Friday, July 13, 2018

सुसाइड गोल !!!



-     गोले केआर चालिसेली
आफू त फूटबल गेम नै मन नपराउने मान्छे । गेमको आवाज सुन्दै पनि खै के पो हुन्छ हुन्छ ! सुन्न, भन्न र लेख्न पनि जान्दिनँ । त्यसैले सुसाइड गोलको बारेमा यहाँहरूका सामू के लेख्नु ? किन सूर्यको अगाडि मैन बाल्नु ? यहाँ चाहिँ हाम्रा दैनिकी, सोचविचार साथै कर्महरूका बारेमा लेख्दैछु । तिनमा देखिएका सुसाइड गोलका बारे चर्चा गर्दैछु ।

विद्यालयमा पुगेपछि मात्रै फूटबल र भलिबल देखेको हुँ । एक रुपैँयामा कापी आउँथ्यो । दुर्इ रुपैँयामा चिल्लो र राम्रो मयुर कापी आउँथ्यो । त्यस्तो राम्रो क्वालिटीका कापी त अचेल कतै देखेको छुइनँ । पाँच रुपैँयामा फुल्टिन भन्ने कलम आउँथ्यो । मसी पनि रेडिमेड र बनाउनुपर्ने हुन्थ्यो । कोरेसो मसी भन्नेको साना चक्की किन्थ्यौं । त्यो पनि किताब पढ्न सक्ने भएपछिको कुरा थियो । शुरूमा पाटी बोकेर कुदेको मान्छे ! खरीले लेख्थेँ । पाटीको कालोले हात चर्चरी फुटाउँथ्यो । गोडामा चप्पल हुँदैनथ्यो । त्यसैले पनि फूटबल खेल्न सक्ने अवस्था थिएन । चार कक्षामा पुगेपछि अङ्ग्रेजी अक्षर सिकाएका थिए । 

झुम्रोको फूटबल खेलेको कुरा के गर्नु ? कागतीका दाना टिप्थ्यौं । भेट्नुनेर प्वाल पार्थ्यौं । रस जति निचोर्थ्यौं । अनि फुकेर बल बनाउँथ्यौं । त्यस्ता फुटबल खेल्ने कुरै भएन । भलिबल भन्थ्यौं । कहिले कहिँ खेल्थौं । त्यसैले पनि जिन्दगीमा जानेर फूटबल खेलेको छुइनँ । भलिबल पनि कहिले कहिँ यस्सो छोएको मात्रै हो । नढाँटी भन्दा– कहिल्यै खेलिएन । बरु शुक्रबार र शनिबारको नाममा नाम्लो र डोकोसँग धेरै खेलेको थिएँ । बर्खे बिदाको नाममा घाँस स्याउलासँग साइनो जोडेको थिएँ । बस्तुभाउ चराइयो । खेतबारीमा काम गरियो । किताब र पाठसँग त भनेजस्तो खेल्न पाइएन । फूटबल त परैको कुरा ! त्यसैले, खेलिएन हो । 
खेल्दै नखेलेको अनि झेल्दै नझेलेको कुरासँग जोडिने प्रयास गर्दैछु । भाग्दा-भाग्दै सकिनँ । मध्येराती छिमेकीले 'गोSSSSSल' भन्दै कराए । मस्तनिद्राबाट  बिउँझाए । त्यसैले लेख्ने प्रयास गर्दैछु । कम्ता रीस उठेको होओइन । रीसको मारे अन्तैतिरबाट हान्दैछु । सकेसम्म खत्रक्कै पारुँला भन्ने छ । नभएपनि के मतलब ! जे भएपनि वा नभएपनि साँच्चैमा के नै गर्नु छ र ? कसको के खाइदिएको छु र ? पढ्न मन लागेकोले पढ्दा हुन्छ । मन नभएकाले नपढ्दै राम्रो ! पढेपछि- मन परे लाइक वा कमेण्ट गर्न सक्नुहुनेछ । ताली वा गाली जे गरेपनि लाइक ठोक्नेछु । सकेसम्म रिप्लाई पनि दिन्न । चित्त दुखाए वा बुझाए पनि मतलब गर्ने छुइनँ । 
हाम्रा मान्छेहरू फूटबल खेलमा निकै लिप्त देखिए । थरी-थरीका टिशर्टहरू लगाए । फेसबूसमा तस्वीर टाँसे । पक्ष र विपक्षमा हाजिर भए । पक्षका पक्षमा ताली बजाए । विपक्षका समर्थकमाथि गाली बर्साए । मारामार गरे । खेल एउटा रह्यो । खेल्ने अर्कै रहे । खेल्नेले गोल गरे । खेल्नेले नै गोल खाए । कोहीले जिते । कोही नराम्ररी हारे । हाम्राले गफ चुटे । अरूले टिशर्ट बेचेर लुट्नसम्म लुटे । अनुशासनको गफ चुटे । फेसबूकमा गाली गर्दै अचम्मको अनुशासन प्रदर्शन गरे । लाज पचाएर लेखे । गाली गरे । ताली बजाए । वास्तवमा आफ्नै अनुशासनको घेरोमा सुसाइड गोल गरे ।

अलि अश्लिल लाग्ने एउटा उक्ति सुनेको थिएँ । ''आफ्नो नाक काटेर अर्कोको चाक टाल्ने !!'' हाम्रा फूटबलप्रेमीहरूले यस पटक पुनः उल्लेखित उक्तिलाई चरितार्थ गरे । देश कहाँ छ ? कता जाँदैछ ? स्वनामधन्य नेताहरू के गर्दैछन् ? राजनीतिक माहौल के हुँदैछ ? सबै सबै बिर्से । पक्ष र विपक्षका नाममा आफ्नै साथीभाइमाथि कटाक्ष गरे । फेसबूकमा लेखेर धूल चटाए । मन मनै डाँडा कटाए । कत्तिले साथी भाइ त के नै भयो र गर्लफ्रेण्ड र ब्याइफ्रेण्डलाई पनि दिलबाट हटाए ??? जेहोस्, गज्जब गज्जबका सुसाइड गोल गरे । 
घरमा तरकारी किन्न पैसो छैन । च्यातिएको जुत्ता नसिलाएको धेरै भयो । एक पेट खाना नपाएर कत्ति भोकले मर्दैछन् । हाम्रा आशलाग्दोकै पारा हेर्नुस् । टिशर्ट लाउँदैमा के जित्थ्यो । हाम्रा त बाजीमा हारेर तन्नम् भए । ''रातभरि कराए ! दक्षिणा पनि हराए !! गोठमा बाँधिएका बस्तुभाउ; भोकले किलैमा कराए !!!'' कत्तिका अफिस छुट्यो । नछुटाएको पनि कुर्सीमै उङ्यो । सेवाग्राहीलाई पछाडिबाट ठुङ्यो । ''स्य स्य खेरो ! न्हङ्गु न्हङ्गु खेरो !!'' ''आपसमा झगडा ! सिधै फेसबूकमा लेख्यो !!'' लाइक र कमेण्टले पुगेन; लाइभ गर्न खै कसले, केले छेक्यो ? गाली बर्साएर ताली कमाउने दाउ गरे । पूरा त के हुन्थ्यो मनशाय ! कोही गर्जिए । कोही रोए । हिजोसम्मका आत्मिय मित्र आज स्टेटस र लाइभकै भरमा खोए !! वास्तवमा अर्को गज्जब सुसाइड गोल ठोके । 

छिमेकीको कुरा गर्दा कुटिनी बुढी जस्तै भन्न सक्छन् । नगरूँ भने मन मान्दैन । हिँउदमा बाँध बाँध्छन् । हाम्राहरू लाइक ठोकेर बस्छन् । बर्खामा बस्ती डुबानमा पर्छन् । कोही बग्छन् । कोही भाग्छन् । कोही उद्धार गर्छन् । कोही चाहिँ नाटक मात्रै गर्छन् । बाँकी फेसबूक जिन्दाबाद ! केही दिनअघि जडीबुटीनेर ट्रिपरले एकजनाको ज्यान लियो । त्यहीनेर पुनः अर्कोको पनि ज्यानै लियो । घाइते छटपटाइरहेको थियो'रे । प्रहरीले गुहार मागे । कसैले पनि घाइतेलाई अस्पताल पुर्‍याउन आवश्यक ठानेनन् । प्रहरीको अनुरोधलाई पनि मानेनन् । बरु फेसबूकमा राख्ने सोँचका साथ फोटो खिचेर बसे । भिडियो खिचेर रमे । मानवसभ्यता र नेपालीत्वमाथि लज्जास्पद सुसाइड गोल गरे ।

यत्ति नै खेर असारे विकास फस्टाएको छ । नाम मात्रैको कार्यक्रम गर्दै; सक्नेले पैसो पट्काएको छ । देश नै फूटबलको माहौलमा डुबेको छ । धुर्त स्यालले यत्ति नै खेर सडक खनेको छ । नेपालको परिचय यस्तै भनेर मानेको छ । सडकपेटीमा बस्दा खेदिएका पनि यहीँ छन् । बोक्सीका नाममा चुटिएका पनि यहीँ छन् । अस्मिता लुटिएका पनि यहीँ छन् । करोडौंको घर ठडाएका पनि यहीँ छन् । घर चाहिँ करोडौंको छ । एउटा डुँडसम्म राख्दैनन् । बलेसीदेखि थुके'सी समेत फूटपाथमा पारेका छन् । बटुवाका टाउकामा हुने नहुने झारेका छन् । फोहोर फालेर ढल जाम पारेका छन् । भूकम्पले थिलथिलो बनाएको घरको जग छ । बर्खे भल घरमा छिर्दा चाहिँ सरकारलाई गाली गरेका छन् । फूटबलको यो माहौल लागिरहेकै बेला अरू के नै भन्नु र ? जेहोस् घरभेटीहरूले पनि ढल थुनेर घरमा भल पसाएर हेर्न लायक सुसाइड गोल गरिरहेका छन् । 

केन्द्रीय सरकारमा रहेका डाम्ना स्वभावहरू प्रदेश सरकारमा पसेका छन् । तमुवान खाएका छन् । मगरातलाई लात हानेका छन् । आफ्नै भनिएका पट्केहरूले ताली बजाएका छन् । हेर्दै रमाएका छन् । जातीयताभन्दा माथि उठ्नुपर्ने पाठ घोकाएका छन् । समृद्धिको नारा लगाएका छन् । ताम्सालिङ र नेवाःलाई बागमती नामक ढलमतीमा लगेर सेलाउने सोचको प्रबर्द्धन गरेका छन् । कोहीले खबरदारी गरेका छन् । कोहीले समर्थनमा लाइक हानेका छन् । सातै प्रदेशका नामाङ्कनमा हिन्दू ब्राह्मणवादी सोचलाई स्थापित गराउने कसम खाएका छन् । मै हुँ भन्नेहरू पनि देखिएका छन् । ''कसलाई केको धन्दा : घरज्वाइँलाई खानाकै धन्दा'' भन्थे । आफूलाई पायकपर्ने स्थानमा प्रदेश राजधानी सारिदेऊ भन्दै रोइरहेका छन् । त्यसैमा झगडा गरिरहेका छन् । उत्ता असत्तिहरुले चाहिँ- पहिचानको खाल उठिसकेको भाषण ठोकेका छन् । कत्तिले भन्दैथिए- 'ताम्सालिङको पक्षमा तिमीले नलेखे कसले लेख्ने ?'' हो भन्ने लाग्यो । ताम्सालिङको लागि भनेर लेखेँ । कत्तिले स्याबासी दिए । कोही-कोहीले अनेक गाली गरे । जुत्ताको माला ठिक पारेको भनेर लेखे । ''खिस्स बुढी ! हरियो दाँत !!'' पहिचानमाथि पहिचानवादीले नै सुसाइड गोल हानेका छन् । 

कुनै जमानामा तत्कालीन माओवादीले पहिचानको कुरा उठाएको थियो । ''तिनीहरूले भन्दा हामीले पहिले उठाएका'' भन्ने पनि छँदैछन् । अहिले पहिचानको कुरा उठाएकाहरू नै त्यो बेला चाहिँ- तत्कालीन माओवादीकै विरोधमा रमेर बसे । त्यसैकारण माओवादी डाइनोसोरसको 'ठिप' (मेसो)मा पुग्यो । पहिचान विरोधीले हाइहाइ कमाए । हाम्राले उनैका धोती समाए । जिन्दगीमा अचम्मै रमाए । आज आएर पहिचान सकियो भन्दै रुवाबासी गर्दैछन् । पहिचानको खालबाट ओलीको दाउमा च्याँखे थाप्दैछन् । अझै पनि चेत खुलेको छैन । काम जस्तोसुकै भएपनि पहिचान भन्न चाहिँ भुलेका छैनन् । तिनीहरूले पनि आफ्नैलाई झुक्याएका छन्। जानीजानी मिलाएर नियत सहित सुसाइड गोल गरेका छन्। 

प्रत्येक बर्खामा तरार्इ डुप्थ्यो । यसपालि त उपत्यका नै डुब्यो । डुबेको कोठामा कत्तिले बल्छी ताने । कतिले सेल्फी हाने । कतिले आँगनीमै पौडिन जाने । कतिले फेसबूक लाइभ दिए । मान्नैपर्छ यार, त्यस्तैमा पनि धेरैले फूटबल गेम छुटाएनन् । आफूलाई मन नपरेका टिमले हार्दा चाहिँ कसैले चित्त दुखाएनन् । एकदिन चाबहिलमा पाँच सात जना केटाहरू कडा समीक्षामा देखिए । अझै भनौं न- आलोचनामा उत्रिए । फलानोलाई खेल्नै आउँदैन । फलानो त खेलाडी नै होइन । म भए यस्तो हान्थेँ । उस्तो हान्थेँ । जसरी पनि जित्थेँ । ए बाSSSSS कम्तिमा पनि तिनैलाई नखेलाउनु नै हारेकाहरूका दुभार्ग्य रहेछन् क्यारे । ''गफै त हो सम्धी : डेढ लाख पर्ने त भाले नै छ'' भन्थे । हो नै रहेछ नि- आफ्नो दैनिकी छोडेर खेलाडीका काट्टो खाए । दुर्इ चार प्लेट मःम चपाए । बच्चालाई औषधी किन्न ल्याएको पैसो साथीभाइसँग बसेरै सिध्याए । समीक्षाको नाममा अर्को सुसाइड गोल हाने । 

सरकार र नेता नामका पट्केहरूलाई के भन्नु र हो ! ढङ्ग हेर्‍यो- डामेर छोडेको साँढे जस्ता छन् । कर्तुत हेर्‍यो- बर्खामा कुखुरा चोर्ने वनढाँडे जस्ता छन् । विचार सुन्यो- कतै नअडिने आँडे जस्ता छन् । कोखै त तिनका दाँते जस्ता छन् । दैनिकी हेर्‍यो- भेँडाका भोटले गाँजे जस्ता छन् । भात मागे लात दिन्छु भन्छन् । हात मागे काटदिन्छु भन्छन् । छाता मागे कर्कलाको पात दिन्छु भन्छन् । सोझो जनता हुँ भने कपुत मान्छन् । गँजेडीदेखि डनगिरी देखे सपुत ठान्छन् । नेपालीभन्दा पनि ब्राह्मणजस्तो हुनु भन्छन् । पहिचानले समृद्धिलाई पछि पार्छ भन्छन् । नमान्नेको दाँत गन्छन् । ऐन, नियम र कानूनका नाममा पहिचानको छाला काढ्छन् । मौलिक संस्कार संस्कृतिको रगत चाट्छन् । खदा लगाएको देख्नै हुन्न; गर्दनमा सिधै गलबन्दी फ्याँक्छन् । यस्तै हर्कतलाई नै त भन्दारहेछन्- सुसाइड गोल !!! नहेरूँ भनेपनि देखिइरहने । नलेखुँ भनेपनि मनैले नमान्ने ! त्यसैले जस्तो देखेँ : त्यस्तै लेखेँ !!! कसैका मन फुरङ्ग हुन् कि मुटु फ्याक परुन् । सबैका सामू यसरी नै राखेँ । हि हि हा ।।।
२९ असार '७५

चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...