१. शुरूका कुरा
शुरूमा राज्यव्यवस्था भन्ने नै
थिएन । सबै स्वतन्त्र अनि निर्बन्ध थिए । केही आपराधिक तत्त्वको जन्म भयो ।
कमजोरलाई कब्जामा राखेर मालिक हुने सपना बुने । सोही अनुरूप उत्रिए । मान्छे भएर मान्छे
नै मारेर केवल तुच्छा मनोकाङ्क्षा पूरा गर्न थाले । प्रायःलाई मृत्यु देखाउँदै
केही नरपशुहरू मालिक भए । कति मान्छे/समुदाय त डरले नै अत्याचारीलाई राजा मान्न
हतारिए । तिनै राजा घोषित पापिष्टहरू पछि देउता भएको घोषणा गरे । सर्वसाधारणलाई
आफू लुटिनु र मारिनु पनि पूर्वजन्मको कर्मको फल भनेर झूट घोकाए । सोही मार्ग हुँदै
अपराधको शिखरमा पुगेर रमाइलो अनुभूति गरे ।
यहाँ धर्ममध्ये हिन्दू, क्रिश्चियन
तथा मुस्लिमले राजाको अवधारणा स्वीकारे । धर्मको नाममा अक्षम्य अपराध थाले ।
संसारमा मानवतालाई लज्जाको प्रतीक बनाए । राज्यव्यवस्था अफिम सावित हुँदै आए । आज
समृद्धिको सपना देखाउँदै आम मानवसभ्यतालाई ऊँधोबाटतिर धकेल्दैछन् । यी सारा
अपराधका कारण विश्व ब्रह्माण्ड नै समाप्तिको सङ्घारमा उभिएको छ ।
२. नेपाली तथ्य
यो नेपाल नाम गरेको देश पनि
उल्लेखित समस्याबाट मुक्त छैन । यहाँ पनि खुङ्खार रक्तपिपाशु देखिए । तिनले नै
स्वतन्त्र र निर्बन्ध समुदायमाथि नरसंहार मच्चाए । आजसम्म दमित अवस्थामा रहेकाहरू
पनि विगतमा आफ्ना पनि राज्य र राजा भएको काल्पनिक कथामा जीवनका लय खोज्न विवश छन्
। यसैक्रममा मुख्यतः दुर्इ वर्ग देखिएका छन् । एउटा वर्ग आफूलाई नेपालको
एकीकरणकर्ताको उत्तराधिकारी मान्छ । अर्को वर्गकाहरू भने राज्यसत्ता नामक
रक्तपिपाशुद्वारा प्रताडित हुनुपरेको विश्वास गर्छन् ।
वास्तविकता चाहिँ राज्यसत्तामा
रहेका हिंस्रक पशुहरूले दाबी गरेजस्तो थिएन । एकीकरणकर्ताको पगरी गुँथाइएका
हत्याराले एकीकरण भन्ने शब्द शायदै बुझेका थिए । तिनको त ठूलो देशको राजा हुने
अमानुष स्वप्न मात्रै थियो । त्यसैले राज्यव्यवस्था भन्ने गरेको तत्त्व त नेपाली
भनिएकाका लागि मुटुमा रोपिएको काँडो सावित भइरहेको छ । भूकम्पदेखि महामारीमा
भ्रष्टाचार गर्नु राज्यसत्ताको धर्म भएको छ । चुनावमा तर्साउनु, मानव हत्या
गर्नु, फकाउनु, पैसामा भोट किन्नु नेता
भनाउँदाका परिचय बनेको छ ।
३. राज्यव्यवस्थाका प्रतिनिधि कर्तुत्
नेटवर्किङ बिजिनेस भन्नेलाई
देशमा लुट्ने अख्तियार यसैले दिएको हो । मानवहत्याका लागि लाइसेन्स पाएको झूट
यसैले घोकाएको हो । लामखुट्टे मार्नु भन्दा पनि अझै सामान्य रूपमा मान्छे मारेर
आएका अमानुषहरूले गर्दा देश देश रहेन । फाइनान्सको नाममा कमजोरलाई समाप्त पार्ने
अनि भएकालाई पनि कमजोर बनाउने कु-कर्म यसैले गर्दै आएको छ । सरकारी स्वामित्त्वमा
रहेका संस्थानहरू बिक्री गरेर डकार्दै छन् । शिक्षा र स्वास्थ्यलाई व्यापारको
बस्तु यसैले बनाएको हो । विकासको नाममा गरीब मारेर उल्मूलन यसैले थालेको हो ।
सत्तालाई जनता लुट्ने औजार
बनाएका छन् । देशको नामलाई विदेशीसँग मागीखाने भाँडो बनाएका छन् । महामारीका कारण
कर्मभूमिमा अडिने आधार नपाएपछि जन्मभूमिमा फर्कँदै गरेकामाथि निर्मम् दमन गर्न लाज
मानेको छैन । शक्तिमा रहेकाका उपचारका नाममा राज्यको ढुकुटी रित्याउनुलाई
विधिसम्मत् भनेर स्थापित गराएका छन् । भूकम्पको बेलामा संविधान लाद्ने अनि
कोरोनाको कहरकै समयमा असङ्गत अध्यादेश ल्याउनमा यिनलाई खुब गर्व महशुश भएको
देखिएकै छ । यही बेला आयोग गठन गरी आफ्नालाई स्थापित गरेर यिनले आफ्नो जात जनाएको
छ ।
यिनैले खानी उत्खनन्को नाममा, सडक विस्तारको
नाममा, विद्युत प्रशारणको नाममा लगायतका अनेक बहानामा निमुखा
रैथाने भूमिपुत्रलाई समाप्त पार्दै आएका छन् । विकास र समृद्धिको नाममा गाउँमा
बस्न नसक्ने स्थितिको सिर्जना गरेका छन् । पुँजीवाद र शहरीकरणको सपनामा डुबाएर
युवालाई विदेश लखेट्दै आएका छन् । राणाहरूले आदिवासीका सन्तानलाई युद्धमा पठाएर
विदेशी डलर लुँड्याएका थिए । अहिलेका शासकहरू तिनै विश्वयुद्धहरूमा मारिएका वा
घाइते भएका र केही बचेर फर्किएका आदिवासी सन्तानका रगत, पसिना
र शीरमाथि उभिएर आफैँलाई महान् गोर्खाली भएको झूट गाउन अभ्यस्त भएका छन् ।
यी सारा समस्याका कारण यही
राज्यसत्ता वा राज्यव्यवस्था नै हो । हुन त राज्यव्यवस्था होइन; नेतृत्वमा
रहेकाहरू हुन् भन्ने कतिको तर्क हुन सक्छ । स्मरणीय तथ्य चाहिँ आफ्नै मान्छेका
हत्या गरेर भएपनि शक्तिमा पुग्नु नै राज्यव्यवस्थाको चरित्र हो । राजनीतिको जन्म
नै निर्धा र निमूखालाई शासित र सत्ता/नेतालाई दैवीकरण गर्ने हेतुले गराएका थिए । त्यसैले
राजनीति र राज्यसत्ता भनेको रैथाने भूमिपुत्र विरूध्द सञ्चालित हतियार हो ।
त्यसैले राज्यसत्ता/राज्यव्यवस्था र नेतृत्त्वमा रहेकाहरू भनेका एकै हुन् । यिनमा
केही फरक छैन । एकको अभावमा अर्कोको स्वतः मृत्यु हुन्छ ।
४. अबको बाटो
त्यसो भए अबको बाटो के हुन
सक्छ ? यही प्रश्नको
उत्तर खोज्नु भनेको गर या मरको परिस्थितिमा उभिनु हो । यसको सही उत्तर छान्न र स्थापित
गर्न सकेमा आयु लम्ब्याउन सम्भव हुनेछ । अन्यथा मर्नु/मारिनुको कुनै विकल्प छैन ।
यसप्रकार आजसम्ममा धर्ममाथि विश्वास गर्यौं । त्यसैले अमानुष तत्त्वले भरिएका
हत्यारालाई देउता हो भनेर घोकायो । राजनीति भन्ने अर्को डाँका/हत्यारा आयो ।
त्यसले संसारको यो हविगत बनायो ।
अबको बाटो केवल प्राकृतिक जीवन
पद्धतिको अवलम्बन हो । मानवकेन्द्रवादको उन्मूलन हो । अराजकता तथा
अप्राकृतिकता/कृतिमताको समूल नष्ट हो । यसप्रकार पुर्खाले सर्वप्रथम शुरू गरेका
जीवन शैलीको अनुशरण हो; जहाँ राजनीतिको गुञ्जायस हुँदैन । विषाक्त भइसकेका
धर्म पनि समाविष्ट हुँदैन । त्यहाँ चराचर जगत्को कुरा हुन्छ । जीवित तथा निर्जीव
सबैलाई शक्ति/अस्तित्त्वको रूपमा समान हैसियत दिइन्छ । यसको अर्को नाम बहुल
राष्ट्रियतामा आधारित आदिवासीवाद हो ।
यसले विज्ञानलाई कृतिमताभन्दा
पनि प्रकृतिसङ्गत स्वरूपमा अगाडि बढाउँछ । शासक र शासितको अवधारणालाई ध्वस्त
बनाउँछ । मानवलाई स्वतन्त्रता र समानताको नाममा अमानुष हुन दिँदैन । पहिचान तथा
स्वत्त्वको बोध गराउँछ । अन्यप्रति सहिष्णुताको सट्टा समभावको चेतना भरिदिन्छ । म
र मेरो भन्दा पनि हामी चराचर जगत्का समान अस्तित्त्व भन्ने सर्वश्रेष्ठ ज्ञान दिन्छ
। जीवन र जगत्लाई हेर्ने सुन्दर आँखा दिन्छ । हत्या, हिंसा र विकासको नाममा मानिसलाई अमानुष
बन्न बाट रोक्छ । मानव हर्कतकलाई खतरनाक रसायन वा वीषको सट्टा फूलका सुवास
स्वरूपमा पस्कन्छ ।
५. तथ्योद्घाटन
यस्ता तर्कहरू स्वैरकल्पना पनि
लाग्न सक्छ । त्यो स्वाभाविक पनि हो तर मान्छेले चाहेमा नसक्ने केही छैन । हामीसँग
दिमाग मात्रै होइन मन पनि छ । मन र दिमागको संयोजनबाट निस्कने अमृत भनेकै
आदिवासीवाद मात्रै हो । यही तथ्यलाई मनन् गर्न सक्छौं भने हामी यो समयको मान्छे हौं । होइन भने राजनीति जस्तै
आउटडेटेड तत्त्व हौं । अमानुषताको परिचय हो/हौं तर विश्वास छ कि- तपाईँ/हामी पनि
यो युगको उदाहरणीय मान्छे हुनुहुन्छ/हौं ।
१५ बैशाख '७७
चाबहिल
No comments:
Post a Comment