Thursday, January 30, 2020

ख्रे ल छेपाङा (बसन्तपञ्चमी) अनि झ्यम्बेयङ (मञ्जुश्री) साथै सरस्वती

झ्यम्बेयङ (मञ्जुश्री)

१.  पृष्ठभूमि
समाजलाई सञ्चालन गर्ने अनेक पक्ष(अवयव) हुन्छन् । तिनमा पात्रो (क्यालेण्डर) पनि एक हो । पात्रोलाई विज्ञद्वारा चन्द्र-सूर्य लगायत खगोलीय पिण्डहरूसमेतका गतिको अध्ययन गरी निर्माण गरिएको ऋतुसहितको समयचक्र भन्न सकिन्छ । यति मात्रै भनेर परिभाषा पूरा हुँदैन । विशेषतः चन्द्र-सूर्य र पृथ्वी लगायतका ग्रह, उपग्रह तथा तारागण लगायतका खगोलीय अवस्थिति हो ।
यतिखेर तमु तथा सोनम ह्लोछर मान्नेहरूका लागि नम्युङ (जिवा) ह्लो शुरू भइसकेको छ । ग्यल्पो ह्लोसर मनाउनेहरू भने अझै प्रतीक्षामा छन् । तामाङ क्यालेण्डर अनुसार, आज 'ख्रे ल'को छेपाङा (शुक्लपञ्चमी) हो । यसैलाई झ्यम्बेयङ (मञ्जुश्री)को तिथिको रूपमा तामाङ लगायतका बौद्धमार्गीले मनाउँदै आएका छन् । 
यही तिथिलाई हिन्दू धर्मावलम्बीले भने 'सरस्वती'को तिथि मान्दछन् । विद्याकी देवी भएकीले विशेषतः विद्यार्थीहरूले पूजा प्रार्थना गर्दछन् । यही तिथिलाई हिन्दूपात्रोमा बसन्तपञ्चमीको रूपमा उल्लेख गरिएको हुन्छ । सौर्यपात्रो अनुसार आजदेखि बसन्त ऋतु शुरू भएको छ । यहाँ तामाङ राष्ट्रको व्यहारमा ख्रे लको छेपाङा (शुक्लपञ्चमी) अर्थात् बसन्तपञ्चमीको महत्त्व बारे चर्चा गरिएको छ ।
२.  ख्रे ल छेपाङा/बसन्तपञ्ची र सम्बन्धित पक्ष
जब कुनै तिथि कुनै शक्तिसँग सम्बन्धित हुन्छ; तब त्यसले विशेष महत्त्व राख्दछ । त्यस्ता अनेक तिथिहरू हुन्छन्, जुन कुनै न कुनै देवी, देउता वा शक्तिसँग सम्बन्धित हुन्छन् । त्यसैले सम्बन्धित शक्तिको पूजा, आराधना वा प्रार्थना गर्दछन् । तामाङ लगायतका बौद्धमार्गीका विश्वास अनुसार यो तिथि झ्यम्बेयङसँग सम्बन्धित रहेको छ । झ्यम्बेयङकै संस्कृतमा उल्था गरिएको नाम चाहिँ मञ्जुश्री हो । यिनी चीनिया थिए । चीनको पञ्चशीर्ष पर्वत क्षेत्रबाट त्यतिखेरै नेपाल आइपुगेका थिए; जतिखेर यो देश अस्तित्त्वमा थिएन । नेपालको राजधानी काठमाडौं उपत्यका आफैँ विशाल दहको रूपमा थियो ।
यिनी आफ्नो गणसहित आइपुगेका थिए । यिनैले पानी निकालेर बस्ती बसाएका थिए । यिनलाई बोधिसत्त्वको मान्दछन् । यिनको मुख्य विषय चाहिँ ज्ञान वा प्रज्ञा हो । त्यसैले यिनलाई विद्या तथा सीपको देवता वा शक्तिको रूपमा पुज्ने गरेका पाइन्छन् । सिम्बु (स्यम्भू)मा अवस्थित यिनको मन्दिरमा आज विशेष पूजा प्रार्थना गर्ने प्रचलन रहेको छ । यिनकै समानान्तर जस्तो लाग्ने गरी हिन्दूमा सरस्वतीलाई स्थापित गरेका छन् । त्यसैले हिन्दूले आजको तिथिलाई बसन्तपञ्चमी भन्दै सरस्वतीको पूजा गर्दछन् । सरस्वतीलाई विद्याकी देवी मान्दछन् । सोही अनुरूप आज सरस्वती मन्दिरमा विशेष पूजा प्रार्थना चलिरहेका छन् ।
यसप्रकार विद्यासँग सम्बन्धित शक्ति को हो भन्ने सम्बन्धमा बौद्ध र हिन्दूका बीच फरक फरक मत बनेको स्पष्ट हुन्छ । यो मतले भने, बौद्ध र हिन्दू एकै वा समान हुन् । यी दुर्इले एउटै देवी देउतालाई नाम फरक गरेर सम्बोधन गरेका मात्रै हुन् भन्नेहरूलाई एक प्रकारको चुनौती दिएको मान्न सकिन्छ । यहाँ झ्यम्बेयङलाई पुरुष तर सरस्वतीलाई नारी स्वरूपमा प्रस्तुत गरेका छन् । यति हुँदा-हुँदै पनि दुवैले दुवैजनालाई आ-आफ्ना पक्षका विद्यासँग सम्बन्धित शक्तिको रूपमा मानेका छन् । स्वयम्भूमा गएर हेर्ने हो भने, एउटै मूर्तिलाई बौद्धले झ्यम्बेयङ साथै हिन्दूले सरस्वतीको रूपमा पुज्छन् । यसले दुवै पक्षलाई एक स्थानमा ल्याएर सौहार्दतापूर्ण वातावरणको सिर्जना गरेको छ ।
३.  विद्यासँग सम्बन्धित को ?
बौद्ध र हिन्दू दुवैका बुझाईमा विद्या विद्या नै हो । यसमा फरक छैन । कतिपय यस्ता शब्द तथा विश्वासहरू छन्; जुन यी दुर्इमा फरक हुन्छन् तर विद्याको विषयमा दुवै एक समान छन् । तथापि, हिमाली (नेपाली, तिब्बती, चीनिया) बौद्धको लागि विद्यासँग सम्बन्धित शक्ति झ्यम्बेयङ हुन् । तिनी बोधिसत्त्व नै हुन् । यिनैलाई मञ्जुश्री नामबाट पनि चिनाउँछन् । मञ्जुश्री को हुन् भन्ने सम्बन्धमा फरक मत पाइन्छन् । प्रायःजसो झ्यम्बेयङ नामलाई संस्कृतकरण गर्दा मञ्जुश्री हुन्छ । त्यसैले मञ्जुश्री र झ्यम्बेयङ एकै व्यक्ति हो । केहीले भने मञ्जुश्री संस्कृत नाम भएकोले हिन्दूतिरैको पनि हुनसक्ने शङ्का गर्दछन् तर यो दाबीमा प्रामाणिकता छैन । 
झ्यम्बेयङ (मञ्जुश्री) को हुन् भन्ने बारेमा पनि धेरै फरक मतहरू पाइन्छन् । यिनलाई उथाइसङ नामक पर्वतबाट आएका मान्नेहरू छन् । यिनकी दुइजना सहचरी वा पत्नी रहेका भनेर उल्लेख गरेका पनि पाइन्छन् । तिब्बती तथा चीनिया बौद्ध साहित्यमा झ्यम्बेयङ एकजना मात्रै नभएर धेरै सङ्ख्यामा रहेका भन्ने अर्को थरी मत पाइन्छन् । यसप्रकार झ्यम्बेयङ एकै जना वा धेरै जना वा टुल्कु वा को हो भन्ने शङ्का लाग्न सक्छ । यहाँ भने यी सबैलाई छोडेर विद्यासँग सम्बन्धित बोधिसत्त्व भनेर बुझ्नुपर्ने हुन्छ ।
हिन्दूका लागि भने सरस्वती नै विद्याकी देवी हुन् । यिनी नारी हुन् । यिनलाई कतिपय अवस्थामा ब्रह्माकी सहचरी वा पत्नीकी रूपमा पनि चिनाउँछन् । कति अवस्थामा ब्रह्माकी छोरीकी रूपमा पनि प्रस्तुत् गरेका पाइन्छन् । ब्रह्माले कयौं समयसम्म यिनीसँग सम्भोग गरेकाले छोरीलाई बलात्कार गरेको भन्ने बात लगाएका पनि कतै कतै लेखेका देखिन्छन् । सरस्वती र ब्रह्माका बीचको नातासम्बन्धलाई जो जसले जसरी प्रस्तुत् गरेतापनि यिनी विद्याकी देवी भन्नेमा शङ्का गर्दैनन् । धर्मग्रन्थहरूमा स्थापित गरिएका प्रतीकवादका अर्थ र कारण नबुझ्नाले पनि यस्ता समस्या देखिन्छन् । त्यसकारण यस्ता विवादले खासै अर्थ राख्दैन ।
यसप्रकार विद्यासँग सम्बन्धित वास्तविक शक्ति (देव देवी/बोधिसत्त्व) को भन्ने विषयमा बौद्ध र हिन्दूका बीच फरक रहेको स्पष्ट हुन्छ । यस्तो फरक देखिएतापनि दुवै पक्षका बीच सौहार्दता कायम हुनु शौभाग्यपूर्ण मान्नु पर्दछ । 
४.  स्तुति पाठ (प्रार्थना)
बौद्ध तथा हिन्दू धर्मका एउटा समान विशेषता भनेको स्तुति पाठ पनि हो । यी दुवैलार्इ शक्तिका रूपमा आह्वान गर्दै स्तुति गर्दछन् । यसक्रममा झ्यम्बेयङ र सरस्वतीका स्तुति वा प्रार्थना गर्ने एक किसिमको आ-आफ्नै मन्त्रहरू बनाएका वा निर्धारण गरेका पाइन्छन् । सरस्वतीको स्तुतिका लागि संस्कृति भाषामा निश्चित नामसहितको प्रचलन रहेको छ । त्यस्तैगरी झ्यम्बेयङको स्तुतिक्रममा भारतबाट पुर्‍याइएको भनिएको संस्कृत भाषाकै शब्द (वर्ण) संयोजन गरिएको पाइन्छ । त्यस्तैगरी तिब्बती पृष्ठभूमिको स्तुतिका लागि पनि अर्को बनाएका पाइन्छन् । यहाँ समाविष्ट लिङ्कहरू हेर्न सक्नु हुनेछ ।
https://youtu.be/zp47TImRgRQ
https://youtu.be/uKcCsi7Lhis?t=8
https://youtu.be/LBvM6TXG5vE?t=90
https://youtu.be/hyEWARNA03c?t=15

सरस्वती


सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे

प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती

https://youtu.be/GEYds6T4VAM?t=9

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥१॥

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥२॥

५.  झ्यम्बेयङको नेपाल प्रवेश
झ्यम्बेयङ नेपाल प्रवेश गरेको बेलामा यो देशको अस्तित्त्व नै थिएन । त्यसबेला राजधानी उपत्यकामा विशाल दह हुन्छ । यहाँ अनेक बुद्धहरू आइपुगेका हुन्छन् । एकजनाले कमलको वीज रोपेका हुन्छन् । फूल फुल्छ । सोही फूलमाथि स्वयम्भू प्रकट हुन्छ । स्वयम्भू दर्शनका लागि झ्यम्बेयङको प्रवेश हुन्छ । दर्शनपछि यहाँको पानी निकालेर पठाउँछ । उक्त नागदहमा नाग पनि हुन्छन् । नागलाई राख्न एउटा दह निर्माण गरेको हुन्छ । त्यसपछि यहाँ बस्ती बसाएको बताउँछन् ।
केहीले श्रीकृष्ण आएर वा उसको प्रतिनिधिले यहाँको पानी निकालेर बस्ती बसालेको दाबी गर्दछन् । यद्यपि, यसको प्रामाणिकता माथि प्रश्न उठाउने पनि छँदैछन् । यहाँको तामाङ विश्वास अनुसार, झ्यम्बेयङ आउनु हुँदा यहाँको तामाङ बोम्बोले तिनलाई डुङ्गा बनाएर तालको शैर गराउँछन् । तिनी नागर्जुनबाट डुबुल्की मारेर भक्तपुर हुँदै नगरकोट वा फूलचोकीमा निस्कन सक्थे । तिनै बोम्बोले ढुङ्गाको डुङ्गा बनाएर शैर गराएपछि चोभारबाट पानी निकाल्न सकिने भन्ने हुन्छ । खड्गले काटेर पानी निकाल्छन् ।
तामाङ राष्ट्रको यो मान्यानुसार त्यतिखेरै नागदहको बीचमा कमलमाथि देउता प्रकट भएको थियो । त्यसरी आफैँ प्रकट भएको देउतालाई तामाङ बोनभाषामा नेSपा ल भन्ने गर्दछन् । त्यसको शाब्दिक तथा भावार्थ संस्कृतमा भने स्वयम्भू हुन्छ । सोही अनुरूप स्वयम्भू भएपछि तामाङ जिब्रोमा सिम्बु हुनु स्वाभाविक मान्नुपर्ने हुन्छ । यो मतले यो देशको नाम नेपाल रहनुमा नेमुनि वा नेवारको पाला भन्दा पनि तत्कालिक तामाङ बोनको नेSपा ल बाट भएको रहेछ भन्ने स्पष्ट शङ्केत गरेको छ ।
६.  झ्यम्बेयङ र तामाङ
झ्यम्बेयङ चीनिया बोधिसत्त्व भएकोमा कुनै शङ्का गरिरहनु पर्दैन । यिनले के गरेका थिए । यिनलाई आजकै तिथिमा किन मान्नुपर्ने भन्ने चाहिँ प्रमुख प्रश्न हो । यसमा तामाङ राष्ट्रको आफ्नै विश्वास र मत रहेको देखिन्छ; जुन मत बौद्ध वा हिन्दूमतसँग मिल्न वा नमिल्न पनि सक्छ । त्यसो भए तामाङ मत के हो भन्ने अर्को जिज्ञासा उठाउनुपर्ने हुन्छ । यसरी हेर्दा, झ्यम्बेयङले चन्द्रपात्रो निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । सोही मान्यतालाई आधार मान्दै सोनम ह्लोछरको मिति तय गरेको देखिन्छ ।
सोनम ह्लोछरको अहिले चलाइरहेको मितिमा विवाद रहेको पनि सत्य हो । त्यसैले यो मिति नै नराख्नु वा हटाउनु भन्ने पनि आवाज उठाउँदै आएका पाइन्छन् । जेहोस्, उल्लेख गरिएको मिति चाहिँ झ्यम्बेयङसँग सम्बन्धित रहेको दाबी पाइन्छ । झ्यम्बेयङले खगोलीय अध्ययन अनुसन्धान गरेका थिए । सोही आधारमा आजकै तिथिमा उनले खगोलशास्त्रीय ज्ञान बाँडेका थिए । त्यसै हुनाले सम्मानार्थ सोनम ह्लोछरसँगै उनीसम्बद्ध मिति लेख्ने प्रचलन बसालेको हो ।
त्यसो भए तामाङले गन्ने महिनाका नाम र तिब्बती तथा चीनिया नाम किन र कसरी फरक पर्‍यो भन्ने प्रश्न टड्कारो बन्ने गर्छ । बिर्सन नहुने चाहिँ झ्यम्बेयङको उदय अघिदेखि नै तामाङले महिनाका नामाकरण गरिसकेका थिए । त्यसैले तिब्बती वा चीनिया भाषाबाट नाम सापट लिनु परेन । हुनसक्छ, अलिक रफ (मस्यौदाजस्तो) स्वरूपमा रहेको पात्रोलाई झ्यम्बेयङले वैज्ञानिककरण गरिदिएका थिए । यही आधारमा लोकोत्तर लोकवादी विचार समूहको स्थापनादेखि नै ख्रे लको छेपाङामा झ्यम्बेयङको स्मरण गर्न शुरू गरिएको हो ।
७.  मकैला छेवर
तामाङ समाजमा आजकै तिथि पारेर मकैको छेवर गर्ने प्रचलन रहेको छ । यो दिन बारीमा हलगोरु पुर्‍याउँछन् । विधिवत् रूपमा गोरु नार्छन् । मकै छर्छन् । तामाङ क्यालेण्डर तथा मान्यता अनुसार आजदेखि ऋतु परिवर्तन हुन्छ । अब मकै छर्दा कुहिँदैन बरू उम्रिन्छ । आज मकैको छेवर गरेपछि मकैबालीको लागि साइत स्थापित हुन्छ । बालीनाली सप्रिन्छ । राम्रो फसल हुन्छ । त्यसैले हलगोरु नपाएमा अलिकति भएपनि मान्छेले खनेरै मकैको छेवर गर्ने प्रचलन अझै देख्न सकिन्छ । यसप्रकार नयाँ सालको कृषि क्यालेण्डर आजबाट शुरू हुन्छ । 
यसको अतिरिक्त, आजैको दिन बच्चाहरूलाई पढ्न लेख्न सिकाउँछन् वा शुरू गर्दछन् । मानिसका जीवन आवश्यक पर्ने हरेक सीपहरू आजकै दिन गुरु थापेर तथा चेला मानेर सिक्ने सिकाउने गर्दछन् । घोडा तथा बहर दाउने, हलो ताछ्ने, घुम लगायतका सामग्री बुन्ने सीप पनि आजकै तिथिमा शुरू गर्दछन् । नारीहरूले कपास तथा लोक्ताको धागो बनाउने, रङ्ग्याउने, तान लगाउने, कपडा बुन्ने लगायतका सीप आजैबाट सिक्छन् । घर छाउनेदेखि कपाल काट्ने पनि आजै सिक्नु पर्दछ । 
यी मूल्य मान्यतासहितको प्रचलनको अध्ययन पश्चात् वास्तविक अर्थमा ह्लो आजैको दिनबाट मात्रै फिर्दोरहेछ भन्ने निष्कर्षमा पुग्न सकिन्छ । यो तिथिले तमु, सोनम र ग्यल्पो ह्लोछर/ह्लोसर भन्नेहरूलाई एक किसिमले झकझकाइरहेको देखिन्छ । भएको छोडेर नभएको खोज्नाले समस्या भित्रिने हो । यतातिर कसैको ध्यान गएको देखिँदैन ।
८.  लोकोत्तर लोकवादी विचार अभियान
त्यसक्रममा काठमाडौंमा सा-साना कार्यक्रमहरू आयोजना गरिएका थिए । त्यो क्रम आजसम्म पनि चल्दै आएको छ । यसक्रममा धनप्रसाद तामाङज्यूले मुख्य/विशेष भूमिका खेल्दै आउनुभएको छ । यसप्रकार पोखरामा आज सानै आकारको भएपनि कार्यक्रम गरिन लागेको सूचना आएको छ । यो लोकोत्तर लोकवादी विचार समूह भनेर शुरू गरिएको साहित्यिक आन्दोलन हो । यसले गोने ङ्ह्यलाई तामाङ मौलिक परम्परागत ज्ञान दिवसको रूपमा मनाउँदै आएको छ । यस्तैगरी तामाङको मौलिक परम्परागत चाडपर्वहरूका खोजी, तिनका बारेमा विमर्श गर्दै अघि बढेको छ ।
अहिले आन्दोलनले एक किसिमको अभियानमय स्वरूप लिएको छ । सानो आकारमा रहेको यो अभियानले आजसम्ममा आसा (आदिवासी साहित्य) अभियानको मार्ग हुँदै 'प्रङ्ग्यल'लाई तामाङ समाजको वास्तविक नायकको रूपमा व्याख्या विश्लेषण तथा विमर्श गर्दै आएको छ । प्रङ्ग्यलहरूका तहबाट उठाइने म्योबा लोङ्सोर (बौलाह आँधीहुरी)बिना पहिचानको तगारा तथा पर्खालहरू ढल्ने छैन भन्ने यो अभियानको पूर्वानुमान रहेको छ । यसैका आधार निर्माणको निमित्त मौलिक पर्व तथा ज्ञानको सुक्ष्मतम् खोजी भररहेको छ ।
अभियानको दौरानमा एस.सि.आर.सि.को जन्मले विशेष ऊर्जा थपेको छ । यसक्रममा गोने ङ्ह्यलाई तामाङ ज्ञान दिवस साथै ख्रे लको छेपाङालाई सीप दिवसको रूपमा व्याख्या विश्लेषण गर्दै आएको छ । म्हेनिङलाई दशैँको विकल्पको रूपमा उठाएको छ । तिहारलाई हिन्दूको भन्दा पनि आदिवासीका कृषि तथा पशुपालनसँग सम्बन्धित पात्रोको महत्त्वपूर्ण अङ्ग मानेको छ । 
यसक्रममा पुनः हिन्दूकरण गरेको आरोप पनि नलागेको होइन तथापि भारतमा चलाइएका विजयादशमी र दीपावली हिन्दूका होइनन् । यी पर्वहरू बौद्धका थिए । हिन्दूले पछि खोसेका भन्ने आरोपसहित विजयादशमी र दीपावली बौद्धका पर्व भन्ने प्रमाण जुटाइरहेका छन् । रामको अयोध्या भनिएको क्षेत्र रामभन्दा अघि बौद्धको साकेत (साक्य क्षेत्र) रहेको प्रमाणसहित अदालतमा मुद्दा हाल्न पछि परेका छैनन् । शायद, भारतमा चलेका यी आन्दोलनका मर्मलाई बुझेका दिन मात्रै यहाँका तामाङ लगायतका आदिवासी साथै बौद्धमार्गीले उल्लेखित आन्दोलन तथा अभियानका मर्म बुझ्नेछन् ।
यसप्रकार आजको तिथिलाई प्राज्ञ दिवसको रूपमा पनि लिनुपर्ने हुन्छ । यस्ता प्राज्ञिक विषयलाई निश्चित साहित्यमा सीमित पार्ने तथा अबोधगम्य वा गुह्यविद्या जस्तो बनाएर राख्नु हुँदैन । यिनलाई एकदमै सरलीकृत गर्न आवश्यक छ । यस्ता ज्ञानको सञ्ज्ञानीकरण अर्थात् तामाङ जीवनसँग जोड्ने साथै अति सरल, बोधगम्य र सहज भाषामा व्याख्या, विश्लेषण तथा विमर्श थाल्न सक्नुपर्दछ । अन्यथा महत्त्वपूर्ण ज्ञानहरू निश्चित वर्गका हातमा बन्दी भइरहेछन् ।
९.  अबको बाटो
हरेक समयका लागि पुराना बाटाहरू मात्रै भरपर्दा नहुन सक्छन् । शरीर तथा कपडामा मैला लाग्छन् । सरसफाई आवश्यक हुन्छ । च्यातिएका वा फाटिएका अवस्थामा मर्मत आवश्यक हुन्छ । समय-समयमा नयाँ कपडा हाल्नुपर्ने हुन्छ । त्यस्तैगरी पुराना मूल्य मान्यताहरूमाथि विमर्श आवश्यक हुन्छन् । पुनःभाष्य सहितको सञ्ज्ञानीकरण गर्नुपर्ने हुन्छ । केही नयाँ थप्नुपर्ने पनि हुन सक्छन् ।
यस्ता तथ्यगत पक्षलाई स्वीकार गरेपछि बल्ल अबको बाटो तय हुने वा गरिने हुन्छन् । यसक्रममा हरेक तिथिहरूका महत्त्व, त्यसप्रति पुर्खाले निर्माण/निर्धारण गरेका धारणा बुझ्न सक्नुपर्दछ । तिनलाई समयानूकुल सहजीकरण गर्दै अगाडि बढाउँदा सभ्यताले जीवन्तता प्राप्त गरिरहन्छ । सभ्यताले नै पहिचानको आधारमाथि पक्कड कायम गरिरहन्छ । तसर्थ हरेक ज्ञानहरूलाई सञ्ज्ञानीकरण गर्न सक्ने विद्या सबैलाई प्राप्त होस् भन्ने ख्रे लको छेपाङा (बसन्तपञ्चमी)को अवसरमा हार्दिक शुभ कामना सहित धन्यवाद !!!
१६ माघ '७६
चाबहिल

Tuesday, January 28, 2020

Gajal



आँत्तिए वा मात्तिएमा महाभूल हुन सक्छ !!
धैर्य गरे प्रतिकूल'नि अनुकूल हुन सक्छ !!!!

इच्छा तृष्णा चाहनाले आशक्ति पो जन्माउँछ !
राग द्वैष इर्ष्या त्यागे काढै फूल हुन सक्छ !!!!!

ज्यून जाने जिन्दगानी मुक्तिको यो अवसर हो !
नजानेमा दुखिरहने दिलको सूल हुन सक्छ !!!!

स्वरूपका यी विविधता सारमा त सबै एकै !
नबुझ्नेको मन त सँधै ढूलमूल हुन सक्छ !!!!

लाखौं पनि शून्य हुन्छ असत्यको बाटो रोजे !
सत्यतामा टिकिरहे एक्लै हूल हुन सक्छ !!!!!
१४ माघ '७६
चाबहिल

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...