Friday, November 14, 2025

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?


पृष्ठभूमि

काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्वान्हरूले पनि नेपाली सेनाको ठूल्ठूला व्यारेकका छेउ–छेउमा बौद्धमार्गीका गुम्बा निर्माण गरिएका भन्दै शङ्का गर्न थालेका थिए । तिनीहरूले ती गुम्बाहरू विदेशीले बनाएका र त्यहाँ घातकहतियारहरू थुपारेका दाबी गरेका थिए । त्यसयता गुम्बालाई विदेशी शक्तिहरूले हतियारसहितका व्यारेकका रूपमा विकास गरिरहेका भन्ने जघन्य आरोप लगाउने क्रम बढेको देखिन्छ । यो प्रसङ्ग वास्तवमा नै समाजभित्र सल्किँदैआएको पनि छ ।
भर्खर–भर्खर एकजना सांसद्ले पनि गुम्बामा प्रवेश निषेध गरिएको तर आफूहरूले पशुपतिमा समेत खुल्ला गर्दैआएका दाबी गरेको देखियो । तिनले नेपाली सबैलाई हिन्दू देख्ने गरेकाले पनि त्यस्तो भनेको हुनसक्छ त्यसपछि यो विवाद सतहमा उत्रिएको छ ।

के पशुपति हिन्दू मात्रैको हो ?
वास्तवमा पशुपति हिन्दूको लागि मात्रै खुल्ला छ । उल्लेखित ड्याकका राजनीतिज्ञ वा राजनेताहरूले हिन्दूलाई मात्रै नेपाली देख्छन् भन्ने कसैका आँखाबाट छिपेको छैन । त्यस्ता प्रवृत्तिहरूले यहाँका आदिवासी भूमिपुत्रलाई कि त तिब्बती कि त विहारी मात्रै देख्छन् । उनीहरूका भाष्यहरूले यस्तै दर्शाउँछ । त्यसैले यहाँका भूमिपुत्रहरू नेपाली होइन भनी शङ्का गरिरहन्छन् तर भारतीय नागरिकलाई सगर्व पशुपतिमा पुजारी राख्छन् । विदेशी नारीलाई नेपालको राजनीतिमा स्थापित गराउनको लागि पनि उनीहरूका पाइला चलिरहेकै छ ।
तर तिनीहरूलाई थाहा छैन कि, पशुपतिलाई शङ्कराचार्यले हिन्दूकृत गरेका थिए । त्यसअघि पशुपति बौद्धविहारको रूपमा स्थापित थियो भन्ने अहिलेसम्म पनि अनेकन् प्रमाणहरू पाइन्छन् । यो तथ्य उनीहरू सुन्न र मान्न तयार छैनन् । बरु यस्तो दाबी गर्नेहरूलाई अधर्मी/बिधर्मी म्लेच्छ (आर्यधर्म पालना नगर्ने; नीच; अधम; पापी; फोहोरी, संस्कृत भाषा नबोल्ने (जाति); अनार्य जातिको) साथै दोशद्रोही देख्छन् । उनीहरूकै समुदायका लेखकले चाहिँ ‘‘शंकरदेवको समयमा शङ्कराचार्य नेपाल आउँदा बौद्ध मतको वर्चस्व रहेको थियो । पशुपतिको पुजारीसमेत त्यसबेला बौद्ध धर्मावलम्बी बाडाँहरू थिए र उनीहरू वाममार्गी भएकाले पञ्चमकारको सेवन यहाँ गर्दथे र पशुपतिलाई पनि जाँड/रक्सी र मासु चढाउँथे, जुठा भाँडा राख्ने र जुठोपुरो चढाएर पशुपतिलाई उच्छिष्टेश्वर पारेका थिए । यसै अवस्थामा आएका शङ्कराचार्यले बौद्धमागीहरूसँग शास्त्रार्थ गरेर उनीहरूलाई पनि शाकाहारी बनाएको भन्ने उल्लेख वंशावलीमा रहेको छ । यसबेलामा हारेका बौद्धमागीहरू भागेर तिब्बत गएका वा परिवर्तित भई हिन्दुधर्मलाई मानेका थिए । राजा वृषदेव पनि बौद्धमार्गी थिए र उनलाई पनि परिवर्तन गरियो’’ भनेर स्पष्ट पारेका छन् (प्रा.डा. गोपाल शिवाकोटी, नेपालमा सामन्तवादः हत्या, हिंसा र षडयन्त्रको इतिहास, प्रथम (काठमाडौं : पैरबी प्रकाशनका लागि प्रबन्धक निर्देशक पदम शिवाकोटीद्वारा प्रकाशित), २०६९, पृ. २५४–२५५) । त्यसो त शङ्कराचार्यले बौद्ध भिक्षु–भिक्षुणीहरूलाई जबरजस्ती गृहस्थ जीवनमा प्रवेश गराउनुको साथै आपसमा विवाह गराइदिएका भनी लेखिएका इतिहाससम्बन्धी पुस्तकहरू पनि छन् ।
पशुपति मन्दिर हिन्दूको पेवा बनाउने वर्गको मान्छेहरूले बुझ्नुपर्ने कुरो यो पनि हो कि, वेदव्यासद्वारा लेखिएको स्कन्दमहापुराणमा नै ‘‘हे ब्रम्हाजी ! बाणसुरलाई मारेपछि बाँध भत्काएर कृष्णले वाग्वती नदीलाई बगाइदिनुहुनेछ अनि वाग्वती नदी भएर बग्नेछिन् । त्यसपछि सम्पूर्ण क्षेत्र जङ्गलमय हुनेछ । हे ब्रम्हाजी ! त्यसपछि म शिलामय बनेर उत्पन्न हुनेछु । शिलामय विग्रह भएको ठाउँमा गाईले दूधको धाराले मलाई सेचन गर्नेछिन् । त्यसपछि बालुवामा खनेर म्लेच्छहरूले मेरो खोजी गरी पत्ता लगाउनेछन् । मेरो मूर्ति ज्योतिर्लिङ्गमाथि शिवलिङ्ग रहेको भन्ने ठान । त्यसैगरी पछि–पछि पनि धर्मवर्जित म्लेच्छहरूले मलाई खोज्नेछन् । चाँपको रुखको छायाले छेकिएर केही दिन म लुक्नेछु’’ भनिएको छ । यसको श्लोक चाहिँ यस्तो रहेको छ ।
सेतुं विदार्य कृष्णश्च मोचयिष्यति वाग्वतीम् ।
नदीरूपा यदा लोके वाग्वती मण्डलं वनम् ।।२१।।
उत्पश्यामि तदा देव तच्छरीरशिलातनम् ।
सुरभिः क्षीरधाराभिः प्रसिञ्चेत्तत्र चिह्निते ।।२२।।
द्रक्ष्यन्ति मां तदा म्लेच्छाः खनित्वा सैकतं पुनः ।
मूर्ति मामपि जानीयु ज्योतिर्लिङ्गोपरि स्थितम् ।।२३।।
यथा प्रागपि देशोऽयं सर्वम्लेच्छैरधिष्ठितः ।।२४।।
स्रोत : सं./अनु. प्रा.डा. वेणीमाधव ढकाल, भगवान् वेदव्यासद्वारा प्रणीत स्कन्दमहापुराणअन्तर्गत हिमवत्खण्ड नेपालमाहात्म्य पशुपतिपुराण गण्डकीमाहात्म्य, प्रथम (काठमाडौं : विद्यार्थी पुस्तक भण्डार), २०७५, पृ. ६८४ ।
यसबाट पशुपतिलाई पहिलोपटक निकाल्ने वा पत्तालगाउने कार्य हिन्दूका भाषामा म्लेच्छहरूले गरेका थिए । यो शब्दले तात्कालिक किरातलाई नै इङ्कित गर्दछ । यसप्रकार काठमाडौंमा बस्ती बसेको समयमा यहाँ बोन(झाँक्री)कै प्रभुत्व रहेको थियो । त्यसबखतका बोन/बोम्बोको प्रसङ्गमा तामाङलाई छुटाउन मिल्दैन किनकि यहाँको पहिलो बासिन्दा नै तामाङ हो । तामाङ बोन/बोम्बोअनुसार लनी छङ्बै रेञ्जेन, लनी वङ्बैग्यप्जेन र लनी महादेओ नै पहिलो देवहरू हुन् । यसप्रकार आजभन्दा ३२ हजार वर्षअघि काठमाडौं वरिपरि आइपुगेका तामाङका पुर्खाहरूले महादेव (हालको पशुपति)लाई पत्तालगाएका र स्थापित गरे गराएका थिए भन्नुपर्ने हुन्छ । पछिल्लो समयमा तामाङ बोन/बोम्बोहरुबाट खोसेर यहाँका राजाहरूले बौद्धकृत गरेका देखिन्छन् । शङ्कराचार्यका प्रवेश पछि हिन्दूकृत गर्दै प्रवेश गर्न पनि हिन्दू नै हुनुपर्ने नियम बसाएका स्पष्ट छ । यस्तैगरी डा. जगमान गुरुङले लेखक मधुसूदन रिसालद्वारा लिखित पशुपतिपराणको (नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान)मा समाविष्ट श्लोकलाई उदृत गर्दै, ‘‘पशुपतिपुराण अनुसार श्रीपशुपतिनाथका आदिम पुजारी किरातहरू थिए’’ भनी लेखेका छन् । गुरूङले समाविष्ट गरेको श्लोक यस्तो देखिन्छ–
चम्पकद्रुमछायाभिः शोभितो मम विग्रहः ।
चतुर्मूर्तिधरो भक्त्या म्लेच्छैः सम्पूज्यते तदा ।।
जित्वा कैरातराजानं वाक्येन प्रत्ययेन च ।
करिष्यति तदा राज्यं वैशाल्यधिपतिर्वली ।। (रिसाल, २०३९ : १२५)

यी श्लोकहरूलाई ध्यान दिएर हेर्ने हो भने अर्कोको भूमि लुटेर आफ्नो राजकीयसत्ता स्थापित गरी भूमिपुत्रहरूलाई दबाएका स्पष्ट हुन्छ । त्यस्तैगरी सम्बन्धित भूमिको भूमिपुत्रहरूलाई उठ्न नदिने साथै भूमिपुत्रहरूका भूमि मात्रै नभई यसरी देवता समेत लुटेर आफ्नोकरण गरेका भन्नुपर्ने हुन्छ । त्यसक्रममा नयाँ–नयाँ कथाकुथुङ्ग्री बुनेका साथै उदाहरण यही पशुपतिलाई नै लिन सकिन्छ । अर्कोको भूमिमा प्रवेश गर्ने अनि अर्कोको देउता लुटेर आफ्नो मात्रै बनाएपछि सम्बन्धित समुदायलाई प्रवेश निषेध गरेका भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ भनी असली भूमिपुत्रहरूले दाबी गर्दैआएका देखिन्छन् ।
तैपनि केही त्यस्ता पाखण्ड धर्मगुरु तथा अनुयायी साथै सैद्धान्तिक तथा नैतिक रूपमा पतित अनि कथित नेतृत्वकर्ता अगुवाहरूले अनेक कपोलकल्पित बहाना र हल्ला गरिरहेका छन् । तिनका प्रवृत्ति भनेको बौद्ध र हिन्दूका बीच सहिष्णुतापूर्ण वातावरणको सिर्जना भन्दै विरुद्धमा उठ्नु हो । त्यसका लागि अनेक फण्डा मच्चाउँदै धार्मिक द्वन्द्व भड्काउन खोजिरहेका छन् । त्यस्ता अगुवा तथा नेताहरूमा देखिएका प्रवृतिदेखि समयमा नै सचेत हुन बौद्ध तथा हिन्दू दुवैका पहिलो कर्तव्य भएको छ ।

गुम्बामा प्रवेश निषेधको प्रसङ्ग
अब गुम्बामा प्रवेश निषेध गरिएका र हतियार राखेका भन्ने आरोपलाई पर्गेल्ने प्रयास गरौँ । खासगरी एकजना नेताले नै कपनस्थित गुम्बामा पुगेको बेला प्रवेश गर्न नदिएको गुनासो गरेका रहेछन् । तिनले कपनको कुन गुम्बा भनेर तोकेको देखिएन । एउटा कुरो नि, तिनी नेता हुन् भने पार्टीको कार्यालयमा जानु; कार्यकर्तासँग भेट गर्नु ठिक होला तर गुम्बामा चाहिँ किन प्रवेश गर्न खोजेको रहेछ ? कि गुम्बामा पनि राजनीतिक दल वा भिक्षु भिक्षुणीलाई समेटेर आफ्नो पार्टीको भातृसङ्गठन विस्तारको लागि गएको हो ? कतै त्यसरी प्रवेश नदिएकाले राजनीतिक सङ्गठन विस्तारमा अवरोध पुगेको रीस सहन नसकेर बकबक गरेको त होइन ? आमजनले यस्ता प्रश्न उठाउन मिल्ने कि नमिल्ने ? हुने कि नहुने ? नहुने र नमिल्ने भए कसरी ? मिल्ने र हुने भए यसको उत्तर चाहिँ कस्तो होला ?
यहीनेर थप प्रसङ्ग, केही वर्षअघि कपनको एक गुम्बा (सबैभन्दा ठूलो तर त्यसको ठ्याक्कै नाम याद भएन)मा प्रवेश दिएकै थियो । गुम्बाभवनको बाहिर तर कम्पाण्डभित्र गज्जब पार्क पनि थियो । त्यहाँ पुगेका मान्छेलाई निर्वाध प्रवेश गर्न दिएका थिए । पार्कमा शायद नमोबुद्धको जस्तो लागेको थियो; साना मूर्तिकथा निर्माण गरेर राखिएका थिए । त्यहाँ पुगेको बेला लागेको थियो कि, यस्तो सुन्दर स्थलमा बाँदरजस्ता स्वभावका मानिसहरू पनि छिरेका रहेछन् । यिनीहरुले ६ महिना हुँदा नहुँदै यी संरचनाहरू समाप्त पार्नेछन् जस्तो लागेको थियो । त्यहाँ केही उट्पट्याङ मान्छेहरू देखिएपछि यस्तो सोच्न बाध्य भएको थिएँ । त्यसको केही समयपछि पुनः केही नयाँ साथीहरू पनि त्यहाँ जाने भनेर रहर गरे । त्यसपछि पुग्दाखेरि पार्कमा छिर्न बन्द गरिसकेको रहेछ । त्यहाँसम्म पुगेर पनि प्रवेश नपाउँदा दुःख लाग्नु स्वाभाविक थियो तर धेरै खुशी पनि लागेको थियो किनकि कम्तिमा त्यहाँका संरचनाहरूका आयु लम्बिने र सुरक्षित रहने भएछन् ।

गोन्पाको अर्थ
अझै अर्को प्रसङ्ग पनि जोड्नुपर्दछ कि, गुम्बा मात्रै भनेर हुँदैन । गुम्बा शब्दको विशुद्ध तिब्बती स्वरूप गोन्पा हो । गोन्पालाई नै कतिपयले गोम्पा पनि भनेका पाइन्छन् । तामाङ रैथाने मौलिक जनजिब्रोमा गोम्बो हुन्छ । यद्यपि गोन्पा बौद्धशब्द हो भने गोम्बो बोन/बोम्बोशब्द हो । त्यसैले यी दुई शब्दका सार तथा भाव फरक हुन्छन् ।
गोन्पा प्रायः एकान्तस्थल साथै ध्यान साधनाको लागि निर्मित स्थायी संरचनासहितको हुन्छ तर गोम्बो अस्थायी हुन्छन् । बोन/बोम्बोले आवश्यकताअनुसार गोम्बो बनाउँछन् तर कार्यक्रम पूरा हुनासाथ भत्काउँछन् । एउटा लोकभाका पनि पाइएको छ; जस्तै :
तोर–तोर ह्लरी ङँ निमम् ।
सुरिलो बिब कल्ताला दोङ ।
दोङ्बो मी ‘थाऽसी ’रोङ तजी ।
एसे ङँदा माया अलनी सिलीवली;
ग्रम्बरी मिख्लीला स्योङ तजी ।।
स्हेङ्बकी गोम्बो ’सिक्तोऽजी ।
एसे ङदा माया अलनी सिलीवली;
च्यङ्बा मी निज्योई फ्लिक्दोऽसी ।।

गोन्पाको किसिम
बौद्ध लामा गुम्बामा पनि मुख्यतः रिठोद र ढोङसेव गरी दुई किसिमका हुँदारहेछन् । रिठोदमा पनि सेड्रा र डुब्डा गरी दुई प्रकारका हुन्छन् । सेड्रालाई अध्ययनकेन्द्र अर्थात् कलेजको रूपमा लिइन्छ भने डुब्डालाई ध्यानकेन्द्र अर्थात् ध्यान साधनाको अभ्यास गर्ने केन्द्रको रूपमा लिइन्छ । ढोङसवलाई चाहिँ ल्हखङ अर्थात् पूजादि गर्ने केन्द्रको रूपमा लिइन्छ (रूद्र बहादुर बस्नेत र गीता बहादुर श्रेष्ठ, हिमाली सम्पदा (हिमाली क्षेत्रका धार्मिक, सामाजिक र सांस्कृतिक पक्षहरू), पहिलो (काठमाडौं : रुद्र बहादुर बस्नेत र गीता बहादुर श्रेष्ठ), २०७९, पृ.३५–३६) ।
कतिपय जानकारहरूका अनुसार लोप्डा, सेड्रा र डुब्डा गरी तीन प्रकारका हुन्छन् । विद्यालयस्तरीय पढाइ हुने केन्द्र लोप्डा हो भने कलेज वा विश्वविद्यालयस्तरीय अध्ययन गरिने केन्द्र सेड्रा हो । डुब्डा चाहिँ ध्यान साधनाकेन्द्र हो । आमतामाङजनमा डुब्डाको सट्टा डुब्खङ शब्द बढी प्रयोगमा रहेको छ ।
लेखकद्वयले, ढोङसेव गोन्पा चाहिँ प्रायः गाउँको बीचमा हुने गर्दछ । काठमाडौँमा त्यस्ता गोन्पाहरूमा शेर्पा गोन्पा, ह्योल्मो गोन्पा र जुनबेंशीको गाउँको गोन्पा आदि भनेका रहेछन् । त्यसो त बौद्ध–जोरपाटी, नयाँबस्तीमा रहेको तामाङ गोन्पा पनि यस्तो ढोङसेव गोन्पा भन्ने देखिन्छ । यस्ता ढोङसेव गोन्पाहरू प्रशस्त छन्; जहाँ पूजापाठ, मृत्युसंस्कार तथा चाडपर्वहरूमा विशेष पूजाहरू गरिएका देखिन्छन् । त्यस्ता गोन्पामा प्रवेश दिँदैन भनी कसैले कल्पना गर्न सकिन्न किनकि त्यस्ता गुम्बा पूरै खुल्ला रहन्छन् ।
तर सेड्रा र डुब्डामा अध्ययन, अध्यापन, ध्यान र साधना भइरहेका हुन्छन् । त्यसैले जतिखेर पायो वा मन लाग्यो; त्यतिखेर जो कोहीलाई प्रवेश दिन मिल्दैन र सकिँदैन । त्यस्तो केन्द्रमा छिर्न खोज्नु भनेको निहु खोज्न जानु हो । त्यसमा केही न केही खराब नियत नराखिकन गएको भए यस्तो वाइयात हल्ला पनि गर्ने थिएनन् होला जस्तो लागेको छ ।

पहिलो गोन्पा
लेखकद्वय रूद्रबहादुर बस्नेत र गीताबहादुर श्रेष्ठले उल्लेख गरे अनुसार तिब्बतमा सबैभन्दा पहिले आठौँ शताब्दीमा राजा ठिसोङ देचेनको पालामा गुरु पद्मसम्भव र शान्तरक्षितले साम्य गोन्पा निर्माण थालेका थिए । त्यहाँ अवरोधको कारण सफल नभएपछि यता मुस्ताङ जिल्लाको लोग्यकरमा घार गोन्पा बनाएका थिए । यसप्रकार लोग्यकर गोन्पा नै सफलतापूर्वक निर्माण सफल भएको पहिलो गोन्पा भन्न सकिएला कि जस्तो लागेको छ । त्यसपछि मात्रै तिब्बतमा त्यसअघि थालिएको साम्ये गोन्पा निर्माण सफल भएको देखिन्छ ।

गोन्पा, घ्याङ, आराम, विहार, बहाः बही, बहाल
तामाङ समाजमा गोन्पालाई नै घ्याङ शब्दको पनि प्रयोग गरिन्छन् । बौद्ध र स्वयम्भूमा रहेको घ्याङहरू यिनका उदाहरण हुन् । त्यसो त पूर्वका छ घ्याङहरू साथै पश्चिमा पनि घ्याङहरू रहेका देखिन्छन् । जसको बारेमा केही जानकारी प्रकाशित छन् भने कतिपय खोज्न अनि प्रकाशन गर्न बाँकी होलान् ।
त्यही गोन्पा वा घ्याङको समानार्थी अर्को शब्द विहार वा बहाः वा बहीः वा बहाल पनि हो । काठमाडौं उपत्यकामा निर्मिण प्रशस्त बहालहरू छन् । तिनीहरूमध्ये साँखुवज्रयोगिनीमा अवस्थित गुँविहार सबैभन्दा पुरानो हो भन्ने एकथरी मत देखिएको छ । नेपालमण्डलभित्र ऐतिहासिक साथै धार्मिक रूपमा अति महत्त्वपूर्ण र लोकप्रिय विहारहरू थुप्रै छन्; जस्तै चारूमती विहार, हिरण्यवर्ण महाविहार, ठःबहीः, दीपङ्कर विहार आदि ।
विहार वा बहाः वा बहीः वा बहाल शब्द सामुदायिक रुपमा नेवाः राष्ट्रले प्रयोग गर्दैआएको छ । यही आधारमा काठमाडौं उपत्यकालाई हिमाली तथा तिब्बतीहरूले बलयुल भन्दछन् । अहिले पनि तिब्बती तथा चीनियाँले नेपालीलाई आफ्नै भाषामा बल्बा भन्दछन् । तामाङ राष्ट्रले नेवाः राष्ट्रलाई बै(बही) भन्नुको कारण पनि यही हो ।
त्यसो त शाक्यमुनि बुद्धको समयमा भिक्षु र भिक्षुण सङ्घ स्थापना गरिएका थिए । शुरू–शुरूमा भिक्षु भिक्षुणीहरू प्रायःजसो रुखका फेद, ओडार/गुफामा बस्थे । कहिले यस्सो आफन्त वा अनुयायीका घरमा पनि पुग्ने गर्दथे । हरेक मौसममा त्यसरी सम्भव नभएपछि विहारको अवधारणा विकास गरेका देखिन्छन् । त्यसैले शुरूमा राजा बिम्बिसारद्वारा बेलुवन विहारको स्थापना गरिएको थियो । त्यसपछि जेतवन विहार, निरोध र घोसिताराम लगायतका विहार वा आरामहरू बनेका थिए । विहारको समानार्थी अर्को शब्द आराम पनि प्रयोग गरिएका देखिन्छन् । त्यसरी निर्माण वा स्थापना र सञ्चालन अभ्यासकै क्रममा नालन्द, विक्रमशील र ओदन्तपुरी महाविहारहरू पनि बने । ती महाविहारहरू विश्वविद्यालयका रूपमा सञ्चालन गरिएका थिए (Chandra Kala Ghimire (Adhikari), First, (Kathmandu : Late Pema Chhiring Gurung and Chungta Gurung), 2021, p. 170) । यही आधारमा विश्वविद्यालयको प्रवर्तक नै बुद्धिष्टहरू हुन् भन्ने पनि गरिन्छन् ।

हतियार भण्डार गरेको आरोप र यथार्थता
विद्वत् तथा नेता भनिएका केही पाखण्ड तथा झूटका कारिन्दा प्रवृत्तिले गुम्बालाई घातक हतियार भण्डार गर्ने केन्द्र भनी दाबी गर्दैआएका हुन् । यो दाबी गर्ने सबैजना हिन्दूराजाका पक्षपाती साथै पृथ्वीनारायण शाहका काँचोवायु हुन् भनेछन् भने पनि आपत्ति लाग्नेछैन । यसो भनिँदा सम्पूर्ण हिन्दूराजवादीलाई भन्न खोजिएको फिटिक्कै होइन । आरोप लगाउने व्यक्तिहरूले कुन गुम्बामा कुन–कुन देशले कति मात्रामा कस्ता हतियार राखेर गुम्बाको नाममा सैनिक व्यारेक बनाएका छन् भनी स्पष्ट पारेका देखिएनन् तर यो अतिगम्भीर साथै धार्मिकद्वन्द्वको खतरनाक शङ्खघोष पनि हुनसक्छ । उल्लेखित काँचोवायु प्रकृतिधारीहरू देशमा धार्मिक, साम्प्रदायिक लगायतका द्वन्द्वको चाहनामा देखिन्छन् । तिनीहरू मानिस मारिएका र द्वन्द्व भएको दृश्य नहेरिकन निदाउन सक्तैनन् । तिनीहरूमा अझैसम्म पनि मानवरगतको प्यास गइसकेको छैन । त्यसैले रगतका प्यासाहरूले अनेक बहानामा समाजलाई भड्काउन खोजेका हुन् । यस्तै किसिमका भनाइ र आरोपहरू जताततै सुनिन थालेको छ । यसले स्थितिलाई अझै तनावग्रस्त बनाउने सङ्केत दिएको छ । यसको अलावा यदि कुनै गोन्पाले गुम्बा चलाउने भनेर स्वीकृति लिने र भित्र–भित्र भने विदेश शक्तिका व्यारेक बनाएकै हुन् भने तत्काल छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्ने हुन्छ तर जसले हतियार राखेको दाबी गर्दैआएका छन्; तिनीहरूसँग त्यत्तिको दम पनि देखिएको छैन । त्यो अर्को दुःखद् पक्ष हो । यहाँका प्रायः नेता तथा विज्ञहरू माथि विदेशी एजेण्ट बनेको आरोप लाग्दैआएको छ ।

गुम्बा र हतियारको सम्बन्ध
खासगरी गुम्बा/गोन्पा हतियार बनाउने; भण्डार गर्ने र व्यारेकको रूपमा स्थापित हुने वा गरिने केन्द्र होइन । गुम्बा त सत्त्वप्राणीप्रति करुण जगाउँदै निर्वाणको लागि बोधिआचारणसहित अध्ययन तथा साधना गर्ने केन्द्र हो । हतियारलाई समाप्त गरी हतियारमाथि विजय हासिल गर्ने पवित्र स्थल हो । चक्रवर्ती सम्राट अशोकले पनि हतियार फालेर हतियारमाथि विजय हासिल गरेको उपलक्ष्यमा विजयादशमी पर्व मनाउन शुरू गरेको भन्ने मत भारतबाट उठ्दैआएको छ । त्यसरी हतियारमाथिको विजयादशमीलाई देवीले महिषासुरको वा रामले रावणको बध गरेको मिथक खडा गरी समाजमा गलत भाष्य स्थापित गराएको भन्ने भारतीय बौद्ध समाजद्वारा गम्भीरआरोप लगाउँदैआएका देखिन्छन् ।
गुम्बा खासगरी गोन्पा भनेको हतियार चलाउन अभ्यास गर्ने स्थल होइन । बरु राजनीतिमा लागेका हत्याराहरूसँग भएका घातकहतियारहरूलाई सङ्कलन गरी बौद्धविधिपूर्वक समापन गर्नुपर्छ भनी शिक्षा दिने केन्द्र हो । त्यसको लागि छ्योर्तेनहरू निर्माणक्रमलाई जोड्न सकिन्छ ।

छ्योर्तेन र हतियारको सम्बन्ध
छ्योर्तेन निर्माणको क्रममा एक तहमा घरायासी औजारदेखि हतियारहरू समेतलाई सदाको लागि विसर्जित गरिन्छन् । त्यसक्रममा ‘‘...सिंहासनको तल्लो भागमा हतियारको युगलाई शान्त पार्नको लागि धनुषवाण, भाला, तलबार, गोला, बन्चरो, बन्दुक, लामो चक्कुहरू संक्षेपमा अरूलाई बिगार्ने सियादेखि अरू हतियारको टुप्पालाई बाहिरपट्टि पर्ने गरी राखिनुपर्छ’’ भन्ने रहेको छ (अनु. ख्यापो वागीन्द्र शील, स्तुप निर्माण विधि, प्रथम (काठमाडौं : नेपाल बौद्ध सेवा केन्द्र), २०६५, पृ. ३४) ।


त्यसरी राख्नुको अर्थ पछि निकाल्ने भनिएको होइन । अब हतियार छ्योर्तेन (स्तूप) अर्थात् बुद्धलाई अर्पण गरी बिसायौँ भन्ने हो । त्यो भनेको हतियारमाथि राजा अशोकले विजय प्राप्त गरेको भने जस्तै हो । त्यसरी राखिएको हतियार कुनै पनि हालतमा पछि निकालेर प्रयोग गर्न सकिन्न किनकि केही समयपछि ती हतियारहरू खिया लागेर काम नलाग्ने अवस्थामा पुग्छन् । यसर्थमा छ्योर्तेनमा हतियार राख्नुभनेको हतियारको विसर्जन गर्नु वा बिसाउनु मात्रै हो । कसैले त्यसरी राखिएका हतियारलाई नै घातकहतियार भनेका हुन् भने त्यो अज्ञानताको पराकाष्ट भन्नुपर्ने हुन्छ । अर्को कुरा त्यसरी निर्मित छ्योर्तेनमा एकाध हतियार मात्रै राख्न सकिन्छ । व्यारेक बनाउने र युद्ध गर्न पुग्ने सङ्ख्यामा राख्न सम्भव पनि हुँदैन ।


यही तथ्यलाई नबुझिकन पनि केही त्यस्ता गलत मनसाय बोकेका काँचोवायु प्रवृत्तिहरू उफ्रिएका हुन सक्छन् । भनिन्छ, नबुझेकालाई बुझाउन सकिन्छ तर बुझ पचाउनेलाई खुवाउने औषधी हुँदैन । तथ्य र आरोप जे जस्ता रहे तापनि अब बौद्धमार्गी वा बौद्धगुरुहरूले यो तथ्यलाई गहन रूपमा लिँदै तथ्य बुझाउन सक्नुपर्दछ । अब पनि पछि बिस्तारै बुझाउँला भनेर बसिरहने समय छैन । अन्यथा ठूलो दूर्घटना निम्तिन सक्छ । बिर्सन नहुने यो पनि हो कि, छ्योर्तेन बनाउने क्रममा प्रशस्त हतियारहरू राखिएका वा राख्नुपर्छ भन्ने पनि होइन । त्यस्तो गरिएको पनि देखिँदैन र सम्भव पनि छैन । प्रतीकात्मक रूपमा एकाध हतियार (मानौँ बन्दुक) पनि राखिन सक्छन् । बन्दुकहरू नपाइने वा पाउन निकै कठिन हुने हुनाले सामान्य हतियार अर्थात् खुकुरी वा चक्कु राखिएका पनि हुन्छन् । घातक र स्वचालित मेसिनगन जस्ता अत्याधुनिक हतियारहरू नराखिकन छ्योर्तेन बन्दैन भन्ने पनि होइन तर काँचोवायु प्रवृत्तिहरु त फलामको खिया लागेकै टुक्रा देखेर पनि तर्सिन र आँत्तिन सक्छन् ।

अबको दायित्व
अब लामागुरुहरूले यो प्रसङ्गलाई सम्यक् किसिमले सम्झाउन सक्नुपर्ने देखिएको छ । यहाँ अरूलाई समाप्त पार्नको लागि आफ्नै बडीगार्डलाई पिस्तोल दिएर आफैलाई गोली हान्न लगाउने प्रवृत्तिका कथित धर्मगुरु पनि देखिएकै छन् । धरान जल्न एक मिनेट लाग्दैन भन्दै कुर्लिने तथा हाम्रा विरुद्ध बोल्नेको ज्यान प्राण लिन्छौँ भन्दै अन्तरवार्ता दिएर हिँड्ने विश्वविद्यालयमा पढाउने गुरु पनि देखेकै छौँ । यस्ता उग्र तथा कट्टरपन्थी भड्काउवादी प्रवृत्तिदेखि समयमा नै सरोकारवाला सबै पक्षहरू सचेत हुन जरुरी छ । यस्तो अवस्थामा अन्तरधार्मिक समभावसहितको वार्तालाप अर्थात् गोलमेचसम्मेलन गरिनु उत्तम हुनेछ । अन्यथा रात रह्यो; अघ्रख पलायो भने जस्तै हुन बेर लाग्नेछैन ।
समयमा नै सचेतता, संयमता र समभावको वातावरण बनोस् । पशुपति, मच्छिन्द्रनाथ साथै बोधिसत्त्व तथा बुद्धहरूद्वारा आशिष प्राप्त गर्न सकौँ । अष्टबोधिसत्त्वद्वारा अधिष्ठित नेपालमण्डल लगायत नेपाल अनि विश्वमा स्थायी शान्ति कायम होस् । सर्व मङ्गलम् !!
२४ कात्तिक ’८२
सुन्दरीजल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...