राजनीतिले गाईको पुच्छर समातेर वैतरणी तर्छु भन्छ भने त्यो भन्दा मुर्खता अरू के नै होला र ?
(क)  सामाजिक सांस्कृतिक पक्ष
हरेक समाजिक सांस्कृतिक पक्ष वा मूल्य मान्यता कुनै न कुनै तरवबाट सत्तासँग जोडिएका हुन्छन् । त्यसैले कथित सत्ताहरू आफ्नो आयू लम्ब्याउनका लागि सामाजिक सांस्कृतिक पक्षमाथि हमला गर्दछन् । आफू खुशी व्याख्या गर्दै समाजमा हुइयाँ मच्चाउँछन् । नश्लीय तथा वर्गीयताको आधारमा ऊँच नीँचको तराजू बनाउँछन् । सत्ताधारीका हरेक पक्ष उत्कृष्ट भन्ने मान्यता स्थापित गराउँछन् । अर्को पक्षमाथि हीनता तथा लघुताभास गराउने खालका अनेक जालसाजपर्ण हर्कत गर्छन् ।
आफ्नो पक्षलाई दैवीकरण गर्छन् । अर्को पक्षलाई दैत्यकरण गर्दै दमन गर्नु पनि न्यायोचित हो भन्ने मान्यता बनाउन हदैसम्म गिर्छन् । सोही आधारमा मपाईँत्त्वको ढोङ्ग मच्चाउँछन् । नेपाली सामाजिक सांस्कृतिक पाटोलाई हेर्न हो भने पनि स्पष्ट देख्न सक्छौं । यहाँ बाहूनलाई सबैभन्दा ठूलो देखाउन ब्रह्माको मुखबाट निस्कृको हावादारी हुइयाँ मच्चाए । त्यहीक्रममा क्षेत्रीलाई पाखुरा, वैश्यलाई पिठ्यूँ साथै शुद्रलाई पाउबाट जन्मेका भन्ने मान्यतालाई सामाजिक सांस्कृतिक रुपमा स्थापित गराए । त्यसपछि गाईगोरुका मासु खानेलाई नरकको भागिदार बनाए । सुङ्गुरको मासु खानेलाई लिँड भनेर सम्बोधन गर्न थाले । आफूले खाने खसीको मासुलाई दैवीकरण गर्‍यो । सहीअर्थमा विद्वान् विदुषी साथै मानव भन्नेका लागि यी सबै अशोभनीय मात्रै नभएर एक प्रकारले दण्डनीय हर्कत थिए । 
(ख)  धार्मिक पक्ष
धर्मलाई कार्लमार्क्स भन्नेले अफिमको डल्ला भनेको थिए रे । हुन पनि नेपाली समाजमा विशेषतः अहिन्दूका लागि हिन्दूधर्म अफिम सावित हुँदै आएको छ । यसले अन्य धार्मिक मूल्य, मान्यता तथा समुदायलाई कहिल्यै उठ्न दिएको छैन । कहिल्यै उठ्न नसक्नेगरी दबाउनका लागि राज्यसत्ताको गलत प्रयोग गर्न समेत लाज मानेन । कथित संविधान तथा ऐन कानून बनाएर हिन्दूत्त्वलाई अब्बल ठहराउन अनेक हतकण्डा अपनाउँदै आएको छ ।
यसक्रममा अहिन्दू भूमिपुत्रका नृसंस हत्या गरेका हत्यारालाई बिष्णुको अवतार भनेर वैधानिकीकरण गर्ने दुष्प्रयास गर्दै आयो । धार्मिक आस्थाकै आधारमा अन्यलाई हीनभावको कुवामा गाडेर राख्यो । हिन्दूधर्म र हिन्दूमार्गीले गाईलाई पुज्ने हुनाले ठूलो भन्ने अवधारणा जबरजस्ती लाद्दै आयो । गौमांस खाएकै आधारमा तल्लो धार्मिक समुदाय भन्ने मान्यतालाई बढावा दिँदै आयो । हिन्दूधर्मका लागि सर्वत्र स्वतन्त्रता अनि अन्यका लागि जताततै काँढेतारबार मात्रै लगाइरह्यो । विशेषतः वैश्य र शुद्रलाई क्षेत्री तथा बाहुनको सेवा नै धर्म भनेर सर्वथा अनुचित शिक्षा जबरजस्ती घोकाउन लाज मानेन । दुखद् पक्ष यहाँका आदिवासी जनजाति वा आफूलाई राष्ट्र भन्ने भूमिपुत्रहरूले आफूहरु हिन्दू नभएकाले यो वर्ण व्यवस्थाभन्दा बाहिरको समुदाय हौं भन्ने बुझ्नै सकेनन् । परिणामतः साढे दुइसय वर्ष पुग्नै लाग्दासमेत अन्यौलताको भूमरीबाट उम्किन सकिरहेको छैन ।
(ग)  राजनीतिक पक्ष
राजनीतिमा साम, दाम र दण्डभेदको नीति पनि जायज मान्छन् । बिष्णु पुराणमा बिष्णुले लक्ष्मीलाई भनेको हुन्छ- कसैले कसैमाथि अनीति गरेको रहेछ भने त्यस्ता अनीति गर्नेमाथि सजाय स्वरूप त्यसले गरेको अनीतिभन्दा पनि ठूलो अनीति गरे पनि त्यो नीति नै ठहर्छ । भनेपछि, कसैले आँखा तरेछ भने त्यसको आँखामा घोचिदिनु पनि नीति हुने भयो । कसैले कानून मिच्यो भने जात हेरेर मृत्युदण्ड वा बाँदा बनाए पनि न्याय हुने भयो ।
यस्तो मान्यतामा आधारित हिन्दूसत्ताले अन्यमाथि दमन गर्ने र त्यसलाई वैधानिकता दिलाउन अनेक हर्कत गर्दै आएको छ । अब अहिन्दूले पनि, अहिलेसम्म हिन्दूले अहिन्दूमाथि गरेका अनीतिका सजाय स्वरूप हिन्दूले अहिन्दूमाथि गरेका अनीतिभन्दा पनि ठूलो अनीति गरेछन् भने तापनि बिष्णुपुराणकै आधारमा त्यस्ता कार्यलाई नीति नै मान्नुपर्ने हुन्छ । यस्तै सोचको विकास भयो भने के होला ?
गोमांस खानेलाई तल्लो देखाउनकै लागि संविधान तथा ऐन कानूनमा गोबध भन्दै अपराधको सूचिमा राखेका छन् । यहीनेर बुझ्नुपर्ने के हो भने, राजनीतिशास्त्रको जन्मदाता अरस्तु हुन् । अरस्तु विश्व विजेता भनिएको अलेक्जेण्डरका गुरु थिए । एक समय पर्सियामा अलेक्जेण्डर विरुद्ध विद्रोह भएको थियो । उक्त विद्रोहको बेला अलेक्जेण्डर युद्धको क्रममा अन्तै पुगिसकेका थिए । पर्सियनले अरस्तुकी श्रीमती हरमियाजलाई भेट्टाए र सुलीमा चढाएर मृत्युदण्ड दिए ।
त्यसपछि पागलजस्तै भएका अरस्तुले एसियाका जातिहरूलाई सदाका लागि दबाइराख्नको निमित्त एउटा नयाँ सिद्धान्त नै प्रतिपादन गरे । त्यसको मुख्य ध्येय भने एसियनहरू आफ्नो लागि आफैँ शासन गर्न योग्य तथा सक्षम छैनन् । त्यसैले एसियनहरू युनानका अधिनमा रहनुपर्छ भन्ने थियो । यसप्रकार के भन्न सकिन्छ भने, राजनीतिशास्त्र भनेको राजनीतिको बारेमा अध्ययन गर्ने शास्त्र हो । जसको जन्मदाता अरस्तु नै हो अर्थात् राजनीति भनेको एसियनमाथि युनानीको शासनलाई स्थापित गर्ने र वैधानिकता दिनका लागि प्रतिपादित सिद्धान्त हो । भन्नुको अर्थ, राजनीति भनेको भूमिपुत्रमाथि फिरिङ्गेको सत्ता स्थापित गराउने हतियार मात्रै हो । त्यसैले राजनीतिबाट भूमिपुत्रको वास्तविक मुक्ति सम्भव छैन । यसको एकमात्रै उपाय चाहिँ भूमिपुत्रले आफ्नो बडी-पोलिटिकको अभ्यास दोहोर्‍याउनु हो ।
नेपालमा तामाङ लगायतका भूमिपुत्रहरू राजनीतिमा पछि परेको बताउँछन् । यसको कारण पनि यही हो; हिन्दू राज्यसत्ता भनेको राजनीतिमा आधारित रहेको छ । यहाँका भूमिपुत्रका मूल्य मान्यतामा राजनीति भन्ने नै छैन । उनीहरूसँग 'बडी-पोलिटिक' मात्रै छ । बडि पोलिटिक अङ्ग्रेजी शब्द भयो । उदाहरणको लागि तामाङ समाजमा शासनप्रणाली भन्ने नै देखिँदैन । यिनीहरूसँग त समाज सञ्चालनको विधि तथा अङ्गहरू हुन्छन्; तिनमा बोन (बोम्बो), तम्बा, लामा, गन्बा, मुइमू र ह्युल्बा आदि हुन्छन् । त्यसैले तामाङ समाजमा शासक र शासित हुँदैनन् । उल्लेखित संस्थाहरू समाज सञ्चालनका अङ्ग तथा हेरालु मात्रै हुन् । तिनै बोन (बोम्बो), तम्बा, लामा, गन्बा, मुइमू र ह्युल्बा नै तामाङको बडी-पोलिटिक हो ।
मानव सभ्यताको शुरूवाती समयदेखि यही बडी-पोलिटकका आधारमा समाज सञ्चालन गर्दै आएकाले यिनका जीनमा पनि यसैले जरो गाडेको छ । परिणामतः हिजोअस्तिबाट अन्य फिरिङ्गेले ल्याएका राजनीतिमा अपनत्त्व देखिएको छैन । त्यसैले राजनैतिक चालबाजीका खेल खेल्न जान्दैनन् । उदाहरणको लागि हात्तीपोलो खेलमा नेपालले विश्व च्याम्पियनशीप प्राप्त गरिरहन्छ; किनकी त्यो खेलको शुरूवात नै नेपालबाट भएकोले अन्यले कहिल्यै नेपालीले जस्तो राम्रो खेल्न सक्तैनन् ।  राजनीति नामक खेलको प्रणेता अन्य नै भएकाले भूमिपुत्रहरू यो खेलमा जहिले पनि पछि परिरहन्छन् । राजनीति गरेर नसक्ने भूमिपुत्रले अब बडी-पोलिटिकको अवयवहरूका व्यापक अभ्यास गर्ने हो भने राजनीति भन्ने कथित जिनिस स्वतः आउटडेटेड भएर सकिनेछ ।
(घ)  न्यायिक पक्ष
हरेक देशका लागि न्यायव्यवस्था महत्त्वपूर्ण विधा हुन्छ । न्याय भनेको सबैका लागि बराबरी हुनु पर्दछ । विभेदकारी तथा कसैको सुरक्षा र कसैलाई माथि उठ्न नदिने खालका व्यवस्थामा न्यायिक पक्ष कमजोर हुन्छ अथवा न्यायिक व्यवस्था नै पक्षपाति भयो भने अन्याय सिवाय अरू केही आश गर्न सकिन्न । नेपाली न्यायिक पक्षलाई हेर्ने हो भने यो त हिन्दूका सुरक्षा तथा अहिन्दूमाथिको विभेदलाई वैधानिकता दिने हतियार भन्ने स्पष्ट देखिन्छ । पछिल्लो उदाहरण भनेको राष्ट्रिय जनावरमा गाई राख्नु, हिन्दूत्त्वको लागि व्यवस्था गर्नु साथै पहिचानको आधारमा सङ्घको नामाकरणमा सरकारले नै हस्तक्षेप गर्नुलाई लिन सकिन्छ ।
यस्ता हर्कतलाई न्यायपूर्ण व्यवस्था भन्नु भनेको साउनमा आँखा फुटेको गोरुका लागि पनि सम्भव हुँदैन । पृथ्वीनारायण शाहको पालादेखि नै न्यायिक रूपमा तामाङ लगायतका भूमिपुत्रलाई दास बनाउने क्रम शुरू गरेका थिए । राणाकालमा त मासिन्या मतवाली नै बनाए । गाईखाने भोटे भन्दै अपमान तथा आपत्तिजनक शब्दद्वारा अपहेलित गर्दै राज्यसत्ताले मनोरञ्जन हासिल गरिरह्यो । अहिले पनि भोटे भन्न छोडेका छैनन् । गाईकाण्डमा अनगिन्ती तामाङलाई राज्यसत्ताले फसाउँदै आएको छ । अहिले पनि गौहत्या भन्दै तामाङलाई समात्ने, थुन्ने र बर्बाद पार्ने कार्यमा रत्तिभरि परिवर्तन भएको छैन । त्यसैले गोमांस संस्कृतिलाई यो देशको संविधानदेखि ऐन कानूनले मान्यता दिएको छैन । यहाँका नेतृत्ववर्गदेखि कर्मचारीतन्त्रका आँखामा कपट रहेको छ । यिनीहरू नै साउनमा आँखा फुटेका गोरु भएका छन् । अहिलेको जमानामा जस्तै गौहत्या भन्दै लाज नमानीकन अझै गौरवताका साथ तामाङ लगायतका भूमिपुत्रलाई समाप्त पार्न अन्तिम प्रयास गर्दैछन् ।
७.  किन खान्छन् गोमांस ?
'जातले पा'को ! हातले खा'को !!'' भन्ने नेपाली उक्ति पाइन्छ । त्यस्तैगरी ''खाने मुखलाई जुँगाले छेक्तैन'' भन्छन् । यी सबै हिन्दू राज्यसत्ताले नै निर्माण गरिदिएको कुरा हो । कुनै जमानामा गोमांस संस्कृतिमा पूर्णतः बन्देज लगाउन नखोजेको पनि होइन तर आफूहरु उच्च बन्नका लागि अन्य कोही न कोही नीचको आवश्यकता महशुश गरे । तिनै नीचता निर्माणको लागि गोमांसमा पनि सिनो नै भएपनि खान दिनुपर्ने भयो । सोही अनुरूप सिनो खाने जात बनाएर स्थापित गराउनका लागि उल्लेखित उक्तिहरू बनाएका थिए । आज तिनै उक्ति तिनीहरूका लागि समस्या बनेको छ । महादेवले नै भष्मसुरको जन्म गराएका थिए । अन्ततः तिनै भष्मसुर महादेवको काल बनेर उभिएको थियो । त्यस्तो विषम् परिस्थितिमा विष्णुलाई महिलाको भेषमा उतारे भष्मसुरलाई भष्म पारेका थिए । आज त्यही हिन्दू राज्यसत्ता पुनः राष्ट्रिय जनावर गाई राख्ने साथै पहिचानको आधारमा नामाकरण गर्ने नाममा हिन्दूको पहिचानलाई स्थापित गराउन एक हिसाबले सफल भएको छ ।
यतिखेर किन खान्छन् गोमांस भन्ने गम्भीर प्रश्न बनेको छ । खान्छन् मात्र नभएर खाइरहन्छन् वा खाइरहेका छन् भन्ने भएको छ । राज्यसत्ताले पत्तासाफ गर्न अनेक हतकण्डा अपनाउँदा पनि दबाएर समाप्त पार्न सकिरहेको छैन । यसको एउटै कारण तिनैले बनाएको ''जातले पा'को ! हातले खा'को !!'' नै हो । भन्छन्, नानीदेखि लागेको बानी कहिल्यै छुटाउन सकिन्न । अहिन्दूले सभ्यताको निर्माण अघिदेखि स्वाद पाएकाले पनि छुटाउन सकिरहेको छैन । अहिले हिन्दू भन्नेहरूले पनि यदाकदा खाएका पाइन्छन् । तत्कालिक माओवादी सशस्त्र जनयुद्धको बेला प्रचण्ड र बाबुराम भट्टरार्इ लगायतले गोमांस खाएका थिए । यसको पनि वंशाणुगत गुणको प्रभाव मान्न सकिन्छ । कामधेनु गाईको कथा बनाउनुअघि गोमांस तिनकै पुर्खाले सबैभन्दा धेरै खाएका प्रशस्त प्रमाण छन् ।
खेलकै रूपमा हेर्ने हो भने, जुवा र तासमा हारेपछि झन् रीस उठ्छ । अन्ततः आफ्नै श्रीमतीसमेत दाउमा राख्न पनि पछि पर्दैन । त्यस्तैगरी कोठा बन्द गरेर आक्रमण गरेपछि बिरालोले पनि घाँटीमा नै ताक्छ । शुरूमा नै हिन्दूराज्यसत्ताले धादिङको सेमजोङमा गौकाण्ड मच्चाएर तामाङको राज्य खोसेको थियो । कयौं तामाङको नरसंहार मच्चाएको थियो । त्यसपछि पनि त्यो क्रम रोकिएको छैन । त्यसैले तामाङको अवचेतन दिमागमा कोठा बन्द गरेर आक्रमण गरिएपछि भाग्ने ठाउँ/बाटो नपाएको विवश बिरालोको जस्तो भएको सहज अनुमान लगाउन सकिन्छ । त्यसैले जे होला भन्ने भावका साथ ज्यान बाजी थापेर पनि गोमांस संस्कृतिलाई नछोडेको देखिन्छ । जति कडा कानून बनाए तापनि यिनीहरू जेनेटिकल्ली समूल नष्ट हुन तयार भए तर गोमांस छोड्न तयार भएनन् । हुने छाँटकाँट पनि देखाइरहेका छैनन् । हिन्दूले कुलपुजा गरेको देखेपछि आफ्नो पनि ''फो ल'' लाई लङस्य चढाउने रहर जाग्नु स्वाभाविक मान्नुपर्ने हुन्छ । बाँकी बुझाई राज्यसत्ता भन्नेको हो । 
८.  उचित/अनुचितको कसीमा गोमांस संस्कृति
भन्छन्, संसारमा राम्रो नराम्रो भन्ने केही पनि छैन र हुँदैन पनि ! ती सबै मानिसको सोच मात्रै हुन् । त्यसैले कोही राम्रो वा नराम्रो भन्ने हुँदैन । कसैले भन्छन् भने, त्यस्तो भन्नेकै दोष हो । समाजशास्त्र तथा मानवशास्त्रले पनि राम्रो, नराम्रो, उचित, अनुचित साथै सभ्य र असभ्य भन्ने दृष्टिकोणलाई पूर्णतः अस्वीकार गरेको देखिन्छ ।
बौद्ध दर्शनले पनि कुनै समय वा अवस्थाको अनुचितलाई अर्को अवस्थामा उचित मानेको पनि देखिन्छ । कुनै अवस्थामा पञ्चमकार (मांस, माछा, मद, मैथुन र मुद्रा) पवित्र मान्न पुग्छन् । झूटो बोल्न हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा बुद्धले नै ज्यान बचाउनको बोलेको वा पूरा नबोलेको तर्क पनि पाइन्छन् । एउटै प्रश्नको उत्तर पनि मानिसपिच्छे फरक दिएका देखिन्छन् । यी सबले उचित वा अनुचित साश्वत नहुँदोरहेछ भन्ने स्पष्ट हुन्छ ।
हिन्दूमा त्रिदेवको विशेष महत्त्व रहेको छ । यी तीन मध्ये कुन ठूलो भन्ने प्रश्न पनि उठाउँछन् । शिवपुराणमा शिव नै ठूलो देखिन्छ । बिष्णुपुराण हेर्ने हो भने बिष्णु नै सर्वेसर्वा भन्नुपर्ने हुन्छ । एउटै अपराध गरेका अपराधीलाई सजाय दिँदा जात हेरेर दिने प्रचलन हिन्दूमान्यतामा आधारित स्मृतिहरूमा पाइन्छन् । यसरी एउटै अपराधमा पनि सजाय फरक भन्नुको अर्थ उचित र अनुचित भन्नेमा पनि अवस्था अनुसार फरक हुँदोरहेछ भन्ने स्पष्ट हुन्छ ।
कुनै जमानामा आफैँले खाएको गोमांस अब खानु हुँदैन भन्न नपाइने भन्ने हुँदैन । खाएका बेला खाँदा पनि ठीकै थियो । त्यही गोमांस खान छोडेदेखि कसैले खाएमा अक्षम्य अपराध सावित गराउन खोज्नु उचित होइन । हिन्दू इतरका समुदायलाई यो नियम लागू नगराउनुपर्ने थियो तर जबरजस्त थोपर्नुलाई जायज मान्न सकिन्न । यसप्रकार गोमांस संस्कृतिलाई उचित र अनुचित भन्नु हिन्दूकै मान्यतानुसार गलत छ । त्यसैले कम्तिमा पनि हिन्दूले नखानु उचित र खानु अनुचित भन्न सकिएला । अहिन्दूले खान्छन् भने हिन्दूले अनुचित भन्ने र सत्ताले सजायको त्रास फैलाउने काम गर्छ भने यस्ता कार्य सिधै अमानुषिक भन्नुपर्ने हुन्छ ।
९.  टुङ्ग्याउनी
करले केरा पक्तैन । त्यसैले नखानेलाई खाउ भनेर जबरजस्ती गर्न पाइँदैन । आफूले नखाँदैमा अन्यले पनि खान पाइँदैन भन्नु न्यायसङ्गत हुँदैन । गोमांस संस्कृति नै हो । यसलाई विकृति भन्नुको औचित्य छैन । त्यसैले अनुचित भन्नु वैज्ञानिक तर्क होइन । खानुलाई अन्धविश्वास मान्नेले नखानु चाहिँ अन्धविश्वास होइन भनेर प्रमाणित गर्न सकेका छैनन् । त्यसरी प्रमाणित गर्न सकिने कुरा पनि होइन ।
हिन्दूले गाईलाई आमा समान मानेर पुज्न पाउनु पर्छ । यसको अर्थ अन्यले पनि पुज्नै पर्छ भन्न मिल्दैन । गोमांस संस्कृतिका समुदायले यसका निर्वाध सेवन गर्न पाउनु नै खाद्यसंस्कृतिमाथिको अधिकार भन्ने मान्यता प्रचलित रहेको छ । हत्या हिंसा नगर्नेले गोमांस सेवन गर्दिनँ भन्न सक्छन् तर अरूका सेवन गर्छु र गोमांस चाहिँ सबैका लागि बर्जित भन्छ भने नैतिक सङ्गत ठहरिँदैन । बाँकी कुरा तन्काउने वा मपाईँत्वको स्याल हुइयाँ भन्दा अरू केही हुँदैन ।
धन्यवाद !!!
७ माघ '७६
चाबहिल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...