भौतिक रूपमा मानिससँग पनि
मस्तिष्क रहेकोमा शङ्का छैन । मस्तिष्कको काम भनेको विचार निर्माण गर्नु हो ।
विचारको प्रयोग गर्दै सही र गलत छुट्याउन सक्नु नै मानिस हुनु हो । कुनै समयमा कवि
भूपि शेरचनले घुम्ने मेच र अन्धो मान्छेको बारेमा कविता लेख्नुभएको रहेछ । जब
मान्छे घुम्ने मेचमा पुग्छ; तब ऊ अन्धो हुन थाल्छ । अन्धो हुनुको पनि कारण
हुँदारहेछन् । दृष्टि गुमाएर अन्धो हुनु चाहिँ दृष्टिविहीन हुनु हो । त्यो भौतिक
पक्ष हो । दृष्टिकोण अर्थात वैचारिक रूपमा पनि मान्छे अन्धो हुँदारहेछ । त्यो
चाहिँ भौतिक भन्दा पनि बौद्धिक पक्ष हो । त्यो भनेको मस्तिष्क गुमाउँदाको परिणाम
हो वा मस्तिष्कको सही वा पूर्ण प्रयोग नहुँदा वा गर्न नसक्ताको उपज हो ।
मस्तिष्कले पूर्णतः काम नगरेको
वा खल्बलिएको अवस्थालाई बौलाएको भन्दछन् । त्यतिखेर मस्तिष्कले सही रूपमा काम
गरिरहेको हुँदैन । मानसिक तथा शारीरिरक वा भौतिक रूपमा आघात वा चोट पर्नाले
त्यस्तो नियतीको शिकार बन्न पुगेको हुन्छ । त्यसको उपचार हुन वा नहुन पनि सक्छ ।
त्यस्तैगरी सिजोफ्रेनियाद्वारा ग्रसित हुँदा पनि मस्तिष्कले सही काम गर्दैन । हुने
नहुने शङ्का र विश्वास दिलाएर भ्रममा फसाउँदै लैजान्छ । अल्जाइमरले त मान्छेलाई
आफ्नै नाम समेत बिर्सनेसम्मको बनाइदिन्छ ।
यतिखेरको नेपाली राजनीतिक
परिवेशले प्रायःका मस्तिष्कमा हलचल ल्याएको छ । कोही बौलाएका छन् । कोही अर्ध भएका
छन् । कोही अन्धा बनेका छन् । कोही सिजोफ्रेनिया त कोही अल्जाइमरद्वारा सिकिस्त
छन् । कसैलाई हल्का छोएको मात्रै छ । फेरिपनि, कतिपय त सहीसलामत देखिएका छन् ।
जीवनले जहिल्यै नयाँ दिन/रात प्राप्त गरिरहेको हुँदोरहेछ । ती दिन/रातमा नयाँ
प्रयोगको लाममा उभिनुको विकल्प नहुँदोरहेछ । त्यस्तैमा जिन्दगी समाप्त हुने रहेछ ।
कोरोनालाई भुलेर मान्छे यतिखेर
काललाई हराउने तरखरमा उभिएकै छन् । बेलायततिरबाट अझै खतरनाक कोरोनाको नयाँ भर्जन
फैलँदैछ भन्ने खबर आइपुगिसकेको छ । डरको मारे लकडाउन वा सटडाउन भन्दै लुकेर
बस्नुपर्ने ''अवस्था'' आफैँ पनि शायद कोरोनाद्वारा मारिइसकेको छ ।
त्यसैले हुनुपर्छ, कोरोना पनि नेपालीसँग हारको सङ्घारमा
पुग्दैछ । यसको पनि आफ्नै कारण रहेछन् । धैर्यताको पनि सीमा हुँदोरहेछ । चुचुरोमा
पुगिसकेपछि झर्नुको विकल्प हुँदोरहेनछ । कोरोना कहर पनि चुचुरोबाट ओर्लँदैछ ।
ओर्लँदै गर्दा कतै हिमआँधीमा वा दुर्घटनामा परेर त्यसको मृत्यु भएछ भने खुशी नै
मान्नु पर्नेछ ।
कुरो राजनीतिकै जोड्न खोज्दैछु
। नेपाली भनिएका केही मनुख्येले यसअघि चुनाबमा भाग लिएका थिए । कोही नेता बनेका
थिए । कतिले स्व-विवेक लगाएर भोटर बने त कोही चाहिँ बोका भनेर आफैँ बेचिएर मालिकको
पक्षमा भोट सङ्ख्या बढाउने खेलमा सामेल भएकै हुन् । कोहीले बुझेर त कतिले
स्यालहुइयाँमा लागेर मतदान गरेका थिए । कोहीले शानसँग त कोहीले त्रासै त्रासमा
दिएका थिए । कोहीले हावामा दिएका थिए । कोहीका भोट खेर गएका थिए । कोहीको भोटले
कसैलाई विजयी बनाएकै थियो । कोही नराम्ररी हारेर सकिएकै हुन् । कोही शानसँग हारे
भने कति त धाँधली गरेर जिते भन्ने घाम जत्तिकै छ ।
धेरै त पैसाले जिते भने कोही
पैसा नभएै हारेका हुन् । राजनीति फोहोरी खेल भन्ने प्रमाणित हुनेगरी भोटरले भोट
दिए । चुनावी मैदानमा उत्रिएकाले पनि फोहोरीपाराले भोट लुँड्याएका हुन् । कतिले
फोहोरीपाराले अरूका भोट काटेका हुन् । कतिले राम्रैसँग मह चाटेका पनि देखेकै हौं ।
कतिपय क्षेत्री बाहुन नेताहरूलाई चुनावको बहाना गरी चोख्याउन सफल भएका पनि देख्यौं
। रेशम चौधरीहरूलाई जनताको मतबाट विजयी हुँदापनि यतिखेर मानव हत्याको गम्भीर र झूट
आरोपको दलदलमा फसाउँदैछन्
त्यही चुनावले राजनीतिमा
परिवर्तन दिएकै हो । त्यसले पार्टी फुट्न मात्रै नभएर जुट्न पनि लगायो । कवि भूपि
शेरचनले लेख्नुभएजस्तै गरी को गोटी र को स्टाइकर भन्ने यतिखेर खोज्ने मेलोमा
लागिनँ । जेहोस् नेकपा भन्ने पार्टीले दुर्इतिहाइको दम्भ राख्ने स्थान प्राप्त
गरेको थियो । आफ्ना सपना पूरा गर्ने अवसर प्राप्त गरेको थियो तर दूर्भाग्य भन्न त
नमिल्ला किनकी भाग्यवादी भनेर कतिले फेरि खेदो खन्न छोड्ने छैनन् । यति
हुँदा-हुँदै पनि जेपर्ला यत्ति चाहिँ भन्छु/लेख्छु; ''कुकुरलाई घिउ पचेन ।'' अनि साँच्चैको पहिचानवादीका लागि खुशीको खबर पनि बन्यो ।
केपि ओलीले आफैँलाई हिन्दू
महाराजको रूपमा सपना देख्न थालेपछि के हुनु र ? केपिको त्यही कर्मले प्रचण्डको
निदहराम पार्ने उपियाँको काम गर्यो । राष्ट्रपति नामक पदमा आसिन गराइएकी विद्याको
विद्याले आफूलाई महारानीको आसनमा स्थापित गर्न नसकुञ्जेल ननिदाउने सङ्कल्प गर्यो
। त्यसपछि कमरेड विद्याले काँचुली फेरेर भएपनि महारानी बन्ने सपनै सपनामा
दुर्इतिहाइका दुरदुहाइ गर्न सफल भइन् । चुनावमा सामेल नभएका बहुसङ्ख्यक नेपाली
भनिएकाहरुका भने अझै बक फुट्ने छाँटकाँट देखिएको छैन ।
यस्तै परिवेशमा त, ''गाउँ
गाउँबाट उठ । बस्ती बस्तीबाट उठ ।।'' भनेर गीत लेखेर गाउन
बाध्य हुँदारहेछन् । परिवेश एउटा प्रसङ्ग त हो । गीत लेख्नु अर्को मानसिकताको उपज
हो । गाउनु र रेकर्ड गरी बजारमा ल्याउनु अर्को चेतना हो । गीत सुन्नु, मन पराउनु, मन नपराउनु मान्छेको वैचारिक आदर्श
भन्नेको खेला रहेछ । दुःखको कुरो चाहिँ, यतिखेर ओलीवादको
विरोध गर्नु र नगर्नु रहेछ । यी दुवै आलोचनामुक्त हुने मार्ग पनि होइन रहेछन् ।
विरोध गर्यो कि अरिङ्गालले सातो खाइजान्छन् ।
समर्थन गर्यो कि विरोधीले
सत्तो सराप्छन् । चुपचाप मौन बस्यो कि दुवै पक्षले चिमोटेरै रूवाउँछन् । यस्तै
विषम् पस्थितिले काउसोको काम गरेपछि बाध्य भएर माइतीघरतिर पुगेको थिएँ । एउटा
कविता वाचन के गरेको थिएँ । केहीले समर्थनमा ताली बजाए । केहीले पिके (पुष्पकमल)को
झोले भनेर सत्तो सरापे । कोहीले बिसौलीको जिब्रो चलाउनुभन्दा धार्नीको मुण्टो
हल्लाउनु उचित भन्ने सुनेका रहेछन् क्यारे; चुपचाप बकुल्ले पर्खाइमा आफूलाई अभ्यस्त
राख्ने प्रयास गरेका देखिए ।
राजनीति विरोधी मान्छे हुँ
भनेरै आएको छु । राजनीति भनेको मानव हृदयमा बिजाएको काँडो हो । त्यसलाई निकालेर
फालौं र राजनीतिविहीन समाजको परिकल्पना गरौं भन्दै आएको पनि धेरै वर्षहरु भइसकेका
छन् । नेपाली नागरिकता लिए बापत् भोग्नुपरेको विषम् ज्वरोको उपचार खोज्दै थिएँ ।
खोज्ने नै क्रममा त्यहाँ पुगेँछु; जहाँ मेरा पुर्खाका संसार रहेछ । त्यसको पनि रिमठिम
भित्र सुन्दर संसार रचिएको रहेछ । त्यहाँबाट निस्केर बाहिर घुम्न खोज्नु भनेको
पानीबाट निस्केर माछाले मरूभूमिको रिर्सच गर्छु भन्नुजस्तै रहेछ । त्यति कुरा
नबुझेपछि राजनीतिलाई विकल्पविहीन देख्न थाल्दारहेछौं । नेता नामक कुलङ्घार,
हत्यारा, लुटेरा र डाँकालाई महाराज भन्दै दाम
राखेर ढोग्ने मन हुँदोरहेछ । राजनीति विरोधीलाई अल्पज्ञानी गोबर भन्दै लात हान्ने
रहर जाग्दोरहेछ ।
राजनीतिकसत्ता र हाम्रा
पुर्खाले स्थापित गराउनुभएका सांस्कृतिकसत्तालाई चिन्न नसकेपछि दुःख शुरू हुने
रहेछ । राजनीतिकसत्ताको समर्थन वा विरोधमा नलाग्ने भन्ने आदर्शले चाहिँ राष्ट्र (आदिवासी)लाई
अन्धो बनाउँदोरहेछ । अन्धो मात्रै नभएर मस्तिष्कविहीन बनाउँदै लैजाँदोरहेछ ।
अन्ततः सिजोफ्रेनिया, सके अल्जाइमरको रोगी बनाउँदोरहेछ । बिस्तारै थाहा
नपाउने गरी चिहानमा पुर्याएर सुताउँदोरहेछ । त्यही भएर त पिर्न आइरहने अनेक
दुष्टआत्मा तथा शक्तिहरूलाई खेद्नको लागि भनेर समय समयमा डम्फू बजाउँदै सङसेरकेमको
गीत गाउँछु । ढ्याङ्ग्रो बजाउँदै खड्को तार्छु; दिम क्योन्ब
र ग्रह फङ्ब गर्छु । डिल्बु दोर्जे हातमा लिएर दुष्टआत्मामाथि प्रहार गर्छु किनकी
सिजोफ्रेनिया वा अल्जाइमर लागिसक्ता पनि मस्तिष्कको भण्डारबाट आफ्नो भाषा (शब्द)
नमर्दारहेछन् । भाषाको सहारामा रिमठिमलाई पुनः जीवन भर्न सकिँदोरहेछ ।
त्यसैले ह्लोछर आउँदा टुँडिखेल
पुगेर प्रेतात्माका शीरमा किल्चेर दबाउन पछि पर्दिनँ । प्रतिगमनकारी मतियारका
मुटुमा फुर्ब (बज्र) रोप्न माइतीघरमण्डलातिर पुगिरहन्छु तर केही आफन्तजन भने मेरा
हर्कत् देखेर रून्छन् । कोही गालीका मिसाइल बर्साउँछन् । कोही समर्थनमा ताली
दिन्छन् । कोही चुपचाप रहन्छन् । बोल्ने ठाउँ नपाएर, गाली वा ताली दिन लायक नदेखेर वा
प्रतिक्रिया जनाइरहनुपर्ने विषय भन्ने नलागेर पो चुपचाप बस्तारहेछन् । कोही ह्याउ
नपुगेर अवाक हुँदारहेछन् । कोही बुझेर कोही नबुझेरै ताली दिन हतारिँदारहेछन् ।
कोही भने गाली नगरी खाएको पचाउन नसक्ने गरी रोगी भएका हुँदारहेछन् । त्यसैले विरोध
गरेर जिउने प्रयास गर्दारहेछन् । कोहीले नबिग्रियोस् भनेर त कोहीले समाप्त होओस्
भनेर गालीमय झटारो हान्दारहेछन् ।
यतिखेर पनि ओली कदमको विरोध
नगर्नु भनेको म त मरिसकेँ भन्नु हो । समर्थन गर्नु भनेको आफ्ना पुर्खाका महान्
योगदानको अवमूल्यन गरेको अपराधमा ६० हजारवर्षसम्म नरकको सजाय भोग्ने बाटो रोज्नु
हो । नरकको तर्क गरेको भन्दै कतिले यहीँनेर हान्छु भन्न सक्छन् । सकारात्मक र
आशावादी भन्ने तर एक नम्बरका निराशावादी व्यक्तिगत स्वार्थमा डुबेकाहरूका लागि यो
तर्क अवसर पल्टिँदा कुनै अनौठो मान्नु पर्दैन । कुनै पार्टीको पछि लागेर समर्थन वा
विरोधमा जानुभनेको घोडा बन्नु हो । ''हट घोडा हट'' भन्दै
अरू चढ्छन् । आँखामा ढकन लगाइदिएपछि त्यही ''हट घोडा हट''
सुन्दै फुर्किएर कुदेर असल घोडा बन्नु हो ।
स्वतन्त्र रूपमा
माइतीघरमण्डलाहरूमा पुग्नु र विरोध स्वरूप आफ्नो लुङ (विधि) गर्नु राष्ट्र (आदिवासी)
हुनु हो । पुर्खाका सम्झनामा र उहाँहरूले देखाउनुभएको बाटोमा लामबद्ध हुनु हो ।
स्वतन्त्र नागरिक समाजको रूपमा विरोध जनाउन पुग्दा पनि गाली गर्नेका अभाव
नहुँदोरहेछ । त्यसको दुर्इ कारण रहेछन् । पहिलो कारण चाहिँ ओलीवादको समर्थक बन्नु
र दोस्रो चाहिँ पवित्र डम्फू, ढ्याङ्ग्रो अनि डिल्बु र दोर्जेको प्रयोग किन भन्ने
प्रश्न गर्नु हो ।
दोस्रो कारणका आधारमा गाली गरेका शुभचिन्तकका तर्क चाहिँ रातमा पनि घाम उदाइरहेको हुन्छ भन्नु हो । त्यसैले तामाङको सामग्री तथा विधालाई माइतीघरमण्डलामा पुगेर प्रदर्शन गरी तामाङलाई घात गर्यौ भन्ने तर्क आफैँमा कपटपूर्ण छ । प्रेतात्मा तथा काँचोबायूले पिरेपछि ठाउँ वा कुठाउँ नभनी उपचारमा लाग्नुको विकल्प हुँदैन । प्रेतात्मा र काँचोबायूलाई बिमारीको देहबाट निकालेर मसानघाटमा पुर्याइ साततला धर्तीमुनि गाड्न नसक्नेले आफैँ मर्न सक्नुपर्नेरहेछ । एकाध मित्रहरूले साँच्चैको असल मनसायसहित गाली गर्दारहेछन् । त्यस्ता मित्रले यही तर्कलाई बुझ्न सक्नुपर्छ । कसैको विरोध गर्दा अन्य कसैलाई फाइदा पुग्न सक्छ भनेर चुपचाप बस्नु भनेको प्रतिक्रियाविहीन हुनु हो । छिमेकीको बारीमा बाँदर पस्न सजिलो होस् भन्दै आफ्नो बारी बाँझो राख्नु जस्तै हो । त्यस्तो हर्कतलाई कसैगरी बौद्धिक भन्न मिल्दैन ।
गाली गर्ने धेरै साथीहरूले
चाहिँ तामाङको पवित्र सामग्रीको गलत प्रयोग भन्न नबिर्सँदारहेछन् । ती साथीहरूका
भित्री मनसायले चाहिँ ''ओलीवादको विरोध गर्ने तँ को होस् ? मलाई चिन्छस् ?
अरिङ्गाल हुँ अरिङ्गाल'' भन्दारहेछन् । तर्साउन खोज्दारहेछन्
। अन्ततः सार्वजनिक रूपमा आफैँ नाङ्गेझार हुँदारहेछन् । नाङ्गेझार भइसकेँ भन्ने
थाहा नपाएपछि लुगा लगाएकै छु भन्ने भ्रममा फस्दारहेछन् । अरूले कुरीकुरी गर्न
थाल्दा पनि नबुझिकनै झन् मच्चिएर ठूलो स्वर गर्दारहेछन् । बुर्कुसी मार्दै आफ्नो
नाङ्गो शरीरको श्रव्यदृश्य लाइभ ब्रोडकाष्ट गर्दारहेछन् ।
अन्त्यमा यत्ति भन्छु; समर्थन वा
विरोध स्वाभाविक हो । त्यसैलाई हेरेर आफू पङ्गू बन्ने काम नगर्नु राम्रो हो ।
सकेसम्म बोलौं । मनको कुरा खोलौं । बोल्दै बोल्दिनँ वा नबोलेरै जित्छु भनी मूर्ख
नबनौं । ओलीवादको समर्थन गर्नुछ भने भने लुकेर होइन; प्रत्यक्ष
उभिएर समर्थन गर्नुस् । लुकेर समर्थन गर्नु भनेको मानवढाल बनाएर युद्ध जित्छु
भन्ने दूर्भावना पाल्नु हो । नपुङ्सकताको प्रमाण पेश गर्नु हो । पहिचान चाहनेले
प्रचलित व्यवस्थाको विरूद्धमा पनि आफ्नो डम्फू, ढ्याङ्ग्रो,
दोर्जे र डिल्बुको प्रयोग गर्ने क्षमता राख्नु पर्छ । त्यसैको
आधारमा आफ्ना महान् रिग्जेनहरूलाई जगाउन सक्नु पर्छ । त्यसपछि बल्ल हिन्दू एकात्मक
राज्यसत्ताको संस्थापक तथा महान् भनिएकाका काँचोबायुहरूलाई परास्त गर्न सक्ने
क्षमता प्राप्त हुनेछ ।
गोले केआर चालिसेली
१८ पुस '७७
चाबहिल