Monday, October 31, 2022

पहिचानको कुरा !




.  शाब्दिक पक्ष

पहिचान नेपाली भनिएको भाषाको नामशब्द हो । नेपाली बृहत् शब्दकोशमा उल्लेख गरिएअनुसार यसको अर्थ (१) चिनाजानी, परिचय, प्रत्यभिज्ञान । (२) कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम, पारख साथै (३) जाँचबुझ हुन्छ । त्यसो त हिन्दीभाषामा पनि पहिचान शब्दको प्रयोग देखिन्छ । विषयगत प्रसङ्गमा पहिचानको अर्थ चिनारी हो । चिनारी शब्द चिह्न-आरीको संयोगबाट बनेको उल्लेखित शब्दकोशमा दाबी गरिएको छ ।

 

पहिचानलाई प्रत्यभिज्ञान पनि भन्न सकिँदोरहेछ । यसलाई प्रत्यभिज्ञा पनि भनिएको देखिन्छ । प्रत्यभिज्ञा संस्कृतभाषाको नामशब्द हो; जसको अर्थ (१) पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तु आदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान साथै (२) चिनापर्ची, चिनारी, परिचय हो । उल्लेखित शब्दकोशले प्रत्यभिज्ञा र प्रत्याभिज्ञानको अर्थ एउटै लगाएको छ ।

 

यसप्रकार पहिचानलाई प्रत्यभिज्ञा वा प्रत्यभिज्ञान पनि भन्न सकिने भयो । त्यसो त पहिले देखेका वा तीसित मिल्दाजुल्दा व्यक्ति, वस्तुआदिलाई कालान्तरमा देख्दा मनमा आउने अघिका कुराको स्मृति, स्मृतिका आधारमा हुने पुराना कुराको ज्ञान भन्न सकिन्छ । यसले के स्पष्ट पार्दछ भने, पहिचानसँग पहिलेका कुरा वा प्रसङ्ग अर्थात इतिहास जोडिएको हुनुपर्नेरहेछ । त्यस्तैगरी अहिले अर्थात वर्तमानमा पनि ती पहिचान गरिएका आधारका विद्यमानता कायम रहेको हुनुपर्दछ; जसको आधारमा सम्बन्धित पक्षको ऐतिहासिकतासँग जोडिन सकियोस् । विगतमा देखिएको आधारमा अहिले चिन्न सकियोस् ।

 

त्यसो हो भने, विगतमा देखिएको वा रहेको पहिचानको आधार समाप्त पारिएको हुनु भएन । यदि समाप्त पारिएको रहेछ भने अहिले देखिएको वा भेटिएको अवस्थाको स्वरूपबाट विगतसँग जोडिन नसकिने हुन्छ । फलस्वरूप अहिलेको अवस्थालाई हेरेर विगतको ज्ञान वा प्रत्यभिज्ञान गर्न नसकिने हुन्छ । त्यसो हुने बित्तिकै उसको पुरानो पहिचान समाप्त हुनपुग्छ । पुरानो पहिचान समाप्त हुनुभनेको इतिहासदेखि छुट्टनिु हो । इतिहास बिनाको वर्तमान प्राणबिनाको देह समान हुन्छ ।

 

पहिचानको समानान्तर अङ्ग्रेजी शब्द आइडेन्टिटी भनिएको छ । यहीनेर तामाङभाषामा यसको लागि कुनै शब्द छ कि छैन भन्ने एउटा नयाँ जिज्ञासा हुन्छ । अङ्ग्रेजीको आइडेन्टिटी तथा नेपाली भनिएको भाषाको पहिचानलाई तामाङमा ङोसेSब भन्ने गरिएको छ । यसको अर्थ पनि चिन्नु भन्ने हुन्छ । चिन्नुको लागि त्यसअघि देखिएको हुनुपर्दछ । सोही आधारमा आज भेटिँदा चिन्न सकिएको हुन्छ । पहिलो पटक भेटिएर चिन्न सम्भव हुँदैन । परिचय वा चिनजान गरिसकिएपछि अर्थात अञ्जान व्यक्तिसँग एकै क्षणअघि परिचय गरिएपछि चिन्न थालिन्छ ।

 

यस्तैगरी कोही कसैले पठाएका व्यक्तिले भेट्न आएका अवस्थामा सुनेको नाम र हुलियाको आधारमा पनि नयाँ व्यक्तिले फलानाले भनेको व्यक्ति म नै हुँ भनेर चिनाएपछि बल्ल चिन्न थालिन्छ । त्यसपछि सम्बन्धित व्यक्तिको चिनारी मस्तिष्कमा भण्डार हुन्छ । चिन्ने क्रममा नै मानौं टेलिभिजनमा देखिएको वा प्रत्यक्ष दृश्यसंवाद वा आवाज सुनिएको व्यक्तिसँग पछि भेटिँदा पनि चिन्न सकिन्छ । यसप्रकार कुनै पनि व्यक्तिलाई चिन्नको लागि अघिबाटै कुनै न कुनै आधारमा चिनिएको हुनुपर्नेरहेछ भन्ने स्पष्ट हुन्छ ।

 

. पहिचानको आवश्यकता

जो जसले माने वा नमानेतापनि नेपाल पहिचानको मुद्दामा रहेको छ । त्यसो त विश्वजगत्मा पहिचानको मुद्दा नभएको स्थान छैन । यदि पहिचानको मुद्दा नभएको भए मान्छे केवल मान्छे हुने थियौं । देशी विदेशी, नश्ल नश्लीय, जाति, राष्ट्र भन्नुपर्ने थिएन । त्यसो त यो र त्यो धर्म भनेर पनि भनिरहनु अनि मानिरहनुपर्ने थिएन । विवाह गर्न मिल्ने वा नमिल्ने साइनो भनेर केलाउनुपर्ने थिएन । त्यो बाटोमा लागेको भए मान्छेलाई पनि बेग्लै प्रजातिको पशु अन्तर्गत राख्नुपर्ने हुन्थ्यो तर स्मरणीय तथ्य, मान्छे पशु होइन ।

 

त्यसैले मान्छेलाई नैतिकता आवश्यक परेको हो । नैतिकतवान् बनाउनको लागि नियमका आवश्यकता खटि्कएको हो । नियमको लागि देश-देशावरता, जाति, नश्ल, समुदाय वा राष्ट्रियता साथै विवाह गर्न मिल्ने र निमल्ने साइनोसहितको व्यवस्था आवश्यक महशुश गरिएको हो । सोही क्रममा गाउँबस्ती, एकै राष्ट्रको लागि पनि ह्रुइ/थर/क्लान व्यवस्था स्थापित गर्नुपरेको हो । भौगोलिक आधारमा समेत फरक फरक व्यवस्था बाँध्नुपरेको हो । यहाँ फरक भूगोलमा फरक नश्ल वा समुदायका मान्छे मात्रै नभएर एउटै समुदायभित्र पनि फरक फरक आधारमा फरक भएका मान्छे वा पहिचान रहेका छन् ।

 

यसबाट के स्पष्ट हुन्छ भने, मान्छेलाई नैतिकवान् बनाउन, अधिकारको उपयोग गर्न, सामाजिक उत्तरदायित्व वहन गराउनको निमित्त पहिचान आवश्यक परेको हो । मान्छेलाई मान्छेको रूपमा चिनेर काम, कर्तव्य र अधिकार तोक्न नसकिएको खण्डमा न्यायव्यवस्था स्थापित हुँदैन । अन्यायले मान्छेलाई मान्छे बनाउँदैन । स्वत्वको प्रसङ्ग बिना पहिचान बन्दैन । पहिचानबिना काम, कर्तव्य र अधिकार तोक्न सकिँदैन । यसैले पहिचान पहिलो आवश्यकता भएको हो ।

 

. पहिचानका आधार

पहिचानको पनि आफ्नै निश्चित आधारहरू छन् । माथि गरिएका चर्चाहरूबाट पनि धेरै विषयहरूत स्पष्ट भइसकेको हुनुपर्दछ । यसप्रकार पहिलो आधार इतिहास रहेछ । इतिहास अन्तर्गत आदिमभूमि, भाषिक सांस्कृतिक रीतिथिति, परम्परा तथा नश्लीयता पर्दछन् । यिनै विगतलाई मस्तिष्कमा स्थापित गरिइसकेपछि मात्रै अहिलेको अवस्था वा परिवेशसँग दाँजेर हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दा अहिलेको अवस्थितिले विगतको झल्को दिन्छ वा सोही आधारमा चिनाउँछ भने उसको पहिचान हुन्छ ।

 

यसप्रकार पहिचानको आधार स्पष्ट हुन्छ । यसैलाई तामाङभाषामा भन्नुपर्दा, तामाङको कैरन; केस, ठुङ्स र बप्स; धार्मिक आस्थासहितका ग्योइठिम लठिम, क्योनठिम, केठिम, शोठिम, शिठिम, ह्रुइठिम, रिमठिम, ह्युलठिम, थुमठिम, छ्योइठिम साथै ठिगर नै पहिचानको आधार हुन् । यी आधारहरू गुमाइसकेका वा गुमाउने हो भने पहिचान समाप्त हुनेछ । पहिचान समाप्त पार्ने हो भने तामाङ भन्नु र ताम्सालिङको कुरा गर्नु बेकारको बकबक मात्रै हुनेछ ।

 

. पहिचान के होइन ?

पहिचान के हो भनेर चिन्नको लागि के होइन भनेर पनि चिन्न आवश्यक पर्दछ । अब तामाङको पहिचान के होइन भनेर नै हेरौं । तामाङ मङ्गोल नश्ल इतर राष्ट्र होइन । यसको अर्थ हाल अस्तित्वमा रहेको मङ्गोल देशबाट आएका वा त्यहाँको बासिन्दा भन्न खोजिएको होइन । यो त केवल विश्व साहित्यमा मानवसभ्यताहरूलाई विभक्त गर्ने क्रममा जुराएका नाम मात्रै हो ।

 

यसप्रकार तामाङ भनेको आर्य तथा काला पनि होइन । गोरा, चुच्चोनाकधारी, ठूलाआँखावाला, कालाछाला भएका पनि होइन । तामाङ केस/ठुङ्स/बप्ससँग नजोडिएका वा असम्बन्धित पनि होइन ।

धार्मिक रूपमा हिन्दू, ख्रिश्चियन र मुस्लिम पनि होइन । शुद्ध बौद्धमार्गी मात्रै पनि होइन । तामाङबुद्धिजम् यतिखेर तामाङलाई चिनाउने धार्मिकपक्ष बनेको देखिन्छ ।

 

तामाङको आफ्नै ठिगर रहेको छ । यो पूर्वधार्मिक, पूर्वराजनीतिक साथै पूर्वदेशीय अर्थात सबैभन्दा पुरानो समाजमध्ये ताम्सालिङको पहिलो बासिन्दा हो । त्यसैले तामाङ भनेको कुनै राजनीतिक पार्टीमा लागेका वा त्यस्ता पार्टीका सदस्यता लिनु वा त्यस्ता व्यवस्थामा पस्नु, फस्नु, बस्नु अनि त्यसैका लागि घुँडा धस्नु पनि तामाङको पहिचान होइन । राजनीति र राज्यसत्तालाई नै पहिलो प्राथमिकतामा राख्नु; राजनीतिलाई विकल्पविहीन साथै नीतिहरूका राजा मान्नु साथै राजनीति नगरेको कारण तामाङ पछि परेको निष्कर्ष निकाल्नुपनि तामाङको पहिचान हुन सक्तैन ।

 

तामाङ व्यवस्थाको बारेमा अज्ञात रहनु; तामाङ समाज राजनीतिबाट नभएर रिमठिम (सामाजिक सांस्कृतिक) लगायतका पक्षबाट सञ्चालित रहेको तथ्यबाट अनभिज्ञ रहनु एवंरीतले तामाङमा शासन तथा प्रशासन प्रणाली नभई सञ्चालनको व्यवस्था भएको; शासक र शासित नभएको समाज भने नचिन्नु पनि तामाङ पहिचानको छनक पटक्कै होइन । नागरिकताको अवधारणा विपरीत सदस्यताप्रणालीमा आधरित हुनु नै तामाङ समाज भन्ने भुल्दै; विगतमा तामाङ पुर्खा मारिएका; भूमि खोसिएका साथै अझैसम्म फिर्ता नदिएका पक्षलाई नजरअन्दाज गर्ने वा लतार्ने कार्य पनि तामाङ पहिचानको आधार होइन ।

 

भाषिक रूपमा तामाङभाषालाई दुत्कार्दै अङ्ग्रेजी लगायतका उपनिवेशकारी भाषाका पछि लाग्ने; ह्रुइरी बप्प ह्रुइगी फो'-ललाई कुरीति भन्ने; लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू र लामालाई ढुङ्गेयुगतिर फर्काउने कारिन्दा भनी आरोप लगाउने, तामाङ पोशाकलाई बेवास्ता गर्ने वा घृणा गर्ने; जन्मदेखि मृत्युसम्म गरिनुपर्ने रिमठिमलाई परित्याग गर्ने; प्रत्येक महिनामा तामाङको कुनै न कुनै पर्व पर्छन् भन्ने जानकारी नराख्ने र त्यसका बारेमा गरिएका अनुसन्धान साथै विमर्शदेखि तर्सिएर कोलाकोला भन्दै रुने; तामाङलाई पछौटे जाति मात्रै भन्ने; तामाङको केही छैन भन्दै हिँड्नेले पनि तामाङ पहिचानको आधार पूरा गर्न सक्तैनन् । त्यसकारण यस्ता हर्कत्का मतियारहरू तामाङ होइनन् ।

 

. को को हुन् तामाङ ?

ह्रुइगी फो'-ल (दिमला ल/घरको देउता) मान्ने; ह्रुइव्यवस्थामा आधारित; लबोन, बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू, लम(लामा) र ह्युल्बामा विश्वास गर्ने; तामाङ ठिगरको आधारमा समाज सञ्चालन गर्ने; भाषा, रिमठिम, पोशाकमा गर्व गर्ने; नागरिकताको सट्टा सदस्यतामा विश्वास गर्ने; बोम्बो, तम्बा, चोहो र लामा जस्ता गेन्दुन(संस्था)मा आवद्ध रहने; अणुवांशिक रूपमा विशुद्ध रहेका; जन्मदेखि मृत्युसम्म पनि तामाङ ठिगरलाई अवलम्बन गर्ने; घामलाई अमा(आमा), जूनलाई (अगु वा अङी/अनी वा मम्) मान्ने, धर्तीलाई सप्चीलमो (धरामाता/देवी) मान्ने; गाउँबस्तीलाई फह्युल (पितृभूमि मान्ने); प्राकृतिक संसाधनहरूलाई शक्तिका रूपमा मान्ने; हरेक प्राणीलाई मानिसका सहकर्मी ठान्ने; ताम्सालिङको लागि खोर्वालिङ, जम्बुलिङ साथै थर्पेलिङ लगायतका खगोलीय ज्ञानलाई मौलिक मान्ने ज्ञानले युक्तहरू नै तामाङ हुन् ।

 

यसरी प्रस्तुत् गरिँदा कतिपयलाई म चाहिँ तामाङमा पर्दोरहेछु कि रहेनछु भन्ने लाग्न सक्छ । स्मरणीय तथ्य चाहिँ यी सारा दाबी मेरो आफ्नै व्यक्तिगत होइनन् । यिनीहरू त समुदायमा भेटिएका हुनाले यहाँ प्रस्तुत् गरेको मात्रै हुँ । यही आधारमा फलानाले यस्तो भन्यो भनेर नरुनु होला । यी त प्रस्तोताले खोज्ने क्रममा पहिचान गरेको आधारहरू हुन् तर प्रस्तोता आफैले बनाएको चाहिँ होइन ।


 . पहिचान प्राप्तिको बाटो ?

पहिचान प्राप्तिको बाटोमा तामाङ लगायतका विश्वभरि आवाद भूमिपुत्रहरू प्रायः अलमलमा देखिन्छन् । अमेरिकन देशहरूलाई हेर्ने हो भने धेरै अघि बढिसकेका पनि पाइन्छन् । नेपाली तामाङ नेता भनिएकाहरू यो मुद्दामा सबैभन्दा गए गुज्रिएका पुङ्माङ भन्दा फरक पर्दैन । तिनीहरु कुनै दलका सदस्यता हुनुलाई नै तामाङ हुनु भनी ठान्छन् । तामाङत्त्वलाई परित्याग गर्दै व्यवस्था परिवर्तनको नारा लगाउँछन् । मन्दिर र गुठीका नाममा तामाङका केस, ठुङ्स र बप्सहरू खोसिएका र अझैसम्म फिर्ता नपाएका घामजस्तो तथ्यलाई पनि देख्न सक्तैनन् ।

 

पहिचान प्राप्तिको बाटोकै प्रसङ्गमा के भन्न सकिन्छ भने, यसको लागि तामाङपन पहिलो आवश्यकता हो । पहिचान मागेर प्राप्त गर्ने वा तामाङ भन्न छोडेर सबै हामी नेपाली मात्रै भनेर बन्ने वा प्राप्त हुने विषय होइन । कसैल मन लाग्यो भनेर दिँदैमा दिइने र नदिइँदैमा नदिइने साथै खोस्दैमा खोसिइने चिज पनि होइन । यो त घामजस्तै स्वभावतः सिद्ध प्रसङ्ग हो । यो त आफैले स्थापित गर्ने विषय हो । अन्यसँग अनुमति मागेर वा खोजेर वा रोएर पाइने चिज होइन । आफैले अध्ययन गर्दै मौलिक स्वरूप प्राप्त गर्ने अनि दैनिकीमा अभ्यास गर्ने हो ।

 

प्रस्तोताले धेरैअघिदेखि तामाङ समाज राजनीतिमा आधारित होइन भन्दै लेख्दै र बोल्दै आएको छ । त्यस्तैगरी तामाङ ठिगरअन्तर्गत रिमठिममा आाधारित रहेको पनि खुलासा गरेको छ किनकी माथि नै उल्लेख गरिएअनुसार नै पनि तामाङ समाज भनेको पूर्वधार्मिक साथै पूर्वराजनीतिक आदिमसभ्यताले युक्त वा सुशोभित समाज हो । प्राकृतिकतामा आधारित राष्ट्र हो । यी सारा विषयलाई नेपाली भनिएको भाषामा सामाजिक, सांस्कृतिक साथै धार्मिक पक्षको रूपमा भन्ने गरिन्छन् । नेपालमा प्रचलित भनिएको संविधानले पनि हरेक राष्ट्र(समुदाय)लाई सामाजिक, सांस्कृति साथै धार्मिक अभ्यासको लागि स्वतन्त्रता दिएको छ । यही आधारमा चोहोव्यवस्थाको अभ्यास थाल्नु नै पहिचान स्थपित गर्ने अबको एक मात्र मौलिक साथै सम्यक् बाटो हो ।

 

. थाल्नुपर्ने पक्ष

तामाङ समाजले ढिलो नगरी मौलिकताको खोजी गर्ने वा गरिएका खोजीका निष्कर्षहरूलाई स्थापित गराउँदै जानसक्नुपर्छ । आफूलाई हिन्दू, ख्रिश्चियन, मुस्लिम राजनीति, विश्वव्यापीकरण साथै विकासका नाम वा बहानामा तामाङ पहिचान र आधार समाप्त गर्ने समाप्तिकरणलाई रोक्न सक्नुपर्छ । मिसिनरी धार्मिक आन्दोलन वा विस्तार वा उपनिवेशवादका विरूद्ध पहाडजस्तै उभिनसक्नुपर्छ । भाषिकक्षयीकरण, साहित्यिकसंहार, तामाङ मौलिकता विपरीत निर्धारित पूर्ववत् हाइपोथेसिस सहितका इटिक रिर्सचहरूलाई इन्कार गर्न सक्नुपर्छ । पुस्ताहरुबीचका खाडल पुर्ने साथै मौलिकतामा आधारित सामाजिकीकरण प्रक्रियामा नयाँपुस्तालाई संलग्न गर्न सक्नुपर्छ । देशी विदेशी राज्यसत्ताहरूले स्थापित गराएका तामाङ (आदिवासी राष्ट्र) विरोधी भाष्यहरूका उन्मूलन गर्नुपर्छ ।

 

यी साराका लागि सबैभन्दा पहिलो आफ्नो दिमागलाई डिकोलोनाइज(अ-औपनिवेशीकरण) गर्न सक्नुपर्छ । म(हामी) को हुँ(हौं) भन्ने प्रश्न गर्दै सही उत्तरलाई भेट्टाउनुपर्छ । त्यस्तैगरी म(हामी) को होइन(होइनौं) भन्ने बारेमा स्पष्ट हुन सक्नुपर्छ । त्यसपछि झर्रोवादी आन्दोलन चलाउनुपर्छ । पुराना भनिएका रिमठिममा भएका वैज्ञानिक वा विज्ञानसम्मत पक्षका खोजी गर्दै भविष्यसम्म हुने नयाँ प्रविधिको खोजी गरिनुपर्छ । तामाङ मगन्ते होइन; आफै कमाएर, आफैले जमाए, आफ्नो पितृभूमिमा तामाङठिगरको अभ्यास गर्न सक्ने महान् राष्ट्र हो भनेर चिनाउन सक्नुपर्छ ।

 

नेपालमा हुँदै आएका र भविष्यमा हुने चुनावद्वारा केही लछारपाटो लाग्नेछैन । चुनावमा स्वतन्त्र पार्टी वा स्वतन्त्र उम्मेदवार भएर हुने केही छैन । स्वतन्त्रत भनेको बाह्य तथा आन्तरिक हरेक प्रकारका उपनिवेशवादबाट हुने हो । नेतृत्वमा पुग्नु वा गर्नु भनेको तामाङ ठिगरका ज्ञाता तथा अभ्यासी हुनु हो । तामाङ ठिगर नबुझिकन वा लत्याउँदै पार्टीका सदस्यता वा पार्टीहरूले टिकट नदिएको रिसमा वा पार्टीहरू मन नपरेको आधारमा यही व्यवस्थाभित्र प्रवेश गर्न खोज्नुभनेको मुस्किलले आफै मात्र बन्न खोज्नु हो ।

 

आफ्नो समाज बनाउँदै नेपाल लगायत विश्वजगत्लाई परिवर्तनको संवाहक बनेर देखाउने चाहना, क्षमता र ज्ञान हुनेले त आफू लगायत समुदाय अनि दुनियाको भाइसरले ग्रस्त हार्डडिस्क जस्तो दिमागको फर्म्याट गर्न सक्नुपर्छ । त्यसपछि राष्ट्रगत रूपमा आ-आफ्ना मौलिक सफ्टवेयरलाई सही साथै विधिपूर्वक इन्स्टल गर्न सक्नुपर्छ । यो प्रस्तुतिको अन्त्यमा यति मात्रै भन्छु, आँटी छोरालाई बाघले खाँदैन । असम्भव र नसकिने भन्ने केही छैन । शुभकार्यको लागि हरक्षण शुभ हुन्छन् ।

 

त्यसैले नेपालमा रहेका सम्पूर्ण राष्ट्र (समुदाय)का ठिगर (विधिशास्त्र)को बारेमा जानकारी राखौं । आपसी भाइचाराको नाता जोडौं । फुटेर होइन; जुटेर अघि बढौं । नयाँ विश्वको लागि युनिभर्सलाई समाप्त पार्दै प्लुरिभर्सको अवधारणालाई स्थापित गराऔं । विश्वमा रहेका सम्पूर्ण राष्ट्रहरूका स्वशासनको निमित्त विश्व उपनिवेशबाट मुक्तिको लागि आन्दोलन थालौं । चुनाव आयो; तेरो र मेरो पार्टी वा म त छुट्टै बस्छु भनेर यही व्यवस्थाको मुख ताक्तै समय खेर नफालौं । शुभ कार्य सहित सफलताको लागि अग्रिम शुभकामना !

 

थुजेछे ।

१४ कात्तिक '७९

Tuesday, September 6, 2022

हामी, ह्रुइ र हाम्रा भ्रमहरू -१


हामी तामाङ भन्छौं । तामाङ भनेपछि तामाङ हौं । जो जसले जे-जे न/भने पनि तामाङ हौं । यसरी दाबी गर्नु नै तामाङ हुनु हो । जीवनको एकमात्रै दायित्व पनि ! कतिले आदिवासी भन्दै आएका छन् । कोहीले जनजाति भन्न छोडेका छैनन् । कसैले मूलबासी भन भनेर थर्काउँछन् । कोही प्रथमराष्ट्र भन्दै बहसमा उत्रिएका छन् । कहाँको तामाङ ? कसरी तामाङ ? आधार के ? जनसङ्ख्या ? संस्कार, संस्कृति ? भाषा साहित्य र कला ? अँ धर्म नि धर्म ? समाज सञ्चालनको विधि ? अम्मोSSS ठुङ्सा, बप्सा खै ? किपट नि किपट (ग्योत्/ग्योई) र गोइलो नि ? कस्सो बिर्सिएन छ यार ! दुःख लाग्छ, धेरैले ह्रुइ खै भनेर सोध्न बिर्सँदैछन् ।

उहिले हाम्रा पुर्खाले तामाङ लेखेका रहेनछन् । भोटे लेख्थे रेन्त । हाम्रै बाजे र ठूलबाले सुनाउनु भएको । ईSSS तेरो कुरा,  एउटा किताब पढ्नु छैन । बीचैमा प्वाक्क बोल्छ यार । उहिल्यै तेह्रौं शताब्दीमै तामाङ लेख्न शुरू गरिसकेका रहेछन् । मुक्तिनाथ गएका छौ ? हो; त्यहाँ गएर खोज त । ठ्याक्कै भेटिन्छ । त्यसैले उहिल्यैदेखि हामी तामाङ हौं । त्यसरी भोटे भनेर तिब्बतीकरण गर्न नपाई है । 

अँS तैँले भनेर हुन्छ नि ? कत्ति खोकेको हो । धेरै खोक्नु भनेको क्षयरोग सङ्केत हो । खासमा भीमशमशेरले तामाङ लेख्न इस्तिहार जारी गरेका थिए । हो; त्यहीदेखि तामाङ भएका हौं । यस्तैमा कोही भन्छन्; हामी त मङ्गोल पो हौं त । महान् मङ्गोल ! मङ्गोलबाट चीन/तिब्बत हुँदै नेपाल छिरेका ! इतिहास पढ्न आउँछ ? खोज्न र पढ्न सिक्नुपर्‍यो नि साथी । मङ्गोलहरू संसारभरि पुगेका छन् । हामीले आफूलाई मङ्गोल भन्नुपर्छ । 

यस्ता तर्कहरू यतिधेरै छन्- सुन्दैमा/सम्झँदैमा रिनिनी टाउको दुखेर आउँछ । यस्सै भनेर चटक्कै छोड्न वा बेवास्ता गर्न गाह्रो भइसकेको छ । अब, लेखको नाममाथि केन्द्रित भएर घस्रन चाहेँ । घस्रनलाई तिमी सर्प हौ र ? तिम्रा गोडा छैनन् ? ''बात कर्ता है'' भन्न पनि सक्नु हुनेछ । पढिसकेपछि, हैन दौडेछ भन्न पनि बेर छैन । कतिले त भीरबाट गुल्टिएछ भन्नेछन् । कतिले त झन्, भीरबाट खसेको श्वास नै रहेनछ । मरिसकेछ भन्नेछन् । केही चाहिँ चुपचाप रहनेछन् । मानौं केही पनि भएकै छैन । 

त्यसैले कर गर्दिनँ । मन लागे पढ्नुस् । पछि पढ्छु भन्ने लागेको छ भने कपी, पेष्ट हुँदै सेभ गर्नुस् । आSSS भन्नुहुन्छ भने, मेरो पनि टाउको दुखाई छैन । ताली वा गाली मेरो चाहना होइन । कसैले दिएछन् भनेपनि, चित्त दुखाउँदिन । अश्लीलतापूर्ण ताली वा गाली चाहिँ मनै पर्दैन । काँढालाई कसैले तिखार्नु पर्दैन । हो; अश्लीलता कसैले दुनियाँका सामू पस्कनु वा सिकाइरहनु पर्दैन । त्यस्तो कार्य भनेको काँढालाई निखार्नु हो । सिधासिधा मुर्खतापूर्ण हर्कत् हो । 

लौ अब, विषयतिर प्रवेश गरौं । हो; सबैले हामीलाई तामाङ भन्छन् । हाम्रो दाबी पनि त तामाङ नै हो । कतिले भोटे भन्न छोडेका छैनन् । मानौं तामाङ कहिल्यै पनि नेपाली थिएन । अहिले पनि नेपाली होइन । भोलि पनि नेपाली हुने छैन । यिनीहरू भोटे भाषा, धर्म, संस्कार, संस्कृति र पोशाकमा रमाउँछन् । नेपाल नाम नै यिनलाई मन पर्दैन । त्यसैले यो देशलाई काँक्रोसरि चिर्न खोज्दैछन् । अब हामी यस्ता झ्यास कुरामा अल्झिनु हुन्न । अघि बढ्नु पर्छ । पाइला चाल्नु पर्छ । त्यसो भए हामी को हौं भनेर चिन्न सक्नु पर्छ । त्यसका लागि को होइनौं भन्नेमा स्पष्ट हुन जरुरी हुन्छ ।

वास्तवमा, हामी तामाङ मात्रै होइनौं । महान् तामाङ हौं । हो; हामी हिन्दू होइनौं । बाहुन होइनौं । क्षत्री वा खस पनि होइनौं । प्रथमराष्ट्र (आदिवासी)हरू मध्येको एक तामाङ हौं । 'नेपाल' नाम तामाङ बोनभाषाबाट जुराएका थिए । ''ने'Sपा'' अर्थात् 'आफैँ उत्पत्ति भएको' र ''ल'' अर्थात् 'देवता' । त्यही ''ने'Sपा ल''नै 'नेपाल' हुन पुग्यो । त्यही 'नेपाल'लाई 'स्वयम्भू' भनेर संस्कृतकरण गरेका हुन् । 'नेपाल' ठूलो हुँदै आएपछि जन्मको ''ने'Sपा ल'' भनिएको आफ्नै नाम बिर्सेर अघि बढ्यो । मानौं त्यो बाल्यकालको सम्झन नमिल्ने विषय थियो । शैशवकालमा प्रयोग गरेको थाङ्ना थियो । ठूलो भएपछि कसले किन पो खोज्छ र ? खोजेछन् भनेपनि के काम ? अनि त अनि, 'नेपाल' तामाङको सन्तान भएर पनि तामाङदेखि टाढा हुन पुग्यो । मानौं, छोरो थियो; बुहारीले खोसी । छोरी थिई; ज्वाइँले कुदायो । विचरा आमाबाउ अनाथ भए । नेपाल नामको सन्दर्भमा तामाङ राष्ट्रले यस्तै दुर्दशा भोग्दै आएको छ । बाँकी आफैँ खोज्न सक्नु हुनेछ ।

तामाङ बन्न/भन्न/हुन के चाहिन्छ ? के र कुन-कुन मापदण्ड पूरा गरेपछि तामाङ हुन सक्छ ? यो आधारभूत प्रश्न हो । केही वर्षअघि 'तामाङ लेखौं अभियान' पनि चलाएका थिए । ह्रुइ मात्रै लेख्न हुन्न रहेछ । ह्रुइ मात्रै लेख्नाले तामाङको जनसङ्ख्या कम देखियो । बर्बादै भयो । यस्तै मान्यताको विकास गरेका थिए । त्यसैले गर्वका साथ तामाङ लेख्न आह्वान गरेका थिए । अझै भनौं ह्वीप जारी गरेका थिए । त्यही मोडबाट मोडिएर अघि बढ्ने क्रममा कतिले आफ्नै ह्रुइ चाहिँ त्यतै कतै झारे । कतिले त उहिल्यैदेखि तामाङ मात्रै लेख्दै आएका रे । त्यसपछि, तामाङ भनेर चम्किए । ह्रुइरी बप्पा ह्रुइगी फो´-ल गुमनाम ओढारमा थन्किए । कतिस्थानकाले स्वाँगे/ङरु परम्पराबाटै बेखबर समाज शुरू गरेका पनि भेटिएका छन् । 

ह्रुइ लेख्नेलाई सक्तो श्राप्ने पनि छन् । सात्तो खाने अनि हप्काउने दप्काउने पनि छन् । मै हुँ भन्दै हुङ्कार गर्ने पनि छन् । ती सबै गलत सावित हुँदैछन् । न पहिलेको अवस्थामा फर्कन सक्नु; न अगाडि नै बढ्न सक्नुको अवस्थामा अडि्कएका छन् । कतिले हलो अड्काएर गोरु चुट्न पाएका छन् । त्यसैद्वारा कामधन्दा चलेको छ । चलाएका छन् । ठूलै मान्छे भएका छन् । फेरि पनि, स्पष्ट हुनुपर्छ- हामी हिन्दू होइनौं । बाहुन वा क्षेत्री होइनौं । राज्यसत्ता भन्ने चिज हाम्रा वा हाम्रा निमित्त होइन । त्यो त हाम्रा पूर्वजन्मको चिहान हो । हाम्रा पुर्खाका गर्दन रेटिएको र अस्मिता लुटिएको लोदर क्षणको उपज हो ।

त्यसो भए हामी को हौं त ? हो; हामी महान् तामाङ हौं । हामी मङ्गोल होइनौं । हामी तिब्बती वा चीनिया पनि होइनौं । हामी त, हामीबाट खोसेर नेपाल नामक देश बनाएका भूमिको आदिवासी हौं । ताम्सालिङको आदिवासी अर्थात् प्रथमराष्ट्र हौं । यहीँको भूमिपुत्र हौं । भूमि (ठुङ्सा/बप्सा) हाम्रो पिता हुनुहुन्छ । दिनी/धिनी (सूर्य) हाम्रा आमा हुनुहुन्छ । ह्युल (गाउँ) हाम्रा बुवा साथै जून हाम्रा अप्च्यङ/अगु (काका) हुनुहुन्छ । ह्रुइ हाम्रो आधार चिनारी हो । केस/ठुङ्स र बप्स भनेको किपट हुँदै होइन । किपट भनेको क्रितपत्रमा लेखेर दिएको जग्गा हो । सबैभन्दा पहिले आएर तामाङले जङ्गल फाँडेर कस्ती बसाएका भूमि पछि आएकाहरूले तामाङलाई नै दान दिन मिल्ने कुरा हुँदै होइन । ह्रुइरी बप्पा ह्रुइगी फो´-ल हाम्रा ह्रुइको दसी प्रमाण हो । लबोन (लप्तबा/लप्थाबा/केकेलबोन) हाम्रा ह्रुइगी फो´-ल को आधिकारिक पुजारी हो । लबोन तामाङको पहिलो सांस्कृतिक संस्था पनि हो । 

यसप्रकार ह्रुइलाई दोस्रो दर्जामा राखेर तामाङ हुन सक्तैनौं । हामी तामाङ हौं किनकी हामीसँग ह्रुइ छ । ह्रुइ सम्बन्धी आफ्नै मौलिक व्यवस्था छ । यदि कसैको ह्रुइ छ भने त्यो तामाङ मात्रै हो । यहाँ ह्रुइलाई नै थर पनि भन्छौं । स्मरणीय तथ्य- थर भनेको ह्रुइ होइन रहेछ । ह्रुइ भनेको थर होइन रहेछ । एउटै थरमा पनि विवाह हुन्छ तर ह्रुइमा त्यस्तो हुनै सक्तैन । थर त थर्पुबाट आएको तर ह्रुइ चाहिँ ह्रुइसल (हाड) बाट बनेको हो । रिमठिम चाहिँ रेमठिम (जलपान- जहाँ जाँड सगुनको रूपमा आउँछ) र ह्रिम्पा अर्थात परापूर्वकालदेखि अवलम्बन गरिँदै आएको हो । संस्कृति भनेको संस्कारित वा परिमार्जित र परिष्कृत गर्दै ल्याइएका हुन् । कल्चर शब्द चाहिँ भूमि हडपेर फसल उत्पादन गर्नु सँग सम्बन्धित देखिन्छन् । त्यसैले रिमठिमको समानार्थी शब्दका रूपमा संस्कृति र कल्चर भन्नु वा प्रयोग गर्नु अक्षम्य गल्ती हुनेछ । यत्ति पनि नबुझ्ने/नबुझेका/बुझ्न नसक्ने कोही छौं ? छौं भने; त्यस्ताले बुझ्ने प्रयास गरौं । चाहना छैन भने बकबक नगर्दा राम्रो हुन्छ । स्वाँगे अर्थात् ङरु (ङारु), दाजुभाइ र कुटुम्बको भेद खुट्याउन नसक्नेले हल्ला गर्ने जमाना गइसक्यो । अबको नयाँ जमानामा त्यस्ता कुराले काम चल्दैन । ह्रुइ र फो´-ल चाहिँ कसरी नयाँ भन्ने प्रश्न जायज हो । यसको आफ्नै कारण छ । त्यो जुन घाम जत्तिकै छर्लङ्ग छ । बुझेर बुझ पचाउनेलाई उत्तर दिएर काम बन्दैन । बुझेकालाई बुझाइरहन आवश्यक छैन ।

तामाङ हुन आवश्यक तत्त्वहरू माथि छलफल गरि हेरौं । तामाङ हुन त- गोइलो (ड्रेस/पोशाक), भाषा, भूमि, संस्कार, संस्कृति र इतिहास चाहिन्छ । तामाङ स्ह्युक (मुहार/जिउडाल) चाहिन्छ । जिभ्रोमा तामाङपन चाहिन्छ । संस्कार संस्कृतिमा तामाङत्त्व चाहिन्छ । तथापि, पोशाक लगाएर मात्रै तामाङ हुन सक्तैनौं । त्यसमाथि तामाङ ड्रेस भनेर ल्याएकालाई पनि ल्होछर ड्रेसमा परिणत गर्नेहरूले फुइँ नलगाउँदा हुन्छ । तामाङ भाषा बोल्दैमा तामाङ भइँदैन । तामाङइतरका इष्टमित्रहरू धेरै हुनुहुन्छ; जो तामाङ भाषा प्रष्टसँग बोल्नु हुन्छ ।

धर्म (सामान्यतः जुन अर्थमा समाजले बुझेको छ)ले  पहिचान दिन्छ पनि दिँदैन पनि । हिन्दूधर्म चाहिँ पहिचानमूलक धर्म हो । हिन्दूत्त्व जन्मतः वा जन्मसिद्ध हुन्छ । बाउ या आमामध्ये कम्तिमा एकजना त केही गरेर हिन्दु हुनै पर्छ । सकेसम्म बाउ हिन्दू हुनुपर्छ । बाउआमा दुवै हुनु सबैभन्दा उत्तम हुन्छ । हिन्दूका सन्तान भएर मात्रै हिन्दू हुँदैन । जीवनसंस्कार हिन्दूविधि अनुरूप हुनुपर्छ । त्यसका लागि बाहुन पुरोहितको प्रयोग आवश्यक हुन्छ । जीवनका आरोह अवरोधहरू पार गर्ने क्रममा संस्कार संस्कृतिगत अन्यौलता हुन सक्छन् । त्यस्ता बेला हिन्दू पुरोहित/पण्डितको शरणमा जानुपर्छ । त्यसपछि बल्ल हिन्दू हुन्छ । 

यसप्रकार हिन्दू भन्ने गरेको धर्म चाहिँ पहिचानको आधार हो । अन्य धर्म भनिएकाहरू; जस्तै : बौद्ध, ख्रिश्चियन र मुस्लिम लगायतका पहिचानमुलक धर्म होइनन् । यी धर्ममा जातीय, नश्लीय वा वंशीय बार हुँदैनन् । जो जसले पनि सहज प्रवेश गर्न सक्छन् । धर्मका अनुयायी बन्न सक्छन् । त्यसकारण यी धर्महरू पहिचानको आधार होइनन् । यिनमा प्रवेश गर्न निश्चित प्रक्रिया र (कर्म) तोकिएका हुन्छन् । त्यही कर्म अर्थात् संस्कार पूरा गरेर प्रवेश गर्न सकिन्छ । बौद्धमा प्रवज्ज्या (टप्चे) र ख्रिश्चियनमा 'बातिप्सा' गरेपछि प्रवेश हुन्छ । 

तर जन्मतः अहिन्दूले कहिल्यै हिन्दू बन्न सक्तैनन् । त्यसैले चीनमा पुगेको हिन्दूधर्म फस्टाउनै सकेन । यस्तैगरी तामाङको बोन (लबोन) पनि हिन्दूधर्मजस्तै आन्तरिक (न्हङ्पा) धर्म हो । जसले बाह्य (ङ्हन्पा)लाई प्रवेश गर्न दिँदैन । फो ल का पूजा गरेको बेला आफ्नै भाषाको प्रयोग गर्छन् । अन्य भाषा र नश्लका व्यक्तिलाई प्रवेश दिँदैनन् । यी दुवैका कतिपय मान्यता र विश्वासमा समानता पाइन्छन् । त्यसैले कतिपय मान्छे झुक्किन्छन् । कतिले बोनलाई नै बोम्बो हुँदै धामी झाँक्रीमा झार्छन् । त्यसपछि हिन्दूको शाखा भन्छन् । धर्मको मानवशास्त्रीय उद्विकाससम्बन्धी अध्ययनको कमीका कारण यस्तो मान्यता बनेको हो । हिन्दूधर्मको जन्म हुनुभन्दा धेरै-धेरै वर्षअघि नै बोन वा शामन भन्नेको उदय भएको थियो । त्यो भनेको बोम्बो थियो । त्यसैको सुधारिएको स्वरूप चाहिँ हिन्दू हो । यसको प्रमाण भने अघिल्ला केही लेखहरूमा पस्किसकेको छु । 

तामाङ राष्ट्र हो । यसको आफ्नै नितान्त बेग्लै र आफ्नै धर्म छ । त्यो फो´-ल मान्ने धर्म हो । त्यसको पुजारी/पण्डित भनेको लबोन हो । यसको आफ्नै ह्रुइ छन् । अहिले दुईसयको हाराहारीमा ह्रुइ स्थापित छन् । ह्रुइसहितको तामाङले ह्रुइगी फो´-ल मान्छन् । दुःखको पक्ष- ह्रुइगी फो´-ल लाई फालेर तामाङ बन्ने दीवास्पप्न देख्नेका सङ्ख्यामा वृद्धि हुँदैछ । तिनीहरूले नै पहिचानको मुद्दा बोकेका छन् । तिनीहरूबीच ह्रुइगी फो´-ल फाल्नेका सङ्ख्या धेरै भएकोले पनि आन्दोलनले लक्ष्य प्राप्त गर्न सकिरहेको छैन । 

यहाँ ह्रुइगी फो´-ल फाल्दैमा आन्दोलन कसरी कमजोर बन्छ भन्न सक्नु हुनेछ । भन्न खोजेको- ह्रुइगी फो´-ल छोडेपछि आफ्नै पहिचान भुल्ने क्रम शुरू हुन्छ । म को हुँ भन्ने बुझ्न म को हैन भन्ने बुझ्नुपर्छ । ह्रुइगी फो ल फालेपछि यी सबै तथ्यहरू दोस्रो दर्जामा खस्न पुग्छ । पहिलोको रनाहमा दोस्रोले कहिल्यै पालो पाउँदैन । अनि कामकुरो एकातिर ! कुम्लो बोकी ठिमीतिर भनेजस्तै हुन्छ । यहाँ यस्तै भएको छ । पहिलो पक्षले नै साकार स्वरूप प्राप्त नगरेपछि दोस्रो सकिन्छ । पहिचानको मुद्दा यसै कारण समाप्त हुँदैछ । 

पहिचान भुलेपछि कोही पार्टीका कार्यकर्ता भएका छन् । कोही नेता पनि बनेका छन् । कोही हिन्दू, कोही ख्रिश्चियन भएका छन् । कसैलाई हिन्दूराजा चाहिएको छ । कसैलाई चुनावमा टिकेट चाहिएको छ । कसैको राजदूत बन्ने सपना छ । कसैले चाहिँ मन्त्री भएर हेलिकोप्टर चढ्ने लक्ष्य बनाएका छन् । त्यसरी नै पहिचानको मुद्दा अलपत्र पारेका छन् । कोही आदिवासी भन्दैछन् । कोही जनजाति भन्न छोड्दैनन् । कोही मूलबासी हौं भन्दै रुमलो गर्दैछन् । कोही मङ्गोल भनेर कराउँदैछन् । यसप्रकार तामाङ प्रथमराष्ट्र भन्ने तथ्यदेखि बेखबर बनेका छन् । 

एक समयमा मङ्गोलका जङ्गेज खान देखिएका थिए । संसार हल्लाएका थिए । तिनैलाई अवचेतन दिमागमा राखेर कुदेका छन् । परिणामतः मङ्गोल भन्ने बित्तिकै वीरताको सागर उर्लिएर आउँछ । तामाङ भन्ने बित्तिकै सुख्खा बगरमा परिणत हुन्छ । यी सबै शक्तिका भक्ति गर्ने मेलोमेसो हुन् । अरूका भरपर्ने र आफैँमा दृढविश्वास नभएको प्रमाण हो । शक्तिलाई नै मान्ने हो भने मङ्गोल कमजोर भइसकेको छ । चीनले संसार हल्लाउँदैछ । त्यसोभए चीनियाँ वा चाइनिज भनौं न । म्यान अर्थात् (MAN = Mongolian, Aryan, Negroid)को सट्टा क्यान अर्थात् (CAN = Chinese, Aryan, Negroid) भनौं न । हामी सक्छौं भनौंन त । हामी ३२ हजार वर्षअघि नै ताम्सालिङमा आइपुगेका दाबी गर्दै केही सय वर्ष अघिको चङ्गेजखानको नाम किनेर मङ्गोल भन्नू मुर्खता हुनेछ । तिब्बतमा त आजभन्दा पाँच हजार वर्ष अघिसम्म बस्ती बसेको थिएन भन्ने दाबी पाइन्छन् ।

त्यसैले, पहिचान भनेको त आफ्नो परिचय दिन समेत अन्यका साहारा लिनेले उकास्न सक्ने कुरा होइन । साँच्चैको तामाङले त चीन, तिब्बत र मङ्गोलको आधारमा होइन । आफ्नै ठुङ्सा र बप्साको आधारमा अनि ह्रुइ र ह्रुइगी फो´-ल को आधारमा आफ्नो पहिचान बुझाउन सक्नुपर्छ । वास्तवमा हामी प्रथमराष्ट्र हौं । त्यसैले मङ्गोल मात्रै भन्दा सीमाक्षेत्र खुम्चिन्छ । प्रथमराष्ट्र भनेर उठ्दा संसार हाम्रै हुनेछ । पूर्वीय र पश्चिमा हाम्रो मान्यता होइन । हामी प्रथमराष्ट्र हौं । कोही पूर्वीय र पश्चिमा होइनौं । त्यसैले हामी प्ल्युरिभर्सल शब्द मन पराउँछौं । युनिभर्सल शब्द आउटडेटेड भइसकेको छ । यो तथ्य नबुझ्नेका पछि लागेर असली मुक्ति सम्भव छैन । 

विश्वमा धेरै राष्ट्र (आदिवासी, प्रथमराष्ट्र, भूमिपुत्र) छौं । ती मध्ये तामाङ पनि एक हो । तामाङको ह्रुइ छ । प्रत्येक ह्रुइको ठुङ्सा र बप्सा छन् । कतिले किपट पनि भन्ने गरेका छन् । वास्तवमा ठुङ्सा र बप्सा मुख्य हो । प्रत्येक ह्रुइको ङरतिम (मूलचुह्लो) छन् । ती सबै हालको ताम्सालिङ भनिएको क्षेत्रमा पर्दछन् । त्यसकारण तामाङको इतिहास छ । भाषा, संस्कार, संस्कृति सहितको लोकवार्ता छ । त्यसैले तामाङ भनेको यहाँको पहिलो बासिन्दा हो । यसर्थ ताम्सलिङमा तामाङले अग्राधिकार प्राप्त गर्नुपर्छ । यसको अर्थ ताम्सालिङबाट अन्यलाई खेद्ने भन्न खोजेको चाहिँ होइन । 

यसप्रकार हाम्रो आधार भनेको ह्रुइ हो । प्रत्येक ह्रुइको ह्रुइगी फो´-ल हुन्छन् । ठाउँ विशेष एउटै ह्रुइका ह्रुइगी फो´-ल पनि फरक हुन सक्छन् । एउटै ह्रुइ भनेको दाजुभाइ हो । स्वाँगे वा ङरु भनेको दाजुभाइ वा सो सरहको हो । कुटुम्बबीच विहेवारी चल्छ । बिर्सन हुँदैन कि- एउटै ह्रुइको फो´-ल पनि फरक हुन सक्छन् । बसाइँसराइको क्रममा त्यस्तो हुनु स्वाभाविक हो । त्यस्तैगरी बसाइँसराइकै क्रममा एउटा ह्रुइ अर्को स्थानमा पुगेपछि अर्कै नामबाट चिनिनु सामान्य हुन्छ । कालान्तरमा त्यसरी चिनाउने परिचयबोधक नाम नै पछि ह्रुइको रूपमा स्थापित भएका हुन् । उदाहरणको लागि लिऔं- दोङको सन्तान नै बसाइँसराइको क्रममा मम्ब भयो । मम्ब बनेपछि पनि बसाइँसराइ रोकिने कुरा भएन । त्यही मम्बबाट अर्को हाँगो झाङ्गियो । त्यसक्रममा घरा बन्यो । अब दोङ, मम्ब र घरा भनेको स्वाँगे होइनन् । यी त एउटै हुन् । 

तेमालमा जानुस् त- त्यहाँ ह्रेञ्जेनदोर्जे राजा भन्ने विश्वास रहेको छ । उनका सन्तानहरू अहिले पनि छन् । कोही दोङ लेख्छन् । कोही बल लेख्छन् । कतिले दोङ र बल नभएर गङ्दन हो पनि भन्छन् । अब तिनलाई स्वाँगे, ङरु कि दाजुभाइ के भन्ने ? प्रायःजसोले स्वाँगे मानेका छन् । तिनीहरू सबै ह्रेञ्जेनदोर्जेकै सन्तान हुन् । यो अत्यन्त मननीय उदाहरण हो । त्यस्तैगरी लोप्चन र लोप्चेन एउटै हो । लोप्चेनबाट चोथेन लगायतका अन्य केही ह्रुइ बनेका छन् । ती सबै लोप्चेन नै हुन् । त्यसैले ह्योञ्जन र बोम्जन लगायतकाका स्वाँगे हुन् । 

स्वाँगे भन्छन् । कोहीले ङरु भन्छन् । ङरुलाई नै ङारु पनि भनेका पाइन्छन् । त्यसैलाई थेSमेखोर पनि भन्छन् । यी शब्द र अर्थका बारेमा मतैक्यता पाइँदैन । कसैका लागि आमाहरू दिदीबहिनी मात्रै हुन सक्छन् । कसैका लागि मितेरी साइनो मात्रै हुन् । कसैका लागि वैवाहिक सम्बन्धका लागि उपयुक्त कुटुम्ब  भइरहेका पाउँछौं । यी शब्दहरूमध्ये जुनको प्रयोग गरेपनि, आपसमा विवाह गर्न नमिल्ने ह्रुइ हुन् । तर बुझेर पनि बुझ पचाउन थालेपछि समस्या जन्मिनु स्वभाविक हो । समाधानको पाटो भने जटिल बन्दै गइरहेको देखिन्छ । 

नेपालको नाम नेपाल रहेको बारेमा खोज्नेहरू तिब्बतमा पुग्छन् । चीनमा पुग्छन् । हिन्दूका शरणमा छाँद हाल्छन् तर यहाँको प्रथमराष्ट्र तामाङदेखि बेखबर रहन्छन् । अनि त अनि निकालिएका निष्कर्ष पनि झ्यास मात्रै बन्न पुग्छ । त्यसैगरी ह्रुइ तथा स्वाँगे वा ङरु सम्बन्धी समस्या हुनु स्वाभाविक हो । त्यस्तो अवस्थामा कसले के भन्यो वा लेख्यो वा तिब्बतमा के छ वा बौद्धले के भन्छ भनेर खोज्नु मुर्खता हो । तामाङ ह्रुइका ठुङ्सा, बप्सा छन् । ङरतिम छन् । त्यही ङरतिममा गएर खोज्ने हो भने समस्या तुरुन्त समाधान हुनेछन् तर हामी भडि्कएर टाढा पुग्छौं । मानौं विना खोज्दै हराएको कस्तुरी हौं ।

ङरतिम नै भुलिसकेपछि हराउनु कुन अनौठो भयो र ? त्यसपछि स्वाँगे चेलीलाई चेलीको सट्टा तरुनी पो देख्न थाल्छौं । बरु स्वाँगेलाई बङ्ग्याउँदै गलत व्याख्या गरेरै पनि स्वाँगेचेलीलाई श्रीमती बनाउन खोज्छौं । स्वाँगे माइतीलाई सपनाको राजकुमार देख्न थाल्छौं । विवाह गर्न हुन्न भन्नेमाथि प्रमाण पेश गर्न डाडो चुनौती दिन्छौं । कहाँ लेखिएको छ ? तिमीले भन्दैमा मान्नुपर्ने के ? ठूल्ठूला स्वरमा चिच्याउँछौं । हिजो अञ्जानमा गल्ती त भइसकेका छन् । तिनलाई के गर्ने ? बच्चा जन्मिइसके । ती बच्चाको के दोष ? त्यस्ता बच्चाको घाँटी निमोठ्न मिल्छ ? स्वाँगेबीच विवाह गर्दैमा उसले आफ्नो पुर्खौली ह्रुइ किन लेख्न नपाउने ? यस्तै प्रश्नको बाढी ल्याउँछौं । 

यी सबैका सहज समाधान पाइन्छन् । हिजो भएका कमी कमजोरी नजानेर भएछन् । अब कमजोरी नगरौं भन्ने हो । हिजो मान्छे मारेर हिँड्यौं होला । नीच कर्म गर्‍यौं होला । हिजो गरी त सकियो । अब किन नगर्ने भन्नु हुँदैन । अब सच्चिनु पर्छ । गल्ती गरेपछि गल्तीको महशुश गर्नु ठूलो हो । गल्ती भन्ने थाहा पाएपछि सच्चिनु दोषबाट मुक्तिको मार्गमा प्रवेश गर्नु हो । तर हिजोदेखिको वा नानीदेखिको बानी भएकोले छोड्दिनँ भन्नु आपराधिक मानसिकताको चिनारी हो । नियतको कुरा हो । तामाङ समुदायलाई विकृत बनाउने कार्य हो । 

स्वाँगे, आमाथेSमे (बैनौलो), मम्थेSमे, लेङ (मितेरी) आदिको अर्थ र महत्त्व बुझ्नु, बुझाउनु तामाङको पहिलो कर्तव्यमध्येको एक हो । कम्तिमा पनि, आफ्नो दाजुभाइ, स्वाँगे चिन्नु; आमा र मम्थेSमेका बारेमा जानकारी राख्नु तामाङ बन्ने पहिलो कक्षा हो । ह्रुइगी फो´-ल मान्नु भनेको जीनप्युरिटीलाई कायम राख्नु हो । जीनप्युरिटीमा अडिक रहनु नै फो´-ल पूजामा पनि सबैभन्दा माथिल्लो दर्जाको पूजा हो । 

यही बुझ्न खोज्नु, बुझ्नु र सोही अनुसार अघि बढ्नु पहिचानको आन्दोलनमा प्राण भर्नु हो । पहिचान स्थापित गर्नु गराउनु भनेको- पुर्खाप्रतिको असिम श्रद्धा अर्पण गर्नु हो । आफ्नै शीर उठाउनु वा भ्लतेन/छे´कूsब (माङ्गेना) गर्नु हो । भावी सन्ततिका लागि आधार निर्माण गर्नु हो । त्यसैले यत्ताउत्ति भड्किने होइन । दत्तचित्त भएर लागौं । महान् पुर्खाका आशिरवाद प्राप्त गरौं । नयाँ इतिहास लेखनमा आफ्नो तर्फबाट योगदान पुर्‍याऔं । 

मिशन ह्रुइगी फो´-ल 

- गोले केआर चालिसेली

१६ साउन '७६

चाबहिल

नोट : थोरै परिमार्जनसहित पुनः प्रस्तुत गरिएको 

ह्वरीस्हुङ : एक चर्चा

ह्वरीस्हुङ गर्दैको दृश्य

पृष्ठभूमि

      तामाङ समाजमा प्रत्येक महिनाको आफ्नै महत्त्व रहेको हुन्छ । महिनालाई मुख्यतः थुमथुम र ङ्ह्य गरी दु भागमा छुट्याएका हुन्छन् । यसैलाई वि.सं.को सौर्यपात्रोमा भने कृष्णपक्ष र शुक्लपक्ष भनेका देखिन्छन् । त्यसरी महिनालाई पक्ष तथा तिथिगत रुपमा विभाजन गर्नु भनेको सांस्कृतिक पर्व निर्माण गर्नु हो । त्यस्ता पर्वका बेला निश्चित पूजाआजा गर्दछन् । त्यसक्रममा गोने ङ्ह्यदेखि म्हेनिङअघिसम्म गरिने पूजामध्ये ह्वरीस्हुङलाई मुख्य मान्दछन् । यसप्रकार मुख्यतः एन्दे महिनामा यो पूजा गर्दछन् ।

       खासगरी भदौमा मकै भाँच्नेक्रम शुरू हुन्छ । मकै भाँचिसकेपछि यो पूजा गर्दछन् । तामाङ मान्यताअनुसार मकै बाली त्यतिकै सम्भव हुँदैन । सफलताको कामनासहित ख्रे ल (माघ महिना)को छेपा ङा (पञ्चमी/बसन्तपञ्चमी)को दिन मकैको छेवर (छर्न शुरू) गरेका हुन्छन् । खनजोतका क्रममा गल्ती भएका हुन सक्छन् । परिणामतः अतिवृष्टि, अनावृष्टि वा असिना र आँधीहुरीका प्रकोप बेहोर्नुपर्ने हुन सक्छ । सलह, मुसा, बदेँल, दुम्सी तथा बाँदर लाग्न सक्छन् । मानिस तथा पशुपङ्क्षीमा पनि अनेक रोधव्याधि वा महामारी आर्इपर्न सक्छन् ।

       त्यस्ता सम्भावित समस्याहरूबाट सुरक्षाको लागि नम्दुङ (चैत)मा आइपुगेपछि सेरकेम गर्दछन् । सेरकेमले अब गरिने पूजाआजाका क्रम शुरू भएको र बाँकी क्रमशः पूरा गर्दै जानेछौं भनेर सूचित गरेको हुन्छ । त्यसपछि दुगु ङ्ह्य (वैशाख पूर्णिमा)को दिनमा ह्युल्जे गर्दछन् । यो नै मकै बाली लगायत अन्नबाली, पशुपङ्क्षी साथै मनुष्यका सुरक्षाका लागि गरिने सामुहिक पूजाको सबैभन्दा ठूलो तथा बृहत् स्वरूप हो ।

      गोने ङ्ह्य (जनै पूर्णिमा)मा भने नयाँ मकै स्थानीय शक्तिहरू लगायत घरको देउता (फो´­ल) समेतलाई चढाउँछन् । तिनलाई नचढाइकन मानिसले खाएमा प्राकृतिक तथा वन्यजन्तुका प्रकोप बढ्छन् । मानिसका कान काटिन (कानको पछाडिको भागमा खटिरा आउन) सक्छन् । त्यस्ता समस्या नआउन् भन्नाका लागि गोने ङ्ह्यको अवसरमा नयाँ मकै चढाएका हुन्छन् । त्यसरी चढाएपछि नयाँ अन्नबाली मानिसले प्रयोग (सेवन) गर्न मिल्छ । यद्यपि बारीको देउतालाई चढाउन बाँकी राखेका हुन्छन् । त्यसैले करेसाबारीको निश्चित स्थानका पाँच, दश बोट मकै छुट्याएर राख्छन् ।

शब्दोत्पत्ति

      करेसाबारीमा मकैको केही बोट छुट्याएर राखेको स्थानमा गरिने पूजा नै ह्वरीस्हुङ हो । स्थानीय तामाङभाषाको ह्वरीले बारी साथै स्हुङले बलि दिने कार्य वा पूजालाई जनाउँछ । यसप्रकार बसन्तपञ्चमीको दिन छेवर, नम्दुङमा सेरकेम साथै दुगु ङ्ह्यमा ह्युल्जे गर्दै सफल पारिएको मकै बाली गोने ङ्ह्यमा चढाएर मात्रै पूर्ण हुँदैन । त्यही हुनाले ह्वरीस्हुङ गर्न अनिवार्य मान्दछन् । म्हेनिङमा पनि खेप्पास्हुङको ब्रङ्गी (मण्डप)मा स्हिने -मकैका दाना) प्रयोग गर्दछन् । त्यसपछि मात्रै नयाँ मकै चढाउने कार्य पूरा हुन्छ ।

      ह्वरीस्हुङलाई नै झ्योहोस्हुङ पनि भन्दछन् । हरेक तामाङ गाउँमा कुनै न कुनै झ्योहो स्थापित गरेका हुन्छन् । झ्योहो बिना कुनै पनि गाउँ बस्ती तथा खेतीपातीयोग्य बन्दैन । स्मरणीय तथ्य, स्हुङ शब्दलाई कतिपयले सुङ उच्चारण गर्न पनि सक्छन् । तामाङभाषा तानीय भएकोले उच्चारणमा थोरै फरक हुनसाथ अर्थान्तर हुन पुग्छन् । यहाँ स्हुङले पूजा वा बलिपूजाका लागि पानीपारेर राखेका कुखुरा आदि बलिदिने प्रसङ्गलाई जनाउँछ तर सुङले चाहिँ मुख भन्ने अर्थ दिन्छ ।

सम्बन्धित शक्तिहरू

क) झ्योहो : झ्योहोस्हुङ समेत भन्ने गरेका ह्वरीस्हुङको बेला चालिसे मावरको अभ्यासमा मुख्यतः डप्सङ सेलेफोङ्गी झ्योहोको पूजा गर्छन् । यो नाममा प्रयुक्त डप्सङले स्थान विशेष साथै सेलेफोङ्गीले झ्योहोको नामलाई बुझाउँदछ । हाल आएर डप्सङ नामक स्थान कहाँको भनेर स्पष्ट गर्न सकिएको छैन । उल्लेखित गाउँका गोले ह्रुइका तामाङ काभ्रेको दाप्चा क्षेत्रबाट पुगेका हुन् । त्यसो त दाप्चा क्षेत्रलाई नै दप्चोङ पनि भन्ने गरेको देखिन्छ एवंरीतले धादिङको सेमजोङमा पनि डपजोङ नामक स्थान रहेको छ ।


झ्योहो बुझू(तोर्मो)

ख) रक्सी ङ्यल्मो : स्थानीय रक्सी र ङ्यल्मो (बनझाँक्री र बनझाँक्रिनी)लाई पनि बलि चढाउँछन् । रक्सी र ङ्यल्मो साह्रै शक्तिशाली हुन्छन् । रक्सीले चाहेमा चोखो मन भएका साना वा योग्य व्यक्तिलाई आफ्नो गुफामा लग्छन् । त्यतिखेर ङ्यल्मोले मानिसको मासु खाने रहर गर्छे तर रक्सीले बोम्बो बनाउने भनेर मन्त्र सिकाउँछ । अन्त्यमा जहाँबाट लगेको त्यहीँसम्म फर्काएर छोड्छ । त्यसरी सिकेर बनेका बोम्बोले आफूलाई बनझाँक्री भएको दाबी गर्छन् । रक्सी र ङ्यल्मो रिसाएमा मानिस तथा पशुहरूलाई भीरतिर घोक्र्याउँदै पुर्‍याउने र लडाउन पनि सक्छन् भन्ने जनविश्वास पाइन्छ ।

ग) सर्म : कतिपयले पूजाक्रममा सर्म (मानिस तथा पानी र आगोलाई समेत कक्रक्कुक्रुक पार्न सक्ने एकदमै शक्तिशाली शक्ति)लाई पनि बलि दिन्छन् । तिनलाई पूजामा सर्ची (अम्रिसो) र सिङ्गरा (एक प्रजातिको वनस्पति)को पनि प्रयोग गर्दछन् । फल बिरुवाका सुरक्षार्थ अम्रिसोको मुनालाई क्रस गरी बाँधेर यसलाई जगाएर राख्ने प्रचलन अझै देख्न सकिन्छ । त्यसरी राखिएको रुखलाई छुनसाथ कक्रक्कुक्रुक पर्छ भन्ने विश्वास हुनाले जो कोहीले छुने आँट गर्दैनन् ।

पूजाको तयारी

      पूजा गर्ने दिन बिहानै घर आँगन लिपपोत गर्दछन् । यो कार्य महिला वा पुरूषले पनि गर्न सक्छन् । बुझूको लागि चामल पकाउने र बुझू बनाउने साथै ठिसिङ बनाउने कार्य प्रायः पुरूषको हुन्छ  । महिलाले चाहिँ पात गाँसेर टपरी र दुना तयार पार्ने, नङ्सल (दीप) बनाउने, अक्षता, अबीर र कुदुङ निर्माण गर्दछन् ।

थान निर्माण

      सामग्री तयार भइसकेपछि तोकिएको स्थाननेर सफा गर्छन् । त्यही झ्योहोको प्रतीक स्वरूप एउटा चुच्चो परेको लाम्चो ढुङ्गा ठड्याउँछन् । त्यसको फेदमा चेप्टो ढुङ्गा बिछ्याउँछन् । ठडाइएको ढुङ्गोलाई लयुङ्बा र चेप्टो ढुङ्गोलाई दञ्जा भन्दछन् । त्यस्तैगरी रक्सी, ङ्यल्मोका पनि फरक फरक ढुङ्गे प्रतीक बनाउँछन् । सर्मको पूजा गर्ने भएमा त्यसको पनि बनाउँछन् । ती ढुङ्गालाई पानीले पखालेर/धोएर चोख्याउँछन् ।

 

पूजाको लागि बनाएको थान

थान सज्जा तथा लैङ्गिकता

      देउताको रूपमा ठडाइएका ढुङ्गालाई चोख्याएपछि दञ्जामा अबीरको तीन या पाँच भाग राख्छन् । त्यसपछि डाडो ढुङ्गोको टुप्पोमा एक भाग लगाउँछन् । ह्युम (स्त्री) शक्तिका लागि कुदुङ (पीठो)ले अबीरको तीन वा पाँच भागलाई पछ्याउँदै ठाडो धर्को लगाउँछन् । ह्यप (पुरूष) शक्तिका लागि भने पाँच भाग अबीर राखेर पाँच वटा ठाडो धर्को कोर्छन् । ती पाँच ठाडो धर्कालाई पुनः तेर्सो चार धर्काले बाँध्छन् । त्यसपछि ठाडो धर्काको टुप्पोमा राखिएका अबीरका भागमाथि अक्षता (धोएर) साना भाग राख्छन् । ठाडो ढुङ्गोको टुप्पोमा राखिएको अबीरमाथि पनि एकभाग अक्षता राख्छन् । धर्का कोरेपछि बीच भागमा पर्नेगरी एक मुठीजति कुदुङ राखेर गोङ्सोर (नगाम्हेन्दो/फुल/अण्डा) अड्याउँछन् ।

      त्यसपछि भने ठाडो डुङ्गोको टुप्पो र चेप्टो दञ्जालाई समेत काँचोधागोको जोनै (जनै) दिन्छन् । शुरुमा टुप्पोमा फेरा लगाउँछन् । त्यपछि दायाँबाट घुमाएर बायाँतिरबाट पुनः टुप्पोमा पुर्‍याएर पाँच डोरो पुर्‍याउँछन् । त्यसले पुरूप शक्तिलाई इङ्कित गर्दछ । त्यस्तैगरी स्त्री शक्तिलाई भने टुप्पोमा मात्रै तीन वा पाँच डोरो हुनेगरी जनै दिन्छन् । त्यही जनै नै बौद्ध परम्परामा प्रचलित खदाको र्सवप्राचीन स्वरूप हो ।

      शक्तिका प्रतीक स्वरूप स्थापित थानलाई सजाउने क्रममा तीन या पाँच वटा ठिसिङ (निगालो वा बाँसको सिन्कामा टोटलाको फूल अड्याएर बनाएको पूजा सामग्री) ठडाउँछन् । तिनले पनि पुरूष र स्त्री शक्तिलाई छुट्याइरहेका हुन्छन् । त्यस्तैगरी नयाँ मकैका घोकाहरू पनि राख्छन् । धुपौरोमा भुप्रो हालेर धुपीका टुक्रा हाली धुवाउँछन् । त्यस्तो कार्यलाई स´ङ भन्दछन्; जसले चोखो वा शुद्ध पार्छ भन्ने मान्यता रहेको छ । स´ङ्सी नगरी सामान्य रूपमा फलाकेर मात्रै गरिने पूजामा भने धुपौरोमा धुपीको सट्टा नौनीको धूप हाल्छन् ।

पूजा सामग्री

ह्वरीस्हुङ पूजाका लागि आवश्यक सामग्रीहरु यसप्रकार रहेका छन् ।

१)  टपरी, दुनो वा केही पातहरू
२)  अक्षता
३)  अबीर
४)  ठिसिङ (टोटलाको फूललाई सिन्कोमा उनेर बनाएको पूजा सामग्री)
५)  धुपौरो र धुपी
६)  सगुनपोङ र सगुन (दुज्जे)
७)  कुदुङ (चामलको पिठो)
८)  गोङ्सोर (फुल)
९)  बुझू (तोर्मो) र एकथान डालो
१०) जोनै (काँचो धागो)
११) नङ्सल (दीप)
१२) बुम्बा (पानीको कलश)
१३) शक्तिका प्रतीक निर्माणका लागि आवश्यक ढुङ्गाहरू
१४) मकै
१५) सर्मको पनि पूजा गर्ने भएमा अम्रिसो र सिङ्गरा (एकप्रजातिको वनस्पति)
१६) लिपपोतका लागि गोबर
१७) बोम्बो बस्नको लागि पिर्का तथा चकटी
१८) बलि चढाउनका लागि कुखुरा ।

 

बुझूहरू राख्ने तरिका

पूजा र बार

      यो पूजा गोने ङ्ह्यपछि म्हेनिङको पर्वसन्ध्यासम्म गर्न सकिन्छ । पूजा जुनसुकै बारमा गर्न पाइँदैन । त्यसैले शुभ तथा सुधो बारका रूपमा मानिएका सोम, बुध वा बिहीबार गर्दछन् । यसको अतिरिक्त खरो मानिएका बारमा गर्दैनन् । बिमारीलाई जडीबुटी औषधी खुवाउने वा मन्साउने तार्ने कार्य भने खरो बारमा राम्रो मान्दछन् । त्यसो त औषधी सङ्कलन तथा खुवाउने दुवै कार्य सकेसम्म खरोबारमा र खरोबारकै मानिसले तयार पारेर खुवाउने प्रचलन रहेको छ ।

      ´ङरप भन्ने बित्तिकै विनयपूर्वक गरिने पूजा भन्ने हुन्छ । त्यही भएर पनि खरोको  सट्टा शुभ वा सुधो बारमा गर्नु उचित मान्दछन् । त्यस्ता बार अन्नको सह मैत्री हुन्छन् ।

´ङरप (पूजाको मुख्य खण्ड)

      यो पूजामा करीब बिहानभरि बोम्बोले स´ङ्सी (भाका हालेर) गाउनु/फलाक्नुपर्ने हुन्छ । स´ङरप शब्दले चोखो तथा शुद्ध गरी विनयपूर्वक पूजा गर्नु भन्ने अर्थ बोकेको हुन्छ । दैवी तथा सकारात्मक शक्तिलाई विनयपूर्वक स´ङरप गरेर पूजा गर्ने प्रचलन रहेको छ । यो पूजाक्रममा झ्योहो स्वरूप एकथान झ्योहो बुझू (तोर्मो) राख्छन् । छेवैको डालोमा भने एकथान सोमसोर (तीनसुरे) र तीनथान मन (साधा) बुझू राख्नुपर्दछ ।

      बुझूका लागि चामललाई भात जस्तैगरी पकाएपछि मुसल र हातले मुछ्छन् । त्यसक्रममा हल्का तेल लगाउँछन् । तेल खान नमिल्ने कोही रहेछन् भने घिउ पनि लगाउन सक्छन् तर घिउ भन्दा तेल लगाएमा बुझू अझै राम्रो बन्छन् । निश्चित अवसर बाहेक अन्य बेला बुझू बनाउन मिल्दैन । त्यस्तो अवस्थामा गोलाकार डल्ला बनाउन मिल्छ । त्यस्तालाई फोल्दोङ भन्छन् । उहिले कतै टाढाको यात्रा गर्नेक्रममा फोल्दोङ बनाएर बोक्ने गरेका वृद्ध-वृद्धाहरू सुनाउँछन् । तेल वा घिउ लगाएर मुछ्नाले सामान्यभन्दा लामोसमयसम्म राख्न र सेवन गर्न सकिन्थ्यो ।

       पूजाको मुख्य खण्डमा स्थानीय तथा वरिपरिका विभिन्न शक्तिहरूका नाम लिएर सम्बोधन गर्छन् । तिनीहरूलाई ह्वरीस्हुङ पूजाको यो अवसरमा तिमीलाई पनि सम्झेका छौं । गल्ती कमी कमजोरी भएछन् भनेपनि माफ गर्नु । रोगव्याधि तथा महामारीबाट मुक्ति दिनु; अन्नको सह दिनु भन्दै अनुरोध गर्दछन् ।

स्यबुइबुबुइ पिन्ब

      ´ङ्सी सकेपछि पुरूष शक्तिलाई भाले तथा स्त्री शक्तिलाई पोथी बलि चढाउँछन् । बलि चढाएपछि तत्कालै तिनका कलेजा निकालेर पोल्छन् । पोलिएका सम्बन्धित कलेजोलाई चिमोटेर सानो टुक्रा ठाडो ढुङ्गाको शीरमा चढाउँछन् र बाँकी सिङ्गै दञ्जाको बीचमा राख्छन् । दञ्जामा राखिएका अक्षताका भागमाथि एक एक नङ्सल (दीप) बाल्छन् । त्यसरी चढाउने क्रमलाई भने स्यबुइबुबुइ' पिन्ब भनिन्छ । त्यो क|mम सकिएपछि पूजा समापन हुन्छ । चढाएका फुलको फुटाएर भित्रीभाग निकाल्छन् । बाँकी बोक्रामा थोरै अक्षता हाली घोप्ट्याएर राख्छन् । त्यसरी राखेपछि फुल जस्ताको त्यस्तै अर्थात् सिङ्गै रहेको जस्तो देखिन्छ ।

खाद्य सांस्कृतिक पाटो

      हरेक संस्कृतिहरू ऊर्जा तथा प्रविधिसँग जोडिएका हुन्छन् । तिनको मुख्य कार्य भनेकै सम्बन्धित पर्यावरणमा मानिसलाई अनुकूलन प्रक्रियामा सहयोगी भूमिका खेल्नु हुन्छ । ह्वरीस्हुङले पनि तामाङ समुदायलाई सम्बन्धित पर्यावरणमा अनुकूलन गराउँदै आएको छ । यसप्रकार ह्वरीस्हुङ तामाङ खाद्य संस्कृतिको अभिन्न अङ्ग रहेको स्पष्ट हुन्छ । यसले खासमा भदौको बेला मकै बाली भित्र्याएपछि बारीका झार-झाडी सफा गरी तोरी लगाउनका लागि तयार पार्न आवश्यक शारीरिक ऊर्जा व्यवस्थापन गर्दै आएको देखिन्छ ।

      स्थानीय तामाङ समाजमा ह्वरीस्हुङ तथा म्हेनिङमा गरिने खेप्पास्हुङको बेला काटिने भालेको मासु र त्यसको खोले (सुप)को विशेष चर्चा गर्दछन् । मकै छर्दादेखि नै दमन्हङ्गर खेप्पास्हुङला सुन्नीखोले पिन्ला (भोलिपर्सि खेप्पास्हुङमा काटिएको भोलको सुप र मासु दिउँला) भन्छन् । बर्खामासमा काम गर्न उक्साउने क्रममा पनि ह्वरीस्हुङ र खेप्पास्हुङको चर्चा गर्दछन् । यी पूजामध्ये ह्वरीस्हुङको मासु र सुपलाई शक्ति दिने साथै खेप्पास्हुङकोलाई बर्खामा लागेको ओस वा चिसो निकाल्ने औषधीको रूपमा व्याख्या गर्दछन् ।

       पूजाको क्रममा मारिएका कुखुराका मासुमा अनेकौं थरीका मसला हालेर पकाउँछन् । त्यसमा कुदुङ (चामलको पिठो) पनि हालेर खोले (सूप) बनाउँछन् । त्यही सूपमा चोपल्दै बुझू खान्छन्; जुन ऊर्जाको हिसाबले निकै राम्रो क्यालोरीयुक्त हुन्छन् । यसलाई तामाङ मौलिक साथै परम्परागत खाद्य सांस्कृतिक पाटोको रुपमा लिन सकिन्छ । यसले तामाङ पहिचानलाई अझै प्राण भर्ने कार्य गर्दै आएको छ । यो पूजाको बेला कम्तिमा तीन र बढीमा पाँच वटासम्म भाले-पोथी कुखुरा काट्छन् । प्रत्येक घरले आफ्नोमा पूजा गरेको दिन छिमेकका अन्यलाई पनि बोलाएर खुवाउने वा घर घरमै कुखुराका मासु र बुझू पुर्‍याउँछन् । त्यसले नाता सम्बन्धमा अझै प्रगाढता थप्ने तथा मनमुटावलाई मेटाउने पनि गर्दछ । पूजा गर्ने क्रममा बोम्बोकी श्रीमतीलाई समेत मम्ला बो -हजूरआमाको भाग) छुट्याउने/पुर्‍याउने प्रचलन रहेको छ ।

पूजाको लागि तयार पारिएको थान

लेजली ह्वाइटका सिद्धान्तका कसीमा ह्वरीस्हुङ

      हरेक समाजको आफ्नै मौलिक संस्कृति हुन्छन् । त्यसो त अन्यबाट आयातित् वा प्रभावित संस्कृति नहुने भन्ने पनि होइन । लेजली ह्वाइटले तिनै संस्कृतिका बारेमा व्यापक अध्ययन अनुसन्धान गरेका छन् । सोही आधारमा उनले केही सिद्धान्त (थ्योरी) बनाएका छन् । जसले ह्वरीस्हुङ जस्ता संस्कृति, चाडपर्व एवं सामाजिक सांस्कृतिक संस्थाका भूमिका र महत्त्वलाई उजागर गर्दछन् । उनका केही सिद्धान्तहरुलाई जोडेर हेरौं; जसले हाम्रा पुराना अझै पुरातनवादी साथै अन्धाविश्वासी, अवैज्ञानिक भन्ने आरोप खेपिरहेका संस्कृति तथा चाडपर्व वा पूजामा रहेका वैज्ञानिक पाटोलाई स्पष्ट पार्दछन् ।

       ह्वाइटका अनुसार मानिस(समुदाय)ले प्रयोग गरेका शक्ति तथा प्रविधि अनुरूप संस्कृति निर्माण भएका हुन्छन् । जति धेरै शक्ति अर्थात ऊर्जा तथा उन्नत प्रविधिका प्रयोग गरिन्छन्; त्यति नै धेरै उन्नत संस्कृति निर्माण बन्छन् । यसैलाई उनले E × T = C (Energy × technology = Culture द्वारा पुष्टि गरेका छन् । त्यसो त संस्कृतिलाई उनले कुनै पनि पर्यावरणीय अवस्थिति/परिस्थितिमा बाँच्नका लागि आवश्यक पर्ने संयन्त्र भनेका छन् । यही तथ्यलाई नबुझेका कतिपयले संस्कृतिलाई नै कुरीति, विकृति तथा पुरातनवादी, अवैज्ञानिक र अन्धविश्वास भएको आरोप लगाउँछन् । असभ्य र अविकासको प्रतीक पनि मान्छन् । मानवशास्त्रीय मान्यतानुसार कोही असभ्य वा सभ्य साथै विकसित र अविकसित भन्ने अवधारणा नै गलत छन् ।

      वैज्ञानिक वा विज्ञानसम्मत हुनैपर्छ भन्ने मान्यता सन् १९५० देखि देखापरेको आधुनिकतावादले दाबी गरेको कुरा हो । त्यो मान्यता सन् १९८० हाराहारीसम्म मात्रै चलेको थियो । त्यसपछि उत्तरआधुनिकतावादको आगमनसँग विज्ञानमाथिको विश्वास भत्किन थाल्यो । यो समय मेटामोडनिजमको हो; जसले विज्ञानको स्थानमा उत्पत्तिगत पक्षलाई जोड दिन्छ । यसप्रकार विज्ञान मात्रै भन्नु भनेको १९५० तिर फर्केर आउटडेटेड मान्यतालाई टेकेर तर्क गर्नु हो ।

      मानिसका जीवन, परिवार तथा समाज सञ्चालनका लागि धनको आवश्यकता पर्छ । यहाँ धनले रूपैयाँ पैसा मात्र नभएर पशु चौपाय, भूमि, कम्पनी, खानी लगायतका यावत् चिजबस्तुलाई जनाउँछ । धन कमाउने रहर सबैमा हुन्छ । लेजली ह्वाइट भन्छन्, बस्तु र त्यसका लागि खर्चिएका श्रम अनुरूप धन वा सम्पत्ति प्राप्त हुन्छ वा निर्माण हुन्छ । श्रमको लागि ऊर्जा चाहिन्छ । ऊर्जाको पूर्तिका लागि नै हाम्रा पुर्खाले संस्कृतिका निर्माण गरेका थिए । यसैलाई बुझाउने क्रममा उनले T × L = P (Thing × Labour = Property) सिद्धान्त बनाएका हुन् ।

      यसप्रकार मानिसको आवश्यकता पूर्तिका लागि अनेकन उपभोग्य बस्तु चाहिन्छन् । त्यस्ता बस्तुका उत्पादनको लागि ऊर्जाको पनि उत्पादन हुनुपर्दछ । ऊर्जाको जोहो भएपछि प्रविधिगत प्रयोग विधि देखापर्छन्; जसद्वारा उत्पादित बस्तुले मानवीय आवश्यक परिपूर्ति गर्दछ । यसैक्रममा उनले E × T × P  (energy involved × technological means of utilization = product or result which serves a need) सिद्धान्त निर्माण गरेका छन् ।

       यहाँ उल्लेखित शक्ति वा ऊर्जाले कार्य गर्नसक्ने क्षमतालाई जनाउँछ । यसैलाई तामाङमा बङ भन्दछन् । बङ अर्थात् बल वा ऊर्जा बिना शरीरले काम गर्न सक्तैन । त्यस्ता ऊर्जा पनि ह्वाइटका अनुसार मानवीय तथा गैरमानवीय गरी दुई प्रकार हुन्छन् । उनी अगाडि लेख्छन्, मानवीय जैविकता वा गैरमानवीय अर्थात् प्रविधिगत स्रोतहरू साथै ऊर्जाको प्रयोग गरिएका मात्राले सम्पत्ति निर्माण/सङ्कलनमा मुख्य भूमिका खेल्छ । यसक्रममा वातावरणीय तत्त्वले पनि भूमिका खेलिरहेको हुन्छ । यसप्रकार सम्पत्ति वा धन वा प्रोपर्टी भन्नाले कूल उत्पादन तथा सांस्कृतिक विकासको सूचाङ्कलाई समेत बुझ्नुपर्ने हुन्छ ।

      यसप्रकार सम्बन्धित वातावरणीय प्रतिकूलताबीच अनुकूलनका लागि तामाङ पुर्खाले ह्वरीस्हुङ लगायत अनेकन् रिमठिम (संस्कृति/कल्चर) निर्माण गरेका भन्ने प्रमाणित हुन्छ । ती कुनै पनि रिमठिमलाई छोड्ने बित्तिकै त्यसले पूर्ति गर्दै आएको आवश्यकीय ऊर्जाको आपूर्ति बन्द हुन पुग्छ । परिणामतः उन्नत संस्कृति निर्माण तथा मानवीय अनुकूलन नै अवरूद्ध हुन बेर लाग्दैन । हुन त, अब बजारमा उपभोग्य बस्तुको विनिमय गर्न सक्छौं । ह्वरीस्हुङमा उपयोग गरिने खाद्यद्वारा परिपूर्ति गर्नुपर्ने ऊर्जा बजारबाट खरिद गरिएका बस्तुबाट पनि प्राप्त गर्न सकौंला तर त्यसो गर्नाले पुर्खाद्वारा निर्मित मौलिक साथै परम्परागत संस्कृति समाप्त हुनेछन् । त्यस्ता संस्कृति केवल ऊर्जा पूर्तिको माध्यम मात्रै नभएर मौलिक पहिचानको रुपमा स्थापित भइसकेका छन् । पहिचानको आन्दोलन चलिरहेको यो युगमा आफ्नो सांस्कृतिकलाई बुझ्न र स्वीकार गर्न नसक्नु पक्कै राम्रो सङ्केत होइन ।

       यही तथ्यलाई हृदयङ्गम गर्दै; लामो तथा पुस्तौं पुस्ताको अभ्यासबाट खारिएका संस्कृतिहरु निर्माणमा अनेकन् सामाजिक सांस्कृतिक गेन्दुन (संस्था/इन्टिच्यूट)हरूले भूमिका खेलेका हुन्छन् । तामाङको मुख्य चार गेन्दुनहरूमध्ये बोन/बोम्बो पहिलो हो । गेन्दुनको पनि आफ्नै काम, कर्तव्य र अधिकार सुनिश्चित गरिएका हुन्छन् । त्यसो त गेन्दुनले समाजको लागि आवश्यक पोषण, सुरक्षण तथा वंश निरन्तरताको व्यवस्था गर्न सक्नुपर्दछ । यहाँ बोम्बो गेन्दुनले आवश्यक पोषणको व्यवस्था गर्नेक्रममा नै ह्वरीस्हुङ संस्कृतिको पनि विकास गरेको स्पष्ट छ । शायद यस्ता संस्कृतिको विकास गर्न नसकेको भए तामाङ समाज अझैपछि पर्नसक्ने थियो होला ।

       ह्वरीस्हुङले आवश्यक पोषणको लागि नै कुखुराको मासु, सुप र बुझू (तोर्मो)लाई मौलिक खाद्य संस्कृतिको रूपमा स्थापित गराएको हो । ऊर्जाले शरीरलाई चलायमान राखेपछि मात्रै देह तथा समाजको सुरक्षा सम्भव हुन्छ । सुरक्षित वातावरणमा मात्रै सुयोग्य सन्तान उत्पादन; वंश निरन्तरता सम्भव हुन्छ । यो कार्यमा बोम्बो गेन्दुन पूर्णतः सबल तथा सक्षम देखिएको छ । यही तथ्यलाई बुझाउनको लागि ह्वाइटले N × P × R = SO (Nutrition × Protection × Repoduction = Social Organisation) सिद्धान्त पनि विकास गरेका छन् ।

पूजाको लागि राखिएका मकै समेत

टुङ्ग्याउनी 

      यतिखेर विज्ञान र प्रविधिको जगजगी छ । त्यसो त सूचना प्रविधिको पनि युग भनेका पाइन्छन् । खासमा विज्ञान र प्रविधि बिना कुनै पनि समाज तथा सभ्यताको कल्पना गर्न सकिन्न । यहीँनेर विज्ञान र प्रविधिलाई चिन्ने र व्याख्या गर्ने क्रममा पक्कै पनि समस्या छ । यस्तो बेला आफ्ना मौलिक परम्परागत संस्कार संस्कृतिभन्दा पनि भौतिक विज्ञान भन्नेमा बढी आकर्षण स्वाभाविक छ । तथापि ह्वरीस्हुङ लगायतका अनेक रिमठिमहरूमा रहेका विज्ञानसम्मत पाटोलाई केलाउनका लागि लेजली ह्वाइटका जस्ता ज्ञानमय आँखाको आवश्यक पर्दछ ।

      त्यही आँखाको अभावमा हामी भडि्करहेका छौं । पुर्खाले हजारौं वर्ष लगाएर निर्माण गरेका रिमठिमहरूलाई मायाको सट्टा घृणा गर्दैछौं । अध्येता लेजली ह्वाइटका जस्ता नजरको विकास गर्न नसक्नाले ङ्हन्बा/छिपा (बाह्य)का आँखा सापट लिएर हेर्न बाध्य छौं । त्यसैले अरुका आँखाले हैन; पुर्खाले निर्माण गरेका चश्मा लगाएर हेर्ने र बुझ्ने प्रयास गरौं । स्थानीय शक्तिहरूलाई नम्दुङमा सेरकेम, दुगुमा ह्युल्जे, गोने ङ्ह्यमा नवङ्गी चढाएपछि अन्त्यमा समापन गर्ने कार्यक्रमको परिच्छेदको रूपमा ह्वरीस्हुङलाई बुझौं ।

      ह्वरीस्हुङले मानव देहका लागि आवश्यक ऊर्जाको व्यवस्थापन मात्रै गरेको छैन । यसले सभ्यता विकासको लागि आवश्यक संस्कृतिको निर्माणमा प्रविधिको भूमिका पनि खेल्दै आएको छ । त्यस्तैगरी तामाङ समाजले आत्माभन्दा पनि सेम तथा नम्जेलाई विशेष प्राथमिकता दिँदै आएको देखिन्छ । आदिवासी भएकोले तामाङ समाजले आदिवासीवादलाई पूर्णतः स्वीकारेको छ । आदिवासीवादमा मानवकेन्द्रवाद हुँदैन । यहाँ चराचर जगत्मा रहेका जीवित तथा निर्जीव बस्तु वा अस्तित्वहरू सबै समान मानिन्छन् । तथापि मानिसले ऊर्जा पूर्तिका क्रममा अन्न, दूध तथा मासुजन्य पदार्थका प्रयोग नगरी सकिरहेको छैन ।

      मनुष्यलाई अन्यका दूध तथा मासु मात्रै नभएर अन्न पनि खाने अधिकार छैन । त्यसो त केही पनि नखाइ बास्न सकिन्न । बाँच्नकै लागि अन्न, दूध र मासु सेवन उसको बाध्यता हो । यही भएर हरेक पटक मासुजन्य पदार्थको आपूर्तिका क्रममा मारिएका प्राणीका स्यबुइबुबुइ गर्न आवश्यक ठान्छ । त्यसरी स्यबुइबुबुइ दिएपछि मारिएका प्राणीका सेम भने पुनः जीवनक्रमा आउने वा जन्म लिन नपर्ने स्थानमा पुग्छन् । तिनका मासु साग समान खानयोग्य बन्छन् ।

      त्यस्तैगरी खेतीपातीका लागि पनि खनजोत गर्नैपर्ने हुन्छ । खनजोतका क्रममा अनेक दृश्यादृश्य जीवका हत्या हुन पुग्छन् । पाल्साङबज्र लामा भन्नुहुन्छ, एक दाना अन्न उत्पादनका क्रममा लाखौं जीवका हत्या गरिएका हुन्छन् । त्यसरी मारिएका प्राणीका चित्तले उत्पादित अन्नलाई पिरेर बस्छन् । त्यस्ता अन्न सेवनयोग्य हुँदैनन् । त्यही भएर बोम्बोले सेरकेम, ह्युल्जे गर्दै अन्त्यमा स्थानीय शक्तिलाई नयाँ उत्पादित बाली नै नवङ्गी भनेर चढाउँछन् । त्यसरी चढाएपछि उत्पादनका क्रममा मारिएका प्राणीका सेम (चित्त)ले मुक्ति पाउँछन् । पुनःजन्म लिन नपर्ने लोकमा जान सक्छन् । त्यसपछि अन्न सेवनयोग्य बन्छन् ।

      यही तथ्यलाई मनन् गर्दै लम (लामा)ले नम्दुङ र सोङरातीमा सोइनम् खेल्छन् । आँगनमा उभिएर लामाले डमरु र घण्टी बजाउँदै लय हालेर गाउँछन् । त्यसो गर्नाले सम्बन्धित घरमा रहेका अन्न उत्पादनका क्रममा मारिएका प्राणीका भडि्करहेका सेमले मुक्ति पाउँछन् । तामाङ बौद्ध धार्मिक यिनै विश्वासलाई पनि गम्भीरतापूर्वक बुझ्न जरुरी छ । यसका अतिरिक्त ह्वरीस्हुङ जस्ता रिमठिमलाई मौसम अनुसार मानव देहलाई आवश्यक पर्ने ऊर्जाको जोहो तथा व्यवस्थापन प्रविधिको रूपमा पनि स्वीकार गर्न आवश्यक छ । पहिचानलाई मास्ने होइन; सगौरव स्थापित गर्ने गराउने मार्गमा लागौं । सुधारको आवश्यकता छ भने सोही अनुरूपको बहस थालौं । अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो पहिचानलाई दरोसँग उभ्याऔं । धन्यवाद !

१७ अशोज ´७७

चाबहिल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...