व्यवस्थापिकासँगै
कार्यपालिका र न्यायपालिकाद्वारा निर्मित
एक डल्लो अफिम पो रहेछ देश !!
व्यवस्था मिलाउने जिम्मा लिएको
व्यवस्थापिका आफैँ अस्तव्यस्त देख्छु ।।
भएको व्यवस्थालाई बिटुल्याएर
अव्यवस्थाको व्यवस्था मिलाउँदै गरेको भेट्छु ।।
सोध्न खोज्छु-
संसदभवनको कुन दुलोमा छिर्छ छिर्छ !
अनि मस्त लुकेर बस्छ
व्यवस्थापिका यत्ति लाछी छ कि-
खोजराजलाई देख्नै हुन्न-
''कोला-कोला'' आफ्नै छातीमा थू-थू थुक्छ ।
फलामे गेट बन्द गरेर-
सत्ताको कुर्सीमुनि लुकेर सुत्छ ।।
कार्यपालिका पनि यत्ति काँतर छ कि !
''केही गर्दिनँ हो'' भन्छु-
विश्वासै गर्दैन र सिंहदरबारभित्र पसेपछि निस्कनै मान्दैन ।।
वरिपरि यमानको पर्खाल ठड्याएर
आँखै अगाडि लुकिरहेको कार्यपालिकालाई देख्दा
साना नानीबाबुलाई जस्तै गरेर
चोरऔंलाले औंल्याउँदै- कुरीकुरी भन्न मन लाग्छ ।।
मेरै पुर्खाले पसिना र रगत बगाएर बनाएका
त्यो दरबार अनि त्यो पर्खाल
मेरै पुर्खाका लाशको थुप्रो भन्दा फरक देख्दिनँ ।।
अचम्म लाग्छ-
सिंहदरबार प्रवेश गरेका डाम्नाहरु
चुनाब आयो- पाउमा छाँद हाल्न आइपुग्छन् ।
चुनाब सकियो- सिंहदरबारको ओडारभित्र
कता-कता लुकेर बस्छन् बस्छन् ।
देख्ला कि भनेर ढोका थुनेर बस्छन् ।।
सिंहदरबारको आड भरोसा लिएर
छेवैमा उभिइरहेको न्यायापालिकालाई हेर्छु ।
बधशाला हो ? या त यमलोक ?
छुट्याउन गाह्रो लाग्छ ।
न्यायको नाममा अन्याय गर्नु यसको धर्म हो कि ?
कि मैले बुझ्न नसकेको ?
कि मैले यसलाई चिन्न नसकेको ?
खै के हो के हो ? अलमम्ल पर्दै आएको छु ।।
मेरो आदिवासीय विधिशास्त्रामा आधारित
मेरो चोहो यसैले खाएको तथ्य कहाँ भुलेको छु र ??
कुरा गर्यो कुरैको दुःख भनेको त सुनेकै हुँ
हो नै रहेछ नि-
हेर्नुस्, प्रधानमन्त्री भन्ने त झनै
डामेर छाडेको साँढे भन्दा अरू के नै रह्यो र ?
मेरै बप्सा (भूमि)मा आएर मलाई नै लालपूर्जा थमाइरहेछ ।
मेरै घरमा आएर-
मलाई नै, उसले पो नागरिकताको प्रमाण-पत्र लिन दबाब दिइरहेछ ।।
राष्ट्रपतिको के कुरा गर्नु-
सुरक्षाकर्मीलाई छोरीहरूका चप्पल जुत्ता बोकाउनै कस्तो गाह्रो छ
हराइदेलान् भन्ने कत्रो चिन्ता/पिरालो छ उनीलाई !!
त्यसैले जे पर्ला-पर्ला ! लेखिदिएँ-
व्यवस्थापिकासँगै
कार्यपालिका र न्यायपालिकाद्वारा निर्मित
एक डल्लो अफिम पो रहेछ देश !!
यसरी नहुने रहेछ । हुँदै नहुने रहेछ ।।
त्यसैले मेरो बप्सामा आएर
कसैले लालपूर्जा बाँड्छु भन्छ भने दङ्ग पर्ने छुइनँ ।।
मेरै घरमा आएर
मैलाई, तिनका नागरिकताको प्रमाणपत्र भिराउन खोजेछन् भने
भद्र-अवज्ञासहितको घ्याङ्सिङ लगाएर
ठाउँको ठाउँ- सैद्धान्तिक अनि नैतिकताको ऐतिहासिक पानामा
युगौं युगसम्मका लागि बन्दी बनाएर राख्नेछु ।।
४ साउन '७५
चाबहिल

No comments:
Post a Comment