Friday, November 14, 2025

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?


पृष्ठभूमि

काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्वान्हरूले पनि नेपाली सेनाको ठूल्ठूला व्यारेकका छेउ–छेउमा बौद्धमार्गीका गुम्बा निर्माण गरिएका भन्दै शङ्का गर्न थालेका थिए । तिनीहरूले ती गुम्बाहरू विदेशीले बनाएका र त्यहाँ घातकहतियारहरू थुपारेका दाबी गरेका थिए । त्यसयता गुम्बालाई विदेशी शक्तिहरूले हतियारसहितका व्यारेकका रूपमा विकास गरिरहेका भन्ने जघन्य आरोप लगाउने क्रम बढेको देखिन्छ । यो प्रसङ्ग वास्तवमा नै समाजभित्र सल्किँदैआएको पनि छ ।
भर्खर–भर्खर एकजना सांसद्ले पनि गुम्बामा प्रवेश निषेध गरिएको तर आफूहरूले पशुपतिमा समेत खुल्ला गर्दैआएका दाबी गरेको देखियो । तिनले नेपाली सबैलाई हिन्दू देख्ने गरेकाले पनि त्यस्तो भनेको हुनसक्छ त्यसपछि यो विवाद सतहमा उत्रिएको छ ।

के पशुपति हिन्दू मात्रैको हो ?
वास्तवमा पशुपति हिन्दूको लागि मात्रै खुल्ला छ । उल्लेखित ड्याकका राजनीतिज्ञ वा राजनेताहरूले हिन्दूलाई मात्रै नेपाली देख्छन् भन्ने कसैका आँखाबाट छिपेको छैन । त्यस्ता प्रवृत्तिहरूले यहाँका आदिवासी भूमिपुत्रलाई कि त तिब्बती कि त विहारी मात्रै देख्छन् । उनीहरूका भाष्यहरूले यस्तै दर्शाउँछ । त्यसैले यहाँका भूमिपुत्रहरू नेपाली होइन भनी शङ्का गरिरहन्छन् तर भारतीय नागरिकलाई सगर्व पशुपतिमा पुजारी राख्छन् । विदेशी नारीलाई नेपालको राजनीतिमा स्थापित गराउनको लागि पनि उनीहरूका पाइला चलिरहेकै छ ।
तर तिनीहरूलाई थाहा छैन कि, पशुपतिलाई शङ्कराचार्यले हिन्दूकृत गरेका थिए । त्यसअघि पशुपति बौद्धविहारको रूपमा स्थापित थियो भन्ने अहिलेसम्म पनि अनेकन् प्रमाणहरू पाइन्छन् । यो तथ्य उनीहरू सुन्न र मान्न तयार छैनन् । बरु यस्तो दाबी गर्नेहरूलाई अधर्मी/बिधर्मी म्लेच्छ (आर्यधर्म पालना नगर्ने; नीच; अधम; पापी; फोहोरी, संस्कृत भाषा नबोल्ने (जाति); अनार्य जातिको) साथै दोशद्रोही देख्छन् । उनीहरूकै समुदायका लेखकले चाहिँ ‘‘शंकरदेवको समयमा शङ्कराचार्य नेपाल आउँदा बौद्ध मतको वर्चस्व रहेको थियो । पशुपतिको पुजारीसमेत त्यसबेला बौद्ध धर्मावलम्बी बाडाँहरू थिए र उनीहरू वाममार्गी भएकाले पञ्चमकारको सेवन यहाँ गर्दथे र पशुपतिलाई पनि जाँड/रक्सी र मासु चढाउँथे, जुठा भाँडा राख्ने र जुठोपुरो चढाएर पशुपतिलाई उच्छिष्टेश्वर पारेका थिए । यसै अवस्थामा आएका शङ्कराचार्यले बौद्धमागीहरूसँग शास्त्रार्थ गरेर उनीहरूलाई पनि शाकाहारी बनाएको भन्ने उल्लेख वंशावलीमा रहेको छ । यसबेलामा हारेका बौद्धमागीहरू भागेर तिब्बत गएका वा परिवर्तित भई हिन्दुधर्मलाई मानेका थिए । राजा वृषदेव पनि बौद्धमार्गी थिए र उनलाई पनि परिवर्तन गरियो’’ भनेर स्पष्ट पारेका छन् (प्रा.डा. गोपाल शिवाकोटी, नेपालमा सामन्तवादः हत्या, हिंसा र षडयन्त्रको इतिहास, प्रथम (काठमाडौं : पैरबी प्रकाशनका लागि प्रबन्धक निर्देशक पदम शिवाकोटीद्वारा प्रकाशित), २०६९, पृ. २५४–२५५) । त्यसो त शङ्कराचार्यले बौद्ध भिक्षु–भिक्षुणीहरूलाई जबरजस्ती गृहस्थ जीवनमा प्रवेश गराउनुको साथै आपसमा विवाह गराइदिएका भनी लेखिएका इतिहाससम्बन्धी पुस्तकहरू पनि छन् ।
पशुपति मन्दिर हिन्दूको पेवा बनाउने वर्गको मान्छेहरूले बुझ्नुपर्ने कुरो यो पनि हो कि, वेदव्यासद्वारा लेखिएको स्कन्दमहापुराणमा नै ‘‘हे ब्रम्हाजी ! बाणसुरलाई मारेपछि बाँध भत्काएर कृष्णले वाग्वती नदीलाई बगाइदिनुहुनेछ अनि वाग्वती नदी भएर बग्नेछिन् । त्यसपछि सम्पूर्ण क्षेत्र जङ्गलमय हुनेछ । हे ब्रम्हाजी ! त्यसपछि म शिलामय बनेर उत्पन्न हुनेछु । शिलामय विग्रह भएको ठाउँमा गाईले दूधको धाराले मलाई सेचन गर्नेछिन् । त्यसपछि बालुवामा खनेर म्लेच्छहरूले मेरो खोजी गरी पत्ता लगाउनेछन् । मेरो मूर्ति ज्योतिर्लिङ्गमाथि शिवलिङ्ग रहेको भन्ने ठान । त्यसैगरी पछि–पछि पनि धर्मवर्जित म्लेच्छहरूले मलाई खोज्नेछन् । चाँपको रुखको छायाले छेकिएर केही दिन म लुक्नेछु’’ भनिएको छ । यसको श्लोक चाहिँ यस्तो रहेको छ ।
सेतुं विदार्य कृष्णश्च मोचयिष्यति वाग्वतीम् ।
नदीरूपा यदा लोके वाग्वती मण्डलं वनम् ।।२१।।
उत्पश्यामि तदा देव तच्छरीरशिलातनम् ।
सुरभिः क्षीरधाराभिः प्रसिञ्चेत्तत्र चिह्निते ।।२२।।
द्रक्ष्यन्ति मां तदा म्लेच्छाः खनित्वा सैकतं पुनः ।
मूर्ति मामपि जानीयु ज्योतिर्लिङ्गोपरि स्थितम् ।।२३।।
यथा प्रागपि देशोऽयं सर्वम्लेच्छैरधिष्ठितः ।।२४।।
स्रोत : सं./अनु. प्रा.डा. वेणीमाधव ढकाल, भगवान् वेदव्यासद्वारा प्रणीत स्कन्दमहापुराणअन्तर्गत हिमवत्खण्ड नेपालमाहात्म्य पशुपतिपुराण गण्डकीमाहात्म्य, प्रथम (काठमाडौं : विद्यार्थी पुस्तक भण्डार), २०७५, पृ. ६८४ ।
यसबाट पशुपतिलाई पहिलोपटक निकाल्ने वा पत्तालगाउने कार्य हिन्दूका भाषामा म्लेच्छहरूले गरेका थिए । यो शब्दले तात्कालिक किरातलाई नै इङ्कित गर्दछ । यसप्रकार काठमाडौंमा बस्ती बसेको समयमा यहाँ बोन(झाँक्री)कै प्रभुत्व रहेको थियो । त्यसबखतका बोन/बोम्बोको प्रसङ्गमा तामाङलाई छुटाउन मिल्दैन किनकि यहाँको पहिलो बासिन्दा नै तामाङ हो । तामाङ बोन/बोम्बोअनुसार लनी छङ्बै रेञ्जेन, लनी वङ्बैग्यप्जेन र लनी महादेओ नै पहिलो देवहरू हुन् । यसप्रकार आजभन्दा ३२ हजार वर्षअघि काठमाडौं वरिपरि आइपुगेका तामाङका पुर्खाहरूले महादेव (हालको पशुपति)लाई पत्तालगाएका र स्थापित गरे गराएका थिए भन्नुपर्ने हुन्छ । पछिल्लो समयमा तामाङ बोन/बोम्बोहरुबाट खोसेर यहाँका राजाहरूले बौद्धकृत गरेका देखिन्छन् । शङ्कराचार्यका प्रवेश पछि हिन्दूकृत गर्दै प्रवेश गर्न पनि हिन्दू नै हुनुपर्ने नियम बसाएका स्पष्ट छ । यस्तैगरी डा. जगमान गुरुङले लेखक मधुसूदन रिसालद्वारा लिखित पशुपतिपराणको (नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान)मा समाविष्ट श्लोकलाई उदृत गर्दै, ‘‘पशुपतिपुराण अनुसार श्रीपशुपतिनाथका आदिम पुजारी किरातहरू थिए’’ भनी लेखेका छन् । गुरूङले समाविष्ट गरेको श्लोक यस्तो देखिन्छ–
चम्पकद्रुमछायाभिः शोभितो मम विग्रहः ।
चतुर्मूर्तिधरो भक्त्या म्लेच्छैः सम्पूज्यते तदा ।।
जित्वा कैरातराजानं वाक्येन प्रत्ययेन च ।
करिष्यति तदा राज्यं वैशाल्यधिपतिर्वली ।। (रिसाल, २०३९ : १२५)

यी श्लोकहरूलाई ध्यान दिएर हेर्ने हो भने अर्कोको भूमि लुटेर आफ्नो राजकीयसत्ता स्थापित गरी भूमिपुत्रहरूलाई दबाएका स्पष्ट हुन्छ । त्यस्तैगरी सम्बन्धित भूमिको भूमिपुत्रहरूलाई उठ्न नदिने साथै भूमिपुत्रहरूका भूमि मात्रै नभई यसरी देवता समेत लुटेर आफ्नोकरण गरेका भन्नुपर्ने हुन्छ । त्यसक्रममा नयाँ–नयाँ कथाकुथुङ्ग्री बुनेका साथै उदाहरण यही पशुपतिलाई नै लिन सकिन्छ । अर्कोको भूमिमा प्रवेश गर्ने अनि अर्कोको देउता लुटेर आफ्नो मात्रै बनाएपछि सम्बन्धित समुदायलाई प्रवेश निषेध गरेका भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ भनी असली भूमिपुत्रहरूले दाबी गर्दैआएका देखिन्छन् ।
तैपनि केही त्यस्ता पाखण्ड धर्मगुरु तथा अनुयायी साथै सैद्धान्तिक तथा नैतिक रूपमा पतित अनि कथित नेतृत्वकर्ता अगुवाहरूले अनेक कपोलकल्पित बहाना र हल्ला गरिरहेका छन् । तिनका प्रवृत्ति भनेको बौद्ध र हिन्दूका बीच सहिष्णुतापूर्ण वातावरणको सिर्जना भन्दै विरुद्धमा उठ्नु हो । त्यसका लागि अनेक फण्डा मच्चाउँदै धार्मिक द्वन्द्व भड्काउन खोजिरहेका छन् । त्यस्ता अगुवा तथा नेताहरूमा देखिएका प्रवृतिदेखि समयमा नै सचेत हुन बौद्ध तथा हिन्दू दुवैका पहिलो कर्तव्य भएको छ ।

गुम्बामा प्रवेश निषेधको प्रसङ्ग
अब गुम्बामा प्रवेश निषेध गरिएका र हतियार राखेका भन्ने आरोपलाई पर्गेल्ने प्रयास गरौँ । खासगरी एकजना नेताले नै कपनस्थित गुम्बामा पुगेको बेला प्रवेश गर्न नदिएको गुनासो गरेका रहेछन् । तिनले कपनको कुन गुम्बा भनेर तोकेको देखिएन । एउटा कुरो नि, तिनी नेता हुन् भने पार्टीको कार्यालयमा जानु; कार्यकर्तासँग भेट गर्नु ठिक होला तर गुम्बामा चाहिँ किन प्रवेश गर्न खोजेको रहेछ ? कि गुम्बामा पनि राजनीतिक दल वा भिक्षु भिक्षुणीलाई समेटेर आफ्नो पार्टीको भातृसङ्गठन विस्तारको लागि गएको हो ? कतै त्यसरी प्रवेश नदिएकाले राजनीतिक सङ्गठन विस्तारमा अवरोध पुगेको रीस सहन नसकेर बकबक गरेको त होइन ? आमजनले यस्ता प्रश्न उठाउन मिल्ने कि नमिल्ने ? हुने कि नहुने ? नहुने र नमिल्ने भए कसरी ? मिल्ने र हुने भए यसको उत्तर चाहिँ कस्तो होला ?
यहीनेर थप प्रसङ्ग, केही वर्षअघि कपनको एक गुम्बा (सबैभन्दा ठूलो तर त्यसको ठ्याक्कै नाम याद भएन)मा प्रवेश दिएकै थियो । गुम्बाभवनको बाहिर तर कम्पाण्डभित्र गज्जब पार्क पनि थियो । त्यहाँ पुगेका मान्छेलाई निर्वाध प्रवेश गर्न दिएका थिए । पार्कमा शायद नमोबुद्धको जस्तो लागेको थियो; साना मूर्तिकथा निर्माण गरेर राखिएका थिए । त्यहाँ पुगेको बेला लागेको थियो कि, यस्तो सुन्दर स्थलमा बाँदरजस्ता स्वभावका मानिसहरू पनि छिरेका रहेछन् । यिनीहरुले ६ महिना हुँदा नहुँदै यी संरचनाहरू समाप्त पार्नेछन् जस्तो लागेको थियो । त्यहाँ केही उट्पट्याङ मान्छेहरू देखिएपछि यस्तो सोच्न बाध्य भएको थिएँ । त्यसको केही समयपछि पुनः केही नयाँ साथीहरू पनि त्यहाँ जाने भनेर रहर गरे । त्यसपछि पुग्दाखेरि पार्कमा छिर्न बन्द गरिसकेको रहेछ । त्यहाँसम्म पुगेर पनि प्रवेश नपाउँदा दुःख लाग्नु स्वाभाविक थियो तर धेरै खुशी पनि लागेको थियो किनकि कम्तिमा त्यहाँका संरचनाहरूका आयु लम्बिने र सुरक्षित रहने भएछन् ।

गोन्पाको अर्थ
अझै अर्को प्रसङ्ग पनि जोड्नुपर्दछ कि, गुम्बा मात्रै भनेर हुँदैन । गुम्बा शब्दको विशुद्ध तिब्बती स्वरूप गोन्पा हो । गोन्पालाई नै कतिपयले गोम्पा पनि भनेका पाइन्छन् । तामाङ रैथाने मौलिक जनजिब्रोमा गोम्बो हुन्छ । यद्यपि गोन्पा बौद्धशब्द हो भने गोम्बो बोन/बोम्बोशब्द हो । त्यसैले यी दुई शब्दका सार तथा भाव फरक हुन्छन् ।
गोन्पा प्रायः एकान्तस्थल साथै ध्यान साधनाको लागि निर्मित स्थायी संरचनासहितको हुन्छ तर गोम्बो अस्थायी हुन्छन् । बोन/बोम्बोले आवश्यकताअनुसार गोम्बो बनाउँछन् तर कार्यक्रम पूरा हुनासाथ भत्काउँछन् । एउटा लोकभाका पनि पाइएको छ; जस्तै :
तोर–तोर ह्लरी ङँ निमम् ।
सुरिलो बिब कल्ताला दोङ ।
दोङ्बो मी ‘थाऽसी ’रोङ तजी ।
एसे ङँदा माया अलनी सिलीवली;
ग्रम्बरी मिख्लीला स्योङ तजी ।।
स्हेङ्बकी गोम्बो ’सिक्तोऽजी ।
एसे ङदा माया अलनी सिलीवली;
च्यङ्बा मी निज्योई फ्लिक्दोऽसी ।।

गोन्पाको किसिम
बौद्ध लामा गुम्बामा पनि मुख्यतः रिठोद र ढोङसेव गरी दुई किसिमका हुँदारहेछन् । रिठोदमा पनि सेड्रा र डुब्डा गरी दुई प्रकारका हुन्छन् । सेड्रालाई अध्ययनकेन्द्र अर्थात् कलेजको रूपमा लिइन्छ भने डुब्डालाई ध्यानकेन्द्र अर्थात् ध्यान साधनाको अभ्यास गर्ने केन्द्रको रूपमा लिइन्छ । ढोङसवलाई चाहिँ ल्हखङ अर्थात् पूजादि गर्ने केन्द्रको रूपमा लिइन्छ (रूद्र बहादुर बस्नेत र गीता बहादुर श्रेष्ठ, हिमाली सम्पदा (हिमाली क्षेत्रका धार्मिक, सामाजिक र सांस्कृतिक पक्षहरू), पहिलो (काठमाडौं : रुद्र बहादुर बस्नेत र गीता बहादुर श्रेष्ठ), २०७९, पृ.३५–३६) ।
कतिपय जानकारहरूका अनुसार लोप्डा, सेड्रा र डुब्डा गरी तीन प्रकारका हुन्छन् । विद्यालयस्तरीय पढाइ हुने केन्द्र लोप्डा हो भने कलेज वा विश्वविद्यालयस्तरीय अध्ययन गरिने केन्द्र सेड्रा हो । डुब्डा चाहिँ ध्यान साधनाकेन्द्र हो । आमतामाङजनमा डुब्डाको सट्टा डुब्खङ शब्द बढी प्रयोगमा रहेको छ ।
लेखकद्वयले, ढोङसेव गोन्पा चाहिँ प्रायः गाउँको बीचमा हुने गर्दछ । काठमाडौँमा त्यस्ता गोन्पाहरूमा शेर्पा गोन्पा, ह्योल्मो गोन्पा र जुनबेंशीको गाउँको गोन्पा आदि भनेका रहेछन् । त्यसो त बौद्ध–जोरपाटी, नयाँबस्तीमा रहेको तामाङ गोन्पा पनि यस्तो ढोङसेव गोन्पा भन्ने देखिन्छ । यस्ता ढोङसेव गोन्पाहरू प्रशस्त छन्; जहाँ पूजापाठ, मृत्युसंस्कार तथा चाडपर्वहरूमा विशेष पूजाहरू गरिएका देखिन्छन् । त्यस्ता गोन्पामा प्रवेश दिँदैन भनी कसैले कल्पना गर्न सकिन्न किनकि त्यस्ता गुम्बा पूरै खुल्ला रहन्छन् ।
तर सेड्रा र डुब्डामा अध्ययन, अध्यापन, ध्यान र साधना भइरहेका हुन्छन् । त्यसैले जतिखेर पायो वा मन लाग्यो; त्यतिखेर जो कोहीलाई प्रवेश दिन मिल्दैन र सकिँदैन । त्यस्तो केन्द्रमा छिर्न खोज्नु भनेको निहु खोज्न जानु हो । त्यसमा केही न केही खराब नियत नराखिकन गएको भए यस्तो वाइयात हल्ला पनि गर्ने थिएनन् होला जस्तो लागेको छ ।

पहिलो गोन्पा
लेखकद्वय रूद्रबहादुर बस्नेत र गीताबहादुर श्रेष्ठले उल्लेख गरे अनुसार तिब्बतमा सबैभन्दा पहिले आठौँ शताब्दीमा राजा ठिसोङ देचेनको पालामा गुरु पद्मसम्भव र शान्तरक्षितले साम्य गोन्पा निर्माण थालेका थिए । त्यहाँ अवरोधको कारण सफल नभएपछि यता मुस्ताङ जिल्लाको लोग्यकरमा घार गोन्पा बनाएका थिए । यसप्रकार लोग्यकर गोन्पा नै सफलतापूर्वक निर्माण सफल भएको पहिलो गोन्पा भन्न सकिएला कि जस्तो लागेको छ । त्यसपछि मात्रै तिब्बतमा त्यसअघि थालिएको साम्ये गोन्पा निर्माण सफल भएको देखिन्छ ।

गोन्पा, घ्याङ, आराम, विहार, बहाः बही, बहाल
तामाङ समाजमा गोन्पालाई नै घ्याङ शब्दको पनि प्रयोग गरिन्छन् । बौद्ध र स्वयम्भूमा रहेको घ्याङहरू यिनका उदाहरण हुन् । त्यसो त पूर्वका छ घ्याङहरू साथै पश्चिमा पनि घ्याङहरू रहेका देखिन्छन् । जसको बारेमा केही जानकारी प्रकाशित छन् भने कतिपय खोज्न अनि प्रकाशन गर्न बाँकी होलान् ।
त्यही गोन्पा वा घ्याङको समानार्थी अर्को शब्द विहार वा बहाः वा बहीः वा बहाल पनि हो । काठमाडौं उपत्यकामा निर्मिण प्रशस्त बहालहरू छन् । तिनीहरूमध्ये साँखुवज्रयोगिनीमा अवस्थित गुँविहार सबैभन्दा पुरानो हो भन्ने एकथरी मत देखिएको छ । नेपालमण्डलभित्र ऐतिहासिक साथै धार्मिक रूपमा अति महत्त्वपूर्ण र लोकप्रिय विहारहरू थुप्रै छन्; जस्तै चारूमती विहार, हिरण्यवर्ण महाविहार, ठःबहीः, दीपङ्कर विहार आदि ।
विहार वा बहाः वा बहीः वा बहाल शब्द सामुदायिक रुपमा नेवाः राष्ट्रले प्रयोग गर्दैआएको छ । यही आधारमा काठमाडौं उपत्यकालाई हिमाली तथा तिब्बतीहरूले बलयुल भन्दछन् । अहिले पनि तिब्बती तथा चीनियाँले नेपालीलाई आफ्नै भाषामा बल्बा भन्दछन् । तामाङ राष्ट्रले नेवाः राष्ट्रलाई बै(बही) भन्नुको कारण पनि यही हो ।
त्यसो त शाक्यमुनि बुद्धको समयमा भिक्षु र भिक्षुण सङ्घ स्थापना गरिएका थिए । शुरू–शुरूमा भिक्षु भिक्षुणीहरू प्रायःजसो रुखका फेद, ओडार/गुफामा बस्थे । कहिले यस्सो आफन्त वा अनुयायीका घरमा पनि पुग्ने गर्दथे । हरेक मौसममा त्यसरी सम्भव नभएपछि विहारको अवधारणा विकास गरेका देखिन्छन् । त्यसैले शुरूमा राजा बिम्बिसारद्वारा बेलुवन विहारको स्थापना गरिएको थियो । त्यसपछि जेतवन विहार, निरोध र घोसिताराम लगायतका विहार वा आरामहरू बनेका थिए । विहारको समानार्थी अर्को शब्द आराम पनि प्रयोग गरिएका देखिन्छन् । त्यसरी निर्माण वा स्थापना र सञ्चालन अभ्यासकै क्रममा नालन्द, विक्रमशील र ओदन्तपुरी महाविहारहरू पनि बने । ती महाविहारहरू विश्वविद्यालयका रूपमा सञ्चालन गरिएका थिए (Chandra Kala Ghimire (Adhikari), First, (Kathmandu : Late Pema Chhiring Gurung and Chungta Gurung), 2021, p. 170) । यही आधारमा विश्वविद्यालयको प्रवर्तक नै बुद्धिष्टहरू हुन् भन्ने पनि गरिन्छन् ।

हतियार भण्डार गरेको आरोप र यथार्थता
विद्वत् तथा नेता भनिएका केही पाखण्ड तथा झूटका कारिन्दा प्रवृत्तिले गुम्बालाई घातक हतियार भण्डार गर्ने केन्द्र भनी दाबी गर्दैआएका हुन् । यो दाबी गर्ने सबैजना हिन्दूराजाका पक्षपाती साथै पृथ्वीनारायण शाहका काँचोवायु हुन् भनेछन् भने पनि आपत्ति लाग्नेछैन । यसो भनिँदा सम्पूर्ण हिन्दूराजवादीलाई भन्न खोजिएको फिटिक्कै होइन । आरोप लगाउने व्यक्तिहरूले कुन गुम्बामा कुन–कुन देशले कति मात्रामा कस्ता हतियार राखेर गुम्बाको नाममा सैनिक व्यारेक बनाएका छन् भनी स्पष्ट पारेका देखिएनन् तर यो अतिगम्भीर साथै धार्मिकद्वन्द्वको खतरनाक शङ्खघोष पनि हुनसक्छ । उल्लेखित काँचोवायु प्रकृतिधारीहरू देशमा धार्मिक, साम्प्रदायिक लगायतका द्वन्द्वको चाहनामा देखिन्छन् । तिनीहरू मानिस मारिएका र द्वन्द्व भएको दृश्य नहेरिकन निदाउन सक्तैनन् । तिनीहरूमा अझैसम्म पनि मानवरगतको प्यास गइसकेको छैन । त्यसैले रगतका प्यासाहरूले अनेक बहानामा समाजलाई भड्काउन खोजेका हुन् । यस्तै किसिमका भनाइ र आरोपहरू जताततै सुनिन थालेको छ । यसले स्थितिलाई अझै तनावग्रस्त बनाउने सङ्केत दिएको छ । यसको अलावा यदि कुनै गोन्पाले गुम्बा चलाउने भनेर स्वीकृति लिने र भित्र–भित्र भने विदेश शक्तिका व्यारेक बनाएकै हुन् भने तत्काल छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्ने हुन्छ तर जसले हतियार राखेको दाबी गर्दैआएका छन्; तिनीहरूसँग त्यत्तिको दम पनि देखिएको छैन । त्यो अर्को दुःखद् पक्ष हो । यहाँका प्रायः नेता तथा विज्ञहरू माथि विदेशी एजेण्ट बनेको आरोप लाग्दैआएको छ ।

गुम्बा र हतियारको सम्बन्ध
खासगरी गुम्बा/गोन्पा हतियार बनाउने; भण्डार गर्ने र व्यारेकको रूपमा स्थापित हुने वा गरिने केन्द्र होइन । गुम्बा त सत्त्वप्राणीप्रति करुण जगाउँदै निर्वाणको लागि बोधिआचारणसहित अध्ययन तथा साधना गर्ने केन्द्र हो । हतियारलाई समाप्त गरी हतियारमाथि विजय हासिल गर्ने पवित्र स्थल हो । चक्रवर्ती सम्राट अशोकले पनि हतियार फालेर हतियारमाथि विजय हासिल गरेको उपलक्ष्यमा विजयादशमी पर्व मनाउन शुरू गरेको भन्ने मत भारतबाट उठ्दैआएको छ । त्यसरी हतियारमाथिको विजयादशमीलाई देवीले महिषासुरको वा रामले रावणको बध गरेको मिथक खडा गरी समाजमा गलत भाष्य स्थापित गराएको भन्ने भारतीय बौद्ध समाजद्वारा गम्भीरआरोप लगाउँदैआएका देखिन्छन् ।
गुम्बा खासगरी गोन्पा भनेको हतियार चलाउन अभ्यास गर्ने स्थल होइन । बरु राजनीतिमा लागेका हत्याराहरूसँग भएका घातकहतियारहरूलाई सङ्कलन गरी बौद्धविधिपूर्वक समापन गर्नुपर्छ भनी शिक्षा दिने केन्द्र हो । त्यसको लागि छ्योर्तेनहरू निर्माणक्रमलाई जोड्न सकिन्छ ।

छ्योर्तेन र हतियारको सम्बन्ध
छ्योर्तेन निर्माणको क्रममा एक तहमा घरायासी औजारदेखि हतियारहरू समेतलाई सदाको लागि विसर्जित गरिन्छन् । त्यसक्रममा ‘‘...सिंहासनको तल्लो भागमा हतियारको युगलाई शान्त पार्नको लागि धनुषवाण, भाला, तलबार, गोला, बन्चरो, बन्दुक, लामो चक्कुहरू संक्षेपमा अरूलाई बिगार्ने सियादेखि अरू हतियारको टुप्पालाई बाहिरपट्टि पर्ने गरी राखिनुपर्छ’’ भन्ने रहेको छ (अनु. ख्यापो वागीन्द्र शील, स्तुप निर्माण विधि, प्रथम (काठमाडौं : नेपाल बौद्ध सेवा केन्द्र), २०६५, पृ. ३४) ।


त्यसरी राख्नुको अर्थ पछि निकाल्ने भनिएको होइन । अब हतियार छ्योर्तेन (स्तूप) अर्थात् बुद्धलाई अर्पण गरी बिसायौँ भन्ने हो । त्यो भनेको हतियारमाथि राजा अशोकले विजय प्राप्त गरेको भने जस्तै हो । त्यसरी राखिएको हतियार कुनै पनि हालतमा पछि निकालेर प्रयोग गर्न सकिन्न किनकि केही समयपछि ती हतियारहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुग्छन् । यसर्थमा छ्योर्तेनमा हतियार राख्नुभनेको हतियारको विसर्जन गर्नु वा बिसाउनु मात्रै हो । कसैले त्यसरी राखिएका हतियारलाई नै घातकहतियार भनेका हुन् भने त्यो अज्ञानताको पराकाष्ट भन्नुपर्ने हुन्छ । अर्को कुरा त्यसरी निर्मित छ्योर्तेनमा एकाध हतियार मात्रै राख्न सकिन्छ । व्यारेक बनाउने र युद्ध गर्न पुग्ने सङ्ख्यामा राख्न सम्भव पनि हुँदैन ।


यही तथ्यलाई नबुझिकन पनि केही त्यस्ता गलत मनसाय बोकेका काँचोवायु प्रवृत्तिहरू उफ्रिएका हुन सक्छन् । भनिन्छ, नबुझेकालाई बुझाउन सकिन्छ तर बुझ पचाउनेलाई खुवाउने औषधी हुँदैन । तथ्य र आरोप जे जस्ता रहे तापनि अब बौद्धमार्गी वा बौद्धगुरुहरूले यो तथ्यलाई गहन रूपमा लिँदै तथ्य बुझाउन सक्नुपर्दछ । अब पनि पछि बिस्तारै बुझाउँला भनेर बसिरहने समय छैन । अन्यथा ठूलो दूर्घटना निम्तिन सक्छ । बिर्सन नहुने यो पनि हो कि, छ्योर्तेन बनाउने क्रममा प्रशस्त हतियारहरू राखिएका वा राख्नुपर्छ भन्ने पनि होइन । त्यस्तो गरिएको पनि देखिँदैन र सम्भव पनि छैन । प्रतीकात्मक रूपमा एकाध हतियार (मानौँ बन्दुक) पनि राखिन सक्छन् । बन्दुकहरू नपाइने वा पाउन निकै कठिन हुने हुनाले सामान्य हतियार अर्थात् खुकुरी वा चक्कु राखिएका पनि हुन्छन् । घातक र स्वचालित मेसिनगन जस्ता अत्याधुनिक हतियारहरू नराखिकन छ्योर्तेन बन्दैन भन्ने पनि होइन तर काँचोवायु प्रवृत्तिहरु त फलामको खिया लागेकै टुक्रा देखेर पनि तर्सिन र आँत्तिन सक्छन् ।

अबको दायित्व
अब लामागुरुहरूले यो प्रसङ्गलाई सम्यक् किसिमले सम्झाउन सक्नुपर्ने देखिएको छ । यहाँ अरूलाई समाप्त पार्नको लागि आफ्नै बडीगार्डलाई पिस्तोल दिएर आफैलाई गोली हान्न लगाउने प्रवृत्तिका कथित धर्मगुरु पनि देखिएकै छन् । धरान जल्न एक मिनेट लाग्दैन भन्दै कुर्लिने तथा हाम्रा विरुद्ध बोल्नेको ज्यान प्राण लिन्छौँ भन्दै अन्तरवार्ता दिएर हिँड्ने विश्वविद्यालयमा पढाउने गुरु पनि देखेकै छौँ । यस्ता उग्र तथा कट्टरपन्थी भड्काउवादी प्रवृत्तिदेखि समयमा नै सरोकारवाला सबै पक्षहरू सचेत हुन जरुरी छ । यस्तो अवस्थामा अन्तरधार्मिक समभावसहितको वार्तालाप अर्थात् गोलमेचसम्मेलन गरिनु उत्तम हुनेछ । अन्यथा रात रह्यो; अघ्रख पलायो भने जस्तै हुन बेर लाग्नेछैन ।
समयमा नै सचेतता, संयमता र समभावको वातावरण बनोस् । पशुपति, मच्छिन्द्रनाथ साथै बोधिसत्त्व तथा बुद्धहरूद्वारा आशिष प्राप्त गर्न सकौँ । अष्टबोधिसत्त्वद्वारा अधिष्ठित नेपालमण्डल लगायत नेपाल अनि विश्वमा स्थायी शान्ति कायम होस् । सर्व मङ्गलम् !!
२४ कात्तिक ’८२
सुन्दरीजल

Wednesday, February 14, 2024

ह्लोछरले छोपेको सीप दिवस

 


पृष्ठभूमि

यतिखेर ह्लोछर नजिकिँदैछ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरू ह्लोछरमय हुन थालेका छन् । ह्लोछर मनाउने समुदायका व्यक्ति तथा संस्थाहरू यो अवसरमा कार्यक्रम आयोजनाको चटारोमा देखिन्छन् । कतिपय अन्यौलताका भूमरीमा रूमलिन थालेका छन् । कति चाहिँ उत्सवको नाममा तेरो र मेरो भन्दै हिलो छ्यापाछ्याप गरिरहेका छन् । कति व्यक्ति तथा संस्थाहरू आफूले मान्ने गरेको ह्लोछरको पक्षमा मतो गर्दैछन् । समुदायका व्यक्ति तथा संस्थाहरूलाई आफ्नो पक्षमा उभ्याउने प्रयासमा छन् । यतिखेर ह्लोछरमा रहेको तीतो सत्य साथै यसको छायाँमा पर्दै आएको सीप दिवस सम्बन्धमा केही प्रसङ्ग उप्काउने प्रयास गरिएको छ ।
१. ह्लोछर
ह्लोछर शब्द ह्लो र छरबाट बनेको हो । ह्लोले वर्ष/वर्ग साथै छरले नयाँ भन्ने अर्थ दिन्छ । यसप्रकार एक वर्गमा रहेको वर्ष पूरा भई अर्को वर्गको वर्षमा प्रवेश गर्नु नै ह्लोछर हो । छर अर्थात नयाँलाई नै क्षेत्र तथा सामुदायिक रूपमा सर पनि भन्ने गरिएका पाइन्छन् । ह्लो कहिले फिर्छ ? तमु, सोनम र ग्यल्पोमध्ये कुन चाहिँ ह्लोछर आधिकारिक वा प्रामाणिक हो ? ह्लोछर कसरी मनाउने ? यी तीन प्रश्नहरू सबैभन्दा टड्कारो रहेका छन् । यिनै प्रश्नले ह्लोछर मान्ने सारा व्यक्ति, संस्था तथा समुदायहरूका नीद लुटेको भन्दा फरक नपर्ला । यहीनेरै नेपालमा प्रचलित केही ह्लोछरहरूलाई हेरौँ ।
तमु/तोला ह्लोछरलाई गुरुङले आफ्नो मानेको छ । गुरुङ बाहेक अन्य समुदाय तथा ती समुदायका व्यक्ति तथा संस्थाहरूले ह्लोछरलाई चन्द्रपात्रोको आधारमा मान्दैआएका छन् । यसर्थमा गुरुङले चाहिँ तमु/तोला ह्लोछरलाई सौर्यपात्रोमा आधारित बनाएको छ । स्मरणीय तथ्य चाहिँ वि.सं. २०५१ सालमा नेपाली राज्यसत्ताले पर्वको रूपमा बिदा दिन थाल्दाको बखत गुरुङले पनि चन्द्रपात्रोको आधारमा नै ह्लोछर मानेको देखिन्छ । त्यसको केही वर्षपछि नै उसले सौर्यपात्रोअनुसार पुस १५ लाई तमु/तोला ह्लोछरको रूपमा मान्न थालेको भनी जानकारहरू बताउँछन् ।
सोनम ह्लोछरलाई शुरूमा गुरुङ लगायत हिमाली समुदायहरूले एक साथ मनाएका थिए । यसले शुरूदेखि अहिलेसम्म पनि चन्द्रपात्रोलाई नै अङ्गिकार गर्दै ऐतिहासिक निरन्तरतालाई कायम गरेको छ । यो ह्लोछरको रौनकता पनि धेरै वर्ष टिक्न सकेन । शुरूमा गुरुङ त्यसपछि शेर्पा समुदायले सोनमलाई छोडे । सोनम छोडेर गुरुङले तमु/तोला ह्लोछर माने भने शेर्पा लगायतका कतिपय समुदायहरूले ग्यल्पो भनेर ह्लोछरको पङ्क्तिमा अर्को नाम थपे । यसप्रकार सोनम ह्लोछर तामाङको भागमा अपुताली परेसरह भएको देखिन्छ ।
ग्यल्पो ह्लोसरलाई नेपालको हकमा कान्छो मान्न सकिन्छ । सोनम र तमुपछि यो ह्लोछर मान्न थालिएको हो । त्यसो त अघिदेखि नै ग्यल्पो ह्लोसर मान्दै आएको दाबी नरहेको होइन । खासगरी सोनम ह्लोछर छोडेर शेर्पा समुदायले ग्यल्पो ह्लोसर मनाउन थालेको थियो । ग्यल्पोको अर्थ राजा हुन्छ । यसप्रकार राजा वा राजसंस्थासँग सम्बन्धित रहेकोले ग्यल्पो चाहिँ ठूलो भन्ने एकथरी मत रहेको पनि देखिन्छ ।
सोनम ह्लोछरलाई तामाङ राष्ट्रले विशेषतः आफ्नो मौलिक पर्वको रुपमा दाबी गर्न थालेको देखिन्छ । नेपालमा राज्यसत्ताले ह्लोछरलाई मान्यता दिएको बेलामा यो तामाङको मात्रै पेवा थिएन भन्ने त माथि उल्लेख गरिसकेको छ । तामाङकै केही व्यक्ति तथा संस्थाहरूले सोनम छोडेर ग्यल्पो मान्न थालेका छन् । त्यसो त ग्यल्पो पनि शेर्पाका पुर्खाको हत्या गरी मङ्गोलको ग्यल्पोले शुरू गरेका भन्ने तथ्य बाहिरिएको छ । त्यसपछि शेर्पा लगायतको समुदायका केही व्यक्तिहरूले सोनम ल्होछर नै ठीक पनि भन्न समेत थालेका देखिन्छन् ।

तामाङभित्रै पनि माघेसङराति नै ह्लो फिर्छ भन्ने मान्यता पनि देखिएको छ । माघेङराति जुन विधिअनुसार तामाङले मनाउने गरेको छ; त्यो सङरातिभन्दा पनि ह्लोछर मनाएको भन्ने प्रमाण हो । त्यसो त तपङ्ह्य(पुस पूर्णिमा)मा ह्लो फिर्छ भन्ने अर्का एक थप मत पनि तामाङ समुदायमा नै रहेको बताउँछन् । यसप्रकार तामाङ समुदाय आफै थरीथरीका मूल्य, मान्यता र विश्वासका टेकोमा अडिन खोजिरहेको छ । यसले ठूलो समुदाय भएको प्रमाण मात्रै नभई एकताभन्दा पनि विविधता कायम रहेको प्रमाणित गरिरहेको छ । यसप्रकार ह्लोछर महान् पर्व भन्दापनि अन्यौलग्रस्त भएको तीतो यथार्थ हो भन्न पनि सक्छनन् । त्यसो भए सोनम ह्लोछर कहिले फिर्छ भन्ने बारेमा केही कुरा गरी हेरौँ ।
(क) माघे सङराति(सङ्क्रान्ति)
यो सौर्यपात्रोसँग सम्बन्धित एक पर्व हो । विशेषगरी नयाँ महिना र मौसम परिवर्तनको प्रसङ्ग हो । यही दिनदेखि सूर्य दक्षिणबाट उत्तरतिर सर्छ । फलस्वरूप मौसममा परिवर्तन र दिन लम्बिन थाल्छ । नेपालमा थारू र मगर समुदायले माघीको नाममा माघेसङ्क्रान्तिलाई पर्वको रूपमा मान्दै आएका पाइन्छन् । त्यस्तैगरी हिन्दूहरूका लागि पनि माघेसङ्क्रान्ति ठूलै पर्व हो । यो पर्वलाई प्रायःजसो समुदायले कन्दमूलको सेवन गर्ने पर्वको रूपमा मान्दै आएकाछन् । यस्तैगरी चाकु(उखुको रसबाट निर्मित खाद्यपदार्थ)लाई पनि प्रयोग गर्दछन् ।
तामाङ समुदायले पनि माघेङरातिको नाममा यसलाई मान्दै आएको छ । विशेषतः नेपालमा हिन्दू राज्यसत्ताले सौर्यपात्रोलाई आधिकारिक तथा सरकारीस्तरबाट मान्यता दिएकाले यस्तो भएको हो । फलस्वरूप ख्रे नामक महिनाको पहिलो दिन मान्नुपर्ने पर्वलाई नै नजिकै परेको र राज्यसत्ताले पनि मान्यता दिएको हुनाले माघेसङ्क्रान्तिमा नै मनाउन थालेका हुनसक्छ । त्यस्तैगरी चन्द्रपात्रोको सहज उपलब्ध नभएकोले पनि सौर्यपात्रोको सहारा लिन विवश भएको स्पष्ट छ ।
अहिले पनि काठमाडौं लगायत धादिङ, नुवाकोटतिर मात्रै नभई माबरलिङका तामाङले पनि माघेसङराति मान्दै आएका छन् । सिन्धुली माबर क्षेत्रमा त माघे र साउने सङ्रातिमा चेलीबेटीहरूलाई निम्तो दिनैपर्ने परम्परा कायम छ । सङराति र दुगुङ्ह्य (बैशाखे पूर्णिमा) चेलीबेटीलाई बोलाउनुपर्दछ । यदि बोलाएनन् भने माइतीमा आउनु वा जानुपर्छ भन्ने हुँदैन । म्हेनङ/म्हेनिङमा निम्तो दिइरहनुपर्दैन । माघेसङराति मनाउने तरिका र खाद्यसंस्कृति चाहिँ तामाङ मौलिकतामा आधारित रहेको दाबी गर्न सकिन्छ । यतिखेर कन्दमूलका रूपमा तेमे(दिमतेमे, सूतेमे, तवमफ्ला, सिमलतेमे, ह्रितेमे र तेमे/सखरखण्ड) अर्थात तरुल साथै तया(कङ्गुरतया, ङ्हेतया, नपतया र पिङतया) अर्थात पिँडालुका विशेष प्रयोग गरिन्छन् । त्यस्तैगरी तीते, मीठे र हैबरे फापरमध्ये पाएसम्म तीतेफापरको पीठोबाट बनाइएका अलुम/बोल्डो अर्थात पानीरोटी विशेष प्रयोग आवश्यक मानिन्छन् । यसप्रकार तीतेफापरको पानीरोटी र वनतरुलको सानो काँचै टुक्राको सेवन गर्नुभनेको जडीबुटी, अम्चीज्ञान साथै उपचारविधिको हिसाबले निकै महत्त्वपूर्ण देखिन्छ । यतिखेर फल्गी(चिउरा), राँगाको मासु साथै रक्सीको पनि प्रशस्त उपभोग गरिन्छन् ।
यो बिहान सबेरै उठेर नुहाउँछन् । त्यसपछि घरमा रहेका सदस्यहरूमध्ये घरमूलीदेखि साइनोअनुसार ढोगेर आशिरवाद लिन्छन् । त्यसपछि वनतरुलको काँचै सानो टुक्रा सेवन गर्दछन् । त्यसपछि टोलछिमेकमा ढोग्न निस्कन्छन् । यी सबैले ह्लोछर मनाएको भन्ने स्पष्ट हुन्छ । यसप्रकार माघ १ गतेदेखि ह्लो फिरेको मान्यता सथापित छ । ख्रे अर्थात माघ शुक्लप्रतिपदादेखि ह्लो फिरेको मान्यता खासगरी ह्लोछरलाई राज्यसत्ताले मान्यता दिएपछिको कुरा हो । जेहोस्, माघेसङ्क्रान्ति मनाउने तरिकालाई नै अवलम्बन गर्दै त्यो क्रमलाई माघ १ गते नभई ख्रे नामक महिना लागेको १ गते मनाउने हो भने सरल हुने स्पष्ट छ । पर्वहरूलाई मनाउने क्रममा दङ्ब वा तेन्ब शब्दको प्रयोग गरिन्छन् । खासगरी तेन्पले मनाउने वा थाम्ने साथै दङ्बले धपाउने वा पठाउने भन्ने अर्थ दिन्छ । यहीनेर अन्यौलता कायम रहेको देखिन्छ । ह्लोछर तेन्पभन्दा पनि दङ्ब चाहिँ उचित शब्द संयोजन हो । यो पनि खोज्न आवश्यक थप पाटो वा प्रसङ्ग हो ।
अन्ततः माघ १ गतेदेखि ह्लो फिर्यो भन्नु चाहिँ सौर्यपात्रोलाई मान्नु नै हो । त्यो भनेको हिन्दूकरणको एक घान हाल्नु वा त्यहाँ मिसिनु हो । त्यसैले ह्लोछरलाई सौर्य नभई चन्द्रपात्रोअनुसार मान्नु नै सबैभन्दा उचित हुन्छ । त्यसको लागि चन्द्रपात्रोको समुदचित प्रकाशन, बिक्री वितरण तथा प्रयोगमा बानी पार्न अति आवश्यक देखिन्छ । त्यति पनि गर्न नसक्ने हो भने ह्लोछर भनेर उफ्रनुको तुक के रहला र ?
(ख) तपङ्ह्य (पुस पूर्णिमा)
तप ङ्ह्यमा ल्हो फिर्छ भन्ने मत विशेषगरी तेमाल लगायतका केही क्षेत्रमा रहेको भन्ने गरेका पाइन्छन् । यो एक किसिमको अभ्यास हो; जुन निकै पहिले कायम रहेको हुनसक्छ । अहिले हेर्ने हो भने शायद त्यतिधेरै उपयुक्त देखिँदैन । त्यसैले यो मत खासै प्रभावकारी देखिएको छैन । निकै सानो क्षेत्रमा फैलिएको वा कम क्षेत्रमा मानिएको हुन सक्छ । हाल यो मतले ह्लो कहिले फिर्छ भन्ने सन्दर्भमा चाहिँ सबैभन्दा कम प्रभाव वा समस्या पारेको छ । यसले भन्दा बढी त माघ १ गते ह्लो फिर्छ भन्ने मत सशक्त देखिन्छ । त्यसपछि मात्रै ख्रे नामक महिनाको १ गते अर्थात सोनम कि ग्यल्पो ह्लोछर भन्ने ठीक भन्ने विवाद व्यापक देखिन्छ ।
(ग) ख्रे लको छेपा गी
ख्रे नामक महिनाको एक गते सोनम ल्होछर पर्दछ । यही तथ्य सौर्यपात्रोमा बानी परेका व्यक्तिहरूलाई बुझाउनको लागि चाहिँ माघ शुक्लप्रतिपदा भन्ने गरिएको हो । खासगरी महिनामा शुक्ल र कृष्ण गरी दुई पक्ष हुन्छन् । यिनैलाई आमबोलीमा पूर्णे र औँशी भनिन्छन् । तामाङले सामान्यतः छेपा वा ङ्ह्य अनि थुमथुम लगायतका शब्दद्वारा बुझ्ने र बुझाउने गरेका पाइन्छन् । यसले चन्द्रपात्रोविना सम्भव हुँदैन । सौर्यपात्रो चाहिँ सूर्यको गतिसँग सम्बन्धित रहेको हुन्छ । बिर्सन नहुने तथ्य चाहिँ औँशी र पूर्णे भनेको चन्द्रमाको गतिमा आधारित विषय हुन् । यसप्रकार सोनम ह्लोछर भनेको ख्रे नामक महिनाको १ गते नै पर्दछ । यसमा अर्को मत राख्न आवश्यक देखिँदैन । सोनम ह्लोछर मान्नेले महिनालाई ल र ग्याल्बो ह्लोछर मान्नेले दवा (दावा) भन्ने गर्दछन् । यो अति महत्त्वपूर्ण र संवेदनशील विषय हो । यी दुई (ल र दवा) शब्दहरूमध्ये तामाङ जनबोलीमा लको स्थानलाई दवाले लिन सकेको छैन । यसले ग्यल्पो ह्लोछर तामाङको होइन भन्ने मतलाई बल दिएको देखिन्छ ।
२. ख्रे लको छेपा ङा
ह्लोछरले छोपेको सीप दिवस नै यो लेखको नाम जुराइएको छ । यो शीर्षक र शीर्षकमा रहेर गरिएको प्रस्तुति सबैजनालाई चित्त बुझ्नेछ भन्ने पनि छैन । सबैका चित्त यसैमा बुझ्नैपर्दछ भन्ने पनि अनिवार्य छैन । ह्लोछर एक उत्सव हो । उत्सव भएकोले पर्व हो । पर्वलाई कसैले चाड पनि भन्न सक्छन् । यद्यपि उत्सव, चाड र पर्व जस्ता शब्दका आफ्नै सार हुन्छन् । ती सारहरु ठ्याक्कै एकै हुँदैनन् । यो अर्को विचारनीय र संवेनशील पक्ष हो । खासगरी ह्लोछर उत्सव हो । त्यही उत्सवले चाडको रूप लिन्छ भने टाउको दुखाइरहन आवश्यक पनि छैन तर ह्लोछरको बहस गर्ने बहानामा बबण्डर मच्चाउनेहरूले बुझ्न जरुरी पक्ष चाहिँ ख्रे लको १ गते भन्दा पनि ५ गते विशेष महत्त्वपूर्ण उत्सव वा चाड पर्दछ ।
यसप्रकार ख्रे महिनाको ५ गर्ते अर्थात छेपा ङाको बारेमा यहाँ केही चर्चा गरौँ । यो दिन जीविकोपार्जन साथै वंश निरन्तरताको हिसाबले ह्लोछरभन्दापनि अझै महत्त्वपूर्ण देखिन्छ । सोनम ह्लोछरकै दिन चीन लगायतका कैयन् देशहरूमा ह्लोछर पर्व मनाउने गरेका देखिन्छन् । त्यसो हो भने सोनम ह्लोछरलाई तामाङको मौलिक पहिचानमूलक पर्व भन्नु लाजको पसारोभन्दा अरू के हुन सक्ला र ?
तामाङ पुर्खाले ख्रे लको छेपा ङालाई विशेष प्राथमिकताको साथ स्थापित गरेका भन्न सकिन्छ । यस दिन तामाङका महान् पुर्खाले सीप दिवसको रूपमा मानेका र स्थापित गरेका देखिन्छन् । यो दिन बहर र घोडा दाउने गरिन्थ्यो । गृहस्थीलाई चाहिँ सम्पूर्ण सीपहरू सिक्ने सिकाउने गरिन्थ्यो । बालबालिका लगायतलाई अक्षर चिनाउने पनि यही दिन हो । मकैको छेवर (मकै छर्न शुरू) पनि यही दिनबाट गरिन्थ्यो । सीप सिक्न चाहाने चेला र सिकाउने गुरु पनि यही दिन तोकिन्थे । डकर्मी, सिङकर्मी(सिकर्मी), चित्रफोँग अर्थात् चोया लगायतलाई बुनेर तयार पारिने साधन वा सामग्रीहरू, खेतीपातीको सीप सिक्ने सिकाउने र गोरु जोत्न सिक्ने लगायतका लागि तोकिएको दिन पनि यही छेपा ङा नै थियो । यस्तो महान् दिन वा पर्वदेखि आज सोनम ह्लोछरको हिमायती र पक्षपाति तामाङ समुदाय बेखर हुन लज्जास्प्रद विषय हो । यस बारेमा निम्नानुसार सङ्क्षेपमा चर्चा गरिएको छ ।

(क) सीप दिवस
ह्लोछरको बेलामा पर्ने सबैभन्दा महत्त्वपूर्ण पर्वको रूपमा सीप दिवसलाई लिन सकिन्छ । यो ख्रे महिनाको शुक्लपञ्चमीमा पर्दछ । महान् पुर्खाहरूले पात्रो निर्माणको क्रममा ख्रे महिनाको ५ गते विशेष पर्वको रूपमा स्थापित गराएका थिए । त्यसको ठीक छ महिनापछि गोनेङ्ह्य(जनै पूर्णिमा)मा भने ज्ञान दिवसको रूपमा स्थापित गराएका देखिन्छन् । यसप्रकार छ छ महिनामा सीप र ज्ञानका पक्षलाई समेटेर दिवसको रूपमा मान्ने परम्परा बसाएका थिए । हिजोआज नेपाली तामाङ समुदायले गोनेङ्ह्यलाई ज्ञान दिवसको रूपमा लिन, बुझ्न र शुभकामना आदानप्रदान गर्न थालेका छन् । त्यसैगरी ख्रे महिनाको १ गते ह्लो फिर्यो भनेपछिको पाँचौँ दिनमा सीप सिक्ने र सिकाउने दिवसको रूपमा मान्नुपर्ने देखिन्छ । यद्यपि यो विशेष महत्त्वसहितको पर्व ह्लोछरद्वारा छोपिएको वा थिचिएको भन्न सकिन्छ ।
यो निकै दुखद् पक्ष बनेको छ । जीवनमा ज्ञान र सीप दुइटै अत्यावश्यक विषय हुन् । कुनै एकको अभावमा सङ्कट उत्पन्न हुन्छ । यही तथ्यलाई हृदयङ्गम गर्दै महान् पुर्खाले सीप दिवस मनाउने र त्यसको छ महिनापछि ज्ञान दिवस मनाउने परम्परा बसाएका थिए । ज्ञान दिवसको बारेमा लोकोत्तर लोकवादी विचार समुह/अभियान सञ्चालन गरिएसँगै केही विमर्श थालिएको थियो तर आजसम्म पनि सीप दिवसको बारेमा प्रायः व्यक्ति तथा सङ्घ संस्थाहरू बेखर देखिन्छन् ।
यो दिन तामाङले आफ्नो जीवनयापनका लागि आवश्यक सबै किसिमका सीप सिक्तथे । माथि उल्लेख गरिएजसरी नै घर बनाउनेक्रममा गाह्रो लगाउने, झ्यालढोका बनाउने र कुँध्ने साथै छाना छाउने लगायत तामाङ विश्वासपद्धतिमा आधारित सीप सिक्ने र सिकाउने परम्परा चलाएका थिए । तामाङ घरको अङ्गहरू के, कति र कस्ता हुने साथै कस्तो घरमा मान्छे बस्ने, कस्तोमा बस्तुभाउ राख्ने र कस्तोमा फो’ल स्थापित गर्न मिल्छ कि मिल्दैन भन्नेसम्मका कुरा हुन्थे । कुन प्रजातिका काठका प्रयोग गर्ने र नगर्ने साथै घर केले कसरी छाउने भन्नेसम्मका विषयहरू जोडिएका हुन्थे ।
हाल रसुवा क्षेत्रमा पुग्ने हो भने परम्परागत तामाङ घर निर्माण सीप निकै अब्बल रहेको स्पष्ट हुन्छ । त्यस्तैगरी घरमा आवश्यक पर्ने डोको, डाला, सोली, घुम, छपनी, पेरोङ्गो, झोलुङ्गो, खैसङ, गै, ब्यो/मान्द्रो, बुत्तुर, भकारी, डेली/फिपी लगायतका चोयाद्वारा बुनिने सीप पनि विकास गरेका थिए । खेतबारी खनजोत गर्ने क्रममा आवश्यक पर्ने हलो र जुवा लगायतका औजारहरू तामाङ आफैले निर्माण गर्थे । पाज्यर(अल्लो) तथा भाङ(गाँजा)को रेसाको धागो बनाउने साथै कपासलाई धागोमा परिणत गरी कपडा बुन्ने, बुनिएका कपडालाई काटेर सिलाउनेसम्मका सीप महान् पुर्खाले विकास गरी पुस्तान्तरण गर्दै आएका थिए । बालबालिकालाई पढाइमा लगाउने वा सीपहरू सिकाउने, घोडा र बहर दाउने पनि यसै दिन गर्दथे ।
यसप्रकार गृहस्थ जीवनको लागि आवश्यक सम्पूर्ण सीपहरूका विकास गर्दै ती सबै सीपलाई हस्तान्तरण गर्न पर्वको रूपमा विकास गरेका थिए । त्यसैलाई यहाँ सीप दिवस भनिएको हो । ती सीपका लाइनमा यस्तै अति दुर्लभ तथा मौलिक सीप पनि थिए; जुन प्रायः लोपोन्मुख वा लोप पनि भइसकेका छन् । भ्रम(अखरी) अर्थात् मर्चा बनाउने, त्यसको प्रयोग गरी अन्नबाट दुज्जे (अमृत) वा मादकपदार्थको निर्माण गर्ने, खाद्यसंस्कृति र त्यस सम्बन्धी मौलिक सीपका अन्वेषण तथा पुस्तान्तरण गर्दै आएका थिए । खेतीपाती तथा पशुपङ्क्षी पालनका लागि आवश्यक सीप पनि विकास गरेकै थिए । वाद्ययन्त्र (ङ्ह/ढ्याङ्ग्रो, डम्फू, टुङ्ना, पुली अर्थात मुरली बनाउने सीप पनि विकास गरी पुस्तान्तरणको प्रक्रियामा राखेका थिए । बोम्बो, तम्बा र लामाका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू निर्माण गर्ने सीप जानेकै थिए ।
यी सारा सीपहरूका बारेमा यो छोटो लेखमा सबै समावेश सम्भव भएन । तामाङ सीप पक्षमा रहेर लेख्ने हो भने ठूलै ग्रन्थ बन्नेछ । त्यो ग्रन्थले तामाङ पहिचानको मार्गमा थप कोशेढुङ्गोको स्थान लिनेछ । त्यसैले तामाङ सीप बिर्सनुको सट्टा यस सम्बन्धमा खोजेर पुस्तक प्रकाशन गर्नु अति आवश्यक छ । तामाङ सीपमा समयानुकूल परिष्कार गर्दै विश्वबजारमा कसरी स्थापित हुने भन्नेतिर प्रवेश गर्नुको विकल्प छैन ।
यस्तो विषयदेखि बेखर भएर बस्नु जस्तो कमजोरी अरू केही हुन सक्तैन । यस्तो महत्त्वपूर्ण विधा ह्लोछरको नाममा ‘‘स्यजी होइ तामाङ’’ भन्दै कराएर मात्रै हुँदैन । टुँडिखेलमा वा गाउँबस्तीमा गीत गाएर मनोरञ्जन गरेर मात्रै पनि हुँदैन । ती मनोरञ्जन गर्नै हुँदैन पनि भन्न खोजिएको होइन । कम्तिमा पनि अब तामाङ सीप पक्षको बारेमा छलफल तथा विमर्श थालिनुपर्दछ । यसलाई उत्सव वा दिवसकै रूपमा स्थापित गर्दै मनाउने क्रम चलाउन ढिलो गर्नुहुँदैन । अन्यथा भविष्य र भावी सन्ततिले माफी दिने छैनन् ।
(ख) मकैको छेवर
ख्रे महिनाको ५ गते अर्थात सीप दिवसकै दिन मकैको छेवर गर्ने परम्परा सिन्धुली माबर क्षेत्रमा प्रचलित थियो । यहाँका तामाङ बस्तीमा यही दिन मकै छरिएमा फसल राम्रो हुन्छ भन्ने मान्यता थियो । त्यसैले यही दिन मकैको छेवर गर्दथे । मकैको छेवर भन्नाले त्यो सालको मकै बाली लगाउने वा मकै छर्न शुरू गर्ने हो । यही दिन अलिकति मात्रै भए पनि मकै छरेर शुभसाइत पार्दथे ।
यसक्रममा बहर दाउने, गोरू जोत्ने सीप सिक्ने सिकाउने परम्परा थियो । अनौ, हरिस्, फोसिङ, ठेल्डी लगायतको हलो र सोइला, जोधारोसहितको जुवा, गोरुका थुतुनोमा लगाउने मुखौरो, हलिको कम्बरमा खुकुरी भिर्ने वा खुर्पेठ्याकमा खुर्पा भिर्ने र ती सबै सामग्री वा औजार बनाउने सीपका पक्षहरू जोडिएका हुन्थे ।
बाली लगाउन लागिएको आफ्नो बारीको माटो कस्तो छ ? लेक र बेशीको तापक्रम कस्तो छ र कति फरक छ भन्ने सम्बन्धी पूर्ण ज्ञान र जाँच्ने सीपमा माहिर थिए । ह्लो फिरेपछि बारेमा घाम उदाए वा लागेसँगै बाफ उठे वा नउठेको हेर्न जान्दथे । घाम लाग्दा बाफ उठेको मात्राको अध्ययन गरी यति भएपछि मकै छर्दा बिउ नकुहिने र उम्रिने हुन्छ भनी छुट्टाउन सक्थे । यही सीप र ज्ञानको सहारामा खेतीपाती सफल पार्दथे ।
त्यस्तो सीपलाई आज बेवास्ता गर्नुभनेको पुर्खाका पसिना र लगानीलाई बिर्सनु अझै भनौ खोलामा वा डम्पिङसाइटमा लगेर फाल्नु हो । पुर्खा तथा भावीपुस्ताप्रतिको गद्दारी हो । आफ्नै छातिमा तीर रोप्नु हो । अबको बुद्धिमान पुस्ताले त्यस्तो गल्ती गर्नुहुँदैन ।
(ग) झ्यम्बेयङ/मञ्जुश्री र चन्द्रपात्रो
यही सीप दिवसकै दिनलाई ख्रेलको छेपा ङा वा झ्यम्बेयङको तिथिको रूपमा मानिन्छ । खासगरी झ्यम्बेयङ अर्थात मञ्जुश्रीले चन्द्रपात्रो निर्माण गर्नुभएको साथै खगोलशास्त्रीय ज्ञान निर्माण तथा व्यवस्थित गर्नुभएको विश्वास पाइन्छ । यही आधारमा झ्यम्बेयङ वा मञ्जुश्रीको दिवसको रूपमा मान्ने गरिन्छ ।
यो दिन सिम्बु (स्वयम्भू)मा रहेको झ्यम्बेयङको मन्दिरमा दर्शन गर्न विशेषतः युवायुवतीका भीड लाग्ने गर्दछ । तामाङ लगायत हिमाली तथा तिब्बती(चीनियाँ) समाजमा झ्यम्बेयङलाई ज्ञान तथा सीपको स्रोत वा त्यससँग सम्बन्धित शक्तिको रूपमा मानिन्छ । झ्यम्बेयङ्लाई नै संस्कृतमा मञ्जुश्री भनिएको हो ।
कथनअनुसार काठमाडौं उपत्यका पानीको दहको रूपमा रहेकै बेला हाल स्वयम्भू रहेको थुम्कोमा स्वयम्भू ज्योतिको उत्पत्ति भएको थियो । त्यसपछि विभिन्न आदिबुद्धहरूका आगमन पनि भएका थिए । अन्ततः चीनबाट झ्यम्बेयङ आउनुभयो र उहाँले नै चोभार, गौरीघाट र गोकर्ण लगायतका स्थानमा काटेर यहाँको पानी बाहिर पठाउनुभयो । त्यसपछि मात्रै यहाँ मानव बसोबास सम्भव भएको थियो ।
(घ) वसन्तपञ्चमी/सरस्वती पूजा
माथि उल्लेख गरिएअनुसारकै सीप दिवसको दिनमा हिन्दूहरूले वसन्तपञ्चमी भन्दै सरस्वतीकी पूजा गर्दछन् । वसन्तपञ्चमी शब्दले पनि सोनम ह्लोछरलाई थप प्रमणित गर्दछ तर यो पक्षमा हालसम्म कसैले बोलेका वा लेखेका पाउन सकेको छैन ।
हिन्दू विश्वासअनुसार सरस्वती नै ज्ञान र सीपसँग सम्बन्धित देवी हुन् । यही दिन स्वयम्भूमा रहेको झ्यम्बेयङको मन्दिरमा नै हिन्दूहरूले सरस्वतीको रूपमा पुज्ने गर्दछन् । त्यसो त सरस्वतीका मन्दिरहरूमा पूजा गर्ने गराउने गरिन्छन् । कतिपय विद्यालयहरूमा पनि यही दिन सरस्वतीको विधिवत् पूजा गर्ने परम्परा रहेको छ ।
यहीनेर राज्यसत्ताले हिन्दूलाई अँगालेकैले वसन्तपञ्चमी वा सरस्वतीको पूजा गर्ने दिन स्थापित भयो । यसले बौद्ध लगायतका झ्यम्बेयङलाई छायाँमा वा ओझेलमा पार्दै आएको छ । विद्याकी खानी सरस्वतीलाई ब्रह्माकी छोरी मानिन्छ ।
निष्कर्ष
ह्लोछर विशेष पर्व हो भन्नेमा द्वीमत रहेन । यो पर्व मनाउने क्रमसँगै अब तामाङ राष्ट्र/समुदायले छेपा ङाको दिनलाई सीप दिवसको रूपमा मान्न सक्नुपर्दछ । यसको लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न सक्नुपर्दछ । तामाङको मौलिक पहिचानसहितको ज्ञानको बारेमा अध्ययन, अनुसन्धान तथा प्रकाशन गर्न ढिलो गर्नुहुँदैन । यस्तैगरी सीप दिवससम्बन्धमा वहस तथा विमर्श गर्दै सीप पक्षलाई सबल बनाउन सक्नुपर्दछ । यसलाई ह्लोछारद्वारा छोप्नुको सट्टा उजागर गर्दै संसारमा तामाङलाई चिनाउने सहासहित कदम चल्नुपर्दछ । यसैमा तामाङ राष्ट्रको हित हुनेछ । थुजेछे !
– खोजराज गोले
६ माघ ’८०
सुन्दरीजल

Monday, October 31, 2022

पहिचानको कुरा !




.  शाब्दिक पक्ष

पहिचान नेपाली भनिएको भाषाको नामशब्द हो । नेपाली बृहत् शब्दकोशमा उल्लेख गरिएअनुसार यसको अर्थ (१) चिनाजानी, परिचय, प्रत्यभिज्ञान । (२) कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम, पारख साथै (३) जाँचबुझ हुन्छ । त्यसो त हिन्दीभाषामा पनि पहिचान शब्दको प्रयोग देखिन्छ । विषयगत प्रसङ्गमा पहिचानको अर्थ चिनारी हो । चिनारी शब्द चिह्न-आरीको संयोगबाट बनेको उल्लेखित शब्दकोशमा दाबी गरिएको छ ।

 

पहिचानलाई प्रत्यभिज्ञान पनि भन्न सकिँदोरहेछ । यसलाई प्रत्यभिज्ञा पनि भनिएको देखिन्छ । प्रत्यभिज्ञा संस्कृतभाषाको नामशब्द हो; जसको अर्थ (१) पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान साथै (२) चिनापर्ची, चिनारी, परिचय हो । उल्लेखित शब्दकोशले प्रत्यभिज्ञा र प्रत्याभिज्ञानको अर्थ एउटै लगाएको छ ।

 

यसप्रकार पहिचानलाई प्रत्यभिज्ञा वा प्रत्यभिज्ञान पनि भन्न सकिने भयो । त्यसो त पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तुआदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान भन्न सकिन्छ । यसले के स्पष्ट पार्दछ भने, पहिचानसँग पहिलेका कुरा वा प्रसङ्ग अर्थात इतिहास जोडिएको हुनुपर्नेरहेछ । त्यस्तैगरी अहिले अर्थात वर्तमानमा पनि ती पहिचान गरिएका आधारका विद्यमानता कायम रहेको हुनुपर्दछ; जसको आधारमा सम्बन्धित पक्षको ऐतिहासिकतासँग जोडिन सकियोस् । विगतमा देखिएको आधारमा अहिले चिन्न सकियोस् ।

 

त्यसो हो भने, विगतमा देखिएको वा रहेको पहिचानको आधार समाप्त पारिएको हुनु भएन । यदि समाप्त पारिएको रहेछ भने अहिले देखिएको वा भेटिएको अवस्थाको स्वरूपबाट विगतसँग जोडिन नसकिने हुन्छ । फलस्वरूप अहिलेको अवस्थालाई हेरेर विगतको ज्ञान वा प्रत्यभिज्ञान गर्न नसकिने हुन्छ । त्यसो हुने बित्तिकै उसको पुरानो पहिचान समाप्त हुनपुग्छ । पुरानो पहिचान समाप्त हुनुभनेको इतिहासदेखि छुट्टनिु हो । इतिहास बिनाको वर्तमान प्राणबिनाको देह समान हुन्छ ।

 

पहिचानको समानान्तर अङ्ग्रेजी शब्द आइडेन्टिटी भनिएको छ । यहीनेर तामाङभाषामा यसको लागि कुनै शब्द छ कि छैन भन्ने एउटा नयाँ जिज्ञासा हुन्छ । अङ्ग्रेजीको आइडेन्टिटी तथा नेपाली भनिएको भाषाको पहिचानलाई तामाङमा ङोसेSब भन्ने गरिएको छ । यसको अर्थ पनि चिन्नु भन्ने हुन्छ । चिन्नुको लागि त्यसअघि देखिएको हुनुपर्दछ । सोही आधारमा आज भेटिँदा चिन्न सकिएको हुन्छ । पहिलो पटक भेटिएर चिन्न सम्भव हुँदैन । परिचय वा चिनजान गरिसकिएपछि अर्थात अञ्जान व्यक्तिसँग एकै क्षणअघि परिचय गरिएपछि चिन्न थालिन्छ ।

 

यस्तैगरी कोही कसैले पठाएका व्यक्तिले भेट्न आएका अवस्थामा सुनेको नाम र हुलियाको आधारमा पनि नयाँ व्यक्तिले फलानाले भनेको व्यक्ति म नै हुँ भनेर चिनाएपछि बल्ल चिन्न थालिन्छ । त्यसपछि सम्बन्धित व्यक्तिको चिनारी मस्तिष्कमा भण्डार हुन्छ । चिन्ने क्रममा नै मानौं टेलिभिजनमा देखिएको वा प्रत्यक्ष दृश्यसंवाद वा आवाज सुनिएको व्यक्तिसँग पछि भेटिँदा पनि चिन्न सकिन्छ । यसप्रकार कुनै पनि व्यक्तिलाई चिन्नको लागि अघिबाटै कुनै न कुनै आधारमा चिनिएको हुनुपर्नेरहेछ भन्ने स्पष्ट हुन्छ ।

 

. पहिचानको आवश्यकता

जो जसले माने वा नमानेतापनि नेपाल पहिचानको मुद्दामा रहेको छ । त्यसो त विश्वजगत्मा पहिचानको मुद्दा नभएको स्थान छैन । यदि पहिचानको मुद्दा नभएको भए मान्छे केवल मान्छे हुने थियौं । देशी विदेशी, नश्ल नश्लीय, जाति, राष्ट्र भन्नुपर्ने थिएन । त्यसो त यो र त्यो धर्म भनेर पनि भनिरहनु अनि मानिरहनुपर्ने थिएन । विवाह गर्न मिल्ने वा नमिल्ने साइनो भनेर केलाउनुपर्ने थिएन । त्यो बाटोमा लागेको भए मान्छेलाई पनि बेग्लै प्रजातिको पशु अन्तर्गत राख्नुपर्ने हुन्थ्यो तर स्मरणीय तथ्य, मान्छे पशु होइन ।

 

त्यसैले मान्छेलाई नैतिकता आवश्यक परेको हो । नैतिकतवान् बनाउनको लागि नियमका आवश्यकता खटि्कएको हो । नियमको लागि देश-देशावरता, जाति, नश्ल, समुदाय वा राष्ट्रियता साथै विवाह गर्न मिल्ने र निमल्ने साइनोसहितको व्यवस्था आवश्यक महशुश गरिएको हो । सोही क्रममा गाउँबस्ती, एकै राष्ट्रको लागि पनि ह्रुइ/थर/क्लान व्यवस्था स्थापित गर्नुपरेको हो । भौगोलिक आधारमा समेत फरक फरक व्यवस्था बाँध्नुपरेको हो । यहाँ फरक भूगोलमा फरक नश्ल वा समुदायका मान्छे मात्रै नभएर एउटै समुदायभित्र पनि फरक फरक आधारमा फरक भएका मान्छे वा पहिचान रहेका छन् ।

 

यसबाट के स्पष्ट हुन्छ भने, मान्छेलाई नैतिकवान् बनाउन, अधिकारको उपयोग गर्न, सामाजिक उत्तरदायित्व वहन गराउनको निमित्त पहिचान आवश्यक परेको हो । मान्छेलाई मान्छेको रूपमा चिनेर काम, कर्तव्य र अधिकार तोक्न नसकिएको खण्डमा न्यायव्यवस्था स्थापित हुँदैन । अन्यायले मान्छेलाई मान्छे बनाउँदैन । स्वत्वको प्रसङ्ग बिना पहिचान बन्दैन । पहिचानबिना काम, कर्तव्य र अधिकार तोक्न सकिँदैन । यसैले पहिचान पहिलो आवश्यकता भएको हो ।

 

. पहिचानका आधार

पहिचानको पनि आफ्नै निश्चित आधारहरू छन् । माथि गरिएका चर्चाहरूबाट पनि धेरै विषयहरूत स्पष्ट भइसकेको हुनुपर्दछ । यसप्रकार पहिलो आधार इतिहास रहेछ । इतिहास अन्तर्गत आदिमभूमि, भाषिक सांस्कृतिक रीतिथिति, परम्परा तथा नश्लीयता पर्दछन् । यिनै विगतलाई मस्तिष्कमा स्थापित गरिइसकेपछि मात्रै अहिलेको अवस्था वा परिवेशसँग दाँजेर हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा अहिलेको अवस्थितिले विगतको झल्को दिन्छ वा सोही आधारमा चिनाउँछ भने उसको पहिचान हुन्छ ।

 

यसप्रकार पहिचानको आधार स्पष्ट हुन्छ । यसैलाई तामाङभाषामा भन्नुपर्दा, तामाङको कैरन; केस, ठुङ्स र बप्स; धार्मिक आस्थासहितका ग्योइठिम लठिम, क्योनठिम, केठिम, शोठिम, शिठिम, ह्रुइठिम, रिमठिम, ह्युलठिम, थुमठिम, छ्योइठिम साथै ठिगर नै पहिचानको आधार हुन् । यी आधारहरू गुमाइसकेका वा गुमाउने हो भने पहिचान समाप्त हुनेछ । पहिचान समाप्त पार्ने हो भने तामाङ भन्नु र ताम्सालिङको कुरा गर्नु बेकारको बकबक मात्रै हुनेछ ।

 

. पहिचान के होइन ?

पहिचान के हो भनेर चिन्नको लागि के होइन भनेर पनि चिन्न आवश्यक पर्दछ । अब तामाङको पहिचान के होइन भनेर नै हेरौं । तामाङ मङ्गोल नश्ल इतर राष्ट्र होइन । यसको अर्थ हाल अस्तित्वमा रहेको मङ्गोल देशबाट आएका वा त्यहाँको बासिन्दा भन्न खोजिएको होइन । यो त केवल विश्व साहित्यमा मानवसभ्यताहरूलाई विभक्त गर्ने क्रममा जुराएका नाम मात्रै हो ।

 

यसप्रकार तामाङ भनेको आर्य तथा काला पनि होइन । गोरा, चुच्चोनाकधारी, ठूलाआँखावाला, कालाछाला भएका पनि होइन । तामाङ केस/ठुङ्स/बप्ससँग नजोडिएका वा असम्बन्धित पनि होइन ।

धार्मिक रूपमा हिन्दू, ख्रिश्चियन र मुस्लिम पनि होइन । शुद्ध बौद्धमार्गी मात्रै पनि होइन । तामाङबुद्धिजम् यतिखेर तामाङलाई चिनाउने धार्मिकपक्ष बनेको देखिन्छ ।

 

तामाङको आफ्नै ठिगर रहेको छ । यो पूर्वधार्मिक, पूर्वराजनीतिक साथै पूर्वदेशीय अर्थात सबैभन्दा पुरानो समाजमध्ये ताम्सालिङको पहिलो बासिन्दा हो । त्यसैले तामाङ भनेको कुनै राजनीतिक पार्टीमा लागेका वा त्यस्ता पार्टीका सदस्यता लिनु वा त्यस्ता व्यवस्थामा पस्नु, फस्नु, बस्नु अनि त्यसैका लागि घुँडा धस्नु पनि तामाङको पहिचान होइन । राजनीति र राज्यसत्तालाई नै पहिलो प्राथमिकतामा राख्नु; राजनीतिलाई विकल्पविहीन साथै नीतिहरूका राजा मान्नु साथै राजनीति नगरेको कारण तामाङ पछि परेको निष्कर्ष निकाल्नुपनि तामाङको पहिचान हुन सक्तैन ।

 

तामाङ व्यवस्थाको बारेमा अज्ञात रहनु; तामाङ समाज राजनीतिबाट नभएर रिमठिम (सामाजिक सांस्कृतिक) लगायतका पक्षबाट सञ्चालित रहेको तथ्यबाट अनभिज्ञ रहनु एवंरीतले तामाङमा शासन तथा प्रशासन प्रणाली नभई सञ्चालनको व्यवस्था भएको; शासक र शासित नभएको समाज भने नचिन्नु पनि तामाङ पहिचानको छनक पटक्कै होइन । नागरिकताको अवधारणा विपरीत सदस्यताप्रणालीमा आधरित हुनु नै तामाङ समाज भन्ने भुल्दै; विगतमा तामाङ पुर्खा मारिएका; भूमि खोसिएका साथै अझैसम्म फिर्ता नदिएका पक्षलाई नजरअन्दाज गर्ने वा लतार्ने कार्य पनि तामाङ पहिचानको आधार होइन ।

 

भाषिक रूपमा तामाङभाषालाई दुत्कार्दै अङ्ग्रेजी लगायतका उपनिवेशकारी भाषाका पछि लाग्ने; ह्रुइरी बप्प ह्रुइगी फो'-ललाई कुरीति भन्ने; लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू र लामालाई ढुङ्गेयुगतिर फर्काउने कारिन्दा भनी आरोप लगाउने, तामाङ पोशाकलाई बेवास्ता गर्ने वा घृणा गर्ने; जन्मदेखि मृत्युसम्म गरिनुपर्ने रिमठिमलाई परित्याग गर्ने; प्रत्येक महिनामा तामाङको कुनै न कुनै पर्व पर्छन् भन्ने जानकारी नराख्ने र त्यसका बारेमा गरिएका अनुसन्धान साथै विमर्शदेखि तर्सिएर कोलाकोला भन्दै रुने; तामाङलाई पछौटे जाति मात्रै भन्ने; तामाङको केही छैन भन्दै हिँड्नेले पनि तामाङ पहिचानको आधार पूरा गर्न सक्तैनन् । त्यसकारण यस्ता हर्कत्का मतियारहरू तामाङ होइनन् ।

 

. को को हुन् तामाङ ?

ह्रुइगी फो'-ल (दिमला ल/घरको देउता) मान्ने; ह्रुइव्यवस्थामा आधारित; लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू, लम(लामा) र ह्युल्बामा विश्वास गर्ने; तामाङ ठिगरको आधारमा समाज सञ्चालन गर्ने; भाषा, रिमठिम, पोशाकमा गर्व गर्ने; नागरिकताको सट्टा सदस्यतामा विश्वास गर्ने; बोम्बो, तम्बा, चोहो र लामा जस्ता गेन्दुन(संस्था)मा आवद्ध रहने; अणुवांशिक रूपमा विशुद्ध रहेका; जन्मदेखि मृत्युसम्म पनि तामाङ ठिगरलाई अवलम्बन गर्ने; घामलाई अमा(आमा), जूनलाई (अगु वा अङी/अनी वा मम्) मान्ने, धर्तीलाई सप्चीलमो (धरामाता/देवी) मान्ने; गाउँबस्तीलाई फह्युल (पितृभूमि मान्ने); प्राकृतिक संसाधनहरूलाई शक्तिका रूपमा मान्ने; हरेक प्राणीलाई मानिसका सहकर्मी ठान्ने; ताम्सालिङको लागि खोर्वालिङ, जम्बुलिङ साथै थर्पेलिङ लगायतका खगोलीय ज्ञानलाई मौलिक मान्ने ज्ञानले युक्तहरू नै तामाङ हुन् ।

 

यसरी प्रस्तुत् गरिँदा कतिपयलाई म चाहिँ तामाङमा पर्दोरहेछु कि रहेनछु भन्ने लाग्न सक्छ । स्मरणीय तथ्य चाहिँ यी सारा दाबी मेरो आफ्नै व्यक्तिगत होइनन् । यिनीहरू त समुदायमा भेटिएका हुनाले यहाँ प्रस्तुत् गरेको मात्रै हुँ । यही आधारमा फलानाले यस्तो भन्यो भनेर नरुनु होला । यी त प्रस्तोताले खोज्ने क्रममा पहिचान गरेको आधारहरू हुन् तर प्रस्तोता आफैले बनाएको चाहिँ होइन ।


 . पहिचान प्राप्तिको बाटो ?

पहिचान प्राप्तिको बाटोमा तामाङ लगायतका विश्वभरि आवाद भूमिपुत्रहरू प्रायः अलमलमा देखिन्छन् । अमेरिकन देशहरूलाई हेर्ने हो भने धेरै अघि बढिसकेका पनि पाइन्छन् । नेपाली तामाङ नेता भनिएकाहरू यो मुद्दामा सबैभन्दा गए गुज्रिएका पुङ्माङ भन्दा फरक पर्दैन । तिनीहरु कुनै दलका सदस्यता हुनुलाई नै तामाङ हुनु भनी ठान्छन् । तामाङत्त्वलाई परित्याग गर्दै व्यवस्था परिवर्तनको नारा लगाउँछन् । मन्दिर र गुठीका नाममा तामाङका केस, ठुङ्स र बप्सहरू खोसिएका र अझैसम्म फिर्ता नपाएका घामजस्तो तथ्यलाई पनि देख्न सक्तैनन् ।

 

पहिचान प्राप्तिको बाटोकै प्रसङ्गमा के भन्न सकिन्छ भने, यसको लागि तामाङपन पहिलो आवश्यकता हो । पहिचान मागेर प्राप्त गर्ने वा तामाङ भन्न छोडेर सबै हामी नेपाली मात्रै भनेर बन्ने वा प्राप्त हुने विषय होइन । कसैल मन लाग्यो भनेर दिँदैमा दिइने र नदिइँदैमा नदिइने साथै खोस्दैमा खोसिइने चिज पनि होइन । यो त घामजस्तै स्वभावतः सिद्ध प्रसङ्ग हो । यो त आफैले स्थापित गर्ने विषय हो । अन्यसँग अनुमति मागेर वा खोजेर वा रोएर पाइने चिज होइन । आफैले अध्ययन गर्दै मौलिक स्वरूप प्राप्त गर्ने अनि दैनिकीमा अभ्यास गर्ने हो ।

 

प्रस्तोताले धेरैअघिदेखि तामाङ समाज राजनीतिमा आधारित होइन भन्दै लेख्दै र बोल्दै आएको छ । त्यस्तैगरी तामाङ ठिगरअन्तर्गत रिमठिममा आाधारित रहेको पनि खुलासा गरेको छ किनकी माथि नै उल्लेख गरिएअनुसार नै पनि तामाङ समाज भनेको पूर्वधार्मिक साथै पूर्वराजनीतिक आदिमसभ्यताले युक्त वा सुशोभित समाज हो । प्राकृतिकतामा आधारित राष्ट्र हो । यी सारा विषयलाई नेपाली भनिएको भाषामा सामाजिक, सांस्कृतिक साथै धार्मिक पक्षको रूपमा भन्ने गरिन्छन् । नेपालमा प्रचलित भनिएको संविधानले पनि हरेक राष्ट्र(समुदाय)लाई सामाजिक, सांस्कृति साथै धार्मिक अभ्यासको लागि स्वतन्त्रता दिएको छ । यही आधारमा चोहोव्यवस्थाको अभ्यास थाल्नु नै पहिचान स्थपित गर्ने अबको एक मात्र मौलिक साथै सम्यक् बाटो हो ।

 

. थाल्नुपर्ने पक्ष

तामाङ समाजले ढिलो नगरी मौलिकताको खोजी गर्ने वा गरिएका खोजीका निष्कर्षहरूलाई स्थापित गराउँदै जानसक्नुपर्छ । आफूलाई हिन्दू, ख्रिश्चियन, मुस्लिम राजनीति, विश्वव्यापीकरण साथै विकासका नाम वा बहानामा तामाङ पहिचान र आधार समाप्त गर्ने समाप्तिकरणलाई रोक्न सक्नुपर्छ । मिसिनरी धार्मिक आन्दोलन वा विस्तार वा उपनिवेशवादका विरूद्ध पहाडजस्तै उभिनसक्नुपर्छ । भाषिकक्षयीकरण, साहित्यिकसंहार, तामाङ मौलिकता विपरीत निर्धारित पूर्ववत् हाइपोथेसिस सहितका इटिक रिर्सचहरूलाई इन्कार गर्न सक्नुपर्छ । पुस्ताहरुबीचका खाडल पुर्ने साथै मौलिकतामा आधारित सामाजिकीकरण प्रक्रियामा नयाँपुस्तालाई संलग्न गर्न सक्नुपर्छ । देशी विदेशी राज्यसत्ताहरूले स्थापित गराएका तामाङ (आदिवासी राष्ट्र) विरोधी भाष्यहरूका उन्मूलन गर्नुपर्छ ।

 

यी साराका लागि सबैभन्दा पहिलो आफ्नो दिमागलाई डिकोलोनाइज(अ-औपनिवेशीकरण) गर्न सक्नुपर्छ । म(हामी) को हुँ(हौं) भन्ने प्रश्न गर्दै सही उत्तरलाई भेट्टाउनुपर्छ । त्यस्तैगरी म(हामी) को होइन(होइनौं) भन्ने बारेमा स्पष्ट हुन सक्नुपर्छ । त्यसपछि झर्रोवादी आन्दोलन चलाउनुपर्छ । पुराना भनिएका रिमठिममा भएका वैज्ञानिक वा विज्ञानसम्मत पक्षका खोजी गर्दै भविष्यसम्म हुने नयाँ प्रविधिको खोजी गरिनुपर्छ । तामाङ मगन्ते होइन; आफै कमाएर, आफैले जमाए, आफ्नो पितृभूमिमा तामाङठिगरको अभ्यास गर्न सक्ने महान् राष्ट्र हो भनेर चिनाउन सक्नुपर्छ ।

 

नेपालमा हुँदै आएका र भविष्यमा हुने चुनावद्वारा केही लछारपाटो लाग्नेछैन । चुनावमा स्वतन्त्र पार्टी वा स्वतन्त्र उम्मेदवार भएर हुने केही छैन । स्वतन्त्रत भनेको बाह्य तथा आन्तरिक हरेक प्रकारका उपनिवेशवादबाट हुने हो । नेतृत्वमा पुग्नु वा गर्नु भनेको तामाङ ठिगरका ज्ञाता तथा अभ्यासी हुनु हो । तामाङ ठिगर नबुझिकन वा लत्याउँदै पार्टीका सदस्यता वा पार्टीहरूले टिकट नदिएको रिसमा वा पार्टीहरू मन नपरेको आधारमा यही व्यवस्थाभित्र प्रवेश गर्न खोज्नुभनेको मुस्किलले आफै मात्र बन्न खोज्नु हो ।

 

आफ्नो समाज बनाउँदै नेपाल लगायत विश्वजगत्लाई परिवर्तनको संवाहक बनेर देखाउने चाहना, क्षमता र ज्ञान हुनेले त आफू लगायत समुदाय अनि दुनियाको भाइसरले ग्रस्त हार्डडिस्क जस्तो दिमागको फर्म्याट गर्न सक्नुपर्छ । त्यसपछि राष्ट्रगत रूपमा आ-आफ्ना मौलिक सफ्टवेयरलाई सही साथै विधिपूर्वक इन्स्टल गर्न सक्नुपर्छ । यो प्रस्तुतिको अन्त्यमा यति मात्रै भन्छु, आँटी छोरालाई बाघले खाँदैन । असम्भव र नसकिने भन्ने केही छैन । शुभकार्यको लागि हरक्षण शुभ हुन्छन् ।

 

त्यसैले नेपालमा रहेका सम्पूर्ण राष्ट्र (समुदाय)का ठिगर (विधिशास्त्र)को बारेमा जानकारी राखौं । आपसी भाइचाराको नाता जोडौं । फुटेर होइन; जुटेर अघि बढौं । नयाँ विश्वको लागि युनिभर्सलाई समाप्त पार्दै प्लुरिभर्सको अवधारणालाई स्थापित गराऔं । विश्वमा रहेका सम्पूर्ण राष्ट्रहरूका स्वशासनको निमित्त विश्व उपनिवेशबाट मुक्तिको लागि आन्दोलन थालौं । चुनाव आयो; तेरो र मेरो पार्टी वा म त छुट्टै बस्छु भनेर यही व्यवस्थाको मुख ताक्तै समय खेर नफालौं । शुभ कार्य सहित सफलताको लागि अग्रिम शुभकामना !

 

थुजेछे ।

१४ कात्तिक '७९

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...