Thursday, July 26, 2018

गजल

कत्ति साह्रो लिखुरे हो शैलुङ्गे त्यो छिरो जस्तो !!!!
तिम्रो चाइने पेट देख्दै ठ्याक्कै घामकिरो जस्तो !!

कालो नीलो अनुहार छ पानी दिए निल्न सक्छौ ?
उस्को हेर्न कस्तो राम्रो साँच्चै रातो पिरो जस्तो !!!!

गाला हुनु हाम्रो जस्तो तप्प रगत चू'नै खोज्ने !!!!!!
तिम्रो हेरSSS बगरसरि रसै छैन जिरो जस्तो !!

खै देखाऊ हातगोडा टक्टक्या'को काँडो हो यो ?
ओँठै तिम्रो बाँझो खेतमा परेको त्यो चिरो जस्तो !!!!!

जसले पनि देख्नै हुन्न यस्सै भन्दै मार्नै खोज्छन् !!!
खोज भन्छ- मै हुँ देउता अरू मात्रै हिरो जस्तो !! 
१० साउन '७५
चाबहिल

Thursday, July 19, 2018

देश




व्यवस्थापिकासँगै
कार्यपालिका र न्यायपालिकाद्वारा निर्मित 
एक डल्लो अफिम पो रहेछ देश !!

व्यवस्था मिलाउने जिम्मा लिएको
व्यवस्थापिका आफैँ अस्तव्यस्त देख्छु ।।
भएको व्यवस्थालाई बिटुल्याएर
अव्यवस्थाको व्यवस्था मिलाउँदै गरेको भेट्छु ।।

सोध्न खोज्छु-
संसदभवनको कुन दुलोमा छिर्छ छिर्छ !
अनि मस्त लुकेर बस्छ  
व्यवस्थापिका यत्ति लाछी छ कि-
खोजराजलाई देख्नै हुन्न-
''कोला-कोला'' आफ्नै छातीमा थू-थू थुक्छ ।
फलामे गेट बन्द गरेर-
सत्ताको कुर्सीमुनि लुकेर सुत्छ ।।

कार्यपालिका पनि यत्ति काँतर छ कि !
''केही गर्दिनँ हो'' भन्छु-
विश्वासै गर्दैन र सिंहदरबारभित्र पसेपछि निस्कनै मान्दैन ।।

वरिपरि यमानको पर्खाल ठड्याएर
आँखै अगाडि लुकिरहेको कार्यपालिकालाई देख्दा
साना नानीबाबुलाई जस्तै गरेर
चोरऔंलाले औंल्याउँदै- कुरीकुरी भन्न मन लाग्छ ।।
मेरै पुर्खाले पसिना र रगत बगाएर बनाएका 
त्यो दरबार अनि त्यो पर्खाल
मेरै पुर्खाका लाशको थुप्रो भन्दा फरक देख्दिनँ ।।

अचम्म लाग्छ- 
सिंहदरबार प्रवेश गरेका डाम्नाहरु
चुनाब आयो- पाउमा छाँद हाल्न आइपुग्छन् । 
चुनाब सकियो- सिंहदरबारको ओडारभित्र
कता-कता लुकेर बस्छन् बस्छन् ।
देख्ला कि भनेर ढोका थुनेर बस्छन् ।।

सिंहदरबारको आड भरोसा लिएर 
छेवैमा उभिइरहेको न्यायापालिकालाई हेर्छु ।
बधशाला हो ? या त यमलोक ?
छुट्याउन गाह्रो लाग्छ ।

न्यायको नाममा अन्याय गर्नु यसको धर्म हो कि ?
कि मैले बुझ्न नसकेको ?
कि मैले यसलाई चिन्न नसकेको ?
खै के हो के हो ? अलमम्ल पर्दै आएको छु ।।
मेरो आदिवासीय विधिशास्त्रामा आधारित
मेरो चोहो यसैले खाएको तथ्य कहाँ भुलेको छु र ??

कुरा गर्‍यो कुरैको दुःख भनेको त सुनेकै हुँ 
हो नै रहेछ नि- 
हेर्नुस्, प्रधानमन्त्री भन्ने त झनै
डामेर छाडेको साँढे भन्दा अरू के नै रह्यो र ?
मेरै बप्सा (भूमि)मा आएर मलाई नै लालपूर्जा थमाइरहेछ । 
मेरै घरमा आएर-
मलाई नै, उसले पो नागरिकताको प्रमाण-पत्र लिन दबाब दिइरहेछ ।।

राष्ट्रपतिको के कुरा गर्नु-
सुरक्षाकर्मीलाई छोरीहरूका चप्पल जुत्ता बोकाउनै कस्तो गाह्रो छ
हराइदेलान् भन्ने कत्रो चिन्ता/पिरालो छ उनीलाई !!

त्यसैले जे पर्ला-पर्ला ! लेखिदिएँ-
व्यवस्थापिकासँगै
कार्यपालिका र न्यायपालिकाद्वारा निर्मित 
एक डल्लो अफिम पो रहेछ देश !!

यसरी नहुने रहेछ । हुँदै नहुने रहेछ ।।
त्यसैले मेरो बप्सामा आएर 
कसैले लालपूर्जा बाँड्छु भन्छ भने दङ्ग पर्ने छुइनँ ।।

मेरै घरमा आएर
मैलाई, तिनका नागरिकताको प्रमाणपत्र भिराउन खोजेछन् भने
भद्र-अवज्ञासहितको घ्याङ्सिङ लगाएर
ठाउँको ठाउँ- सैद्धान्तिक अनि नैतिकताको ऐतिहासिक पानामा
युगौं युगसम्मका लागि बन्दी बनाएर राख्नेछु ।।


४ साउन '७५
चाबहिल


Wednesday, July 18, 2018

गजल


कैले कहीँ माया-प्रीति पिलाएझैँ गर्नु !!
कैले चाहिँ पSरै बसी रिसाएझैँ गर्नु !!

मानिनीभै कैले कत्ति भाउ खोज्ने मान्छे !
घुर्क्याउँदै तर्साए'छि गिज्याएझैँ गर्नु !!

काउकुति लाइदिन्छु ठुस्की एक्लै बसे !!
'नाSइँ' भन्दै उठी केश मिलाएझैँ गर्नु !!

अर्कैको पो जस्तै गरी मेरै तस्वीर हेरी !!
कसको भन्दा दिलै भित्र छिपाएझैँ गर्नु !!

कैले यस्सो अर्कैतिर फर्की बस्छु म'नि !
लाडिएर 'सरीSS' माग्दै बिराएझैँ गर्नु !!
२ साउन '७५

चाबहिल

Friday, July 13, 2018

सुसाइड गोल !!!



-     गोले केआर चालिसेली
आफू त फूटबल गेम नै मन नपराउने मान्छे । गेमको आवाज सुन्दै पनि खै के पो हुन्छ हुन्छ ! सुन्न, भन्न र लेख्न पनि जान्दिनँ । त्यसैले सुसाइड गोलको बारेमा यहाँहरूका सामू के लेख्नु ? किन सूर्यको अगाडि मैन बाल्नु ? यहाँ चाहिँ हाम्रा दैनिकी, सोचविचार साथै कर्महरूका बारेमा लेख्दैछु । तिनमा देखिएका सुसाइड गोलका बारे चर्चा गर्दैछु ।

विद्यालयमा पुगेपछि मात्रै फूटबल र भलिबल देखेको हुँ । एक रुपैँयामा कापी आउँथ्यो । दुर्इ रुपैँयामा चिल्लो र राम्रो मयुर कापी आउँथ्यो । त्यस्तो राम्रो क्वालिटीका कापी त अचेल कतै देखेको छुइनँ । पाँच रुपैँयामा फुल्टिन भन्ने कलम आउँथ्यो । मसी पनि रेडिमेड र बनाउनुपर्ने हुन्थ्यो । कोरेसो मसी भन्नेको साना चक्की किन्थ्यौं । त्यो पनि किताब पढ्न सक्ने भएपछिको कुरा थियो । शुरूमा पाटी बोकेर कुदेको मान्छे ! खरीले लेख्थेँ । पाटीको कालोले हात चर्चरी फुटाउँथ्यो । गोडामा चप्पल हुँदैनथ्यो । त्यसैले पनि फूटबल खेल्न सक्ने अवस्था थिएन । चार कक्षामा पुगेपछि अङ्ग्रेजी अक्षर सिकाएका थिए । 

झुम्रोको फूटबल खेलेको कुरा के गर्नु ? कागतीका दाना टिप्थ्यौं । भेट्नुनेर प्वाल पार्थ्यौं । रस जति निचोर्थ्यौं । अनि फुकेर बल बनाउँथ्यौं । त्यस्ता फुटबल खेल्ने कुरै भएन । भलिबल भन्थ्यौं । कहिले कहिँ खेल्थौं । त्यसैले पनि जिन्दगीमा जानेर फूटबल खेलेको छुइनँ । भलिबल पनि कहिले कहिँ यस्सो छोएको मात्रै हो । नढाँटी भन्दा– कहिल्यै खेलिएन । बरु शुक्रबार र शनिबारको नाममा नाम्लो र डोकोसँग धेरै खेलेको थिएँ । बर्खे बिदाको नाममा घाँस स्याउलासँग साइनो जोडेको थिएँ । बस्तुभाउ चराइयो । खेतबारीमा काम गरियो । किताब र पाठसँग त भनेजस्तो खेल्न पाइएन । फूटबल त परैको कुरा ! त्यसैले, खेलिएन हो । 
खेल्दै नखेलेको अनि झेल्दै नझेलेको कुरासँग जोडिने प्रयास गर्दैछु । भाग्दा-भाग्दै सकिनँ । मध्येराती छिमेकीले 'गोSSSSSल' भन्दै कराए । मस्तनिद्राबाट  बिउँझाए । त्यसैले लेख्ने प्रयास गर्दैछु । कम्ता रीस उठेको होओइन । रीसको मारे अन्तैतिरबाट हान्दैछु । सकेसम्म खत्रक्कै पारुँला भन्ने छ । नभएपनि के मतलब ! जे भएपनि वा नभएपनि साँच्चैमा के नै गर्नु छ र ? कसको के खाइदिएको छु र ? पढ्न मन लागेकोले पढ्दा हुन्छ । मन नभएकाले नपढ्दै राम्रो ! पढेपछि- मन परे लाइक वा कमेण्ट गर्न सक्नुहुनेछ । ताली वा गाली जे गरेपनि लाइक ठोक्नेछु । सकेसम्म रिप्लाई पनि दिन्न । चित्त दुखाए वा बुझाए पनि मतलब गर्ने छुइनँ । 
हाम्रा मान्छेहरू फूटबल खेलमा निकै लिप्त देखिए । थरी-थरीका टिशर्टहरू लगाए । फेसबूसमा तस्वीर टाँसे । पक्ष र विपक्षमा हाजिर भए । पक्षका पक्षमा ताली बजाए । विपक्षका समर्थकमाथि गाली बर्साए । मारामार गरे । खेल एउटा रह्यो । खेल्ने अर्कै रहे । खेल्नेले गोल गरे । खेल्नेले नै गोल खाए । कोहीले जिते । कोही नराम्ररी हारे । हाम्राले गफ चुटे । अरूले टिशर्ट बेचेर लुट्नसम्म लुटे । अनुशासनको गफ चुटे । फेसबूकमा गाली गर्दै अचम्मको अनुशासन प्रदर्शन गरे । लाज पचाएर लेखे । गाली गरे । ताली बजाए । वास्तवमा आफ्नै अनुशासनको घेरोमा सुसाइड गोल गरे ।

अलि अश्लिल लाग्ने एउटा उक्ति सुनेको थिएँ । ''आफ्नो नाक काटेर अर्कोको चाक टाल्ने !!'' हाम्रा फूटबलप्रेमीहरूले यस पटक पुनः उल्लेखित उक्तिलाई चरितार्थ गरे । देश कहाँ छ ? कता जाँदैछ ? स्वनामधन्य नेताहरू के गर्दैछन् ? राजनीतिक माहौल के हुँदैछ ? सबै सबै बिर्से । पक्ष र विपक्षका नाममा आफ्नै साथीभाइमाथि कटाक्ष गरे । फेसबूकमा लेखेर धूल चटाए । मन मनै डाँडा कटाए । कत्तिले साथी भाइ त के नै भयो र गर्लफ्रेण्ड र ब्याइफ्रेण्डलाई पनि दिलबाट हटाए ??? जेहोस्, गज्जब गज्जबका सुसाइड गोल गरे । 
घरमा तरकारी किन्न पैसो छैन । च्यातिएको जुत्ता नसिलाएको धेरै भयो । एक पेट खाना नपाएर कत्ति भोकले मर्दैछन् । हाम्रा आशलाग्दोकै पारा हेर्नुस् । टिशर्ट लाउँदैमा के जित्थ्यो । हाम्रा त बाजीमा हारेर तन्नम् भए । ''रातभरि कराए ! दक्षिणा पनि हराए !! गोठमा बाँधिएका बस्तुभाउ; भोकले किलैमा कराए !!!'' कत्तिका अफिस छुट्यो । नछुटाएको पनि कुर्सीमै उङ्यो । सेवाग्राहीलाई पछाडिबाट ठुङ्यो । ''स्य स्य खेरो ! न्हङ्गु न्हङ्गु खेरो !!'' ''आपसमा झगडा ! सिधै फेसबूकमा लेख्यो !!'' लाइक र कमेण्टले पुगेन; लाइभ गर्न खै कसले, केले छेक्यो ? गाली बर्साएर ताली कमाउने दाउ गरे । पूरा त के हुन्थ्यो मनशाय ! कोही गर्जिए । कोही रोए । हिजोसम्मका आत्मिय मित्र आज स्टेटस र लाइभकै भरमा खोए !! वास्तवमा अर्को गज्जब सुसाइड गोल ठोके । 

छिमेकीको कुरा गर्दा कुटिनी बुढी जस्तै भन्न सक्छन् । नगरूँ भने मन मान्दैन । हिँउदमा बाँध बाँध्छन् । हाम्राहरू लाइक ठोकेर बस्छन् । बर्खामा बस्ती डुबानमा पर्छन् । कोही बग्छन् । कोही भाग्छन् । कोही उद्धार गर्छन् । कोही चाहिँ नाटक मात्रै गर्छन् । बाँकी फेसबूक जिन्दाबाद ! केही दिनअघि जडीबुटीनेर ट्रिपरले एकजनाको ज्यान लियो । त्यहीनेर पुनः अर्कोको पनि ज्यानै लियो । घाइते छटपटाइरहेको थियो'रे । प्रहरीले गुहार मागे । कसैले पनि घाइतेलाई अस्पताल पुर्‍याउन आवश्यक ठानेनन् । प्रहरीको अनुरोधलाई पनि मानेनन् । बरु फेसबूकमा राख्ने सोँचका साथ फोटो खिचेर बसे । भिडियो खिचेर रमे । मानवसभ्यता र नेपालीत्वमाथि लज्जास्पद सुसाइड गोल गरे ।

यत्ति नै खेर असारे विकास फस्टाएको छ । नाम मात्रैको कार्यक्रम गर्दै; सक्नेले पैसो पट्काएको छ । देश नै फूटबलको माहौलमा डुबेको छ । धुर्त स्यालले यत्ति नै खेर सडक खनेको छ । नेपालको परिचय यस्तै भनेर मानेको छ । सडकपेटीमा बस्दा खेदिएका पनि यहीँ छन् । बोक्सीका नाममा चुटिएका पनि यहीँ छन् । अस्मिता लुटिएका पनि यहीँ छन् । करोडौंको घर ठडाएका पनि यहीँ छन् । घर चाहिँ करोडौंको छ । एउटा डुँडसम्म राख्दैनन् । बलेसीदेखि थुके'सी समेत फूटपाथमा पारेका छन् । बटुवाका टाउकामा हुने नहुने झारेका छन् । फोहोर फालेर ढल जाम पारेका छन् । भूकम्पले थिलथिलो बनाएको घरको जग छ । बर्खे भल घरमा छिर्दा चाहिँ सरकारलाई गाली गरेका छन् । फूटबलको यो माहौल लागिरहेकै बेला अरू के नै भन्नु र ? जेहोस् घरभेटीहरूले पनि ढल थुनेर घरमा भल पसाएर हेर्न लायक सुसाइड गोल गरिरहेका छन् । 

केन्द्रीय सरकारमा रहेका डाम्ना स्वभावहरू प्रदेश सरकारमा पसेका छन् । तमुवान खाएका छन् । मगरातलाई लात हानेका छन् । आफ्नै भनिएका पट्केहरूले ताली बजाएका छन् । हेर्दै रमाएका छन् । जातीयताभन्दा माथि उठ्नुपर्ने पाठ घोकाएका छन् । समृद्धिको नारा लगाएका छन् । ताम्सालिङ र नेवाःलाई बागमती नामक ढलमतीमा लगेर सेलाउने सोचको प्रबर्द्धन गरेका छन् । कोहीले खबरदारी गरेका छन् । कोहीले समर्थनमा लाइक हानेका छन् । सातै प्रदेशका नामाङ्कनमा हिन्दू ब्राह्मणवादी सोचलाई स्थापित गराउने कसम खाएका छन् । मै हुँ भन्नेहरू पनि देखिएका छन् । ''कसलाई केको धन्दा : घरज्वाइँलाई खानाकै धन्दा'' भन्थे । आफूलाई पायकपर्ने स्थानमा प्रदेश राजधानी सारिदेऊ भन्दै रोइरहेका छन् । त्यसैमा झगडा गरिरहेका छन् । उत्ता असत्तिहरुले चाहिँ- पहिचानको खाल उठिसकेको भाषण ठोकेका छन् । कत्तिले भन्दैथिए- 'ताम्सालिङको पक्षमा तिमीले नलेखे कसले लेख्ने ?'' हो भन्ने लाग्यो । ताम्सालिङको लागि भनेर लेखेँ । कत्तिले स्याबासी दिए । कोही-कोहीले अनेक गाली गरे । जुत्ताको माला ठिक पारेको भनेर लेखे । ''खिस्स बुढी ! हरियो दाँत !!'' पहिचानमाथि पहिचानवादीले नै सुसाइड गोल हानेका छन् । 

कुनै जमानामा तत्कालीन माओवादीले पहिचानको कुरा उठाएको थियो । ''तिनीहरूले भन्दा हामीले पहिले उठाएका'' भन्ने पनि छँदैछन् । अहिले पहिचानको कुरा उठाएकाहरू नै त्यो बेला चाहिँ- तत्कालीन माओवादीकै विरोधमा रमेर बसे । त्यसैकारण माओवादी डाइनोसोरसको 'ठिप' (मेसो)मा पुग्यो । पहिचान विरोधीले हाइहाइ कमाए । हाम्राले उनैका धोती समाए । जिन्दगीमा अचम्मै रमाए । आज आएर पहिचान सकियो भन्दै रुवाबासी गर्दैछन् । पहिचानको खालबाट ओलीको दाउमा च्याँखे थाप्दैछन् । अझै पनि चेत खुलेको छैन । काम जस्तोसुकै भएपनि पहिचान भन्न चाहिँ भुलेका छैनन् । तिनीहरूले पनि आफ्नैलाई झुक्याएका छन्। जानीजानी मिलाएर नियत सहित सुसाइड गोल गरेका छन्। 

प्रत्येक बर्खामा तरार्इ डुप्थ्यो । यसपालि त उपत्यका नै डुब्यो । डुबेको कोठामा कत्तिले बल्छी ताने । कतिले सेल्फी हाने । कतिले आँगनीमै पौडिन जाने । कतिले फेसबूक लाइभ दिए । मान्नैपर्छ यार, त्यस्तैमा पनि धेरैले फूटबल गेम छुटाएनन् । आफूलाई मन नपरेका टिमले हार्दा चाहिँ कसैले चित्त दुखाएनन् । एकदिन चाबहिलमा पाँच सात जना केटाहरू कडा समीक्षामा देखिए । अझै भनौं न- आलोचनामा उत्रिए । फलानोलाई खेल्नै आउँदैन । फलानो त खेलाडी नै होइन । म भए यस्तो हान्थेँ । उस्तो हान्थेँ । जसरी पनि जित्थेँ । ए बाSSSSS कम्तिमा पनि तिनैलाई नखेलाउनु नै हारेकाहरूका दुभार्ग्य रहेछन् क्यारे । ''गफै त हो सम्धी : डेढ लाख पर्ने त भाले नै छ'' भन्थे । हो नै रहेछ नि- आफ्नो दैनिकी छोडेर खेलाडीका काट्टो खाए । दुर्इ चार प्लेट मःम चपाए । बच्चालाई औषधी किन्न ल्याएको पैसो साथीभाइसँग बसेरै सिध्याए । समीक्षाको नाममा अर्को सुसाइड गोल हाने । 

सरकार र नेता नामका पट्केहरूलाई के भन्नु र हो ! ढङ्ग हेर्‍यो- डामेर छोडेको साँढे जस्ता छन् । कर्तुत हेर्‍यो- बर्खामा कुखुरा चोर्ने वनढाँडे जस्ता छन् । विचार सुन्यो- कतै नअडिने आँडे जस्ता छन् । कोखै त तिनका दाँते जस्ता छन् । दैनिकी हेर्‍यो- भेँडाका भोटले गाँजे जस्ता छन् । भात मागे लात दिन्छु भन्छन् । हात मागे काटदिन्छु भन्छन् । छाता मागे कर्कलाको पात दिन्छु भन्छन् । सोझो जनता हुँ भने कपुत मान्छन् । गँजेडीदेखि डनगिरी देखे सपुत ठान्छन् । नेपालीभन्दा पनि ब्राह्मणजस्तो हुनु भन्छन् । पहिचानले समृद्धिलाई पछि पार्छ भन्छन् । नमान्नेको दाँत गन्छन् । ऐन, नियम र कानूनका नाममा पहिचानको छाला काढ्छन् । मौलिक संस्कार संस्कृतिको रगत चाट्छन् । खदा लगाएको देख्नै हुन्न; गर्दनमा सिधै गलबन्दी फ्याँक्छन् । यस्तै हर्कतलाई नै त भन्दारहेछन्- सुसाइड गोल !!! नहेरूँ भनेपनि देखिइरहने । नलेखुँ भनेपनि मनैले नमान्ने ! त्यसैले जस्तो देखेँ : त्यस्तै लेखेँ !!! कसैका मन फुरङ्ग हुन् कि मुटु फ्याक परुन् । सबैका सामू यसरी नै राखेँ । हि हि हा ।।।
२९ असार '७५

चाबहिल

Sunday, July 8, 2018

गजल

झुण्डी मर्न डोरी बाटे जस्तो नहोस् !!
कर्म कैल्यै रगत चाटे जस्तो नहोस् !!

सम्यक् हुनु पर्छ हरेक कर्ता क्रिया !
श्वाससँग लाश साटे जस्तो नहोस् !!!!

झूट छोप्न झूटै बोल्ने तिम्रो बानी !!!!!
कुठाउँमा वस्त्र फाटे जस्तो नहोस् !!

जोस्सिएर बोल्छौ होश छ कि छैन ??
लाज छोप्न नाकै काटे जस्तो नहोस् !!

अरूलाई ढाँट्नु अघि बुझ्नु सोच्नु !!!!
साँच्चै आफैँलाई ढाँटे जस्तो नहोस् !!
२५ असार '७५
चाबहिल

Wednesday, July 4, 2018

गजल


फेसबूकमा सक्तो गफ ठोकिन्छ !
निहू खोजे सिधै ब्लक ठोकिन्छ !!

मर्दकी सातवटी स्वास्नी भन्छन् !
तरुनी पाए साँच्चै लव ठोकिन्छ !!

सेलो गाएर खै गर्नु के छ र ???
बरु सके सम्मै रक ठोकिन्छ !!

लजाएझैँ गर्दै छेउमै उभ्योस् न !
ज्यान तिम्रै हुन्छ हस ठोकिन्छ !!

जत्ति राम्रा कुरा गरुन् अरूले !
हैन लेकिन किन्तु बट ठोकिन्छ !!
१९ असार '७५
चाबहिल

Sunday, July 1, 2018

गोबरहरू


गोबरहरू ओभर देखिन्छन् तिनका स्वभाव नै त्यस्तै हुन्छन् ।। तिनीहरू प्रायःजसो फेसबूकमा- कराउँछन्/रून्छन्/चिच्याउँछन् तथानाम ओकल्छन्/लेख्छन्।। किनकी संसार थाम्ने जिम्मा आफैँले लिएको दीवास्वप्न देख्छन् ।। संसार कहाँ त ? कता जाँदैछ ? बडो चिन्तामा डुप्छन् रातोदिन/हरपल रून्छन् ।। तिनीहरू आफ्नै फेसबूकवालभरि विद्रोहका नाममा- लाशका चाङ लगाउँछन् । अर्काका मासु काटेर भाग लगाउँछन् ।। आँशुको रम समाएर चियर्स गर्दै/भन्दै रमाउँछन् ।। कोही ख्रिश्चियन बन्छन् कोही हिन्दू हुन्छन् कोही बौध्द रहन्छन् कोही बोन कहन्छन् कोही मुस्लिम चाहन्छन् ।। ज्ञानमार्गको खोल ओढ्छन् भक्तिमार्गको गन्ध छाद्छन् फलाना र ढिस्काना भन्दै अरूका कुरा काटेर स्तुतिगान गाउँछन् हावामा रमाउँछन् ।। एकले अर्काका छाला काढ्छन् लाइक, कमेण्ट र शेयरका नाममा विपक्षीका मासु लुस्छन् स्वाद लिइलिर्इ रगत चुस्छन् ।। त्यति गर्न नपाए- खाएको पनि पच्तैन राती निद्रा पनि लाग्दैन ।। त्यसैले त- फेसबूकवालहरूमा सिंह बनेर गर्जन्छन् । आफ्नै छाया देख्दा पनि ''भूत'' भन्दै तर्सन्छन् ।। १८ असार '७५ चाबहिल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...