१. शाब्दिक पक्ष
पहिचान नेपाली भनिएको भाषाको नामशब्द हो । नेपाली बृहत् शब्दकोशमा उल्लेख
गरिएअनुसार यसको अर्थ (१) चिनाजानी, परिचय, प्रत्यभिज्ञान । (२) कुनै
वस्तुको गुण, मूल्य आदि जान्ने काम, पारख
साथै (३) जाँचबुझ हुन्छ । त्यसो त हिन्दीभाषामा पनि पहिचान
शब्दको प्रयोग देखिन्छ । विषयगत प्रसङ्गमा पहिचानको अर्थ चिनारी हो । चिनारी शब्द
चिह्न-आरीको संयोगबाट बनेको उल्लेखित शब्दकोशमा दाबी गरिएको
छ ।
पहिचानलाई प्रत्यभिज्ञान पनि भन्न सकिँदोरहेछ । यसलाई प्रत्यभिज्ञा पनि भनिएको
देखिन्छ । प्रत्यभिज्ञा संस्कृतभाषाको नामशब्द हो; जसको अर्थ
(१) पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान साथै (२) चिनापर्ची,
चिनारी, परिचय हो । उल्लेखित शब्दकोशले
प्रत्यभिज्ञा र प्रत्याभिज्ञानको अर्थ एउटै लगाएको छ ।
यसप्रकार पहिचानलाई प्रत्यभिज्ञा वा प्रत्यभिज्ञान पनि भन्न सकिने भयो । त्यसो
त पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तुआदिलाई
कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका
आधारमा हुने पुराना कुराको ज्ञान भन्न सकिन्छ । यसले के स्पष्ट पार्दछ भने,
पहिचानसँग पहिलेका कुरा वा प्रसङ्ग अर्थात इतिहास जोडिएको
हुनुपर्नेरहेछ । त्यस्तैगरी अहिले अर्थात वर्तमानमा पनि ती पहिचान गरिएका आधारका
विद्यमानता कायम रहेको हुनुपर्दछ; जसको आधारमा सम्बन्धित
पक्षको ऐतिहासिकतासँग जोडिन सकियोस् । विगतमा देखिएको आधारमा अहिले चिन्न सकियोस्
।
त्यसो हो भने, विगतमा देखिएको वा रहेको
पहिचानको आधार समाप्त पारिएको हुनु भएन । यदि समाप्त पारिएको रहेछ भने अहिले
देखिएको वा भेटिएको अवस्थाको स्वरूपबाट विगतसँग जोडिन नसकिने हुन्छ । फलस्वरूप
अहिलेको अवस्थालाई हेरेर विगतको ज्ञान वा प्रत्यभिज्ञान गर्न नसकिने हुन्छ । त्यसो
हुने बित्तिकै उसको पुरानो पहिचान समाप्त हुनपुग्छ । पुरानो पहिचान समाप्त
हुनुभनेको इतिहासदेखि छुट्टनिु हो । इतिहास बिनाको वर्तमान प्राणबिनाको देह समान
हुन्छ ।
पहिचानको समानान्तर अङ्ग्रेजी शब्द आइडेन्टिटी भनिएको छ । यहीनेर तामाङभाषामा
यसको लागि कुनै शब्द छ कि छैन भन्ने एउटा नयाँ जिज्ञासा हुन्छ । अङ्ग्रेजीको
आइडेन्टिटी तथा नेपाली भनिएको भाषाको पहिचानलाई तामाङमा ङोसेSब भन्ने गरिएको छ । यसको अर्थ पनि चिन्नु भन्ने हुन्छ ।
चिन्नुको लागि त्यसअघि देखिएको हुनुपर्दछ । सोही आधारमा आज भेटिँदा चिन्न सकिएको
हुन्छ । पहिलो पटक भेटिएर चिन्न सम्भव हुँदैन । परिचय वा चिनजान गरिसकिएपछि अर्थात
अञ्जान व्यक्तिसँग एकै क्षणअघि परिचय गरिएपछि चिन्न थालिन्छ ।
यस्तैगरी कोही कसैले पठाएका व्यक्तिले भेट्न आएका अवस्थामा सुनेको नाम र
हुलियाको आधारमा पनि नयाँ व्यक्तिले फलानाले भनेको व्यक्ति म नै हुँ भनेर चिनाएपछि
बल्ल चिन्न थालिन्छ । त्यसपछि सम्बन्धित व्यक्तिको चिनारी मस्तिष्कमा भण्डार हुन्छ
। चिन्ने क्रममा नै मानौं टेलिभिजनमा देखिएको वा प्रत्यक्ष दृश्यसंवाद वा आवाज
सुनिएको व्यक्तिसँग पछि भेटिँदा पनि चिन्न सकिन्छ । यसप्रकार कुनै पनि व्यक्तिलाई
चिन्नको लागि अघिबाटै कुनै न कुनै आधारमा चिनिएको हुनुपर्नेरहेछ भन्ने स्पष्ट
हुन्छ ।
२. पहिचानको
आवश्यकता
जो जसले माने वा नमानेतापनि नेपाल पहिचानको मुद्दामा रहेको छ । त्यसो त
विश्वजगत्मा पहिचानको मुद्दा नभएको स्थान छैन । यदि पहिचानको मुद्दा नभएको भए
मान्छे केवल मान्छे हुने थियौं । देशी विदेशी, नश्ल
नश्लीय, जाति, राष्ट्र भन्नुपर्ने थिएन
। त्यसो त यो र त्यो धर्म भनेर पनि भनिरहनु अनि मानिरहनुपर्ने थिएन । विवाह गर्न
मिल्ने वा नमिल्ने साइनो भनेर केलाउनुपर्ने थिएन । त्यो बाटोमा लागेको भए
मान्छेलाई पनि बेग्लै प्रजातिको पशु अन्तर्गत राख्नुपर्ने हुन्थ्यो तर स्मरणीय
तथ्य, मान्छे पशु होइन ।
त्यसैले मान्छेलाई नैतिकता आवश्यक परेको हो । नैतिकतवान् बनाउनको लागि नियमका
आवश्यकता खटि्कएको हो । नियमको लागि देश-देशावरता,
जाति, नश्ल, समुदाय वा
राष्ट्रियता साथै विवाह गर्न मिल्ने र निमल्ने साइनोसहितको व्यवस्था आवश्यक महशुश
गरिएको हो । सोही क्रममा गाउँबस्ती, एकै राष्ट्रको लागि पनि
ह्रुइ/थर/क्लान व्यवस्था स्थापित
गर्नुपरेको हो । भौगोलिक आधारमा समेत फरक फरक व्यवस्था बाँध्नुपरेको हो । यहाँ फरक
भूगोलमा फरक नश्ल वा समुदायका मान्छे मात्रै नभएर एउटै समुदायभित्र पनि फरक फरक
आधारमा फरक भएका मान्छे वा पहिचान रहेका छन् ।
यसबाट के स्पष्ट हुन्छ भने, मान्छेलाई नैतिकवान् बनाउन,
अधिकारको उपयोग गर्न, सामाजिक उत्तरदायित्व
वहन गराउनको निमित्त पहिचान आवश्यक परेको हो । मान्छेलाई मान्छेको रूपमा चिनेर काम,
कर्तव्य र अधिकार तोक्न नसकिएको खण्डमा न्यायव्यवस्था स्थापित
हुँदैन । अन्यायले मान्छेलाई मान्छे बनाउँदैन । स्वत्वको प्रसङ्ग बिना पहिचान
बन्दैन । पहिचानबिना काम, कर्तव्य र अधिकार तोक्न सकिँदैन ।
यसैले पहिचान पहिलो आवश्यकता भएको हो ।
३. पहिचानका
आधार
पहिचानको पनि आफ्नै निश्चित आधारहरू छन् । माथि गरिएका चर्चाहरूबाट पनि धेरै
विषयहरूत स्पष्ट भइसकेको हुनुपर्दछ । यसप्रकार पहिलो आधार इतिहास रहेछ । इतिहास
अन्तर्गत आदिमभूमि, भाषिक सांस्कृतिक रीतिथिति,
परम्परा तथा नश्लीयता पर्दछन् । यिनै विगतलाई मस्तिष्कमा स्थापित
गरिइसकेपछि मात्रै अहिलेको अवस्था वा परिवेशसँग दाँजेर हेर्नुपर्ने हुन्छ । त्यसरी
हेर्दा अहिलेको अवस्थितिले विगतको झल्को दिन्छ वा सोही आधारमा चिनाउँछ भने उसको
पहिचान हुन्छ ।
यसप्रकार पहिचानको आधार स्पष्ट हुन्छ । यसैलाई तामाङभाषामा भन्नुपर्दा, तामाङको कैरन; केस, ठुङ्स र बप्स; धार्मिक आस्थासहितका ग्योइठिम लठिम,
क्योनठिम, केठिम, शोठिम,
शिठिम, ह्रुइठिम, रिमठिम,
ह्युलठिम, थुमठिम, छ्योइठिम
साथै ठिगर नै पहिचानको आधार हुन् । यी आधारहरू गुमाइसकेका वा गुमाउने हो भने पहिचान
समाप्त हुनेछ । पहिचान समाप्त पार्ने हो भने तामाङ भन्नु र ताम्सालिङको कुरा गर्नु
बेकारको बकबक मात्रै हुनेछ ।
४. पहिचान के
होइन ?
पहिचान के हो भनेर चिन्नको लागि के होइन भनेर पनि चिन्न आवश्यक पर्दछ । अब
तामाङको पहिचान के होइन भनेर नै हेरौं । तामाङ मङ्गोल नश्ल इतर राष्ट्र होइन ।
यसको अर्थ हाल अस्तित्वमा रहेको मङ्गोल देशबाट आएका वा त्यहाँको बासिन्दा भन्न
खोजिएको होइन । यो त केवल विश्व साहित्यमा मानवसभ्यताहरूलाई विभक्त गर्ने क्रममा
जुराएका नाम मात्रै हो ।
यसप्रकार तामाङ भनेको आर्य तथा काला पनि होइन । गोरा, चुच्चोनाकधारी, ठूलाआँखावाला, कालाछाला भएका पनि होइन । तामाङ केस/ठुङ्स/बप्ससँग नजोडिएका वा असम्बन्धित पनि होइन ।
धार्मिक रूपमा हिन्दू, ख्रिश्चियन र मुस्लिम पनि होइन
। शुद्ध बौद्धमार्गी मात्रै पनि होइन । तामाङबुद्धिजम् यतिखेर तामाङलाई चिनाउने
धार्मिकपक्ष बनेको देखिन्छ ।
तामाङको आफ्नै ठिगर रहेको छ । यो पूर्वधार्मिक, पूर्वराजनीतिक
साथै पूर्वदेशीय अर्थात सबैभन्दा पुरानो समाजमध्ये ताम्सालिङको पहिलो बासिन्दा हो
। त्यसैले तामाङ भनेको कुनै राजनीतिक पार्टीमा लागेका वा त्यस्ता पार्टीका सदस्यता
लिनु वा त्यस्ता व्यवस्थामा पस्नु, फस्नु, बस्नु अनि त्यसैका लागि घुँडा धस्नु पनि तामाङको पहिचान होइन । राजनीति र
राज्यसत्तालाई नै पहिलो प्राथमिकतामा राख्नु; राजनीतिलाई
विकल्पविहीन साथै नीतिहरूका राजा मान्नु साथै राजनीति नगरेको कारण तामाङ पछि परेको
निष्कर्ष निकाल्नुपनि तामाङको पहिचान हुन सक्तैन ।
तामाङ व्यवस्थाको बारेमा अज्ञात रहनु; तामाङ समाज
राजनीतिबाट नभएर रिमठिम (सामाजिक सांस्कृतिक) लगायतका
पक्षबाट सञ्चालित रहेको तथ्यबाट अनभिज्ञ रहनु एवंरीतले तामाङमा शासन तथा प्रशासन
प्रणाली नभई सञ्चालनको व्यवस्था भएको; शासक र शासित नभएको
समाज भने नचिन्नु पनि तामाङ पहिचानको छनक पटक्कै होइन । नागरिकताको अवधारणा विपरीत
सदस्यताप्रणालीमा आधरित हुनु नै तामाङ समाज भन्ने भुल्दै; विगतमा
तामाङ पुर्खा मारिएका; भूमि खोसिएका साथै अझैसम्म फिर्ता
नदिएका पक्षलाई नजरअन्दाज गर्ने वा लतार्ने कार्य पनि तामाङ पहिचानको आधार होइन ।
भाषिक रूपमा तामाङभाषालाई दुत्कार्दै अङ्ग्रेजी लगायतका उपनिवेशकारी भाषाका
पछि लाग्ने; ह्रुइरी बप्प ह्रुइगी फो'-ललाई कुरीति भन्ने; लबोन, बोम्बो,
तम्बा, चोहो, गन्बा,
मुइमू र लामालाई ढुङ्गेयुगतिर फर्काउने कारिन्दा भनी आरोप लगाउने,
तामाङ पोशाकलाई बेवास्ता गर्ने वा घृणा गर्ने; जन्मदेखि मृत्युसम्म गरिनुपर्ने रिमठिमलाई परित्याग गर्ने; प्रत्येक महिनामा तामाङको कुनै न कुनै पर्व पर्छन् भन्ने जानकारी नराख्ने
र त्यसका बारेमा गरिएका अनुसन्धान साथै विमर्शदेखि तर्सिएर कोलाकोला भन्दै रुने;
तामाङलाई पछौटे जाति मात्रै भन्ने; तामाङको
केही छैन भन्दै हिँड्नेले पनि तामाङ पहिचानको आधार पूरा गर्न सक्तैनन् । त्यसकारण
यस्ता हर्कत्का मतियारहरू तामाङ होइनन् ।
५. को को हुन्
तामाङ ?
ह्रुइगी फो'-ल (दिमला ल/घरको देउता) मान्ने; ह्रुइव्यवस्थामा
आधारित; लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू, लम(लामा) र ह्युल्बामा
विश्वास गर्ने; तामाङ ठिगरको आधारमा समाज सञ्चालन गर्ने;
भाषा, रिमठिम, पोशाकमा
गर्व गर्ने; नागरिकताको सट्टा सदस्यतामा विश्वास गर्ने;
बोम्बो, तम्बा, चोहो र
लामा जस्ता गेन्दुन(संस्था)मा आवद्ध रहने; अणुवांशिक रूपमा विशुद्ध रहेका; जन्मदेखि मृत्युसम्म
पनि तामाङ ठिगरलाई अवलम्बन गर्ने; घामलाई अमा(आमा), जूनलाई (अगु वा अङी/अनी वा मम्) मान्ने, धर्तीलाई सप्चीलमो (धरामाता/देवी) मान्ने; गाउँबस्तीलाई
फह्युल (पितृभूमि मान्ने); प्राकृतिक संसाधनहरूलाई शक्तिका
रूपमा मान्ने; हरेक प्राणीलाई मानिसका सहकर्मी ठान्ने;
ताम्सालिङको लागि खोर्वालिङ, जम्बुलिङ साथै
थर्पेलिङ लगायतका खगोलीय ज्ञानलाई मौलिक मान्ने ज्ञानले युक्तहरू नै तामाङ हुन् ।
यसरी प्रस्तुत् गरिँदा कतिपयलाई म चाहिँ तामाङमा पर्दोरहेछु कि रहेनछु भन्ने
लाग्न सक्छ । स्मरणीय तथ्य चाहिँ यी सारा दाबी मेरो आफ्नै व्यक्तिगत होइनन् ।
यिनीहरू त समुदायमा भेटिएका हुनाले यहाँ प्रस्तुत् गरेको मात्रै हुँ । यही आधारमा
फलानाले यस्तो भन्यो भनेर नरुनु होला । यी त प्रस्तोताले खोज्ने क्रममा पहिचान
गरेको आधारहरू हुन् तर प्रस्तोता आफैले बनाएको चाहिँ होइन ।
६. पहिचान प्राप्तिको बाटो ?
पहिचान प्राप्तिको बाटोमा तामाङ लगायतका विश्वभरि आवाद भूमिपुत्रहरू प्रायः
अलमलमा देखिन्छन् । अमेरिकन देशहरूलाई हेर्ने हो भने धेरै अघि बढिसकेका पनि
पाइन्छन् । नेपाली तामाङ नेता भनिएकाहरू यो मुद्दामा सबैभन्दा गए गुज्रिएका
पुङ्माङ भन्दा फरक पर्दैन । तिनीहरु कुनै दलका सदस्यता हुनुलाई नै तामाङ हुनु भनी
ठान्छन् । तामाङत्त्वलाई परित्याग गर्दै व्यवस्था परिवर्तनको नारा लगाउँछन् ।
मन्दिर र गुठीका नाममा तामाङका केस, ठुङ्स र
बप्सहरू खोसिएका र अझैसम्म फिर्ता नपाएका घामजस्तो तथ्यलाई पनि देख्न सक्तैनन् ।
पहिचान प्राप्तिको बाटोकै प्रसङ्गमा के भन्न सकिन्छ भने, यसको लागि तामाङपन पहिलो आवश्यकता हो । पहिचान मागेर प्राप्त
गर्ने वा तामाङ भन्न छोडेर सबै हामी नेपाली मात्रै भनेर बन्ने वा प्राप्त हुने
विषय होइन । कसैल मन लाग्यो भनेर दिँदैमा दिइने र नदिइँदैमा नदिइने साथै खोस्दैमा
खोसिइने चिज पनि होइन । यो त घामजस्तै स्वभावतः सिद्ध प्रसङ्ग हो । यो त आफैले
स्थापित गर्ने विषय हो । अन्यसँग अनुमति मागेर वा खोजेर वा रोएर पाइने चिज होइन ।
आफैले अध्ययन गर्दै मौलिक स्वरूप प्राप्त गर्ने अनि दैनिकीमा अभ्यास गर्ने हो ।
प्रस्तोताले धेरैअघिदेखि तामाङ समाज राजनीतिमा आधारित होइन भन्दै लेख्दै र
बोल्दै आएको छ । त्यस्तैगरी तामाङ ठिगरअन्तर्गत रिमठिममा आाधारित रहेको पनि खुलासा
गरेको छ किनकी माथि नै उल्लेख गरिएअनुसार नै पनि तामाङ समाज भनेको पूर्वधार्मिक
साथै पूर्वराजनीतिक आदिमसभ्यताले युक्त वा सुशोभित समाज हो । प्राकृतिकतामा आधारित
राष्ट्र हो । यी सारा विषयलाई नेपाली भनिएको भाषामा सामाजिक, सांस्कृतिक साथै धार्मिक पक्षको रूपमा भन्ने गरिन्छन् ।
नेपालमा प्रचलित भनिएको संविधानले पनि हरेक राष्ट्र(समुदाय)लाई
सामाजिक, सांस्कृति साथै धार्मिक अभ्यासको लागि स्वतन्त्रता
दिएको छ । यही आधारमा चोहोव्यवस्थाको अभ्यास थाल्नु नै पहिचान स्थपित गर्ने अबको
एक मात्र मौलिक साथै सम्यक् बाटो हो ।
७. थाल्नुपर्ने पक्ष
तामाङ समाजले ढिलो नगरी मौलिकताको खोजी गर्ने वा गरिएका खोजीका निष्कर्षहरूलाई
स्थापित गराउँदै जानसक्नुपर्छ । आफूलाई हिन्दू, ख्रिश्चियन,
मुस्लिम राजनीति, विश्वव्यापीकरण साथै विकासका
नाम वा बहानामा तामाङ पहिचान र आधार समाप्त गर्ने समाप्तिकरणलाई रोक्न सक्नुपर्छ ।
मिसिनरी धार्मिक आन्दोलन वा विस्तार वा उपनिवेशवादका विरूद्ध पहाडजस्तै
उभिनसक्नुपर्छ । भाषिकक्षयीकरण, साहित्यिकसंहार, तामाङ मौलिकता विपरीत निर्धारित पूर्ववत् हाइपोथेसिस सहितका इटिक
रिर्सचहरूलाई इन्कार गर्न सक्नुपर्छ । पुस्ताहरुबीचका खाडल पुर्ने साथै मौलिकतामा
आधारित सामाजिकीकरण प्रक्रियामा नयाँपुस्तालाई संलग्न गर्न सक्नुपर्छ । देशी
विदेशी राज्यसत्ताहरूले स्थापित गराएका तामाङ (आदिवासी राष्ट्र) विरोधी भाष्यहरूका उन्मूलन गर्नुपर्छ ।
यी साराका लागि सबैभन्दा पहिलो आफ्नो दिमागलाई डिकोलोनाइज(अ-औपनिवेशीकरण) गर्न सक्नुपर्छ । म(हामी)
को हुँ(हौं) भन्ने प्रश्न गर्दै सही उत्तरलाई
भेट्टाउनुपर्छ । त्यस्तैगरी म(हामी) को होइन(होइनौं) भन्ने बारेमा स्पष्ट हुन सक्नुपर्छ । त्यसपछि झर्रोवादी आन्दोलन
चलाउनुपर्छ । पुराना भनिएका रिमठिममा भएका वैज्ञानिक वा विज्ञानसम्मत पक्षका खोजी
गर्दै भविष्यसम्म हुने नयाँ प्रविधिको खोजी गरिनुपर्छ । तामाङ मगन्ते होइन;
आफै कमाएर, आफैले जमाए, आफ्नो
पितृभूमिमा तामाङठिगरको अभ्यास गर्न सक्ने महान् राष्ट्र हो भनेर चिनाउन सक्नुपर्छ
।
नेपालमा हुँदै आएका र भविष्यमा हुने चुनावद्वारा केही लछारपाटो लाग्नेछैन ।
चुनावमा स्वतन्त्र पार्टी वा स्वतन्त्र उम्मेदवार भएर हुने केही छैन । स्वतन्त्रत
भनेको बाह्य तथा आन्तरिक हरेक प्रकारका उपनिवेशवादबाट हुने हो । नेतृत्वमा पुग्नु
वा गर्नु भनेको तामाङ ठिगरका ज्ञाता तथा अभ्यासी हुनु हो । तामाङ ठिगर नबुझिकन वा
लत्याउँदै पार्टीका सदस्यता वा पार्टीहरूले टिकट नदिएको रिसमा वा पार्टीहरू मन
नपरेको आधारमा यही व्यवस्थाभित्र प्रवेश गर्न खोज्नुभनेको मुस्किलले आफै मात्र
बन्न खोज्नु हो ।
आफ्नो समाज बनाउँदै नेपाल लगायत विश्वजगत्लाई परिवर्तनको संवाहक बनेर देखाउने
चाहना, क्षमता र ज्ञान हुनेले त आफू
लगायत समुदाय अनि दुनियाको भाइसरले ग्रस्त हार्डडिस्क जस्तो दिमागको फर्म्याट गर्न
सक्नुपर्छ । त्यसपछि राष्ट्रगत रूपमा आ-आफ्ना मौलिक
सफ्टवेयरलाई सही साथै विधिपूर्वक इन्स्टल गर्न सक्नुपर्छ । यो प्रस्तुतिको
अन्त्यमा यति मात्रै भन्छु, आँटी छोरालाई बाघले खाँदैन ।
असम्भव र नसकिने भन्ने केही छैन । शुभकार्यको लागि हरक्षण शुभ हुन्छन् ।
त्यसैले नेपालमा रहेका सम्पूर्ण राष्ट्र (समुदाय)का ठिगर (विधिशास्त्र)को बारेमा जानकारी
राखौं । आपसी भाइचाराको नाता जोडौं । फुटेर होइन; जुटेर अघि
बढौं । नयाँ विश्वको लागि युनिभर्सलाई समाप्त पार्दै प्लुरिभर्सको अवधारणालाई
स्थापित गराऔं । विश्वमा रहेका सम्पूर्ण राष्ट्रहरूका स्वशासनको निमित्त विश्व
उपनिवेशबाट मुक्तिको लागि आन्दोलन थालौं । चुनाव आयो; तेरो र
मेरो पार्टी वा म त छुट्टै बस्छु भनेर यही व्यवस्थाको मुख ताक्तै समय खेर नफालौं ।
शुभ कार्य सहित सफलताको लागि अग्रिम शुभकामना !
थुजेछे ।
