Monday, June 13, 2022

स्थानीय चुनाव : घात-अन्तर्घात अनि नजिकबाट देखिएका केही दृश्यहरू

 


प्रसङ्गको थालनी

    यतिखेर नेपाल नामक देशमा थप एउटा स्थानीय चुनाव सम्पन्न भएको छ । यसको दृश्यहरूलाई नेपथ्यमा बसेर हेर्ने रहर थियो तापनि चुनावी प्रचारप्रसारको प्रसङ्गहरूमा भौतिक रूपमा सामेल हुन बाध्य भएँ । त्यसरी सामेल भइरहँदा पनि भौतिक बाहेक (विशेषतः मानसिक तथा सैद्धान्तिक) रूपमा भन्नुपर्दा मानौं एउटै हत्केलामा रहेर पनि बुढीऔंला जस्तै अलग्गै रहेँ । यसक्रममा देशभरिका केही प्रसङ्गहरू सुन्दै र देख्दै आएकै पनि हो । यसपालि पनि थप प्रसङ्गहरू सुनेको र सुन्दैछु । केही दृश्य तथा तथ्यहरू प्रत्यक्ष देखेको छु । केही प्रसङ्गहरूलाई तौलेर हेरेको छु । राजनीतिविहीन राजनीतिको पक्षधर भएर राम्रो गरेँछु भनी प्रमाणित गरेको छु । यतिखेर सुनकोशी गाउँपालिका सिन्धुलीमा सम्पन्न स्थानीय चुनाव : घात-अन्तर्घात अनि नजिकबाट देखिएका केही दृश्यहरू स-प्रसङ्गसमेत पस्कँदैछु ।

वैयक्तिक भोगाइ तथा दृष्टिकोण निर्माण

    राजनीतिलाई बुझ्ने र हेर्ने नजर फरक बनाएको छु । विशेषतः वि.सं. २०६२/०६३ मा सम्पन्न परिवर्तनपछि देशमा देखिएका राजनीतिक तिकडमसँग राजनीतिप्रति अविश्वास बढेको थियो । त्यसपछि विश्व-राजनीतिको विरोधी भएको छु । राजनीतिले मानव हत्याको प्रसङ्गलाई वैधानिकता दिएको देखेपछि कटुआलोचक भएको छु । राजनीतिक कारण मारिएका मानिसका देहलाई पुनःजीवन दिन तथा त्यसको क्षतिपूर्ति तिर्न भन्दैआएको छु । यी मागहरूका सम्बोधन गर्ने हैसियत यो राजनीतिले राख्दैन तर पनि लेख्न र बोल्न छोडेको छुइनँ । सम्बोधन नै नहुने भएपछि किन भन्ने प्रश्न पनि उठ्न सक्छ । परिवर्तनको लागि प्रश्न तथा अविश्वास पहिलो आवश्यकता रहेछ । त्यसैले निरन्तर प्रश्न उठाइरहेकै छु । त्यसैले ''यो राजनीति त मानिसको मुटुमा रोपिएको काँडा साबित भइसकेकोले यसलाई निकालेर फालौं र राजनीति विहीन समाजको कल्पना गरौं'' भन्दै आएको छु ।

तथ्यगत पृष्ठभूमि

    राजनीतिलाई विकल्पविहीन भन्ने धेरै छन् । तिनीहरूमध्ये पनि आफूलाई बौद्धमार्गी भनेर दाबी गर्नेदेखि साह्रै उदेक लाग्ने गरेको छ । बुद्धले त अनित्यको सिद्धान्त पनि प्रतिपादन गर्नुभएको थियो तर बौद्धमार्गी भएर पनि राजनीतिलाई विकल्पविहीन भन्नु वास्तवमा नै सैद्धान्तिक विचलन हो । त्यस्तैगरी राजनीतिलाई नै नीतिहरूकै राजा मान्नेहरूका विचारप्रति थुक्तै आएको छु । झूटको पोको भन्दै दुत्कार्दै आएको छु । यसपालि सम्पन्न स्थानीयस्तरको चुनावले त राजनीति भनेको उहिले प्रचलित रहेको खोरियाप्रथा समान भन्ने प्रमाणित गरिदिएको छ । एक दलमा आस्था रहेको दाबी गर्‍यो तर आफूलाई भयो भने राम्रो पार्टी अन्यथा खत्तमको चोर पार्टी भन्दै अन्तै कुद्यो । कोही घात हान्छन् । कोही अन्तर्घात हान्छन् । कोही बागी उठ्छन् । कोही पार्टीका मतदातालाई भट्काउँदै कुद्छन् । त्यस्तैगरी मन नपरेको मान्छे आफू रहेको दलमा प्रवेश भयो वा देखियो भने पनि अर्कै दलतिर लाग्छन् । मानौं जङ्गल फाँडेर आगो लगायो र खेती गर्‍यो । अर्को वर्ष अन्तैको जङ्गल फाँड्यो र खोरिया बनायो । बाली राम्रो हुञ्जेल चलायो अनि फसल राम्रो दिन छोडेपछि अन्तै खोरिया फाँड्दै जङ्गल स्वाहा पार्‍यो ।

    यस्तैगरी विशेषतः सुनकोशी गाउँपालिका सिन्धुलीमा देखिएको चुनाव प्रचारप्रसार शैली यति पुरातन तथा कमजोर देखियो कि त्यसले पनि खोरियाप्रथाकै झल्को दिइरह्यो । यतिखेरको आाधुनिक वा अधिआधुनिक युगमा पनि परम्परागत खेतीप्रणालीको पनि बाजे ठहरिएको खोरिया फाँड्ने प्रचलनमा आधारित रहेको स्पष्ट देखियो । प्रचारप्रसारमा जुट्न लालयित एकाध हुल्लडबाजी पनि उस्तै देखिए । तिनलाई त कसको चुनाव प्रचारप्रसार भइरहेको छ भन्ने मतलब थिएन । जो जसको होस्; पछि लाग्यो । त्यसको मनसाय भनेको मात्रै त्यो दिनको खानाको जोहो गर्नु थियो । चुरोट र खैनी मनमोजीपाराले खानु थियो । मासुभात बजाउनु थियो । खोयाबिर्के किन नहोस् रक्सी पिउनु थियो । रमाइलो गर्नु थियो । थोरै मात्रामा भएपनि त्यो पार्टीका मान्छेका पनि मन राख्नु थियो । त्यसैले दिनैपिच्छे एकपछि अर्को पार्टीको प्रसारप्रसारमा जुटिरहेका देखिन्थे । यसप्रकार राजनीतिक चेत, परम्परा, संस्कृति भनेको के हो भनेर सोध्दाखेरि पार्टीको नाम राख्ने क्रम होला भन्ने उत्तर देला जस्ता देखिन्थे । नेतृत्वमा रहेकाहरूमा समेत सिद्धान्त र दर्शनका गम्भीर खडेरी देखिन्थ्यो । कोही जानकारले सुनाउन खोजेछन् भनेपनि बुझ्न वा चासो राख्न त कुरै छोडौं सुन्न समेत कोही तयार थिएनन् ।

राज्योदयको प्रसङ्ग

    खासगरी आदिम मानवसभ्यतासँग राजनीति भन्ने विषय छँदै थिएन । त्यतिखेर शामनिजम (झाँक्रीवाद)को हालीमुहाली थियो । समाज साँच्चैको समुदायवादमा आधारित थियो । व्यक्तिवाद गौणावस्थामा थियो । परिणामतः आदिम साम्यवाद स्थापित थियो । आदिम साम्यवादको अन्त्यमा व्यक्तिवादले अवसर पाउन थालेपछि छुल्याहा तथा छेसाहा वा डाँका प्रवृत्तिसँगै व्यक्तिवाद हाबी हुन थाल्यो; जसले राजनीतिको ब्याड तयार पार्‍यो । तिनीरूले नै समाजमा लुटपाट मच्चाउन थाले । लुटेराहरू पनि पटक पटक लुटिरहनुपर्ने समस्याको चङ्गुलमा पर्दै आए । त्यसपछि नयाँ उपाय स्वरूप निश्चित क्षेत्रलाई लुटेर आफ्नो क्षेत्रको रूपमा स्थापित गर्दै राज्य(देश)को घोषणा गरे । आफूलाई शासक र रैथानेलाई शासित हुन् भन्ने भाष्य (पाठ/न्यारेसन) बनाए । त्यसपछि रैथानेलाई लुटेर कब्जामा लिने साथै आफ्नो रैतीको रूपमा स्थापित गर्दै त्यसको लागि आवश्यक थप भाष्यहरू निर्माण गर्दै अघि बढे । त्यहीक्रममा राजनीति देखापर्‍यो । राजनीतिलाई स्थापित गर्न गराउनको लागि राजनीतिशास्त्र पनि जन्माए ।

राजनीतिशास्त्रको जन्म प्रसङ्ग

    संसारमा राजनीतिको जन्म गराए तापनि स्थापित गर्न गराउन कठिन हुँदै थियो । खासगरी रैथानेलाई शासित बनाउन र बाह्यलाई शासक बनाउनु भनेको फलामको चिउरासरिको थियो किनकी रैथानेले आफ्नो घर(क्षेत्र)मा बाह्यलाई स्वीकार्ने कुरै थिएन । त्यसमाथि बाह्य डाँकाद्वारा मच्चाइएका/मच्चाउने हत्या, हिंसा तथा बलात्कारसहितको अत्याचारका विरुद्ध विद्रोह गर्नु उनीहरूका कर्तव्य नै ठहरि । तत्कालिक समाजको झाँक्रीवादी अभ्यासको हत्याराको रूपमा स्थापित हुन आएको राजनीति त वास्तवमा नै समाजपालकको सट्टा व्यक्तिवाद(शासक)का पोषक तथा रैथानेका संहारको रूपमा साबित भइरहेकै थियो ।

     त्यहीक्रममा अलेक्जेण्डर जस्ता तानाशाहका जन्म भयो । तिनलाई १४ वर्षको उमेरदेखि पढाएका गुरु चाहिँ अरस्तु थियो । अलेक्जेण्डरले भारतवर्षलाई समेत दखल गर्न आइपुगेको थियो । त्यतिखेर नै पर्सियाका आदिवासीहरूले विद्रोह गरे । विद्रोहीले अलेक्जेण्डरको गुरु अरस्तुकी श्रीमतीको हत्या गरिदिए । श्रीमतीको हत्या भएपछि अरस्तु पागलजस्तै भए । त्यसपछि अरस्तुले रैथानेलाई कब्जा गरी राजनीतिको नाम गर्दै शासन चलाउनको लागि सैद्धान्तिक स्वरूप दिन आवश्यक महशुश गर्‍यो । सोहीक्रममा राजनीतिशास्त्रको जन्म गरायो । त्यसको मुख्य ध्येय चाहिँ एसियालीमाथि युनानीका शासनलाई वैधानिकता दिलाउनु थियो ।

 राजनीतिशास्त्र : बायोपोलिटिक, नेक्रोपोलिटिकदेखि जिओपोलिटिकसम्म

    राजनीतिको नाम गर्दै रैथाने शक्तिहरूलाई समाप्त पार्दै राज्य(देश)को निर्माण गरेका थिए । त्यसक्रममा रैथाने समुदायले नरसंहारलाई खेप्नुपरेको थियो । त्यस्ता अत्याचारका विरुद्ध विद्रोह गर्नु स्वाभाविक थियो । आफ्ना आफन्त तथा पुर्खाका हत्याका बदला लिनु नै आफ्नो पहिलो दायित्व भएको रैथानेहरूले महशुश गर्न थाले । त्यसबाट बच्नको लागि राजनीतिशास्त्रले बायोपोलिटिकको प्रसङ्ग ल्याए । त्यसको अर्थ ठूला शक्तिले सानालाई आफ्नो कब्जामा राख्नु वैधानिक थियो ।सार्वभौमसत्तासहितको राज्य निर्माणको क्रममा आफूलाई बलिमा चढाउनु नै रैथानेको कर्तव्य तथा गौरवताको विषय हो भनेर यही सिद्धान्तलाई अगाडि सारेका थिए ।

    बायोपोलिटिकको सिद्धान्त घोकाउँदा पनि रैथानेका विद्रोहबाट पूर्णतः ढुक्क हुन सकेनन् । त्यसैले स्थापित राज्य(देश)लाई विद्रोह गर्नु गराउनुको सट्टा राष्ट्र र राष्ट्रियताको नाममा नागरिक (रैथाने)ले आफूलाई पनि बलि चढाउनु तथा त्यसैमा समाहित हुनु नै पहिलो दायित्व हो भनेर पढाउन आवश्यक ठाने । सोही प्रसङ्गलाई स्थापित गराउनको लागि नेक्रोपोलिटिक्स भन्ने अर्को सिद्धान्त घोकाउन थाले । त्यसरी राज्यसत्ता स्थापित गराइसकेपछि देश देशका बीचमा अर्को टकराब देखिन थाल्यो । शक्ति सङ्घर्षसहितका युद्धहरू हुन थाले । त्यसैलाई जिओपोलिटिक(भूराजनीति) भन्न थाले ।

 बडीपोलिटिक विरुद्ध पोलिटिक्स

    पोलिटिक्स अङ्ग्रेजी शब्द हो । यसको अर्थ सत्ता(राज्यसत्ता) भन्ने हुन्छ । सत्तालाई पोलिटि भन्छन् । त्यही पोलिटि स्थापनाको माध्यम नै पोलिटिक्स हो । यसलाई नेपालीमा सत्ता र राजनीति भन्ने गरिएको छ । माथि उल्लेख गरिएजसरी नै पोलिटिक्स भनेको रैथानेका संहारक तथा व्यक्तिवादी शासकका पोषक भन्नेमा द्वीमत रहेन तर बडीपोलिटिक शब्द आमनेपालीका लागि नौलो लाग्न सक्छ । पोलिटिक्सको उदयअघि मानवसभ्यता बडीपोलिटिकका आधारमा सञ्चालित हुने गर्दथे । उदाहरणको लागि तामाङ राष्ट्रलाई नै लिऔं । तामाङ राष्ट्र भनेको राजनीतिपूर्व (प्रि-पोलिटिक्स)को सभ्यता हो; जहाँ राजनीतिको उपस्थिति थिएन । त्यतिखेर चोहो, बोम्बो, तम्बा, गन्बा, मुइमू, ह्युल्बा र लम(लामा) लगायतका सामाजिक सांस्कृतिक संस्थाहरू रहन्थे । ती संस्थाहरूलाई गेन्दुन पनि भन्दथे । यही समान व्यवस्था विश्वभरिका आदिवासीहरूसँग अहिलेसम्म पनि कायम रहेका छन् ।

नागरिक विरुद्ध सदस्यता

    नागरिकताको अवधारणा चाहिँ आधुनिक राज्यसत्ताहरूले विकास गरेका हुन् । अहिले पनि तामाङ राष्ट्रका कतिपय सदस्यहरू ओडारमा बस्छन् । ओडारमा बसेका रहेनछन् भनेपनि विकट गाउँबस्तीमा बस्छन् । ती गाउँबस्तीहरू उनीहरूका बप्स (आफ्नै पुर्खौली बस्ती) हुन् । यही प्रसङ्गमा नेपाल नामक देशमा गाउँ र नगरका सङ्ख्यालाई दाँजेर हेर्ने हो भने नगरबासी कति छन् ? गाउँवासीले कति भूभाग ओगटेका छन् भनेर हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्ने हो भने नगरवासी र तिनले ओगटेका भूक्षेत्र स्पष्ट रहेकै छ । त्यसो हो भने नगरमा बस्ने वा नगरवासी भन्ने अर्थ दिने नागरिक कति र तिनले ओगटेका भूक्षेत्र कति रहेको छ भनेर हेर्नुपर्ने हुन्छ । यसप्रकार नागरिक भएका तामाङ कति छन् भनेर सोध्नु र हेर्नुपर्ने हुन्छ ।

    नागरिक भनेको नगरवासी भनेको हो । त्यसैले नागरिकलाई अङ्ग्रेजीमा सिटिजन भन्छन् । सिटिजन शब्द सिटि(नगर)बाट बनेको हो । सोही आधारमा सिटिजनशिप भनेका हुन् । वास्तवमा नै यो त आधुनिक राज्यसत्ताले ल्याएको झूटको पुलिन्दा मात्रै थियो । विश्वको आदिवासीले नागरिकलाई मानेका छैनन् । हामी आदिवासीका सिटिजनशिप नभई अङ्ग्रेजीमा नै भन्नुपर्दाखेरि मेम्बरशिप मात्रै थियो । जसको अर्थ सदस्यता भन्ने हुन्छ । सिटिजनशिप राज्यसत्ताले दिन्छ । त्यसलाई ग्रहण गर्नुभनेको राज्यसत्तालाई मान्नु हो । आफ्ना पुर्खाका हत्यारा, बलात्कारी तथा डाँकाशक्तिलाई शासक स्वीकार्नु हो

    आदिवासीको मेम्बरशिपमा चाहिँ सबैजना समुदायको सदस्य हुन्छन् । त्यसैले शासक र शासित भन्ने नै हुँदैनन् । कुनै एक शासक शक्तिकेन्द्रको गुञ्जायस रहँदैन । कुनै एक राज्य, सत्ता र केन्द्रलाई स्वीकार्दै आफूलाई सबैभन्दा तल्लो तहमा सीमित पार्नु पर्दैन । यसले सबैलाई समान हैसियतका सदस्यको रूपमा स्थापित गराउँछ । अफ्नो विधि, विधानसहितको व्यवस्था आफैले बनाउँछ । व्यक्तिलाई भन्दा पनि समुदायलाई प्राथमिकतामा राख्छन् । चोहो, तम्बा, बोम्बो, गन्बा, मुइमु, लामा र ह्युल्बा(गाउँले)हरू एक समान रहन्छन् । तोकिएका चोहो, तम्बा, बोम्बो तथा लामाहरू काम पूरा गर्ने हेरालु तथा कारिन्दा हुन्छन् । समुदायले तोकेको सीमामा रहेर काम गर्छन् । गल्तीका खण्डमा फिर्ता बोलाउन र सजाय दिन सक्छन् । तिनीहरू कार्यकारिणी हुँदैनन् । समुदाय अर्थात् ह्युल्बा नै कार्यकारिणी (सार्वभौम) हुन्छ ।

मौलिक व्यवस्था र आयातित व्यवस्थाहरू

     आदिवासीका व्यवस्था मौलिक र प्रकृतिमैत्री हुन्छन् । आधुनिक राज्यसत्ताका व्यवस्था आयातित अर्थात् विदेशी व्यवस्था हुन्; जुन रैथाने भूमिपुत्र/पुत्री वा समुदायमाथि लादिरहेका छन् । राज्यसत्ताको संरचनागत स्वरूपलाई हेर्ने हो भने एक केन्द्र र अनेक तत्लो वा मातहतका तहहरू हुन्छन् । तिनका पदवीरू पनि त्यस्तै हुन्छन्; जुन ख्रिश्चियन चर्चमा स्थापित पदक्रममा आधारित व्यवस्था हो । यसको ठीक विपरीत आदिवासीका तत्लो वा माथिल्लो तह र सत्ता हुँदैनन् । यिनीहरूका प्रत्येक गाउँहरू स्वतन्त्र र आफै सत्ता हो; जसको पदक्रम र छनौट विधि आधुनिक राज्य भनिएका चर्चको पदक्रममा आधारित व्यवस्थाभन्दा फरक रहेका हुन्छन् ।

    उदाहरणको लागि- नेपाल देशको केन्द्रीय सत्ता काठमाडौंमा रहेको छ । प्रधानमन्त्री कार्यकारिणी पद हो । केन्द्रको मातहतमा प्रदेश र प्रदेशको मातहतमा स्थानीय निकायहरू रहेका छन् । तामाङको व्यवस्थालाई हेर्ने हो भने सबैभन्दा माथिल्लो केन्द्र प्रत्येक ह्युल (गाउँ) आफै हुन् । यसप्रकार तामाङले एक केन्द्रवादलाई अस्वीकार गर्दछ । एक केन्द्रवादको ध्येय भनेको काठमाडौंलाई केन्द्र साथै प्रदेशहरूका मातहतमा ह्युल(गाउँ)लाई सबैभन्दा तल्लो तहमा सीमित गर्नु हो । तामाङ व्यवस्थामा चाहिँ प्रत्येक ह्युल आफै केन्द्र हुनुभनेको एक केन्द्रवादलाई भत्काउँदै बहुल केन्द्रवादलाई स्वीकार्नु हो । वास्तविक लोकतन्त्रको अभ्यासलाई मान्यता दिनु हो ।

 स्वतन्त्रता, समानता तथा पहिचानको प्रसङ्ग

    विश्वले राजनीतिको कारण विश्वयुद्ध लगायत नरसंहारक अनेक द्वन्द्वहरू झेल्नुपर्‍यो । अन्ततः स्वतन्त्रता, समानता तथा पहिचानको विषयलाई फ्रीडम, इक्वालिटि तथा फ्रटानिटि/डिग्निटी भन्दै तीन मुख्य बुँदाहरूलाई अघि सारेका थिए । यी तीन तत्त्वहरू लोकतान्त्रिक राज्यको लागि अपरिहार्य हुन् । यसप्रकार राज्यका लागि यिनलाई सबैभन्दा पहिलो शर्त मान्नुपर्ने हुन्छ तर त्यसरी कसैले लिएका र बुझेका उदाहरण बिरलै पाइन्छन् । यद्यपि यी तीनमध्ये स्वतन्त्रतालाई मात्रै लिएर उदारवादीहरु देखापरे । तिनैलाई प्रजातान्त्रिक शक्ति वा पार्टीको रूपमा लिन थाले । त्यही पार्टी नेपालमा आइपुगेपछि नेपाली काङ्ग्रेस भएको छ तर यस पार्टीले समानता तथा पहिचानको विषयलाई पूर्णतः बेवास्ता गर्‍यो; जुन गम्भीर आपत्तिजनक साथै कमजोरी थियो । त्यही कमजोरीलाई दोहोर्‍याउँदै समानता भनिएको बुँदालाई मात्रै लिएर कम्युनिष्ट शक्ति उदायो । त्यसले स्वतन्त्रता र पहिचानलाई पूर्णतः बेवास्ता गर्दै आयो । अन्ततः पहिचान नामक बुँदा उल्लेखित दुवै शक्तिले लिएनन् । त्यसरी नलिनुको कारण चाहिँ लिन नसक्नु नै थियो । स्वतन्त्रताको प्रसङ्ग मुख्य भएपछि समानता र पहिचान स्वतः ओझेल पर्ने रहेछन् । त्यस्तैगरी समानता मात्रै भन्दाखेरि स्वतन्त्रता र पहिचान लुप्त हुँदारहेछन् ।

    स्वतन्त्रता र समानताको सट्टा पहिचान त्यस्तो विषय रहेछ; जोसँग स्वतन्त्रता र समानता स्वतः छायासरि सँगै आउँदोरहेछ । त्यस्तैगरी पहिचानलाई मुख्य विषय बनाउँदाखेरि चाहिँ स्वतन्त्रताको नाममा आफूलाई शासक बनाउन रैथानेमाथि ज्यादति लाद्न नसकिने तथा समानताको नाममा व्यक्तिवादी शासकीय व्यवस्थालाई तह लगाउन नसकिने रहेछ । त्यही भएर स्वतन्त्रता वा समानतामध्ये कुनै एकलाई मात्रै मान्नेहरू धोकेवाज तथा आफू शासक बन्नको लागि रैथाने (पहिचानवादी)लाई शासित बनाउनेहरू रहेछन् भन्ने स्पष्ट हुन्छ । यही तथ्यलाई आजसम्म पनि नेपालमा स्पष्ट पारिएन वा पार्न चाहेनन् वा स्पष्ट पार्न सक्ने कोही व्यक्ति वा शक्ति वा समुदाय देखिएनन् । यद्यपि विश्वजगत् हुँदै नेपालमा यसको छनक देखिएको छ । असली पहिचानवादीहरू एदाकदा देखिन थालेका छन् । यसो भन्दै गर्दाखेरि पहिचानवादी भनी दाबी गर्दै आएका शक्तिका कुरा आउँछन् । खासमा तिनीहरू असलियत्मा पहिचानवादी हुँदै होइनन् । तिनीहरू त स्वतन्त्रता र समानतावादीद्वारा स्थापित राज्यसत्तामा आफ्नो निमित्त थप एउटा कुर्सी चाहने मात्रै हुन् ।

    असली पहिचानवादीले त स्थापित राज्यसत्तालाई भत्काउन आवश्यक देख्नु पहिलो शर्त हो । राजाद्वारा स्थापित हुन् या कुनै व्यहोराबाट हुन्; राज्यसत्ता भनेको रैथानेलाई शासित बनाउने अस्त्र हो । त्यसैले राज्यसत्ताको ध्वंस बिना पहिचानको एक पाइला पनि शुरू हुने छैन । हुन त यी तीन वटै बुँदाका अनुयायीका अन्तिम लक्ष्य राज्यविहीनता नै हो । उदारवादीहरूका अनुसार नागरिकका लागि सम्पूर्ण आवश्यक बस्तुका उत्पादन गर्ने निश्चित ठूला कम्पनीहरू हुनेछन् । समाज उपभोक्तावादी चरणको चरमोत्कर्षमा पुगेपछि राज्यको आवश्यकता रहँदैन । त्यसपछि राज्यविहीनताको स्थिति सिर्जना हुन्छ तर नेपाली परिवेशमा नेपाली काङ्ग्रेसको स्वघोषित महान् नेता कहलिएकाहरू नै यो तथ्यदेखि अनभिज्ञ रहनु लज्जास्प्रद विषय हो ।

    त्यस्तैगरी समानतावादी (मार्क्सवादी)हरूका अनुसार शोषक वर्गबाट गरिखानेवर्गले राज्यसत्ता हात लिनेछन् । त्यसपछि राज्यविहीनतासहितको साम्यवादमा पुग्नेछ । पहिचानवादीहरू भने यहीनेर अलिक फरक मत राख्छन् । उनीहरूका अनुसार एक केन्द्रवादमा आधारित उच्च, मध्य र तल्लो तहमा आधारित राज्यसत्ता राजनीतिमा आधारित रहेका छन् । तिनका सट्टामा अब बहुल केन्द्रवादी, तहगत साथै चर्चहरूमा प्रचलित पदीय व्यवस्थाको अन्त्य गर्दै स्वशासनको घोषणा अनि अभ्यास थालिनेछ । त्यसपछि राज्यसत्ता र तिनका कथित सीमानाहरू निष्क्रिय हुनेछन् । त्यसपछि राज्यविहीनतामा पुगिनेछ ।

    पहिचानवादीहरू तामाङ लगायतका समुदायलाई राष्ट्र मान्छन् । यस्ता राष्ट्रलाई स्वशासनको पूर्णअधिकार रहेको दाबी गर्छन । प्रत्येक राष्ट्रहरू स्वतन्त्र र स्वायत्त रहेका विश्वास गर्छन् । पहिचानलाई द्वन्द्वको जड वा कारण नभएर आपसी सम्मानसहित स्वशासनको प्रसङ्ग मान्छन् । राजनीतिक राज्यसत्ताको सट्टा सम्बन्धित राष्ट्रको मौलिक सामाजिक सांस्कृतिक संस्थाहरून्तर्गत सञ्चालित हुने व्यवस्थाको रूपमा अभ्यास थाल्नुपर्नेमा जोड दिन्छन् । सबै राष्ट्रहरूले आ-आफ्नो हैसियतमा सीमित रहने तर अन्यलाई दखल नगर्ने कसम खान आवश्यक ठान्छन् । अरूलाई आफ्नो व्यवस्था लाद्दैनन् अनि अरूद्वारा लादिने कुनै पनि दासतालाई अस्वीकार गर्छन् । यही तथ्य बुझाउन नसक्नु वा बुझाउन सक्ने व्यक्ति (विशेषज्ञ) वा शक्तिको अभाव अहिलेको पहिलो समस्या हो ।

 प्रतिनिधि छनौट विधि

    हरेक व्यवस्थाले निश्चित प्रतिनिधि पात्र आवश्यक मान्दछन् । त्यस्ता पात्रको काम, कर्तव्य र अधिकार पनि निश्चित गर्दछन् । आधुनिक राज्यले राजनीतिक रूपमा चुनावलाई प्रतिनिधि छान्ने माध्यम भनेर स्वीकार्दछन् । त्यसरी जनताद्वारा उम्मेदवारलाई मत दिएर जिताउनुलाई लोकतन्त्र भन्दछन् । जो कोहीले चाहेको खण्डमा चुनावमा भाग लिन पाउनुलाई पनि स्वतन्त्रतासँग जोडेर हेर्दछन् तर आदिवासी राष्ट्रले चाहिँ आधुनिक राज्यसत्ताद्वारा गरिने चुनावलाई अस्वीकार गर्दछन् । उनीहरूका अनुसार चुनावले लोकतन्त्रभन्दा धेरै निरङ्कुश शासक जन्माउँछ । जो कोहीलाई चुनावमा उम्मेदवार हुने रहर लाग्यो भन्दैमा त्यस्तो रहरलाई पूरा गर्ने अवसर दिनु चाहिँ लोकतन्त्र होइन । त्यो त अराजक तथा सनकीतन्त्र मात्रै हो ।

    यस्ता चुनावमा कैयन्का जमानत समेत जफत हुन्छन् । त्यस्ता व्यक्तिका उम्मेदवारी लोकतन्त्र भन्दापनि समुदायलाई अल्झाउने र अल्मलाउने जस्ता अपराध मात्रै हुन् । हरेक चुनावमा पैसाको खोलो बगाउँदै आएका छन् । यो तथ्य कसैबाट कहिल्यै छिपेको पनि छैन । अघिल्लो चुनावमा के. पि. ओलीद्वारा स्रोत नखुलेको अथाह रकम खर्च भएको भन्ने आरोप लागेकै थियो । चुनावपछि कतिपय नेताले आफ्नै पार्टीको नेता ओलीलाई प्रश्न गरेका भन्ने पनि सुनेकै थियौं । यसपालिको चुनावअघि देश कङ्गाल हुँदैछ भन्ने खुलासा भएकै हो । चुनावमा सांसद्हरूले तीनदेखि पाँच करोडसम्म खर्च गरेका भन्ने सुनेपछि निर्वाचन आयोगले स्पष्टिकरण मागेको भन्ने पनि सुनेकै हौं । आफूले जितेमा स्वच्छ अन्यथा धाँदली भएको भन्ने आरोप प्रत्येक चुनावमा संलग्न दल तथा नेताहरूले लगाउँदै आएका छन् ।

    आदिवासी राष्ट्रसँग चुनाव भन्ने नै थिएन । चुनावको अभ्यास राजनीतिक रूपमा राज्यसत्ताद्वारा लादिएको व्यवस्था हो । चुनावको विश्व इतिहास पनि निकै छोटो रहेको छ । आज चुनावलाई सबैभन्दा लोकतान्त्रिक उपाय भन्नु चाहिँ घामलाई जून र जूनलाई घाम भन्नु सरहको तर्क हो । पहेँलो सबै सुन हुँदैन । सुन आफै पनि नम्बर मात्रै हुँदैनन् । माइली, साइली र कान्छी पनि हुन्छन् । त्यस्तैगरी चुनाव भनेको लोकतान्त्रिक उपाय हुँदै होइन । यही दाबीलाई पक्षपोषण हुने गरी केही वर्षअघि चीनियाँ एकजना प्रोफेसरले तथ्य खुलासा गरेको थियो । उनले पश्चिमा उदारवादी प्रणालीको चुनाव कुनै पनि हालतमा लोकतान्त्रिक नभएको दाबी गरेको थियो । सोहीक्रममा चीनमा सबैभन्दा तल्लोतहदेखि क्रमशः जनताद्वारा निर्वाचित हुँदै माथिल्लो तहसम्म पुग्ने प्रणाली मात्रै साँच्चैको लोकतान्त्रिक अभ्यास भएकोमा जोड दिएका थिए ।

    उक्त दाबीलाई एक हदसम्म स्वीकार्न सकिन्छ तापनि आदिवासी राष्ट्र चाहिँ चुनावको अवधारणा विकास हुनुभन्दा धेरै अघिको अवधारणाबाट सञ्चालित थियो । उदाहरणको लागि तामाङ ह्युलको लागि चोहो छनौट गर्ने मौलिक विधि थियो । गाउँका सम्पूर्ण सदस्य परिवारका कम्तिमा एकजना सदस्य साथै सम्भव भएमा सबै सदस्यहरू निश्चित दिन तोकिएअनुसार भेला हुन्थे । गाउँलेद्वारा आफ्नो लागि उपयुक्त पात्रलाई चोहोको पदमा रहेर काम गर्न अनुरोध गर्थे । त्यसरी अनुरोध आएपछि सम्बन्धित व्यक्तिले अस्वीकार गर्दैनथे । कथंकदाचित चोहोको लागि रहर गर्ने कोही एक वा सोभन्दा बढी व्यक्ति देखापरेको खण्डमा; जसको पक्षमा धेरै गाउँले देखिन्छ; उसैलाई चोहो बनाउँथे । आफ्नो पक्षमा जनसमर्थन कम भएको भन्ने थाहा पाउने बित्तिकै सम्बन्धित आकाङ्क्षी पछि हट्थे । त्यसरी म चोहो हुन्छु भन्ने व्यक्ति बिरलै देखापर्दथे । त्यसरी देखापर्नुलाई शुभसङ्केत पनि मान्दैनथे ।

    त्यसैले गाउँले आफैले उचित पात्रलाई चोहोको जिम्मेवारी दिन्थे । उनैका रोहबरमा गाउँले सबैका समुपस्थितिमा विधि विधान बनाउँथे । आफैले बनाएको हुनाले विधि विधान सबैलाई थाहा हुन्थ्यो । उल्लङ्घन गर्ने क्रम पनि कम हुन्थ्यो । प्रत्येक वर्ष चोहोलाई ह्युलछोS(गाउँलेसभा)ले अनुमोदन गर्दथ्यो । एक जना चोहोलाई तीनवर्षसम्म अनुमोदन गरिसकेपछि सकेसम्म अर्कै व्यक्तिलाई चोहोको जिम्मेवारी दिन्थे । साह्रै राम्रो काम गरेको चोहो छ र अन्य व्यक्ति देखापरेन भने तीन वर्ष थप गर्दै नौ वर्षसम्म चोहो बनाउँथे । नौ वर्षपछि अनिवार्य रूपमा अर्कै परिवारको सदस्यलाई चोहो बनाउँथे । चोहोले गल्ती गरेमा सचेत गराउने; नसियत दिने; सजाय गर्ने; पदबाट फिर्ता बोलाउने र ठूलै अपराध गरेको खण्डमा गाउँलेद्वारा सेरकेम गरी क्षमापूजा समेत गर्ने गरेका पाइन्छन् । त्यसरी छानिएको चोहो शासक नभएर हेरालु वा गोठालो जस्तो मात्रै हुन्थ्यो । कुनै पनि निर्णय लिने वा नयाँ विधान बनाउने वा प्रचलित विधि विधानमा थपघट गर्नुपरेको खण्डमा गाउँलेसभाले मात्रै गर्न सक्थ्यो । त्यतिखेर चोहो त केवल प्रवक्ता भनेजस्तै मात्रै हुन्थ्यो । यसप्रकार चुनावी व्यवस्था भन्दा पनि चोहो व्यवस्था धेरै नै लोकतान्त्रिक तथा प्रकृतिमैत्री भएकोमा द्वीमत गरिरहनुपर्दैन ।

 रैथाने तथा स्थानीयताको अवधारणा

    रैथाने र स्थानीय दुई फरक अर्थ सहितका शब्द हुन् । यी दुईका अर्थमा व्यापक अन्तर हुने हुनाले प्रयोगको क्रममा गरिने सानो पनि ठूलो गल्ती हुने गर्दछ । रैथानेहरू स्थानीय पनि हुन् तर स्थानीयहरू रैथाने होइनन् । रैथानेहरूलाई स्वशासन (आफ्नो मौलिक व्यवस्थाअनुसारको शासन व्यवस्थाको घोषणा तथा अभ्यास गर्न पाउने)को अधिकार हुन्छ । त्यसको विपरीत स्थानीयलाई त्यस्तो सुविधा प्राप्त हुँदैन । उदाहरणको लागि सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिका वडा नं. ७ नागी गाउँको तामााङ राष्ट्र रैथाने हुन् तर त्यहाँ पछि बसाइँ सरेर आएका तामाङइतरहरू स्थानीय मात्रै हुन् । काठमाडौं शहरमा पछि बसाइँ सरेर आएकाहरू नेवार तथा तामाङइतरका सबै समुदायहरू स्थानीय हुन् तर रैथाने होइनन् । यही तथ्यदेखि अनभिज्ञ रहनु र त्यही अनभिज्ञताबीच रैथानेलाई पनि स्थानीय र स्थानीयलाई पनि स्थानीय भनेर व्यवहार गर्नु घोर अलोकतान्त्रिक कार्य हो । सिन्धुलीकै सुनकोशी गाउँपालिका अन्तर्गतको अमारेको रैथाने चाहिँ थापा (सहितका अन्य केही) हुन् । त्यहाँ यसपछि कोही तामाङले बसाइँ सरेर गएमा ऊ त्यस गाउँको स्थानीय मात्रै हुनेछ । यही प्रसङ्गमा महाभूल गर्नाले लोकतान्त्तिकीकरण प्रक्रिया स्वतः अलोकतान्त्रिक साबित भएको

 चुनाव र राजनीतिक दलहरू

    यो लेख विशेषतः राजनीतिक चेत, प्रकृति तथा संस्कृतिसँग सम्बन्धित रहेको छ । विषयगत रूपमा स्पष्ट पार्ने क्रममा चुनाव र राजनीतिक दलहरूका प्रसङ्गलाई पहिले प्रष्ट्याउन जरुरी मानिएको छ । यतिखेर स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सञ्चालन गरिएको स्थानीय चुनाव आफै रैथाने र स्थानीयको अवधारणादेखि बेखबर देखिएको छ । यसले रैथानेका हैसियत र अधिकारको सुनिश्चितता साथै तिनका व्यवस्थाबारे एक शब्द पनि नबोल्नु नै रैथाने र स्थानीयको अवधारणादेखि बेखबर रहनुको बलियो प्रमाण हो । यस्तैगरी राजनीतिक दल तथा तिनका सैद्धान्तिक/दार्शनिक पक्ष पनि पूर्णतः बेवास्ता गरिएका देखिए । कोही कसैले पनि सैद्धान्तिक/दार्शनिक पाटोप्रति ध्यान दिएका र अध्ययन गरेका प्रमाण पाइएनन् । आमजनमानसमा पनि सैद्धान्तिक/दार्शनिक पक्ष हुन्छन् र बुझ्न आवश्यक छ भन्ने ज्ञान रहेको पाइएन । कार्यकर्ताहर पनि यस विषयमा अनविज्ञ नै देखिए ।

    केही यस्ता मानिस (विशेषतः युवाहरू) देखिए; जसलाई चुनावी र्‍याली वा प्रचारप्रसारमा जानु थियो । त्यसरी जानुको अर्थ प्रचारप्रसारभन्दा पनि हुलमूलमा संलग्न भएर दिनभरिको लागि खैनी र चुरोटको जोहो गर्नु थियो । मासु चिउरा र रक्सी पिउनु थियो । त्यसैले कुन दलको भन्दा पनि जुनसुकै दलको भएपनि फरक परेन तर साथ लागेर कुदनु थियो । त्यसैले दिनैपिच्छे फरक फरक दलका चुनावी कार्यक्रममा भाग लिन घरबाट निस्किरहे । दिनभरि करायो; साँझसम्ममा रक्सीले झ्याप भयो अनि नेताद्वारा पैसा तिरायो । सकियो ।

    चुनाव यतिसम्मन् बेर्मी देखियो कि शरम् भन्नेले नै शरम् मानेर बेर्मी भइसकेको देखियो । एकाध कार्यकर्ता लाजले पानी देखिन्थे । अवाक देखिन्थे । कतातिर झर्दैछौं भनेर चिन्तित थिए तर तिनका दशा बुझ्ने मानिसको सख्त अभाव खटि्कइरहेको थियो । त्यस्ता दृश्यले चुनावको विरुद्धमा बहस थाल्न ढिलो नगरौं भन्ने सन्देश त दिइरहेकै भएपनि महशुश गर्न सक्ने मानिस एकजना पनि देखिएन । यो अति संवेदनशील थियो । यतिखेर चुनाव सम्पन्न भइसकेको छ तर कसरी भयो भन्ने प्रश्नको उत्तर पनि कसरी भयो नै रह्यो ।

 स्थानीय चुनाव : गठबन्धनका कारण, आवश्यकता र असर

    आफ्नो गाउँबस्तीको विकासे योजना तय तथा सञ्चालन गर्न गराउनको लागि प्रतिनिधि छान्नु नै स्थानीय चुनाव हो । दुःखद् पक्ष चाहिँ शब्दगत रूपमा स्थानीय चुनावले रैथाने शब्दलाई पहिचान गरेको फिटिक्कै देखिएन  । यो चुनावमा पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धन एक पक्ष र अर्कोतिर एमाले नामक दल देखियो । मुख्यतः यी दुईका बीचमा चुनाव थियो । पाँच दलीय गठबन्धनको बारेमा गठबन्धनभित्रकै अधिकांश नेता तथा कार्यकर्ताहरू अनविज्ञ भेटिए । प्रायःलाई गठबन्धन थाहा थिएन । गठबन्धन शब्द सुन्नुपर्दा पनि ढल्न खोज्दै थिए । आफ्नो रगत र वंशमा फलानो दलको रगत र आणुवांशिकी रहेको छ भन्नेहरू राजनीतिक चेत, प्रकृति र संस्कृतिदेखि लाखौं प्रकाशवर्ष दूर अल्मलिइरहेका थिए ।

    खासगरी देशमा के. पि. ओली र प्रचण्डको मिलनबाट करिब दुईतिहाइ हाराहारी शक्तिसहित कम्युनिष्ट भन्नेहरू सत्तामा पुगेको थियो । ओली कम्युनिष्टबाट च्यूत हुँदै बिस्तारै बिस्तारै ओलीतन्त्रतिर ढल्किँदै गयो भन्ने लाग्न थालेपछि प्रचण्ड मात्रै नभएर माधवकुमार नेपाल जस्ता नेताहरु ओलीसँग रुष्ट भए । ओलीले चुच्चे नक्शा बनायो तर पाठ्यक्रमबाट हटाउन लगाएर आफै धामी आफै बोक्सा बनेर देखायो । सत्ता सञ्चालनमा मनपरी गर्न थाल्यो । आफैलाई निरङ्कुश राजाको दर्जामा उभ्यायो । भन्छन्, एक लिटर पानीलाई हजारौं तिरेर पिउने बानी बसाल्यो । नब्बे हजार पर्ने नुहाउने साबुन प्रयोग गर्न थाल्यो । संवैधानिक निकायदेखि हरेक क्षेत्रमा आफ्नो आसेपासेहरूलाई नियुक्त गर्न थाल्यो । बालुवाटार जग्गा काण्डदेखि गोर्खाभूकम्प, ७२ साथै कोरोनालाई कार्यकर्ता पोस्याउने अवसरको रूपमा लियो । परिणामतः देश श्रीलङ्का जस्तै असफल हुने प्रवलता अकल्पनीय रूपमा बढिसकेको छ । यस्तै आरोप लगाएका देखिन्छन् ।

    यस्तैमा नागरिक समाजले ओलीको छाला काढ्दै थियो । पाँच दलीय गठबन्धनको कारण ओली बालुवाटारबाट लखेटियो । फलस्वरूप गठबन्धनको सरकार बन्यो । गठबन्धनको सरकारले स्थानीय चुनाव गर्नुपर्ने भयो । चुनावमा एक्ला-एक्लै कि गठबन्धन गरी जाने भन्ने बहस चल्दा-चल्दै गठबन्धन नै गर्ने अन्तिम निर्णयमा पुगेका थिए । त्यसरी भएको वा गरिएको गठबन्धनको आवश्यकता र कारणलाई स्थानीय तहका जनता त परै राखौं दलको होनाहार, खुङ्खार साथै जब्बर नेता कार्यकर्ता भन्नेहरूले नै फिटिक्कै बुझ्न सकेनन् । आफ्नो दलले गठबन्धन गरे अरे भन्ने सुनेपछि शिर्षस्थ नेताहरूलाई सराप्दै आफू मात्रै दलको होनाहार नेता वा कार्यकर्ता रहेको बकबास ओकल्न पछि परेनन् । त्यसरी गठबन्धनको तथ्यगत आवश्यकता बुझ्न नसकेका कथित नेता तथा कार्यकर्ताहरूले चुनावी गठबन्धन आफैमा गठबन्धन भन्दापनि झूण्डिएर देहत्याग गर्ने उपाय भनेर बुझ्न थालेका रहेछन् । गठबन्धनमा रहेका शक्तिहरू बीच महाशत्रुतापूर्ण रोष उत्र्सर्जित गरिरहेका पनि रहेछन् । परिणामतः गठबन्धनमा रहेका शक्तिहरू नै उनीहरूकै भाषामा ओलीतन्त्रतिरै लिप्त दल तथा नेताहरूलाई नै राम्रा देख्न पछि परिरहेका थिएनन्

    आफ्नो शरीरमा सम्बन्धित दलको रगत मात्रै रहेको भन्न रुचाउने नेता कार्यकर्ताहरू पनि रहेछन् । तिनीहरू आफूलाई आफ्नो दलसँग पुस्तैनी तथा जन्मजात साइनो जोड्दै गर्व गर्दारहेछन् । दलको लागि शहीद हुन तयार रहेको ढोङ पनि पिट्दारहेछन् तर तिनीहरूले गठबन्धनको कारण तथा आवश्यकतालाई शून्य प्रतिशत महशुश गरे । त्यसैले तिनीहरू यतिसम्मन् बहिरा र एकोहोरो भएका रहेछन् कि आफ्नो दलले लिएको निर्णय तथा गरेको हि्वपलाई सुन्न सकिरहेका थिएनन् । दलको हितको नाममा अन्ततः व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुब्न पुगे । प्राण जान खोज्दा असहज महशुश त गरे तर कारणदेखि अनभिज्ञ रहे । स्वतन्त्र उम्मेदवारी दिने र त्यस्तालाई मत दिनुलाई आफ्नो इमान्दारीता ठाने । प्रतिगमणको प्रकरण साथै गठनबन्धनको कारण, आवश्यकता साथै महत्त्वलाई बुझ्न सकेनन् । अन्ततः आफू त डुबे डुबे; रूलाई पनि डुबाएर छाडे ।

    यस्तै रीतसँग गठबन्धनले पूर्ण सफलता प्राप्त गर्न सकेन । एकाध स्थानमा राम्रो नगरेकै पनि होइन तर प्रायःजसो बिगार मात्रै गर्‍यो/भयो । गौँथलीलाई लखेट्न आफ्नै घरको आगो लगायो । गौँथली त पहिल्यै उडेर गइसकेको थियो । त्यसैले आफ्नो घर मात्रै जलेर खरानी भयो । अझैसम्म पनि गौँथलीलाई भगाएर पुरुषार्थ देखाएका सपनामा मस्त छन् । यसप्रकार धेरै बिरालो भएपछि मुसा मार्दैनन्; बरु घरमा रहेका मासु तथा खानेकुरा चोरेर सिध्याउँछन् । अन्नका भकारीमा बिष्ट्याउँछन् । चुनावी गठबन्धनले यही तथ्यलाई पुनः उजागर गरिदिएको छ । यस्तो बेलामा एउटा दलबाट उम्मेदवारी दिएका र भोलिपल्टै अर्को दलमा प्रवेश गरेका बाइफले तथा बोकाहरूका प्रसङ्ग पनि त्यस्तै रहे ।

अन्तरदलीय सहकार्य र विश्वासको प्रसङ्ग

    खासगरी गठनबन्धनका दलहरूले राम्ररी आफ्नै नेता कार्यकर्ताका चित्त बुझाउन सकेनन् । स्वदलभित्रै अन्तर्घातको चरम्बिन्दू पनि देखिए । सिन्धुली जिल्ला, सुनकोशी गाउँपालिकाको वडा नं. ७ को हकमा आफूलाई स्वनामधन्य ठूलो नेता मान्नेले नै अन्तर्घात निर्लज्तासाथ गरे । आफूले पाउँदा सबै ठिक अन्यथा बेठीक मान्ने र दल बदल्नपछि नपर्ने पिपलपातेले आफ्नो आसपासेसहित अन्तर्घात गरेका अनेक प्रमाण भेटिए । यता नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस मात्रै थिए । अन्त तीन दलका पहिचान भएन । उपस्थिति भएका दुई दलका स्वनामधन्य नेता कार्यकर्ताहरू नै गठबन्धनका बारेमा स्पष्ट रहेनछन् । कोही बामगठबन्धन भन्दै थिए त कोही दुई दलका चुनाबी गठबन्धन मात्रै भनिरहेका थिए । वास्तविकतामा चाहिँ पाँच दलीय गठबन्धन नै रहेछ । तीन दलका कोही पनि नदेखिएपछि दुई दलकाबीच गठबन्धनलाई निरन्तरता दिएका रहेछन् । त्यसक्रमा बाम-लोकतान्त्रिक गठबन्धन भनेका रहेछन् । त्यही बाम-लोकतान्त्रिक गठबन्धन भन्ने वाक्यांश थाहा पाएका नेता शून्य प्रतिशतमा भेटिए ।

    यस्तो परिवेशमा अन्तरदलीय घात स्वाभाविक मान्नुपर्ने प्रकृतिको हुँदोरहेछ । विशेषतः माओवादी केन्द्र र काङ्ग्रेस दुवै दलमा आन्तरिक अन्तर्घातको व्यापक त्रासद देखिए । यी दुई दलले गठबन्धनका उम्मेदवारलाई साझा र हाम्रा भनेर हेर्न सकिरहेका थिएनन् । विशेषतः काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरू माओवादीकेन्द्रका उम्मेदवारलाई भोट दिनुभन्दा काङ्ग्रेस पार्टी नै छोड्न तयार देखिए । काङ्ग्रेस पार्टीको होनाहार हुँ भन्नेले स्वतन्त्र उम्मेदार बनेर देखा । जन्मजात काङ्ग्रेस हुँ भन्ने कतिपयले तिनैलाई भोट दिए । केहीले नश्लीयताको आधारमा एमालेका उम्मेदवारलाई मत ओइर्‍याए । त्यसरी मत ओइर्‍याउनेका खालमा माओवादी केन्द्रका केही नेता कार्यकर्ताका श्रीमती र आमाहरू पनि देखिए ।

    त्यस्तैमा चुनाव भइसकेके छ । सबैले भोट पनि हालिसकेका छन् । परिणाम पनि आइसकेको छ । परिणामले माओवादी केन्द्रका ठूला भनिएका र उम्मेदवारको दाबेदारहरूले घात-अन्तर्घात गरेका आरोप साबित गरेको छ । काङ्ग्रेसको उम्मेदवारहरू बीच विद्यमान देखिएका अहमताको सवाल र त्रास आंशिक सत्य प्रमाणित भएको छ । माओवादी केन्द्रका सच्चा नेता तथा कार्यकर्ताहरू डगमगाएनन् । अन्तरदलीय गठबन्धन तथा साझा उम्मेदवारलाई भोट हालेका स्पष्ट भएको छ तर एकाध कार्यकर्ता तथा आस्थावानहरूले चाहिँ काङ्ग्रेसका उम्मेदवारलाई भोट हाल्दा हात काँपेको सुनाए । यस्तैगरी काङ्ग्रेसको नेता कार्यकर्ताले गठबन्धनलाई न्यून मात्रामा सकारेका पाइयो । तिनीहरूले माओवादी केन्द्रका उम्मेदवार (विशेषतः वडाध्यक्ष)को सट्टा नश्लीय तथा छिमेकी नाता लगाउँदै एमालेका उम्मेदवारलाई सकारे । त्यस्तैगरी गठबन्धनकै साझा उम्मेदवारले नै माओवादी केन्द्रको वडाध्यक्ष उम्मेदवारलाई भोट दिए होलान् त भन्ने शङ्का उब्जियो । त्यसैले कार्यकर्ताहरूले भोट नदिनु कुनै अनौठो विषय भएन ।

     यसै सन्दर्भमा सुनकोशी गाउँपालिका वडा नं. ५ को अमारे मतदानकेन्द्रको मतदाताहरू मात्रै गठबन्धनमा पूर्ण प्रतिबध्द रहेका तर अन्यत्र विशेषतः वडा नं. ७ को मझूवा मतदान केन्द्रबाट मतदान गरेका काङ्ग्रेस नेता कार्यकर्ताले नराम्ररी धोका दिएका भन्ने मतदानको परिणामबाट स्पष्ट भइसकेको छ । परिणामतः माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारको हार भयो तर उनको प्यानलमा रहेको एकजना माओवादी केन्द्रकै सदस्य तथा नेपाली काङ्ग्रेसको तीन जना सदस्यहरू चाहिँ विजयी भएका छन् ।

स्वदलीय सदस्य साथै वैयक्तिक स्वार्थका परिणाम

    यसपालि स्वदलीय आस्था साथै वैयक्तिक स्वार्थको बिस्कुन सुकाइ अकल्पनीय रह्यो । यहाँ माओवादी केन्द्रको केही अगुवा नेताहरूप्रति आम जनमानसमा शङ्का व्यापक देखियो । आफूले पाउँदा माओवादी केन्द्र र नपाउनसाथ दल बदल्नेदेखि अन्तर्घात गर्नेमा फलाना फलाना हुन् भनेर निशङ्कोच बोलेका पनि देखिए । यो प्रसङ्ग साबिक ९ वटा वडाका जनजनका जिब्रोमा झुण्डिएका रहेछन् । शङ्कामा परेकाहरू आफ्नै तालमा देखिए । प्रतिकार गर्न गूटगत रूपमा लागि परेका पनि ह्वाङ्गै छ्याङ्गै रह्यो । प्रचारप्रसारको समीक्षा बैठकमा पनि गूट रहेका र एक गूटले आफूहरूमाथि उठाइका शङ्का चिर्ने प्रयास गरिरहेका थिए तर तिनीहरू शङ्का निवारण भन्दापनि शङ्का गर्नेहरूमाथि खनिएर आफू चोखिने प्रयासमा जुटिरहेका देखिन्थे

    परिणामतः एकले अर्कोमाथि शङ्का र चुक्ली लगाउनेहरूका भदौरेखहरे बढेकै थियो । वडाध्यक्षको उम्मेदवार आफै अन्यौलतामा फस्ने सम्भावना बढ्दै थियो । उनी साथीहरूलाई शङ्काको सट्टा विश्वास गर्न साथै इमान्दारितापूर्ण कदमको लागि अनुनय विनय गर्दै थिए । उता गठबन्धनमा संलग्न अर्को दल नेपाली काङ्ग्रेसको उम्मेदवारहरू पनि आपसी विश्वासको अभावमा रन्थनिइरहेका थिए । एकले अर्कोको विरुद्ध चुक्ली लगाएका भन्ने हल्ला तथा शङ्काका कारण असमन्जसमा देखिन्थे । तिनीहरू पनि चुनावी प्रचारभन्दा पनि आफू विरुद्ध लागेका आरोप चिर्नमा समय बढी खर्चन बाध्य देखिन्थे ।

राजनीतिक प्रकृति

    राजनीतिको लागि सबैभन्दा पहिलो शर्त राजनीतिक प्रकृति हो । राजनीति हुन त्यसको अवधारणा, दर्शन र सिद्धान्तसहित प्रकृति आवश्यक पर्दछ । प्रकृति त्यस्तो विधा हो; जसको उपस्थितिले राजनीति हो वा होइन भन्ने छुट्याउँदछ । त्यसैले दर्शन होस् या अवधारणा त्यसमा राजनीतिक प्रकृतिको आवश्यकता पर्दछ । त्यस्तैगरी नेता, कार्यकर्ता वा आस्थावानका लागि समेत यसको अपरिहार्यता मानिन्छ । नेपाली परिवेशलाई हेर्दा राजनीतिक भन्दा धेरै अराजनीतिक प्रकृतिको हाबी बढ्दै आएको महशुश गर्न गाह्रो छैन । यता गाउँघरमा त आस्था राख्ने त परैको भयो कार्यकर्ता र नेतामा पनि राजनीतिक प्रकृतिको खडेरी छ भन्दा फरक पर्दैन । फलस्वरूप राजनीति राजनीतिभन्दा बढी व्यक्तिगत स्वार्थमा डुब्दै गइरहेको भन्ने स्पष्ट भइसकेको छ । जो जसले राजनीतिलाई सामुदायिक स्वार्थ र सुरक्षाको विधा भनेर जत्ति नै नारा फलाकेतापनि राजनीतिको जन्म व्यक्तिगत स्वार्थको उपज नै थिय । त्यसैले पनि एउटै दलभित्र अनेक गूट उपगूट बेहोर्न बाध्य देखिएका छन् ।

    वि.सं. २०६३/०६३ को परिवर्तनपछि एक किसिमले चुनावमा सहभागीता जनाएकै थिएँ । संविधानसभाको दोस्रो निर्वाचन घोषणासँग व्यापक शङ्का बढेकै थियो । २०७२ मा संविधान जारी हुने बेलासम्ममा राजनीतिको वास्तविक चरित्र र यसको उदयको तथ्यगत कारण थाहा पाइसकेको थिएँ । त्यसपछि चुनाव त परैको कुरा राजनीतिदेखि पूर्णतः अलग भएको थिएँ । यसपालि पुनः विशेष कारणवश चुनावी माहौललाई नजिकबाट नियाल्न पुगेँ । यसक्रममा चुनावी माहौल तथा यहाँका मानिसका बुझाइ महशुश गर्न पाएँ । वास्तवमा यहाँ राजनीतिक प्रकृति बारे कोही पनि सही जानकारीमा नरहेका देखेँ । हुन त निकै अघिदेखि नै नेपाली राजनीतिज्ञमा नै राजनीतिक प्रकृतिको अभाव रहेको दाबी गर्दै आएको थिएँ ।

    राजनीति के हो ? दल र मैले आस्था राखेको दलको दर्शन के हो ? यसले समाजको विश्लेषण कसरी गरेको छ ? यसको अन्तिम लक्ष्य के हो ? यसले मानिसलाई कस्तो बनाउने उद्देश्य राखेको छ ? मेरो भूमिका के कस्तो रहनुपर्छ ? साथै राजनीतिक प्रकृति के हो ? यी प्रश्नहरू यताका लागि आवश्यक देखिएनन् । यहाँ त कसरी हुन्छ- हामीलाई भोट दिनुस् मात्रै रहेछन् । हामीले यस्तो गर्‍यौं । अब यस्तो गर्नेछौं । हाम्रो दर्शन यो हो र हामी यस्ता हुनु वा बन्नुपर्छ भन्नेतिर कसैले पनि ध्यान नदिँदारहेछन् । अध्ययनको खडेरी, दलीय प्रशिक्षण तथा शिक्षाको कमी साथै राजनीतिलाई व्यक्तिगत स्वार्थ पूरा गर्ने साधनको रूपमा मात्रै लिने गरिएका रहेछन् । त्यसैले राजनीतिक प्रकृतिको सम्बन्ध सचेत व्यक्ति वा नेता कार्यकर्ता दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्थाको सङ्ख्यामा रहेछन् । अर्को महत्त्वपूर्ण तथ्य चाहिँ कम्तिमा पनि स्थानीयसत्ता राजनीति वा दलीयताको घेराबाट बाहिर हुन्छ भन्ने प्रमाणित भएको वा गरेका देखियो ।

राजनीतिक संस्कृति

    राजनीतिक प्रकृतिको अभावमा संस्कृति फस्टाउने कुरै भएन । राजनीतिक संस्कृति भन्दा कुन चरीको नाम भनेर सोध्लान् कि भन्ने डर हुने रहेछ । यहाँ त फलनामा मेरो पक्षको वा मनपर्ने मान्छे हो । ऊ त्यो दलमा लागेको हुनाले म पनि त्यही दलको हुँ भन्ने प्रवृत्तिद्वारा अभिप्रेरित मात्रै रहेछन् । कोही चाहिँ फलना मलाई मनै पर्दैन । त्यसैले त्यो लागेको दलको विपक्षी दलमा लागेको हुँ भन्ने रहेछन् । यसप्रकार कोही रिसले, कोही आरिस वा द्वेषका कारण अनि कोही आसक्तिले त कोही आशै आशामा दलमा लाग्दरहेछन् ।

    एक दलबाट स्वार्थ पूरा नभएमा वा आफ्नो वैयक्तिक स्वार्थ पूरा नभएमा ठीक विपरीत मान्यतासहितको दलमा प्रवेश गर्न चाहिँ खुब जान्नेहरू रहेछन् । त्यस्तैगरी आफूले पाए राम्रो पार्टी; अन्यथा खराब पार्टी भन्ने रहेछन् । जन्मसिद्ध यही पार्टीको सदस्य हो । मेरा नशा नशामा यो पार्टीको रगत बगेको छ । यो पार्टीसँग मेरो वंशाणुगत सम्बन्ध रहेको छ भन्नेहरू पनि रहेछन् तर तिनीहरू नै आफ्नो व्यक्तिगत स्वार्थको लागि वा कुनै एक मनपर्ने वा कुरा काट्न नसकिने वा कुरा काट्न नमिल्ने मानिसका लागि रगत, जन्मसिद्ध र वंशाणुत सम्बन्धलाई लत्याउँदै पार्टीको निर्णय विपरीत कुद्न अलिकति पनि हिचकिचाउँदारहेनछन् ।

    त्यसप्रकार केही कसैका लागि आफ्नो दललाई घात/अन्तर्घात गर्ने; दल परिवर्तन गर्दै जाने; दल त्याग्ने र फर्कने; जाँडरक्सी र मासुका लागि दल फेर्ने वा लुकीलुकी विपक्षीसँग साँठगाठ गर्ने; चुनावमा एकातिर भन्दै भित्र-भित्रै अर्कैलाई भोट हाल्ने गर्दारहेछन् । गरीबका लागि काम गरेर खानु भनेर आएको एक बोरा चामल आफूले नपाउँदैमा विपक्षी शक्तिका ड्याङमा उभिन पुग्दारहेछन् । छोरा, छोरीलाई जागिर खुवाउन वा सरुवा बढुवाका लागि पनि दल त्याग वा प्रवेश गरिरहँदारहेछन् । प्रत्येक चुनावमा आफ्नै दलमै पनि पुनः पुनः प्रवेश गरिरहँदारहेछन् । राजनीतिलाई आफ्नो स्वार्थ पूरा गरिदिन नियुक्त गरेको नोकर ठान्दारहेछन् ।

    मै मात्रै सचेत, सजग तथा इमान्दार नेता वा कार्यकर्ता भन्नेले नै आफ्नो दलको निर्णय र त्यसको कारण नबुझ्दारहेछन् । आफूले अरू दलका उम्मेदवारलाई भोट दिनुभनेको आफूले अरू दलबाट पनि भोट पाउनु हो भनेर बुझ्नै नसक्तारहेछन् । यस्तै यस्तै चेत तथा बुझाइ अनि व्यवहारले यहाँ राजनीतिक संस्कृतिको खडेरी रहेको तर खडेरी छ भन्ने पनि बुझ्न नसकेर रोइलो गरिरहेका देखि

नश्लीय चेत तथा राजनीतिक/वैयक्तिक स्वार्थ

    यसपालिको चुनावमा नश्लीयताले यो वडाका बासिन्दाको मनस्थितिमा नकारात्मक असर गरेको स्पष्ट देखियो । यो तथ्यलाई गठबन्धनमा रहेका दुवै दलीय नेता र कार्यकर्ताले स्वीकार्दारहेछन् । विशेषतः मङ्गोल नेलशनल अर्गनाइजेसन भन्नेको यहाँ प्रवेश भएको रहेछ । जसले हिन्दू र अहिन्दू मूलबासीको प्रसङ्ग उप्काएको रहेछ । त्यसबाट हिन्दू हौं भन्नेहरूमा एक किसिमको खैलाबैला नै मच्चिएका भन्दा फरक पर्दैन । माथिल्लो क्षेत्रमा रहेका तामाङ लगायतका अहिन्दूहरूका माझबाट मङ्गोल भन्नेहरू उदाइसकेका रहेछन् । त्यसैले हामी पनि बेलैमा सचेत हुनुपर्छ भन्नेमा हिन्दू भन्नेहरूका मनमा विभिन्न प्रकारले सचेत गराएको देखियो । परिणामतः एमालेको कार्की थर भएको उम्मेदवारलाई दलीय तथा गठबन्धनको सीमा नाघेर भोट दिनुलाई प्रायःजसोले आफ्नो धर्म मानेको बुझ्न गाह्रो भएन ।

    नश्लीय चेतसहितको मङ्गोलका आफ्नै समस्या पनि देखिए । यहाँको समाजमा अत्यन्त न्यून प्रभावको कारण उम्मेदवार पाउन पनि निकै कठिन रहेछ । यद्यपि कतिपयका दिमाग भुट्न सफल जस्तो पनि देखिएका रहेछन् । त्यसको मुख्य कारण राजनीतिक रूपमा ठूला भनिएका दल तथा तिनका अगुवा नेताहरूका हर्कत मुख्य कारण रहेछ । त्यस्तैगरी अज्ञानताको फाइदा उठाउँदै मुर्ख बनाउँदैछन् भन्ने बुझ्न नसकेर पनि मङ्गोल भन्नेका कुरामा आकर्षित हुँदारहेछन् । यही चुनावी माहौल चलिरहेकै बखत तीनजनासँग कुराकानी गर्ने अवसर मिलेको थियो । यो के हो र कस्तो हो बुभाइदिनुपर्‍यो भनेर दुईजनाले भनेका थिए । एकजनाले यो नै हाम्रो रहेछ भनेर सुनाउँदै थियो । त्यसपछि आफूले सुनेको र बुझेको प्रसङ्गहरू सुनाएको थिएँ । त्यसपछि तिनीहरू अचेलका केटाकेटीका भाषामा भन्नुपर्दा प्ल्याट खाएका थिए ।

    नश्लीय चेतको गलत बुझाइका कारण राजनीतिक आस्थाका जग समेत हल्लिएका रहेछन् । कोही हौसिएका त कोही अत्तालिँदै रहेछन् । विशेषतः तामाङ र मगरमा यसले आश जगाएको जस्तो देखियो तर क्षेत्री र बाहुन हौं भन्नेहरू तर्सिएका र अब हामी पनि सङ्गठित हुनुको विकल्प छैन भन्नेमा पुग्दै गरेका देखिय । यस्तो सोचले पहिचानलाई गम्भीर समस्यामा फसाउँदै गरेको दृश्य स्पष्ट थियो । खासगरी पहिचान भनेको समस्या वा द्वन्द्वको जड वा कारण होइन अनि हुनु वा बनाइनु हुँदैन पनि ! यसको विपरीत यतातिर हिन्दू र अहिन्दूबीचको कित्ताकाट गर्ने हतियारको रूपमा पुष्टि गर्न लागिपरिरहेका देखिए । यहिनेर एकै क्षण स्थानीयका आवाज सुन्दाखेरि मझूवा, गैरीगाउँ र डाँडागाउँका हिन्दू (क्षेत्री भनिएका खस तथा बाहुन भनिने आर्य)हरूबाट चालिसे गाउँका गोलेहरूलाई कति नमस्कार गर्नु भन्ने रोदन डडेलोसरि फैलिँदै गएको रहेछ । चालिसे र नागीतिरका तामाङ र मगर लगायत केही राष्ट्र (समुदाय) भने क्षेत्री र बाहुनले हामीलाई कसरी लत्याएर चुनाव जित्दारहेछन् भन्दै बसेका देखिए । यसलाई सडक विस्तारको योजनाहरुले थप मलजल गरेको पाइयो । स्पष्ट रूपमा आदिवासी र क्षेत्री बाहुन भन्नेहरूका बीचमा सडक कताबाट लाने भन्नेमा अलग मतहरू रहेछन् । यति हुँदा-हुँदै साविक ८ नं. (तामाङ) र ९ नं. (थापा, जोगी तथा भुजेल)का बीचमा गहिरो नाता सम्बन्ध कायम रहेको पाइयो । यिनीहरूबीचमा शङ्का र द्वेष भन्दा भातृत्वभाव धेरै राम्रो रहेको देखियो तर यसपालिको वडाध्यक्ष पदमा कार्की थरको उम्मेदवारले जित्नु र मङ्गोल नश्लीय उम्मेदवार(तिनीहरूकै भाषामा भन्नुपर्दा)ले हार्नुको कारणहरूमध्ये एक चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन भन्ने पार्टी नै रह्यो ।

    खासगरी पहिचान त विभिन्न राष्ट्र (समुदाय)का बीचको आपसी सम्मानको आधारमा अधिकार प्राप्तिको प्रसङ्ग मात्रै हो । आ-आफ्नो स्थानमा ऐतिहासिकताको आधारमा मौलिक पहिचानको साथ सगौरव आ-आफ्नो कद (साइज)मा रहेर आफ्नो भाग प्राप्त गर्ने वा दिलाउने उपाय हो । त्यस्तैगरी कुनै पनि दल देश निर्माणको लागि हुनुपर्दथ्यो तर यता पनि दललाई दाजुभाइ तथा घर परिवारलाई फुटाउँदै भाँडभैलो गराउने साधनको रूपमा विकास गर्दै अघि बढेको स्पष्ट देखियो । यसप्रकार समाजमा वैयक्तिक स्वार्थको चरम् चुली चुलिँदै साथै मानवताको हिमाल पहिरोको कारण चुरेभन्दा पनि होचिन थालेको स्पष्ट देखियो । फलस्वरूप आपस सद्भाव, समभाव, विश्वास तथा सहयोगको सट्टा कहल तथा द्वेषपूर्ण महाव्याधिको प्रवलता बढेको मात्रै पाइयो । 

निर्वाचन आयोगको भूमिका

    कुनै पनि निर्वाचनमा निर्वाचन आयोगको भूमिका महत्त्वपूर्ण हुने नै भयो । निर्वाचन शब्द संस्कृतबाट ल्याएका हुन् । यसलाई आमबोलीमा चुनाव भन्ने गरिएको छन् । प्रतिनिधि चुन्ने हुनाले चुनाव भनेका भन्ने स्पष्ट रहेको छ । निर्वाचन भनेको आदिवासी वा मौलिक रैथाने अवधारणा होइन । यो त गोरा नश्लका युरोपियनहरूद्वारा स्थापित हो । चुनावको इतिहास तीनसय वर्ष मात्रको देखिन्छ । नेपालमा वि.सं. २०१५ सालदेखि निरन्तर चुनाव हुँदै आएको छ । विश्व इतिहासलाई हेर्ने हो भने महिलाले चुनावमा भाग लिनको लागि धेरै सङ्घर्ष साथै समयसम्म पर्खनुपरेको थियो । यहाँ चाहिँ यसपालि सम्पन्न स्थानीय चुनावमा केही यस्ता प्रसङ्गहरू माथि सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

मतदाता शिक्षाको कमि :  मतदाताका लागि आयोगद्वारा शिक्षा दिनुपर्ने एक किसिमको मान्यता रहेको छ । यसपालि मतदाता शिक्षाको लागि निर्वाचन आयोगबाट कोही आए त भनेर यताका मतदातालाई सोध्दाखेरि कोही आए भनेर उल्टै प्रतिप्रश्न गर्दै थिए भन्ने गुनासो देखियो । त्यस्तैगरी चुनावमा सहभागी दलहरूले घरदैलो कार्यक्रम अन्तर्गत मत माग्दै भोग हाल्ने तरिका सिकाइरहेका भेटिए तर घरका सबै सदस्यहरूलाई त्यसरी सिकाउन सम्भव थिएन । त्यसैले निश्चित कार्यकर्ताहरू मार्फत पुनः सिकाउने र घरका सदस्यले अन्यलाई सिकाउने पनि गरेका रहेछन् । यद्यपि कतिपयका लागि निकै कठिन साबित भए किनकी मतपत्र यत्ति ठूलो र चिह्नहरू यत्ति धेरै थिए कि; जसले गर्दा प्रायःजसो त मतपत्र देख्दै अत्तालिँदारहेछन् । मतदाता शिक्षाको तरिका र बुझाइदिनेको कमि त छँदै थियो । फलस्वरूप धेरै मत बदर भए ।

प्रविधिगत कमजोरी : प्रविधिगत रूपमा पनि नेपाली चुनाव निकै कमजोर रहेकै छ । विद्युतीय मतदानको प्रयोगको प्रसङ्ग छोडौं; कुरा सुन्दैमा सम्भव हुँदैन होला भनेर शङ्का गर्नुपर्ने परिवेश रहेको छ । कैयन् मतदाता विदेशमा छन् । कतिपयको उमेर पुगिसकेका तर मतदाता परिचयपत्र छैन । कतिपय मृत्यु भइसकेका व्यक्तिका नाम चाहिँ रहेका पाइए । असक्तमैत्री व्यवस्था गर्न निर्वाचन आयोग लजाएको स्पष्ट देखिन्छ; जुन असाध्यै लज्जास्पद विषय हो । यस्तै कारणले मतदाता सङ्ख्या र मत खसेको सङ्ख्यामा खाडल देखिए ।

विधि (ऐन, कानून तथा आचारसंहिता) : चुनावसम्बन्धमा निर्वाचन आयोगले आचार संहिता र ऐन नियमका प्रसङ्ग कोट्याइरहेकै देखियो । दलहरू, नेताहरू तथा मतदाताहरूले सम्बन्धित आचार संहिता तथा ऐन नियमहरू पढ्न पाएकै रहेनछन् । नेपालमा यति धेरै ऐन, नियम, विनियम र आचार संहिता छन्; तर तिनीहरू आम नेपालीका बुतामा छैनन् । यस्ता यस्ता ऐन नियमहरू बनाएका छौं । पढ्नुस् भनेर प्रत्येक नागरिकलाई उपलब्ध गराउनु सरकारको दायित्व हो तर सरकारलाई त्यसरी उपलब्ध गराउनुपर्छ भन्ने ज्ञान छैन । यसले सरकार कति जिम्मेवारी रहेको छ भन्ने स्पष्ट पारेको छ तर पनि सरकारलाई लाज नलागेको देख्नुपर्ने आम नेपालीको बाध्यता हो ।

प्राविधिक समस्या : मतपत्र र चुनाव चिह्न अल्मल्याउने मात्रै नभएर अत्याउने खालको रहेछ । जति जना उम्मेदवार छन्; त्यति मात्रै चुनाव चिह्न राख्ने हो भनेपनि अकल्पनीय सहजता हुने देखिएको छ । खासगरी एक केन्द्रवाद साथै एकद्वार नीति जस्ता सडेको नीतिको कारण चुनाव प्राविधिक समस्यमा नराम्ररी फस्दै आएको छ । यस्तैगरी प्राविधिक शब्दावलीहरू पनि हिन्दू तथा नेपाली भनिएको भाषा अझै संस्कृत भाषाको प्रयोगले ढाकिएको छ । आमराष्ट्रिय भाषाहरूका प्रयोग गर्न राज्यसत्ता तिघ्रा कपाइरहेको स्पष्ट छ । स्वस्तिक चिह्न आफैमा आर्य नश्लसँग सम्बन्धित रहेको प्रसङ्ग यहाँ कोट्याइरहनु परोइन । जुन लोकतन्त्रको ठीक विपरीत तथ्य हो । अशक्तहरूलाई मतदान केन्द्र पुर्‍याउनको लागि यातायात सुविधा हुन राम्रो हुने हो तर अनेक बहानामा राज्यसलेत्ता चाहिँ मतदान केन्द्रतिर गाडी आउँदैछ भन्ने बित्तिकै आँत्तिएर स्वास रोकेर सोच्छ र तुरुन्त रोक्न आदेश दिन्छ भने त्यसलाई के भन्ने ?

कमजोरी : निर्वाचन, चुनाव वा इलेक्सन वा बालिक मताधिकार (एडल्ट फ्रेन्चाइज्)को अवधारणा नेपाली ज्ञानसत्ताको उपज होइन । यो त युरोपियन गोरा नश्लद्वारा स्थापित मान्यता हो । यसको सिधा सम्बन्ध चर्च (इसाइ)मा गरिएको पदीय क्रममा आधारित रहेको छ । चर्च र इशाइ आफै साम्राज्य तथा उपनिवेशवादी चरित्रको प्रसङ्ग हो । यो आदिवासी सामुदायिक राष्ट्रिय मान्यता र तिनको ज्ञानको संहारक वा हत्यारा अवधारणा हो । यसो भनिरहँदा चर्च र इसाइका विरोध गर्न खोजिएको भनेर कसैले सोच्छन् भने त्यो अर्को गम्भीर त्रुटी हुनेछ ।

    यसको विपरीत आदिवासी सामुदायिकतामा आधारित अवधारणा चाहिँ चुनाव होइन । उनीहका अनुसार चुनाव कहिल्यै, कसै गरेर पनि लोकतान्त्रिक हुनै सक्तैन । यो त सन्काहा तथा धुर्त चतुरहरूका अधिनायकत्व लाद्ने माध्यम मात्रै हो । चुनावमा मतदानको लागि गोप्य कोठा बनाएर देखाउँदैमा स्वतन्त्रता प्राप्त हुन्छ भन्ने तर्क गर्नु आमजनसमुदायलाई मुर्ख बनाउनु मात्रै हो । डर, त्रास, धम्की, ललाइ, फकाइ तथा आशा र भरोसा देखाएर मतदातालाई प्रभावित पार्न दल तथा उम्मेदवारहरू एक हिसाबले स्वतन्त्र हुन्छन् । मानिसका ज्यान जाँदा समेत न्याय नपाएका कैयन् उदाहरण छन् ।

    यस्तैगरी चुनावमा जनताले निश्चित चिह्न निश्चित दलको पेवाको रूपमा चिन्न बाध्य हुनुपर्दछ । दलहरू एउटै चिह्नको लागि मरिहत्ते गर्दछन् भने कसरी अग्रगामी र परिवर्तनकामी हुन सक्छन् । यसले यिनीहरू अत्यन्तै यथास्थितिवादी अनि परिवर्तनको तगारा शक्ति होइन कसरी भन्ने ? अर्को प्रसङ्ग यो पनि हो कि, चुनावमा निश्चित दल र तिनका दर्शन व्याप्त हुन्छन् । कुनै पनि निश्चित दलका निश्चित दर्शनबाट प्रभावित भइसकेपछि वा हुन अनिवार्य मानिन्छन् भने मतदाता स्वतन्त्र कसरी भए त ? यसप्रकार चुनाव आफैमा खराबहरूका प्रतिष्पर्धा भइरहेको स्थानबाट असललाई छान्न मतदातालाई उर्दी लगाइरहेको छ । यसले त खराबहरूमध्ये एउटालाई छान्न आदेश दिइरहेको भन्ने पो भइरहेको छ नि !

    चुनाव भनेको सत्ता, शक्ति र पैसाको खेल भन्ने कसलाई थाहा छैन । चुनावमा हामीलाई भोट नदिई कसलाई दिन्छौ ?रू पार्टीहरू चोर र डाँकाका हुन् । हामीलाई भोट नदिनेले वृद्धभत्ता पाउने छैनौ । हामी गनेर पैसा दिन्छौं अनि बापतमा गनेर भोट लिन्छौं भन्छन् भने कसरी स्वतन्त्र चुनाव भयो ? तिमीहरूका टोलको लागि आठ किलो मासु पठाइदिएका छौं । भरे रक्सी अनि एक घर एक बोरा चामलका दरले लिएर आउँदैछौं भनेर सोही अनुसार पुर्‍याउँछन् भने चुनाव को र कसको लागि भयो होला ? आफ्नै पार्टीका उम्मेदवारका विरुद्ध गूटबन्धी तथा बागी (देश वा राज्यका विरुद्ध द्रोह गर्ने, विद्रोह गर्ने, विप्लवी -नेपाली बृहद् शब्दकोश) बन्ने; त्यस्तैगरी पार्टीले टिकेट दिएन वा दिलाएन वा अन्य पार्टीसँग गठबन्धन गर्‍यो भन्दैमा पार्टीको निर्णय नमान्ने; अर्को पार्टीमा प्रवेश गर्ने वा साँठगाँठ आफै तत्पर हुने गर्छन् भने त्यस्ता नेता तथा कार्यकर्ताहरू कसरी विकास तथा जनप्रेमी हुन सक्छन् ? कसरी राजनीतिक रूपमा नैतिकवान, चरित्रवान तथा राजनीतिक प्रकृति र संस्कृतिका हुन सक्छन् ?

    विश्व आदिवासी रैथाने मौलिक मान्यता तथा अवधारणामा चुनाव भन्ने कतै भेटिइँदैन । उनीहरू सर्वसम्मतिमा प्रतिनिधि अझै भनौं गोठाला छान्छन् । त्यसमा कौडी रकम खर्च गर्दैनन् । उम्मेदवारी दिँदैनन् । त्यसैले बागी उठ्ने प्रसङ्ग नै देखापर्दैन । यो वा त्यो दलको नाममा विभाजित हुँदैनन् । आफ्नो गाउँको लागि आफैमध्येबाट एकजनालाई हेरालु छान्छन् । हेरालुले गल्ती गरेमा प्रकृति हेरेर सचेत गराउने; दण्ड जरिवाना गराउने साथै फिर्ता बोलाएर गाउँलेले क्षमा पूजा गर्दछन् । यस्तो सुविधा आधुनिक भनिएका राज्यसत्ताद्वारा सञ्चालित कुन चाहिँ चुनावले दिन सकेको छ ?

    आदिवासीहरू आफ्नो गाउँको लागि आफै व्यवस्था, विधि विधान निर्माण गर्छन् । प्रत्येक वर्ष अनुमोदन गर्छन् । हेरालुले समेत प्रत्येक वर्ष अनुमोदन लिनुपर्दछ । आदिवासी न्यायमा गल्ती गर्नेलाई पुनः समाजमा स्थापित गराउने संयन्त्र तय गरिएका हुन्छन् । आधुनिक न्यायले एक पटकको अपराधीलाई पुनः अपराधको लागि उक्साउँछ । जनताको लागि शासकले सिंहदरबारभित्र लुकेर ऐन नियम बनाउँछन् तर आफूलाई मत दिएर जिताएका प्रत्येक जनताका हात हातमा ती ऐन नियमका ठेली पुर्‍याउन आवश्यक ठान्दैन । अन्त्यमा तिमीले कानून मिचिस् भन्दै जेलमा सडाउँछन् । यही हो त लोकतन्त्र ? यस्तै विकृतिको लागि हो त चुनाव ? होइन भने बाँकी खै के त ?

 निष्कर्ष    

    चुनाव फेल मात्रै नभएर मृत्यु भइसकेको अवधारणा हो । यसले वास्तविक लोकतन्त्र कदापि दिन सकेन र सक्ने पनि छैन । जनता कहिले यो त कहिले त्यो दलको पछि कुद्न बाध्य छन् । एक बोरा चामल वा एक गिलास रक्सीमा बिक्न बाध्य छन् । राजनीतिक चेत, चरित्र, प्रकृति र संस्कृति विहीन भएका छन् । यसको अर्थ आमजनता काम नलाग्ने; विवेकहीन भएका होइनन् । बरु वास्तविक लोकतन्त्रको खोजी; आफ्नै मौलिक व्यवस्थाको पक्षधरतासहित अग्रगामी छलाङको लागि तडि्परहेका देखिन्छन् । विद्यमान प्रचलित व्यवस्था, दल तथा नेता काम लाग्ने खालका छैनन् । त्यसैले कहिले यता कहिले उता गर्दै नयाँ विकल्पको लागि मौलिकताले युक्त व्यवस्थाको लागि आतुर भएका मात्रै हुन् ।

सुझाव

    यसपालि सुनकोशी गाउँपालिका सिन्धुलीमा सम्पन्न स्थानीय चुनावलाई नजिकबाट केलाएर हेरिसकेपछि यसप्रकार सुझाव दिने आँट गरेको छु ।

१.  दल र नेता मात्रै नभएर यो व्यवस्था फेल भइसकेकाले नयाँ व्यवस्थाको लागि तयारी गर्न अपरिहार्य भइसकेको देखिन्छ ।

२.  विद्यमान व्यवस्था तथा अवधारणा आयातित् हुन् र नेपाली माटोमै उब्जिएको मौलिताको हत्यारा साबित भइसकेकाले यही माटोमा उब्जिएको तर आयातित्का कारण ओझेल परिरेहका व्यवस्थालाई पुनः ब्युँताउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

३.  कुनै पनि नयाँ दलगत अवधारणा गाउँघरमा भित्र्याउनुअघि स्पष्ट बुझेर जनअनुमोदनपछि मात्रै चुनावमा उत्रनुपर्दछ । अन्यथा त्यसले नकारात्मक असर गर्दछ ।

४.  यसप्रकार आदिवासी राष्ट्रहरूलाई सम्बोधन गर्नसक्ने बहुल राष्ट्रियताको अवधारणामा आधारित मौलिक रैथाने व्यवस्थाको स्थापना नै अब समाधानको एक मात्र विकल्प भन्ने प्रमाणित भएको छ ।

१ जेठ '७९

चालिसे, सिन्धुली

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...