Wednesday, February 14, 2024

ह्लोछरले छोपेको सीप दिवस

 


पृष्ठभूमि

यतिखेर ह्लोछर नजिकिँदैछ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरू ह्लोछरमय हुन थालेका छन् । ह्लोछर मनाउने समुदायका व्यक्ति तथा संस्थाहरू यो अवसरमा कार्यक्रम आयोजनाको चटारोमा देखिन्छन् । कतिपय अन्यौलताका भूमरीमा रूमलिन थालेका छन् । कति चाहिँ उत्सवको नाममा तेरो र मेरो भन्दै हिलो छ्यापाछ्याप गरिरहेका छन् । कति व्यक्ति तथा संस्थाहरू आफूले मान्ने गरेको ह्लोछरको पक्षमा मतो गर्दैछन् । समुदायका व्यक्ति तथा संस्थाहरूलाई आफ्नो पक्षमा उभ्याउने प्रयासमा छन् । यतिखेर ह्लोछरमा रहेको तीतो सत्य साथै यसको छायाँमा पर्दै आएको सीप दिवस सम्बन्धमा केही प्रसङ्ग उप्काउने प्रयास गरिएको छ ।
१. ह्लोछर
ह्लोछर शब्द ह्लो र छरबाट बनेको हो । ह्लोले वर्ष/वर्ग साथै छरले नयाँ भन्ने अर्थ दिन्छ । यसप्रकार एक वर्गमा रहेको वर्ष पूरा भई अर्को वर्गको वर्षमा प्रवेश गर्नु नै ह्लोछर हो । छर अर्थात नयाँलाई नै क्षेत्र तथा सामुदायिक रूपमा सर पनि भन्ने गरिएका पाइन्छन् । ह्लो कहिले फिर्छ ? तमु, सोनम र ग्यल्पोमध्ये कुन चाहिँ ह्लोछर आधिकारिक वा प्रामाणिक हो ? ह्लोछर कसरी मनाउने ? यी तीन प्रश्नहरू सबैभन्दा टड्कारो रहेका छन् । यिनै प्रश्नले ह्लोछर मान्ने सारा व्यक्ति, संस्था तथा समुदायहरूका नीद लुटेको भन्दा फरक नपर्ला । यहीनेरै नेपालमा प्रचलित केही ह्लोछरहरूलाई हेरौँ ।
तमु/तोला ह्लोछरलाई गुरुङले आफ्नो मानेको छ । गुरुङ बाहेक अन्य समुदाय तथा ती समुदायका व्यक्ति तथा संस्थाहरूले ह्लोछरलाई चन्द्रपात्रोको आधारमा मान्दैआएका छन् । यसर्थमा गुरुङले चाहिँ तमु/तोला ह्लोछरलाई सौर्यपात्रोमा आधारित बनाएको छ । स्मरणीय तथ्य चाहिँ वि.सं. २०५१ सालमा नेपाली राज्यसत्ताले पर्वको रूपमा बिदा दिन थाल्दाको बखत गुरुङले पनि चन्द्रपात्रोको आधारमा नै ह्लोछर मानेको देखिन्छ । त्यसको केही वर्षपछि नै उसले सौर्यपात्रोअनुसार पुस १५ लाई तमु/तोला ह्लोछरको रूपमा मान्न थालेको भनी जानकारहरू बताउँछन् ।
सोनम ह्लोछरलाई शुरूमा गुरुङ लगायत हिमाली समुदायहरूले एक साथ मनाएका थिए । यसले शुरूदेखि अहिलेसम्म पनि चन्द्रपात्रोलाई नै अङ्गिकार गर्दै ऐतिहासिक निरन्तरतालाई कायम गरेको छ । यो ह्लोछरको रौनकता पनि धेरै वर्ष टिक्न सकेन । शुरूमा गुरुङ त्यसपछि शेर्पा समुदायले सोनमलाई छोडे । सोनम छोडेर गुरुङले तमु/तोला ह्लोछर माने भने शेर्पा लगायतका कतिपय समुदायहरूले ग्यल्पो भनेर ह्लोछरको पङ्क्तिमा अर्को नाम थपे । यसप्रकार सोनम ह्लोछर तामाङको भागमा अपुताली परेसरह भएको देखिन्छ ।
ग्यल्पो ह्लोसरलाई नेपालको हकमा कान्छो मान्न सकिन्छ । सोनम र तमुपछि यो ह्लोछर मान्न थालिएको हो । त्यसो त अघिदेखि नै ग्यल्पो ह्लोसर मान्दै आएको दाबी नरहेको होइन । खासगरी सोनम ह्लोछर छोडेर शेर्पा समुदायले ग्यल्पो ह्लोसर मनाउन थालेको थियो । ग्यल्पोको अर्थ राजा हुन्छ । यसप्रकार राजा वा राजसंस्थासँग सम्बन्धित रहेकोले ग्यल्पो चाहिँ ठूलो भन्ने एकथरी मत रहेको पनि देखिन्छ ।
सोनम ह्लोछरलाई तामाङ राष्ट्रले विशेषतः आफ्नो मौलिक पर्वको रुपमा दाबी गर्न थालेको देखिन्छ । नेपालमा राज्यसत्ताले ह्लोछरलाई मान्यता दिएको बेलामा यो तामाङको मात्रै पेवा थिएन भन्ने त माथि उल्लेख गरिसकेको छ । तामाङकै केही व्यक्ति तथा संस्थाहरूले सोनम छोडेर ग्यल्पो मान्न थालेका छन् । त्यसो त ग्यल्पो पनि शेर्पाका पुर्खाको हत्या गरी मङ्गोलको ग्यल्पोले शुरू गरेका भन्ने तथ्य बाहिरिएको छ । त्यसपछि शेर्पा लगायतको समुदायका केही व्यक्तिहरूले सोनम ल्होछर नै ठीक पनि भन्न समेत थालेका देखिन्छन् ।

तामाङभित्रै पनि माघेसङराति नै ह्लो फिर्छ भन्ने मान्यता पनि देखिएको छ । माघेङराति जुन विधिअनुसार तामाङले मनाउने गरेको छ; त्यो सङरातिभन्दा पनि ह्लोछर मनाएको भन्ने प्रमाण हो । त्यसो त तपङ्ह्य(पुस पूर्णिमा)मा ह्लो फिर्छ भन्ने अर्का एक थप मत पनि तामाङ समुदायमा नै रहेको बताउँछन् । यसप्रकार तामाङ समुदाय आफै थरीथरीका मूल्य, मान्यता र विश्वासका टेकोमा अडिन खोजिरहेको छ । यसले ठूलो समुदाय भएको प्रमाण मात्रै नभई एकताभन्दा पनि विविधता कायम रहेको प्रमाणित गरिरहेको छ । यसप्रकार ह्लोछर महान् पर्व भन्दापनि अन्यौलग्रस्त भएको तीतो यथार्थ हो भन्न पनि सक्छनन् । त्यसो भए सोनम ह्लोछर कहिले फिर्छ भन्ने बारेमा केही कुरा गरी हेरौँ ।
(क) माघे सङराति(सङ्क्रान्ति)
यो सौर्यपात्रोसँग सम्बन्धित एक पर्व हो । विशेषगरी नयाँ महिना र मौसम परिवर्तनको प्रसङ्ग हो । यही दिनदेखि सूर्य दक्षिणबाट उत्तरतिर सर्छ । फलस्वरूप मौसममा परिवर्तन र दिन लम्बिन थाल्छ । नेपालमा थारू र मगर समुदायले माघीको नाममा माघेसङ्क्रान्तिलाई पर्वको रूपमा मान्दै आएका पाइन्छन् । त्यस्तैगरी हिन्दूहरूका लागि पनि माघेसङ्क्रान्ति ठूलै पर्व हो । यो पर्वलाई प्रायःजसो समुदायले कन्दमूलको सेवन गर्ने पर्वको रूपमा मान्दै आएकाछन् । यस्तैगरी चाकु(उखुको रसबाट निर्मित खाद्यपदार्थ)लाई पनि प्रयोग गर्दछन् ।
तामाङ समुदायले पनि माघेङरातिको नाममा यसलाई मान्दै आएको छ । विशेषतः नेपालमा हिन्दू राज्यसत्ताले सौर्यपात्रोलाई आधिकारिक तथा सरकारीस्तरबाट मान्यता दिएकाले यस्तो भएको हो । फलस्वरूप ख्रे नामक महिनाको पहिलो दिन मान्नुपर्ने पर्वलाई नै नजिकै परेको र राज्यसत्ताले पनि मान्यता दिएको हुनाले माघेसङ्क्रान्तिमा नै मनाउन थालेका हुनसक्छ । त्यस्तैगरी चन्द्रपात्रोको सहज उपलब्ध नभएकोले पनि सौर्यपात्रोको सहारा लिन विवश भएको स्पष्ट छ ।
अहिले पनि काठमाडौं लगायत धादिङ, नुवाकोटतिर मात्रै नभई माबरलिङका तामाङले पनि माघेसङराति मान्दै आएका छन् । सिन्धुली माबर क्षेत्रमा त माघे र साउने सङ्रातिमा चेलीबेटीहरूलाई निम्तो दिनैपर्ने परम्परा कायम छ । सङराति र दुगुङ्ह्य (बैशाखे पूर्णिमा) चेलीबेटीलाई बोलाउनुपर्दछ । यदि बोलाएनन् भने माइतीमा आउनु वा जानुपर्छ भन्ने हुँदैन । म्हेनङ/म्हेनिङमा निम्तो दिइरहनुपर्दैन । माघेसङराति मनाउने तरिका र खाद्यसंस्कृति चाहिँ तामाङ मौलिकतामा आधारित रहेको दाबी गर्न सकिन्छ । यतिखेर कन्दमूलका रूपमा तेमे(दिमतेमे, सूतेमे, तवमफ्ला, सिमलतेमे, ह्रितेमे र तेमे/सखरखण्ड) अर्थात तरुल साथै तया(कङ्गुरतया, ङ्हेतया, नपतया र पिङतया) अर्थात पिँडालुका विशेष प्रयोग गरिन्छन् । त्यस्तैगरी तीते, मीठे र हैबरे फापरमध्ये पाएसम्म तीतेफापरको पीठोबाट बनाइएका अलुम/बोल्डो अर्थात पानीरोटी विशेष प्रयोग आवश्यक मानिन्छन् । यसप्रकार तीतेफापरको पानीरोटी र वनतरुलको सानो काँचै टुक्राको सेवन गर्नुभनेको जडीबुटी, अम्चीज्ञान साथै उपचारविधिको हिसाबले निकै महत्त्वपूर्ण देखिन्छ । यतिखेर फल्गी(चिउरा), राँगाको मासु साथै रक्सीको पनि प्रशस्त उपभोग गरिन्छन् ।
यो बिहान सबेरै उठेर नुहाउँछन् । त्यसपछि घरमा रहेका सदस्यहरूमध्ये घरमूलीदेखि साइनोअनुसार ढोगेर आशिरवाद लिन्छन् । त्यसपछि वनतरुलको काँचै सानो टुक्रा सेवन गर्दछन् । त्यसपछि टोलछिमेकमा ढोग्न निस्कन्छन् । यी सबैले ह्लोछर मनाएको भन्ने स्पष्ट हुन्छ । यसप्रकार माघ १ गतेदेखि ह्लो फिरेको मान्यता सथापित छ । ख्रे अर्थात माघ शुक्लप्रतिपदादेखि ह्लो फिरेको मान्यता खासगरी ह्लोछरलाई राज्यसत्ताले मान्यता दिएपछिको कुरा हो । जेहोस्, माघेसङ्क्रान्ति मनाउने तरिकालाई नै अवलम्बन गर्दै त्यो क्रमलाई माघ १ गते नभई ख्रे नामक महिना लागेको १ गते मनाउने हो भने सरल हुने स्पष्ट छ । पर्वहरूलाई मनाउने क्रममा दङ्ब वा तेन्ब शब्दको प्रयोग गरिन्छन् । खासगरी तेन्पले मनाउने वा थाम्ने साथै दङ्बले धपाउने वा पठाउने भन्ने अर्थ दिन्छ । यहीनेर अन्यौलता कायम रहेको देखिन्छ । ह्लोछर तेन्पभन्दा पनि दङ्ब चाहिँ उचित शब्द संयोजन हो । यो पनि खोज्न आवश्यक थप पाटो वा प्रसङ्ग हो ।
अन्ततः माघ १ गतेदेखि ह्लो फिर्यो भन्नु चाहिँ सौर्यपात्रोलाई मान्नु नै हो । त्यो भनेको हिन्दूकरणको एक घान हाल्नु वा त्यहाँ मिसिनु हो । त्यसैले ह्लोछरलाई सौर्य नभई चन्द्रपात्रोअनुसार मान्नु नै सबैभन्दा उचित हुन्छ । त्यसको लागि चन्द्रपात्रोको समुदचित प्रकाशन, बिक्री वितरण तथा प्रयोगमा बानी पार्न अति आवश्यक देखिन्छ । त्यति पनि गर्न नसक्ने हो भने ह्लोछर भनेर उफ्रनुको तुक के रहला र ?
(ख) तपङ्ह्य (पुस पूर्णिमा)
तप ङ्ह्यमा ल्हो फिर्छ भन्ने मत विशेषगरी तेमाल लगायतका केही क्षेत्रमा रहेको भन्ने गरेका पाइन्छन् । यो एक किसिमको अभ्यास हो; जुन निकै पहिले कायम रहेको हुनसक्छ । अहिले हेर्ने हो भने शायद त्यतिधेरै उपयुक्त देखिँदैन । त्यसैले यो मत खासै प्रभावकारी देखिएको छैन । निकै सानो क्षेत्रमा फैलिएको वा कम क्षेत्रमा मानिएको हुन सक्छ । हाल यो मतले ह्लो कहिले फिर्छ भन्ने सन्दर्भमा चाहिँ सबैभन्दा कम प्रभाव वा समस्या पारेको छ । यसले भन्दा बढी त माघ १ गते ह्लो फिर्छ भन्ने मत सशक्त देखिन्छ । त्यसपछि मात्रै ख्रे नामक महिनाको १ गते अर्थात सोनम कि ग्यल्पो ह्लोछर भन्ने ठीक भन्ने विवाद व्यापक देखिन्छ ।
(ग) ख्रे लको छेपा गी
ख्रे नामक महिनाको एक गते सोनम ल्होछर पर्दछ । यही तथ्य सौर्यपात्रोमा बानी परेका व्यक्तिहरूलाई बुझाउनको लागि चाहिँ माघ शुक्लप्रतिपदा भन्ने गरिएको हो । खासगरी महिनामा शुक्ल र कृष्ण गरी दुई पक्ष हुन्छन् । यिनैलाई आमबोलीमा पूर्णे र औँशी भनिन्छन् । तामाङले सामान्यतः छेपा वा ङ्ह्य अनि थुमथुम लगायतका शब्दद्वारा बुझ्ने र बुझाउने गरेका पाइन्छन् । यसले चन्द्रपात्रोविना सम्भव हुँदैन । सौर्यपात्रो चाहिँ सूर्यको गतिसँग सम्बन्धित रहेको हुन्छ । बिर्सन नहुने तथ्य चाहिँ औँशी र पूर्णे भनेको चन्द्रमाको गतिमा आधारित विषय हुन् । यसप्रकार सोनम ह्लोछर भनेको ख्रे नामक महिनाको १ गते नै पर्दछ । यसमा अर्को मत राख्न आवश्यक देखिँदैन । सोनम ह्लोछर मान्नेले महिनालाई ल र ग्याल्बो ह्लोछर मान्नेले दवा (दावा) भन्ने गर्दछन् । यो अति महत्त्वपूर्ण र संवेदनशील विषय हो । यी दुई (ल र दवा) शब्दहरूमध्ये तामाङ जनबोलीमा लको स्थानलाई दवाले लिन सकेको छैन । यसले ग्यल्पो ह्लोछर तामाङको होइन भन्ने मतलाई बल दिएको देखिन्छ ।
२. ख्रे लको छेपा ङा
ह्लोछरले छोपेको सीप दिवस नै यो लेखको नाम जुराइएको छ । यो शीर्षक र शीर्षकमा रहेर गरिएको प्रस्तुति सबैजनालाई चित्त बुझ्नेछ भन्ने पनि छैन । सबैका चित्त यसैमा बुझ्नैपर्दछ भन्ने पनि अनिवार्य छैन । ह्लोछर एक उत्सव हो । उत्सव भएकोले पर्व हो । पर्वलाई कसैले चाड पनि भन्न सक्छन् । यद्यपि उत्सव, चाड र पर्व जस्ता शब्दका आफ्नै सार हुन्छन् । ती सारहरु ठ्याक्कै एकै हुँदैनन् । यो अर्को विचारनीय र संवेनशील पक्ष हो । खासगरी ह्लोछर उत्सव हो । त्यही उत्सवले चाडको रूप लिन्छ भने टाउको दुखाइरहन आवश्यक पनि छैन तर ह्लोछरको बहस गर्ने बहानामा बबण्डर मच्चाउनेहरूले बुझ्न जरुरी पक्ष चाहिँ ख्रे लको १ गते भन्दा पनि ५ गते विशेष महत्त्वपूर्ण उत्सव वा चाड पर्दछ ।
यसप्रकार ख्रे महिनाको ५ गर्ते अर्थात छेपा ङाको बारेमा यहाँ केही चर्चा गरौँ । यो दिन जीविकोपार्जन साथै वंश निरन्तरताको हिसाबले ह्लोछरभन्दापनि अझै महत्त्वपूर्ण देखिन्छ । सोनम ह्लोछरकै दिन चीन लगायतका कैयन् देशहरूमा ह्लोछर पर्व मनाउने गरेका देखिन्छन् । त्यसो हो भने सोनम ह्लोछरलाई तामाङको मौलिक पहिचानमूलक पर्व भन्नु लाजको पसारोभन्दा अरू के हुन सक्ला र ?
तामाङ पुर्खाले ख्रे लको छेपा ङालाई विशेष प्राथमिकताको साथ स्थापित गरेका भन्न सकिन्छ । यस दिन तामाङका महान् पुर्खाले सीप दिवसको रूपमा मानेका र स्थापित गरेका देखिन्छन् । यो दिन बहर र घोडा दाउने गरिन्थ्यो । गृहस्थीलाई चाहिँ सम्पूर्ण सीपहरू सिक्ने सिकाउने गरिन्थ्यो । बालबालिका लगायतलाई अक्षर चिनाउने पनि यही दिन हो । मकैको छेवर (मकै छर्न शुरू) पनि यही दिनबाट गरिन्थ्यो । सीप सिक्न चाहाने चेला र सिकाउने गुरु पनि यही दिन तोकिन्थे । डकर्मी, सिङकर्मी(सिकर्मी), चित्रफोँग अर्थात् चोया लगायतलाई बुनेर तयार पारिने साधन वा सामग्रीहरू, खेतीपातीको सीप सिक्ने सिकाउने र गोरु जोत्न सिक्ने लगायतका लागि तोकिएको दिन पनि यही छेपा ङा नै थियो । यस्तो महान् दिन वा पर्वदेखि आज सोनम ह्लोछरको हिमायती र पक्षपाति तामाङ समुदाय बेखर हुन लज्जास्प्रद विषय हो । यस बारेमा निम्नानुसार सङ्क्षेपमा चर्चा गरिएको छ ।

(क) सीप दिवस
ह्लोछरको बेलामा पर्ने सबैभन्दा महत्त्वपूर्ण पर्वको रूपमा सीप दिवसलाई लिन सकिन्छ । यो ख्रे महिनाको शुक्लपञ्चमीमा पर्दछ । महान् पुर्खाहरूले पात्रो निर्माणको क्रममा ख्रे महिनाको ५ गते विशेष पर्वको रूपमा स्थापित गराएका थिए । त्यसको ठीक छ महिनापछि गोनेङ्ह्य(जनै पूर्णिमा)मा भने ज्ञान दिवसको रूपमा स्थापित गराएका देखिन्छन् । यसप्रकार छ छ महिनामा सीप र ज्ञानका पक्षलाई समेटेर दिवसको रूपमा मान्ने परम्परा बसाएका थिए । हिजोआज नेपाली तामाङ समुदायले गोनेङ्ह्यलाई ज्ञान दिवसको रूपमा लिन, बुझ्न र शुभकामना आदानप्रदान गर्न थालेका छन् । त्यसैगरी ख्रे महिनाको १ गते ह्लो फिर्यो भनेपछिको पाँचौँ दिनमा सीप सिक्ने र सिकाउने दिवसको रूपमा मान्नुपर्ने देखिन्छ । यद्यपि यो विशेष महत्त्वसहितको पर्व ह्लोछरद्वारा छोपिएको वा थिचिएको भन्न सकिन्छ ।
यो निकै दुखद् पक्ष बनेको छ । जीवनमा ज्ञान र सीप दुइटै अत्यावश्यक विषय हुन् । कुनै एकको अभावमा सङ्कट उत्पन्न हुन्छ । यही तथ्यलाई हृदयङ्गम गर्दै महान् पुर्खाले सीप दिवस मनाउने र त्यसको छ महिनापछि ज्ञान दिवस मनाउने परम्परा बसाएका थिए । ज्ञान दिवसको बारेमा लोकोत्तर लोकवादी विचार समुह/अभियान सञ्चालन गरिएसँगै केही विमर्श थालिएको थियो तर आजसम्म पनि सीप दिवसको बारेमा प्रायः व्यक्ति तथा सङ्घ संस्थाहरू बेखर देखिन्छन् ।
यो दिन तामाङले आफ्नो जीवनयापनका लागि आवश्यक सबै किसिमका सीप सिक्तथे । माथि उल्लेख गरिएजसरी नै घर बनाउनेक्रममा गाह्रो लगाउने, झ्यालढोका बनाउने र कुँध्ने साथै छाना छाउने लगायत तामाङ विश्वासपद्धतिमा आधारित सीप सिक्ने र सिकाउने परम्परा चलाएका थिए । तामाङ घरको अङ्गहरू के, कति र कस्ता हुने साथै कस्तो घरमा मान्छे बस्ने, कस्तोमा बस्तुभाउ राख्ने र कस्तोमा फो’ल स्थापित गर्न मिल्छ कि मिल्दैन भन्नेसम्मका कुरा हुन्थे । कुन प्रजातिका काठका प्रयोग गर्ने र नगर्ने साथै घर केले कसरी छाउने भन्नेसम्मका विषयहरू जोडिएका हुन्थे ।
हाल रसुवा क्षेत्रमा पुग्ने हो भने परम्परागत तामाङ घर निर्माण सीप निकै अब्बल रहेको स्पष्ट हुन्छ । त्यस्तैगरी घरमा आवश्यक पर्ने डोको, डाला, सोली, घुम, छपनी, पेरोङ्गो, झोलुङ्गो, खैसङ, गै, ब्यो/मान्द्रो, बुत्तुर, भकारी, डेली/फिपी लगायतका चोयाद्वारा बुनिने सीप पनि विकास गरेका थिए । खेतबारी खनजोत गर्ने क्रममा आवश्यक पर्ने हलो र जुवा लगायतका औजारहरू तामाङ आफैले निर्माण गर्थे । पाज्यर(अल्लो) तथा भाङ(गाँजा)को रेसाको धागो बनाउने साथै कपासलाई धागोमा परिणत गरी कपडा बुन्ने, बुनिएका कपडालाई काटेर सिलाउनेसम्मका सीप महान् पुर्खाले विकास गरी पुस्तान्तरण गर्दै आएका थिए । बालबालिकालाई पढाइमा लगाउने वा सीपहरू सिकाउने, घोडा र बहर दाउने पनि यसै दिन गर्दथे ।
यसप्रकार गृहस्थ जीवनको लागि आवश्यक सम्पूर्ण सीपहरूका विकास गर्दै ती सबै सीपलाई हस्तान्तरण गर्न पर्वको रूपमा विकास गरेका थिए । त्यसैलाई यहाँ सीप दिवस भनिएको हो । ती सीपका लाइनमा यस्तै अति दुर्लभ तथा मौलिक सीप पनि थिए; जुन प्रायः लोपोन्मुख वा लोप पनि भइसकेका छन् । भ्रम(अखरी) अर्थात् मर्चा बनाउने, त्यसको प्रयोग गरी अन्नबाट दुज्जे (अमृत) वा मादकपदार्थको निर्माण गर्ने, खाद्यसंस्कृति र त्यस सम्बन्धी मौलिक सीपका अन्वेषण तथा पुस्तान्तरण गर्दै आएका थिए । खेतीपाती तथा पशुपङ्क्षी पालनका लागि आवश्यक सीप पनि विकास गरेकै थिए । वाद्ययन्त्र (ङ्ह/ढ्याङ्ग्रो, डम्फू, टुङ्ना, पुली अर्थात मुरली बनाउने सीप पनि विकास गरी पुस्तान्तरणको प्रक्रियामा राखेका थिए । बोम्बो, तम्बा र लामाका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू निर्माण गर्ने सीप जानेकै थिए ।
यी सारा सीपहरूका बारेमा यो छोटो लेखमा सबै समावेश सम्भव भएन । तामाङ सीप पक्षमा रहेर लेख्ने हो भने ठूलै ग्रन्थ बन्नेछ । त्यो ग्रन्थले तामाङ पहिचानको मार्गमा थप कोशेढुङ्गोको स्थान लिनेछ । त्यसैले तामाङ सीप बिर्सनुको सट्टा यस सम्बन्धमा खोजेर पुस्तक प्रकाशन गर्नु अति आवश्यक छ । तामाङ सीपमा समयानुकूल परिष्कार गर्दै विश्वबजारमा कसरी स्थापित हुने भन्नेतिर प्रवेश गर्नुको विकल्प छैन ।
यस्तो विषयदेखि बेखर भएर बस्नु जस्तो कमजोरी अरू केही हुन सक्तैन । यस्तो महत्त्वपूर्ण विधा ह्लोछरको नाममा ‘‘स्यजी होइ तामाङ’’ भन्दै कराएर मात्रै हुँदैन । टुँडिखेलमा वा गाउँबस्तीमा गीत गाएर मनोरञ्जन गरेर मात्रै पनि हुँदैन । ती मनोरञ्जन गर्नै हुँदैन पनि भन्न खोजिएको होइन । कम्तिमा पनि अब तामाङ सीप पक्षको बारेमा छलफल तथा विमर्श थालिनुपर्दछ । यसलाई उत्सव वा दिवसकै रूपमा स्थापित गर्दै मनाउने क्रम चलाउन ढिलो गर्नुहुँदैन । अन्यथा भविष्य र भावी सन्ततिले माफी दिने छैनन् ।
(ख) मकैको छेवर
ख्रे महिनाको ५ गते अर्थात सीप दिवसकै दिन मकैको छेवर गर्ने परम्परा सिन्धुली माबर क्षेत्रमा प्रचलित थियो । यहाँका तामाङ बस्तीमा यही दिन मकै छरिएमा फसल राम्रो हुन्छ भन्ने मान्यता थियो । त्यसैले यही दिन मकैको छेवर गर्दथे । मकैको छेवर भन्नाले त्यो सालको मकै बाली लगाउने वा मकै छर्न शुरू गर्ने हो । यही दिन अलिकति मात्रै भए पनि मकै छरेर शुभसाइत पार्दथे ।
यसक्रममा बहर दाउने, गोरू जोत्ने सीप सिक्ने सिकाउने परम्परा थियो । अनौ, हरिस्, फोसिङ, ठेल्डी लगायतको हलो र सोइला, जोधारोसहितको जुवा, गोरुका थुतुनोमा लगाउने मुखौरो, हलिको कम्बरमा खुकुरी भिर्ने वा खुर्पेठ्याकमा खुर्पा भिर्ने र ती सबै सामग्री वा औजार बनाउने सीपका पक्षहरू जोडिएका हुन्थे ।
बाली लगाउन लागिएको आफ्नो बारीको माटो कस्तो छ ? लेक र बेशीको तापक्रम कस्तो छ र कति फरक छ भन्ने सम्बन्धी पूर्ण ज्ञान र जाँच्ने सीपमा माहिर थिए । ह्लो फिरेपछि बारेमा घाम उदाए वा लागेसँगै बाफ उठे वा नउठेको हेर्न जान्दथे । घाम लाग्दा बाफ उठेको मात्राको अध्ययन गरी यति भएपछि मकै छर्दा बिउ नकुहिने र उम्रिने हुन्छ भनी छुट्टाउन सक्थे । यही सीप र ज्ञानको सहारामा खेतीपाती सफल पार्दथे ।
त्यस्तो सीपलाई आज बेवास्ता गर्नुभनेको पुर्खाका पसिना र लगानीलाई बिर्सनु अझै भनौ खोलामा वा डम्पिङसाइटमा लगेर फाल्नु हो । पुर्खा तथा भावीपुस्ताप्रतिको गद्दारी हो । आफ्नै छातिमा तीर रोप्नु हो । अबको बुद्धिमान पुस्ताले त्यस्तो गल्ती गर्नुहुँदैन ।
(ग) झ्यम्बेयङ/मञ्जुश्री र चन्द्रपात्रो
यही सीप दिवसकै दिनलाई ख्रेलको छेपा ङा वा झ्यम्बेयङको तिथिको रूपमा मानिन्छ । खासगरी झ्यम्बेयङ अर्थात मञ्जुश्रीले चन्द्रपात्रो निर्माण गर्नुभएको साथै खगोलशास्त्रीय ज्ञान निर्माण तथा व्यवस्थित गर्नुभएको विश्वास पाइन्छ । यही आधारमा झ्यम्बेयङ वा मञ्जुश्रीको दिवसको रूपमा मान्ने गरिन्छ ।
यो दिन सिम्बु (स्वयम्भू)मा रहेको झ्यम्बेयङको मन्दिरमा दर्शन गर्न विशेषतः युवायुवतीका भीड लाग्ने गर्दछ । तामाङ लगायत हिमाली तथा तिब्बती(चीनियाँ) समाजमा झ्यम्बेयङलाई ज्ञान तथा सीपको स्रोत वा त्यससँग सम्बन्धित शक्तिको रूपमा मानिन्छ । झ्यम्बेयङ्लाई नै संस्कृतमा मञ्जुश्री भनिएको हो ।
कथनअनुसार काठमाडौं उपत्यका पानीको दहको रूपमा रहेकै बेला हाल स्वयम्भू रहेको थुम्कोमा स्वयम्भू ज्योतिको उत्पत्ति भएको थियो । त्यसपछि विभिन्न आदिबुद्धहरूका आगमन पनि भएका थिए । अन्ततः चीनबाट झ्यम्बेयङ आउनुभयो र उहाँले नै चोभार, गौरीघाट र गोकर्ण लगायतका स्थानमा काटेर यहाँको पानी बाहिर पठाउनुभयो । त्यसपछि मात्रै यहाँ मानव बसोबास सम्भव भएको थियो ।
(घ) वसन्तपञ्चमी/सरस्वती पूजा
माथि उल्लेख गरिएअनुसारकै सीप दिवसको दिनमा हिन्दूहरूले वसन्तपञ्चमी भन्दै सरस्वतीकी पूजा गर्दछन् । वसन्तपञ्चमी शब्दले पनि सोनम ह्लोछरलाई थप प्रमणित गर्दछ तर यो पक्षमा हालसम्म कसैले बोलेका वा लेखेका पाउन सकेको छैन ।
हिन्दू विश्वासअनुसार सरस्वती नै ज्ञान र सीपसँग सम्बन्धित देवी हुन् । यही दिन स्वयम्भूमा रहेको झ्यम्बेयङको मन्दिरमा नै हिन्दूहरूले सरस्वतीको रूपमा पुज्ने गर्दछन् । त्यसो त सरस्वतीका मन्दिरहरूमा पूजा गर्ने गराउने गरिन्छन् । कतिपय विद्यालयहरूमा पनि यही दिन सरस्वतीको विधिवत् पूजा गर्ने परम्परा रहेको छ ।
यहीनेर राज्यसत्ताले हिन्दूलाई अँगालेकैले वसन्तपञ्चमी वा सरस्वतीको पूजा गर्ने दिन स्थापित भयो । यसले बौद्ध लगायतका झ्यम्बेयङलाई छायाँमा वा ओझेलमा पार्दै आएको छ । विद्याकी खानी सरस्वतीलाई ब्रह्माकी छोरी मानिन्छ ।
निष्कर्ष
ह्लोछर विशेष पर्व हो भन्नेमा द्वीमत रहेन । यो पर्व मनाउने क्रमसँगै अब तामाङ राष्ट्र/समुदायले छेपा ङाको दिनलाई सीप दिवसको रूपमा मान्न सक्नुपर्दछ । यसको लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न सक्नुपर्दछ । तामाङको मौलिक पहिचानसहितको ज्ञानको बारेमा अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्न ढिलो गर्नुहुँदैन । यस्तैगरी सीप दिवससम्बन्धमा वहस तथा विमर्श गर्दै सीप पक्षलाई सबल बनाउन सक्नुपर्दछ । यसलाई ह्लोछारद्वारा छोप्नुको सट्टा उजागर गर्दै संसारमा तामाङलाई चिनाउने सहासहित कदम चल्नुपर्दछ । यसैमा तामाङ राष्ट्रको हित हुनेछ । थुजेछे !
– खोजराज गोले
६ माघ ’८०
सुन्दरीजल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...