एउटा अन्तरवार्तामा युग
पाठकज्यूले भन्नुभएको रहेछ- 'हाम्रो राज्यसत्ता नै हाम्रो होइन ।' यही अन्तरवार्तालाई प्रकाशन गर्नेक्रममा शिलापत्रडटकमले भने 'यो राज्यसत्ता नै हाम्रो होइन' शीर्षक जुराएको रहेछ
। शीर्षक देख्दै झसङ्ग भएँछु । मानौं बाहिर गेटमा आएर कसैले बेलको स्वीच थिज्दैछ ।
धेरै साथीहरू छन् । अग्रजहरू
पनि छन् । तिनीहरू मदेखि हच्किन्छन्; तर्सिन्छन् । मानौं पड्किनै लागेको टाइमबम
काखमा आइपरेको छ । या त भनौं बिनाकामको झुसिलकिरोले खेद्न थालेको छ । कत्तिले त
जुत्ताको माला लगाइदिन्छु समेत भन्न पछि परेका छैनन् । एकाध अग्रज छन्- केही कुरा
अमिल्दो/अल्टर जस्तो लाग्यो भने खोजराज जस्तो भन्छन् ।
मानौं खोजराज भनेको
खुम्रेकिराको पनि उत्तानो परेर घस्रने जातको प्राणी हो । प्रायः खुम्रेकिरा
हातखुट्टाको प्रयोग गर्दै हिँड्छन् । एकप्रजातिको खुम्रे; त्यसको पनि
हातखुट्टा हुन्छन् तर तिनीहरू त्यत्तिसम्मन् अल्टर स्वभावको हुन्छन्; जो आफ्नो भएका हातखुट्टाका समेत प्रयोग गर्दैनन् । केही नपाएर उत्तानो पर्छन्
र जबरजस्त ढाँड रगडेर घिस्रन्छन् । भएको छोडेर नभएको खोजेपछि अरू के भन्नु र ? नाम
मात्रै खोजराज काम चाहिँ अल्टर कुराले जसलाई भेटे पनि घोचराज ! यो एउटा प्रसङ्ग
मात्रै भो ।
प्रसङ्ग युग पाठकज्यूको 'हाम्रो
राज्यसत्ता नै हाम्रो होइन'मा छु । हामीले राज्यसत्ता त
बनाएका हुन्छौं । हाल पनि छँदैछ । हामीले बनाएका राज्यसत्ताको रिमोट विदेशी र
विदेशी डलरसँग छ । पाठकज्यूको तर्क यस्तै पाइयो । यहीनेर शीर्षकमा चाहिँ 'यो राज्यसत्ता नै हाम्रो होइन' जुराएको रहेछ । म पनि
यही शीर्षकसँग सहमत छु । मौका पाउनसाथ, म पनि 'यो राज्यसत्ता नै हाम्रो होइन । त्यसैले मेरो होइन । तपाईँको पनि होइन'
भन्दै आएको छु । यो पनि एउटा बुँदा हो; जसले
केही अग्रज तथा दौँतरीका नजरमा मलाई उत्तानो परेर घस्रने खुम्रेकिरो बनाउँदै आएको
छ ।
पाठकज्यूको तर्कमा मेरो असहमति
छैन । यद्यपि, त्यतिमात्रै पनि होइन भन्ने चाहिँ छ । हो; यो
राज्यसत्ता भनेको त विदेशीले डब्लुडब्लुएफ खेल्ने ठाउँ हो भन्दा फरक पर्दैन । यसको
रिमोट विदेशीका हातमा छ । डलर बिना यसले श्वास तान्न सक्तैन । मानौं आइसियुमा
रहेको बिमारी हो नेपाली राज्यसत्ता ! नाकमा लगाइदिएको अक्सिजन हो डलर । यसै भन्दा
देश, सार्वभौमसत्ता, राष्ट्र र
राष्ट्रियता विरोधी कपुत भन्ने आरोप लगाउन पनि सक्छन् ।
भन्छन्; फ्रान्सेली
क्रान्तिपछि स्वतन्त्रता भन्ने बुँदालाई लिएर उदरवादीहरू उदाए । समानताको बुँदाले
मार्क्सवादी (साम्यवादी)लाई जन्मायो । भ्रातृत्व/डिग्निटीले
इनडिजिनिजम् (पहिचानवादी)लाई जन्माएको छ । उदारवाद भन्छ,
अन्ततः कर्पोरट हाउसहरूले आवश्यक सामग्रीको उत्पादन गरिदिने छन् ।
त्यसपछि समाज स्टेटलेस चरणमा प्रवेश गर्नेछ । मार्क्सवाद भन्छ, सर्वहारावर्गको अधिनायकत्वसँग समाजमा रहेका स्टेटहरू स्वतः एक हुनेछ र
साम्यवादमा प्रवेश गर्नेछ ।
यहाँ उदारवाद हुन् या
मार्क्सवाद दुवैका अन्तिम लक्ष्य चाहिँ स्टेटलेस समाज नै रहेछन् । जसको अन्तिम
लक्ष्य स्टेटलेस छ अनि तिनैले देश र देशत्वलाई नै राष्ट्र वा राष्ट्रियता अनि
सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डताको पक्षमा सपथ खान्छन् भने त्यस्तालाई नकचरो नभनी अरू
के भन्ने ? त्यसैले खोजराज गोलेलाई अराष्ट्रिय तत्त्व भनेछन् वा भन्ने छन् भन्दैमा
छुमलतब !
प्रसङ्ग 'यो राज्यसत्ता
नै हाम्रो होइन' हो । कथित नेपाली राज्यसत्तालाई म चाहिँ
कम्तीमा पनि 'हाम्रो' भन्दिनँ । भन्नु
हुँदैन भन्छु किनकी यसका लागि आह्वान गरिएका चुनावहरूमा सम्पूर्ण नेपालीले भाग
लिएका थिएनन् । उमेरका कारण कतिलाई भोट दिन दिएनन् । कोही विदेशमा रहेकाले भोट दिन
पाएनन् । कोही ओछ्यानमा रोग वा मृत्युसँग लड्दै थिए । कोहीले बहिष्कार नै भने ।
कोहीले चाहेर वा नचाहेरै भोट दिएनन् । यसरी हेर्दा- भोट दिएकाका भन्दा नदिएकाका
सङ्ख्या धेरै छ । त्यसैले भोट दिएकाका सरकार र सत्ता हो । अन्यको पनि हो भन्नुको
कुनै तुक छैन ।
मेरै घरको सदस्य सङ्ख्या छ जना
हो । एकजनालाई नाबालक भनेर भोट दिनबाट वञ्चित गरिसकेको थियो । बाँकी पाँच जनाले
भोट दिन पाउनेछौ भनेका थिए । पाँचजनामध्ये मेरो बुवा वैदेशिक रोजगारीका क्रममा
हुनुहुन्थ्यो । म काठमाडौंमा चाउरे जीवन व्यतित् गर्नमै व्यस्त ! भाइ शिक्षक
पेशाको बहानामा यतै रल्लिइरह्यो । बुवाले जमानामा पाँच कक्षासम्म पढ्नु भएछ । मैले
स्नातकोत्तर अनि भाइ पनि स्नातकोत्तरमा कुद्दै थियो ।
भाइले राजनीतिमा मनै गरेन ।
बुवा विदेशमा मतलबै भएन । म आफैँ उत्तानो परेर घस्रने खुम्रेकिरो ! बाँकी सदस्यहरू-
मेरी आमा, औंठाछापे भन्दा पनि नबुझ्ने ! मेरी जीवनसाथी, एघार बाह्र पास नगरेपनि दश
चाहिँ पास गरेकी नारी ! यसप्रकार पुरुष जतिले भोट दिएनछौं । दुर्इजना नारी सदस्यहरू
गाउँमा भएका बखत परेकोले भोट दिएछन् । यो एउटा उदाहरण हो । यसैका आधारमा पनि यो
राज्यसत्तालाई 'हाम्रो' भन्दा पनि 'यो'
भन्ने शब्दको चयन गर्न मन पराएको हुँ ।
वास्तवमा ''यो राज्यसत्ता''
नै हो । हाम्रो भएको भए त खायो खाएन ? के
गर्दैछ ? कस्तो छ ? यस्तै यस्तै
जिज्ञासाका साथ खोज्न आउँथ्यो होला तर आजसम्म कहिल्यै आएको थाहा छैन । यसले त
हत्या र हिंसाबाट आएकाहरूलाई मात्रै आफ्नो ठान्दोरहेछ । त्यसैले हत्याराका
राज्यसत्ता हो यो ! चोर, डाँका, लुटेराका
हो । कुनै जमानामा अनेक बहानामा मान्छेका हत्या गरेका हत्याराहरूलाई थुनेर राख्ने
जेल नै राज्यसत्ता भएको छ । यस्तै तर्क गर्दा धेरैले गाली गरेका छन् । खुस्केछ
भनेका छन् ।
राज्यसत्ता कहिल्यै हाम्रो
थिएन । छैन । हुने पनि छैन । यसको जन्म नै मानव हत्या जस्ता जघन्य अपराधबाट भएको
हो । त्यसरी नै हुने कुरो हो । यसले सिमानाको नाममा एउटै समुदायलाई अलगथलग पार्दै
आएको छ । राज्यसत्तामा रहेका सबै नेता भनाउँदाहरू हत्यारा नै हुन् । तिनले कुनै न
कुनै समयमा कुनै न कुनै मान्छेको हत्या गरेकै छन् । अहिले तिनका अनेक नमूनाहरू
देखिनेक्रम जारी छ ।
स्मरणीय तथ्य- राज्यसत्ता
भनेको राजनीतिक कुरा हो । राजनीति बारे अध्ययन अध्यापन गराउने नै राजनीतिशास्त्र
हो; जसको जन्म नै
आदिवासी(मूलवासी)लाई दबाउने र फिरिङ्गेलाई स्थापित गर्ने गराउने हो । नपत्याए
राजनीतिशास्त्रको जन्मदाताले किन कुन मोडमा कसरी राजनीतिशास्त्रलाई जन्माएका थिए
भन्ने प्रसङ्ग खोजेर पढ्नुस् ।
त्यसो भए ''अबको बाटो''
भन्ने प्रश्न स्वाभाविक हुन्छ । यदि तपाईँ साँच्चैको मान्छे र
न्यायप्रेमी अनि मानवीयताले युक्त छ कि छैन भनी जाँच्ने कसी पनि यही जिज्ञासा
तपाईँबाट आउँछ कि आउँदैन भन्नेबाट हुनेछ । यो जिज्ञासा तपाईँमा भए वा नभएपनि यत्ति
चाहिँ भन्छु- माथि उल्लेख गरिएअनुसारका उदारवाद र मार्क्सवाद भनेको संसदमा रमाउनेहरू
नै हुन् । जहाँ तिनीहरूकै भाषामा भन्नुपर्दा- खसीको टाउको देखाएर कुकुरको मासु
बेच्ने स्थल हो । तिनीहरू अन्ततः पूँजीवादको दलदलमा सहजता महशुश गर्छन् ।
तिनीहरू प्राकृतिक स्रोतको
दोहनलाई विकास ठान्छन् । मानवकेन्द्रवादमा उभिन्छन् । त्यसमा पनि नातावाद, फरियावाद,
कृपावाद, पार्टीवाद अनि गूटवादमा लिप्त
रहन्छन् । देशलाई नै राष्ट्र र राष्ट्रियता हो भनेर गलत पाठ घोकाउँछन् । एउटै
समुदायलाई उसको उत्पत्तिस्थल तथा दाजुभाइबाट अलग पार्छन् । लखेटेरै अलगथलग पार्छन्
। परिणामतः तिब्बत (चीन) र नेपालका बीच अवस्थित कतिपय गाउँहरू अलगथलग भएका छन् ।
माइती र ससुराली जान पाइरहेका छैनन् । भारतले कहिले नाकाबन्दी त कहिले प्याजसमेत
रोकेर नेपालीत्वलाई कुरीकुरी गरिरहन्छ । बङ्गलादेश, बर्मा र
फिजीमा पुगेका नेपालीमूलका मान्छेलाई बोर्डरमै रोकेर स्वाधिन राष्ट्रियताको नारा
लगाइरहन्छन् । के आफ्नो पैतृकभूमिमा पाइला टेक्न पाउने अधिकारबाट वञ्चित गर्नु नै
तिनका आधुनिक लोकतन्त्र हो त ?
यो पनि बुझनुस्- नेपालमा कसैले
माने वा नमाने पनि ताम्सालिङ भूखण्ड स्पष्ट छ । कथित नेपाल नामक देश निर्माणको
क्रममा ताम्सालिङ भूखण्डका तामाङमाथि भएका अमानवीय अत्याचारको क्षतिपूर्ति
सम्बन्धी के गर्ने होला ? पृथ्वीनारायण शाहको गुनगान गाएर राष्ट्रियताको धक्कु
लगाउनेहरूले किन तिनका पृथ्वीनारायण शाह, ताम्सालिङ भूखण्डका
तामाङको नजरमा हत्यारा हो भन्ने बुझ्दैनन् । पृथ्वीनारायण शाहको चार वर्ण छत्तीस
जातको साझा फूलबारीलाई हिन्दूबारी बनाएर हुन्छ ? किन पृथ्वीनारायणको गुनगान
गाउनुको अर्थ यहाँका तामाङ तथा नेवारका मुटुको घाउमा कोतर्नु हो भन्ने बुझ्न
सकिरहेका छैनन् ? पृथ्वीनारायणद्वारा स्थापित सत्ता तिम्रो प्राणभन्दा प्यारो
हुँदा र त्यसै भन्दै गर्दा; यहाँका तामाङ र नेवारले पनि
तामाङ र नेवार राष्ट्र नै हाम्रो प्राणभन्दा प्यारो भनेछन् भने के होला ? तामाङ र नेवार राष्ट्र ! प्राणभन्दा प्यारो
भन्न पाउने कि नपाउने ? किन ??
त्यसो भए ताम्सालिङबाट अन्यलाई
लखेट्ने त ? जस्तालाई त्यस्तै भन्ने हो भने सम्भव हुन्छ । लखेट्नै पर्छ । होइन, मानवतावादको
अतिरिक्त प्रकृतिवाद पनि हो । हामी छोट्टा छैनौं । महान् आदिवासी हौं भन्ने हो भने
सामयिकसंयोजनवादमा विश्वास गर्नु पर्छ । समयसापेक्ष रूपमा आपसी संयोजनको विकल्प
हुँदैन । यही मतमा अडिक रहेर उठाइएका प्रसङ्गलाई नजरअन्दाज गर्ने हो भने भन्न
सकिन्न । यी सबै समस्याका समाधान गर्न केवल उदारवाद तथा मार्क्सवादले मात्रै सक्ने
छैनन् । यसको एकमात्रै उपाय भनेको पहिचानवाद नै हो । इनडिजिनिजम् नै हो । यही
निस्कर्षलार्इ समयमै चिन्न नसक्नु भयानक दुर्घटनालाई निम्तो दिनु हो ।
जाँदा-जाँदै; राज्यसत्ताले
जेलमा कुहाउँदा पनि गोमांस नछोडेका तामाङका सन्तानले कदापि हार्ने छैनन् ।
गोमांसकै एक प्रकरणमा- तामाङले सेमजोड राज्य नै गुमाउनु परेको थियो । राजासहित
कैयौं सन्तान गुमाउनु परेको थियो । भूमि गुमाउनु परेको थियो । पृथ्वीनारायण शाह
भनिएकाले स्थापना गरेको कालोसत्ताको घोर अत्याचारमा पिसिनु परेको थियो । गाई
गोरुका सिनो खाना पनि नौ पैसाका दरले मेगजिन नामक कर तिर्नु परेको थियो । मरेको
सिनो खाँदा पनि मारेर खाएको भन्दै जेलमा सडाएका थिए । तैपनि कहिल्यै हार मानेन् ।
निरन्तर गोमांस प्रयोग गर्दै आएका छन् । यही नै तामाङ राष्ट्रको पहिचान हो;
जसले पृथ्वीनारायण शाह भनिएको व्यक्तिले स्थापना गरेको हिन्दू
एकात्मक राज्यसत्ताको विरुद्ध निरन्तर आवाज बुलन्दै गर्दै आएको हो । अर्थात् हाम्रो
आफ्नै सत्ता छ भनेर देखाउँदै आएको हो ।
अझै पनि- तामाङले माघेसङ्क्रान्तिको
सट्टा सीप दिवसको अवसरमा ह्लोछरलाई व्यापकताका साथ मान्न छोड्ने छैनन् ।
राज्यसत्ताले 'चैतेदशैँ' भन्दा होइन 'सेरकेम'
भन्नेछन् । साउनेसङ्क्रान्ति, जनैपूर्णिमा र
कुशेऔँशीको उर्दी जारी गर्दै गर्दा, काउण्टर सत्ताको रूपमा 'गोन ङ्ह्य'लाई ज्ञान दिवस भनेर मान्न छोड्ने छैनन् ।
विजयदशमीमा राज्यसत्ता रमाउँदा ठ्यक्कै काउण्डटर दिँदै म्हेनङ मान्नेछन् । यम
पञ्चकको रौनकताले प्रहार गर्दाखेरि आदिवासी भूमिपुत्रहरूले कृषि तथा बलिहाङसँग
सम्बन्धित पर्वको रूपमा राज्यसत्ताको वैकल्पिक धार पक्रने छन् । कथित सत्ताले
प्रदेशहरूलाई नम्बरको आधारमा स्थापित गरौं भन्दाखेरि पहिचानको प्रसङ्ग उप्काउने
छन् । लिम्बु, खम्बु, मदेश, ताम्सालिङ, मगरात, तमुवान,
थरुहट र खसान आदि भन्न छोड्ने छैनन् ।
गोमांस प्रकरणमा गुमेको सेमजोङ
(ताम्सालिङ)लाई गोमांसलाई पुनः खाद्यसंस्कृतिको रूपमा स्थापित गराएर फिर्ता
लिनेछन् । आफूहरूले म्हेनिङ मनाउँदै गरेको बेला खोसिएको तेमाल (ताम्सालिङ) अब
तिनीहरूले बडादशैँ मनाउँदै गर्दा म्हेनिङद्वारा फिर्ता गराउने छन् । यत्ति मात्रै गर्न सकेमा पनि बिग्रिएको सत्ताले
आफ्नो हैसियत चिन्नेछ । यो रहेछ भनेर बुझ्नेछ । असली हैसियतमा सत्ता आउनेछ । 'यो' र 'हाम्रो' भनेर विवाद गर्दै
गरेको राज्यसत्ता साँच्चै प्रकृतिप्रदत्त सत्तामा परिणत हुनेछ । त्यतिखेरै यो
धर्तीमा युटोपियालाई युटोपियाको सट्टा वास्तविकतामा परिणत गर्न सक्नेछौं । जय
पहिचानवाद !!!
१० कात्तिक '७६
चाबहिल






