कहिले फिर्छ ल्हो ?
![]() |
| झ्यम्बेयङ (मञ्जुश्री) |
आज बसन्त पञ्चमी हो । बच्चाहरू सरस्वती र झ्यम्बेयङको पूजा सम्झनामा लागेका छन् । गाउँलेहरू बारीमा मकैको छेवार गर्न लागि परेका छन् । कतिपय त मल ओसार्न व्यस्त देखिन्छन् । बारीतिर मानिसै मानिस देखिन्छन् ।
नम्युङसिं गोरु जोत्दैछ । उसको पछि पछि छोरी सलिमो मकै छर्दैछे । नौ वर्ष जतिकी सलिमोले मकै छर्न राम्ररी जानेकी छैन । त्यसैले गोरू पSर छेउमा पुर्याएरपछि नम्युङसिं फर्केर छोरीलाई मकै छर्ने तरिका सिकाउन पुग्छ ।
नम्युङसिं- यसरी छर्ने हो के मकै !
अलि माथिबाट छिमेकी भाउजू ह्युगुली कराउँछे- छोरीलाई मकै छर्न राम्ररी सिकाऊ है थेबा । अब त छोरी पनि भाइको दिदी हुने हो क्यारे ।
नम्युङसिं- हुनुपर्यो नि भाउजु ।
तलबाट केही केटीहरू जिस्काउँछन्- मुसाले पनि मकै छर्दारहेछन् है ! हा हा हा ।
नम्युङसिं- हेर फ्यङ्गुलिङ तिमीले माने त यो मुसाले मकै छर्ने मात्रै होइन, फ्यङ्गुलिङलाई नै भगाउन सक्छ ।
फ्यङ्गुलिङ- कस्ता-कस्ता फूल फुलेर झरे ! चिँ चिँ मुसा !!
फ्यङ्गुलिङकी साथीहरू हाँस्छन् ।
त्यस्तैमा पSरबाट नम्युङसिंको बाउ कराउँछन्- ओ सलिमो ! लौ तिम्रो बाउलाई गोरु जोत्न छोड भन । तिमी पनि घरमा आऊ ।
सलिमो- किन म्हेमे ?
सलिमोको म्हेमे- तिम्रो भाइ आइपुग्यो हो ।
नम्युङसिं टक्क अडिन्छ । गोरूले दुधेलोको मुना लुछ्न खोज्छ । भेट्टाउँदैन । खै के लाग्यो कुन्नी गोरू जोत्न छोड्दैन ।
ह्युगुली भाउजु- अबुई मान्छेको त छोरो आयो रे ।
फ्यङ्गुलिङ- मान्छेको बच्चालाई छोराछोरी, बाख्राको पाठापाठी भन्छन् तर मुसाको बच्चालाई चाहिँ के भन्छन् रे ह्युगुली नना ?
फेरि सबै जना हाँस्छन् ।
हाँसो र ख्यालठट्टा चलिरहेकै हुन्छ । सलिमो मकैको बीउको झोलै बोकेर घरतिर दौडन्छे । नम्युङसिं फेरि पनि गोरू जोत्न छोड्दैन ।
माथिबाट ह्युगुली भाउजु कराउँछन्- घरमा जायजन्म भएपछि बङ लाग्छ रे भन्छन् । त्यस्तो बेला बीउ बिजन छर्न हुँदैन भन्ने चलन नै छ । कहाँ गोरू जोतिरहेको नि ? अब त छोरोको न्वारन नगरेसम्म त नम्युङलाई त ढुक्कै भइहाल्यो नि ।
फ्यङ्गुलिङकी बहिनी च्यङ्गुलिङ कराउँछे- के अचम्म हो । मुसाले पनि कुखुराको टाउको खाने भयो रे त साथी हो !
फेरि सबै जना हाँस्छन् ।
नम्युङसिं- कोही फ्यङ्गुलिङ, कोही च्यङ्गुलिङ ! कोही भने ह्युगुली !
नम्युङला खुयुसे कोला न्हजी, ब्युङ्गुलिङ हेबला स्वजे ची !!
ब्युङ्गुलिङ- अब गोरू जोत्न र मकै छर्न नमिल्ने भैहाल्यो । लौ ब्युङ्गुलिङसँग मल बोक्न आउनुस् भेनाजू । हाम्रो तर्फबाट रातो भालेको नभएपनि मुसाको पुच्छर समाम्ला क्यारे !
हा हा हा गर्दै सबैजना हाँस्छन् ।
पाँच दिन पछि...
नम्युङसिंको घरमा चहलपहल छ । न्वारनको तयारी हुँदैछ । लामा पनि के के विधि विधानको तयारीमा देखिन्छ । यस्तैमा नम्युङसिंकी बुढी आफ्नो बिछ्यौनाका लागि बिछ्याएको पराल दोबाटामा लगेर जलाएर घरमा प्रवेश गर्छे ।
नम्युङसिंकी आमा बोल्छे- चङ (बुहारी) अलि छिटो गर न । नातीलाई लिएर आऊ । सबैजना ढोकानेरै देखिन्छन् । नम्युङसिंकी बुढी भने छोरो लिएर त्यही आइपुग्छे । न्वारन चल्छ । लामा पढ्न थाल्छन् ।
न्वारनको पहिलो चरण सकिन्छ । लामा पढ्ने र नाम जुराउने क्रममा जुट्छ ।
लामा बोल्छ- लौ, यो बच्चाको नाम चाहिँ बुधबार जन्मेको हुनाले ल्हाक्पादोर्जे भयो । यसको ल्होचाहिँ ड्रुक नै भयो...
लामागुरूको कुरा बीचैमा काटेर
नम्युङसिं कि आमा बोल्छे- हैन, कसरी पुरानो ल्हो हुनु ? अस्ति माघेसङरातीदेखि त नयाँ ल्हो फेरिसक्यो नि ।
ह्युगुली भाउजु बोल्छे- हैन तामाङको ल्होछार त सोनाम भनेर मान्ने गरेको हैन र भन्या ?
लामागुरू- कोहीले सोनाम भन्छन्, तर हाम्रो छ्योई र ठ्याक्कै ल्हो फेरने समयलाई हेर्दा चाहिँ ग्यल्बो ल्होछार ठिक हो ।
नम्युङसिं- अनि पोहोर पोहोर त तपाईँहरू आफैँले सोनाम ल्होछार भन्नुभएको थियो त ?
एकजना ठिटो बोल्छ- खै, गुरुङले अस्ति पुस १५ मै ल्हो फेर्यो भनेर मानिसक्यो । के हो के हो ?
अर्को बोल्छ- कोहीले त तपाङ्ह्यदेखि ल्हो पोजी भन्दारहेछन् ।
नम्युङसिं अवाक भएर श्रीमतीको मुखमा हेर्छ । श्रीमान् श्रीमती एकापसमा हेराहेर गर्दैछन् । छेवैमा बसेकी छोरी सलिमो भने भाइको मुख हेर्न खोज्दैछे ।
ठिटो बोल्छ- हैन, हामी त यही विषयमा अल्मलिने भयौं । यसबारे अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने हो तर...
लामागुरू - मैले जानेको कुरा त भनिहालेँ । बाँकी यहाँहरूकै विचार ।
साँझमा नम्युङसिंको जोडी अँगेना छेउमा बसेर छोरोलाई तेल लगाइरहेका देखिन्छन् ।
बुढी बोल्छे- हैन, हाम्रो छोरोको ल्हो कुन चाहिँ भन्ने त ?
नम्युङसिं- खै के भन्ने भन्ने ! नयाँ भनौं भने पुरानै ल्होमा परेको होला । पुरानै भनौं भने नयाँ ल्हो फेरिसकेको पो होला । म त साह्रै अन्यौलमा छु ।
बुढी- कसैको कुरा सुन्नुभन्दा हाम्रो मम्लाई सोधौं न बरु । उहाँलाई पुरानो कुरा धेरै थाहा छ के ।
नम्युङसिं- हो, तिमीले ठिकै भन्यौ । भोलि बिहानै मम्लाई सोध्नुपर्छ ।
भोलिपल्ट बिहानको नौ बजेतिरको समय छ । घाम निकै माथि पुगेसकेको छ । दलानमा घाम ताप्ने ठाउँ बनाएर नम्युङसिंले सोही ठाउँमा हजूरआमालाई ल्याउँछन् । नम्युङसिं कि हजूरआमा १०१ वर्षकी भइन् । उनी राम्रोसँग कान सुन्दिनन् । प्रायः एकै स्थानमा बसिरहनुहुन्छ । हजूरआमासँग ठूलो ठूलो स्वरमा ल्हो कहिलेदेखि फेर्छ मम् भनेर सोध्दछ ।
हजूरआमा बोल्नु थाल्नुहुन्छ- ''हैन, मेरो विचारमा त असली ल्हो फिर्ने त- बौद्धले झ्यम्बेयङ भन्छन् । हिन्दूले सरस्वती पूजा भन्छन् । हो त्यही दिनदेखि ल्हो फेरेको हुन्छ । रुखहरूमा पालुवा आउन थालेका हुन्छन् । बारीमा गएर हेर्नु बाफ उड्न थालेका हुन्छन् । त्यही हेरेर हाम्रो हिमाली र पहाडी भेगमा मकै छर्न शुरू गर्नु भनेर उहिले हाम्रो म्हेमे मम्ले भन्नुहुन्थ्यो । त्यसदिन मकै छर्न शुरू गर्ने कामलाई नै मकैको छेवार गर्ने भन्थे । त्यही दिन बच्चाहरूलाई पढाउने, थारे राSबा (खाँडी बुन्न) सिक्ने/सिकाउने, बाछोलाई दाउने, हलो ताछ्न सिक्ने, घरको गारो लगाउन, डोको, घुम, छपनी, मान्द्रो र नाङ्लो बुन्न सिक्ने दिन हो । बाँकी, सोनाम र ग्यल्बो ल्होछार भन्ने त सुनेकै थिएनौं । केही वर्षअघिदेखि त्यस्तो भन्न थालेका हुन् । हैन, ल्हो पनि जाति, समुदाय हेरेर छुट्टा-छुट्टै दिनमा फेर्ने कुरा हो र ? हो, लेक र वेशीमा फरक हुन्छ । तैपनि पहिलो पटक मकै छर्न शुरू गरेकै दिनलाई चाहिँ ल्होछार भन्दा राम्रो हुन्छ । यी तमु, सोनम र ग्यल्बो भन्नु भन्दा पनि यही दिनमा सबैले मान्दा राम्रो होला भन्ने लाग्छ । मलाई धेरै थाहा छैन । बाँकी तिमीहरू आफैँ विचार गर्नु न ।''
नम्युङ्सिं जुरुक्कै उठ्छ- हो, हाम्री हजूरआमाले भन्नुभएको कुरा मलाई चित्त बुझ्यो । यसैलाई प्रस्तावको रूपमा नेपाल तामाङ घेदुङ लगायत सङ्घ संस्था र ठूला व्यक्तिहरू समक्ष पुर्याउनेछु । यो ल्होछार विवाद समाधानको लागि लागि पर्छु ।
समाप्त
24/11/2016
नोट : यहाँ मेरो मनसाय चाहिँ तमु, सोनम र ग्यल्बोलाई एकै मितिमा ल्याउनु हो । यसक्रममा माघी तथा माघेसङ्क्रान्तिसमेतलाई सम्बोधन गर्नुपर्ने छ । - गोले केआर चालिसेली
![]() |
| खलेम्हेन्दो |


No comments:
Post a Comment